कुकुर र सडक

- चूडा मणि रेग्मी

‘कुकरहरु साह्रै चुत्था हुन्छन्’ रमेश नाथले पालेको दुढ धारणा थियो यो । यसलाई भाँडामा टाँसिएको कालोपनसित दाँजे हुन्छ । अहिले आएर रमेश नाथले आफ्नो धारणा फेर्नु पर्ने स्थिति भयो । नयाँ वातावरणमा घरको शोभाका लागि कुकुर पाल्नु पर्ने स्थिति हो ।
‘मैले पनि कुकुर पाल्न ुपर्छ, यस्तो दिन पनि आयो’ रमेश नाथ आश्चयान्वित भए ।
म विवाह गर्दा रिन काड्ने तन्नम, सानो जागिरले थङथिलिएको सानो रकमले च्याप्पच्याप्प भएर जीविका गर्ने मान्छे ।
म अति राम्री आफ्नी स्वास्नी पनि सिगार्न नसक्ने । छोरा–छोरीलाई शिक्षा दिन धौ–धौ मान्ने, नाताले इष्टमित्रले उत्साहित दृष्टिले कहिल्यै नहेरेको ।
आफन्त सधैं टाढिने म !
आँसु झार्दै उसिनाका चामल वगडा नून सित खाएको म !
रोगले, भोकले, सोकले, अभावले सधैं ग्रस्त म ! आज सानो घर छ द्वार छ, सडक छान्दछ यो सडक ! यहाँ कसरी बत्ती बलेको छ, बल्ल ! जसरी–कसरी जागीरमा चिठ्ठा परेर यस घरमा बत्ती बलेको छ ! परिवर्तित वातावरणमा आफुू उपर आफैं छक्क परेको रमेश नाथलाई एक हितुले एउटा पुत्ले रंगको कुकुरको छाउरो, यो भन्दै यसका मालिकको स्थिति निकै दयनीय भएछ र मात्र यो पाइयो” जिम्मा दिए ।
घरको आँगनमा साङ्लाले कुकुर बाँधे पछि उसको पत्ले रंगको शोभा आकासमा तारा जस्तो देखियो । रमेश नाथलाई यो घर अब अलि बेग्लै उज्यालो उज्यालो अनुभव भयो । ती दुःख, ती व्यथा, ती आँसु पुत्ले रंगले माने अहिले आकासमा उडाइदिए ।
आँगनमा बाँधेको कुकुर ज्वाईं जस्तो ठालू भयो । उसले घरका ठूला–वडा सरह खान्की पायो । उसले वान्की पायो, नुहाउने नोकर पायो, सब भन्दा ज्यादा आमाले माया मारे तापनि मालिक मालिकनीले उसलाई सन्तानलाई झैं प्रेम दिए । नाम पनि उसको डायमण्ड भयो । कृतज्ञ झैं पुत्ले पनि स्वामिभक्तिका रुपमा बराबर पुच्छर हल्लाउन थाल्यो ।
रमेश नाथ कुकुरको यस चाकरीबाट दङ्ग भएका थिए, तर समयको क्रममा एकदिन श्रीमतीले यस्तो गुनासो गरिन्– ‘यस डायमण्डले धुरुक्क रुवायो हजुर !’
घरबाट निस्कँदा कुनै सिपाहीले आफ्नो अफिसरलाई बराबरको सलामी ठोके झैं पुच्छर हल्लाउने मालिक घर भित्रिंदा पनि स्वागत गर्दै पुच्छर हल्लाउने डायमण्डको उपरको यस उजुरउपर रमेश नाथले त्यति ध्यान दिएनन् ।
“साँच्चै भन्या हो–यो ज्वाईं, झैं खान्छ ठालू भएर, हुक्र्यो डाँगो भयो, तर घरको गतिलो गोठालो भने गर्दैन भुक्दैन, ‘कुकुरदेखि सावधान’ भन्न पाइयोस न उल्टै रातोदिन कुइँ–कुइँ–कुइँ ! पड्के !” श्रीमती ठुस्किन् ।
रमेशनाथ चाहन्थे – आफ्नी दुःख सुखकी साथी श्रीमती प्रसन्न रही गृहलक्ष्मी बनी रहून् र चाहन्थे श्रीमतीको समेत माँगबाट आएको यो कुकुर पनि प्रसन्न रहोस् र यो घरको प्रतिष्ठा बढाओस् ।
“के गर्ने त !” निराश उनले भने ।
“का ेनि के गर्ने !” भन्दै श्रीमती आफ्ना काममा हिंडिन् । यतिखेरै एक जना मित्र रमेश नाथलाई भेट्न भनी आए । कुकुर चुपचाप आफ्ना ठाउँमा रह्यो ।
“ए ! राम्रो कुकुर ल्याउनु भए छ ।” ती मित्रको प्रतिक्रिया थियो ।
“कुकुरको हाहाकार छ, भने जस्तो पाइँदै, यस्तै पाइयो !” केही गर्व साथ भन्दै रमेश नाथले कुकुरलाई हातले सुमसुम्याए । मख्ख परेर डायमण्डले फेरि पनि पुच्छर हल्लायो, दङ्ग परे रमेश नाथ, तर यत्तिखेरै ती मित्र प्रति कुकुरको कुनै प्रतिक्रिया नभएकोले उनका मनमा चिसो पस्यो । मित्रले केही छिन धेरै वर्ष दुःख पाएर बल्ल केही बन्दोवस्त गर्न सकेका रमेश नाथको वैठक, फुूलबारी, कुकुर र घरको रहन–सहनको स्तर क्रमशः राम्रो हुँदै गरेको विचार गरी हिंडे ।
“डायमण्ड !” रमेश नाथले कुकुरलाई फेरि सुमसुम्याए । फेरी कुकुरले स्वामिमानी देखायो र टाउको ठाडो पारी घर मालिक घर भित्र पसे । नभन्दै एक छिन पछि कुइँ–कुइँको आवाज सुनियो ।” पड्केलाई बैंस चढ्या छ । अब श्रीमतीले स्पष्ट गरिन् ।
“ह्ँ ?”
“कुन ठुूलो कुरो भयो र हजुूर आत्तिया ! तर यो बिकासे कुकुर हो !” श्रीमतीले आफ्नो निर्णय फेरि दोहो¥याइन् ।
“सङ्कट !” रमेश नाथले प्रतिक्रिया व्यक्त गरे र उनी कुकुर भएतिर गए–फेरि कुकुरले पुच्छर हल्लायो, कुइँ–कुइँ गरेन । धेरै वर्ष निहुरेको उनको टाउको एकछिन फेरि पनि ठाडो भयो । उनी प्रसन्न फूलबारी तिर लागे । एकछिन पछि उही कुइँ–कुइँ सुनियो ।
रमेश नाथले हेरे– साङ्लोबाट छुट्ने कुकुरको प्रयत्न छ ।
“डायमण्ड !” उनी कराए । कुकुर चूप !
फूलबारीको रेखदेख सके पछि कुकुर भए ठाउँ उनी आएर उनले उसलाई साङ्लाबाट फुकाइ दिए ।
सडकले हेरि रहेको थियो, कुकुरलाई । साङ्लाबाट मुक्त हुनासाथ ऊ लमतन्न खुला सडकमा अति प्रशन्न दौडियो । यता सुँघ्यो, उता सुँघ्यो, के गरुँ, कसो गरुँ भन्दै सडकलाई अङ्गालो हाल्यो ।
‘जति यसलाई चाट, यसलाई सडक नै प्यारो छ ।” रमेश नाथले सोचे ।
“फुकाइ दिनु भयो ?” श्रीमतीले सोधिन् ।
“कराएर दिक्क लगायो ।” पोईको जवाफ पछि साभिप्राय श्रीमती मुसुमुसु हाँसिन्, मुखले भने केही भनिनन् ।
“किन ?”
“केही होइन ।”
रमेश नाथले वरण्डाबाट सडकतिर हेरे–– उनको डायमण्ड पर–पर सडकमा छ, र उसको साथमा अर्को उसकै जातको जन्तु छ । छि ..... ।” आखिरमा रमेश नाथले आँखा छोपे ।
“मैले भनेको त हो नि ! जति गरे पनि यो यस्तै हो । यसको बानी सडक हिंड्ने छ ।” श्रीमतीको प्रतिक्रिया भयो ।
“कुकुर हो । जातै चुत्थो !” रमेशनाथले निक्र्योल गरे ।
अनि साँझमा रमेश नाथले आँगनमा निर्जीव झैं लम्पसार परेको डायमण्डलाई देखे र एक्लै खिस्स हाँसे ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 जेठ, 2073

लेखकका अन्य रचनाहरु