लाहुरे आज घर फर्क्याे हाँसी हाँसी रमाई

- भेषराज रिजाल

‘स्वदेशी मनले मात्र अनुभूत गर्न सक्छ, विदेसिँदाको पीडा ।’
विदेसिन लागेका नेपाली चेलीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भक्कानिँदै डाँको छोडेर रोएको देखेर भनेथेँ मैले । छातीको घाउमा झन् नुनचुक होला भनेर तिनीहरू कहाँ जाँदै थिए र कसको विछोडमा भक्कानिएका थिए सोध्न सकिन मैले ।
डाँडाका शिखरहरूमा ओर्लेर निरन्तर यात्रारत रह्यो मन; पहाड, चुरे, मधेश र खोँचहरूको संयोजन हेर्दै । गह्रैगह्राका कित्तामा बाँडिए पनि एकढिक्का खेतीयोग्य जमिन बगिरह्यो नजरमा । समथर भूमि बिस्तारै मरुभूमिमा फेरिँदै गयो । पातला बस्ती र बाक्लो मरुभूमिबीच फेरि निसास्सियो मन । अलिकति असहज भयो कि छटपटिहाल्छ यो । यसैलाई हेरेर मान्छेले बनाए होलान् सिद्धान्त अनेकन्– स्वच्छता, स्वतन्त्रता, निष्पक्षता, समानता, मानव अधिकार, ... । तैपनि जति सिद्धान्त र संस्कार विकास हुन्छन्, त्यत्तिकै किन कुबाटो समात्छ मान्छे ?
फिँजिएको तालजस्तो जंगल, नदी बग्दा पोखिएको चिस्यानजस्तो हरियाली र सर्लक्क कोरिएका रेखाजस्ता बाटा गुडिरहे जमिनमा । सन्ध्याकालीन धुर्मैलो आकासबाट मरुभूमिको खैरो फेटा गुतेका थुम्का र फाँटहरू नियालिरहेँ । समुद्र देखिनुपर्दथ्यो तर दूर क्षितिजमुन्तिर छ शायद त्यो । तुँवालोमिश्रित कुहिरे पर्दाले झन् रहस्यमय बनाइदिएको छ धर्ती–आकास ।
मुस्ताङे मरुभूमिबाहेक आजसम्म विशाल मरुभूमि देखेको थिइनँ मैले । मरुभूमिका अनेक रुपरङमा हराएँ धेरैबेर ।
हावाले बनाउने मरुस्थलका पहाड र तिनका काखका विशाल चौरमा उँट चढेर गर्न पाएहुन्थ्यो लामो यात्रा, एउटा कल्पनासँग रमाउँदै सोच्छु, मान्छेका अपेक्षा संसार जत्तिकै विविध, अनन्त र अतृप्त छन् । मरुभूमिका बीचोबीच बगेका स–साना नदीहरू देखिन्छन्, यिनले मरुभूमिमा विचरण गर्नेहरूको प्यास मेट्दा हुन् जसरी हेर्दैमा प्यास मेटिरहेथ्यो मेरो ।
पहेँलपुर पारेर क्षितिज सूर्य अस्ताचलमुन्तिर डुबेको पनि धेरैबेर भइसकेको थियो, कहाँबाट आएको होला प्रचण्ड उज्यालो, म अधीर भएथेँ । लाग्थ्यो, सूर्य यतै कतै खसेर जग्मगाएको त होइन धर्ती !
निख्खर उज्याला सडकका रेखाले सजिएको, सुनौला रङले जग्मगिएको, समुद्रसँग आलिङ्गनरत कुन देवलोक होला यो ? चम्किएको बिजुली जस्तो, बिजुली चम्केर उज्यालिएको क्षितिज जस्तो, गोधुलि क्षितिजको रङहरूको कोलाज जस्तो कुन स्वप्ननगरी होला यो ? लाग्थ्यो, जग्मगाएको अर्को आकास छ हामीमुन्तिर । सबै आकास ढाकेर फैलिएको त्यही स्वप्नील आकासगंगामा प्रकाशको धारिलो उज्यालो प्रवाहित भइरहेथ्यो ।
आहा, मानव मेहनत र प्रकृतिको वरदानले सजिएको सुन्दर धरा दुवइ पो रहेछ । उचाइ घटाउँदै प्लेनले समुद्र पार गर्न लाग्दा झन् सुन्दर देखियो दुवइ । मेरो मनमा उर्लेका ज्वारभाटा रातको अन्धकारमा शान्त हुँदै जान्छन् जसरी प्लेन विस्तारै ओर्लिँदै शान्त समुद्रसँग समानान्तर बहिरहन्छ सुस्तरी ।
खानेकुरा बाँड्दै, सीट र बसाइ सहज पार्दै कुदिरहने आकासे परीहरूको फुरुङ्ग चालढाल, मुस्कान र हेराइतिर तानिएँछु एकछिन । तिनीहरू आवतजावत गर्दै विस्तारै हराउँछन् प्लेनको भीडमा जसरी सम्वादहिन मौन सम्वाद हराइरहेछ मभित्रको अनन्तमा ।
यत्रो प्लेनभरका मान्छेहरू को कहाँ जाँदैछन् रत्तिभर वास्ता छैन मलाई किनकि म पनि त अनुमान गर्नुपर्ने नयाँ गन्तब्यतर्फ जाँदैछु । बाटोभर देखिएको बिछट्ट सुन्दरता साँच्न नै धौधौ भइरहेछ, मेरो गन्तब्य, कल्पनाको स्वर्गपुर झन् कस्तो होला ? घरिघरि मभित्र तुफान उठ्न खोज्छ, दृश्यका तरङ्गले नै साम्य पारिरहन्छु म त्यो तुफान ।
फेरि अर्को उज्यालो शहर नजिकियो । जहाजको निरन्तर ओर्लाइका आधारमा लगाएको अनुमान मिलेछ, हाम्रो ट्रान्जिट दोहा नै रहेछ त्यो । आहा क्या सुन्दर देखियो दोहा !
पखेँटाले पानी छोलाझैँ गरी प्लेनले कोल्टे फेर्दा आकासमा उचालियो दोहा । सिरिङ्ग भयो भित्रैदेखि, तर उज्यालो खुसीमा भएन कमी । मेरो कल्पनाभन्दा परको सागरबाट एउटा उज्यालो नदी निस्केर बगिरहेथ्यो मानव बस्तीतिर । आँखा चिम्लेर परमानन्दले त्यही नदीसँग समागम गरिरहेथ्यो दोहा । समुद्र छोलाझैँ गरी दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेथ्यो प्लेनले ।
इस्लामावादका लागि छुट्ने सात चालीसको प्लेन भेट्टाउन क्लब कारमा हुइँकियो र इस्लामावाद लेखेको प्लेकार्ड देखाउँदै कुदेको सानो केटोलाई पछ्याइयो । दोलख बहादुर गुरुङ, प्रदीप भट्टराई, ऋषि भुसाल, सुरजप्रकाश अर्याल मभन्दा अघि हुनुहुन्थ्यो, इला शर्मा मात्र पछि ।
ट्युमर हटाउन पन्ध्रदिन अघि गरेको बायाँ खुट्टाको अप्रेशनको बाहिरी घाउ निको भए पनि हिँड्दा सहनै नसक्ने गरी चस्केको थियो । मेरो घिस्रिएको खुट्टा र विदीर्ण अनुहारबारे चासो लिने फुर्सद म आफैलाई पनि थिएन । घुँडो र मुन्टो जोतेर भए पनि केबल कुद्नुथियो जसरी पछि नफर्की कुदिरहेछ दुनियाँ एकोहोरो ।
पाँच मिनट पहिल्यै गेट बन्द भएको भनी फर्काइदियो गेटबाटै अर्काले । हामीभन्दा बढी दुखित भयो हामीलाई डो¥याउँदै गरेको सानो केटो ।
राति एकबजेको उडान पक्का गरेर मर्से रेष्टुरेन्टमा नास्ता गरियो । करिब पाँचघण्टा पर्खनुपर्ने भएकोले एअरपोर्टमा डुल्न थाल्नुभयो मेरा सहयात्रीहरू, म भने दुखेको खुट्टा सुम्सुम्याएर खोच्याएँ नजिकै, ‘आफूलाई नचाहिने सामान हेर्न किन झन् दुखाउनु दुखिरहेको खुट्टो ?’
दुखिरहेको खुट्टाको घाउ सुम्सुम्याउँदै भनेथेँ आफैसँग, ‘घाइतेहरू अर्को चोटबाट सजग हुनुपर्छ ।’
इलाम, गुल्मी, धनकुटा, बागलुङ आदि ठाउँका नेपाली दाजुभाइहरू भेटिए दोहा एअरपोर्टमा । एअरपोर्ट र रेष्टुरेण्टका कर्मचारीमध्ये धेरै नेपाली नै थिए । अझ कति होलान् अरबका भान्सा, जुठेल्ना, बगैँचा, मरुभूमि आदिमा । परदेशमा नेपाली दाजुभाइ भेटिएकोमा झन् दङदास थिएँ म । उनीहरूले नै बोलाउँथे हालखबर सोध्दै आँतका दाजुभाइसरि । ऋण काढेर कमाउन आएकाहरूका वास्तविक कथा सुन्दा चस्किन्थ्यो भित्रभित्र । लाग्थ्यो, छातीमा परेका दुःखका गहिरा घाउ देखाउन चाहिन्छ आफ्नै दाजुभाइ । र, ती घाउ निको हुन पनि चाहिन्छ आफ्नै आँगनको सान्निध्य । नेपालीहरूसँग भलाकुसारी गरेर भए पनि स्वदेशको सम्झना गरिरहेथे ती परदेशिएका नेपालीहरूले ।
कोही मौन घरसँग त कोही एअरपोर्टका सामानहरूसँग मौन सम्वाद गरेरै बिताएथ्यौँ प्रतिक्षाको समय । चेकिङपछि प्लेनको सिटमा निदाएर भुलेथेँ खुट्टाको पीडा केहीबेर तर खाना बाँड्ने एअर होस्टेजले व्युँझाउनाले दुखेर हैरान भएथेँ फेरि । मलाई खानाभन्दा पीडामुक्त निद्रा चाहिएको कुरा थाहा नपाएका बिचराहरूलाई के दोष, म आफ्नै चोट र पीडासँग बोलिरहेथेँ । धन्न ऋषिसँग रहेछ औषधि नत्र झन् कति दुख्दो हो मेरो घाउ परदेशमा ।
अर्को दिन बिहानको मिर्मिरे हुन नपाउँदै इस्लामावादको रावलपिण्डीमा अवतरण गरायो प्लेनले ।
पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौडेल र निर्वाचन आयोग, पाकिस्तानका डेपुटी डाइरेक्टर नइम अहमदसँग रावल लञ्चमा भेटघाट भयो । अध्यागमन चेकिङ सकिएपछि इस्लामावादस्थित मर्गेला होटलतर्फ हानियौँ हामी जहाँ एकसाता बस्नु त थियो नै, लामो यात्राको अनिँदो थकाइ र साथका सरसामान बिसाउनुथियो तत्कालै ।
भर्खर पानी परेर टल्किएको इस्लामावादको सडकमा गुडिरहँदा मलाई काठमाडौंमै छु जस्तो लागिरहेथ्यो । वरपरका थुम्क्याइला पहाडको घेरामा बनेको उपत्यका उस्तै, हरियाली उस्तै, बाटो उस्तै, सार्वजनिक यातायात उस्तै, आकासे पुलहरू उस्तै । फरक होलान् अनेकन् तर समानता मात्रै खोजिरहेथेँ म ।
‘पर्यटकीय स्थल मरितर्फ जाँदैछ बाटो’, हाम्रो उत्साहमा उत्प्रेरक थपे एअरपोर्टमा हामीलाई लिन पुगेका पाकिस्तानीले । सामुन्नेको पहाडको शिखर रहेछ ‘मरि’ । नजिकिँदो पहाडी ऋङ्खलाका बीच फेरि देखाए ‘मर्गेला पहाड’ जहाँ केही वर्ष पहिले हवाइजहाज दुर्घटना भएको रहेछ । नयाँ ठाउँ, उत्साही मन र खुलस्त जानकारीसँग रमाइरहँदा आइपुगेछ होटल, जसको नामसमेत त्यही पहाडको नामबाट राखिएको रहेछ, ‘मर्गेला’ ।
मर्गेलामा आफ्ना झोला झ्याम्टा थन्क्याएर केहीबेर आराम गरेपछि लागियो, निर्वाचन आयोग, पाकिस्तानतर्फ ।
इस्लामिक गणतन्त्र पाकिस्तानको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त, सिन्ध, पञ्जाब, बलुचिस्तान र केपीके चारै प्रान्तको प्रतिनिधित्व गर्ने अन्य चारजना सदस्यका साथै सचिवालयका कर्मचारीहरूसँग भेटघाट भयो । पाकिस्तानका प्रमुख निर्वाचन आयुक्तबाट सम्बोधनपछि नेपालका निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले प्रत्युत्तर भाषण गर्नुभयो ।
पाकिस्तानका जन्मदाता मोहम्मद अलि जिन्हा, राष्ट्रकवि मोहम्मद इकवाल आदिको नाम लिँदा स्वाभिमानले शिर ठाडो बनाउँथे उनीहरू । त्यहाँका प्रमुख शहरहरूमध्ये इस्लामावाद र लाहोर त हामीले पनि देख्न पाउने भयौँ । यस्तै अनेक जानकारी पाएर खुसीले गद्गद् भएको थिएँ म पनि ।
बेलुका होटल इस्लामावादमा भव्य रात्रिभोज भयो । अनेक परिकारहरू विशेषतः मासुका परिकारहरूसँग रमायौँ मज्जाले ।
विफ आइटम नलिन सूचित गर्दै पर्खिरहेका प्रदीपले अञ्जानमा प्लेटमा आफैले विफ मिट लिएको भेटियो । हामीलाई चल्दैन भन्दै विफ खाँदै त्यहाँको मासुको खुब प्रसंशा गरिरहेका थिए अर्का एकजनाले । खाइसकेपछि किन जानकारी दिने भन्दै सबै चुप लागेका थियौँ त्यो क्षण । अज्ञानताको आनन्द देखेर मदहोस भएको थिएँ म ।
प्रदीप र मलाई सहयोग गर्न शैयद रहमानलाई सम्पर्क अधिकृत खटाइएको थियो । सबैलाई गाडीसहित सम्पर्क अधिकृत र सुरक्षा प्रबन्ध मिलाइएको थियो । मोबाइल फोनको व्यवस्था गरिएको थियो । एउटा रमाइलो पेज नसकिँदै अर्को पेजमा रमाइरहेथेँ म, यात्रा खुला किताब हो भन्दै ।
होटलमा फर्कँदा एउटा गायकले सुनायो केही गजलहरू । जीवनका रसिक उद्दरण जस्ता लाग्ने त्यसका लवजलाई गुरुङ सरले शब्द र अर्थबाट प्रोत्साहन गर्नुभयो । पुरस्कार कम भएको भन्दै इला शर्माले ठट्टा गर्नुभएथ्यो, मेरो बूढाले उहिल्यै दिन्थे प—पाँचसय । फेरि भित्तामा टाँगिएका महिलाका तस्वीर हेरेर भन्नुभएथ्यो, सबै मैजस्ता । तब, वैधव्य बाँचेर पनि जीवनलाई निरस हुन नदिनेहरूप्रति माया लागेर आयो । भोग्दा जस्तो भए पनि अरुले देख्दा सधैँ हराभरा हुन पर्दोरहेछ जीवन ।
अर्को दिन निर्वाचन आयोग पाकिस्तानमा छलफल तथा प्रस्तुतीकरणपछि टक्शीला जना हिँडियो । रहमानले रेड एरिया भन्दै प्रधानमन्त्री कार्यालय, संसद भवन, राष्ट्रपति भवन तथा विभिन्न मन्त्रालयहरू देखाए । पहाडी छायाँमा फैजल मस्जिद देखाए । सुन्दर सडक सञ्जाल र चुच्चो परेका पहाडका शिखर हेरियो मज्जाले ।
बाटोमा प्रदीप र म कानेखुसी गछौँ, भर्खरै देखियो केही मानिसहरू तर यौवनाहरू त अझै देखिएनन् । ‘हेर्न पनि नखोजौँ, बरु देखिए अन्तै मुन्टो बटारौँ’, हामी आपसमा फेरि कानेखुसी गर्छौँ र हाँस्छौँ बेस्सरी ।
बस्ती एरिया पार भयो । रहमानले आफू बसेको घरतिर इशारा गरे । उनले आफूले पढेको कलेज देखाए । केही वर्ष अघिको विभत्स भूकम्पसमेत स्मरण गरे उनले । छायाँदार लिङ्क रोड एउटा नयाँ दृश्य भएर टप्कियो हाम्रा लागि तर रहमानका जीवनका अनेक कुइनेटामा अझ धेरै मोडहरू पसारेको होला त्यसले, म उनको आँखाका भाव हेरेर अनुमान गर्छु । उनी घरि हिन्दी त घरि अंग्रेजीमा जानकारी दिन्छन् हामीलाई । उनका पुर्खा भारतबाट आएका रे पाकिस्तान विभाजन हुँदा । हामीले हिन्दी बोल्दा भने कति राम्रो उर्दू बोलेको भनेर प्रसंशा पनि गर्छन् उनी । उर्दू, पञ्जावी, पठान, बलुची र सिन्ध भाषाको धनी रहेछ पाकिस्तान । कार्यालयीय भाषा भने अंग्रेजी रहेछ ।
सिंगारिएका सुन्दर ट्रक देखिए बाटोमा । झन् शीतल छहारी खसे सडकमा ।
सुन्दर गहुँबारी पार भएपछि पहाडी थुम्कामुन्तिर टक्शीला आइपुग्यो ।
सम्राट अशोकका पालामा आएका रे बौद्ध धर्मावलम्बीहरू त्यहाँ । बौद्ध विश्वविद्यालयको रुपमा थियो रे टक्शीला पहिले । धर्मराजीका लगायत थुप्रै स्तुपा छन् रे यस क्षेत्रमा ।
बुद्धका जन्म, विवाह, गृहत्याग, बोधीसत्व, धर्म चक्र र विभिन्न ध्यान मुद्राका मूर्ति, सिक्का, गरगहनालगायतका सामग्रीहरू देखाए त्यहाँका एकजना कर्मचारीले ।
एउटै मूर्तिका दुइथरि अनुहार रे, मुस्कुराएको र गम्भीर मुद्राको । तर सबै अनुहार मेटिएका, नाक काटिएका, कतै टाउकै काटिएका । समसुद्दिन इलियासले नेपालमा जस्तै कसैले गरे होला विनास त्यहाँ । मन अमिलो हुन्छ ।
एउटा सानो भाँडोमा दुईटुक्रा दाँत देखिए । श्रीलंकाको क्याण्डीमा भेटिएको बुद्धको दाँत रे ।
अरबी भाषाका शीलास्तम्भ, ब्राम्ही र संस्कृत भाषाका लिपि देखिन्छ म्युजियममा ।
प्रतिबन्ध लगाएको ठाउँमा समेत फोटो खिच्न दिएर आत्मीय आतिथ्यता प्रकट गरिरहेछन् पाकिस्तानीहरू ।
अनेक मिथक सुनाउँछन् र हाँस्छन् म्युजियमका कर्मचारी, ‘सबैले मलाई अन्तिममा सोध्छन्– तपाईं बुद्धिष्ट हो ?’
गुरुङ सरले आगन्तुक पुस्तिकामा केही लेखिरहँदा म विचार गर्छु, मिथक सुन्दै गए बुद्ध र उनको व्यवहारबीच आनका तान फरक पर्ने पो हो कि ?
गुरुङ सर हामीलाई सम्झाउँदै हुनुहुन्थ्यो नभुल्न पाक संस्कार र संस्कृति । र सम्झाउँदै हुनुहुन्थ्यो, आदर गर्न छिमेकीको सभ्यता, धर्म र व्यवहार । त्यो सबै मनन गर्दै प्रकृति सम्वाद पनि सुनिरहेथेँ मैले । मेरो लेखनी सल्बलाएथ्यो, ‘संसारमा पहिलो जाति, भाषा, धर्म, वर्ण, लिङ्ग प्रकृति नै हो ।’ आँगनमा उभिएर घरभित्र नपसेकोमा क्षमायाचना गर्छु पहाडसँग । झन् मोहक जादू छर्दै मुस्कुराउँछ त्यो ।
पहाडी घाँटीको धूलामा हरायौँ एकछिन हामी । म गान्धर सभ्यताका अनगिन्ति रहस्यसँग हराइरहेँ ।
फर्कँदा सामुन्ने परेका मर्गेला पहाडका पथ्थरिला राक्षसी दाँतबाट विमुख हुँदै पहाडी नागबेली घुमेर दामन–ए–को पुगियो । साथीहरू नेपालको दामन सम्झँदै थिए, नजर अब्बास बोले, पहाडको काखलाई भनिन्छ दामन । सुन्दर पहाडको काख रहेछ दामन–ए–को ।
आहा क्या सुन्दर देखियो इस्लामावादको सेरोफेरो ।
पूरै इस्लामावाद वास्नादार हुनेगरी आइरह्यो बिबिक्यूमा पोलिएको मासुको गन्ध ।
सेल्फीमा निमग्न थिए केही साथीहरू । मलाई भने आफ्नो हात जगन्नाथ गरेर सेल्फिजमा दरिनु थिएन । म खिचिएँ घरि रहमानबाट, घरि नजरबाट, घरि नइमबाट, घरि कैयमबाट, घरि भुसालबाट, घरि सुरजबाट त घरि भट्टराईबाट ।
फराकिला सडकले ठाडो चिरेर बनाएको एभन्यूका पत्रैपत्र चिनाए पाकिस्तानीहरूले ।
रहमानको घनिष्ट मिजास, मृदु भाषा र आत्मीयताले पाकहरूप्रति भावनात्मक सम्बन्ध बढ्छ मेरो । राजदूत असल भए सप्रिन्छ मुलुकहरूबीचको सम्बन्ध । मैले रहमानलाई राजदूत स्वीकार्छु पाकिस्तान र नेपाल सम्बन्धको ।
गुरुङ सरले आमाको सम्झनामा लेखेको संस्मरणात्मक कृति ‘ननिख्रिएका आँसु’ राम्ररी सम्पादन गरिदिएको भन्दै मलाई साहित्यकारमा दर्नुभयो । तब नेपाली नै भए पनि एउटा गजल नसुनाई सुखै पाइएन । उल्था गरेपछि झन् पाइयो ताली ।
ती तालीका पर्राले मलाई पु¥याए विगतसम्म ।
माध्यमिक विद्यालयमा पढ्दा अटोबायोग्राफी माग्ने कुनै साथीको डायरीमा आफ्नो रुची अनायास लेखिदिएँछु, ‘भविष्यमा सम्पादक बन्नेछु’ । उसले त्यही हरफका शब्दहरूको पीङ बनाएर मच्याउँदा कताकता लाज लागेर आउँथ्यो त्यतिबेला । तर, विभिन्न कार्यालय र लेखकका पुस्तकहरूको सम्पादन गरिरहँदा अहिले अचम्मित हुन्छु, कसरी सोचिए होला सम्पादनको कुरा त्यतिबेला ।
‘पाकिस्तान हार्दा खाना बनाउँदैन पाकिस्तानी परिवार’ क्रिकेट प्रेमको उदाहरण पनि प्रस्तुत गर्दै थिए डेपुटी डाइरेक्टहरू ।
सुरज, सूर्य र गुलाबी क्षितिज हेर्छु म । तब विचारको भुमरी नाच्छ चक्रवात मच्चाएर, जीवन रङ्गिन लाग्दा नलाग्दै जीवनआकासबाट अस्ताउँदो रहेछ सूर्य जसरी सुन्दर दृश्यमा बट्टा लगाउँदै छ साँझले ।
बाँदरको चटक देखेर एकछिन दङदास परियो । जेन्टलमेन, प्रहरी, भान्से र नवविवाहित भुन्टे बनेर अनेक अभिनय गर्छ त्यो चटकी बाँदर । ‘चटक गर्नेहरू नै सफल छन् दुनियाँमा सर्वत्र’, सहयात्रीहरूको जोडदार ताली र उन्मुक्त हाँसोमा मिसिएँ म पनि ।
अर्को दिन सूर्योदय हुँदा होटल मर्गेलाको आँगनमा थियौँ हामी ।
केहीबेर निर्वाचन आयोग, पाकिस्तानमा बिताएपछि पुगियो नाद्रा । त्यसले तयार गरेको डाटावेशको आधारमा मुलुकका सम्पूर्ण निकायका लागि आवश्यक पर्ने सरकारी प्रमाणपत्र बन्दा रहेछन् । आयोगले सोही डाटाका आधारमा मतदाता नामावली बनाउँदो रहेछ । शैयद मुजफ्फर अली र उहाँका सहकर्मीले दिन्छन् अनेक जानकारी । इनक्लुसिप एरर अर्थात् दोहरिनु र एक्सक्लुसीप एरर अर्थात् छुट्नु जस्ता गल्ती हुन नदिन प्रयत्नरत रहेछ नाद्रा ।
नाद्राबाट निस्केर लाहोर लागियो ।
रहमान विदा भएर बाबर चढे हाम्रो गाडीमा । किनकिन हरसमय रहमानलाई नै खोजी रहेथेँ म ।
केहीबेरमै मोटरवे फेला प¥यो । एस्कर्टिङ गरिरहेको पुलिस साइड लाग्यो । ‘क्यामराको निगरानीमा छ अब बाटो’, बाबरले हाम्रो साउती बुझे ।
हरियो गहुँबारी, स–साना रुखविरुवा र इटाभट्टाहरू देखिए छेवैमा । सलल बगेको छ छलेनको सडक । पातला लाग्छन् सवारी साधनहरू पनि । शायद रेलजस्तै कुदाइले सम्भव भएको होला त्यो । स्पीड एकसय चालीस किलोमिटर प्रतिघण्टासम्म पुगिरहेछ ।
सुन्दर पहाडहरू आइरहे गइरहे ।
पातला, होचा र काँडेदार विरुवा भएको मरुभूमितुल्य चौरमा चरिरहेका भेडाका बथान देखिए । निर्जनताले आनन्द दिइरह्यो । त्यो एकलासमा आफूलाई उभ्याएर धेरैबेरसम्म म भेडागोठालो भइरहेँ । साह्रै आनन्द आयो । शायद अन्यत्र केही नसोची सुन्दर चौरमा चरिरहेका भेडा देखेर देवकोटाले भनेहोलान्, ‘भेडो हुन मन लाग्यो’ । तर मलाई भने हरियो फराकिलो चौरमा एकै ठाउँ चरिरहने भेडाको ठूलो बथानको भेडागोठालो हुन पो मन लागिरहेथ्यो ।
मनै सरस गराउँदै नहर पार भयो । घरि गहुँबारी, घरि निर्जन चौर, घरि कडा पहरो, घरि रातो माटोमा चिप्लिरहेँ म । दृश्य संयोजन गर्न कठिन भइरह्यो मलाई ।
‘यात्रा कस्तो भइरहेछ’ भुसाल म्यासेज रहेछ यो । मैले पनि केही उत्साहका हरफ फर्काइदिएँ । साटासाटबाट रमाइलो झन् बढ्दोरहेछ क्यारे ।
‘सिन्धु घाँटीको सभ्यता’ सम्झेर एउटा वाक्यांश म इतिहासतिर तानिन्छु । तब, ठूलो नदी र हरियो खेती पृष्ठभूमिमा राखेको भाग्यमानी सुन्दर बस्ती टुप्लुकिन्छ । त्यसलाई हेर्दै आनन्दको लामो सास फेर्छु । सोच्छु, इतिहासले कोरेका मसिना रेखामा मसी थपिरहेछ मान्छे ।
बन्जर ढिस्का र गुल्जार बस्ती लुकामारी गरिरहेछन् निरन्तर मसँग ।
पात झरेका वा पातै भए पनि छहारी दिन नसक्ने सिक्रेइला रुखविरुवाहरूसँग तुलना गर्छु आफैलाई । चोरी, लुटपाट र बेइमानीमा विश्वास गर्नेहरूसँग कहिल्यै साथ जोडिन मैले । लोकतन्त्र सुदृढ पार्न गरिने निर्वाचनमै धाँधली गर्न खोजेझैँ जिन्दगीका अनेक मोडमा हेराफेरि गर्न खोज्नेहरू पनि देखेको छु छ्यालब्याल । देखेँ भन्दा हमला हुने डरले कतै केही देखिन भन्नेहरू पनि छन् मेरै वरपर । मनमनै एक्लै हाँस्छु म तिनीहरूसँग ।
मिराज देखिन थाल्यो रोडमा जसरी जीवनका हरक्षणमा अनेक आशाले देखिन्छ रङ्गिन जीवनपथ । मिराज देखिने जीवनपथले डो¥याउँछ निरन्तर क्रियाशीलतातर्फ ।
प्यास नलागेको मृगलाई मिराजको के काम, म फेरि प्यासै प्यासले प्याकप्याकी हुन खोज्छु ।
एकसय पैँसठ्ठीको रफ्तारमा बतासियो मोटर । ठम्याउन गाह्रो हुनेगरी झिपझिप आइरहेछन् र गइरहेछन् दृश्यहरू । मोटरले हावासँग गाइरहेछ । म मनसँगै नाचिरहेछु । शायद यस्तै हुन्छ होला स्वर्गीय यात्रा ।
बाटाछेउका थुम्के पहाड हाम्रो गाडीको स्पीड देखेर टाढा भागेझैँ लाग्यो । अनि लाग्यो, साँघुरो सडकमा नअटाएकाहरू फैलिएर फाट्न खोजेझैँ ।
तोरी र गहुँबारीको सुन्दर संयोजन गर्दै थिएँ, बाबरले नजर अब्बासको म्यासेज उद्दृत गरे, ‘कलर कहारमा रोकिन्छौँ केहीबेर हामी’ ।
त्यो जानकारी पाइसक्दा आइपुग्यो कलर कहार टुप्लुकक ।
‘अमेरिकाको जस्तो रहेछ सडक; बीच–बीचमा बस्ती बसाउन नपाइने’, गुरुङ सरको प्रतिक्रिया थियो यो ।
कतै काट्दैन अर्को सडकले मूल सडकलाई बरु जोड्छ मात्र छेउछाउलाई ।
सडकमै जोडेर घर बनाउने अनि च्याँखे दाउसँगै थापेको धरापमा कुखुराको चल्लो परे सडक बन्द गर्ने प्रचलन सम्झेर भने विरक्त लागिरह्यो ।
कलर कहारको सुन्दर तालनेर टहल्न निस्कियौँ एकछिन ।
तालको रङ र आकासको रङ मिल्यो क्षितिजमा । त्यही नीलो शान्तिमा सुस्ताइरहेथेँ म, नर्कटको झाडीको शितलोमा रमाइरहेका चराहरूको चिरबिरले ब्युँझायो । असंख्य हाँस, तालमा तैरिरहेका डुङ्गा र सिंगारिएको उँटले त्यतै तान्न खोजे मलाई पनि ।
मरुभूमिमा भेटिएको चराहरूको सुन्दर भ्याली रहेछ कलर कहार, छेउकै होटलको छतमा बसेर निष्कर्ष निकालेँ मैले ।
त्यो प्राकृतिक किल्लाको दृश्यावलोकन गरियो मन फुकाएर । जहाँ क्षितिजमा टाँगिएका पहाडहरूको माला छ । जहाँ सरर गुड्नका लागि बनेका छन् खुला छाती भएका सडक । जहाँ नयाँ क्षितिज र आकास ताकेको जिज्ञासु मन छ । जहाँ मनमा क्लेश बाँकी नहुँदा चिन्तामुक्त छ जिन्दगी । र, छ केबल आनन्दै–आनन्द ।
‘बाबरी यतै कतै पर्छ ।’ कैयम अब्दुल बोले । मुगल सम्राट केही समय बसेको ढुङ्गो रहेछ बाबरी ।
‘बाबरी जहाँ भए पनि यहीँ छन् बाबर, काबुल नजिकै छ यिनको राज्य ।’ बाबरलाई देखाउँछन् नजर ।
‘होइन दुनियाँभर अहिले यिनैको राज्य छ ।’ बाबरले नजरलाई सोझ्याउँछन् ।
‘हो त नजर नभए सुन्दर दृश्यको के काम ।’ म पनि थपिन्छु साथीहरूबीचको ठट्टामा । यस्तै माहोलमा रमाउन चाहन्छु म, जहाँ हरपल मन मिल्ने साथीहरूको साथ होस् ।
खानपिन गरेर एकछिन सुस्ताएपछि फेरि बढ्यौँ अघि ।
सुन्दर पहाडी ऋङ्खलाको बीचबाट कुद्नथाल्यो बाटो । रातो माटोमा मिसिनथाले सफेद चट्टान । सुन्दर आकृति देखिए पहाडका । वर्षैपिच्छे बनाउँदा नयाँ छ बाटो । भित्तामा छोडिएको छ पुरानो बाटोको डोब जसरी सम्झना सङ्गाल्दै मनभित्र धमिलो आकृति कोरिरहेछु म । सिधेनूनको पहाड रहेछ त्यो ।
सकिने हो कि पग्लिएर नूनको पहाड, एउटा चिन्ता जन्मन्छ अचानक ।
फेरि चित्त बुझाउँछु– मान्छे सकिएको छैन बहाएर नुनीलो पानी । महले सिञ्चिएकाहरू पनि त सकिएकै छन् समानान्तर । अर्को तर्क पनि सँगसँगै उठ्छ– पग्लिएर अर्को ठाउँमा थुप्रिए के भो त ?
भर्खर छोडिएको पहाडलाई आफैले उतारेका क्यामराका पर्दामा हेर्न खोज्छु । त्यति सुन्दर लाग्दैन त्यो पर्दा । निराश मनले फेरि समात्छु कलम अनि गहुँबारी र सुन्तलाका बगानहरू छोडिएतिरै फर्किन्छु । लाग्छ, जगत नहेरी तङ्ग्रदैन जीवन ।
टमक्क चोली लगाएकी यौवनाका वक्षस्थल जस्ता भरिला खेतबारी आउन थाले । क्षितिजसम्म हरियाली देखिन थाल्यो । काम गरिरहेका मान्छेहरू देखिन थाले । खेतमा सुन्तलाका थुप्राहरू देखिन थाले । पानीका तलाउहरू आउँदै जाँदै गरिरहे र तिनका सरस छायाँ टल्किरहे टाढाटाढासम्म । देखेर र लेखेर नभ्याइने दृश्यसँग हुन्छ साक्षत्कार । म अवाक भई टोलाइरहन्छु एउटा मन्द उन्माद ।
यत्रो सम्पन्न फाँटमा गाईवस्तु किन दुब्ला ? शायद नुनिलो पानीले खारिएर होला । जसरी छियाछिया काटिएर गलेको छ सिधेनुनको पहाडको भित्तो । अलिकति उदासी छिरेर आँखाबाट बिझाउन थाल्यो मुटुभित्र ।
सहरिया छिँडीमा खुम्चिनुभन्दा यस्तै गाउँबस्तीमा उदात्त फैलनु सम्पन्नता हो । शान्तिसहितको उत्तरोत्तर पाक समृद्धिको कामना गर्दछु मैले ।
जति सडकको रफ्तार अघि बढ्छ उति लाहुरे काकाहरूको संस्मरणसम्म पुगेर फर्कन्छु म वर्तमानमा । म झन् रोमाञ्चित बन्छु, शायद आफ्नै आँखाले लाहोर देख्न जाँदैछु भनेर होला । निर्वाचनको मतपेटीकाको सीलजस्तो एउटा विश्वासको कडीले डो¥याइरहेको थियो मलाई लाहोरतर्फ ।
रातो डल्लो भएर थकित सूर्य हामी पछिल्तिर खस्दै थियो, मोटरवे पनि सकियो ।
केहीबेरमा झुल्कियो लाहोर । अलिबढी प्रदुषित, अलि व्यस्त, अलि अस्तव्यस्त । टाउकोमाथि मेट्रो बस गुडाए पनि बाटो रोकिन्छ ठाउँ ठाउँमा र हाम्रा लागि मात्र खुल्छ । अरुलाई रोकेर आफू कुद्नेलाई के थाहा सहरको व्यस्तता तथापि अनुमान गर्छु म । म लाहोरको अनुहार नियाल्न चाहन्छु, मेरो पुर्खाको पौरख र गौरव जसरी ।
म लाहुरे खोज्छु, मेरा लाहुरे काकाहरूका पदचिन्ह खोज्छु तर भेटिँदैनन् कतै । बरु एउटा गीत गुञ्जन्छ कतैबाट— लाहुरेको रेलिमाई फेसनै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको, ... ।
म गुन्गुनाउन थाल्छु, प्रदीप साथ दिन्छन्, तब बुझेझैँ गरी बाबर एउटा पञ्जावी उखान सुनाउँछन्— लाहोर नहीँ देखा तो पैदा होनेका अर्थ नही ।
पञ्जावको प्रान्तीय निर्वाचन आयोगमा हाम्रो भव्य स्वागत भयो । आयुक्त हुसेनलगायत कर्मचारीसँग भेटघाट भयो । हुसेन आफूले चिनेका नेपालीहरूलाई नामै सम्झेर सोध्छन् । लाहोरसँगको आत्मीय सम्बन्ध झन् प्रगाढ भएझैँ लाग्छ ।
दाता दरबारको सन्ध्याकालीन चहलपहल हेरियो । फूलमाला र दोसल्लाले सम्मानित भयौँ । कोही भुइँमै बसेर गरिरहेथे प्रार्थना । एघारौँ शताब्दीमा निर्मित यो दरबार एसियाकै ठूलो मस्जिद हो भन्दै थिए पाक सहयात्रीहरू ।
त्यसपछि फुड स्ट्रिटको हवेलीको छतमा चढ्यौँ हामी । खाना र गाना मात्र होइन, युवा, यौवन र जीवन देखियो त्यहाँ । हवेलीको कौशीमाथि मात्र होइन, कौशीमै उदाएको छ चाँद । रसिक छन् वरपर । संगीत गुञ्जिएको छ सबैको मनमनमा । रात पर्दोरहेनछ लाहोरमा । पारिवारिक जमघट हुँदोरहेछ त्यहीँ । लालको गलालाई गुरुङ सर र नजर अब्बासले चढाउनुभयो दस्तुरी । हामीले तालीले सम्मान ग¥यौँ, कलाकार र कलाको सम्मान गर्नेहरूलाई ।
सडक रोकेर फेरि निस्कियौँ हामी । व्यस्त छ र त विविधता छ ।
वेष्ट वेस्र्टन होटलमा रात बितायौँ हामीले त्यसदिन ।
मैले हेरेर नभ्याउने भएँ । आँखा चिम्लेर अनुभूत गर्न खोज्छु । त्यसलाई संगाल्न निर्वाचनको मतदान जस्तो उत्साह उचालेर म डटिरहन्छु ।
मिनारे पाकिस्तानको सेरोफेरो नियालियो । सन् १९६८ मार्च २३ मा मुस्लिम लिगको प्रस्ताव पारित भई स्वतन्त्र पाकिस्तान बनेको रे । त्यसकै सम्झनामा बनाइएको रे– मिनारे पाकिस्तान ।
मुगल बादशाहहरूको दरबारभित्र छिरियो । सुल्तान ‘लो’का नामबाट ‘लाहोर’ बनेको भन्दै थिए त्यहाँका कर्मचारी ।
बाबर, हुमायु, अकवर, जहाँगिर, औरङ्गजेव आदिका इतिहास सुनाउँछन् उनी । भन्छन्, अकबरले लाहोरलाई मुगल साम्राज्यको राजधानी बनाए ।
शाहजहाँले आफ्नी रानीको सम्झनामा बनाएको आग्राको ताजमहलको मोडेल त्यहाँ बनेको रे । देखाए अमर प्रेमीको नासोरुपी मोडेल एउटा फ्रेमभित्र ।
अकबरकी हिन्दू रानीको कोठा रे, कोठाको सिलिङमा देखिन्छ सूर्य चक्र ।
हुमायुले अफगानिस्तान समेत जोड्न जिटी रोड बनाउन शुरुवात गरेका रे ।
औरङ्जेबले बनाएको गेट, रञ्जितसिंहका घोडा र समाधि, सुन्दर स्त्रीका सुन्दर हातहरू, ऐतिहासिक हतियारहरू, निकै लामो बन्दुक, भवन पछाडिको खोचमा खसेको नदी, सुन्दर चौर, हरिया वृक्ष, चौडा आँगन, ऐतिहासिक संरचना सबै हेरियो, रहेन केही बाँकी ।
हेरियो, प्यारिस शैलीको सिसमहल । जहाँ एउटा मैनबत्तीको मसिनो उज्यालोले पनि कोठै चम्किन्छ भन्दै थिए पाक सहयात्रीहरू ।
नौलखा बंगलाका शताब्दीऔँ पहिलेका बुट्टा र रङ हेरेर मोहित हुन्छु म, जीवनको गाढा रङको उदाहरण मान्दै । फेरि फेरिन्छ मन— विगत भइसकेका जीवन, अरुले बङ्ग्याउने इतिहास र भित्ताका बुट्टा हेरेर के रमाउनु र खोई ?
अनि वर्तमान भागिरहेका एकाध प्रेमील जोडी हेरेर सन्तोष सुसेल्छु मैले ।
हामीलाई सबै कुरा बताउने नवासबाट विदा हुन लागियो । धन्यवादले मात्र पनि मुस्कुराए उनी ।
नजिकैको गुरुद्वारामा छिरियो फेरि हामी । हजारा हजुर जिवितै छन् भन्दै गुरुको समाधिस्थलदेखि पाठ गर्ने स्थलसम्म देखाए त्यहाँ ।
पाकिस्तानका राष्ट्रकवि मोहम्मद इकवालको समाधिस्थलमा पुगियो । राष्ट्रकविको समाधिस्थलनेर उभिएर मनमनै हर्षका भावना उरालेँ मैले, ‘लाहोर कविहरूको शहर हो भन्ने सुनेथेँ, साँच्चै रहेछ’ ।
त्यसपछि अर्को मस्जिदमा पुगियो । पाकिस्तानको दोस्रो ठूलो मस्जिद रे । इमामको प्रतिध्वनित गुञ्जन सुनियो– ‘वेलकम टु पाकिस्तान’ ।
दशवर्ष लगाएर हातले लेखेको धार्मिक पुस्तक । शायद यस्तै ऐतिहासिक वस्तु हेरेर आफ्नो गरिबी भुलिरहेका छन् मान्छेहरू । धन र धनीहरूबीचको सीमित घेरामा बाँधिने धनाढ्यहरूभन्दा निर्धक्क जहाँसुकै लडिबुडी खेल्नसक्ने गरिब नै महान लाग्छ मलाई ।
प्रसङ्गवश गुरुङ सरले पाकिस्तान भ्रमणको संस्मरणको अपेक्षा राख्नुभयो मसँग । यस्ता अपेक्षा सुन्दर जीवन यात्रा जस्तै लाग्छन् मलाई । मेरो विश्वास छ, असल शुभेक्षाले नै जीवन यात्रालाई गोरेटो पहिल्याउने प्रेरणा दिन्छन् । ढुङ्गे रत्नको खोजीमा लागेको दुनियाँमाझ दृष्टि रत्नको महत्व बताउँछन् ।
जब फर्किन लागियो लाहोरबाट तब, गाउन थालियो साथीहरू मिलेर– ‘लाहुरे आज घर फक्र्यो हाँसी हाँसी रमाई ... ’
गीतका शब्द र संगीत मन मुटुमा घोलिँदा आफ्नो घर आँगनप्रतिको माया झन् प्रगाढ भएर आयो । ‘दूर लाहुरबाट ... लामो याद बोकेर ... घर फर्कने लाहुरेझैँ ...’ भूपिको असार कविताका शब्दहरू स्मरण गर्दै आफन्तजनसँगको मिलनको रोमाञ्चित कल्पनामा डुब्दै आफैसित बोलेँ– हातमा रातो रुमाल र कम्मरमा खुकुरी नभए पनि लाहुरे भएर फर्केको छु म ।
फर्कँदा नुनको पहाडी ऋङ्खलानेर आइपुग्दा बाबर डाउनलोड गर्दै गीत बजाउँछन्– उचेँ उचेँ पर्वत जब चुमते है प्यारको ... ।
लाहोरबाट इस्लामावाद फर्कँदाको भोलिपल्ट लोक विर्सा म्युजियममा पुगियो । म्युजियममा गएर हेरियो धेरै चिज । त्यहाँका सबै चिजको सार यही थियो, सभ्यता, संस्कार, संस्कृतिको संरक्षण गरेर मात्र उन्नति–पथतर्फ बढ्न सक्छ मुलुक ।
म्युजियम अगाडिको पाकिस्तानको राष्ट्रिय प्रतीकात्मक संरचना ‘चाँद–तारा’ रहेको थुम्कोबाट हेरियो इस्लामावादको सेरोफेरो ।
इस्लामावाद बसाइँका क्रममा पुगियो नेपाली राजदूताबास ।
दूतावास अगाडिको नेपाली राष्ट्रिय झण्डा देख्दा लाग्थ्यो दौडँदै गएर झन् उँचो बनाई फहराऊँ त्यसलाई । दुईचार दिन परदेशमा भएर के भयो त पसिना पोख्ने मेरो आफ्नै उर्बर मुलुक छ भन्ने गर्वले ठडियो शिर । तब मलाई लाग्यो, मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधिनता नागरिकको आफ्नो अस्तित्वभन्दा पनि ठूला कुरा हुन् ।
नेपाली राजदूताबासमा राखिएको निर्वाचनसम्बन्धी छलफल कार्यक्रममा राजदूत भरतराज पौडेलका साथै गैरआवासीय नेपालीहरू क्रमशः कृष्णदेव जोशी, वसन्त जोशी, डा. कुशल विम्व, प्रिया विम्व, यशोदा गौचन, अञ्जु जोशी, जेनी जोशी, डि.बी कट्टेललगायतको उपस्थिति रहेको थियो । गैरआवासीय नेपाली भए पनि नेपालप्रतिको मायामा कमी थिएन् उनीहरूको ।
हामीले देखेका धेरै चिजमा समीक्षात्मक प्रकाश पारिदिनुभो राजदूतले । राजदूतसँग औपचारिक भेटघाट भइरहँदा आपसमा कानेखुसी गर्न खोज्ने साथीलाई भने राम्ररी नै हपार्नुभयो गुरुङ सरले । सामान्य शिष्टाचारसमेत बिर्सेर बढी जान्ने हुन खोज्नेलाई राम्रै शिक्षा भयो होला शायद, मैले अनुमान लगाएँ मनमनै ।
अर्को दिन एकाबिहानै ठूलो पानी परेर भिजेको देखियो नजिकैको गल्फ चौर । भिजेको छ बाटो । सुनसान छ सडक । पाकिस्तानका विभिन्न शहरमा घटेका आतंकका घटनाहरूले चिसो पसेको छ मनमा । मनको घाउ दुख्नाले झन् दुखेको छ शरीरको घाउ । बाहिरी घाउभन्दा अन्तरहृदयको घाउ बढी दुख्छ भन्नेहरूलाई बेस्सरी जवाफ दिँदैछ मेरो खुट्टाको घाउले । तर पीडा मैले भागिरहेछु, अरुले कसरी बुझ्लान् पीडाबेगरको घाउको चोट ?
रुझेका पहाडहरूले पनि परेलीमा आँसु टप्काएर हेरेझँ लाग्छ । गाडीले उछिट्याएको पानी पनि मेरै विरहमा छचल्किएको भेलझैँ लाग्छ ।
नइम छन् अगाडि । कम बोले पनि मुस्कान र आत्मीयताको भाषा बोल्छन् उनी । उनको हँसिलो अनुहार बोल्छ निरन्तर । मैले अनुमान गरेँ, हृदय छुन मौन सम्वाद आवश्यक छ प्रियजनहरूबीच ।
एकदिन बेलुका एउटा खुला चौरमा क्याम्प फायरसहित भव्य भोजको आयोजना गरेका थिए पाकिस्तानी अधिकारीहरूले । मासुलगायत अनेक व्यञ्जनका स्वादमा हराएका थियौँ हामी । मायाको चिनोसमेत साटासाट भएको थियो । प्रदीप र मैले शैयद रहमानलाई केही नेपाली खुद्रा नोटहरू गिफ्ट दियौँ । रातो सुइटर लगाएर झन् रातोपिरो देखिएका रहमानले हामीलाई दिए पाकिस्तानी खेलौना ट्रक ।
मनले भने मसँग जिज्ञासा राख्दै थियो, आत्मीयताको सञ्जालमा जोडिएछि उपहार किन चाहियो ?
नेपाल फर्कने दिन बिहानैदेखि जोडतोडले पानी परिरहेथ्यो । मनैदेखि चिसो अनुभूत भइरहेथ्यो । शायद चिनजान र निकट भएका पाकिस्तानीहरूसँग विछोड हुनलाग्दाको नरमाइलो थियो त्यो ।
अस्लाम् बालेकुम ! बालेकुम अस्लाम ! नइम र रहमान आइपुगेका रहेछन् बिहानै ।
रहमानले आज पनि रातो स्वीटर लगाएका थिए । बल्ल खुलाए, त्यो स्वीटर उनकी बहिनीले नेपालबाट ल्याइदिएकी रहिछन् । हामी नेपालीप्रति माया दर्शाउन उनले त्यो स्वीटर लगाएर आएका रहेछन् ।
एअरपोर्ट पुग्न गाडी चढ्यौँ । बाटोभर झन् चर्को पानी दर्कियो ।
हामीलाई विदाइ गर्न एअरपोर्टमा पहिल्यै पुग्नुभएको रहेछ राजदूत भरतराज पौडेल र उहाँका सहकर्मी ठाकुरजी पनि ।
सरसामान चेकिङ, बोर्डिङ पासलगायतका काममा सघाउनुहुन्छ रहमान, नइम र अन्य पाक साथीहरू । विदाइमा उपस्थित हुनुभएका सबैलाई हात हल्लाउँदै प्लेनतर्फ बढ्छौँ हामी ।
आकास झन् कालो भयो तर रोकिएन प्लेन । प्लेन कुहिरोमाथि उचालियो । केहीबेरमा नीलो आकास देखियो । विजयको एउटा गर्विलो उन्माद सुसेल्न मन लाग्यो– एकसाता बिती गए पनि सम्झनाका अनेक पत्रमा अङ्कित पाएर त्यसलाई ।
देखिए अनगिन्ति हिमशिखरहरू । देखियो हिमशिखरहरूबीचमा फैलिएको विशाल हिम–संसार । र देखिए, हिउँको टोपी लगाएका खैरा पहाडहरू पनि ।
केहीबेरपछि तल देखिँदै थियो विशाल अरब सागर र त्यसको छेउछाउको मरुभूमि । सागरमा तैरिएका जहाजहरू पनि देखियो । संसारका सप्पै वस्तु आफैले भोगेर साध्य हुँदैन, भोग्न नपाएकासँग कल्पना गरेर रमाउनुपर्छ, जल–संसारको सरसता कल्पँदै तिनै जहाजहरूसँग बोलरहेथेँ म ।
तल र माथि दुईवटा आकास छन् । ती आकास छुट्याउनेगरी क्षितिजमा एकधर्सो बादल टाँगिएको छ । दूर क्षितिजको बादललाई सोझै चिर्नेगरी गन्तब्य बनाएर हामी उडिरहेछौँ । जीवनका हरेक गन्तब्य यसरी नै स्पष्ट भइदिए, एउटा अपेक्षा अङ्कुरण हुन खोज्दछ सुख्खा मनको खडेरीमाझ पनि । तर, विवश छु अपेक्षाका अनगिन्ति तन्तुजालमा जेलिएर निर्वाहमा जिन्दगानी बिताउन ।
गहिरो पानीमा उत्रिएको नीलो आकासमा खोजिरहेथेँ दुनियाँका केही अवशेषहरू । त्यहाँ केही नदेखेपछि मौनतामा डुब्दै खोजिरहेँ शून्यमा अरु नै केही । त्यहाँ आफूलाई बडो आनन्दमा पौडिरहेको भेटेँ आखिर ।
समुद्रको चौडाइलाई छेकेर मरुभूमि र समुद्रका बीचमा उठाइएका मानव संरचनाहरू देखिए फेरि । हाम्रो जहाज समुद्रमै खस्ला जसरी कोल्टियो । दोहाको एअरपोर्टमा उत्रियौँ हामी फेरि ।
सम्बत् दुई हजार एकहत्तर साल चैत्र तीन गतेका दिन अब केही घण्टामा काठमाडौँ पुगिन्छ भन्ने विश्वासका साथ लामो निश्वास लिन्छु र प्लेनका आरामदायी सिटमा निदाएर छातीका घाउहरूमा मासु भर्न खोज्दछु म । आनन्दी मनमा स्पन्दित हुन्छ त्यही मिठो गीत–
‘लाहुरे आज घर फक्र्यो हाँसी हाँसी रमाई ...’

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 6 जेठ, 2073

लेखकका अन्य रचनाहरु