अनुहार

- अर्जुन यावा

बिहानै डाँड़ागाउँ निस्केँ। गुडबुक्स् पुगेँ। दुई-तीनजनाले समाचार-पत्रहरू हेरिरहेका थिए। भीमदाजु समाचार-पत्रहरू मिलाइरहनु भएको थियो। बिहान प्रायः भीमदाजुलाई व्यस्त नै पाइन्छ। चासो दिएर बिहानै त्यत्ति पत्र-पत्रिका हेर्ने गरेको छुइन। तरै पनि यहाँ आइपुगेपछि एकपल्ट कुनै-कुनै पत्रिका हेरिहाल्छु। आफ्नै पत्रिका कस्तो आएछ? चासोको पहिलो विषय हुन्छ। अहिले पनि त्यस्तै भयो। अनि टेबलमा मिलाएर राखिएका समाचार-पत्रहरूबाट निकालेँ ‘समय दैनिक’।
अरुहरूले हेरिरहेका थिए, लिड न्यूज के छ? सेकेण्ड लिडमा के छ? सत्तारुढ़पक्षले के भनिरहेका छन्? विपक्षकाहरूले के भन्दैछन्? राज्यमा नयाँ घटना के हुँदैछ? यस्तै-यस्तै। मैले पनि त्यसै गरेँ। हामीले बिहानै समाचार पत्रिकामा हेर्नुपर्ने भनेको पहिलो पाता नै हो। पहिलो पाता अर्थात स्थानीय गतिविधि। आफू स्वयं पत्रकारिता पेशामा भएकाले होला ती समाचारहरूले मलाई त्यति ध्यानाकर्षण गर्दैन। ‘हेडलाइन’-हरू सर्सर्ति हेरेपछि भित्री पृष्ठका राष्ट्रिय समाचारहरूमा मेरा आँखा पुग्छन्।
भ्रष्टाचारको विरोधमा भोक हड़ताल, देशमा भ्रष्टाचार रोकिनुपर्छ -अन्ना हजारे, केजरीवालले दिल्लीलाई भ्रष्टाचारमुक्त गर्ने, गैरकानूनी ढङ्गमा विदेशमा निवेश गर्न नपाइने, विदेशी ब्याङ्कहरूमा पुँजी राख्नु अवैध, विदेशी ब्याङ्कहरूमा पुँजी राख्नेहरूको सूची जारी...। प्रायः समाचार पत्रहरूमा दोहोरिरहने राष्ट्रिय समाचारहरूका हेडलाइनहरू नै रहेछन् आज पनि।
“ए...! ‘यावा’ पनि रहेछ। कतिबेला...?’’
प्रश्‍न मेरैलागि थियो। टाउको फर्काएँ दाहिनेतिर। ‘रावत’ दाजु हुनुहुन्थ्यो। प्रतिउत्तरमा ‘भर्खर-भर्खरै। तपाईं नि..?’ सोधेँ।
“इ..., जस्ट पेपर टिप्दैछु।’’ भन्नुभयो। ‘हिमाली बेला’ रहेछ उहाँको हातमा। हिमाली बेला अथवा रावत दाजुले भन्नुभएको ‘पेपर’। दैनिक नेपाली समाचार पत्र।
“के छ हौ नयाँ-नौलो?’’ सोध्नुभयो मलाई। आँखा तर मतिर होइन, समाचार-पत्रमै थियो यतिबेला।
‘छैन हौ त्यस्तो केहि...।’’ हेरेर उत्तर दिएँ उहाँलाई।
मेरो हातमा भएको समय दैनिक अघि टिपेकै ठाउँमा मिलाएर राखिदिएँ। सबैले टिपेर हेर्दै नमिलाई फ्यात्त फ्याँकिदिएर जाँदा भीम दाजुलाई कहिलेकाहिँ त रिस उठ्दो हो! सम्झन्छु। त्यसैले जहिल्यै पनि समाचार पत्रहरू हेरेको समय मिलाएरै राखिदिन्छु, जस्ताको जस्तै। पत्रिका राखिदिएँ अनि रावत दाजुतिर हेर्दै भनेँ, “गएँ है दाजु।’’
रावत दाजुले दुईहातले दुई छेउ समाएर हेर्दै गरेको समाचार-पत्रका दुवै पाता देब्रे हातमा अड्याउँदै दाहिने हात मतिर बड़ाउनुभयो। त्यसपछि “ल..’’ भन्दै फेरि प्रश्‍न गर्नुभयो “कता? घरतिरै कि?’’
“हजूर।’’ भनेर म आफ्नो बाटो लागेँ।
---
रेडियो स्टेशन पुग्नु थियो। त्यसैर फेरि डाँड़ा गाउँ पुग्नैपर्ने। पुगेर ट्याक्सी पर्खिरहेको थिएँ। सोमबार प्रायः ट्राफिक जाम हुनेगर्छ। अझ महिनाको पहिलो साता सोचेको समयमा पुग्नुपर्ने ठाउँ पुग्नु गाह्रो पर्छ। यो नयाँ कुरा होइन। गान्तोकको यो समस्यासित कोही अनभिज्ञ छैनन्। समाधान तर कहिले हुनसकेको छैन। सायद हुँदैन पनि। किनभने समाधानको लागि विकल्प पनि त चाहियो। यसको फाइदा उठाउनेहरू तर खुशी हुन्छन् ट्राफिक जामसित। ट्राफिक जाम नहुँदा नै पनि ‘सर जाममा परेको छु, अलिक ढिलो हुन्छहोला...।’ भनिरहेका हुन्छन्। तर अहिले म साँच्चै ट्राफिक जामको चपेटमा छु। वाहनहरू घस्रिरहेका छन् सडकमा। म सडक छेउ उभिएको छु ट्याक्सी पर्खेर। सबै प्याक।
झण्डै 15 मिनटपछि एउटा प्राइवेट कार मेरो छेउमै रोकियो। झट्ट ध्यान गइहालेन त्यसमा। ‘टिट्..टिट्...’ हर्न बज्यो। ‘आफूलाई अबेर हुनलागेको बेला...’ मनमनै सोच्दै झर्को माने झैं हेरेँ। ‘आइ-20’ थियो मेरो अघि रोकिएको। “बजारतिर हो?’’ प्रश्‍न र हातको इशारा एकैसाथ मेरै निम्ति थियो। “जाउँ’’ भनेर अघिल्लोपटिको दैलो खोलिदियो उसले। ‘उ’ अथवा ‘विवेक’।
विवेक उही थियो, जोसित म सँगै कलेज पढ़ेको थिएँ। कलेजको पहिलो भेटमै हाम्रो मित्रता भएको थियो। गाउँको स्कूल पढ़ेर आएका एक सोझा ठिटो थिए उनी त्यस समय। म जस्तै एक गरीब बाबुका छोरा। कलेसम्मको पढ़ाइपछि कहाँ हराएको थियो, थाहा भएन। वर्षौंपछिको भेटमा पनि चिनिहालेछ मलाई। र त रोकिदिए गाड़ी मेरै निम्ति। चढ़ेँ। साँच्चै हो, ‘आइ20’-मै चाहिँ पहिलोपल्ट चड़िरहेको थिएँ।
---
“साथी के छ हौ खबर?’’ उसको प्रश्‍न थियो गाडीमा चढिसकेपछि।
“सबै ठिकठाकै छ।’’ सिधा जवाब दिएँ।
“कविता लेखिँदैछ?’’ मतिर फर्किँदै सोध्यो। ‘थुक्क लोदर।’ मैले केही भन्न नभ्याई ‘ट्राफिक जाम’-सित झोक्किँदै थियो उ।
“बेला-बेला लेख्दैछु नि’’ भनेँ। फेरि सोधेँ मैले “के गर्दैछौ नि कामकुरो?’’ अनि मनमनै सोचेँ “आइ20 त्यसै त कुदाइरहेका पक्कै होइनन्।’’
‘टिट्...टिट्...।’ जाम खोलिएछ, पछाडिको गाडीलाई हतार लाग्यो। “सबैलाई हतारै छ त हौ...। दुई सेकेण्ड ढिलो गर्नु हुँदैन, हर्न बजाउनै पर्ने...।’’ गनगनिदै बढायो गाडी उसले। “ए...! के पो सोद्धै थियौ?’’ सोध्यो उल्टै मलाई।
प्रश्‍न दोहोर्‍याइदिएँ, “अहिले के गर्दैछौ?’’
“ए... अँ...’’ भनेर “केही छैन हौ।’’ भन्यो अनि त्यही प्रश्‍न मलाई फर्कायो।
“म त पत्रकारितामा छु।’’ सिधा जवाब थियो मेरो।
“विवाह गर्‍यौ त नि...़?’’ मलाई सध्यो।
“निकै भइसक्यो नि।’’ भनेँ मैले।
“मैले लास्ट इयर जयलाई भेटेको थिएँ। उसैले भनेको। नानी छ?’’
“एउटी छोरी छे।’’ फेरि भनें।
“कति वर्षकी?’’ सोध्छहोला सम्झेको थिएँ, “साँची जय त टिचिङ गर्दैथियो एडहकमा। गर्दैछ?’’ सोध्यो।
“छोडेर पुरानै विजनेस गर्दैछ।’’ उसको जवाब दिएँ। “तिमी पनि तेसै त बसेको छैनौ नि...!’’ फेरि जान्न खोजेँ।
“के भन्नु यार! गर्दैछु। कन्सोलिडेटेडमा छु नि।’’ थोरै निरुत्साह पढेँ यतिबेला उसको मुहारमा। फेरि सोचेँ, ‘कन्सोलिडेटेड’..., अनि ड्युटी जानु आइ20-मा चढेर।
“ठिकै छ। अनि... बिवाह गर्‍यौ?’’ प्रश्‍न गर्दै नजानिँदो उसको शीर-पाउ दगुराएँ दुई नयन अनि आफैलाई खुट्टादेखि घाँटीसम्म निर्क्योलेँ। फेरि हेरेँ स्ट्रिङअगाडी राखेको उसको ‘सामसुङ गेलेक्सी ग्राण्ड-2’ र ‘एप्पल आइ फोन-6’। मोबाइलको हिसाब लगाएँ, लगभग पैंसठ-सत्तरी हजार।
“गरेँ नि। क्या त मैले प्रपोज गर्दा भागिहिँड्थी नि...!’’ मैले बिर्सिएछु। सम्झने प्रयास गर्दैथिएँ, उसैले भन्यो “सुनिताले फाइनल इयरमा त एक्सेप्ट गर्‍यो नि।’’ यतिबेला थोरै खुशी दौडिएको प्रष्टै देखिन्थ्यो उसको मुहारमा।
“नानीहरू?’’ छोटो प्रश्‍न थियो मेरो।
“छोरा र छोरी एक-एकजना।’’
“कम्प्लिट फ्यामिली रहेछ।’’ मेरो यो वाक्यले उ खिसिक्क हास्यो। सायद खुशीमा।
---
“मलाई यतै रोकिदेउ है’’ आइडीबीआइअघि पुग्दा हङ्ग्रीज्याकतिर देखाउँदै भने।
‘हङ्ग्री ज्याक’ भनेर होटललाई भन्दा धेरै ट्याक्सी स्टपेज भन्ने बुझिन्छ। अझै धेरैले ‘पेट्रोल पम्प’ भनिदिन्छन्। त्यहाँबाट ‘पम्प’ हटाइएको धेरै भइसकेको छ। तर यो ठाउँको नामै भइसकेको छ ‘पेट्रोल पम्प’। हामी पुग्यौं। म ओर्लिएँ।
“सी यू अगेन ब्र...।’’ भनेर उ अघि बढ्यो। म टाइटनिकतिर लागेँ। साथीहरू हेरेँ। कोही थिएनन्। रेडियोमा रेकर्डिङ पनि अझै आधी घण्टापछि मात्रै थियो। “आ जाँदैगर्छु...’’ सम्झें अनि हिँडे। एसबीआइको अगाडी हुँदै रुची क्लिनिकको छेउबाट एसटीएनएम निस्किएँ। कसैसित केही बोल्नु थिएन। एसटीएनएमअगाडि राखिएका वाहनहरूले बाटोसम्म छोडेको हुँदैन कहिलेकाहिँ। आज पनि त्यस्तै रहेछ। मनमनै गनगनाउँदै इमरजेन्सी वार्डअगाडिबाट छिरेँ। “बेस्सी नै सर्टकट खोज्नेहरूको लाइफ पनि सर्टकट नै हुन्छ’’ भनेको सुनेको थिएँ, कति सत्य हो? थाह छैन। मैले तर सर्टकट नै रोजेँ। त्यसैले एसटीएनएमदेखि पनि ‘हाइकोर्ट’ हुँदै फूटपाथ निस्किएँर पुगेँ आकाशवाणी गान्तोक स्टुडियो।
---
काम सकियो।
झट्ट सम्झना भयो कुन्नि केको र्‍याली निकाल्ने कुरा थियो..। लागेँ एमजी मार्गतिर।
“ओए...! कहाँ छस्?’’ फोन गरेँ झरनालाई।
“टाइटनिकमा।’’ छोटो जवाब आयो। फेरि सोधिन्, “तपाईं कहाँ हुनुहुन्छ?’’ अनि भनिन्, “आउनु न, कोनि के को र्‍याली निकालेको रहेछ। आइपुग्नु आँट्यो।’’
“ल... ल...! आउँदैछु।’’ भनेपछि मोबाइल गोजीमा हालेँ।
“भ्रष्टाचार रोक्नुपर्छ...।’’ तिक्खो नारी स्वर सुनेँ एसटीएनएमको इमरजेन्सी वार्ड क्रस गर्दा-नगर्दै। पछिपछि “रोक्नुपर्छ..., रोक्नुपर्छ...।’’ थपिरहेका थिए एक हूल स्वरहरूले। मेरा दुई पाइला स्वतः हतारिरहेका थिए। दुई नयन त्यतैतिर अघि नै दगुरीसकेछन्। ‘कुरा के रहेछ?’ जान्ने मनभन्दा दुई नयन छिट्यो पुग्यो भीडमा मिसिन। राजमार्ग उकालो आइरहेको त्यो हूलसितै घुमेर मेरा दुई नयन पनि टाइटनिक मै थुप्रिन पुगे।
---
बल्ल पुगेँ। खोजेँ झरनालाई। फोटो खिचिरहेकी थिई। राष्ट्रिय टेलिविजनहरूमा हेरिँदै गरेको कुराले राज्यमा पनि प्रवेश गरेछ। यति बुझेँ। देश र राज्यको इश्युलाई कम्पायर गरेँ। फेरि निर्क्योल्न मन लाग्यो भीडभित्रका अनुहारहरू। थोरै चिनेकाहरू। थोरै कतै चिनेकाहरू जस्ता लाग्ने। धेरै नदेखिएकाहरू। हुनसक्छ, कतै, कहिँ, कुनै समय यस्तै भीडहरूमा देखिएका होलान्। अपरिचित तर। अनुहारहरू सबै टुङ्गिएका थिए टाइटनिकमा आएर। अघिको तीखो स्वर अहिले त्यत्ति उत्साहित थिएन। शान्त भइहालेको पनि थिएन।
“घुसखोरी र भ्रष्टाचारी होसियार...।’’ अचानक अर्को ठूलो स्वर चर्कियो।
“होसिया..., होसियार...।’’ पछ्याएको थियो भीडले।
“को रहेछ फेरि..?’’ हेरेँ। देखेँ, हातमा प्ला-कार्ड। झट्ट चिन्न सकिन। भीड़ थियो। चिन्न खोजेँ। चिने। निधारमा चिटचिट पसिना। आँखामा एकप्रकारको क्रोध। मैले राम्ररी ठिम्याएँ। हो उ मेरै साथी थियो। मेरो साथी विवेक। भीड अझै शान्त भएको थिएन। गुञ्जी रहेका थिए स्वरहरू अझै। सोचेँ, ‘भीडभित्र मैले देखेको त्यो अनुहार सत्य हो!’

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 30 बैशाख, 2073

लेखकका अन्य रचनाहरु