अन्नपूर्णाको आँगनमा

- भेषराज रिजाल

बेलेरो जीपमा छजना यात्रु पुसिसक्दा मनाङे चौताराको पीपलको टुप्पैमाथि पुगेको थियो घाम । मनाङको हिमाली सौन्दर्यमा रमाउने रोमाञ्चक कल्पनाले त्योभन्दा चहकिलो घाम उदाएको थियो मेरो मनमा ।
सखारै गाडी चढ्ने हाम्रो हुटहुटी बुझेरै तुलसी तिमिल्सिना र जीवाखर शर्माले गाडीको प्रबन्ध गरेका थिए । तर, सामानै भेटिएको छैन भन्दै कुदिरहेथे जीपहरू । हिजोको हावाहुरीले पखालिएको कञ्चन आकासमा तैरिरहेको घाम अक्कासिँदै जाँदा भने बढिरहेको थियो छटपटी ।
बहत्तर साल फागुन मसान्तका दिन काठमाडौँबाट आएर बेँसीसहरमा बास बसेका थियौँ हामी ।
छजना यात्रु भरिएको जीपमा आठ–दश क्विन्टल सामानको बोझ पुगेपछि बल्ल शुरु भयो स्वर्गीय यात्रा । अघिल्लो दिनको वर्षात्ले जमेको पानी उछिट्याउँदै मस्र्याङ्दीको किनारै किनार कुदायो जीपले ।
राताम्मे धाइरे पाखो र मस्र्याङ्दी तटका ठूल्ठूला ढुङ्गा हेरेर दङ्ग पर्छु म ।
खुदीको सुरुङमार्ग छिचोलेपछि देखियो निर्माणाधीन माथिल्लो मस्र्याङ्दीको पावर हाउस र केहीबरपछि पुगियो ङादी खोलाको किनारको त्यसकै बाँधनेर ।
मस्र्याङ्दीको जल घरि ठूल्ठूला शिलासँग ठोक्किएर दूधिलो बनिरहेछ त घरि तालिएर नीलो । मेरो जिज्ञासा, आकर्षण र सौन्दर्यको केन्द्रमा छ मस्र्याङ्दी । जीवनभर यसरी नै यसको किनारै किनार घुमिरहन पाए, साहसिक अन्नपूर्णा पदयात्रा मार्गभन्दा लम्बेतान मार्ग भेटिन्छ मनभित्र ।
भीरभरि देखिन्छन् सिमलका राता फूलहरू । तब, शिशिर भोगिरहेको जीवनमा मुस्कुराउँछ वसन्त ।
तिलिचो पुगेर थोरङ्–ला पास हुँदै मुस्ताङ निस्कन लालायित चितवने ठिटाहरु छन् सहयात्री । अघिल्लो सिटका राजेश सुवेदीको टाउको बढी हल्लिएकोले नामै फ्लेक्जी भाइ राखिदिएका छन्साथीहरूले । टसमस नहुने मोटा भाइ सुरज पौडेललाई नसर्ने तिब्बतीयन प्लेटको उपमा दिएको छु मैले । टोलराज उपाध्याय र सुदीप दवाडी झ्यालतिरको सिटमा बसेर प्राकृतिक छटा हेर्न कस्सिएका छन् । चालक रामबहादुर गुरुङ र मनाङे दिदीले सोधेको विषयमा मात्र बोल्छन् नत्र सहयात्रीका प्रतिक्रियामा हाँसेर साथ दिन्छन् ।
जीप बेस्सरी हल्लिएकोले डान्सिङ कार भन्दै हँसाउँछन् साथीहरू ।
अर्खले बेँसीबाट दर्पणसरि देखिन्छ हिमाल । म दर्पणमा आफ्नो होइन, हिमालकै अनुहार नियालेर हाँसिरहेछु ।
झुल्कियो एमानको डाँडाको थुम्को । केरा व्यापारी बताउँछन् यसकै पछाडि छ बाहुन डाँडा । म त्यो डाँडामा अडिन्न धेरैबेर, बरु नदीमै हाम्फाल्छु । र, मस्र्याङ्दीलाई जोन उडले भन्दा चिसो बियर बनाएर पिइरहन्छु ।
ठूलो पहरो खोपेर बनाएको अक्करे भीरबाट छिर्छ यात्रा । तल रसातलमा धसिएको छ मस्र्याङ्दी । यस्तै पहरो वारपार गर्नेहरुलाई देखेर माधव घिमिरेले भने होलान्, ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल’ ।
बाटो किनारको सिस्नो देखेर फ्लेक्जी भाइ भन्छन्, मैले जीवनमा सिस्नो चाखेको छैन, तर धेरैपटक खाएको छु । मैले अनुमान लगाउँछु, ‘उसो भए सिस्नो पानी खानुभए होला’ । उन्मुक्त हाँसोले मस्र्याङ्दीको विरहिलो सुसाइ बिर्साइदियो केहीबेर ।
दाह्रा उजाइरहेको पहरे बाटो र मस्र्याङ्दीको खोच हेर्दा यात्राले फेरि विरह सुसेल्यो– ‘हिजो र राति के देखेँ सपना मै मरिगएको, मस्र्याङ्दी नदी कता हो कता सुसाई रहेको ...’ ।
‘अन्तिम इच्छा हो !’ मनाङ जाने योजनाबारे वीरबहादुर राईको ठट्टाले समेत घोचिरहेछ यतिखेर । मेरो बढुवा भएकोले अन्यत्र पदस्थापना हुन्छ भनेर ठट्टा गर्नुभएको हो तर मस्र्याङ्दीमाथिको भीर देख्दा लागिरहेछ कतिखेर हुन्छ जीवनकै अन्तिम इच्छा !
पारि भित्ताको बाटोको डोरेटो हेर्दै कल्पना गर्छु विकटताको, हिमाली जीवनको । जिम्मु, सिलाजित र अनेक जडिबुटी बिक्री गर्दै हिँड्ने भोटेदाईलाई भेटेर सलाम गर्न मन लाग्छ । आधुनिक पहिरनमा ठाँटिएको ऊ झ्यालैनेर मुस्कुराएर मलाई उपहास गर्छ । म अलमलमा पर्छु । त्यो त सहरिया भोटेदाई पो रहेछ । हिमाली गाउँबस्तीमै पुगी दोचा–बख्खुधारी सक्कली भोटेदाईलाई सलाम गर्ने निधो गर्छु ।
गाडीको इञ्जिन सेलाउन र हाम्रो इञ्जिन तताउन केहीबेर रोकियौँ हामी रामबजार स्याङ्गेमा । काकाको व्यापारमा सहायता गरिरहेका प्रितम गुरुङले पारिपट्टि देखाइदिए, राष्ट्रकवि माधव घिमिरेको जन्मगाउँ भीर पुस्तुन । हेरेर भीर पुस्तुन एउटा ठूलै तीर्थस्थल पुगेको गौरव भरियो अन्तरहृदयमा ।
ढाडै भाँच्चिनेगरी चिप्लिएर कनकमणि दिक्षितले भोगेको लिली भीर देखाउँदै थिए साथीहरु । सधैँ सामान्य लाग्ने ‘चिप्लेँटी’ शब्द सम्झेर सातै गयो मेरो त । डरको ओखती डर नै हुनाले झन् डराउन दिएर उतारिन्छ रे सातो । थुप्रै लिली भीर उनिएका पहराहरु नियालिरहेँ डर भगाउन मैले पनि ।
आकासभन्दा अग्लो भीरतिर हेरेर सुस्केरा हालेथेँ, ‘उफ्, बाँदर लोट्ने भीर’ । नभन्दै ढेडु बाँदर रगताम्मे भएर मरेको देखिएथ्यो बाटैमा । बिचरा, आकासबाट खसेपछि बाँदरले पनि कहाँ समातोस्, कहाँ अडियोस् ?
भर्खर छोडिएथ्यो दुर्घटनाग्रस्त जीप, ठूलो ढुङ्गोले फेरि बाटो अबरुद्ध पा¥यो । तर, पाइलैपिच्छे संघर्ष बाँचेका मान्छेहरु किन चुप लाग्थे र, ढुङ्गो पन्छाएर खुलाइहाले बाटो ।
जगत कटेर अगाडि बढेपछि मसिनो पानी पर्न थाल्दा थचारिएका चोटमा चह¥याउने गरी पीडा थपिएझँै लाग्छ ।
शिरको स्वेत हिमाल, पृष्ठभूमिको सङ्लो मस्र्याङ्दी र पारिपट्टिको तारेभीर संयोजन गर्न खोज्छु । ट्र्याक मात्र खोलिएको सडकमाथि जीपको हडबडले त्यो संयोजनलाई विरुप पारिदिन्छ । तैपनि, गठिलो ड्राइभरको अँटिलो हँकाइबाट विश्वस्त हुँदै भरोसाको आडमा रमाउन खोज्छु ।
भीर मौरीका घार देखे पनि मुख रसाउँदैन बरु आकासको फल आँखा तरी मर भनेझैँ भीर हेरेर मन मार्छु । मन मरेर पखेँटा खुम्चिएपछि खुला आकास देखेर मात्र के गर्नु ?
प्रकृतिको अद्भूत प्रवाह भएर झरिरहेको च्याम्चे झरना देखियो । मेरो साथका ‘तीन क’ अर्थात् कापी, कलम र क्यामरा एकैचोटी दौडन खोजे । तर के गर्नु दिमाग लठ्ठ पर्नाले म निःशब्द थिएँ । तैपनि धित मरुञ्जेल हेरियो एउटा चिया पसलमा सुस्ताएर त्यसलाई ।
कडा पहरोको बीचोबीच काटिएको सरलरेखा हेरेर कठोर हिमाली जीवनको संघर्ष अनुमान गर्छु । यो रेखा कोरिनुभन्दा पहिले पनि बनाएकै थिए हिमाली मान्छेहरु आफ्नो भविष्य । भाग्यलाई जितेर संघर्षले कोरेका डोबमा चलिरहेछ हिमाली जनजीवन, म मुग्ध हुन्छु ।
एउटा काठे पुल तरेपछि मनाङ टेकिएछ ।
ट्र्याक खोल्दा मारिएका स्थानीय र सैनिकहरुको नाम टाँगेर आफ्नो भयङ्कररुप प्रदर्शित गरिरहेछ म्यार्दी भीर । म अचम्मित हुँदै नियाल्छु त्यसको आग्नेय अनुहार । ‘त्यो भीर छिचोलेर कसरी बन्ला र बाटो’ भन्थे रे मनाङेहरुले पनि पहिले पहिले त ।
माटोरहित ढुङ्गेनी बाटोमा जीप नाचिरह्यो । उ नाच्दा झन् घोचिरह्यो शरीरभर । साथीसँग छोइए पनि पाछिरह्यो असह्य ।
मस्र्याङ्दीको किनारमा तालिएको बस्ती ‘ताल’ देखियो निकै तल ।
मस्र्याङ्दीले दिनभर सातो काडिरह्यो । तालनेर तालिएको देखेपछि भने त्यसको सुन्दरतामा आँखा लगाएँ मैले । डर सिर्जित रोमाञ्चक साहस अनुभूत भयो ।
एकहुल बहरहरुले बाटो छेक्दा धारापानीमा थियौँ हामी । मस्र्याङ्दी पारिपट्टि देखियो स्वर्ग जान आकासमा हालिएको लिस्नो जस्तो झोलुङ्गे पुल । तिल्चे र ताचैबगरछाप जोड्दो रहेछ त्यो पुलले ।
‘केही छ भने कि त भाइहरुको सेल्फीमा कि त गुरुङजीको स्टेरिङमा ।’ मैले साथीहरुलाई हौस्याई रहेँ ।
दानाक्यू पुगेर फर्कँदा हिमाल छोडियो पछाडि । बर्सिरहेको हिउँ र गजधुम्म कुहिरोले झन् भयानकता थपिरहेथे हिमालको छेउछाउतिर । शायद हिमाली जनजीवन हेर्न हिँडेकासँग कठोर परीक्षा लिँदै थियो प्रकृति ।
सेता, पहेँला रङका लहरा र विचित्रका पहरा आउन छाडेका थिएनन्, बाटोमै पोखिएको तिमाङको छहरोले मुटु हल्लायो फेरि एकपटक । अलिमाथि तिमाङको उकालोमा पुग्दा भने गुराँस र लोकताका फूलले स्वागत गर्न थाले ।
धर्तीको उचाइ चुमेर रमाउन निस्केको बबुरोलाई निमोठ्न थालिरहेथ्यो ओसिलो कुहिरोको दुर्गन्धले । थानचोक पुग्दा आकास झन् बर्सन थाल्यो । मनभित्रका पत्रपत्रमा पनि छिरिरहेथ्यो चिसो । निथ्रुक्क भिजेको मन कहाँ टाँगेर सुकाउने हो खोइ, म झोक्राइरहेथेँ ।
सल्लाको सुगन्ध र जौबारीको हरियो अञ्जुली उठाएर स्वागत ग¥यो कोतो बजारले । त्यो स्वागतले कुनै उत्साह थपेन हामीमा । सबैका निःशब्द निला ओठमा उदासी कोरिएको थियो । छिप्पिन लागेको झम्के साँझको अन्धकारमा एउटा प्रश्न अड्किएको थियो सबैको मुखमा– ‘चामेबजार कतिखेर झुल्किएला ?’
मनाङका नार र फू गाउँ त धेरैपछि पत्ता लागेका हुन् रे । खोलामा जौ, उवाका छ्वाली बगेको देखेर खोज्दै जाँदा फेला पारेका रे ती गाउँ । साथीहरुबाट पाएथेँ जानकारी । नार, फू र काङ्ला–पास जाने बाटो छुट्टिन लागेको थाहा पाए पनि मूर्तिवत् बनिरहेँ म ।
रात परेपछि बल्ल भेटियो चिसो कुहिरो र सिमसिमे पानीमा भिजिरहेको चामे बजार । तिमाङको उकालो लागेपछि छलिएको मस्र्याङ्दी झन् चिसो स्याँठ लिएर हामीलाई दुत्कार्न अग्रसर देखियो ।
प्रहरीले सबैको नाम, ठेगाना र उमेर दर्ता गर्नथाल्यो, स्वर्गमै पुगेको भान पार्दै । भ्रमणको उद्देश्य सोध्दै प्रहरी मुस्कुरायो, हिउँ परिरहेछ, होश गरेर घुम्नुहोला । त्यो सुनेर मनमा झन् सञ्चार भएथ्यो उत्पात खुसी ।
विजय सिंह कार्की र साथीहरुको न्यानो सहयोगले शूल बन्नेगरी मनमुटुभित्र छिर्न पाएन हिमाली चिसो । जिल्ला निर्वाचन कार्यालय, मनाङको छानामुनि ओत लाग्यौँ टोलराज उपाध्याय र म ।
पिटिइरह्यो रातभर बलेनी । सुसाइरह्यो हावा चिसोको साम्राज्य फैलाएर । बजिरह्यो मनमा अत्यासको ढ्याङ्ग्रो आएको बाटोको डिल र मस्र्याङ्दीको खोँच सम्झँदा ।
भोलिपल्ट बिहान बल्ल हार्दिक स्वागत ग¥यो चामेले । सल्लाको काठको टेको, ढुङ्गेनी छानाको ओत र मस्र्याङ्दीको मालामा आफू पनि प्रफुल्ल देखियो । लमजुङ हिमाल अपलक हामीलाई नै हेरेर हाँसिरहेको थियो । किलर माउण्टेन मनास्लुको सुन्दर वाणले मनमुटु नै घाइते बनाइरहेथ्यो । वरपरका सल्लेरी डाँडाहरु पनि हाम्रो स्वागतमा सेताम्मे थिए । मुटुको तिब्र ढुकढुकीसँगै झन् बढिरहेथ्यो माथिल्लो मनाङ हेर्ने मेरो चाहना ।
गाडी नपाए गोर्खाली कान्छालाई लिएर पैदलै जाने योजना बनिरहेथ्यो प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले पठाइदिनुभयो गाडी ।
यात्राले फेरि पायो निरन्तरता– मस्र्याङ्दीको किनारै किनार त्यसको उद्गमतिरै । निर्जनप्रायः सल्लेरी वनपाखामा धेरैबेरसम्म एकोहोरो सुसाइरह्यो मस्र्याङ्दी ।
‘भार्ताङको स्याउबारी’, पत्रकार आस गुरुङ बोले । ‘शायद यो दक्षिण एसियाकै ठूलो स्याउबारी हो’ अर्का पत्रकार छविलाल बगालेले थपे ।
स्वर्गद्वारी डाँडोको हिउँले बनायो मोहित । तेर्पाएँ ढुङ्गेनी भित्तामा थियो हिउँको लेपन र टाकुरामा थियो हिउँकै ताज । मन र क्यामराका भित्तामा सजायाँै हामीले त्यसलाई ।
तब छबिलाल बोले, ‘एउटा किंवदन्ति छ स्वर्गद्वारीबारे ।’
‘सुनाउनुस् त, यति सुन्दर टाकुराबारे अनेकौँ किंवदन्ति ।’ मैले पत्रकारको खोजमूलक जानकारी पाउने अपेक्षा राखेँ ।
‘टाकुरामा गएपछि फर्केर आउँदैन रे कोही पनि । नुन बोकेर कतैबाट डाँडामा आइपुगेकी गर्भिणी महिलाले चुचुरोमै जन्माइन् रे शिशु । ती आमा–छोरा र तिनीहरुलाई खोज्न गएका गाउँले फर्केनन् रे कोही पनि ।’ बगालेले मनमोहक मनाङसँग चिनजान गराइरहेथे ।
‘स्वर्ग जाने उचाइ भएर कहलिएको होला स्वर्गद्वारी ।’ यति विकट र चित्ताकर्षक हिमाली डाँडाबारे स्वाभाविकै लाग्थ्यो किंवदन्ति ।
झ्यालबाट घरि स्वर्गद्वारी हेर्दै त घरि धुपि र सल्लाका रुखमा अड्किएको हिउँ हेर्दै अगाडि लाग्यौँ हामी ।
रुखमा हिउँ यसरी अड्किएको थियो, मानौँ हिउँ नै फलिरहेछ रुखमा । घरिघरि भने ठूलै आवाज निकालेर खस्थ्यो र डराउन दिन्थ्यो हिउँले– हिमाली भालु त आएन नजिकै ।
ओसिलो हिमाली पाखामा चलेको सिरेठो स्पर्श भइरहेथ्यो, साथीहरु भन्दै थिए, ‘यहाँको चिसोले मुटु होइन मन पनि छुन्छ ।’
ढुकुरपोखरीमा रातो हाँस देखेपछि भने गाडी रोकेर बुर्कुसी मारे आस गुरुङ । कस्तुरी, नाउर, घोरल, डाँफे आदिको चरन प्रतीत हुने फराकिलो चउरबीचको पोखरीमा उत्रियौँ र पोथ्रे धुपिका फेदको हिउँ उचालेर रमायौँ हामी पनि । हामीमाथि फैलिएको कालो बादल र हुइँकिइरहेको हावाभन्दा त तातै थियो त्यो हिउँ ।
वरपरका सबै डाँडापाखाको हिउँले मनै उज्यालो भइरहेथ्यो । मस्र्याङ्दीको हुन्हुनाइ र सुसेलीले मुग्ध बनाइरहेथ्यो । मन प्रकृतिमै लिप्त थियो । छबिलाल भन्दै थिए मृङ्क्यू अर्थात् घर बिर्साउने जल खाएपछि घरै फर्कन्न रे मान्छे । कसैले भन्दै थिए, त्यसैले होला माक्पा अर्थात् घरज्वाइँ बसेर घर भुलिरहेका मान्छेहरु ।
साथीहरुले सम्झना दिलाए नत्र मैले पनि बिर्सेको रहेछु घर । मनमनै हाँसेँ, अझ मृङ्क्यू खाएको भए के हालत हुँदो हो ?
पिसाङ गाउँ आइपुग्यो । हिउँचुलीको मुन्तिर जस्ताले छाएका ढुङ्गा र काठका चिटिक्कका घरहरु साह्रै सुन्दर देखिए । दोबाटोमा ठड्याइएका माने र गुम्बाहरुले स्वागत गरिरहेथे । लेकाली पसिना र हिउँको मलजल पाएको घरबारी नियाल्दै मैले कल्पेँ, रातै फापर फुल्दा र लटरम्म स्याउ फल्दा झन् कस्तो देखिँदो हो यो गाउँ ।
पिसाङ आरोहण गर्न गएका आरोहीहरु हुतहुत आँधीमा परेको, अघिल्लोपटक आउँदा हिउँमा गाडी फसेको आदि घटना सुनाउँदै थिए पत्रकारद्वय । पिसाङ र अन्नपूर्णामुन्तिर हिँडिरहँदा मन बोल्यो– जोखिमबिना कहाँ हुन्छ एड्भेन्चर ?
हिमाली पाखामा घ्यारु गाउँ मुस्कुरायो । जगदीश अर्यालले एउटा पथ कोरिदिए मनमस्तिष्कमा, ‘हुम्डेबाट ङावल हुँदै पुगिन्छ हिमाच्छादित घ्यारु ।’
देउरालीलाई अनेक फूल चढायौँ हामीले हिउँका, तस्विरका, कल्पनाका । बदलामा देउरालीले खुला आँगन दियो जहाँबाट देखिन्थ्यो हिउँ दुनियाँका अनमोल दृश्यहरु ।
पिसाङ गाउँलाई अन्नपूर्णा र स्वर्गद्वारीले अंकमाल गरिरहेथे । चारैतिर हिउँको साम्राज्य फैलाएर शासन गरिरहेथ्यो मनाङ उपत्यकाले । हुम्डे विमानघाटले भने हिमालको फेदीमा लम्पसार परेर पर्यटकहरुको प्रतिक्षा गरिरहेथ्यो । हिमालको सान्निध्यमा झन् हरियो थियो धुपि र सल्लाको वन । मस्र्याङ्दी आफ्नो निलो जलमा हिमाली छायाँको जीवन गीत घोलिरहेथ्यो । हिमाली चिसो स्पर्शले जागृत मेरो अन्तरमनको आकासमा पनि देउरालीका बहुरङ्गी ध्वजा पताका फरफराए ।
मैले आससँग अपेक्षा राखेँ, ‘ल त पत्रकारको नजरमा कस्तो देखिँदो रहेछु म ।’
यतिखेर धुपि र सल्लाका छायाँमा छेलिँदै सुस्तरी हुन्हुनाइरहेछ मस्र्याङ्दी । तिमाङ, म्यार्दी, छहरे, लिली आदि भीरैभीरको खोँचमा भयावह बनेको मस्र्याङ्दी यति शान्त र सौम्य होला भन्ने कल्पना पनि थिएन मेरो । मनाङको विछोडमा भीरहरुबाट खस्दै भासिएको त होइन मस्र्याङ्दी, मैले आएको बाटो सम्झिरहेथेँ ।
विपरित भए पनि यतिखेर मस्र्याङ्दीकै सुस्त गतिमा हिँड्न चाहन्थेँ तर सोझो र समथर बाटो पाएर मुन्द्रे यातायातभन्दा बेतोडले हाँक्दै थिए अमृतजी ।
एउटा खुला पसल देखियो हुम्डे पुछारको सडक किनारमा । त्यसमा संग्रहित थिए हिमाली सभ्यताका असंख्य निशानीहरु । हामी वरपर धुरिएपछि आइपुगे पसल मालिक कर्मा गुरुङ ।
रातो फिता बाँधेको कालो टोप चढाएँ शिरमा मैले । अरुले पनि पालैपालो त्यसै गरे र सजिए फोटोमा । ओल्टाईपल्टाई हेरियो– चौँरीको चमर, सिङ, खप्पर, दोचा, गरगहनालगायतका सामग्रीहरु । आसले त पत्रिकाको एउटा सामग्री नै बनाउने सुर कसे ।
‘हराउँदैनन् यसरी खुला सडकमा छाड्दा ?’ जिज्ञासा मेरो थियो ।
‘हराए हराओस्, पेट भर्दैन् । मन परे लिन्छ, मन नपरे मान्छेले सुनै पनि लिँदैन ।’ बाजेको निधनले विक्षिप्त बनेका कर्माले विशाल हिमाली दिलको परिचय दिए । हातमा माला लिएका उनलाई बौद्धमार्गी सभ्यता र संस्कृतिका अद्वितीय पात्र ठानिरहेथेँ मैले । लागिरहेथ्यो, मदनलाई बचाउने मुनामदनका साक्षात् भोटेदाई यिनै हुन् ।
हुम्डेभित्र छि¥यौँ हामी । हुम्डेले उडाउला जस्तो ग¥यो, बिनाहवाइजहाज हावाको झोक्कासँग । हवाइजहाज त धावनमार्ग पक्की भएपछि आउनै छोडेको रहेछ ।
‘दाँत देखाएर हाँस्दा दाँतका जरा दुख्छन् ।’ एकजना साथी बोले ।
साथीको सल्लाह मानेर मनमनै हाँस्दै पारिपट्टिको उज्यालो ङावलतिर फर्केँ म । आँखा उचाल्दा चुलु पिक र पिसाङको मोहनी मायाजालमा परेँ म । हिमलुङ, भृकुटी र सिरबुङ सामुन्ने नभए पनि तानिएँ अन्नपूर्णाका ताँतीहरुतिर ।
चामेको चिहानघारीमै सदरमुकाम साँघुरिनाले एक्लै विरक्तिएको होला हुम्डे, मैले आफैसँग तर्क गर्दै थिएँ । पत्रकार मित्रहरुले भर्खरै हिउँ पग्लेको दलदले चौर पार गराउँदै हुम्डे निमाविको परिसरभित्र छिराए । आठजना शिक्षक भए पनि एउटै विद्यार्थी नभएर त्यसरी नै विरक्तिएको रहेछ त्यो विद्यालय पनि ।
हिमालमुन्तिरका हिमाच्छादित पहाडमा माटो र कालो पहरो ठडिएको देख्दा लाग्थ्यो, प्रतिस्पर्धा पहाडले पनि गर्दोरहेछ हिमालसँग । हरियो धुपि र सेतो हिउँ बोकेको पहाड झन् सुन्दर लागिरहेथ्यो घरिघरि त । हिमाली जडिबुटीले सुन्दर र रसिला देखिएका होलान् यी पर्वत श्रृङ्खला, मैले तिनीहरुको दिर्घायुको कामना गरेँ ।
जतिमाथि गयो, उति नजिकिन्थे हिमालहरु । नदीको फराकिलो फाँटमा चारैतिरका हिमालहरु एकैपटक जग्मगाउँदा मदहोस थिएँ म खुसीले ।
काठको पुल तरेर भ्राका पुग्दा सुन्दर गेटले स्वागत ग¥यो । मस्र्याङ्दी किनारमा चरिरहेका घोडा र चौँरीका बथान देखिए । मस्र्याङ्दीको विशाल फाँटमा घोडा दौड हेर्न पाए, कल्पेर मोहित हुँदै थिएँ, एकहुल भोटिनीहरु तलतिर झर्दै थिए । सहयात्रीमध्ये कसैले सुनाए, ‘मनाङका भोटे सुनभोटे’ ।
बाटोमा ओर्लेर आस र छबिले क्यामराको लेन्स मिलाइहाले । म पनि मस्र्याङ्दीको किनारमा उभिएँ ।
ती भोटिनीहरुको रातो गालामा औधि सुहाएको थियो मधुर मुस्कान । लत्रेका परेली र फक्रेका अधरमा संसारको जम्मै खुसी समेटिएको देखिन्थ्यो । हिमालको हारभन्दा सुन्दर मोतिले सम्पन्न थियो तिनको गला । मस्र्याङ्दी किनारको रातो हाँसको भन्दा मोहक थियो तिनको लस्किँदो ढल्काइ । निहुरेको काँधमा सजिएको थियो सुन्दरताको भारी । तिनको कटाक्ष देख्दा लाग्थ्यो, ती चिनजानका आफन्त नै हुन् । त्यो सब देखेर ईष्र्या लागिरहेथ्यो मोहक हिमाली जीवनको ।
एकमन त यस्तो लाग्थ्यो, मनाङका भोटेनीसँग प्रेममा परे माक्पा बस्न तयार हुन्थेँ होला म पनि । तर, घरधन्दामा जोताएर गोठालो मात्र बनाए के गर्ने, म अनुत्तरित थिएँ । प्रेम गर्नेले नगर्लान् नि घात, फेरि चित्त बुझाएथेँ ।
तीनहजार पाँचसय चालीस मिटर उचालिएर मनाङ गाउँले भव्य स्वागत ग¥यो । मनाङलाई सगर छुने स्वाभिमान दिने अन्नपूर्णा, तिलिचो र गंगापूर्णा हिमचुलीहरु हाँसिरहेथे हामीलाई नजिकबाट नियाल्दै । भित्ताको मिलारेपा गुफाको आँखाले चिहाइरहेथ्यो । हिमनदीमा थुप्रिएको हिउँ र गंगापूर्णा तालमा तालिएको निलिमाले मोहनी चलाइरहेथ्यो । मनाङ गाउँमा भेटिएका मानव आकृति टाँसिएछन् मनको स्मृतिद्वारमा– चौँरीको चमर कोरिरहेकी मनाङेदिदी, हिमाली संघर्ष पचाएर डरलाग्दो देखिने मनाङेदाइ र मनाङसँग रमाएर हिँडेका विदेशी जोडीहरु पनि ।
हामी एक्यापको कार्यालयभित्र पनि छिरेथ्यौँ । चिया नास्ताका साथै अनेक रोमाञ्चक जानकारीले स्वागत गरेथे कार्यालयका कर्मचारीहरुले ।
तिलिचो पिक देखाउँदै भन्दैथिए साथीहरु, ‘त्यसकै पछाडि छ मस्र्याङ्दीको उद्गमस्थल तिलिचो ताल ।’ विश्वको अग्लो स्थानको त्यो तालमा पौडी खेलेका अनुभव सुनाउँछन् साथीहरु । भर्खरै दौडँदै तिलिचो किनारमा पुगूँझैँ लागिरहेथ्यो मलाई पनि ।
तिलिचो ताल पुगेर फर्कन दुईचार घण्टा मात्रै लाग्लाझैँ सोचिरहेथेँ । सहयात्री बोल्छन्, ‘तीनदिन लाग्छ । एकदिन तिलिचो बेसक्याम्प, अर्कोदिन तिलिचो पुगेर पुनः बेसक्याम्प र तेस्रोदिन मनाङ गाउँ ।’
तिलिचो जान लाग्दा एकजना मनाङका प्रमुख जिल्ला अधिकारीको मृत्यु भएथ्यो रे उहिल्यै । हिमाली उचाइमा पदयात्रा गर्दा अपनाउनुपर्ने अनेक साबधानी सुनाउँछन् सहयात्रीहरु । हाइअल्टिच्युडबाट जोगिन टिममुर, अदुवा, लसुन, नुनखुर्सानीको छोप, जीवनजल, चकलेट, इनर्जीफुड र पेयपदार्थको प्रयोग गर्ने । चिसोबाट जोगिन ज्याकेट, टोपी, गलबन्दी, ट्रेकिङ जुत्ता, मोजा, तौलिया लैजाने । अनि पानी र हिउँपातबाट जोगिन रेनकोट र छाता लैजाने । हिमाली सुन्दरता नियाल्न अनुकूल समय, स्रोतसाधन र लगाव चाहिँदो रहेछ, मनमनै बोलेथेँ म ।
‘मनाङ र मुस्ताङ सडकले जोडिए बढ्दो हो पर्यटन ।’ मनमनै भन्दै थिएँ मैले । पाँचहजार चारसय स्रोह मिटर उचाइको थोराङ्–ला पास गर्दाका अनेक रोमाञ्चक अनुभव सुनाउँदै थिए सहयात्रीहरु । तब, मस्र्याङ्दी पछ्याउँदै आएको हाम्रो यात्राको सीमारेखा टंकी मनाङसम्म कोरिएको सडकको रेखासँगै हराइरहेथ्यो । तथापि, खाङ्सार, ललुखर्क, याकखर्क, फेदी बेसक्याम्प र हाइक्याम्प पार गर्दै सहासिक पदमार्गका कठिन र रोमाञ्चक अनुभूति संगाल्न चाहन्थेँ म पनि ।
अर्कोपटक समय मिलाएर अवश्य गर्नेछु तिलिचो दर्शन र थोराङ्–ला पास, अन्नपूर्णाको उज्यालो आँगनमा उभिएर मनाङे प्रकृतिलाई साक्षी राख्दै मनमनै गरेँथेँ अठोट मैले ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 जेठ, 2073

लेखकका अन्य रचनाहरु