ख्याकेन

- पुण्य खरेल

“तपाईंं त स्वर्गको देवदूत जतिकै हुनुभयो । विमानमा यो लोक जा, उ लोक जा ! तपाईं त देवता ! हामी त मत्र्यलोकका ... !” मैले भनें ।
“के हो के, रामजी ! टाढाबाट हेर्दा देखिने हिमालको सौन्दर्य जस्तै हो यो । नजिक पुग्दा थाहा लाग्छ त्यो कति प्रिय छ, कति न्यानो छ !” भावुक भएर भने खगेन्द्रले ।
उनले जे भनून्, म पत्याइरहेको थिइन । एक पल्ट हवाइजहाज चढ्न सपना देख्नुपर्ने आफूलाई उनको जिन्दगानी के हो के ? उनको लण्डनमै घर छ । उनी यो सात दिन जापान हुन्छन् त अर्को सात दिन अमेरिका, अर्को सात दिन उनी सिङ्गापुर हुन्छन् त अर्को सात दिन न्यूजिल्याण्ड । अहो ! नेपालको एउटा कुनामा जन्मेका, ती लप्सीबोटे साइँलीआमाले जन्माएका खगेन्द्र ! त्यही गाउँको कालिका प्रा.वि. र सग्राँती डाँडाको हाई स्कुल पढेका खगेन्द्र, एउटा बेलाको म जस्तै खगेन्द्र । आज म कुखुरी जस्तो भएँ वरिपरिका गनेउला खोज्ने, ऊ गडुरजस्तो भए संसारचारी कहाँकहाँका आहारा खोज्न भ्याउने ।
अहिले उनलाई र मलाई कसैले देख्यो भने सजिलै भन्छ कि हामी दुई एउटै गाउँका वासिन्दा कदाचित होइनौं र कहिल्यै थिएनौं पनि । उनी देख्तै साँच्चै लण्डनमै जन्मेका, बढेका, पढेका जस्तै परेका छन् । म पनि जबर्जस्ती त्यो सग्राँती डाँडाको स्कुल पढ्दाको साथी, त्यो नस्पाती चोरी खान जाने साथी, त्यो सग्राँती बजारको एक दिन हाटमा बेच्न राखेका डोकाका सुन्तला अन्जानमा लडाएझैं गरेर पोखिएका सुन्तला टिपिदिने निहुँमा दुई–चार दाना हडपेर खाने साथी उही हो भनेर आफ्नो मनलाई मनाउँदै थिएँ । त्यतिबेलाको मजस्तै च्याँसे–च्याँसे, म जस्तै राताराता वर्णको मान्छे कसरी ‘साएप’ जस्तो भए ? एउटा मन चिन्तन गर्दै थियो ।
“हामीसँग त तपाईंले जे भने पनि हुन्छ । राम्रै छ, सुख छ भने पनि हुन्छ । तपाईंको सुख हडप्न हामी आउने होइनौं पो !” नपत्याएरै मैले भनें ।
“रामजी ! म कसरी सुनाउँ मेरो कथा ! कसरी व्यक्त्याउँ म आफ्नो व्यथा ! एउटा बेलाको सारै मिल्ने साथी पाएर आज म तपाईंसँग आफ्ना व्यथा पोख्न अलिक खुकुलिएको हुँ, मेरो मुखको आग्लो खोलिएको हो । तपाईं नै पनि मेरो कुरा नपत्याउने हो भने त भैगो ! अलिकति व्यथा थपियो भन्ने सम्झुँला ! आखिर मैले त्यही विरसिलो देशतिर जानु नै छ । म मुखमा आग्लो ठोक्छु, बस् !”– उनले निकै भावुक लवजमा भने ।
म पनि पो अब के भन्ने के नभन्नेमा परेँ । उनको भावुकता देख्ता र उनका कुरा सुन्दा मलाई धेरै कुरा बढाउन अफ्ठेरो पनि भयो । “केको दुःख परेर यस्ता कुरा गर्छन् यी ?” मेरो मनभित्र त्यस्सै कुराहरू खेले – “विदेशी भनेर यिनलाई भ्याकुरो खेदे कि क्या हो ? ... छोरो कुलतमा लाग्यो कि ? ... यिनकी छोरी अजातमा हामफाली छे कि क्या हो ? ... फेरि लण्डनजस्ता ठाउँमा जात र अजात पो के होला र ! फेरि, नभए किन विरक्तिएका कुरा गर्छन् हँ ? उनले त्यहाँ १००÷– कमाउँदा यहाँको तेर हजारभन्दा बढी हुन्छ । पैसाको बिटो त यिनले खपिनसक्नु समात्छन् । कुरा सुन्दै मेरो त जिब्रो टोकिन्छ । अनि यी ... ”– मैले मनमनमा कुरा खेलाउँदा खेलाउँदै मेरो मनका कुरा बुझे झैं गरी उनले नै फेरि भने–
“पैसासँग सुख किन्न सकिने भए त रामजी, त्यो लण्डनको मेरो सानो घर सुखैसुखले भरिएर अटेस–मटेस भएको हुन्थ्यो । पैसाको अभाव छइन्जेल मात्रै हो पैसामा सुख वोध हुने । जब पैसाको प्राप्तिले आफ्नो गर्जो राम्ररी टार्छ, अर्थात् लदावधि हुन्छ नि ? अनि पो त्यो पैसाको खुइलोपन थाहा लाग्दो रहेछ त ! अनि थाहा लाग्दो रहेछ पैसा भएर रत्तिपनि सुख नहुने रहेछ !” खगेन्द्रजीले फररर भने ।
“खोइ ! त्यही चार पैसोको दौडमा राम्रै भेडो भएका छौं हामी त ! कहिल्यै त्यसको मुख राम्ररी हेर्न पाइँदैन । हातमा पर्नासाथ दस थोकको अभरले अँत्याइरहेको हुन्छ । ती भूपि शेरचनले पनि हाम्रो ब्यथा बुझेकै रहेछन्– साँच्चै ‘दिनभरि रुपियाँले टोक्छ, रातभरि उपियाँले टोक्छ !’ रुपियाँ पनि उपियाँ जतिकै झलक्क देख्न पाइसक्नु छैन, कताबाट आयो कता उफ्रिएर गयो । प्रशस्त रुपियाँ हुँदा नपाइने सुख कस्तो होला ? अभाव नहुनु, प्रशस्त साधन र सुविधा हुनु नै सुख होइन भन्ने हो भने त केका लागि यो मरिहत्ते हो ?” मैले उनलाई उत्तर पनि दिएँ, साथै बहसमा दरो गरी आफ्ना तर्क पनि राखेको पनि ठानें ।
लगभग तीस–पैंतीस वर्षपछि भेट भएका म र खगेन्द्र । मलाई त खगेन्द्र यसरी मित्रवत् मसँग चिया खान बसे, त्यही अपार खुसीको कुरा भयो । यस्ता ठुला मान्छेसँग बस्न पाउनु ! ‘अहा’ छ मलाई त ! उनको लागि त म सबभन्दा कान्छो दर्जाको साथी हुँला । म बल्लतल्ल कनीकुथी बीए पास गरेर दुःख जिलो गरी खाएको मान्छे । उनका त सङ्गतीहरू राष्ट्रिय–अन्तराष्ट्रिय स्तरका डाक्टर र प्रोफेसरहरू होलान् । मसँग बोल्दै गर्दा उनीभित्रको मान्छेले दिगमिग गरिरहेको पनि होला । सेतो सर्ट, रातो टाई, खरानी रङको सुटमा, फटिक् गोराखी मान्छे हवाइजहाजका पाइलट जस्तो देखिने, धक लाग्ने पो लागे मलाई उनी । हामी पुतली सडकको एउटा होटेलमा थियौं । अचानक भेट हुँदा कसरी हो उनले चिनेर हात समाएर मलाई कफि खाउँ भन्दै यहाँ भित्र ल्याएका हुन् । बस्ताबस्तै धेरै वेर भैसकेथ्यो । मलाई त लाग्यो होटेल वालालाई पनि हामी बसिरहेको ठिक लागेको छैन होला । तर खगेन्द्रले ‘फेरि कफि थपौं ल ?’ भन्दै वेरालाई कफिको अर्डर दिए ।
मतिर फर्केर भने– “रामजी ! म विदेशमा त खगेन्द्र होइन त । यहाँ तपाईं कति राम्रो ‘खगेन्द्र’ भन्नुहुन्छ । त्यहाँ त म ‘ख्याकेन्’ हुँ, कसै–कसैको लागि त ‘ख्यागेन्’ । वास्तवमा म त त्यहाँ ख्याकेन् पो भैसक्न लागें” उनको अनुहार गम्भीर देखियो ।
“खगेन्द्रजी, के ठुलो कुरा भयो त ! त्यो त जिब्रो न हो । भन्न चाहेर जानीजानी बिगारेर इख्याउन भनेको होइन त ! त्यसैलाई प्रिय मानिदिए पछि त भै गयो नि !”– मैले सरलीकरण गर्दै भनें ।
फेरि कफि आइपुग्यो । सानो कागजको जस्तो सेतो प्लेटमा भएको चिनी मैले चम्चीले दुई चम्ची कफिमा थपें र चलाएँ । मलाई चिनी बेस्सरी लागेको कफि मिठो लाग्छ । चम्ची र कफिकपको टक्राहट टिङ–टिङ आवाज मधुरो गरी कानमा पस्यो । उनले चिनी थपेनन् । ती सुकसुकाउँदा हातले कप समाउँदा हात नै कति सुन्दर देखिन्थे, म मोहित भएँ । वास्तवमा उनको शरीर दुःख गर्नका लागि बनेकै होइन जस्तो हो कि, दुःख गर्नु नपरेपछि बनेको शरीर हो, कति राम्रो, कति सुन्दर, कति सुकोमल हेरौं हेरौं लाग्दो । मैले फेरि आँखा गाडेर हेरें उनलाई । म उनसँग निकै धकाएको थिएँ । कति मनमा लागेका कुरा नभनी मनमै चपाउँदै थिएँ ।
“मलाई लिन्डाले ‘ख्याकेन्’ भन्थिन् । तपाईंले भनेजस्तै मलाई त्यो मिठो लाग्थ्यो पनि । हेर्नू त पन्ध्र–बीस वर्ष जति लगातार सुनेको ‘ख्याकेन्’ अब उनले परित्याग गरिन् । ख्याकेन् र लिन्डा अब आफूहरू बिचमा अग्लो पहाड उठाएर एक्लाएक्लै भए । सुन्छु उनले अर्को साथी ग्रहण गरिसकिन् । दुई वटा छोराछोरी जिम्मा लाएर पारपाचुके गरेर ती गईन् । छोराछोरी त्यतैको चिन्तन र संस्कारका हुन् नै । दस र बार क्लासमा पढ्दै छन् । अब पढ्छन्, बढ्छन् । उनीहरू पनि लण्डनका दुई नागरिक हुन्छन् । हुनलाई त मैले पनि लण्डनको नागरिकता लिएको छु । म अहिले नेपाली भएर पनि नेपाली नागरिक हुइन । म भिसा लिएर नेपालमा छु । लण्डनमा अब मेरो साँच्चैको हितैषी को ? त्यो सभ्य भनाउँदो मान्छेहरूको जङ्गलमा म अब एकलो मान्छे बाँच्तै छु । भन्नुहोस् ! मसँग, लण्डनमा एउटा घर छ । त्यो घर छ कि चिहान छ के छ ? त्यो ख्याकेन्को चिहान भनौं भने ख्याकेन चल्मलाउँदै पनि छ, एउटा देश अर्को देश घुम्दैओर्दै पनि छ, जीवितै छ जस्तो पनि छ । भावनात्मक रूपमा त ख्याकेनको उत्साह उमङ्ग त ख्याक भैसक्यो । कसरी मलाई ख्याकेन् भनेर चिने हँ त्यहाँ ? मलाई सुरुमै ख्याकेन् भने लण्डनमा, म छक्क पर्छु ।” लामो बोलेर कफि सुरूप्–सुरूप् पारे उनले ।
“आ ऽऽ खगेन्द्रजी ! मर्दका दसवटी भन्थे पुर्खाहरू ! लिन्डाले पुच्छर केलाई भने अब कति छन् कति अरु ? त्यो एउटीले छोडेर जाँदैमा तपाईंको जीवन समाप्त हुन्छ ? त्यहीं पनि त नाटकमा अभिनय गरे जतिकै पारपाचुके गर्ने र अर्को बिहे गर्ने गर्छन् अरे त ! आज कोसँग, भोलि फेरि कोसँग भन्छन् त ! अब लङ्गडाको देशमा जाँदा खुट्टा खोच्याउनु भन्ने उखान त तपाईंले पनि सुनेकै छ । लिन्डाचाहिं तपाईंलाई छोडेर पनि अर्को जीवन उतिकै रमाइलोसँग बिताउन सक्ने, अनि तपाईंका चाहिं कुरा त्यस्ता ? हुन त त्यहाँको जीवन, त्यहाँको समाज तपाईं नै राम्ररी जान्नुहुन्छ ... ”– मैले अफ्ठेरो मान्दै–मान्दै भनें । यस्तैमा मैले कफिको अन्तिम सुर्को पनि पिएँ ।
“मैले लिन्डालाई गाईको मासु नखाने सर्त राखें । क्रिस्चियन धर्मका आचार मान्नु नपर्ने सर्त राखें । उनी त क्यानडाकी हुन्, म नेपाली । हामी दुबै लन्डनमा घर बनाएर बस्ने कुरा पनि सर्तमा पर्यो । उनी मन्जुर भएर, एक दम खुल्ला खुसी भएर ‘सँगै जिउने सँगै मर्ने’ कसम खाएर जीवन सुरु गरियो । लन्डनमा एउटा सानो घर पनि किनियो । रामजी ! चौध–पन्ध्र वर्ष त गाडी राम्रै गुड्यो पनि । तर ४ वर्ष जति अगाडि उनले ‘क्यानडामा आमा एक्लै भइन्’ भनेर ल्याएर आइन् । आमालाई पाल्नु ठुलो कुरा थिएन तर हाम्रा ती वाचाहरू, हाम्रा ती सम्वेदनशील सम्झौताहरूका नेपाली कागजमा आमा आएपछि तातो पानी लाग्यो । गाईको मासु भित्रिन थाल्यो, कृस्तानी चालचलनको प्रश्न व्यूँतियो । म बिसौं वर्ष लण्डनमा बसेर पनि गाईको मासुमा अभ्यस्त हुन सकिन । कृस्तानी कट्टरता मनपराइन । अनि आखिरमा त्यही हुनपुग्यो जुन नहुनु थियो ... ...” लामो सास फेरे खगेन्द्रले । एक छिन सुनसान रहेपछि खगेन्द्रले मेरो हात च्याप्प समातेर प्रस्ताव गरे– “अलिकति ... ल ?” उनले हातले पिउने इशारा गरे ।
मैले भनें– “अहँ ऽ खगेन्द्रजी ! आज नगरौं । अर्को कुनै दिन बसौंला न !”
खगेन्द्र अलिक गम्भीर भएजस्तो देखिए । उनले बेरालाई वील ल्याउन भने । मैले अफ्ठेरो–अफ्ठेरो बोध गरें । बीलको पैसा तिर्न अघिसर्दा नक्कल पारेको जस्तो हुने र चुप लागेर हेरिरहँदा पनि पाहुनालाई तिर्न लाएजस्तो हुने अफ्ठेरोमा परें म । यही अफ्ठेरोका बिचमा वेराले बील ल्यायो । खगेन्द्रले पेन्टको गोजी खोतलेर पर्स झिके र पैसा बीलको प्लेटमा राखिदिए । केही सुप टिपेर मुखमा हाले । नेपालको रिति अलिअलि त बोकेकै रहेछन् उनले ।
म र खगेन्द्र एक साथ बाहिर आयौं । खगेन्द्रको अनुहार गम्भीरको गम्भीर नै थियो ।
“कतिन्जेल छ अब नेपालको बसाइ, खगेन्द्रजी ?” प्रश्न राखें ।
“म भोलि विराटनगर जान्छु । त्यहाँ एक दिन बस्छु अनि पर्सि फर्किएर आउँछु र जतिसक्तो चाँडो रमाइलो नेपाललाई, मायालु वन्धु–वान्धवलाई छोड्छु । के गर्नु रामजी ! जीवन कति अफ्ठेरो रहेछ ! म अब नेपाल फर्किएर पनि बस्न सक्तिन होला । एक त मलाई फर्किन नै अफ्ठेरो छ, अर्को फर्किएर मैले के गर्नु ? मेरो उपयोगिता नै यहाँ छैन । एउटा हवाइजहाजको ‘स्क्रू’ एउटा सामान्य व्यक्तिले भेटेर के गर्छ र ? त्यस्तै हुन्छु म । ती दोडा बच्चाप्रतिको जिम्मेवारीले पनि त मलाई बाँधेकै छ । अब दुई वर्ष छोराका लागि र चार वर्ष छोरीका लागि त दायित्व छँदैछ । त्यसपछि त एकलो आफू हो वास् ... ! अब जसो–जसो होला !” खगेन्द्रले निरासापूर्ण रूपमा सुस्केरा हाले । “कहाँ वस्नुहुन्छ रामजी तपाईं ? कतिन्जेल काठमाडौंमा ? कि घर बनाउनु भएको छ यतै ?” उनले मलाई सोधे ।
“म नयाँ वानेश्वरमा बस्छु । छोरो त्यहाँ डेरा लिएर बसेको छ । आज र भोलि बस्छु काठामाडौंमा । सके भोलि बेलुका, नभए पर्सि फर्किन्छु झापा । तपाई कहाँ बस्नुहुन्छ ? कि जाउँ उतै मसँग ? छोरो छ । बनाउँला, खाउँला” मैले भनें ।
“धन्यवाद रामजी ! मैले एक हप्ताका लागि भनेर अन्नपूर्णा होटेलमा कोठा बुक गराएको छु । तपाईंसँग भेट भयो । कहिलेकाहीं सम्झनु होला । छुट्टिनका लागि कसिलो गरी हात मिलाइए । फेरि गम्भीर अनुहार पारेर भावुक भएझैं हुँदै हात झन् कसिलो पारे खगेन्द्रले । उनले हात समाएको समाएकै अलिक पर्तिरसम्म लगे । अनुहार एकदम गम्भीर पारे । उनले पर्खाएको गाडीको छेउबाट दुई पाइला टाढा सरे र भने– “रामजी ! तपाईं नपत्याए पनि नपत्याउनुहोस् ! तर नि मलाई एकदम ठुलो थकथकी लागेको छ, म बीस एकाइस वर्षपहिले विदेश पढ्न गएँ नि ? त्यतिबेला त आफू छानिँदा बडो खुसी भएको थिएँ । आफैंले आफैंलाई अहो भाग्यशाली मानेको थिएँ । तर आज आफ्नै त्यस बुद्धिप्रति पछुताउ छ । अहिले मेरो ज्ञानको उपयोग खोइ मेरा देशका लागि ? नेपालको माटो र पानीप्रति म कृतघ्न बनें । तपाईं त रगत र पसिना यहीं पोख्तै हुनुहुन्छ । आफ्नै बन्धु–बान्धव बीच बस्नुभएको छ । थोरै पारिश्रमिकमा धेरै परिश्रम गर्नुभएको छ । तैपनि एउटा गौरव छ, गौरवशाली हुनुहुन्छ । म आफूलाई अवलोकन गर्छु– “मैले पर्सि अस्ट्रिया जाने सोच बनाएको छु, मलाई हप्ताको ५,०००/– डलर देला । तर अर्को कार्यक्रममा ७,०००/– डलर दिने भए अर्को एजेन्सीमा जान्छु । मलाई पैसाको तुलोमा जोखेर त्यहाँ किनि रहेछन् र म आफूलाई बेचिरहेको छु । होला, यहाँको तुलनामा म धेरै पैसा समातुँला, तर जे भए पनि म बेचिएको त हुँ नि ! पैसामा बेचिएकाको के मर्यादा हुन्छ र ! ती हामीलाई किन्नेहरूसँग अलेख पैसा छ । रामजी ! एउटा मर्यादा बेचेको मान्छेले, खुसीयालाी लुटिएको मान्छेले तपार्इंंसँग आज व्यथा पोखेको छु । व्यथा अलिक हलुङ भएको छ । ... तपाईं मर्यादित हुनुहुन्छ, गौरवशाली हुनुहुन्छ । खुसीयाली तपाईका वरिपरि झुमिरहेको छ । सम्झिँदै गर्नु होला” खगेन्द्र फटाफट गएर रोकिराखेको ट्याक्सी भित्र पसे ।
गाडी गुड्यो । म फटाफट फुटपाथ नाप्न थालें । मलाई त्यस्सै आफ्नो गौरव बढेको भान भयो ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 जेठ, 2073

लेखकका अन्य रचनाहरु