छविलाल उपाध्यायको काव्ययोगदानको मूल्याङ्कन

- रञ्जिता देवी

विषयप्रवेश
असमेली नेपाली साहित्यजगत्‍का देदीप्यमान नक्षत्र, चुडान्त शिखर पुरूष, उच्चकोटिका कवि, कुशल छन्द प्रयोगकर्ता तथा उत्कृष्ट अनुवादक साहित्यकार छविलाल उपाध्याय (सन् १९३६)ले विधागत विविधतामा आफ्नो सिर्जनालाई डोऱ्याए पनि उनको शिखर चुमाइकौ क्षेत्र भने छन्दबध्द कविता नै हुन्। देवकोटा (सन् २००२), लौहित्य (सन् २०१४) महाकाव्य र पवनदूत (सन् १९९०), अस्तित्वबोध (सन् १९९१), कामरुपा (सन् १९९५) खण्डकाव्यका रचियता छविलाल उपाध्याय एक प्रखर प्रतिभासम्पन्न कवि हुन्। महाकाव्य र खण्डकाव्यका रचनाबाट अलग्गिएर हेर्दा छविलाल उपाध्याय फुटकर कविताका क्षेत्रमा पनि अविस्मरणीय प्रतिभाका रूपमा चिनिन्छन्। असमेली नेपाली साहित्यका क्षेत्रमा छविलालले दिलाए जति योगदान अरूले विरलै दिलाएको पाइन्छ। यस्ता प्रतिभावान व्यक्तिका खास योगदान के हुन्, उनले असम क्षेत्रमा नेपाली साहित्यका काव्यक्षेत्रमा के कति साधना गर्नु पऱ्यो, आदि प्रश्नहरूको सेरोफेरोमा घोत्लिँदा केही समाघानका स्वादिला प्रसङ्गहरू हाम्रा सामु पदार्पण गर्दछन्। यस लेखमा छविलाल उपाघ्यायका काव्ययोगदानको मूल्याङ्कन ऐतिहासिक, गुणात्मक, परिमाणात्मक, र प्रकारगतजस्ता कसीमा घोटेर निकाल्ने प्रयास गरिएको छ।
ऐतिहासिक काव्य योगदान
कुनै पनि वस्तु तथा पदार्थले त्यस समयभन्दा अगाडि अस्तित्वमा आउन सफल भयो भने त्यसको ऐतिहासिक महत्त्व रहने गर्दछ। कवि छविलाल उपाघ्यायको आगमनभन्दा अगाडि असमेली नेपाली काव्य साहित्यमा महाकाव्यको रचना भएको थिएन। असममा नेपाली काव्य सङ्ख्यात्मक रूपमा नगन्य रहेको तथा महाकाव्यको रचना समेत नभएको अवस्थामा सन् २००२ मा छविलालको देवकोटा जस्तो महाकाव्य आउनाले ऐतिहासिक महत्त्व राख्दछ। यसकारण छविलालको ऐतिहासिक योगदान देवकोटा जस्तो महाकाव्य लेखिनुमा रहेको छ। नेपाली साहित्य क्षेत्रका एक सिद्धहस्त पुरुष महाकवि लक्ष्मीप्रसाद देवकोटालाई विषयवस्तु बनाई छन्दोबध्दरूपमा जुन ढङ्गले प्रस्तुत गरे त्यो अविस्मरणीय देखिन्छ। असमेली नेपाली साहित्यमा नेपाली महाकाव्य लेखने युगीनपरम्पराको सुरुवात गर्ने अवसर छविलाललाई मिल्यो। (छेत्री,२००८, ३१-३६) फलत: उनको ऐतिहासिक योगदानले मूल्य प्राप्त गऱ्यो।

गुणात्मक काव्य योगदान
साहित्यसिर्जना जो कोहिले गर्ने चिज होइन ती माथि छन्दोबध्द काव्य सिर्जना सरस्वतीको कृपा प्राप्त भएको तथा प्रतिभावान व्यक्तिले मात्र गर्दछन्। असममा वसोवास गरेका छविलालले नेपाली कविता लेख्नु एउटा जटिल कार्य हो तर छविलालले कविता लेख्ने साहस मात्र गरेनन् काव्यको फुटकर रूप कविता देखि बृहत् रूप महाकाव्यसम्मको रचना गरे। असममा वसोवास गर्ने नेपालीहरूको दु:ख पीडालाई कवितात्मक रूपमा शाश्त्रीय छन्दहरूको प्रयोग गरेर उनीहरूको करुण व्यथालाई प्रस्तुत गर्न सफल भएका छविलाल उपाध्यायको गुणात्मक योगदान स्वत:पुष्टि हुन्छ।

छविलाल उपाध्यायले नेपाली साहित्यजगतका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन चरित्रलाई कवितात्मक रूप दिएर महाकविलाई नै महाकाव्य बनाउने प्रयास गरेका छन्। यसको साथै इतिहास जस्तो विषयलाई पनि कामरुपा खण्डकाव्यमा छन्दोबध्द रूपमा प्रस्तुत गरेको छन् जुन छविलाल उपाध्ययको गुणात्मक रूपमा प्रशङ्सनीय छ।
असममा नेपाली छन्दोबध्दकाव्यि सिर्जनामा छविलालका सफल तथा उच्च काव्यहरूको जति महत्त्व छ त्यति पश्चवर्ती असमेली कविहरूका काव्यले उच्चता पाउन सकेका छैनन्। असमेली नेपाली साहित्यमा छविलालका काव्यहरूको गुणात्मक मूल्यलाई अरू असमेली साहित्यकारहरूले भेट्टाउन सकेका छैनन्। यसर्थ छविलालको गुणात्मक मूल्य सहजै निर्धारण गर्न सकिन्छ।
परिमाणात्मक काव्य योगदान
छविलालले ऐतिहासिक महत्वका मूल्यवान काव्य मात्र लेखेनन् बरु सङख्यात्मक दृष्टिले पनि घरै काव्यहरूको सिर्जणा गरी परिमाणात्मक योगदान दिएका छन्, त्यसमा बढीमात्रामा फुटकर कविताहरूको रचना गरेका छन्। सन् १९७५ मा 'मानवताको संसार' शीर्षकको कविताका साथ कविता लेख्न प्रारम्भ गरेको देखिन्छ र वर्तमानसम्म यो दौर चली रहेको छ। (देवी,२०१५:१९)
छविलाल उपाध्यायले आफ्नो चार दशक लामो काव्य यात्रामा आठओटा काव्य प्रकाशित गरेका छन्। उनका हालसम्म दुईओटा महाकाव्य देवकोटा (सन् २००२) र लौहित्य (सन् २०१४), तीनओटा खण्डकाव्य पवनदुत (सन्१९९०), अस्तित्वबोध (सन्१९९१) र कामरुपा (सन् १९९५), तीनओटा कवितासङ्ग्रह छवि कविता सङ्ग्रह (सन्२००२), कवि र कविता (सन्२००८) र कल्पनामाधूरी (सन्२०११) प्रकाशित छन्। छवि कविता सङ्ग्रहमा जम्मा ४६ फुटकर कविताहरू छन्, कवि र कविता कवितासङ्ग्रहमा ५१ फुटकर कविता र कल्पनामाधूरी कविता सङ्ग्रहमा ४९ फुटकर कविता समाविष्ट रहेका छन्। छविलाल उपाध्ययको प्रत्येक काव्यकृतिको महत्त्व छ तथा उनका काव्यहरू परिमाणात्मक रूपमा धेरै देखिन्छन्। (देवी,२०१५:१)
प्रकारगत काव्य योगदान
कवि छविलाल उपाध्यायको ऐतिहासिक, गुणात्मक र परिमाणात्मक योगदानको चर्चापछि उनको प्रकारगत योगदानलाई पनि केलाउन सकिन्छ। छविलाल मात्र यस्ता कवि प्रतिभा हुन् जसले विभिन्न प्रकार र आयामका कविताहरू प्रकाशन गरेर असमेली काव्यलाई योगदान दिएका छन्।
प्रकारका आधारमा छविलालका काव्यहरूमा फुटकर कविता देखि लिएर महाकाव्यसम्मको विस्तृतिपूर्ण यात्राका वाहक संवाहक बन्न पुगेका काव्यरूप फेला पर्दछन्। ती यस प्रकार छन:
1. नेपाली महाकाव्य: देवकोटा र लौहित्य
2. खण्डकाव्य: पवनदुत, अस्तित्वबोध र कामरुपा
3. कविता सङ्ग्रह: छवि कविता सङ्ग्रह, कवि र कविता र कल्पनामाधुरी
छविलालका काव्यहरू कुनै इतिहासको सत्य बोकेका छन भने कुनै नारिको पिडामा पिडित बनेका छन्। उनका कविताहरूमा जनमानिसको पिडा र उनीहरूले बेहोर्नु परेको कष्टपूर्ण वर्णन गरेका छन्। यसरि प्रकारगत विविधता छविलालका काव्यमा पाइन्छ।
निष्कर्षमा कवि छविलाल उपाधध्यायको असमेली नेपाली क्षेत्रमा योगदान ऐतिहासिक, गुणात्मक, परिमाणात्मक र प्रकारगत रूपमा केलाउदा अत्यन्त महत्त्वपूर्ण योगदान रहेको छ भन्न कुरा पुष्टि हुन्छ।
सन्दर्भग्रन्थ सूची
उपाध्याय,छविलाल(सन्२०१४), सम्झनाका लहरहरू, शोणितपूर: एच.एम. अफसेट प्रिन्टर्स,
देवी,रञ्जिता,(वि.स.२०७२)"छविलाल उपाध्यायको कोव्यकारिता", अप्रकाशित शोधपत्र, त्रिभूवन विश्वविद्यालय,वि.. ।
छेत्री,ज्ञानबहादुर, "छविवलाल उपाध्याय र उनका कृतिहरूको सङ्श्क्षिप्त परिचय", हाम्रोध्वनि, (वर्ष४०,२०६५ मङ्सिर),पृ ३१-३६

ओरां,असम, भारत

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 30 बैशाख, 2073

लेखकका अन्य रचनाहरु