सरोज ओलीका कथा पर्गेल्दा

- कमल गुरागाईं

आठराई तेह्रथुमको होडामा वि.सं. १९९८ मा जन्मी हाल झापा जिल्लाको शनिश्चरे–२ तुतबारीमा स्थायी बसोबास गरिरहनुभएका साहित्यकार ओली निवृत्त शिक्षक हुनुहुन्छ । आफूले जीवनमा भोगेका भोगाई, अनुभव र श्रुतिलाई यथार्थ रुपमा साहित्यमा अभिव्यक्त गर्न ओली सफल हुनुहुन्छ । पाठकलाई भ्रममा पार्न, अल्मल्याउन र अनावश्यक बोझ बोकाउन नचाहने साहित्यकार ओलीका तीन थान कविता–सङ्ग्रह (विद्रो र मुक्ति २०४८, सरोज ओलीका कविता २०५१ र तम्मर नदीका धून २०५२) प्रकाशित भइसकेका छन् । कथा सङ्ग्रहमा “मुटु छुने कथा” २०५० मा नै पाठकहरुका हातमा पुगिसकेको छ भने अर्को कथा सङ्ग्रह यो पनि पाठकका हातमा छ । तपाईं यसको काव्यात्मक स्वाद चाख्दै हुनुहुन्छ । यो मीठो नमीठो तीतो, टर्रो जे छ यसको पान गर्नेलाई नै थाहा हुन सक्तछ । अप्रकाशित पाण्डुलिपिका रुपमा रहेका उपन्यासहरु अझै पाण्डुलिपि कै रुपमा बाकसमा थन्किरहेका छन् । जीवन जगतका भोगाइलाई लिपिबद्ध गरी थन्क्याउनुमा नै ओलीको विशेषता देखिन्छ । सायद यो मोफसलमा बसोबास गर्ने साहित्यकारहरुको पीडा हुनसक्छ, तर ओली पीडालाई सार्वजनिक गर्नु हुन्न रचना थन्के झैं प्रकाशन गर्ने भावना पनि आफैं भित्र गुमस्याउन सक्नु हुन्छ ।
कथाकार ओेलीलाई कथा लेख्ने प्रेरणा विराटनगरमा अध्ययन गर्दा अंग्रेजी विषयका प्राध्यापक र आफ्नै फुपाजु धात्रिकाप्रसाद थपलियाबाट पाएका चर्चा गर्नु भएको छ । प्रेमचन्द्रका जस्ता पठनीय, उत्कृष्ट, सुन्दर जीवन–जगत्को यथार्थ भोगाइलाई आफ्ना कथामा पनि पाठकहरुले पाउने चाहना हुनु नराम्रो भावना होइन । यस कथा–संग्रहको पाण्डुलिपि अध्ययन गर्दा मैले सरोज सरले भने जस्तो पाइँन । ओली सरले ‘मुटु छुने कथा’ मा ‘गाउँबाट मैले धेरै पाएको छु, थोरै लखेको छु । शहरबाट मैले थोरै पाएको छु, धेरै लेखेको छु’ भन्नु भएको रहेछ, तर यो कथा संग्रहले धेरै के प्रायः सबै ग्रामीण जीवनकै दुःख, पीर, व्यथा, वेदना मर्कालाई उठाएको देखिन्छ । ओली सरले सम्पत्ति कमाउन सक्नु भएन, निरन्तर अविश्रान्त साहित्य–साधनामा लागेको चर्चा अन्य समालोचकहरुले गरेका छन् । द्रव्यपिचासहरु नोट सुम्सुम्याउँछन्, साहित्यकारहरु रचनारुपी आफ्ना प्रिय सन्तानलाई हृष्ट–पुष्ट, सबल–सक्षम, योग्य बनाउन लागिरहन्छन्, लागिरहन्छन् ।
प्रगतिवादी कथाकार सरोज ओली समाजमा विद्यमान सामन्ती थिचोमिचो अन्याय, अत्याचार, शोषण दमन उत्पीडन जस्ता सामाजिक कुरीति, विकृति, विसंगतिलाई नहटाएसम्म समाज स्वच्छ, सचेत, सक्षम, सुशिक्षित एवं समानतामा पुग्न सक्दैन । त्यागी इमान्दार नेतृत्वको निर्माण र जाली–फटाहाहरुको सर्वनाश हुनुपर्छ । वर्गीय जीवनको उत्थान र सामन्ती चिन्तनको पतन आजको युगानतकारी माग बनेको संकेत ओलीका कथामा पाइन्छ । ओेलीका कथा उडन्ते कल्पनामा रमाउन सक्तैनन् । ढाकरका बोझाले किचिएका थाप्लाहरु, सामन्ती आत्याचारा ठिंगुरामा पिल्सिएका खुट्टाहरु, पुस्तौंपुस्ता गोवाकाजीक कोर्रा थापेका निरीह शरीरहरु, भाग्यमा होइन कर्ममा विश्वास गर्ने कर्मशील हातहरु, सन्तानको जीवन सुन्दर बनाउने सपना सँगालेर रातौदिन लेक–बेंसी गर्ने श्रमजीवी जनता, साहूको ऋणबाट मुक्त हुन विदेश गएका लोग्नेका बैंस लुटिएका श्रीमतीहरुका व्यथा–वेदना नै कथाका कथानक बनेका छन् । हेपिएका, थिचिएका, व्यथा वेदनामा पिल्सिएका तमाम जनसमुदाय एकभएर नजुर्मराएसम्म अत्याचारी समाजको अन्त्य हुन नसक्ने तथ्य कथाले अभिव्यक्त गरेको छ ।
यस कथा–संग्रहमा संकलित सबै कथा विषय चयनका दृष्टिमा कुनै कमसल छैनन् । सबै कथाको सामान्य चर्चा रामै्र होला मैैले ठानेको छु । ‘हाङ’ शीर्षकको कथा यस संग्रहको मलाई लागेको राम्रो कथा हो । हापुर हिमाली भेगको अत्यन्त सुन्दर भू–भाग देखिन्छ । यहाँका बासिन्दाहरु हिउँद महिनामा अत्यधिक हिमपातका कारण हिंवा–बेंसीमा आफ्ना सम्पूर्ण पशुधन सहित आउने गर्दछन् । भौगोलिक सुन्दरताले प्रशंसा पाएका हापुरमा बसोबास गर्ने गोवा र काजी खलक, यिनीहरुकै जूठोपुरोमा रमाउने गोवा–काजीका अरौटे, भरौटे एवं हिंवा खोला किनारमा बसोबास गर्ने सुब्वा र थरीका अत्याचारले त्यस भेगका श्रमजीवी मिहनेती जनता आहत भएका छन् । यस भेकमा निमुखा व्यक्तिल कुटाइ खाएका छन्, तुरुङ्गमा ठिंगुरिएका छन् । बढेका छोरी चेली, बैंसालु “युवतीहरु आफ्नो अस्मिता रक्षा गर्न संघर्ष गरिरहेका छन् । उक्यावको परिवारको थिचामिचो, दमन, उत्पीडन पुस्तौं–पुस्ता भोग्दै आएका अलि पाका व्यक्तिहरुलाई ‘हाङ’ ले विनाकारण मूर्छा पर्ने गरी पिटाइ खाँदा पनि प्रभाव पार्न सक्दैन । यस घटनाले युवा जमातलाई छोयो । अकारण आक्रमणको बदला लिन, अन्याय अत्याचार र शोषणको बदला लिन विश्रृङ्खलित युवालाई संगठित हुन प्रेरित ग¥यो । सामन्ती गोवाको हुकुमी चरित्रको चित्रण यस कथाको प्राण हो भन्दा अतिशयोक्ति हुँदैन ।” ‘रैतानले हामीले भनेको मान्नुपर्छ । हामीले अन्याय गर्नु र पाट्टपिट्ट पिट्दै हिंड्नु हाम्रो पुख्र्यौली रीति हो, हामीले गरेका गल्तीलाई स्वीकार्दै तिमीहरुले – ‘गल्ती भो प्रभु, माफ पाऊँ भन्नु पर्छ ।’
कर्ममा विश्वास गर्ने हापुर र हिंवाका श्रमजीवी युवा शक्तिशाली सामन्त गोवा काजी, सुब्वा र थरीका हल्लिएका पुराना दाह्रा नङ्ग्रा फुस्काउन कसिला मुठ्ठी उठाएर निडर भई संगठित हुन थालेका छन् । जगतसिंह र हाङ्ले नेतृत्व गरेको अन्याय विरोधी युवा र अन्याय–अत्याचार थिचोमिचोलाई पारिवारिक सम्पत्ति मान्दै आएका सामन्ती गोबाका लठैतहरुका बीच पटक–पटक मुठभेड भएको छ । सचेत चेतनशील सङ्गठित युवा गोवाङ्गी, सुवाङ्गी, थ¥याई र जिम्मावाली प्रथालाई उन्मूलन गर्न र सुन्दर समाजको निर्माण गर्न गाउँघर, टोलका अन्य जनतालाई निडर बनाइरहेका छन् । गोवाका अगाडि ठाडो शिर पारेर हेर्न नसक्नेहरु आँखा जुधाएर टेडा आँखाले हेर्नथालेका छन् । बोल्न हिच्किचाउने निमुखा ठानिएका जनता ठा–ठाडै बोल्न र प्रतिवाद गर्न थालेका छन् । कर्मलाई विश्वास गर्ने पुस्तौं–पुस्ता ठगिंदै आएका हापुर र हिंवाका हली गोठाला, खेताला र भरियाहरु अन्याय, अत्याचार, दमन र उत्पीडनको विरोधमा कसिला मुठ्ठी उठाएर मोर्चामा उत्रेपछि गोवा काजीको शक्ति पराजित भएको छ ।
ओलीका कथामा प्रतिबिम्बत बिम्बको कथ्य बुझ्न हिमालयको उत्पतिपछिको मानव सभ्यताको विकासक्रम, भौगोलिक अध्ययन, विश्वको इतिहास आदिको गहन अध्ययनबिना सम्भव छैन । ‘छछल्काए सागरहरु’ कथा पढ्दा मलाई यस्तो लागेको कुरा हो यो । युगीन याथार्थिक द्वन्द्वसँग तालमेल राखेको छ यस कथाले यस कथाका कथाकार ओलीले अतीतको यात्रा गरेका छन् । वर्तमानबाट करिव–करिव पलायन भएको विषय टिपेर भविष्यको उज्वलताको आशय सम्प्रषणमा कथाकार ओली चुकेको छैनन् । ठगाहा समाजमा पुजिन्छ, कर्मशीलहरु हेपिन्छन्, तिरस्कृत हुन्छन् । ठगिखाने भाग्यवादी शोन्डाली र गरिखाने गोण्डाली श्रमजिवी वीचको प्राचीन युद्धको कथा यसले समेटेको छ । धर्म, जाति, वर्ण, लिङ्ग, सम्पन्न र विपन्नका वीच चलिआएको द्वन्द्व यस कथामा वर्णित छ । समाजमा द्वन्द्वको अन्त्य हुँदैन, द्वन्द्वको अवसान भयो भने गति अवरुद्ध हुन्छ । अन्यायको विरुद्धमा योग्यता अनुसारको काम, कामको दाम, स्वास्थ्य, शिक्षा र सम्मान प्राप्तिका लागि गोण्डालीहरु युद्धको खेल खेल्न बाध्य भएका छन् । गोण्डालीहरुका लागि शोण्डालीका सुराकीहरु पनि खतरा बनेका छन् । बनिताको सुडौल शरीरमा खेलवाड गर्न पल्केका शोण्डालीका सुराकीहरु पनि खतरा बनेका छन् । बनिताको सुडौल शरीरमा खेलवाड गर्न पल्केका शोण्डाली गुण्डा र के युवती, के बालक, के बृद्ध–बृद्धा, सबैलाई श्रद्धा गर्नु, सबैको रक्षा गर्नु, सबैको समान हक, अधिकार न्याय, दिलाउनु गोण्डालीहरुको युद्धको विशेषता देखिन्छ । यस कथाको नायक गोण्डाली युवा अभिमन्यु शोण्डाली युवती सुनीलाई युद्धरत गोण्डालीहरुका पक्षमा लाग्न अनुरोध गर्दै– ‘शोण्डाली युवतीको रक्षामा हामी दृढ छौं’ भन्ने भाव व्यक्त गर्दछ । कथाको कथ्य प्राचीन भूमिको देखिए तापनि वर्तमान समयको आफ्नै भोगाइको समाजमा चलिरहेको ‘द्वन्द्व’ उकुसमुकुस राजनीति टिप्न कथाकार ओली सफल छन् । जो युगीन परिवेशलाई साहित्यमा उतार्न सक्तैन, त्यसले पाठकलाई धोका दिन्छ । कथाकार ओली यसबारेमा सचेत देखिन्छन् । पाठकलाई युगवोध गराउँछन् । वर्तमानको हत्या, हिंसा, अशान्तिको अन्त्य नै सत्यको जीत, असत्यको पराजय, न्याय विजयबाट सम्भव हुन्छ । क्रान्तिपुत्र जन्माउने आमाको मन, बाबुको भावना, साथीभाइ, छरछिमेकको चाहना हासी गाउँका मोहन र गोमाको व्यवहारले चिनिएको छ । अन्यायी, अत्याचारी, आततायी, दुष्ट चरित्र गोलेबाट र न्यायिक इमान्दार सत्चरित्रको परिचय उत्तुङ्ग र अभिमन्युबाट ग्रहण गर्नु पर्छ ।
यो चाहिँ राम्रो, त्यो चाहिँ नराम्रो केका आधारमा भन्ने ठम्याउन नसकेका कारण सबै राम्रा, सबै सुन्दर भन्दा दोषको सहभागी बन्नु नपर्ने ठानी कथा ‘महावाहु’ लाई पनि उत्कृष्ट कथाको स्थानमा राखेको छु । वर्तमान समाजको सुन्दर कथाको टिप्पणी हो, यो कथा । हिन्दू धर्मावलम्वीहरु साँझको पाहुनालाई ‘अतिथि देवी भवः’ भनी सत्कार गर्दछन्, तर आजको वर्तमान बास कसैलाई नदिनू भन्ने उर्दी सुनाउँछ । यो युद्ध र आतङ्कले ल्याएको त्रास हो, भय र चिन्ता हो । आजको मान्छेमा हार्दिकता, माया ममता स्नेह लोप भएको छ, एक आपसमा विश्वासको संकट छैनन् । जनमुक्ति अभियानमा जुटेका व्यक्तिहरु जनताको पिढीमा बास बस्न नपाएको चर्चा छ ‘महावाहु’ कथामा । राज्य पक्षका सुरक्षा कर्मी र विद्रोही पक्षका सैनिकहरुले गाउँघरमा वितण्डा मच्चाएको कुरा ‘महावाहु’ आफ्नो क्षेत्रमा सम्प्रेषण गर्दछ । सर्वसाधारण सोझा ग्रामीण जनतालाई युद्धमा मानव ढालका रुपमा विद्रोही पक्षले प्रयोग गरेको अवस्था एकातिर छ भने अर्कोतिर विद्रोही पक्षलाई सहयोग पु¥याउने भनी राज्य पक्षले पिर्ने, जनतालाई हप्काउने, दप्काउने, अनावश्यक गिरफ्तार गर्ने, वेपत्ता बनाउने जस्ता कार्यले गाउँ आतङ्कित र भयभीत भएको तथ्यलाई कथाले अभिव्यक्त गरेको छ । यो कथाले दुवै पक्षलाई लचिलो बनी वार्ताद्वारा ‘द्वन्द्व’ समस्या सुल्झाउन आह्वानसमेत गरेको देखिन्छ ।
साहित्यकार मोदनाथ प्रश्रितल ‘ठूला महलमा सेता मान्छेको चल्छ रजगज’ भने झैं यस कथा–सङ्ग्रहमा सङ्ग्रहित अलर्कले पनि गगनचुम्वी, आलिसान भवनमा बसेका ठूला–ठूला सामन्तहरुको निर्दयी चरित्रको वास्तविकतालाई चिनाउने कार्य गरेको छ । मान्छेलाई मान्छे गन्दैैनन् । तिनै व्यक्तिको श्रमको शोषणले मोटाएका, चिल्लिएका, चुल्लिएका सामन्तहरु कामदारको रगत पसिनामा होली खेलेर रमाउने गर्दछन् । काम चोरलाई पूजा गर्ने र कामदारलाई ठग्ने चलन सामन्ती उपज हो । ‘अलर्क’ जस्ता चेतनशील युवा सुसंगठित हुँदैछन् । अन्याय, अत्याचार र शोषणको सभ्यताको पहिचानगरी शोषक सामन्तहरुलाई त्यसो नगर्न आग्रह र सुझाव दिँदैछन् । वर्गीय समाजमा वर्गीय प्रेम बलवान हुने हुनाले वर्गहीन समाज सम्रचनामा यी युवाहरु थिचोमिचोको विरोधमा हेपिएका, पिछडिएका र उत्पीडन भोगिरहेका किसान, मजदुर मिहिनेती जनतालाई गोेलबन्द गर्दै मुक्ति आन्दोलनका तमाम योद्धालाई सम्रक्षण गर्दै आफूलाई सिध्याएर गुणात्मक परिवर्तनका लागि बढि रहेको संकेत ‘अलर्क’ कथाल
गरेको छ ।
मानवीय सभ्यताको चर्चा भएको कथा ‘मृणाल’ विशिष्ट रचनामा गुम्फन हुन पुगेको छ । मान्छे कसरी युग परिवर्तन गर्छ । कसरी जीवन शैली फेर्छ भन्ने ऐतिहासिक पृष्टभूमि बुझ्न ओलीको ‘मृणाल’ कथा पढ्न जरुरी छ । द्वन्द्ववादी शैलीमा परिवर्तन प्रष्ट्याउन सफल बनेको यो कथा युगपरिवर्तनमा वा व्यवस्थित जीवनको रचनामा नारी प्रेरणा प्रमुख कारक हो, नायिका अपर्णाबाट यही बुझिन्छ । धामी–झाँक्रीको विश्वासमा रोगीको रोग भगाउने ऐतिहासिक औषधिविज्ञान कथाले एकातर्फ चर्चा गरेको छ भने अर्कातिर शिकारी युगबाट कृषियुगमा फड्को मार्नु पर्ने अवस्था र आवश्यकताको चर्चा गरेको छ । मानवीय जीवन सञ्चालनमा आइपर्ने कठिनाईले भावी युगको रचना गर्दछ । शिकारी युग, कृषि युग, औधोगिक युग, विज्ञानको प्रयोग, वैज्ञानिक होडबाजी आदि यसैका उपज हुन् । मान्छे जीवनलाई सरल–सहज व्यवस्थित र सुन्दर बनाउन युगौदेखि लागेको छ र लागिरहने छ । मान्छे यथास्थितिबाट मुक्ति चाहन्छ, गतिशीलताको कामना गर्दछ । शिकारी युगको हतियार सुम्सुम्याउने शिकार खेल्ने मृणाललाई, कुटो, कोदालो, झम्पल, गैंती बोकाएर सिंचाइका लागि कुलो, पैनी, बाँध, नहर, निर्माण जस्ता कार्यमा युगले लगाएको छ । शिकारबाट छाक टार्दै आएको मान्छे क्रमशः अब खाद्यान्नले पेट भर्न थालेको छ, यसरी ‘मृणाल’ कथाले युगको परिवर्तनसँगै मानवीय जीवन शैलीमा समेत प्र्रभाव पर्ने चर्चा ऐतिहासिक परिवेशमा कथाकार ओलीले उठाएका छन् ।
अत्याचारले सीमा नाघेपछि विद्रोह जन्मन्छ, लाटासुधा बोल्न थाल्दछन्, सुतेकाहरु उठ्छन्, उठेका चल्मलाउछन् र चल्मलाएका हिँड्न थाल्छन् । ‘सुकुनी’ कथाले यस्तै भावना संगालेको छ । कारवारीको पगरी पाएको ‘गुम्साने’ निकै हकडग चलाउने व्यक्ति हो । यस कथाको माइलो साहू पनि कम चुसाहा छैन । माइला साहूको खलाको धान ओसार्ने दिन ‘सुकुनी’ ले पनि सूचना पाएकी छ, तर ऊ सामन्तिको धान बोक्न तयार छैन । विषयको उठान यहीबाट हुन्छ । आफ्नो विपक्षमा लागेको व्यक्तिलाई हुनसम्म दुःख दिन पछि नपर्ने साहू र कारवारीहरु जय र सुकुनीलाई गह्रौं भारी बोकाएर बदला लिन्छन् । गाउँका आफूलाई भलादमी देखाउने साहू महाजनहरु, यिनीहरुका आसे–पासेहरु, हुक्के, चिलिमे, ढोके, वैठकेहरु, अरुका छोरी बुहारीलाई वद्नाम गर्न परस्त्रीहरुको बैंससँग खेलवाड गर्दछन् । सुकुनी कथा सामन्तिहरुको दिनचर्या, उनीहरुको अत्याचारको चित्रणमा सफल छ । सहनुको पनि हद हुन्छ, हदसम्म सहन्छ तर सीमा पार भएपछि थिचिएका–मिचिएकाहरुमा विद्रोहको ज्वालामुखी बिस्फोट हुन्छ, हतियार समात्न बाध्य हुन्छ । सुकुनीको विवशता पनि यसरी नै बिस्फोट हुन्छ, हतियार समात्न बाध्य हुन्छ । सुकुनीको विवशता पनि यसरी नै विस्फोट भएको छ र सामन्तिको विरोधमा रणचण्डी भएर देखापरेकी छ ।
वाजवर्ण ‘प्रतिकात्मक अभिव्यक्ति भएको सरल एवं उत्कृष्ट कथा हो ।’ मान्छे आदर्शको व्याख्यान छाँट्छ, अरुलाई इमान्दारिताको उपदेशात्मक पाठ पढाउँछ, आफूले देखेको टेकेको स्थान विशेषको बढाइ चडाइ व्याख्या गर्छ, तर आदर्श, उपदेश, व्याख्यान व्याख्याताको जिव्रामा मात्र सीमित रहेको कुरा पत्ता लगाउँछ, नायक वाजवर्ण । सत्विचार प्रतिबन्ध छ, जिव्रो गिरफ्तार छ, कान नजरबन्द र हातहरु दासताका साङ्लामा कैद जीवन वाँच्न विवश देखिन्छन् । काठमाडौं शासन गर्छ । सुशासनको खोजीमा भौतारिएका विचारहरु काठमाडौंबाट मुक्त हुन चाहन्छन् र आफ्नो भाग्यको निर्माण आफैं गर्न चाहन्छन् । शासकहरु आफूमात्र स्वतन्त्र उन्मुक्त र पंख फुक्का भएर उड्न चाहन्छन् । सर्वसाधारणलाई दास बनाएर उन्मुक्त विचारलाई कोर्रा हान्न पल्केका शासकहरु युगले कति–कति फड्का मारिसक्यो, विश्वका मान्छेले व्रह्माण्ड छानमारिसके वास्ता गर्दैनन् र प्रगतिपथमा लम्कने परिवर्तनका संवाहकलाई न्वारानदेखि बल प्रयोग गर्न व्यस्त देखिन्छन् । गरी खानेहरु ठगी खानेका विरुद्धमा दासत्व स्वीकार्न बाध्य जीवनहरु थरी–मुखिया जिम्मावालका विरुद्धमा सुशासनको चाहना गर्नेहरु कालो क्रूर कुशासनको विरुद्धमा जुर्मुराएर उठेको प्रगतिपथमा लम्किरहेको सत्यता ‘वाजवर्ण’ कथाले व्यक्त गरेको छ ।
‘धमिलो दह’ प्रतिकात्मक शीर्षक मान्न सकिन्छ । स्वच्छ, निर्मल, कञ्चन निर्झर झर्नाको खोजीमा याङ्शीला लागेकी छ । याङ्हेले त के याङ्हेका अगाडिका कुनैले पनि खाएका त के देखेका पनि छैनन् सङ्लो पानी, तर याङ्शीलाले देखेकी छ खाएकी र अनुभव गरेकी छ । यहाँ पनि सङ्लो पानीको खोजीमा जुर्मुराएकी छ । नेपाली सभ्यतामा लोग्नेको नाम भन्नु हुँदैन र त याङ्शीला आफ्नो पोइलाई ‘बाबुका ज्वाइँ’ भनी संवोधन गर्दछे । यी दुई जोई पोइको जीवन सरल भएर पनि पीडा भोग्न बाध्य छन् । सायद ‘यहाँको चलन यस्तै छ, बेहाल बेहाल छ’, गीत चरितार्थ हुन्छ यस कथाको कथानकमा । ‘बाली मारा कीराको प्रकोप उन्नत बाली भित्र्याउन नसक्ने कुरा कथामा उठेको छ, तर कीरा त जुनसुकै देश, जुनसुकै प्रान्त, जिल्ला, गाउँ वा टोलमा हुने गर्दछन्, अतः गाउँ सर्नुभन्दा कीटनाशक औषधि गर्नु बुद्धिमानी ठहर्छ । जनप्रतिनिधिहरु जनताको भोटले नियम बनाउने ठाउँमा पुग्दछन् र जनतामारा नीति नियमहरु बनाएर जनताद्वारा नोट लिएर, जनतालाई नै शासन चलाउने गर्दछन् । मतो मिलाएर गरिवमारा नीति बनाउने ग्रामपिता ‘जहरमान’ सर्वसाधारण सरल व्यक्ति याङ्हेलाई गिरफ्तार गराउँछ । ‘याङ्हे’को अपराध भने पनि गुनासो भने पनि ‘चर्को पोतले हाम्रो जीवन कष्टकर बन्यो नियम कानून सर्वसाधारणले पनि थेग्न र भोग्न सक्ने बनाइ दिनु प¥यो’ भनेको थियो । आफ्नो जीवन साथी अति इमान्दार ‘बावुको ज्वाइँ’लाई प्रहरीले जनप्रतिनिधिको अगाडिबाट घिसार्दै लाँदा याङ्शीलाले गाउँलेहरुका सामु आफ्नो लोग्नेको कुनै पनि रकम चाहिन्छ भनी केही रकम मागेको थियो, मागेजति घुस दिन ऊ सक्षम थिइन । लोग्नेलाई प्रहरीले घिसार्दै अपमानजनक व्यवहार गर्दै लगेता पनि ऊ दृढ सतिसाल झैं उभिइरहेकी छ । अचेतन व्यक्तिमा चेतना भरिँदै छ, अन्यायीहरुको पर्दाफास हुँदैछ । आकाशमा कालो बादल मडारिए पनि खोला खोल्सामा धमिलो बाढी बेग निस्कनु अन्यायका विरुद्धमा आवाज घन्कनु, जेल विद्रोह हुनुले सङ्लो पानीको खोजमा लागेका व्यक्तिहरु समानता मुलक जीवनशैलीको आशामा अगाडि बढीरहका संकेत गरेका छन् ।
जीवनलाई सरल, सहज, योग्य र सक्षम बनाउन मानव प्राणीमा चेतनाको विकास भएसँगै लागेको हुनु पर्छ । साहूको ऋणबाट मुक्त हुन नेपाली युवा पाखुराहरु कहिले भोट, कहिले मुङ्लान त कहिले खाडी मुलुकमा पुग्ने गरेको वास्तविकता देखिएको कथा हो “शाकम्भरी” । आफ्नो लोग्ने कणाद धन कमाउन भोट गएको छ । सानो छोरो पालेर घर थाम्न असक्त छे, शाकम्भरी । सेठहरु गोठालो राख्न छोरो माग्दै छन् । शाकम्भरी त्रसित छे भोलि आफ्नो यौैवन माग्लान् भन्ने डरले । विदेश गएको १२ वर्षमा लोग्नेको आगमन भयो, तर रित्तो हात । यौवनको उत्साह, उमङ्ग, जोश, जाँगर सबै निःशुल्क अर्कालाई दान गरे तर पनि शाकम्भरीमा खुसी उत्साह उमङ्गको वाडी नै उर्लियो । कणादले फर्कदा के थाहा पायो भने भोटतिरका गोवा काजी र यताका सुब्वा, थरी, मुखियाको स्वभावमा कुनै भिन्नता पाएन । कामदारले थाहा नै नपाई वेचिँदा रहेछन् त्यताका श्रमिकहरु । थाहा नै नपाई वित्तो रहेछ त्यताको जीवन । कर्णालाई आफ्नो खिइसकिएको जीर्ण शरीर शाकम्भरीको सामु ठिग्याउने रहर जाग्यो । पहरेदारको कठोर निगरानी भएको किल्लाबाट उम्कन कम कठिन छैन तर त्यही अनुशासित भएर रातौदिन श्रम गर्दा पनि त्यो खानीबाट लासमात्रै निस्कने संकेत पाएको कणाद यसै मरिने उसै मरिने भनी विशाल नदी ‘स्याम्पो’ मा फालहाल्ने निर्णयमा पुग्छ । ‘स्याम्पो’ नदीको वेगमा वगेको मान्छे वाँच्ने सम्भावना कम भए तापनि यदि ‘वाँचियो भने त आफ्नो प्रीयतम शाकम्भरी र मुटुको टुक्रा छोरो कचसँग भेट हुन्छ, आफ्ना जीवनका भोगाइहरु सुनाउन पाइन्छ’ भन्ने आशाले स्याम्पोमा आफ्नो जीवन समर्पण गर्दछ । संयोगले तीन दिनपछि आफूलाई जीवित भेट्टाउँछ, हिउँले फुर्फुराउदो बनाएको माटोले भोक टार्दै भेडा गोेठालाको सहयोगबाट नेपाल प्रवेश गर्ने बाटोबाट आफ्नो गाउँ पुग्दछ । यस कथाले उताको गोवा काजी र यताका सुब्वा, थरी जिम्मावालाहरु श्रमिकहरुलाई लुट्ने एउटै शैली अपनाउँछन् भन्ने देखाउन सफल भएको छ । यस कथाका घटनाहरु यदाकदा तिलस्मी झैं लाग्दछन् । युवाको वलशाली श्रम लुट्ने, युवतीको सुडौल शरीरको आकर्षणमा लोभिएर इच्छा विपरीत यौवन लुट्ने सामन्ती लुटेराका विरुद्धमा विश्वका ज्यामी, खेताला, गोठाला, शोषित पीडित युवा युवती एक भएर कुसंस्कार, विकृति, विसङ्गतीलाई अन्त्य गर्न शाकम्भरी सफल कथा हो भन्न सकिन्छ ।
नेपाल देशको उत्तरमा अवस्थित भोटको वर्णनमा रमाएको शाकम्भरी झै ‘दुई फब्ल्याटा’ ले खाडी मुलुकमा गएका नेपाली युवाको विक्षिप्त मन व्यक्त गर्न सफल भएको छ । नव यौवना श्रीमतीलाई आफ्नो घर पिंढीमा छोडेर साहूको ऋणको बोझ बोकी घरबारी सबै साहूको जिम्मा लगाएर खाडी मुलुकमा प्रवेश गरेको सोहनसिंह जस्ता युवाको व्यथा हो यो कथा । पैसाले मात्रै मान्छेलाई आनन्द दिन सक्तैन । आशारानीसँगै ५० हजार रुपैयाँ छ तर मन सोहनसिंहसँगै खाडीमा पुगेको छ । आफ्नो रमाइलो यौवन आफूसँगै गाँसिएर बसेको छ । साहूको ऋणले यौनिक भावनालाई दमन गर्न भावुक बनाएको छ । नेपालका शासकहरुले नेपाली युवालाई श्रीमतीबाट मात्रै अलग गराएनन् विदेशीहरुको गुलाम गर्न समेत बाध्य बनायो । स्वदेशबाट वैदेशिक रोजगारको लागि विदेश गएका स्वाभिमानी नेपाली युवा त्यहाँ साहूलाई सधैं खुशी पार्न काम, काम अनि पनि काम गर्न बाध्य छन्, जीवनको कुनै भरोसा छैन, जति बेला पनि वाकस भरीन सक्छ । आशारानी र सोहनसिंहको भोटले जनप्रतिनिधि बनेकाहरु मोज र भोजमा मस्त छन् भने युवा युवतीहरु लादेनको गोहो खोज्न अमेरिकी साम्राज्य अर्काको आकाशमा युद्धपोतहरु उडाइरहेछ, निमुखाहरु विवश छन् टुलुटुलु आकाश हेर्न । यो कथा वर्तमान विम्वहरु टिप्न सफल भएको देखिन्छ ।
स्थानीय किंवदन्तीका आधारमा रचिएको कथा ‘बोखिमको माया बगिरहेछ’– ले अन्तर्जातीय विवाहलाई विषय बनाएको छ । जात–जाति, छूत–अछूत जस्ता भेदभावले आक्रान्त समाजले विभिन्न समस्या झेल्नु भरेको कुरा यसले उठाएको छ । प्रेमले न जात छुट्याउँछ न त सम्पन्नता नै चयन गर्दछ । यसले केवल पवित्र स्वच्छ सद्भावपूर्ण मनको पहिचान गर्दछ र टपक्क टिप्ने गर्दछ । ऐतिहासिक महत्व राख्ने यस कथाले लिम्वू पुत्री र बाहुन पुत्रका बीचमा विद्रोहात्मक विवाह गराएको छ । अन्तर्जातीय सद्भाव गुमाएको समाजले यी दुई नायक–नायीकालाई आफ्नो बोखिम गाउँमा बस्न दिँदैन । १२ वर्षसम्म बाहिर बिताएका यी प्राणी पुनः आफ्नो गाउँमा फर्कन्छन्, तर जीवन धान्न गाह्रो भए पछि सुकमतीको सोच अनुसार रातो माटो गाउँका साहू–महाजनको घरमा प¥याइ अन्नसँग साट्न थालेपछि जीवन पुनः व्यवस्थित बन्दै गएको अवस्थामा माटोको सुरुङ्गमा पुरिन पुग्छे सुकमती । निसास्सिएर अचेत अवस्थामा पुगेकी सुकमतीले लोग्ने र ग्रामीण व्यक्तिको सहयोगमा बैद्य–झाँक्रिको उपचारबाट पुनः जीवन पाएकी छ । वास्कोटा बाहुन केटाले सुकमती लिम्बु केटीलाई कम माया गरेर पालेन, आफूले टोपीको नाममा पाटीको घेरो मात्रै लगाएर उसलाई मजेत्रो किनिदिएको थियो । भोक–तिर्खा, सन्चो–विसन्चो आदिमा पूर्ण ख्याल गरेकै थियो । हाट–बजार होस् वा मेला–पातमा होस् एक्लै पठाएन । यी दुई जान खान–पानमा स्वतन्त्र छन् आफ्नो रुचि अनुसारको चिया र जाँड खाएका छन् । सुसमय वा दुःखमय जे जस्तो जीवन बाँचे पनि एकप्रकारको क्रान्ति छेडेको यी जोडीलाई आफ्नो परिवार सहित जुठे माझीका साथमा वर्षायामको तमोर नदीमा बगाएर कथाको अन्त्य गराउनाले पाठकले के अर्थ लगाउलान् टिप्पणी सुन्न त बाँकी नै छ तर मेरो विचारमा यो जोडी बाँच्नको बोखिममा सबैका कानमा यो कथा गुञ्जन्छ, श्रोताहरु हार्दिकतापूर्ण क्रान्ति योद्धाहरु श्रद्धाञ्जलि अर्पण गर्लान् ।
विज्ञानको आविस्कारले विश्वलाई नजिक्याएको छ । टाढाको मान्छेलाई सशरीर आलिङ्गन गर्न नसके पनि इन्टरनेट, इमेल गरेर कम्प्यूटरमा इच्छाइएको व्यक्तिको नाममा फोटो र भावनालाई लिपिमा सम्प्रेशण गर्न सकिन्छ । ‘आँखाको माया’ कथामा माथि उल्लेख भएका कुराको संकेत पाइन्छ । यस कथाले आजका युवा डि.वि. चिट्टा खेली अमेरिका जाने योजना बनाउँछन् र कति त जान्छन् पनि । यस कथाको नायक सागर अमेरिका पुगेको छ । नायिका मिट्ठू जीवन साथीले अमेरिकाबाट पठाइएको इमेल पढ्छे । आफ्नो लोग्ने अमेरिकामा पुग्यो, खुशी त लागेकै हुनुपर्छ, तर दुई–दुई वर्ष यहाँ एक्लै बस्नुपर्दा र उता लोग्ने त्यताका युवतीहरुसँग नलाग्न आग्रह गर्दछे । अमेरिका मान्छेलाई माया गर्दैन, माया गर्छ काम र दामलाई, तर मिट्ठूलाई धोका दिन नसक्ने प्रण गर्छ सागर भन्छ – ‘म तिम्रो आँखाको पवित्र स्वच्छ न्यानो मायालाई खेर जान दिन्न मलाई विश्वाश गर ।’ यो कथा वर्तमानको यथार्थ चित्रण गर्न सफल छ, पठनीय र विश्वसनीय छ ।
आजका खिएका मक्किएका लोसे मान्छेका तुलनामा मान्छे उमेरमा ८५ उछिनी सक्दा पनि आफ्नो दैनिक कार्यमा सम्लग्न देखिन्छन् । आफ्नै विशेषता अनुसारको कार्य गरेको देखिन्छ ‘जीवन भित्रको इतिहास’ कथाका पात्र वर्णसिंह र सोमवारीले । यो कथा इतिहाससँग सम्वन्ध राख्दछ । वर्णसिंह अमृतलाई आफ्नो विगत सुनाउँछ । उसको सन्तानहरुको विगत हकडक पूर्ण थियो । श्री ३ सँग अति राम्रो सम्पर्क थियो, श्री ३ ले यो परिवारलाई विश्वास गरेको थियो । आफ्नै भास्साकोठामा राखेर राणा खानदानले खाने परिकारहरु ख्वाएको घटना वर्णसिंहलाई अहिले जस्तो लाग्छ, तर तमोरमा त्यसपछि थुप्रै पानी बगिसक्यो, समयले अनेक परिवर्तन ल्यायो, ल्याउने क्रम जारी छ । सुब्वाले लिने गरेको ठेकी–वेठी ढोयो आदि दण्ड दिन प्रयोग गर्ने ठिग्रो–मुग्रो त अव कथा मात्र बन्यो । हिजोका टटुवाहाङ्का सन्तान भूमिसुधारको नापीपछि टट्टु घोडा समान भएको चर्चा कथाले गरेको छ । आफ्नै जातभाइ मन्त्री हुँदा पनि आफू खोसिएको अधिकार गुमेको ठिग्रो–मुग्रो फिर्ता गराउन पहल नगरेकोमा कथाले गुनासो व्यक्त गरेको छ । कथाका पात्र सूर्य कन्दङ्वालाई उदाहरणको रुपमा लिन सकिन्छ । यस कथाले समय नै त्यस्तो बलवान् हुन्छ जसलाई कसैले रोकेर रोक्न सक्दैन । इतिहासका सम्पन्न पात्र वर्तमानमा विपन्न, अहिलेका सम्पन्न इतिहासका विपन्न थिए भनिएको छ । यस्ता थुप्रै–थुप्रै घटनात्मक कथाहरु अझै कथाकारका गर्भमा हुन सक्तछन् ।
कथाकार ओली इमान्दार श्रमजीवी पात्रहरु चयन गर्दै उनीहरुको दुःखद जीवन चित्रणमा सफल छन् । आफू र आफ्ना पूर्वजहरुले भारी बोकी–बोकी जीवन गुमाए ‘रन्तिदेव’ अव आउने आफ्ना सन्तानलाई भारी नबोकाउने । यिनीहरुको भावना कति पवित्र स्वच्छ र इमान्दार छ । यिनीहरु सरल र अनुशासित छन् । जिज्ञाषु छे श्यामली । आफ्नो लोग्ने अरुको लोग्नेभन्दा कुनै कुरामा कमजोर नहोस् श्यामलीको चाहना छ । अगुवाको इसारामा पाइला चाल्दै एकै लहरमा एउटै तालमा तोक्मा टेकाउँदै साँगुरी भञ्ज्याङ् र धारापानीको ओरालो चिउरीबासको उकालो गर्ने भरियाको आफ्नै नियम छ । श्यामली लड्दा पन्थेदेव नबुझाएको कुरा, बिमारीलाई सबै लागेर उपचार गरेको बिरामीको भारी अरु सरसाउँदा भरियाहरुले खापेका कुरा आदिले यिनीहरुमा देखिएको सरलता स्पष्ट हुन्छ । अनेक कष्ट खपेर साहूको भारी इमान्दारपूर्वक पु¥याउने रन्तिदेव र श्यामलीलाई एक दिन ढिलो पुग्दा मानवता, सहृकक्रदयता जस्ता शब्द शब्दकोषमा नभएका सामन्त साहू महाजन सुब्बा खलकहरु अनेकन आरोप लगाउने गर्दछन् । लड्दा–लड्दै खाई–नखाई भारी पु¥याएका थकित भरियालाई तुरुङ्गमा कोच्याउने आदेश दिन्छ । कोच्याउने अगाडि बढेको कारवाहीलाई तिखो शब्दमा– ‘खवरदार ! हात लाइस भने तेरा साहूको हामीले केही खाई बिराएका छैनौं । यहाँभन्दा अगाडि बडिस् भने’ भन्दै श्रीमती श्यामली र छोरो गुँइठेलाई लिएर घरतिर लाग्छे । ‘नबिराउनु नडराउनु’ उखान पुष्टि भएको छ । भरियाहरु सचेत चेतनशील हुँदैछन् । साहू महाजनको थिचोमिचो, अन्याय, अत्याचार हदैसम्म सइयो अब प्रतिवाद र प्रतिकारमा उठ्न पर्ने आवश्यकता कथामा कथाकारले देखाएका छन् ।
ऐतिहासिक विषय बोकेको आञ्चलिक कथा हो ‘अमर निशानी’ । ‘अमर निशानी’ सम्पूर्णता बुझ्न त्यही क्षेत्रमा पुग्नुपर्छ जहाँ निशान अहिले उभिरहेको छ । मान्छे कर्मशिल प्राणी हो, आफ्नो वा आफ्ना सन्तानको नाम समाजमा चलिरहोस् भन्ने चाहन्छ । यस कथामा पात्र थेवाहाङ् र युमासाम सन्तानहीन छन् । सन्तान चिन्ता गर्दा मिहिनेत गर्दा पाइने वस्तु होइन, तर लागि पर्दा श्रम र मेहनत गर्दा आफूलाई पुस्तौं–पुस्तासम्म परिचित गराउँन सकिने त्यस्तो प्रतीक बनाउन सकिने कुरा योजनाकारका रुपमा युमासाम आफ्नो लोग्नेलाई बताउँछे । कथाकार ओलीका नारी पात्रहरु बिछट्टका छन्, चाहे त्यो ‘अमर निशानी’ मा होस् या ‘बोखिमको माया बगिरहन्छ होस्’ नारी योजनाकारका रुपमा आएका छन् । यस प्रदेशमा वा क्षेत्रमा बसोबास गर्ने मान्छे कर्मशील छन् खाली हात बस्तैनन् । यहाँका पात्रहरु चिन्तनशील हुन्छन् । नारी र पुरुषमा भेद गर्दैनन् यस भेगका लेखकहरु । कथाकार ओली खेताला, गोठाला, भरिया, कलाकार सबैलाई चिनाउन सफल छन् । यस कथामा ‘थेवाहाङ्’ को कलाकृतिले तेह्रथुमको इज्जत राखेको छ । आठराईवासीलाई पोखरी–छाते ढुङ्गाले परिचित गराएको छ । आफ्नो व्यक्तिगत पहिचानको लागि थेवाहाङ्ले छाते ढुङ्गाको रचना गरे पनि अहिले तेह्रथुम बासीहरुका लागि नै नमेटिने निशान बनेको छ ।
‘दुर्ग’ कथाको वाचाङ्ग आफ्नो विगत सच्याउन चाहन्छ, आफ्नो छोरो ओजाहाङ्लाई आफूले गरे जस्तो गल्ती नगर्न सल्लाह दिने परिकल्पना गर्छ । अर्काको लहैलहैमा लागेर १५ वर्षसम्म ‘दुर्ग’ मा कैद हुँदाको क्षणमा ऊ विक्षिप्त बने जस्तो देखिन्छ । आफूले जे गरे पनि आफू विश्वस्त नभई त्यस कार्यमा आफू पूर्ण परिचित नभई नलाग्न कथाकार ओली सल्लाह दिन्छन् । जादुगरी झैं मान्छेको उपस्थिति बिनाको डोरीको आगमन, डोरीले चौतारामा पु¥याएको चित्रण, वटुवाले ‘तिम्री श्रीमती मृत्युका दिन गन्दै तिम्रो नाम जपिरहेकी छ, तर तिमी जीवित नभएको मरिसकेको चर्चा गाउँमा छ’, जस्ता कुरा वटुवाले भने पछि– ‘घर देखाई देऊ मेरी श्रीमती मलाई चिन्दछे’– भनि घर पुगेको बावु बाचाङ्गलाई छोरोले चिन्दैन, यो बुढा मेरो बाबु हुन सक्तैन, ‘दुर्ग’ पुगेको मान्छे फर्की आएको इतिहास छैन । वाजहाङ र सुकमतीको हेराहेर पछि उपस्थित सबै ती जोडीको अपूर्व मिलनलाई हेराहेर गर्दछन् र गरिरहन्छन् ।
यस कथा–सङ्ग्रहमा सरोज ओलीका १७ वटा कथात्मक सन्ततिहरु समावेश भएका छन् । पात्रका हिसाबले, विषय वस्तुको चयनका दृष्टिले, प्रकृतिचित्रण र वर्णनका दृष्टिले, नारी पात्रलाई दिएको सम्मानका दृष्टिले, ऐतिहासिक विषयका दृष्टिले, वर्तमानको खिचलोयुक्त द्वन्द्व समायोजनाका हिसाबले स्टेथिस सागरबाट उठेका पहाडहरु कथा–संग्रहका कथाहरु पठनीय विश्लेषणीय मैले ठानेको छु । ‘ओलीका कलमबाट लिपिवद्ध भएका विचारबाट उव्जिएका पाण्डुलिपिका रुपमा थन्किरहेका प्रकाशन पर्खिरहेका सबै विचारबाट उब्जिएका पाण्डुलिपिका रुपमा थन्किरहेका प्रकाशन पर्खिरहेका सबै साहित्य पाठक सामू आउन्’ यही कामना गर्दै ओली सरले मलाई माया गरेर भूमिका लेख्न दिनुभएकोमा मेरो कलमले दिनु पर्ने जति दिन नसके पनि यस्तैमा यो पटक सन्तोष मानिदिनु हुन पाठकहरुसँग अनुरोध गर्छु ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 19 बैशाख, 2073

लेखकका अन्य रचनाहरु