कमरेड भाउजू : कृष्णार्पण

- सोमराज पोखरेल

‘आफूले संगठन गरेर मलजल गरेर हुर्काएको पार्टीबाट बाहिरिनु परेकोमा उनलाई त्यति दुःख लागेन तर आफूकहाँ महिनौं बसेको, काम खोजिदिएको, सहयोग र उद्धार गरेका मानिसहरू नै उनैलाई विस्थापित गर्न हिंडेको थाहा पाउँदा दुःखी भए ।’ यो वाक्यांश बेलायतमा बस्दै आएका लेखक कृष्ण बजगाईंको कथासंग्रह ‘कमरेड भाउजू’ को हो । १० वर्षे सशस्त्र द्वन्द्वपछि मुलुकले सही बाटो पकड्ने अपेक्षा गरेका कयौं युवा पार्टीको नेतृत्वको पहुँचमा नपुग्दा अलपत्र हुन पुगे । अनि वाध्य भएर वैदेशिक रोजगारीमा गए । तर पार्टीको घृणित खेलले विदेशमा गएर पनि छोडेन । खुट्टा तान्ने प्रवृत्ति हावी भयो । आफैले सघाएका पनि बैरी बने । जब कमरेड नै धरापमा परे भने हाइफाइ र वाहीवाहीमा बाँचेकी कमरेड भाउजूको पनि चर्चा सकिदै गयो ।

शानसंग निमुखा जनतालाई थर्काएर, घुर्काएर, बन्दुकको नाल देखाएर लुट्न पल्केकासमेत विदेशमा भासिएसंगै दुःखी जीवन बिताउन वाध्य भए । नेताहरू स्वार्थी हुँदा कार्यकर्ता अलपत्र परे । यस्तै नेताहरूको चाप्लुसी नपुगेर बेलायत भासिएको पूर्व माओबादी कार्यकर्ताले एउटा रेष्टुरेन्टमा पहिलो दिन जुठो भाँडा धस्काएपछि कोठामा फर्केर थकित मुद्रामा फेसबुक स्टाटस लेखे ‘विदेशी दलाल नेपाली नेताको चाकरी गर्नुभन्दा विदेशमा भाँडा मोल्नुमा मलाई गर्व छ । म श्रमको सम्मान गर्छु ।’

पत्रकारसमेत व्यवसायी कृष्ण बजगाईंले बेलायत बसाईकै क्रममा त्यहाँको वस्तुस्थिति उतार्ने प्रयास गरेका छन् ‘कमरेड भाउजू’ मा । विशेषगरी उनको कथासंग्रहमा सबै नेपाली चरित्र नै छन् । किनकि उनले नेपालीकै कथा लेखेका छन् । पात्रका नाम फरक होलान् । लेखनका क्रममा केही परिदृष्य फरक होलान् । तर पढ्दै जाँदा लाग्छ यसमा कुनै बनाबटी लेखन छैन । पात्र संवाद काल्पनिक लाग्दैनन् । कथा सरर्र बगेको छ ।

नारी चरित्रको सूक्ष्मता प्रकट गर्नु कथा संग्रहको मूख्य उद्धेश्य रहेको बुझिन्छ । संस्कृतमा एउटा श्लोक छ ‘स्त्रीयाश्चरित्रम् पुरुषस्य भाग्यम्, दैवो नजानति कुतो मनुस्य: ।’ अर्थात् महिलाको चरित्र र पुरुषको भाग्य देवतालाई त थाहा हुँदैन भने मान्छेले कसरी थाहा पाउला भनिन्छ । त्यस्तै कथाकार कृष्ण बजगाईंले कथामा महिला पात्रको चरित्रलाई बुझ्न नसकिने पहेलीको रूपमा व्याख्या गरेका छन् । महिला चरित्र रहस्यमयी लाग्छन् । अर्थात् कृष्ण बजगाईंका कथामा महिला चरित्र हावी छ ।

शब्दार्थ प्रकाशनले प्रकाशन गरेको यो कथासंग्रहमा १३ वटा कथा छन् । ‘कमरेड भाउजू’, ‘पलायन कमरेड’, ‘गणतन्त्रपछिको पहिलो प्रेम’ र ‘मीट सिंगल डट कम’ गरी चार वटा त केवल जनयुद्धले जन्माएका कथा हुन् । त्यस बाहेकका अन्य कथामा ‘मिडिया मुस्कान’ ले वास्तविक जीवनभन्दा बाहिर रहेर मिडियामा मुस्कान छर्दै चरित्र निर्वाह गर्नुपर्ने अवस्था, ‘तेस्रो कुकुर’ ले बेलायतमा स्थायी वसोवास गर्न पाइने लोभले गर्नुपरेको कुकर्म, ‘मौन युद्ध’ले नेपाली बालबालिका विदेशीहरूले लैजानुको एक तीतो यथार्थ पस्केको छ ।

त्यस्तै ‘मंगल ग्रहमा देवकोटाको सालिक’ ले साहित्यमा देखिएको मपाईत्व, विकृति र विसंगतिका साथै अनधिकृत कमाईको प्रसङ्गलाई उठाइएको छ । ‘म सिसिफस’ मा एउटी बेलायतीले नेपालीलाई श्रीमान् बनाएर लगे पनि केवल व्यापारिक प्रयोजनमा लगाएको दुःखद प्रसङ्ग केलाइएको छ । साथै ‘गड्यौला उर्फ सत्यराज’ ले श्रीमान् काम र अध्ययनमा व्यस्त हुँदा श्रीमती भने अर्कैसंग सल्केको तीतो यथार्थ बाहिर ल्याएको छ । ‘लोग्ने र अस्थायी शत्रु’ ले महिलाको मनोविज्ञानमा सामाजिक छाप केलाइएको छ । ‘मौनता र शान्ति’ ले पति पत्नीबीचको चिसो सम्झौतालाई बाहिर ल्याएको छ भने चौथो विवाहले पैसाका लागि र विदेशमा रहनका लागि मानिसले विवाह जस्तो पवित्र बन्धनलाई पनि व्यापार जस्तो बनाएको अर्को तीतो यथार्थलाई बाहिर ल्याएको छ ।

यसरी समग्रंमा कृष्ण बजगाईंका कथाले तिनै नेपालीका कथालाई उनेका छन् जुन बेलायतमा छ्यास्छ्यास्ती भेट्न सकिन्छ । खासगरी विदेशमा बस्नेले नेपालका बारेमा लेखेको पाइन्छ । मातृभूमिप्रति गर्व गरेको देखावटी साहित्यिक खुराक पनि पढ्न पाइन्छ । तर बजगाईंले इमानदार भएर डायोस्परामा बसेर डायोस्पोरिक कथा रचेका छन् । यो नेपाली साहित्यका लागि एउटा सफलता पनि हो । र, अन्त्यमा रचनाकारले रच्ने आफ्नो मनबाटै हो । त्यसैले पनि रचनाकारले आफ्नो रचनामा कहीं कतै आफ्नो भावना मिसाएको अवस्था पाइन्छ । ‘कमरेड भाउजू’ मा बजगाईंले कति आफ्ना कुरा मिसाएका छन् उनै जानुन् । तर कथा मार्मिक र यथार्थपरक छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 19 बैशाख, 2073

लेखकका अन्य रचनाहरु