उसो त मलाई

- डिल्लीप्रसाद अधिकारी

उसो त मलाई पनि अचेल
रम्य रचना रच्न मनपर्छ
मलाई तिमी मन परेजस्तै
तिमीलाई अाफू मनपर्ने
उत्कट इच्छा, जो मनपर्छ।

उसो त मलाई
नपिउँदा नै पनि
कल्पना शब्दमय बन्न सकेकै छ
पिर पो धेर पार्नु हुँदैन त
मलाई कहिले कहिले
उत्कण्ठा र अाकाङ्क्षाहरूसित
हाँस्न पनि मनपर्छ।

उसो त मलाई कथाहरू कथ्न
तिम्रा गाजलु अाँखाहरू नै पर्याप्त छन्
तिमीले अाफुलाई अर्कैतिर मोडेपछि
मलाई पनि अलिकति पिरोलिन कर पर्छ
रिसाएकी तिमी पनि मलाई
मन नपरेको होइन
तर तिमी नरिसाएकै
मलाई धेर मनपर्छ ।

उसो त मलाई
शंकालु नजरहरूमा
कविताका थुप्रै पङ्तिहरू भएको लाग्छ
मेरो मन ढुङ्गाको नभएकोले होला
अचेल स-साना कुरामा पनि रूनु पर्छ
उसो त मसँग अाँसु पनि नभएको होइन
तर तिमी र म मात्र रमाएका क्षणहरूमा
तिमीलाई माया गर्दै गर्दै
मलाई मायामा डुब्न मनपर्छ
उसो त मलाई हाँस्न नै धेर मनपर्छ ।।।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 6 जेठ, 2073

लेखकका अन्य रचनाहरु