बन्द

- विनयकुमार शर्मा नेपाल

बन्दको महिमा अपार छ जसरी खुल्लाको छ । नेत्र हुनेलाई बन्दको अर्थ छ, नेत्र नहुनेलाई बन्द व्यर्थ छ ।
बन्द हुनु उपायरहित हुनु हो, बन्द हुनु उत्पादनविहीन हुनु हो । बन्द आँखा चिम्लनु हो, बन्द बेवास्ता गर्नु हो । बन्द जानेर गरिएको होस् वा स्वस्फुर्त भएको होस्, बन्द चारैतिरबाट रोकावटको स्थिति हो । बन्द एक अर्थमा अन्धकार र अन्यौलग्रस्त परिवेशको सङ्केत हो । जसरी कालोको परिभाषा अन्धकार, अन्यौल, नराम्रो, खराब, कडा आदि आदि भनेर गरिन्छ, त्यसरी नै बन्द भन्नासाथ सामान्यतः सबैले बुझ्ने सजिलो अर्थ अर्थविहीन हुनु, थुनिनु वा थुन्नु वा सकिनु वा मर्नु वा इन्कार गर्नु भन्ने बुझिन्छ । के बन्दको कुनै अर्थ, कुनै फाइदा, कुनै राम्रो वा महङ्खव छैन त ? होइन त्यो पनि विलकुल होइन, जसरी मान्छेको शरीर मान्छेको निरन्तरको अभ्यासले उसको स्वभाव अनुकूल बन्दै गएको हुन्छ ठीक त्यसरी नै बन्दलाई प्रयोग गर्ने कुशल–अकुशल मान्छेका बुद्धिअनुसार मान्छे, समाज र देशलाई बन्दले त्यस्तै प्रभावमा पार्दछ ।
बन्द राम्रो हो, यदि बन्दले मानव आत्मालाई सच्चिदानन्दमा पु¥याउँछ भने । बन्द राम्रो हो यदि बन्दले देशमा छ्याप्छ्याप्ती बढेको अपराध, तस्करी, हत्या र हिंसा घटाउँछ भने । बन्द राम्रो हो यदि बन्दले मान्छेमा सकारात्मक कार्य गर्न ऊर्जा थप्न वा सिर्जनात्मक विचारको विकास गराउन सहयोग गर्छ भने । बन्द राम्रो हो यदि बन्दले मान्छेभित्र उत्कृष्ट चिन्तन, मनन र उत्पादनमा वृद्धि गर्छ भने । बन्द राम्रो हो यदि बन्दले देशमा यत्रतत्र सर्वत्र छरिएका वेश्यालय, मदिरालय, जुवालय बन्द हुन्छन् भने । जसले प्रत्यक्ष अप्रत्यक्ष मानव चरित्र र जीवन व्यवहारलाई प्रभाव पार्दछ । उत्पादन, विकास र सिर्जनालाई बाधा पार्ने, वेश्यावृत्ति, लागु पदार्थ, भ्रष्टाचार, पापाचार, दुराचार, तास, पासा र कौडाको खेल समाप्त पार्छ भने । नत्र त्यस्ता खेललाई बन्द गर्न नसक्ने, देशमा व्याप्त जाल झेल, झुट र लुटको खेतीलाई बन्द गर्न नसक्ने बन्द कति सार्थक होला खै ?
कुनै समय थियो, हाम्रा पूर्वजले युद्ध गर्नै पर्ने भएमा समेत धर्म युद्ध गर्दथे । युद्ध त युद्धै हो तर पनि युद्धमा समेत नियम हुन्थे, अनुशासन हुन्थे, आचार र विचार चल्थे । युद्धमा समेत नैतिकताको जुहारी चल्थे । युद्ध त युद्धै हो नि तर रामायण वा महाभारत कालका युद्धमा समेत शिष्टता थिए । युद्धमा अनुशासन तोड्ने होइन बरु नियमपालन गर्ने कुराको होड चल्थे । युद्धका आफ्नै चरित्र हुन्थे, आफ्नै नियम बाँधिन्थे, आफ्नै सीमा निर्धारण हुन्थे । युद्धमा विधि–नियम–आचार बाहिर जानेलाई दण्ड–सजायको त के कुरा र ? नियम–विधिमा नहिँड्ने नचल्ने युद्धनायक नै हुन्न थियो किनकि मान्छेको चेतन धरातलमा कर्तव्य र अधिकारको राम्रो ख्याल थियो । युद्ध त हुन्थ्यो – युद्धमा विश्राम पनि हुन्थ्यो, सूर्यास्तपछि युद्ध बन्द गरिन्थ्योे र सूर्योदयपछि युद्ध आरम्भ हुन्थ्योे तर आज जसले जसलाई हान्न–ढाल्न–झोस्न परेमा निशाचरझैँ रातको समय उपयोग गरिन्छ । लुकेर घातपूर्वक बदमासी गर्न सिकाएको छ मान्छेलाई आफैँले बनाएको परिस्थितिले । कोही दुर्योधनजस्ता पनि जन्मन्थे र नियम विधिलाई ताकमा राख्न खोज्थे तर आज किन हो, कसरी हो सबै सबै समाज–देश–मान्छेहरुले दुर्योधन मतिमात्र अँगालेको पाइन्छ । युद्ध त आजै पनि भइरहेकै छन्, युद्धमा नैतिक चरित्र त कहाँ हो कहाँ, नियम–विधि–विधान त कहाँ हो कहाँ, तापनि आजको युद्धमा पनि विश्राम त हुन्छ नै । युद्धमा विश्राम हुन्छ शक्ति सञ्चयको लागि, युद्धमा विश्राम हुन्छ अनुकूल व्यवस्थाको लागि, युद्धमा विश्राम हुन्छ सरसामग्री ओसारपसारको लागि, विश्राम पनि त बन्द हो । युद्ध बन्द गरिन्छ शान्तिको लागि, युद्ध बन्द गरिन्छ सुशासनको लागि, युद्ध बन्द गरिन्छ सम्झौताको लागि, युद्ध बन्द गरिन्छ जनताको सुरक्षाको लागि, तर कसैलाई थाहा छैन आज देश किन केको लागि बन्द भइरहेछ – दिनदिन चक्का जाम भइरहेछ, निरन्तर देश बन्द भइरहेछ । बन्द गर्ने–गराउनेको लक्ष्य के हो ? उद्देश्य के हो ? कसको लागि बन्द गर्ने ? ती पूरा कसले गर्ने हो ? किन गर्ने हो ? गर्नुपर्ने आवश्यकता हो वा होइन ? पूरा गर्नुपर्नेले सुन्छ कि सुन्दैन ? देख्छ कि देख्दैन ? बुझ्छ कि बुझ्दैन ? आजसम्मका बन्दले कुनै उपलब्धि दिएको छ वा छैन ? अबका बन्दले उपलब्धि हुने हो वा होइन ? कुनै व्यक्ति वा दल वा समूह वा वर्गको पछि लागेर तिनको स्वार्थको लागि राष्ट्रिय अर्थतन्त्र नै बिग्रने गरी, सामान्य जनताले बाँच्नको लागि दैनिक गर्नुपर्ने कार्यमा बाधा पारेर जनतालाई सताउन गरिने सबै खाले बन्द गर्ने÷गराउने राष्ट्रघाती हुन् कि होइनन् ? बन्दको अर्थ तब हुन्छ, जब हेर्नुपर्नेले हेर्छ, सुन्नुपर्नेले सुन्छ, गर्नुपर्नेले गर्छ, तर सबै अन्धा–बहिराहरु नै शासक भएका देशमा बन्दको के अर्थ ?
कुनै समय वा आजकै समयमा समेत भ्रष्टाचार, दुराचार, ठगी, छली, हत्या आदिमा वापत्ती लागेकालाई समाजमा खुल्ला घुमेर पुनः अर्को बदमासी गर्न नपाओस् भनेर जेलमा बन्द गरिन्छ । अझै क्रुर
अपराधीलाई कालकोठरीमा बन्द राख्ने पुरानै चलन हो । जुनसुकै तरिकाको बदमास वा अपराधीलाई जेलमा राखेर बन्द गर्नु सबैभन्दा सजिलो उपाय ठान्दछन् शासकहरु । अपराधीलाई नेल लगाएर जेलमा ठोकिदियो उसको जीवनको यावत् चलखेल बन्द । त के अपराधी हो यो देश ? बन्दैबन्द गर्ने गराउने नेता कार्यकर्ता जन्माउने देश अपराधी हुनाले बन्द गरिएको हो वा देश, समाज, जनताको हितमा केही नाप्न नसक्ने, मात्र आपूm र आफ्नाको भुँडी उक्साउने, नानाविधि कार्यमा डुबेर देश बन्द गर्ने गराउने नेता–कार्यकर्ता अपराधी हुन् ?
एक पटक मैले सुनेको थिएँ, कतै अखबारमा पढेको थिएँ । जापानको एउटा भूमिगत बाटोमा दुई मिनेट बत्ती निभेर अक्सिजन पस्न नसक्दा तीनचार सय मान्छे भुतुभुतु मरे रे ! फ्रान्समा एकपल्ट दुई दिन देश बन्द हुँदा त्यहाँका मान्छेका बाँच्ने अधिकारप्रति आघात पारिएको भनेर, विकासक्रम र उत्पादनक्रम पछि पारिएको भनेर, देशको राजस्व सङ्कलन, जसको देश विकासमा ठूलो हात हुन्छ–बन्द पारिएको भनेर अनि सत्तामा बस्नेले विपक्षीलाई बन्द गरेको भनेर र सत्तामा बस्नेलाई विपक्षीले बन्द गर्न बाध्य पारिएको भनेर महाअभियोगको प्रस्ताव दर्ता गरिएको थियो रे ! यहाँका पक्ष र विपक्षलाई भने बन्द किन ? केको लागि ? त्यसको उपलब्धि के ? त्यसबाट देश अर्थतन्त्र वा उत्पादनको हिसाबले कति पछाडि पर्छ भन्नेसम्म थाह हुन्न, धन्न नेपाली नेता ! धन्न नेपाली सोझा जनता !
विपक्षी त त्यसै पनि विपक्षी, विरोध गर्नु उनीहरुको कर्तव्य रे ! अनि सत्तासीनहरुले खाएका नोट, चढेका पजेरो, बसेका आवास, भोगेका भोग देखेर राल तुरूरूरू झरेपछि बुद्धि नै बन्द भएका विचराहरु अनि पक्षीय वा सत्तामा बस्नलाई सत्ताको मादमा मात चढेर देशको राजस्व, विकास गति बन्द गराउने वातावरणको सिर्जना गराएर देशलाई पछाडि धकेल्ने काम गरे वापत महाअभियोग लगाएर जेल–नेल ठोक्न पाउनुपर्छ हामी जनताले भनेर देश अनिश्चित काल बन्द गर्न÷गराउन पाउनुपर्छ, जनताले जनतालाई जनताद्वारा गरिने शासन यदि लोकतन्त्र हो भने । नत्र भने बरु सबै दलका नेता र कार्यकर्ताहरुलाई बन्दले के र कति हानि–नोक्सानी गर्दछ भनेर बुझ्न–सिक्न–पढ्न पाइन्छ भनेर अनि त्यस अवधि–भरको खर्च डलर भुक्तानी पाउने लोभ देखाएर युरोप–अमेरिकातिरै पठाइदिए के फरक पर्ला र ? ती विदेश भ्रमणमा दङ्ग र यता हामी पनि आफ्नो सपना बुनाइमा दङ्ग । बरु त्यही मौका छोपेर देशको धन खर्चेर, देशमा योग्य बनेर श्रम–बुद्धि आदि खर्च गर्न र धन कमाउने निहुँमा विदेशी दास बन्ने, विदेशी भूमि टेक्ने सबैलाई यो देश छिर्न नपाइने बन्देज लगाई तिनलाई सधैँका लागि उतै बन्द गरिदिए के होला ? झन्झटै साफ कसो त ?
चेतना बन्द भए मान्छे सुस्त हुन्छ । मुटु बन्द भए जीवको अन्त हुन्छ । डाक्टरको कैँची, लेखकको कलम, वकिलको बहस, सिपाहीँको बन्दुक बन्द भए के होला ? बत्ती बन्द भए संसार अँध्यारो हुन्छ, उद्योग–कलकारखाना–उत्पादन बन्द हुन्छ । सूर्र्यको ताप, स्त्रीको रज, पुरूषको वीर्य नै बन्द भए के होला ? बन्द बन्धन हो–मृत्यु हो र अन्तिम उपाय पनि हो । अपराधीलाई जेल हालेर द्वार बन्द गरेझैँ आजकल विभिन्न धर्मका आस्थाका पुञ्ज बस्ने भावको महल मन्दिर, मस्जिद, गुरूद्वार, चर्च, मठ, घ्याङ्सम्ममा सुरक्षाको कारण जेलजस्तै सिक्रीले बेरेर ताला बन्द गर्ने चलन चलिसकेको परिप्रेक्ष्यमा पृथ्वीले खाद्य उत्पादन नै बन्द गरिदिए के होला ? प्रत्येक घरमा एकै परिवारका आफ्नै सदस्य बस्दछन्, बाजेबजै–बाबुआमा–दाजुभाइ–दिदीबहिनी–पतिपत्नी–छोराछोरी आदि तर के कसैको कसैप्रति विश्वास छ ? भरोसा लायक कोही छ ? त्यसैले त घरभित्रको कोठा, कोठाभित्रको दराज, दराजभित्रको सेफ सबका सब बन्द छन्÷गरिन्छन् । बाह्य चोरभन्दा भित्री चोरको बिगबिगी भएको देशमा नेताले–कार्यकर्ताले–डाक्टरले–इन्जिनियरले–लेखकले–नाउले–डकर्मीले–सिकर्मीले–सुचिकारले–कुचिकारले–कलाकारले–उत्पादकले–बिक्रेताले–उपभोक्ता आदि सबैले आलोपालो बन्द गरे त के बिराए ? सबैलाई आफ्नो दुनो सोझ्याउनु छ र अरुको दुनो बन्द गर्नु छ, आखिर जसरी भए पनि बन्द गर्नु न हो ?
अदालतमा मुद्दा परे छेकथुनको लागि अनेक बन्देज लगाइन्छ । घरका कुकुर–कुखुरा–गाई–बाख्रा हराउलान् वा अरुको बाली खाएर दण्ड तिर्नुपर्ला भनेर खोर वा गोठमा बन्द गरिन्छ । आमाको दूध खान पाउनु बच्चाको अधिकारै भए पनि दूधचोरहरुले बच्छालाई बाँधेर बन्देज लगाउँछन् । बन्देज बन्द हो र बन्द बन्देज हो । बन्द र बन्देजका अनेक तरिका र तिकडम छन् । बन्द निषेध वा मनाही वा इन्कारको लागि पनि गरिन्छ । नियम–कानुनविरूद्ध काम गर्ने–गराउने व्यक्ति होस् वा संस्था वा मानवहितविरूद्ध वस्तु उत्पादन गर्ने कल–कारखाना वा समाजलाई नकारात्मक सन्देश दिने वृत्ति–कृति–पेसा आदिलाई सरकारले बन्द गराउने चलन जताततै जुनसुकै देशमा छ, तर बन्दको उपलब्धि र सार्थकताको पनि अति आवश्यकता छ, नत्र व्यर्थ जनतालाई समस्यामा पार्न गरिएका जुनसुकै र जस्तोसुकै बन्दले मुलुक अन्ततः हरेक क्षेत्रमा पछाडि मात्र सर्दछ, अगाडि बढ्दैन । यस्तो कसैलाई फाइदा नगर्ने, कसैको बन्द आँखा नखोल्ने, बन्द गर्ने–गराउनेहरुले आफ्नो आँखा अब पनि नखोले जनताले तिनको आँखा फेरि कहिल्यै बन्द नहुने गरेर खोलिदिन के बेर ?
हेरेर आँखाबाट दिमागसम्म, सुनेर कानबाट ब्रह्मरन्ध्रसम्म, सुँघेर नाकबाट इन्द्रियसम्म र हात–खुट्टा चलाएर सम्पूर्ण शरीरकै शक्ति नष्ट हुने हुनाले ज्ञान–चिन्तन–मननका लागि शक्ति सञ्चय गर्न ध्यान गर्थे–बोली बन्द गर्थे–आँखा बन्द गर्थे र मनबाट आत्मासम्म पसेर स्वर्गीय आनन्द प्राप्त गर्दथे, कुनै समयका हाम्रा पूर्वजहरु । उनीहरुको जीवनको बन्द मोक्षको लागि हुन्थ्यो, आँखाको बन्द ध्यानको लागि हुन्थ्यो, तर आजको नेपाल बन्द सोझा–गरीब–श्रमजीवी जनताले बाँच्न पाउने–खान र लाउन पाउने अधिकारमाथि निहित स्वार्थमा फँसेर बन्द गराइरहेछन् बन्द–कर्ताहरुले । यस्ता बन्दले घाटै घाटा, नोक्सानै नोक्सान, हानि नै हानि भइरहेछ । हेर्नुपर्ने, देख्नुपर्ने, बोल्नुपर्ने, गर्नुपर्ने र देश चलाउँछु भनेर अनेक नैतिक–अनैतिक तिकडम मच्चाएर सत्ता सम्हाल्नेहरु मौन छन्, चुप छन् र आफ्ना दिमागमा ताला ठोकेर बुद्धि बन्द गराइरहेछन् ।
हर्केको बाबु काठमाडौँमा ज्यामी काम गरेर गुजारा चलाउँथ्यो । हर्के पूर्वाञ्चलको एउटा कारखानामा मजदुरी गथ्र्यो । रोगले ग्रस्त हर्केको बाबु नौ दिनको नेपाल बन्दमा औषधी खान नपाएर भुतुक्क भो । छोरा बाबु मरेको खबरले काठमाडौँ हिँड्यो तर बन्दले बीच बाटोमै फस्यो, छ दिन पिल्सियो, न बाँच्न सक्यो न मर्न ।
कालेको घर हेटौँडामा थियो । काले पश्चिमाञ्चलमा जागिर गथ्र्यो, कसैले मौका छोपी उसका घर सरकारी कार्यालयका कर्मचारीसँगको मिलोमतोमा नक्कली पूर्जा बनाएर बेचिदिएछन् । काले महिनैपिच्छे हेटौँडा आउँथ्यो र अदालतमा हाजिर बजाउँथ्यो । नेपाल बन्दका कारण उसका दुई पल्टको पेशी फुस्कियो, तेस्रो पल्ट पनि मधेस आन्दोलनले ऊ पुग्न सकेन । उपस्थित हुन नसकेकै कारणले उसले मुद्दा हा¥यो र आफ्नो भएभरको सम्पत्ति घरबारी गुमायो ।
सन्तेकी स्वास्नी आजभोलि सुत्केरी हुने थिई । रातको एक बजे बेथा लाग्यो । नेपाल बन्दले यातायात पाएन । उल्टो आधा झरेको बच्चा समेत बोकेर छिमेकीले नजिकैको अस्पताल पु¥याए, तर बिडम्बना बाटैमा सन्तेकी स्वास्नी मरी, अस्पताल पुग्दा नपुग्दै बच्चा पनि म¥यो ।
रामे कामको सिलसिलामा आफ्नो घरभन्दा टाढाको शहरमा थियो । यसले अचानक खबर पायो उसका बाबु मुटुको व्यथाले अस्पताल पु¥याइयो र अहिले कोमामा छन् । रामे नेपाल बन्दमा पथलैयामा दुई दिन फस्यो, खूब अतासियो, इन्तु न चिन्तु बन्यो । यस्ता अनगिन्ती पीडितहरुको सरापले होला यो देशका नेताहरुको बुद्धिको घैँटो बन्द भएको ।
नेता–कार्यकर्ताको त बुद्धि पलाएन पलाएन, माष्टर–प्रोफेसर–लेखक आदि आउँदा पुस्ता र युगका गुरू हौँ भन्ने विद्वान्हरु पनि पैसाको लागि आफ्नो बुद्धि–विवेक बन्द गरिरहेछन् यहाँ । मानवीय भावना र जीवनसँग गाँसिएको वृत्ति गर्ने देशसेवी, मानवसेवी भनिने डाक्टर, पुलिस, न्यायाधीशसम्म पनि बन्द गरिरहेछन् पैसाको लागि आफ्नो कर्तव्य भने, श्रमजीवीको त के कुरा र ? पैसा हुनेको लागि पनि बन्द, पैसा नहुनेको लागि पनि बन्द । खल्तीभरि पैसा त छ, तर दाल चामल किन्ने पसल बन्द छ । गाडी पनि छ–उद्योग पनि छ–बैँक व्यालेन्स पनि छ, तर ग्यास डीपो–तेल डीपो बन्द छ । श्रमजीवीको घरको चुल्हो नै बन्द भएका छन् । एकातिर तेलबाट सरकारले खरबौँ खरब भ्याट असुल्छ र अर्कोतर्फ दिएजस्तो गरेर लाखौँ अनुदान दियौँ भनेर जनतालाई थाङ्नामा
सुताउँछ । यो परम्परालाई जोसुकै खाओवादी आए पनि तोड्न सकेनन् । सरकारले भ्याट लिन छाडेर एकपल्ट मूल्य समायोजन गरेर बढे बढ्ने, घटे घट्ने परम्परा कसले पो ल्याउला खै ? जनताले बाँच्न नभई नहुने वस्तुहरुमा कर उठाएर भुँडी उक्साउन पल्केका नेताहरु जो आए पनि तैँ चुप मैँ चुप ।
सरकारी स्कुलमा हण्डी खाएका अझ वृत्ति पाएर पढेका व्यक्तिहरु विवेक नै बन्द गरेर बोर्डिङ्हरु खोलेर हामी कसैले दिन नसकेको उत्कृष्ट शिक्षा दिन्छौँ भनेर कुर्लेर जनतालाई चुस्नु चुसेको कसले बन्द गर्ने होला खै ? कतै नबिकेको नालायकलाई पढाउन लगाएर निजी स्कुलले शतप्रतिशत विद्यार्थी पास गराउँदा शिक्षाको प्रमाणपत्र–लोकसेवा वा सेवा आयोगको प्रमाणपत्र–योग्यता पास गरेर अनुमतिको डिग्री भिरेका–तीनतिरबाट योग्य कहलाइएका माष्टर–प्रोफेसरले पढाएका स्कुल कलेजका नब्बे पन्चानब्बे प्रतिशत विद्यार्थी फेल हुँदासम्म तिनलाई नैतिकता र कर्तव्यको बोध गराउन नसक्ने झन् उल्टो थप सुविधा उपलब्ध गराउने नीति बनाउने कमिसनको खेलमा डुबेका नेताको एक दिन जनताले के बन्द गर्ने हुन् हेरौँ । बाह्र वर्षमा खोलो त फर्कन्छ भन्छन्, पक्कै जनताको दिन एक दिन त कसो नफर्कला र ? अनि त्यस दिन तिनै नेताका सन्ततिले सत्तोसराप गर्न बेर छैन यहाँ तिनको ।
एक करोडमा एउटा मेसिन किनेर दसौँ वर्षसम्म त्यसैलाई जोतेर वर्षमै दस करोड कमाउन पल्केका निजी अस्पतालहरुले मान्छेका बाँच्न पाउने अधिकार र पैसा शोषण गरेको कसरी बोलुन् र जनता ?
विचराहरुका आमा विरामी, बाबु विरामी, लोग्ने विरामी, स्वास्नी विरामी, सन्तान विरामी – घर बेचेर, जग्गा बेचेर, ऋण काढेर, जे र जसरी भए पनि उपचार त गर्नै प¥यो– भावनालाई बन्द गर्न नसक्नेले किन बन्द गर्दछन् देश ? बुझिनसक्नु छ ।
शिक्षामा ठगी, स्वास्थमा ठगी, श्रममा ठगी, कहाँ छैन ठगी ? अनि यसैभित्र पिल्सिएका हामी नेपाली बन्दमाथि बन्द गरेर अरु जोखिम निम्त्याउन तम्तयार ! किन एकजुट भएर प्रतिकार गर्दैनौ बन्द गर्नेहरुप्रति ? किन बन्द गर्न सक्तैनौ हामी तिनीहरुको बुद्धि ? किन बन्द गर्न सक्तैनौँ हामी तिनीहरुको मत वा भोट ? तिनीहरुको बाँच्ने अधिकार ?
दिन केही नसक्ने, गर्न केही नसक्ने, बाँड्न केही नसक्ने, एकलौटी आफ्नै मात्र स्वार्थ हेर्ने, दया–कल्याण–करूणा–भावना–सोच–विचार सबै सबै मारेर विज्ञान–स्वास्थ्य–दर्शन–उत्पादन केहीमा कुनै सिद्धान्त जन्माउन नसक्ने निर्माण गर्न र सिर्जना गर्न नसक्ने सयौँ वर्षदेखि बुद्धि बन्द गरेर बाँचेका हामीहरु हाम्रा पूर्वजले गरेका–राखेका संस्कार–संस्कृति–उपज–सिर्जना–विचार–उत्पादनमा गमक्क गम्केर, गजक्क फुलेर आफ्नो दिमागको घैँटा बन्द गरेर कति दिन बाँच्न सक्छौँ र खै ? हाम्रो आफ्नो मौलिक उत्पादन के ? विचार दर्शन के ? मेरो आफ्नो निमार्ण के ? त के हामी पुच्छर मात्र हौँ ? यदि त्यसै हो भने पनि किन कसैको पुच्छर नलागी बन्दै बन्द गरिरहेका छौँ त ? यो बन्द कहाँको आयात हो ?
सोच बन्द, विचार बन्द, जानकारी बन्द, ज्ञान बन्द, विवेक बन्द, श्रम बन्द, घर बन्द, कार्य बन्द, उत्पादन बन्द, सिर्जना बन्द, चौकी बन्द, अस्पताल बन्द, अड्डा बन्द, बाटो बन्द, गाडी बन्द सबै सबै पटक पटक बन्द हुने गरिने यो देशका मान्छेले भुँडीचाहिँ किन खुल्ला राख्ने ? यो पनि बन्द गरिदिऔँ टन्टै साफ ! अझै भनौँ भने चीन या भारत जो भूमिको हिसाबमा नेपालभन्दा ठूलो छ, त्यहाँ गएर एउटा पाँचैतिरबाट बन्द देशकै नापोको फलामे बक्सा बनाएर देशलाई नै घ्याप्प छोपिदिऔँ – सधैँको लागि, सबैको लागि, नेपाल बन्द, कसो ?

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 19 बैशाख, 2073

लेखकका अन्य रचनाहरु