त्यो चुम्बक जुत्ता र विदेशमा जाक्ने जर्मनी यात्रा

- कृष्ण बजगाईं

फ्रैङ्कफर्ट विमानस्थलमा जहाजले भुई नछुँदासम्म मेरो मन तीव्र उडानमै थियो । पासपोर्ट, टिकट र ट्राभल चेक कोटको खल्तीमा छामेँ ती दुरुस्त थिए ।
औपचारिक रूपमा जर्मन भमणको दुई सातापछि नेपाल फर्कनु थियो । देशको दुरवस्था त्यसमा पनि खास गरी माओवादी आन्दोलन र बढ्दो बेरोजगारीले हरेक युवाको मनमा विदेश पलायनको बीज रोपिदिएको थियो । तर, मेरो मनमा त्यो अङ्कुरण नहोस् । यस्तै सोच्दै जहाजबाट बाहिर निस्किएँ ।
धरानका गोकुल सुब्बा दाइ उहिले फ्रैङ्कफर्टका रैथाने भइसकेका थिए । हामी धराने नजिकै एकै ठाउँका । उनैकोमा दुई रात बिताउनु थियो । त्यसपछि कोलनमा एउटा कार्यक्रममा सहभागी हुनु थियो । फोनमा कुरा भए बमोजिम उनी मलाई एयरपोर्टमा लिन आउनेछन् ।
एयरपोर्टबाट बाहिर निस्केर दायाँबाया हेरेँ । अहँ, उनलाई देखिनँ । उनलाई मैले नदेखेको थुप्रै वर्ष भएको थियो । देखेर पनि नचिनेको हो कि ? वचनका पक्का उनी नआउने त कुरै थिएन । उनलाई कतै नदेखेपछि अगाडिको टेलिफोन बुथमा पैसा छिराएर फोन लगाएँ । तुरुन्तै फोन उठ्यो । तर, उनले बोलेको बाहिरैबाट टड्कारै सुनिदा एक छिन त अलमल्ल परेँ । हैन कस्तो खालको फोन हो यो ? बाहिरैबाट सुनिने ?
पछाडि ढाडमा कसैले कोट्यायो । फर्केर हेर्दा उनलाई मेरै अगाडि देखेँ । फोन राखेपछि दुवै जना आमने सामने भयौंँ । मरिमरी हाँस्यौं ।
ब्याग साथमा थियो । सिधै उहाँको कोठा जाने भइयो । त्यहीँबाट जमिनमुनि चल्ने ट्रेन अर्थात् ‘मेट्रो’ चढेर जाने कुरा भयो । मेट्रो चढेको थिइनँ तर देखेको मात्र थिएँ चिनमा । बेइजिङमा मेट्रो यात्राको अनुभव लिने इच्छा हुँदाहुँदै पनि अवसर जुरेन ।
उनको कोठामा पुग्दा अँध्यारो भइसकेको थियो । उनले पहिले नै खाना तयार पारेर राखेका रहेछन् । खाना खायौंँ । धरानका धेरै गफगाफ भए । जर्मनीका बारेमा केही जानकारी लिएँ । बडो रमाइलो कुराकानी भयो । लामो उडानबाट आउँदा ‘जेटल्याग’ले थकाएको थियो । भोलि फ्रैङ्कफर्ट घुम्ने योजना बनायौंँ । र, चाँडै सुतियो ।
बिहान उठ्दा झलमल्ल घाम लागेको थियो । युरोपमा गर्मी याममा लामो दिन हुन्छ र अबेरमा सूर्य अस्ताउँछ । बिहान पाँच बजे नै सूर्य उदाउने हुँदा नौंदस बजेतिर त घाम पनि छिप्पु भैसकेको हुँदो रहेछ । त्यस दिन गोकुल दाइको छुट्टी परेकाले साँझसम्म फ्रैङ्कफट घुम्ने र दिउँसोको लन्च उतै खाने भयौंँ ।
मेट्रोमा यात्रा गर्नु छिटो भए पनि सुरुङ मार्गमा हेर्ने चिज केही हुँदैन । ठाउँ ठाउँमा रोकिने स्टेसनका भित्तामा टाँसेका विज्ञापनका बडेमानका रङ्गीनपोस्टर र मानिसको भिड के हेर्नू ?त्यही भएर हामीले बस यात्रा रोज्यौँ ।
कन्डक्टर र खलासी बिनाको आरामदायी बसमा उक्लने बित्तिकै ड्राइभरलाई पैसा तिरेपछि मात्र अगाडि जान पाइँदो रहेछ । हामीले पनि त्यसै गर्यौंँ । खलासी र कन्डक्टरको काम पनि ड्राइभरले नै गरेपछि उसको तलब निश्चय पनि बढी नै हुने भयो । तलब बढी भएपछि उसले गाडीको तेल चोरेर बेच्नु परेन । यात्रुले भाडा बापत तिरेको पैसा खल्तीमा हाल्नु परेन । मेरो मनको अर्थशास्त्र पल्टाएर नाफा नोक्सानको हिसाब गरेँ ।
सफा र चौंडा बाटो तर घरी पुरानो र साँघुरो बाटो हुँदै गाडीअगाडि बढ्यो । करिब आधा घण्टाको यात्रापछि हामी बस बिसौनीमा उत्रियौँ । मानिसहरूको भिडभाड भएको ‘जिल’ नामको ठुलो सपिङ स्ट्रिट हामीले पाइला टेक्यौँ । पैदल यात्रु मात्र हिँड्न मिल्ने उक्त स्ट्रिटमा यातायातका अन्य साधनलाई प्रवेश निषेध रहेछ । त्यस स्ट्रिटको दायाँबायाँ संसारभरका नाम चलेका कम्पनीका सामानहरू पाइँदो रहेछ । धेरै सामानहरू पसल बाहिरैबाट हेरियो । केही पसल भित्र छिरेर सामान छाम्यौँ । किन्न चाहिँ केही किनेनौँ ।
घुम्दै जाँदा सोही स्ट्रिटमा तिनजना नेपालीहरू भेटिए । तिनीहरू गोकुल दाइसँग पूर्व परिचित रहेछन् । मसँग पनि चिनजान भयो । नेपालबाट नयाँ आउनु भएको हो भनेर तिनीहरूले मलाई सोधे । विदेशमा भर्खर नेपालबाट पुगेका मानिसका लुगा लगाइ र छालाको रङले नयाँ हो भनेर छुट्याउन गाह्रो हुँदैन । एउटा कार्यक्रममा आएको र दुई सातापछि नेपाल फर्कने कुरा मैले नढाँटी बताएँ ।
‘नेपाल गएर के गर्नुहुन्छ? त्यही जागिर ? कति हुन्छ तलब ? यहाँ दुई दिन काम गरेको तलब बराबर नेपालको एक महिनाको तलब । जागिर सागिर गोली मार्नोस बस्नोस् यतै । हामी दलाललाई कति लाख तिरेर आएको तपाईँलाई थाहा छैन । तपाईँ त सित्तैमा त्यो पनि टिकट अरुले नै हालेर पठाएको रहेछ । तपार्इँभन्दा भाग्यमानी को हुन्छ ? के खोज्नु हुन्छ अब ?’
करिब पन्ध्रबिस मिनेटसम्म मेरो दिमाग भुट्नसम्म भुटे । मलाई पनि कता हो कता उनीहरूको कुरा ठिकठिकै जस्तो पनि लाग्यो । तर, मेरो त्यस्तो योजना केही थिएन । मैले विचार गरुँला भनेँ । त्यसपछि तिनीहरूसँग छुट्टियौँ ।
दिउँसोको लन्च ‘म्याकडोनाल्ड’मा खाएर फेरि फ्रैङ्कफर्टकै चक्कर काट्न थाल्यौँ । युरोपियन सेन्ट्रल बैङ्क र जर्मन फेडरल बैङ्कको मुख्यालय भएको यो सहर व्यापार र स्टक एक्सचेन्ज मार्केटका लागि प्रमुख स्थान रहेछ । वाणिज्य, आर्थिक, सांस्कृतिक, मनोरञ्जन, शिक्षा र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र रहेछ फ्रैङ्कफर्ट सहर । त्यहाँका गगनचुम्बी भवनहरूव्यापार, उद्योग र विकासको प्रतिबिम्बकारूपमा शिर ठाडो पारेर उभिएका देखेँ । कहिले बन्लान् मेरो नेपालमा यत्रा ठुला भवन ? हाम्रा कुन पुस्ताले उपभोग गर्न पाउलान् यस्ता यातायात र सुविधा ? मनमनै फ्रैङ्कफट सहरको ईष्र्या गर्न थालेँ ।
मध्य युगका ससाना काठका घर, पसल, क्याफे र केही बियर बारहरूले जर्मन संस्कृति र परम्परालाई जोगाएर राख्न खोजेको देखिन्थ्यो । ऐतिहासिक र आधुनिक सहरको मिश्रण रहेछ फ्रैङ्कफर्ट ।
हरेक साल आयोजना हुने संसारको सबैभन्दा ठुलो ‘मोटर सो’का लागि ख्याति कमाएको रहेछ त्यस सहरले । पुस्तक प्रेमीहरूको तीर्थ र प्रकाशहरूका लागि व्यापारको केन्द्र रहेछ फ्रैङ्कफर्ट । बर्सेनि हुने संसारको सबैभन्दाठुलापुस्तक मेला फ्रैङ्कफर्टमा हुँदो रहेछ । पन्ध्रौं शताब्दीदेखि नै त्यहाँ पुस्तक मेला सुरु भएको रहेछ । हामो साहित्यको इतिहासभन्दा पनि धेरै लामो रहेछ पुस्तक मेलाको इतिहास । अनि उनीहरू हामीभन्दा शिक्षित र चेतनाले भरिपूर्ण किन नहुन्? तिनका साहित्य हाम्रो भन्दा उत्कृष्ट किन नहुन् त ?
अरुभन्दा पनि त्यहाँ हुने पुस्तक मेला हेर्ने इच्छा थियो । चार महिनापछि मात्र आयोजना हुने पुस्तक मेला हेर्नलाई पर्खिनु पर्ने भयो । जीवनमा एक पटक जसरी भए पनि सो पुस्तक मेला हेर्न आउने कुरा गोकुल दाइलाई सुनाएँ र आफनो मन बुझाएँ ।
हामी ‘मेन’ नदीको किनारमा पुग्दा साँझको सूर्य पानीमा तैरिरहको थियो । मेन नदीलाई जर्मन भाषामा ‘फर्ट’ भनिदो रहेछ । फ्रैङ्कफर्ट प्राचीन पंै्रmङ्कोनियाको एउटा भूभाग तथा ‘फ्रैङ्को’को निवास स्थल रहेछ । पर्यटकहरूको असङ्ख्य ताँती त्यस नदी किनारमादेखिए । मेन नदीमा ‘फेरी’(सानो पानी जहाज) को यात्रामा पर्यटकहरू रमाइरहेका देखिए । अबेर भएकाले जल यात्रामा जाने इच्छालाई मार्नुपर्यो ।
दिनभरिको रमाइलो घुमघामपछि साँझ कोठा आयौँ । फैङ्कफर्टमा बस्ने उनका अरु दुई जना साथीहरू पनि अलिकपछि आए । चिनजान गरियो । खानपिन गरियो । उनीहरूले पनि नेपाल नफर्कनू, यतै बस्नू भनेर सल्लाह दिए । तिनका कुरा सुनेपछि विचार गरुँला भनेँ ।
‘विचार गर्नै पर्दैन । एकदुई हप्ता युरोपको पानी पिएपछि स्वाद मन पर्न थाल्छ र लत लाग्दछ । यहाँका पानीमा नसा छ । बेइमानी छ भाइ यहाँको पानी । नेपाल फर्केर जानै मन लाग्दैन ।’ थापा दाइको युरोप सम्बन्धी रमाइला कुरा सुनेर म हाँसी मात्र रहेँ ।
बेडमा पल्टेर निदाउने प्रयास गरेँ । दिउँसो भेटिएका नेपालीहरू र गोकुल दाइकामा आएका उनका साथीहरूले दिएका सल्लाहका कारण म खलबलिएको थिएँ । मेरो मनले रातभर नेपाल जर्मनको उडान पटक पटक गरिरह्यो ।
भोलि फ्रैङ्कफर्ट छाडेर डुसेलड्रफ जानु थियो । त्यसपछि आफू आएको एउटा कार्यक्रममा भाग लिएर नेपाल फर्कनु थियो । बिहानै फ्रैङ्कफर्टबाट डुसेलड्रफ जाने ट्रेनमा मलाई चढाउन गोकुल दाइ आए । चरिचुच्चे रेलले छिटो पुर्याउँदछ भाइ, सोही ट्रेनको टिकट काटनु भने । ‘हाइस्पिड’ ट्रेनको अगाडिको भाग अलिक चुच्चो हुँदो रहेछ । त्यसै कारणले नेपालीहरूले त्यसको नाम चरिचुच्चे रेल राखेका रहेछन् ।
मलाई ट्रेनमा चढाएपछि बिदा हुनु अगाडि गोकुल दाइले भने– ‘भाइ ! जर्मन आइहालियो । एकदुई वर्ष बसेर घर बनाउने पैसा कमाएरै जानू ।’
गोकुल दाइलाई धन्यवाद दिएर विदा मागेँ ।
दाइको कुराले फेरि मन तरङ्गित भयो । उताको जागिर र परिवार माया मार्न सकिरहेको छैन । लाखौं कमाउने सपना सार्थक पार्न यतै बस्ने निर्णय पनि गर्न सकिरहेको छैन । आफू पानीमरुवा नै भएको ठहर गरेँ । हुन त यस्ता कुरामा कि त धेरै जान्नेले बुझेर कि त केही नजान्नेले नबुझी निर्णय गर्दछन् रे । त्यस्ता अधिकांश व्यक्तिहरू सफल पनि हुन्छन् रे । तर, म जस्ता मध्यम बुद्धिका ‘भिरको चिन्डो उँधो न उभोँ’ भएर झुन्डि रहन्छन् रे ।
चरिचुच्चे रेल तीव्र गतिमा दौडन थालेपछि मनभित्रका तर्क वितर्क किनारलागे । झ्यालबाट जर्मनका खेत, फाँट, गाउँ र अलिक पर पर गगनचुम्बी भवनको दृश्यावलोकनले लट्ठ भएँ ।
फेरि मनभित्र कुराले रोटे पिङ खेल्न थाले । द्रुत गतिको ट्रेनभन्दा पनि तीव्र गतिमा मेरोमन नेपाल र जर्मन ओहरदोहर गर्न थाल्यो । सबैका सल्लाहा सुन्छु । नेपालको दुरवस्था सम्झन्छु । राजनैतिक पूर्वाग्रहका कारण जागिरमा सरुवा लगायतका अनावश्यक दुःख दिएको सम्झन्छु । नेपाल फर्कने कि यतै बस्ने केही निर्णय गर्न सकिरहेको छैन । जिन्दगीमा पहिलो पटक हो यसरी अनिर्णीत भएको । भावी योजनाको प्रस्ट गोरेटो कोर्न नसकेको ।
बाटामा देखिएका कैयौँस्टेसनमा नरोकी त्यो ट्रेन अगाडि बढिरह्यो । झ्यालबाट देखिएका दृश्यले मोहित हुन्छु । ती खेतका फाँट हुँदै दौंडेको रेलले मेरो मन नेपाल पुग्दछ । पूर्व मेचीदेखि महाकालीसम्म यसरी नै ट्रेन चलाउने हो भने कति धेरै जनताले सुविधा पाउँदथे ? यस्ता खेतका फाँट मात्र होइन, पहाड, नदी नाला सबैको दृश्यावलोकन हुने थियो । उद्योग, ब्यावसाय फस्टाउनेथियो । नयाँ रोजगारी सिर्जना हुन्थ्यो । नेपाली युवाहरूले विदेश पलायन हुनु पर्दैनथ्यो । यस्तै विकासे सपना देख्दादेख्दै रेलले डुसेलड्रफ पुर्यायो ।
बहिनी तारा राई डुसेलड्रफ स्टेसनमा मलाई लिन आउने कुरा पहिले नै फोनमा तय भएको थियो । धरानकी बहिनी तारा केही वर्षअगि जर्मन नागरिकसँग विबाह गरेर बसेकी थिइन् । ट्रेनबाट ब्याग बोकेर बाहिर निस्किएँ । कता होलिन् भनेर नजर लगाउँदै थिएँ । ठ्याक्कै मेरै सामुन्ने बहिनीलाई देखेर खुसीको सीमा रहेन । अभिवादन आदान प्रदान गर्यौं ।
त्यहाँबाट बस चढेर उनको अपार्टमेन्ट पुग्दा झमक्क साँझ परेको थियो । कोठामा ब्याग थन्काएर कफी पियौँ । केही छिनपछि उनकाश्रीमान् कामबाट फर्कँदै थिए । हामीले जर्मन र धरानका कुरा गर्यौंँ र कुराको सिलसिलामा उनले पनि यतै बस्ने सल्लाह दिइन् । मेरो दोधारे कुरा सुनेर उनले मलाई खुब सम्झाइन् ।
कामबाट फर्केर आएका उनका श्रीमान्सँग चिनजान गरियो । मेरो परिचय लेखक भनेर गराएपछि उनी साह्रै खुसी भए । उनका एक जना जर्मन लेखक साथी रहेछन् । दुई हप्तापछि उनलाई भेट्न जाने समय उतिखेरै फोन गरेर मिलाइहाले । उनी साह्रै मजाका फराइसिला रहेछन्। तारा बहिनीले पकाएको बडो स्वादिलो नेपाली खाना तिनै जनाले सँगै खायौँ । स्वादे जिब्रोले जर्मनीमा नेपाली व्यञ्जन खान पाउँदा हुनसम्मको आनन्द मान्यो । हामी तिनै जनाले राति अबेरसम्म कुरा गर्यौँ ।
बिहानै तारा बहिनीसँग डुसेलड्रफ सिटी सेन्टर घुम्न निस्किएँ । राइन नदीको किनारमा अवस्थित डुसेलड्रफ बडो सफा र सुन्दर लाग्यो । बजार घुमघाम गरेपछि साँझ धरानका मणि दाइकामा भेटघाट गर्न जाने योजना बन्यो ।
मणि दाइको अपार्टमेन्टमा पुग्दा नेपालमा छु कि जर्मनीमा ? छुट्याउन गाह्रो भयो । नेपालका हस्तकलाको साम्रगीले सिँगारिएको थियो उहाँको कोठा । यता दाजु भाउजूसँगै थिए । उता नेपालमा हुर्किसकेका छोराछोरी कलेज पढ्दै थिए । सातआठ वर्ष भइसकेको रहेछ जर्मनी आउनु भएको । नेपालमा जिल्ला शिक्षा अधिकारीको जागिर माया मारेर आउनु भएको कुरा मलाई थाहा थियो । खानपिन र रमाइला गफगाफ भए । उहाँले पनि यतै बस्ने सल्लाह दिनु भयो ।बिस्तारै मेरो मन अब यतै बस्नेतिर अलिक बढी ढल्किन थाल्यो ।
अर्को दिन मोरङ केराबारीका गिरी बन्धुकामा बोलावट आयो । साँझ उतै जाने भएँ ।
ती गिरी दाइ पनि साहै्ररमाइला र सहयोगी भावनाका हुनुहुँदो रहेछ । उहाँका पनि यता बुढाबुढी मात्र र हुर्केका छोराछोरी चाहिँ उतै रहेछन् । रातभर जर्मन र नेपालको कुरा गर्यौं । उहाँलाई राजनीतिमा खुब चासो रहेछ । नहोस् पनि किन ? नेपालमा हुँदा राजनीतिमा अन्धो भएर लाग्नु भएको थियो । आर्थिक र घरायसी ब्यवहार बिग्रेपछि जर्मन हानिनु भएको रहेछ । राजनीतिमा सबै जना सफल हुँदैनन् । सिधा र इमानदरहरूझन्डा र डन्डा बोक्ने कार्यकर्ताभन्दा माथि उक्लिन सक्दैनन् । ब्यवहार बिग्रेपछि सक्नेहरू युरोप वा अमेरिका लाग्छन्; नसक्नेहरू खाडी मुलुक ताक्छन् । टेक्ने र समाउने नभएकाहरू मुग्लानतिर भाग्न बाध्य हुन्छन् । गिरी दाइको जर्मन पलायनको निर्णय उचित थियो । उहाँलाई खुसी र सफलता प्राप्ति भएकै थियो ।
अरुले जस्तै उहाँले पनि मलाई नेपाल नफर्कने सल्लाह दिनु भयो । जर्मनीमा नेपाल प्रहरी र सेनाका उच्च अधिकारीदेखि सरकारी उच्च अधिकृतसम्म यतै छन् भनेर जानकारी दिनु भयो । आधा रातसम्म गफगाफ गर्यौं । बिहानको ब्रेकफास्ट खाएपछि मेरो मुकाम तारा बहिनीकोमा फर्कने भएँ ।
अब मैले दोमन गरेर अल्मलिनु हुँदैन थियो । ‘चिचीको पनि लोभ, पापाको पनि लोभ’ गर्नु हुँदैन भन्ने कुराको स्मरणले अब मलाई निर्णयमा पुर्याउन सहयोग गर्ने भयो । भनिन्छ– ‘कुरा सबैको सुन्नू, निर्णय आफैं गर्नू ।’ दुईतिन दिनभित्रमा मैले आफैं निर्णय गर्नै पर्दथ्यो ।
यस्तै कुराले थिचिरहँदा मध्य दिउँसो डुसेलड्रफ बजारमा थिएँ । कोठा फर्किन मन लागेन । बजारको चहलपहल र रौनकले मलाई त्यहीँ रोक्यो । केही बेर त्यतै बरालिने विचार गरेँ ।
दायाँबायाँ हेर्दै अगाडि बढ्दै जाँदा ‘अल्सटाड’ भन्ने ठाउँमा पुगेछु । अल्सटाडलाई पुरानो सहर भनेर जर्मन भाषामा भनिदो रहेछ । ससाना इँटा आकारका ढुङ्गाले छापेका त्यहाँका बाटा साह्रै सफा र आकर्षक देखिए । बाटाघाटा, भवनहरू परम्परागत ढाँचाका भएर पुरानो सहर भनिएको होला भन्ने अनुमान गरेँ ।
यसलाई संसारका जँड्याहाहरू आउने ठाउँ भनौ या जाँड भट्टी ? एकदेखि अर्कासँग जोडिएका घरहरू सबै बियर बार रहेछन् । यो संसारको सबैभन्दा लामो बियर बार र डिस्कोथेक भएको ठाउँ रहेछ । हैन कति धेरै बियरका सौखिन हुन् जर्मनहरू? बारको बाहिर र भित्र बियर, वाइन र ह्विस्कीको चुस्कीमा रमाइरहेका हरेक उमेरका महिला र पुरुष बराबरी थिए । त्यहाँको रमिता हेर्दै अगाडि बढेँ ।
एसियनहरूले चिया, फ्रेन्चहरूले वाइन पिए जस्तै जर्मनहरू वियर पिउँनमा संसारमा नाम कमाएका छन् । उसो त त्यस अल्सटाडमा संसार प्रसिद्ध व्यक्तित्वहरू नेपोलियन बोनापार्ट, गोयथे र कवि हैनरिक हैइन पनि आएका रहेछन् । तिनीहरूले पाइला टेकेको ठाउँ हो भनेर गर्व गर्दा रहेछन् बियरका पारखीहरू । त्यस्ता व्यक्तित्वहरूको चरणले स्पर्श गरेको र संसारमा नाम कमाएको सबैभन्दा लामो बियर बारमा पसेर बियर नपिई गए त डुसेलड्रफको भमण अधुरो नै हुन्छ भन्ने ठानेँ ।
बारको बाहिर पट्टिको एउटा टेवल छेउको कुर्सीमा आफूलाई बिसाएँ । साह्रै नम्र एउटा युवा वेटर आएर के पिउने भनेर सोधे । मैले यहाँको प्रसिद्ध बियर ल्याउनू भनँे । सिसाको बडेमानको मग भनूँ कि जग ? माथिसम्म फिँज आएको त्यहाँको प्रसिद्ध डार्क बियर ‘अल्ट बियर’ मेरो अगाडि आइपुग्यो ।
पैसा तिर्ने वेलामा वेटरलाई यहाँ कतिवटा बियर वार होलान् भनेर सोधेँ । उनले भने अनुसार बियर बार र अल्कोहल बेच्ने डिस्कोथेक गरी तिन सयवटा छन् रे । त्यति सानो ठाउँमा त्यति धेरै बार ? उनको कुरा सुनेर आश्चर्य चकित भएँ ।
मगको माथिसम्म उठेको बियरको फिँज अलिक शान्त भइसकेको थियो । तर, तलबाट मात्तिएका बियरका ससाना फोकाहरू हल्लिँदै मास्तिर जाँदै थिए; मानौँ तिनीहरू मग बाहिर निस्केर संसार हेर्न चाहन्छन् । बिचरा ! तिनको यात्रा बियरको माथिल्लो भागसम्म पुगेर टुङ्गिन्थ्यो । माथि पुगेपछि प्याट्ट फुटेर अलिकति फिँज र अलिकति बियर बनेर तैरिन्थे । यस्तो दृश्य हेर्दाहेर्दै कवि भूपि शेरचनको ‘पानीका फोका...’कवितांंशको सम्झना गर्दछु र बिस्तारै बियर घुट्काउँछु । बिलकुल फरक स्वादको अलिक बढी तितो बियर रहेछ !
त्यहाँ बसेर बियर पिउन निक्कै परदेखि मानिसहरू आउँदा रहेछन् । बिहान सबेरैदेखि आधा रातसम्म चल्ने त्यत्राविधि बियर बारमा मातेर होहल्ला, झैझगडा गरेका, सडकमा लडेका, होस गुमाएका कोही देखिएनन् । त्यहाँका भद्र जँड्याहरू देखेपछि हामी नेपालीहरूले सिक्नु पर्ने यस्ता संस्कार कहिले सिक्ने हो भन्ने लाग्यो ।
मगको सबै बियर तन्काएपछि म उठेँ । साँझमा कोठा पुग्नु थियो । यता आएकाले एकदुई दिनभित्र बेल्जियम पनि घुमेर फर्कने सोच बनाएको थिएँ । तर, जति जना भेट्यो सबैले यतै बस्ने सल्लाह दिइरहेका थिए । मेरो मनको पल्ला कहिले यता बस्नेतिर त कहिले नेपाल फर्कनेतिर भारी हुन्थ्यो । मनको पल्ला कैयौँ दिन नेपाल र जर्मनी गर्दै तलमाथि तलमाथि गरिरहेको थियो ।
साँझमा तारा बहिनीको कोठामा पुगेँ । म पुग्दा उनका श्रीमान् पनि आइसकेका रहेछन् । दुवै जनासँग कुराकानी भयो । कुराकानीकै क्रममा बहिनीले मलाई प्रेम पूर्वक एकजोर जुत्ता उपहार दिइन् । अत्यन्त रामो डिजाइनको आकर्षक छालाको जुत्ता मलाई औधी मन पर्यौ । सरप्राइज्ड गिफ्ट पाएर म अति खुसी भएँ । उनलाई उपहारका लागि धन्यवाद दिए ।
‘अब यो उपहारलाई तिहारमा तिर्नेछु’– मैले भनेँ । भाइ तिहारसँगै मनाउने कुराले उनी खुसी भइन् ।
‘बहिनी ! यो चुम्बक भएको जुत्ता त होइन नि ? कतै यसले मेरो पाइताला युरोपमै टाँसिराख्ने त होइन ?’ मेरो अप्रत्यासित ठट्टा सुनेर उनी खुब हाँसिन् । उनीसँगै मैले पनि हाँसो थपेँ ।
रातको खानपिन भयो । बहिनीले फेरि भनिन्–‘दाजु आइहाल्नु भयो । एकदुई वर्ष बसेर केही पैसा कमाएर फर्कनु राम्रो हुन्छ । तपाईंको सरकारी जागिर छँदै छ, बिदा मिलाउँदा भै हाल्छ ।’
उनको सल्लाह अनुचित थिएन । जागिरको कमाइबाट मात्र जग्गा किनेर घर बनाउन सम्भव थिएन । अब चाहिँ मेरो मनको पल्ला यतै बस्नेतिर भारी हुँदै गएको महसुस गरेँ ।
‘तिम्रो सल्लाहलाई मैले शिरोधार्य गरँे बहिनी । बेल्जियममा केही साथीहरूछन् । एक पटक तिनीहरूलाई भेट्न जान्छु । यता बस्नु परे यतै बसुँला; बेल्जियम मन परे उतै बसुँला नत्र नेपाल फर्कुँला ।’ यति भनिसकेपछि बहिनी खुसी भइन् । सुत्नुअगि भोलि बिहानको ट्रेनबाट बेल्जियम जाने कुरा सुनाएँ ।
बिहानै ट्रेन स्टेसनसम्म मलाई छाड्न बहिनी आइन् । बेल्जियम जाने द्रुत गतिको टे«नमा चढेँ । टे«नले बिस्तारै गति बढायो । तारा बहिनीले बिदाइको हात हल्लाइरहेको दृश्य झ्यालबाट देखेँ । मैले पनि हात हल्लाएँ । मेरी प्यारी बहिनी तारा ओझेल परिन् । म उदास भएँ ।
+ + +
विदेशमा गुमनाम भएर बस्न सकिनँ । विदेशमा म जाकिएको हुँ कि आफैं भासिएको हुँ ? वा पलायन भएको हुँ ? के म अवसरवादी हुँ ? मलाई थाहा छैन । तर यी पङ्क्ति लेखिरहँदा चुम्बक झैं विदेशमा टाँसिएको सोह्र वर्षभन्दा बढी भयो । करिब बाह्र वर्ष जति बेल्जियम र चार वर्षभन्दा बढी बेलायतको बसाइमा दजर्नौं जोर जुत्ता फाटेर गए । युरोपमा मलाई टाँसेर राख्ने त्यो चुम्बकीय जुत्ता आजसम्म पनि मसँगै छ । तारा बहिनी दिएको त्यो उपहारलाई प्रेमपूर्वक सुरक्षित राखेको छु ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 जेठ, 2073

लेखकका अन्य रचनाहरु