आत्मपरकताका पक्षमा डायस्पोरीय सर्जकहरु

- दीपेन्द्र के.सी.

भूगोलका सीमाहरु छन् तर मिचेका हुन्छन भाषाहरुले । मसीहरु अनवरत शव्दहरुमा खर्चिन्छन । भावना र अनुभूतिहरुलाई प्राण भरेर अमरत्वको यात्रा तय गर्नुमात्रै नभै लेखकीय आस्थाका मूल्य र मान्यताहरु स्थापित गर्न लागिपर्नेहरु सीमाका पर्खालहरु नाघेर आज बिश्वभर नेपाली भाषाका नयाँ धरातलहरु निर्माण गर्दैछन ।
डायस्पोरीय शव्दमा अव बहस जरुरी नहोला । हुनत भाषा व्याकरणका महापण्डितहरु यसो भन्न पाइन्न भन्छन तर प्रवासी भनेपनि, डायस्पोरा भने पनि देशपारीयहरुको सामान्य बुझाईको पर्याय भैसकेको छ डायस्पोरा । शरहदपार भएर संस्कार, विधि र मौलिकता प्रतिको निरन्तर इमान्दारिता, अभिव्यक्ति र प्रेमले देशको सम्झना र चिन्तनमा शव्दहरु रच्ने, समय खर्चने तथा अस्तित्वका मान्यताहरु जीवितै तुल्याईरहने क्रममा लेखकीय चेत प्रमुख हो । यसमा संलग्न समूह सीमापारीय संक्रमणकालीन पुनःस्थापनाका संघर्षशील चरणहरुमा पनि आफना पहिचान प्रति सचेत रहदै, गतिशील सापेक्षिक नवीकरण र पुस्तान्तरणमा यथार्थपरक साभारका अभीष्ट सहित क्रियाशील भेटिन्छन् । जसका लागि भारत, बर्मा, भुटानका परम्परित क्षेत्रीय अवधारणा नाघेर लगभग बिश्वव्यापी हैसियत निर्माण गरिरहेको बर्तमान नेपाली भाषिक गतिविधि, लेखन, प्रकाशन , अभियानका विविध प्रवृत्तिहरुमा आत्मरकता पनि प्रमुख संरचनागत अभिव्यक्तिका रुपमा स्थापित हुदै गएको छ ।
प्रथमतः देशीय सीमा वाहिर जीवन निर्वाहका लागि त्यहाँको स्थानीय भाषा अंगीकार गर्नु बाध्यता हो । यसका वावजुद संगठित वा असंगठित दुवै तवरमा अपनत्वको मीठास सहित पारस्परिक सम्वाद र लिपीहरुमा नेपाली भाषासंगै बांधिनु भाषिक आत्मीयताको केन्द्रीय चरित्र हो । जुन सिर्जनाका चरित्रहरुमा पनि मुखरित भएको छ ।
सचेतनाका हिसावले होमनाथ सुवेदीहरुको पहलमा अमेरिकाबाट झण्डै २५ वर्ष पहिले शुरु भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संगठित अभियानले निर्माण गरेका डायस्पोरीय नेपाली भाषिक जग र सक्रियता भरोसायोग्य तवरले अविच्छिन्न अगाडी बढेका छन् । दशक अघिदेखि आएको एनआरएनको अवधारणाले पनि यो भाषिक संरक्षणको एकीकृत सोचलाई भेला र गतिविधिहरुले महत्वपूर्ण रुपमा समर्थन गरिरहेका छन् ।
अनेसासका च्याप्टरहरु बिश्वव्यापी रुपमा स्थापित हुनु, एनआरएन संगको सामीप्यता कायम रहनु, प्रविधिको विकाससंगै गतिविधि, लेखन र प्रकाशनको तीव्रता आदिले नेपाली भाषा साहित्य राजमार्गको बिश्वव्यापी ट्रयाक खुलीसकेको छ । अझ पछिल्लो समयमा अनेसासको व्यानरमा अमेरिका, बेलायत, बेल्जियम, जापान, अष्ट्रेलियामा सम्पन्न अन्तर्राष्ट्रिय स्तरका सम्मेलनहरुले नेपाली भाषाको केन्द्रसम्मै हलचल उत्पन्न गरिदिएको मात्रै छैन, चिन्तनशीलतालाई पनि पुष्टी गरिदिएको छ । जुन अव लगभग नखुम्चिने गरी तन्किएका संकेतका स्वरुपमा स्वीकार गर्न सकिन्छ । तर दोश्रो पुस्तामा यथारुपमा हस्तान्तरण र सम्वद्र्धनका चुनौतीहरुबाट ध्यान उठाईहाल्ने अवस्था बनिसकेको छैन । साथसाथै आप्रवासनसंगै सरेका रीतिथिती, पर्व, चलनचल्ती, कलाकारिता, साँस्कृतिक प्रस्तुति तथा एनआरएनका अभियानहरुले अझै ढुक्क गराउदै लगेको छ । यी तमाम अभियानहरुका पक्षपातीहरुसंगका मूल प्रस्तुति, लेख्य र अभिव्यक्ति चरित्रमा आत्मीयता भेटिन्छ । जुन राष्ट्र र भाषाप्रेम संगै वसाई सराईको नश्लीय मार्गमा भावुक र कोमल शैलीमा स्वतःस्फूर्त आत्मीयता झल्किन्छ ।
आफनो बंशीय राष्ट्रका दैनिक जीवनचर्यासँग असम्बद्ध हुनु तर राष्ट्रिय सम्बृद्धिको कामना सहित पुनरागमनको सपना त्याग्न नसक्नुनै आत्मपरक लेखनीको प्रमुख स्रोत हो । जहाँ आत्माका आवाजहरु सिर्जनामा उपस्थित हुन्छन । डायस्पोराका आवाजहरुमा आत्मपरकता जीवन्त रुपमा पाउन सकिन्छ ।
लेखकीय इमान्दारिताका हिमायती ठहरिन आत्मा बोलेको, भोगेको र कल्पेको उतार्न चाहन्छन । जसको सम्बन्ध उतै रहन्छ, प्रायः यहाँको नितान्त एक्लो र नीजि जीवन वास्तवमा भन्दा बाच्नैका लागि मात्र यो शहर र यसको कानूनमा बाँधिएको यथार्थमा जीउन सिकेका भेटिन्छन त्यसैले पनि आत्मा बोलेका हुन्छन । जीवनको यथार्थ यथार्थै रहने हुदा कृत्रिमताको जडान अस्वीकार गरेका छन् । आफू उभिएको यो शहर माछाहरु बाँच्ने एउटा पोखरी जस्तै लाग्छ । अतः केवल बाँच्नकै लागि भएपनि पोखरीसँग विद्रोह गर्ने अवस्था छैन न त पोखरी भत्काएर अन्त कतै वग्न सक्छन न सिंढीहरु उक्लिएर बाहिर आउन । यसकारण पनि आत्मीय सरोकार आफैसंग राखेर बाँचिरहेछन जुन अभिव्यक्तिहरुमा सर्वप्रथम बाहिर आइहाल्छन एउटा उकुसमुकुसको निकास खोज्दै ।
राष्ट्रमा विकसित प्राज्ञिक, शैक्षिक र भाषिक दैनिकता संगै निर्मित नवीन परिवेशसंगको विच्छेदनले पनि डायस्पोरीयहरु चुस्त रहन नसक्नु त्यति अस्वभाविक होइन । यसका वावजुद स्वआर्जित सिर्जनशीलताको आत्मरक्षाका खातिर प्रतिस्पर्धी युगमा डायस्पोरीयहरुले आत्मपरकताका माध्यमबाट आफूलाई उन्नत सावित गर्न सहज र प्रस्तुतिमा वढी खुल्न सक्नु एवं संकलनमा बढी सरलता भेट्नु निश्चय पनि सुखद पक्ष हो । समसामयिक घटना प्रतिघटनाका तीव्रतम प्रतिक्रिया भन्दा आफनै भावनात्मक आवेगहरु उल्लेख गर्न रुचाउँछन । उनीहरुव्दारा गठित रचनाहरुमा तिनै आत्मीय स्वर भेटिन्छ । तर यो सवालमा नेपालसंगै सीमा जोडिएका प्रवासी सर्जकहरुका हकमा भने अति भिन्न दृष्टि राखिनु पर्छ । वर्तमान सिकारु डायस्पोरा र इन्द्र बहादुर राई, पारसमणि प्रधान, मन प्रसाद सुव्वाहरु लगायतका अन्य भारी वजनशील व्यक्तित्व संगको सापेक्षता अहिल्यै जोडन सकिदैन । डायस्पोराबाट भोलि भिन्न दर्शनसाथ कोहीको उदय भैहाले अलग हो ।
लेखकीय बैशिष्ट्य, शैलीगत प्रवृत्ति र प्रस्तुतिका हिसावले डायस्पोरीय सिर्जना त्यत्ति कमजोर पनि छैन जति आँक्ने गरिन्छ । बर्तमान प्रविधिको सहजताले राष्ट्रिय— अन्तर्राष्ट्रिय प्राज्ञिक विकासक्रमसंग निकट रहेर आत्मीकरणमा लागिरहेको पाइन्छ । सीमापार माटोको दैनिकी संगै राष्ट्रमोह प्राथमिकतामा रहेर सिर्जना बोल्नका लागि आत्माको इमान्दारिता सकारेर, आत्मीय भावमा आत्मै बोेलेर आत्मा उतारेका हुन्छन् । आत्मा पग्लिएर खडा भएका विम्बहरु सुन्दर नहुने कुरै भएन तर सुधारको अपेक्षा रहिरहन्छ । शिष्ट र नम्र भाषा, सुपाच्य सामाजिक विषय, समान सोचहरुको सहभागिता, सहनशीलता, समय र प्रचलनको सम्मान एवं प्रशंसा तथा अन्य धारहरुको ठाडो नक्कलभन्दा मौलिक आत्मीक अभिव्यञ्जनाका रमणीयता जस्ता आत्मीयताका लक्षणहरु भेटिन्छन् । भिन्न सामाजिक, भाषिक र साँस्कृति माहोलमा भाषिक आत्मारक्षासंगै सिर्जनामा जोडिइरहनु कालान्तरमा फलदायी नै सिद्ध हुनेछ । सिर्जनाका विविध शाखा उपशाखामा क्रियाशील भएपनि अधिकाँश सर्जकहरुले सिंगो मानव सभ्यतालाई आफूतर्फ आकर्षित गर्न सक्ने सामथ्र्यवीच देशपारीय यथार्थ अवस्था र समान भावका साथ आत्मपरकतामा बढी खुलेका भेटिन्छन् । सिर्जनामा स्रष्टाहरु राष्ट्रसंगै रुनु राष्ट्रसंगै हर्षिनु आत्मीय सम्बन्धको उपज हो । यसकारण पनि डायस्पोरीय सर्जकहरुको प्रथम लेख्य प्रयोगमा आत्मपरकता प्रकट भैरहेको पाइन्छ र लेखकीय विचारको केन्द्रीय तत्व आत्मीयता ।
उपलव्ध केही प्रतिनिधमूलक डायस्पोरीय आत्मपरक स्वरहरु । विविध छापा, संग्रह र विद्युतीय माध्यममा प्रकाशित ।
— हेरिदिउन मेरा, ती भावनाका व्यथा
आँचल बनी सवको म, हृदयमा बस्छु — कृष्ण विष्ट, नेदरल्याण्ड
— अरुलाई बुझाउने मन त्यसै बसाई सर्छ किन
सुख खोज्ने बहानमा आफै तर्सी हिड्छु अचेल
आशाहरु ओइलाएर निरस भै मर्छन किन ? — अम्बिका गिरी, नेदरल्याण्ड
— सहेर ब्यथा अनेक बामे सर्दैछु यात्रा जीन्दगीको
बोकेर पीडाको पोको गर्दैछु यात्रा जीन्दगीको
टुंगो छैन कहाँ टुंगिने हो गन्तब्य यो अभागीको
छोडेर रस्तिबस्ती यो झर्दैछु यात्रा जीन्दगीको १ — सूर्य गिरी, नेदरल्याण्ड
— के साँच्चिकै जीन्दगी जिइरहेको छु
वा जिउने ढोंग गरिरहेको छु
आफनै पैतालाको पाप्रामा
एउटा इतिहास लेखिरहेको छु । — हरि पौडेल, नेदरल्याण्ड, सिर्जन भाग १ बाट ।
— तिम्रो मायाँको संसारमा रमाएर
जीवनलाई आफनै रंगमा रंगाएर
एकअर्काको मायामा हराएको पनि
रजत वर्ष भैसकेछ । — गोविन्दसिंह रावत, क्यानाडा ।
— डायस्पोरा एकेडेमीको एक पात्र भएको छु
लण्डन कन्फरेन्सबाट अमेरिका आएको छु
प्रतिबिम्ब के हो म जान्दिन तर
म बिम्बमा डायस्पोरा भएको छु । — होमनाथ सुवेदी अमेरिका, स्मृति कविता संग्रहबाट
—उकाली र ओरालीका कुराहरु चल्दैथिए
मुुुटुुमुटु मिल्यो क्यारे सुन्दर एउटा घर बस्यो । — ज्ञानेन्द्र गदाल, अमेरिका ।
— कति नाजुक, कति निरीह
म्याप्पलका पातहरु
ठयाक्कै म जस्ता
दोश्रो दर्जाका नागरिक । — गोबद्र्धन पूजा, अमेरिका ।
— मायाँ दिएर हेर मनभरी छचल्किएका छन
मायाँ लिएर हेर आँशुका थोपाहरुमा टल्पलाएका छन्
जीवन आखिर के नै रहेछ र
मायाँ दिनु र लिनुमा नै संसारको रीत रहेछ । पदम वि.क., अमेरिका शव्दसुमन कविता संग्रहबाट ।
— आकाश खोज्दै आफनै पनको पराई देशमा बतासिदा
जहाँसुकै होस परदेशी मन हरगासमा सधैं रुन्छ । — डा. रुपक श्रेष्ठ, बेलायत।
— तिम्रो स्पर्शले
बरफ जस्तो मन
पगाली दियो । — कृष्ण बजगाई, बेलायत, हिउंको तन्ना हाइकूू संग्रहबाट ।
— ती साथी संगी अतीतका दिन मुटुमा राखेथें
स्मृतिभित्र बेनीको याद ताजै राखेथें
ऐसेलु चुत्रो गुयली बनका अमला सुन्तला
अपूर्ण हुन्छ त्यो रात विर्से जीवनको मसला । — मोहन आचार्य, पोर्चुगल, निर्दयी रात कविता संग्रहबाट ।

—चाहना अपुरै रहे,मेरा योजना अधुरै,
निमेषमा यसै कसरि,नाता तोडेर हरायौ १
पात(पात आभास तिम्रो,फुल(फुल सुवास,
रोम(रोममा मादकता,हाय १ जोडेर हरायौ १ — इन्द्र पकवान, बेल्जियम

— बेदनाको भूमरीमा आफै दुख्छु घरीघरी
उदास रात किन आउँछ जीन्दगीको वरिपरि
दुख्न बाँकी छैन अव सपनाहरुको भीडमा
मन रुन्छ त्यसै किन विहानको शीत सरी । — बिमल गिरी, बेल्जियम, गोधुली मन मुक्तक संग्रहबाट ।
— हो, आमाको मुक्तिको लागि
सयौं भाईहरुले शहादत पाईसके
मुग्लानमा सपनाको महल सजाउंदैछु । — यामु निरौला, बेल्जियम ।
— तिम्रो मन जित्ने कलाकौशल सिकेर देखाइदिन्छु
किनवेचले काम गर्नेभए आफै विकेर देखाइदिन्छु
बिश्वास गर यो मुटुभित्र तिमीबाहेक कोही छैन
गर्दैनौ विश्वास भने यो मुटु नै झिकेर देखाइदिन्छु । — सौरभ कारञ्जित, बेल्जियम , छरिएका सौरभ मुक्तक संग्रहबाट ।
— मलाई जस्तै तिमीलाई हुन नपरोस
सम्झी तस्बीर तिमीलाई छुन नपरोस ।
मोड आउलान जिन्दगीका यात्राहरुमा
मेरो नजिक तिमीलाई हुन नपरोस
सम्झी तस्बीर तिमीलाई छुन नपरोस—बिष्णु सापकोटा, बेल्जियम ।
— ऊ त्यो मान्छे
व्याकुल भएको छ
आफनै घुँडा असक्षमताले चिप्लिंदा पनि
आफ्नाहरूमाथि नै अज्ञानको तरवार
उठाउन खोज्नेहरु देखि
उ त्यो मान्छे परेको छ
के न्यायलाई विर्सेर
देशभक्तिको गीत गाउन सक्छौ ?
हामीलाई सोध्दैछ । —दीपकज्योति पौडेल, बेल्जियम ।
सँगै यस पंक्तिकारका पनि केही हरफहरु—
— सम्झनाले चिप्लिन्छ
उही ओसिलो ढुँगेधाराको लेउमा
बगेको त्यो पानी
र,
बगेको आँशु
झरेर एउटै ओरालो
एउटा परदेशीको डायरीमा बन्छ्
मरी मरी बाँच्नेहरुको
एक पृष्ठ कथा । — दीपेन्द्र के.सी. कविता संग्रह नर्थसि को किनारबाट ।
यसरी प्रवासमा कलम चलाउनेहरुको सूची लामो छ र यहाँ सवैको उल्लेख सम्भव छैन तैपनि अमेरिका उर्वर सावित भएको छ । जहाँ मधु माधुर्य, निलम कार्की, गोविन्द गिरी, गीता खत्री, कल्पना सत्याल, राम प्रसाद खनाल, शेखर ढुगेल, (शिव प्रकाश, राकेश कार्की क्यानाडा) लगायत सयौं साधकहरु छन । यस्तै अष्ट्रेलिया, जापान पनि अग्रपंक्तिमा आउँछ । बेलायतमा त विकलचन्द्र आचार्य देखि जयालक्ष्मी राई , सुमल कुमार गुरुङ, सुरेशजंग शाह, सञ्जु वजगाई, बिश्वासदीप तिगेला लगायत दर्जनौं छन् । खडग न्यौपाने जर्मनी, बाबुराम भुषाल, भीम कमल के.सी, सुनील संगम पोर्चुगल, हरिहर अर्याल, ददी सापकोटा फ्रान्स, रामहरि शास्त्री, राम भण्डारी इटालीका प्रतिनिधि पात्रहरु हुन । बेल्जियमकै सन्दर्भमा पनि अनेक सक्रिय नामहरु आउँछन । राजकुमार पुडासैनी, शंकर वजगाई, रमेश कंडेल, जे.वी. शेर्पा, बिनिता रिमाल, कुम शाही, मीन गुरुङ(सिन्त्रोदेन) , राजेन्द्र रसाइली, बोधराज पौडेल, पञ्चम अधिकारी(उपन्यास प्रकाशित), डिल्ली अम्माई, महेन्द्र पौडेल, युवराज गुरुङ, जमुना गैरे, नन्द घले, हरि श्रेष्ठ, राधाकृष्ण अधिकारी, माधव सापकोटा, जानकी गुरुङ, ,सीता सापकोटा, जगदीश सापकोटा, सूर्य ढकाल, मोहन खत्री, रुक्मिणी अमात्य, हरि भटट्राई, मुना ढकाल, राजेन्द्र देवकोटा महेन्द्र पन्त, पुरुषोत्तम सुवेदी, परमानन्द सापकोटा, नारायण अधिकारी ओम शर्मा, यसोदा सुवेदी, सन्तोष खडका, कमल भारती, सन्तोष न्यौपाने, ज्ञानेन्द्र खतिवडा, बलराम पुन, शालिक गौतम(हाल नेदरल्याण्ड) , केजीन राई, संजय श्रेष्ठ, हरि लामिछाने, होम गुरुड. दुर्गा सापकोटा, रामबावु नेपाल, रोशन क्षेत्री आदि बेल्जियमका काव्यमंचमा आत्मपरक फूटकर रचनाका साथ उपस्थित भैरहने साधकहरु हुन ।

बेल्जियम

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 6 जेठ, 2073

लेखकका अन्य रचनाहरु