‘मेरो माटो’ कविता सङ्ग्रह भित्र पस्दा

- सरोज ओली

नेपाली साहित्यमा आलोचना गर्ने प्रचलन खास गरेर मोती राम भट्टले थालेको पाइएको छ । उनले वि.सं. १९४८ तिर भानुभक्तको जीवनी चरित्र लेखे पछि नेपाली साहित्यमा यस विधाको विधिवत सुरु भएको विहानहरुले स्विकारेका छन् । त्यस पछि नेपाली आलोचना साहित्यमा मानिएका व्यक्तिहरुमा सूर्य विक्रम ज्ञवाली, वावु राम आचार्य, यदु नाथ खनाल, वाल चन्द्र शर्मा, ईश्वर वराल, हृदय चन्द्र सिम्ह प्रधान, डा.ताना शर्मा, गोविन्द भट्ट, श्याम प्रसाद शर्मा, गणेश वहादुर प्रसाईं, आननद देव भट्ट, वाल कृष्ण पोखरेल, चूडा मणि रेग्मी आदि पर्छन् । तिनीहरुले आ–आफ्नो समयको नेपाली साहित्यको आलोचना गरेर साहित्यलाई मार्ग प्रशस्त गरेका छन् ।
समालोचनाका विभिन्न पद्धतिहरु मध्ये यी माथिका विद्वान् आलोचकहरु मध्ये कविले चाहिं पूर्वीय पद्धतिलाई नै प्राथमिकतामा राखिएको पाइएको छ । सर्सर्ती हेर्दा नेपाली समालोचना साहित्यको इतिहासको समय लगभग एकसय विस वर्षको भएको छ । यस अवधिमा नेपाली साहित्यको विकास पनि उत्कृष्ट रहन गएको छ । पद्यमय नेपाली साहित्य गद्यमय भएको छ । पद्य इतर गद्यमा कथा, कविता, उपन्यास, लेख, निवन्ध आदिको उन्नति भएको छ । भनौं न नेपाली गद्य साहित्यको विकासले तुलनात्मक दृष्टिवाट ठुलै क्षेत्र ओगटेको छ । त्यसो भए पनि नेपाली पद्य साहित्यको पनि विकासको क्रम रोकिएको भने छैन । नेपाली पद्य साहित्य काव्य, महाकाव्य, कविता आदिद्वारा समृद्ध वन्दै गएको छ । यसै सिलसिलामा हेर्दा नेपालको पूर्वी भाग झापा जिल्लालाई कर्म थलो वनाएर पद्यमा अनवरत कलम चलाउने साहित्य साधकहरु धेरै छन् । तिनीहरु मध्ये कवि शिव प्रसाद दाहाल, चूडा मणि रेग्मी, रोहिणी विलास लुइँटेल, दक्ष राज शर्मा, केशव राज खनाल, गोपी कृष्ण खनाल, कोमल प्रसाद पोखरेल आदिको नाम अग्र पङ्तिमा आउँछ । त्यसै पङ्तिमा समेटिएर झापाको वनियानी आठ निवासी डिल्ली राज नेपालका तिनवटा छन्दका कृति प्रकाशित छन् । ती मध्ये ‘मेरो माटो’ छन्दो वद्ध कविताको सँगालो लिएर वि.सं. २०६६ मा नेपाली साहित्य जगत्मा देखा परेका छन् । यसमा छयालिस ओटा कविता रूपी फुलका थुँगा उनिएका छन् । सुन्दर माला वनेको छ । यसमा रहेका सवै कविताहरु शास्त्रीय छन्दमा रचिएका छन् ।
समालोचनाको कसीमा राखेर हेर्दा यी कविताहरुले दिन खोजेको कुरा कुनै नञा, नौलो जस्तो लाग्दैन । हाम्रा पूववर्ती पद्य कविहरुले आफ्ना सिर्जनामा पोखेका सुधारात्मक भावनाहरु नै यस सङ्ग्रह भित्रका कविताहरुले पनि दिएको पाइन्छ । अभिव्यक्तिको शैली पनि उस्तै उस्तै देखिन्छ । उही भाषा, उही छन्द, उही समाज भएर पनि पाठकहरुलाई त्यस्तो लागेको हुन सक्छ । त्यसो भनेर कवि डिल्ली राज नेपालका कवितामा उनको आफ्नै पनको मौलिकता छैन भन्ने चाहिं होइन । उनले सिर्जना गरेको समय र त्यसले उव्जाएको सप्युँ विप्युँ कुराहरुलाई टपक्क टिपेर अभिव्यक्ति दिने र ठाडो व्यङ्ग्य कस्न भने कवि सफल भएका छन् । उनका यस सङ्ग्रह भित्रका कविताहरुले सम्क्षिप्त रूपमा गरेको अभिव्यक्ति निम्न अनुसार वुझ्न सकिन्छ ।
विवेच्य पहिलो कविता ‘मनै त हो’ हो । यसमा मनलाई नियन्त्रण गर्न नसक्ता मान्छेको उन्नति हुन नसकेको दर्शाएको छ । कपट पूर्ण मनले गर्दा मानव आत्मा हाँस्न नसकेको हो भन्ने अध्यात्मिक चिन्तनलाई कविज्युले अघि सारेका छन् । मनको कप्टिपनले गर्दा मपाईवाद झाङ्गिएर हामीवादको विकास नभएको कुरा प्रस्ट्याइएको छ ।
दोस्रो कविता ‘नौलो जमाना छ यो’ हो । यसका दुई खण्ड छन् । पहिलो खण्डमा अहिलेका छोराहरुले अस्वाउँदो कपाल पालेर, कानमा कुन्डल लगाएर, सर्ट पेन्ट काटेर – ती काटिएका प्वालमा ‘इलु’ भन्ने शव्द टाँसेर हिंड्ने हाम्रा समाजका अत्याधुनिक युवकहरुको चर्चा गरिएको छ । त्यस्तै छोरीहरुले थाइकट कपाल काटेर पत्लुङ लगाएर आफ्ना शरीरका सम्वेदनशील अङ्गहरु प्रदर्शन गरेको वर्णन गरिएको छ । यस कविताले अहिलेको नेपाली समाज पश्चिमी करण हुँदै गरेको स्पस्ट चित्र उतारेको छ । कविताको दोस्रो भागमा अहिलेको गणतन्त्रमय नेपालको र यहाँका नेताहरुको सटिक चरित्र उतारिएको छ । त्यस्तै अहिले नेपालका स्रष्टाहरुको पनि मुटुमै ताकेर व्यङ्ग्य गरिएको छ ।
तेस्रो कविता ‘मातु दुर्गे भवानी’ हो । यसमा हाम्रा पूर्ववर्ती धार्मिक कविहरुले झैं पशु वलि प्रथाको विरोध गरिएको छ ।
चौथो कविता ‘मान्छे हरायो किन ?’ हो । यसमा अहिले मान्छेमा, मान्छेका आदि निख्रिएको यथार्थताको चित्रण गरिएको छ । मानिसमा मानवता हराएको र पाशविकता वढेको समय सापेक्ष सटिक व्याख्या गरेर अहिले सवै तह र तप्काका मानिसहरुलाई मानवता विहिन नवन्न आह्वान गरेका छन् ।
पाँचौ कविता ‘आमा’ हो । आमाको महिमा आदि शङ्कराचार्यदेखि लिएर नेपालका मूर्धन्य कविहरुले मुक्त कण्ठले प्रशम्सा गरेका छन्, गाएका छन् । त्यस्तै नेपालको पनि धारणा व्यक्त भएको छ । यो कविता सर्व कालिक वनेको छ ।
छैटौं कविता ‘उधारो आशा’ हो । यस कतिवाले सहिदका रतगको अवमूल्यन भएको गुनासो व्यक्त गरेको छ । त्यसका साथै अहिलेका राज नेताहरुले वाडेको उधारा आशाहरु प्रति ठुलो व्यङ्ग्य कसिएको छ ।
सातौं कविता ‘घात’ हो । यस कवितामा हाम्रा देशका अहिलेका नेताहरुलाई श्रीमद् भागवत्को महिमामा वर्णित धुन्धुकारीसित तुलना गरिएको छ । यो नि व्यङ्ग्यको प्रयोग सही ठाउँ र सही समयमा कविले गरेका छन् । धुन्धुलीले धुन्धुकारीको जन्म दिंदा आत्मदेवलाई जस्तो चोट र घात परेको थियो ठीक त्यस्तै चोट र घात अहिलेका राजनेताहरुले आम नेपाली जनतालाई दिएका छन् । यो समसामयिक नेपाली समाजको चित्र प्रतिविम्वित गर्ने कविता हो ।
आठौं कविता ‘कर्तव्य’ हो । यसमा कविले अहिलेका सरकारी विद्यालयका छाडा शिक्षकहरुका कर्मको वर्णन गर्दै निष्काम भावले आफ्नो कर्तव्यमा लाग्न आह्वान गरेका छन् । यो सुधारात्मक चेतले भरिएको कविता हो ।
नवौं कविता ‘सुन्दर भविष्य’ हो । यस कवितामा जातीय राज्य स्थापना गरेर यो नेपाल राष्ट्रमा आपसमा विद्वेश फैलाउने नेताहरुलाई सचेत गराइएको छ । अहिले चलेको जातीय थोत्रो नारालाई कवि मन पराउँदैनन् । नेपाल भरका सवै नेपालीहरु मिलेर वस्नु पर्छ भन्ने सन्देश उनले दिएका छन् । यो कविता साममयिक राजनीतिको मार्ग दर्शक कविता वनेको छ ।
दसौं कविता ‘अन्योल’ हो । यस कवितामा पनि अहिलेको नेपालको राजनीतिले ल्याएको अन्योलपनको चित्र उतारिएको छ । कवि धरणीधर शर्माको जस्तो उपदेशात्मकताले भरिएको छ यो कविता ।
एघारौं कविता ‘श्रमिक’ हो । यो कवितामा आफ्नो समग्र हक र हितका लागि श्रमिकहरुलाई जुर्मुराएर उठ्न भनिएको छ । यो कविता प्रगतिशील कित्ताको हो ।
वाह्रौं कविता ‘भलाद्मी’ हो । यसमा एउटा शुद्ध भलाद्मीका गुणहरुको वखान गरिएको छ । असल वन्नु, राम्रो वन्नु, सुगन्धयुक्त हुनु र नैतिक धरातलमा उभिनु भलाद्मी हुनु हो भन्ने कविको मान्यता छ । यो नैतिक उपदेशात्मक कविता हो ।
तेह्रौं कविता ‘जीवन सङ्गिनी मेरी’ हो । यसमा कविले उनकी जीवन सङ्गिनी कवितालाई मानेका छन् । कविता नभए उनी वाँच्न नसक्ने अभिव्यक्ति दिएर काव्यप्रतिको उनको अनुराग यस कविताले प्रस्ट्याएको छ । साथै कविताको महत्व पनि यसमा मुग्धकण्ठले गाइएको छ ।
चौधौं कविता ‘जागरण’ हो । यसमा कविले कवि धरणीधर कोइरालाले जस्तै देश विकास गर्न जनता जाग्नु पर्छ, जनता जुरुक्क उठ्नु पर्छ भन्ने चुरो कुरो सरल तरिकाले व्यक्त गरेका छन् ।
पन्ध्रौं कविता ‘दहेज’ हो । यस कवितामा नेपाली समाजमा कुनै न कुनै रूपमा रहेको दहेज प्रथाको अन्त्यको माग गरिएको छ । यो प्रथा मानव समाजको एक कलङ्कको टीका हो, धव्वा हो । यसलाई हटाउँनै पर्छ भन्ने कविताको निश्कर्ष हो ।
सोह्रौं कविता ‘लेखनाथीय काव्य प्रवृत्ति’ हो । यसमा लेखनाथ पौड्यालको काव्य प्रवृत्तिको प्रशम्सा गरिएको छ । शीर्षकले दिन खोजेको सवै कुरो नपाइए पनि कविको आशय सकारात्मक छ ।
सत्रौं कविता ‘विदाइ’ हो । यसमा अवकाश प्राप्त शिक्षकको विदाइको वर्णन छ । यो अविधायुक्त कविता हो ।
अठारौं कविता ‘प्रजातन्त्र र म’ हो । यसमा प्रजातन्त्रको गुण र महत्व देखाइएको छ ।
उन्नाइसौं कविता ‘सत्तको स्वाद’ हो । यसमा आजका नेपालका सत्ता लोलुप नेताहरुलाई ठाडो आलोचना गरिएको छ । सुधारात्मक सन्देश पनि समेटिएको छ ।
विसौं कविता ‘मेरो माटो’ हो । यो राष्ट्र प्रेमले ओतप्रोत भएको कविता हो । यही शीर्षकवाट कविता सङ्ग्रहको नाम राखिएको छ । यो कविता प्रत्येक राष्ट्र प्रेमीले पढ्नु पर्ने, सम्झनु पर्ने कविता हो । यो कविता पढ्दा वाल कृष्ण समको इच्छ कविताको सम्झना हुन्छ । राष्ट्र प्रेमले भरिएको यो उच्च कोटीको राष्ट्रिय कविता हो ।
एक्काईसौं कविता ‘अतिथि सेवा’ हो । यो कवितामा पाउनाको विना सर्त सेवा गर्ने हाम्रो आर्ष परम्पराको वर्णन गर्दै त्यो महान् परम्परालाई कायम, गर्नु पर्ने कुरामा कविको प्रतिवद्धता जनाईएको छ । कहिलेको वद्लिंदो सामाजिक परिवेशलाई भने कविले कवितामा छुवाएका छैनन् ।
वाइसौं कविता ‘मेरो भान्छा ः मेरो घर’ हो । यसमा कविले उनको भान्साघरको वर्णन गर्दै उनकी श्रीमती प्रति, उनको कामको मूल्याङ्कन गरेर, कृतज्ञता प्रकट गरेका छन् । यो कविताको सारमा अन्य पुरुषहरुलाई पनि नारीहरु प्रति जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरिएको छ ।
तेइसौं कविता ‘उनको तुजुक’ हो । यसमा कविले अत्याचारी, दुराचारीहरुलाई अत्यचार, दुराचार नगर्न उर्दि दिएका छन् । अव राज्यमा न्यायले मात्र राज गर्ने भन्दै कविले अत्याचारी दुराचारीहरुलाई दुत्कारेका छन् । समाज सुधारको अठोट गरिएको यो कविता वनावटका दृष्टिवाट पनि राम्रो छ ।
चौविसौं कविता ‘खैनी माहात्म्य’ हो । यो कविता महानन्द सापटीको ‘अम्मली’ कविता जस्तै उपदेशात्मकताले भरिएको छ । सुर्ति, खैनी, सेवनले मानवलाई दोहन गर्छ । त्यसकारण यसको सेवन नगर्नु भन्ने यस कविताको मूलतत्व रहेको छ ।
पच्चिसौं कविता ‘निर्मोहिनी उनी भइन्’ हो । यस कवितामा कविले उनकी श्रीमतीले कवि अशक्त भएको वेलामा लगाएको वचन प्रति दुःख व्यक्त गर्न पुगेका छन् । साथै यो व्यङ्ग्यवाणलाई समेत सचेत गराएका छन् । कवि नेपाल साना साना कुरामा पनि ज्यादै सम्वेदनशील वन्दा रहेछन् भन्ने प्रमाण पनि यो कविताले दिएको छ ।
छव्विसौं कविता ‘दुव्र्यसन’ हो । यो कवितामा दुश्चरित्र भएका दुव्र्यसनीहरुको दुर्दशाको वर्णन गरिएको छ । लागु पदार्थहरु जस्ता चिज नखाने र सच्चरित्रवान वन्ने उपदेश समेत यस कविताले दिएको छ ।
सत्ताइसौं कविता ‘शिक्षा सौरभ’ हो । यस कविता शिक्षाको महत्व दर्शाइएको छ । शिक्षा सौरभले गर्दा हाम्रा समाजमा रहेका हिंसाका हतियारहरुमा खिया लाग्दछ । ती हतियारहरु नष्ट हुन्छन् । त्यस पछि सभ्य समाजको निर्माण हुन्छ भन्ने कविको परिकल्पना रहेको छ ।
अठ्ठाइसौं कविता ‘वचपन’ हो । यस कवितामा वालककालको सुखमय समयको वर्णन गरिएको छ । वालक कालमा निष्छल, निस्कपट भएर खेलिएका खेलहरुको राम्ररी वर्णन गरिएको छ । यो अभिव्यक्तिको दृष्टिवाट साश्वत कविता वन्न पुगेको छ ।
उनन्तिसौं कविता ‘महाकवि देवकोटा’ हो । यस कवितामा महाकवि लक्ष्मी प्रसाद देवकोटाको मुग्ध कण्ठले प्रशम्सा गरिएको छ ।
तिसौं कविता ‘विडम्वना’ हो । यस कवितामा हाम्रो देशको अहिले विसङ्गति पूर्ण राष्ट्रिय जनजीवनको यथार्थ चित्रण गरिएको छ । त्यसमा पनि अहिलेका राज नेता, भ्रष्ट कर्मचारी, ठगी ठेक्केदार आदिको काला करतुतको कवितात्मक रूपमा सूत्रात्मक ढङ्गले व्यङ्ग्य कसिएको छ ।
एकतिसौं कविता ‘दशैं’ हो । यस कवितामा हामीले शताव्दीयौं देखि मान्दै आएको दशैंको पक्ष विपक्षका कुरा शैली भए पनि भन्न खोजको कुरा भने नञा छैनन् । दशैं मान्ने तौर तरिकामा भने फेरवादल ल्याउनु पर्ने सुझाव भने यसमा पाइन्छ ।
वत्तिसौं कविता ‘कार्य सम्पादन’ हो । यस कवितामा जुनसुकै व्यक्तिको जुनसुकै काम गर्दा पनि दृढ निस्ठा र दृढ अठोट लिएर काम गर्यो भने निश्चयनै त्यो काम सफल हुन्छ भन्ने ठोकुवा गरिएको छ ।
तेत्तिसौं कविता ‘शव्द श्रद्धान्जली नेता द्वयलाई’ हो । यसमा मदन भण्डारी र जीव राज आश्रितको त्रिशुली नदीमा गाडी खचेर भएको दुर्भाग्य पूर्ण मृत्युलाई लिएर दुःख व्यक्त गर्दै उनीहरु प्रति शव्द श्रद्धान्जलि गरिएको छ । यो ऐतिहासिक कविता वन्न पुगेको छ ।
चौतिसौं कविता ‘प्रभाती सन्देश’ हो । यस कवितामा कविले ‘राम्रो काम गर्ने व्यक्तिले दुनिया वदल्न सक्छ’ भन्ने उपदेशात्मक सन्देश दिएका छन् ।
पैंतिसौं कविता ‘निर्माण नौलो गरौं’ हो । यसमा सवै पक्षवाट निश्वार्थ ढङ्गवाट काम गरेमा मुलुकको निर्माण गर्न सकिन्छ । मुलुकलाई आत्म निर्भर पनि गराउन समेत सकिन्छ भन्ने कुराहरु पनि कवितामा दिइएको छ ।
छत्तिसौं कविता ‘प्रण गर्दछु देशलाई’ हो । यसमा कविले आधुनिक हतियारले जित्न नसक्ने युद्ध कलमका टुँडाले जित्न सकिन्छ भनेर उद्घोष गरिएको छ । ‘तरवार भन्दा कलम वलियो हुन्छ’ भन्ने उक्तिलाई नञा तरिकाले प्रस्तुत गरिएको छ ।
सैंतिसौं कविता ‘मेरी सृजना’ हो । यसमा कविले सिर्जनाको महत्व दर्शाएका छन् । उनले आफुलाई सिर्जनासित एकाकार वनाएका छन् यस कवितामा ।
अठ्तिसौं कविता ‘तारा हराएको रात’ हो । यसमा नेपालकी प्रशिद्ध गायिका तारा देवीको निधनमा कविद्वारा ज्यादै सम्वेदनशील भएर शव्द श्रद्धा सुमन व्यक्त गरिएको छ ।
उनन्चालिसौं कविता ‘वाडुली लाग्न थाल्यो’ हो । यसमा वाडुली लाग्ने कारण खोतलिएको छ । यो परम्परावादी कविताको लहरमा उभिएको कविता हो ।
चालिसौं कविता ‘त्याग’ हो । यसमा त्यागको तात्विक अर्थ गरिएको छ । त्यो अर्थ अनुसारका त्यागीहरु अहिलेको समाजमा कविले भेटेका छैनन् । उनी भन्छन् “स्वार्थी समाज भयो, मचियो वितण्डा”, त्यसैले उनी आफु वसेको समाज आफुले वाँचेको समयको भविष्य प्रति ज्यादै चिन्तित पाइन्छन् – यस कवितामा ।
एकचालिसौं कविता ‘कुशासनको कसिङ्गर’ हो । यसमा समसामयिक नेपाली राजनीतिले उव्जाएको यहाँको राज्य व्यवस्था प्रति ठुलो व्यङ्ग्य कसिएको छ ।
वयालिसौं कविता ‘विदाइ’ हो । यसमा स्कुल छोडेर विदा भएका विद्यार्थीहरुलाई गुरुहरुले दिएका उपदेशहरुलाई समेटिएको छ ।
त्रिचालिसौं कविता ‘देशको मायाँ’ हो । यस कवितामा कविको देश प्रेम यत्रतत्र छरिएको छ । देश भक्तिले पूर्ण भएको कविता हो यो ।
चवालिसौं कविता ‘गुरु पूर्णिमा’ हो । यसमा प्राय गरेर साउन महिनामा पर्ने व्यास पूर्णिमाको सम्झना गरिएको छ । यो गुरु भक्ति पूर्ण कविता हो ।
पैंतालिसौं कविता ‘भोग्या वनेकी किन ?’ हो । यस कवितामा अहिलेको समयमा युवतीहरुले आफ्ना आफ्ना शरीरका अङ्गहरु प्रदर्शन गर्दै शरीर खुला राख्ने वस्त्र लगाएर हिंडेको देखेर कविलाई नराम्रो लागेको कुरो दर्शाएका छन् । शरीरका सम्वेदनशील अङ्गहरु युवतीहरुले प्रदर्शन गरेकै कारणले उनीहरु प्रति ज्यादा आकर्षित भएर आधुनिक युवकहरु उनीहरु प्रति जाइ लागेको कुरा कविले गम्भीर रूपमा उठाएका छन् । यसमा व्यङ्ग्य पनि छ सार्थ पूर्वीय सम्स्कार र सम्स्कृतिको जगेर्ना गर्न युवतीहरुलाई आह्वान पार्न गरिएको छ ।
यसरी डिल्ली राज नेपालले रचना गरेर ‘मेरो माटो’ नामक कविता सङ्ग्रहमा समेटिएका छयालीस ओटा कविताहरुको सार सन्क्षेपमा अध्ययन गरियो । एउटा असल पाठकको दृष्टिवाट त यसमा परेका सवै कविताहरु राम्रो छन्, तर एउटा समीक्षकका दृष्टिवाट हेर्दा भने केही कविताहरु मात्र स्तरीय कविताका कित्तामा पर्छन् ।
कवि डिल्ली राज नेपाल विषयलाई लिएर त्यसमा महिनौं सम्म वा वर्षौं सम्म पर्खिएर गम्भीर रूपले शव्द समायोजन गरेर कविता लेख्ने व्यक्ति नभएर आफुले देख्ने वा छोटै समयमा देखेका भोगेका विषयहरुलाई तत्कालै सिर्जनामा उतार्ने व्यक्ति रहेछन् । त्यसो हुँदा उनी भित्रको कवि राम्रो नराम्रो अभिव्यक्तिका वारेमा नसोचि तुरुन्त कविता रचना गरि हाल्ने गोकुल जोशी वा केवलपुरे किसानका कित्तामा पर्न पुगेका छन् । त्यसो भएर पनि उनीहरुका कवितामा जनताका स्वर उरालिएका हुन्छन् भने नेपालमा कवितामा सामाजिक कुण्ठा अलिकति र मानवीय समवेदना अलिकति मिसिएर कविताका वान्किमा उत्रिएको पाइन्छ । उनले सिर्जना गरेका जुनसुकै व्यक्तिलाई पनि वरावरी माया, प्रेम दर्शाएका छन् । त्यो सिर्जनशील धर्म त हो तर प्रकाशनमा ल्याउँदा सम्पादनको आवश्यकता पर्छ । त्यो सम्पादन कार्यको कमी यसमा टड्कारो देखिन्छ । उनका मानस पुत्र पुत्रीहरुलाई उनले वरावरी माया गरेर तिनमा न्याय त गरेका छन् तर त्यही वेला पाठक वा द्रष्टाहरुलाई भने उनले ख्याल गर्न भुलेको पाइन्छ । उनीहरु त मुटुमा स्पर्श गर्ने कविताहरु मात्र ग्रहण गर्दछन् । कविताहरु वस्तुत ः समसामयिक र शास्वत हुन्छन्, स्थानीय र राष्ट्रिय हुँदै विश्व जनीन हुन पुग्छन् । यसरी हेर्दा नेपालका कविताहरु ज्यादा सामयिक घटना द्वारा निर्देशित छन् । नेपाल भित्रको कवि आफ्नै परिवेशवाट व्यादै सम्वेदनशील वन्न पुगेको छ । कसैले सानो भन्दा सानो घटना वा विषयलाई पनि उनी कवितामा उतार्न उद्यत रहन्छन् । कति सम्म मसिनो कुरामा पनि कवि सम्वेदनशील वन्छन् भन्ने कुरो उनको ‘निर्माेहिनी ऊ भइन’ कवितावाट थाहा लाग्छ । त्यस्तै महत्व पूर्ण राष्ट्रिय घटनाहरु प्रति पनि उत्तिकै सजग रहेका छन् । मदन भण्डारी, जीव राज आश्रित, तारा देवी आदिको निधनमा पनि उनी पोखिएका छन् कवितामा । आफ्ना पूर्व महान् कविहरु कवि शिरो मणि लेख नाथ पौड्याल र महाकवि लक्ष्मी प्रसाद देवकोटा प्रति पनि कविता रचना गरेर अग्रजहरुको सम्मान गरेका छन् उनले कवितामा । त्यस्तै मुलुकको अस्तव्यस्तता प्रति पनि ज्यादै चिन्तित छन्् । त्यसको वारेमा लेखिएका कविताहरु ज्यादै स्तरीय र सम्प्रेणीय हुन पुगेका छन् । ‘सम्वेदनशील व्यक्ति नै असल कवि हुन सक्छ’ भन्ने उक्तिको प्रमाणको रूपमा झापाका कवि डिल्ली राज नेपाल खरो उत्रिएका छन् । सानो भन्दा सानो विषयलाई टपक्क टिपेर कवितात्मकताले भर्न सक्नु कविको विशेषता हो, त्यसैले उनका कविताहरु पठनीय र भननीय हुन पुगेका छन् ।
यस्ता सुन्दर शास्त्रीय छन्दमा अभिव्यक्ति दिन सक्ने, अभिव्यक्तिका धनी कवि नेपालमा महाकाव्यको सिर्जना गर्न सक्ने क्षमता विद्यमान रहेको पाइन्छ यो सङ्ग्रहको अवलोकनवाट । सिर्जनामा गम्भीरता थपियो भने, सिर्जनामा अध्ययनको मात्र वढ्यो भने कवि नेपालको साहित्यिक भविष्य अझ उज्जर अझ चम्किलो हुन्छ । यसमा विश्वास गर्ने थुप्रै सम्भावनाहरु पाइएका छन् । ‘मेरो माटो’का कृतिकारलाई यिनै शव्दहरुद्वारा शुभकामना दिंदै यो टिप्पणी यही तुर्दछु ।

सन्दर्भ ग्रन्थ
– ‘मेरो माटो’ – डिल्ली राज नेपाल
– कृती र कृति – चूडा मणि रेग्मी
– भानु भक्तदेखि तेस्रो आयाम सम्म – ता.ना. शर्मा
– साहित्य आलोक
– साहित्य दर्पण
– पूर्वान्चल दर्पण अङ्क–८८




प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 11 जेठ, 2073

लेखकका अन्य रचनाहरु