मेरो साहित्यिक यात्रामा चूडामणि गुरु

- मधु पोखरेल

मानवका शौख र रुचिका विषय पनि मान्छेका अनुहार झैं भिन्न हुँदा रहेछन् । यस्तै रुचि भित्र रुमाल्लिंदा कोही सफल त कोही असफल हुने क्रमसँगसँगै मान्छे आफ्नो जीवन व्यतीत भएको पत्तो पाउँदो रहेनछ । उत्पादक क्षेत्रको रुचिमा त धेरै कमले मात्र सफलता हात पार्न सक्छ भने साहित्य, संगीत, कला र समाजसेवा जस्ता अनुत्पादक क्षेत्रमा लाग्नु भनेको समाज, राष्ट्र र विश्वलाई केही योगदान दिए पनि व्यक्तिगत रुपमा आत्मरतिमा रमाउनु मात्र हुन पुगेको छ – हाम्रो देशमा ।
सन्दर्भ बरालिएछ क्यार । मेरो साहित्यमा प्रवेशको मूल प्रेरक तत्व तत्कालीन समाजिक संचरना नै हो भन्ने मैले ठानेको छु । समाजमा देखिएका विकृति विसंगति, विभेद अनि तत्कालीन झापाको साहित्यिक वातावरण र परिवेशले एउटा विद्यार्थी जीवनमा प्रवेश गरेपछि मलाई पनि ्सिर्जनातिर उन्मुख गराएको हो । आज भन्दा चार दशक अघि झापाको साहित्यिक माहौल निकै उर्वर थियो ठान्दछु – म । विभिन्न साहित्यिक स्रष्टाहरुको जन्म जयन्ती, राजा रानीका जन्मोत्सवहरुमा झापाका साहित्यिक संघ, संस्थाहरुको संलग्नता र कार्यक्रममा तत्कालीन झापाली स्रष्टाहरु, शिक्षक, विद्यार्थीहरुको सहभागितासँगै यो वालकवि पनि समावेश हुने अवसरले मलाई साहित्यप्रतिको अभिरुचि क्रमशः बढ्दै गएका अनुभूति हुन थाल्यो । यसका साथै स्कूल, कलेजमा अध्यापनमा संलग्न नेपाली विषयका शिक्षकहरुको पनि ठूलो संख्यामा यस्ता कार्यक्रममा सहभागी भै कार्यक्रम सफल पार्न योगदान दिने गरिन्थ्यो । कतिपय शिक्षकहरुले नै विद्यार्थीलाई साहित्य लेखनमा उत्प्रेरणा दिने गर्नुहुन्थ्यो । त्यसरी उत्प्रेरणा दिने शिक्षकहरुमा चुडामणि गुरु अग्रणी रुपमा देखा पर्नु हुन्छ । उहाँ अझै पनि झापाली साहित्यको उन्नयनमा उत्तिकै प्रेरक व्यक्तित्वकोे रुपमा सुपरिचित हुनुहुन्छ ।
चुडामणि गुरु जस्ता शिक्षककै प्रेरणाले मेरा सहपाठी केही साथीहरु कविता लेख्न थालेका र कार्यक्रममा पुरस्कृत भएको क्षणले पनि एउटा हौसला प्रदान ग¥यो । क्रमशः म पनि गोष्ठीहरुमा भाग लिने र पुरस्कृत हुन थाले पछि अझ सिर्जनशील बन्दै गएँ । तत्कालीन झापामा आलोक, सूर्यादय, युगज्ञान जस्ता सप्ताहिकमा हाम्रा पनि रचनाहरु छापिन थाले । झापाको साप्तहिक पत्रिकाहरु मध्ये चुडामणि रेग्मीको सम्पादनमा प्रकाशित युगज्ञानले एउटा लामो कालखण्ड पार गरिसक्दा झापाली स्रष्टाहरुको सूचीमा मेरो नाम पनि जोडिन पुग्यो ।
पछि २०२७ सालमा मेची कलेजमा अध्ययन गर्दा चुडामणि गुरुको सानिध्य अझ नजिक हुनु पुग्यो । उहाँ त्यही कलेजमा अध्यापन गर्नु हुन्थ्यो र भद्रपुरबाट चन्द्रगढी बसाइसरेको कारणले पनि गुरु र मेरो घर नजिक नजिक पर्दथ्यो । गुरुको सम्पादमा निस्कने युगज्ञानमा सर्वप्रथम मेरो धान खाने मुसो चोट पाउने भ्यागुतो” नाउँको एउटा लेख छापियो –२०२८ मा । त्यसपछि एउटा यात्रा निबन्ध, कविता, कथा, हाँस्य व्यङग हरु पछि २०३६÷०३७ सम्म प्रकाशित हुँदै गयो । यसरी युगज्ञानमा मेरा रचनाहरुका लागि स्वयम् चुडामणि गुरुले ‘खै तिमले के लेखेका छौ । मलाई देऊ’ भन्दै माग्नु हुन्थ्यो । र दिएका रचनाहरु छापिन्थे पनि ।
पछि जीवन यापनका क्रममा मैले झापा छाड्नु प¥यो । झापा छाडेपनि गुरुसँगको सम्बन्ध अटुट नै रह्यो । उहाँको साहित्यिक त्रैमासिक जुहीका लागि रचना पठाउ भन्नु हुन्थ्यो, म पठाउँथे । त्यसपछि झण्डै २० वर्षको अन्तरालमा जागिरको क्रममा म दमक नगरपालिका आएपछि गुरुसँग पुनः नजिक हुने अवसर प्राप्त भयो । त्यसबेला सम्म मेरा पनि केही कृतिहरु प्रकाशन भैसकेका थिए भने गुरुपनि युगज्ञान छाडेर जुही, यथार्थ कुरा जस्ता विशुद्ध साहित्यिक पत्रिका सम्पादन गर्न थाल्नु भयो । साहित्यिक सद्भाव यात्राका थालनीसँग मलाई पनि यात्रामा सहभागी बनाउन थाल्नु भयो । जसका माध्यम बाट देशका र प्रवासका विभिन्न साहित्यिक संघ÷संस्था एवम् स्रष्टाहरुसँग परिचित हुने सुअवसर प्राप्त गर्ने श्रेय पनि गुरु नै हुनुहुन्छ ।
जागिरकै क्रममा म चन्द्रगढी आइ पुगेँ । मेरो कार्यालयको निवास र गुरुको झर्रो नेपाली घरलाई बीचमा एउटा घरले मात्र छेकेको थियो । अब त यति नजिक भइयो । गुरुसँग बिहान बेलुका सधैँ भेट हुने र सँधै साहित्यिक चर्चा हुने । विशेषाङ्कका लागि यो लेख, यो पुस्तक अध्ययन गर, जस्ता उत्पेरक वाणीले मेरो सिर्जनामा उर्जा थपिदिन्थ्यो र सम्भवतः यहि सानिध्य काल नै मेरा लेखनका सबै भन्दा उर्वर समय रह्यो भने यहि समय नै विभिन्न साहित्यिक सद्भाव यात्रामा सहभागी हुने कालखण्डको रुपमा मैले ठानेको छु । साथै यही कालखण्डमा मैले लेखनाथ पुस्तकालयको सम्मान प्राप्त गर्नमा पनि गुरुको महत्वपूर्ण योगदान रहेको छ, जसले मलाई थप हौसला र उर्जा प्राप्त हुन सक्यो ।
यतिमात्र होइन, मेरो सरुवा झापाबाट विराटनगर भयो । २०६७ सालको मध्यतिर हुनु पर्छ गुरुको सम्पादन लामो समयदेखि विविध स्रष्टाहरुको विशेषाङ्क प्रकाशित हुँदै आएको “जुही” अङ्क मधु पोखरेल विशेषाङ्कको रुपमा प्रकाशित गर्ने निर्णय गरी २०६८ मा पूर्वाञ्चल लगायत काठमाण्डौंका स्रष्टाहरुको उपस्थितिमा सम्मान प्राप्त गर्ने अवसरका लागि पनि म गुरुप्रति नतमस्तक भएको छु ।
यसरी मेरो साहित्यिक यात्राको प्रारम्भ देखि आज पर्यन्त श्रद्धेय गुरु चूडामणि रेग्मीको प्रेरणा प्राप्त गर्ने सौभाग्यका लागि गुरुप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छु । मलाई मात्र होइन, गुरुसँग सान्निध्य पाएका जुनसुकै स्रष्टाहरुका लागि चूडामणि एउटा प्रेरक स्तम्भ हुन हुन्छ भने लुकेका, पछि परेका, सिर्जनाबाट विश्राम लिन खोजेका व्यक्तिहरुलाई घच्घच्याई पनुः सिर्जनशील र उर्जावान बनाउन उहाँ अहोरात्र चिन्तन मनन गर्नु हुन्छ । उहाँ आफ्नो अभियानमा जीवनको यो उत्तरार्धमा पनि उत्तिकै सक्रिय र सफल हुनु हुन्छ ।
अन्तमा चूडामणि गुरुको सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्न चाहन्छु ।

विराटनगर

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 11 जेठ, 2073

लेखकका अन्य रचनाहरु