पुर्रेत

- भोला अधिकारी

दुनियाँमा तेस्रो विश्वयुद्ध त के पर्लय नै किन नहोस्। जीका भायरस जस्ता सयकडौं रोग संक्रमण नै किन न फैलिउन। या आनिकाल नै किन नपरोस्। तर धर्म भीरुता या देवताको डर जस्ता घातक र नरसंहार रोग अरु छैन भन्दा अत्युक्ति नहोला।

अस्ति बजारमा कुममा शंख, चक्र खोपेका पौड्याल बा भन्दै थिए।‘उनी बाँचेका होइनन् रे, नमूना मात्र हुन् रे! बाँच्न चाहानेहरूका लागि।’ हुन त उनी जस्तो भएर बाँच्नु पनि किन र? त्यसैले भन्दिएँ। ‘तँपाई जस्तो भएर त मसानका पोलिन लागेका मुर्दा मात्र बाँच्छन् पौड्याल बा! के तँपाई यसैलाई जिन्दगी भन्नु हुन्छ?’ हुन सक्ला उनी दार्शनिक भएर जिन्दगीलाई हेर्दा हुन्। तर आफू भौतिकवादी भएकाले हेराइ फाल्टै भयो। मिलेन।

पौड्याल बाको सम्प्रदायमा पनि रिसाउन मिल्दो हो। खर्लप्पै खाउँला झै गरेर हेरे उनले मलाई। अनि मैले बुझ्नु थियो बुझे। उनी मसान र मुर्दा शब्दका लागि रिसाएका हुन्। आफू अर्काको मनको भाव नजरबाट पत्ता लगाउने मान्छे। उनले बोल्न नपाउँदै बताए। ‘हेर्नु होस्न पौड्याल बा! मान्छेहरू सबै बहेको पानीमा हात सफा गर्न चाहान्छन्। या यसो भनौ न। मान्छेहरू बलेको आगो ताप्ने मात्र छन्। अनि आफै भन्नु होस् त? के अस्तित्व रह्यो उसको, जसले अर्काले बालेको आगो मात्र ताप्यो। अर्काले बनाएको बाटोमा त अन्धो पनि लौराको साहाराले हिड्न सक्छ नि पोड्याल बा! तर तँपाई, हामी जस्ता आँखा भएकाहरूलाई त सुहाएन नि होइन र’ उनी आफ्नो श्री तिलक पुछिने डरले केही बोलेनन्। मेरो नजरदेखि टाडिएर गए।

उनी जति नै टाडा गए तापनि न उनको ठाडो श्री तिलक टाडियो, न टाडियो त्यो निर्जीव हाँसो हाँसेको उनको अनुहार नै। त्यसैले मेरा तीन चार दिन मगज दुखिरह्यो। यस्तै उनलाई के भुलेको थिएँ! हिजो साँझ फेरि सत्यनारायण व्रतकथा गराएर फर्किएका निरौला पुरोहितसित झम्काभेट भयो। फेरि भएन पहिले नमस्तेको लागि उनैको हात उठ्यो।
नमस्ते गर्न र फर्काउन आफू त मिस्टर तानाकै फ्यान। मेरा यी हातहरू हजार किलोका ढक झुण्ड्याएका जस्ता हुन्छन् नमस्ते गर्न र फर्काउने बेलामा। फेरि भएन चन्दन लगाएको अनुहार आफूलाई पटक्कै रुच्दैन। तर पनि करसँग फर्काएँ ‘नमस्ते’!

उनी कहिलेदेखिका सामाजिक गुनासाहरू पोख्नका लागि आतुरी रहेका रहेछन्। ह्वारह्वारति पोखी हाले। ‘हेर्नुहोस्न पहिला पहिला बाबु बाजेका पालामा ब्राह्मणहरू प्रति मान्छेको कति ठूलो आस्था थियो। तर आज भोलि ब्राह्मणहरू मत्त्वाली र मत्त्वालीहरू ब्राह्मण भएका छन्। सबै ब्राह्मणहरू संस्कार च्यूत भए। आफ्नो कर्तव्य, आफ्नो मर्यादाहरूको उलंघन गर्न थाले। खाना-पानीको कुनै महत्त्व नै राख्न छाडे। आदि-आदि।’

एक त म ब्राह्मणवादको विपरीत। अर्को अस्ति पौड्याल बा बाट दुःखेको टाउँको राम्रोसँग जाति नभएको वेला। फेरि भएन गाउँ समाजमा आस्थाको नाममा अन्धविश्वास फैलाउनेसँगको ठूलो नफ्रत। अनि मसँग यही विषयको गुनासो। मेरो हालत ‘रक्सी पिएको बाँदरलाई बिच्छीले टोक्दा कस्तो स्थिति हुन्छ त्यस्तै भएको थियो।’ मेरो मुख कहिलेदेखि यस विषयमा बोल्न चिलाइ राखेको। आज अवसर पाएँ। किन न बोल्ने र!

‘यी ब्राह्मणहरूलाई संस्कार च्यूत बनाउने हजुरहरू जस्तै सम्प्रदायवादीहरू होइनन् र? अर्थ नै नबुझि अनेकौ कुप्रथाहरूलाई आफ्नो अहंताको प्रदर्शनका लागि आफ्ना खप्परमा लाद्नु भयो। अनि समयसँग नमिल्ने अनेक वहियत कुराहरू फेरि हाम्रो टाउको माथि खन्याएर पुगेन। अब फेरि आफै ब्राह्मणहरू मत्त्वाली भए मत्त्वालीहरू ब्राह्मण भए भन्दै हिड्ने? कि हजुरहरूले ठिका लिनु भएको छ यसरी प्रमाण प्रत्र बाँट्ने। आज तँपाईहरू जस्तै सम्प्रदायवादीहरूले हाम्रो समाज खण्डित भएको छ। तँपाईहरूलाई रौरवमा पनि स्थान छैन बुझ्नु भो।’

मेरो बी पी यस्ता कुराहरूमा त्यसै पनि हाइ भएर जान्छ। आफू मानवता नै एक मात्र धर्म हो, सम्पूर्ण प्राणीहरू नै ईश्वर हुन् भन्ने धारणा भएको मान्छे। यस्ता धर्म भीरु र सम्प्रदायवादीहरूबाट टाडिएर हिड्छु। त्यसैले सबैको काँचो झ्वाक निरौला पुरोहित माथि पोख्न पुगेछु। तर म जस्ता क्रान्ति विचार भएकाहरूसँग विवाद गर्न सिपालु भएकाले होला मबाट टाडिएनन् उनी। अझै कुरा पो थप्दै गए। ‘ मेरो भनाइको मतलव त्यो होइन। तँपाई आफै हेर्नु होस्न। अहिले हाम्रा समाजका मान्छेहरू हामी जस्ता कर्मकाण्डीय ब्राह्मणहरूलाई पुरोहित भन्नुको साटो पुर्रेत भनेर सम्बोधन गर्ने गर्छन्। सुन्छु कतै-कतै वाजे भन्दा कानुन लाग्छ रे। तर पुर्रेत भन्दा चाहिँ कुनै कानुन नै छैन। यो पुर्रेतको अर्थ के हो याद छ हजुरलाई। पुर भनेको गाउँ रेत भनेको वालुवा आर्थात् गाँउको बालुवा। ल भन्नु होस् त हामी कसरी पुर्रेत भयौं।’

म त मन-मनै हाँस्न पुगेछु। ‘के खोज्छस् कानो आँखो’ भने झै। कहिलेदेखि भन्न खोजेको अवसर पाएँ।‘यो शब्द त हजुरहरू जस्तै सम्प्रदायवादीहरूलाई ठीक रहेछ त “पुर्रेत जी”।’ उनी पनि मेरा शब्द वाणहरू सहन नसकेर बड् बडाउँदै बाटो लागे।

एकक्षण कान्छीको पसल छेउँमा मेला लागेको झै भीड जम्यो। हेरे त्यहाँ सबै धर्म, जात, सम्प्रदाय आदिका मान्छेहरू रहेछन्। तर कसैले एक शब्द पनि बोल्न सकेनन्। निरौला पुर्रेत भने पर पुगेर पनि मतिर फर्किएर खाउँला झै गरेर हेरिरहेका रहेछन्। लाग्यो उनी निरला पुर्रेत होइनन् पूर्वीय कहानीहरूमा आउने एक पात्र स्वयं दुर्वासा नै हुन्।

तर मबाट टाडिएर न निरौला पुर्रेत नै गए न अस्तिका पौड्याल बा नै। त्यसैले आज फुर्सतमा यी दुवैलाई मेरो दिमागबाट निकालेर फ्याक्न चाहान्छु। अनि अबको नूतन समाजबाट यस्ता असमाजिक तत्त्व फैलाउने सम्प्रदायवादीहरूलाई पनि जरैदेखि उखेलेर फ्याक्नु पर्ने देख्छु। मलाई लाग्छ मान्छे स्वच्छन्द हो। उ आफ्नो जिन्दगीमा केही न केही गर्न आएको हो प्रकृतिमा। यहाँ जन्मिएका प्रत्येक प्राणीहरू स्वच्छन्द छन्। चाहे त्यो अण्डज होस्, जरायुज होस्, उद्भिज् होस् या स्वेदज नै। यी सबैको आ-आफ्नै अस्तित्त्व छ। यहाँ कसैलाई अर्काको भाग खोस्ने अधिकार छैन। त्यसैले यो नयाँ समाजका स्थापना कर्ताहरूले मनमा भएको धर्म भीरुता र ईश्वरीय डर अनि अन्धो परम्परालाई त्यागेर नयाँ क्रान्ति ल्याउनु अनिवार्य छ। नभए यी कोपिलाहरूले पनि भोलि समाजको पुर्रेत मात्र भएर बाँच्न पुग्लान् कि! भन्ने भयले सताउन थालेको छ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 जेठ, 2073

लेखकका अन्य रचनाहरु