आमाको डायरी

- भवानी क्षेत्री

धेरै लेखिए नारीलाई बिषय बनाएर नेपाली साहित्यमा कथा,कविता र गीत गजलहरू । ठूलाठूला उपन्यास लेखिए नारी रुप र सौदर्यलाई आधार बनाएर । लगनशीलता र सहनशीलता नारीका गहना हुन् भन्दै इज्जत जोगाउने ठेक्का दिइयो स्त्री जातिलाई । र, यी सबै कुरा साहित्य मार्फत समाजमा आए ।
परिणाम सुन्दरताको परिभाषा नै बदलियो । एउटा पुरुष सुन्दर हुन कोट पेन्ट, जुत्ता मोजा लगाउँछ । हामी नारीहरू छोटा लुगा लगाउनुलाई आफू सुन्दर हुनु ठान्छौँ । पुरुषहरू बल, बुद्धि र साहसलाई श्रृङ्गार ठान्छन् । हामी नारी आवरण सिगार्नुलाई सुन्दर हुनु ठान्छौँ । तर यसमा दोष नारीको होइन । शिक्षा र समाजको दोष हो ।
हामीले सिर्जना गरेका साहित्यको दोष हो । खगिन्द्राका कथाहरू पढेपछि लाग्छ नारीहरूलाई जरैदेखि दह्रो बनाउन यस्ता कथाहरू लेखिनु पर्ने थियो हिजैदेखि ।
उनको पहिलो कथा ‘आमाको डायरी’मा जुन बिषय उठान भएको छ, त्यो नारीलाई मजबुत बनाउने बिषय हो । उनको कथा प्रस्तुतिको शैली पनि राम्रो लागेको छ मलाई । पुस्तककै नाम भएको शीर्षकको कथा आमालाई बिषय बनाएर कथाहरू लेखिएको भए पनि खुसीको शैली नयाँ लाग्यो मलाई । डायरीका रुपमा आमाले आफ्नो कथा व्यक्त गरेकी छन् र त्यो आफ्नै छोराले पढेको छ । खगिन्द्रा दह्री लाग्थिन् मलाई, कथाहरू पढे पछि झन् दह्री लागिन् ।
दोस्रो कथा ‘चियाबारीकी दिदी’ सम्भवत यो सङ्ग्रहभित्रको सबैभन्दा सुन्दर कथा हो । नारी मान्छे हुन नपाएको र चियाको बोट बोट हुन नपाएको कुरालाई मसिनो ढङ्गले केलाएकी छन् लेखकले । बोनसाइ गरिएका बोट बिरुवा र नारी उस्तैगरी बनेको बिषय बडो मिठोगरी प्रस्तुत भएको छ ।
‘घातको उपज–नयाँ जीवन शैली’ कथामा बिदेशिएको लोग्नेले दिएको धोकालाई बिषय बनाइएको छ । यो बिषय बर्तमानमा बिकराल समस्या बनेको छ । बर्तमानमा नेपाली नारीले भोगिरहेको दुःखद् पक्ष हो । बिषय समसामयिक छ, कथा मन छुने छ ।
लेखकले ध्यान दिनु पर्ने थोरै कुरा छ यसमा । पछि धोका हुन्छ भन्ने कुरा अगाडि नै खुल्छ । यसरी नखुल्दा अझ सुन्दर हुने थियो कथा । पाठकमा अगाडि पढ्ने उत्सुकता जगाउनु कथा सफल हुनु हो लाग्छ मलाई । तर धेरै कथाहरू पढ्दा कथाको अन्त्य कसरी होला भनेर अन्दाज लगाउन सकिदैन र यो एकदमै सवल र सुन्दर पक्ष हो भन्ने ठाने ।
‘शान्ति’ कथामा भुटानी शरणार्थी र भारतकी केरलाबाट नेपाल अएकी श्रमिकको कथा सुन्दर ढङ्गले प्रस्तुत गरेकी छन् । यो कथा पढ्न सुरु गर्दा लाग्छ ‘आमाको डायरी’ कै कथा अघि बढ्दै छ । तर यो कथा बेग्लै बिषय बोकेर आएको हुन्छ । मन छुन्छ यो कथाले उस्तै गरी ।
सहयोग र प्रेमको जाल थापेर फसाउँछ पुरुष पात्र शरणले नारी पात्र शान्तिलाई र उपहारमा एउटी छोरी थपिदिएर अमेरिका उड्छ । केही समय सहयोग पनि गर्छ उसले । यो कथामा पनि नारी शोषित हुन्छे, तर दोषी ठान्दिन शरणलाई ।
‘मेरो बलात्कृत नारीबाद’ शीर्षकको कथा भित्र शोषणको नयाँ रुप देखाएकी छन् लेखकले । ‘प्रेम र पारिजात’ कथा एउटी स्वाभिमानी केटीको शालिन प्रेम कथाका रुपमा आएको छ । तीलाको स्वाभिमान उच्चकोटीको छ । माछा देखे दुला हात, सर्प देखे पाखा हात गरेकी छैन उसले । असहज परिस्थितिमा लिएको निर्णय परिस्थिति सहज भएपछि पनि परिवर्तन गर्दिन उ । यो चाहिँ सिक्नु पर्ने पाठ हो प्रेम गर्नेहरूले ।
एउटी मानसिक रुपमै आँटीली र हिम्मतिली केटीको प्रेम कथा हो ‘रातो गाडी’ शीर्षकको कथा । प्रेममा धोका खाँदा आत्महत्या गर्ने धेरै केटीहरूको निम्ति गतिलो शिक्षा हुन सक्छ, आँट र जीवन ज्युँन पुग्ने खुराक हुन सक्छ यो कथा ।
‘स्टाटससँगै डिलिट भएको प्रेम’ नामको कथा अलि कठोर छ । यो कथालाई मिलन बिन्दुमा अवतरण गराउन पथ्र्यो भन्ने लाग्यो मलाई । यति कठोरता हँुदाहुँदै पनि एक्लै बाँच्ने अठोटलाई भने प्रशंसा गर्न मन लाग्छ ।
बैदेशिक रोजगारीले बर्तमानमा भित्र्याउँदै गरेको बिकराल समस्याको समाधानका रुपमा लेखिएको लाग्यो ‘उज्यालो आकाश’ । गल्ती दुबैतर्फ हुने तर सजाय एउटाले मात्र पाउने गरेको सामाजिक कानून प्रणालीलाई शिक्षा र सबक दुबै हो यो कथा । स्यावास र सजाय बराबरी हुनु पर्छ भन्ने यो कथाको उद्देश्य हो भन्ने लाग्छ ।
नारीले गरेको दुःखको फल पुरुषले मात्र खाने अथवा लोग्ने स्वास्नी मिलेर कमाउने सम्पूर्ण हक चाहिँ लोग्नेको मात्र लाग्ने कुराको बिरोधमा लेखिएको कथा हो ‘यो घर मेरो पनि हो’ ।
स्वास्नीले आफुले कमाएको सम्पत्ति लोग्नेबाट अंशमा लिन पर्ने बाध्यता छ यो देशमा । जति नै दुःख गरे पनि अझ आफैले मात्र काम गरेर धन सम्पत्ति जोडे पनि त्यो सारा सम्पत्ति लोग्ने कै मात्र हुने कानुन परिवर्तन हुन पर्छ । र, व्यावहारिक हुन जरुरी छ भन्ने सन्देश यो कथाले दिन्छ ।
सन्तान नहुनुमा वा, छोरी र छोरा हुनुमा पुरुषको हात हुन्छ । दोष भए पनि पुरुषकै बढी दोष हुन्छ । समाजमा भने यी सारा दोष नारीलाई लगाइन्छ । दोष बोकेरै रुँदै जीवन बिताएका छन् थुप्रै नारी । तर ‘बाँझो धरती’की पात्र धरालाई यो मन्जुर छैन । स्वीकार्दिन ऊ बीर्य बिना हराभरा हँुदैन नारी जीवन भन्ने कुरालाई । अनावश्यक बन्धन खोल्न खोजेको छ यो कथाले ।
‘ज्यामद्वार’ लोकोक्तिमा आधारित छ । भर्खर बस्ती बस्तै गरेको जङ्गल युगको कथामा पनि नारी पात्रहरू दर्बिला छन् । तीन नारी र एक पुरुष पात्र भएको यो कथामा पनि हिम्मतका साथ जीवनको उज्यालो तर्फ नै उक्लेका छन् नारी पात्रहरू ।
केही सामन्य त्रुटीहरू पनि छन् सङ्ग्रहमा । ‘आफ्नो कुरा’ मै नामहरू दोहोरिएका छन् । त्यस्तो नहँुदा राम्रो हुने थियो । कथाका मूल पात्रहरूको नाम पनि दोहोरिएको छ । केहि ठाउँमा नराख्दा पनि हुने शब्द र वाक्यहरू छन् । केही ठाउँमा ती वाक्य नराख्दा अझ् राम्रो हुने पनि देखिन्छ । ‘चियाको बुटा’को कुरा ‘मेरो बलात्कृत नारीवाद’मा पनि आउँछ । जवकि तिनै कुरा ‘चियाबारीकी दिदी’मा आइसकेको हुन्छ । तर यी सामान्य त्रुटि हुन् ।
सारमा कथाहरू चोटीला छन्, साहसिला छन्, परम्परागत कथा भन्दा भिन्न छन् । एक से एक अझ कतिपय ठाउँमा पत्याउनै नसक्ने गरी हिम्मत भएका पात्रहरूले रोचक बनाएका छन् कथालाई । कथाहरूमा लाचार कठपुतली पात्र कतै भेटिदैनन् ।
समाजमा नारीहरूले भोग्नु परेका दुःख, धोखा, जाल झेलकै बिषयमा कथाहरू बनेका छन् । तर खुसीका पात्रहरू बिष खाँदैनन्, पासोमा झुण्डिदैनन् अथवा आत्महत्या गर्दैनन्, बौलाउँदैनन्, डिप्रेसनमा जाँदैनन, अत्तालिदैनन्, अव्यावहारिक हुँदैनन्, दयाको भिख माग्दैनन्, हरेस खाँदैनन् । बरु घटनाहरूलाई सहज मानिदिन्छन् ।
जसरी रात पर्नु र सूर्य उदाउनु स्वाभाविक हो, त्यसरीनै जीवनमा दुःख सुख आउनु पनि स्वाभाविक हो को शैलीमा अपनाउँछन् घटनाहरूलाई । बडो सहज ढङ्गले समस्याहरूसँग लड्छन् । कथाको मूल सन्देश पनि यही हो भन्ने लाग्छ मलाई ।
साँचो अर्थमा नारीबादी कथा हुन् यी । नारीलाई पूर्ण मानिस बोध गराउँदै लेखिएका जीवनबादी कथा हुन् यी र यही जग माथि उभ्याउन पर्छ अबको समाजलाई ।
समाजको नारीलाई हेर्ने दृष्टि परिवर्तन गर्न यस्ता कथाहरू लेखिनु पर्छ । अनि मात्र यो समाज साङ्ग बन्ने छ । र, यी कथाहरू खगिन्द्राहरूले नै लेख्नु पर्छ । अथवा नारीहरूले नै लेख्नु पर्छ । बधाई र शुभकामना खुसीलाई ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 19 बैशाख, 2073

लेखकका अन्य रचनाहरु