चिठी

- पुण्य खरेल

“बधाइ स्वीकार्नोस् अध्यक्षज्यू एक सहयात्रीको ! बाघको गुफामा मात्र बाघ जन्मन सक्छ ! अस्मिताले यो समाजको पुरातन संस्कारलाई चुनौती दिन सकी ! तपाईंलाई बधाइ ! तर यो वर्तमानमा फलामको चिउरा पनि हो ! चपाउन सक्नु होला !”
“तपाईंले आफैं उसलाई यसो गर्ने बाटो खोलिदिनु भएको हो अध्यक्षज्यू ! आफ्नो राजनीतिक सफलताको अन्ध दौडमा बाबुआमाको इच्छा, गाउँघर र समाजको मान्यतालाई तपाईंले गौण ठान्नुभयो ! जे भयो भयो । अब बाबुआमालाई सम्झाउनुहोस् ! बस् !”
“हामी त तपाईंका प्रतिपक्षी भयौं ! हामी त प्रतिक्रियावादी ! तपाईंहरू प्रगतिशील ! सम्झाउनु होस् बाबुआमालाई यो प्रगतिशीलता हो भनेर ! अस्मिता र मानबहादुर दुबै मान्छे नै हुन् भनेर विश्वास दिलाउनु होस् ! अस्मिताले मान्छेसँगै बिहे गरी भनेर आश्वस्त पार्नुहोस् !”
“अध्यक्षज्यू ! आजै उपाध्ये बाहुनकी छोरी दमाईंसँग ? तपाईंका नाकमा कालो लाग्यो ! ... तपाईंको राजनीति पनि सकियो ! तपाईंका बाबुआमा ! ... बिचरा ! बिहानभरि देवीदेवताको नाम जप्छन् ! यता नातिनीले धर्मकर्म सब नर्कमा हालिदी !”
“यतिकै बसेर हुन्न अध्यक्षज्यू ! कहाँ छन् खोज्नु पर्छ ! कसरी हुन्छ, छुटाउनु पर्छ ! जानीजानीकन आजै बाहुनकी छोरी र दमाईं ? अहँ ऽ! भोलिदेखि सब हामीसँग कुटुम्ब भन्न थाल्छन् । ... भन्नोस् ! के सहयोग गर्नुपर्छ ? जोरीपारीले काखी बजाउन नपाऊन् !”
“हेर मोहन ! भन्न त बाबुले यसो भन्यो भन्लास् ! तर तँ अलिक बढी उत्ताउलिएकै होस् ! त्यो कोनि कस्को मिटिङमा तैंले जातपातको बिरोध गरेको कुरा सुन्दा तैंले नै बाँदरलाई लिस्नु ला’को भनेर जो पनि भन्छन् । अब भन् त ! यो ठाउँमा के मुख देखा’र बस्नू ? तेरी आमा र मैले चाहिँ अब बाटो लागे भए छ ! हामीले अब देवघाटतिर लागे भएछ । अब बाँकी दिन त्यतैतिर बिताउनु पर्ला ! त्यो छत्रे दमाईंलाई सम्दी भनेर राडी ओछ्याउँछस् कि ? त्यस्को छोरो त्यो मानेलाई ज्वाइँ भनेर पुज्छस् कि ? तैँ गर् ... छि ऽ छि ऽ छि ऽ के के देख्नु पर्ने भो छोरा ! तँ यत्रो गाउँकै अध्यक्ष भएको ... मरेर गएकी भए पनि एक दिन दुई दिन, बिस्तारै बिर्सिइन्थ्यो ! सात डाँडा परिकोसँग टपक्क टिपेर हिडेकी भए पनि पो तैबरु ! मरिजास् ! पानीचल सम्मकासँग अन्भरिएकी भए पनि त खप्नू !”
“अब छुट्याउँदा पनि त साराले थाहा पाइहाल्यो ! दमिनी भनिहाल्छन् । ‘कोही छोराछोरी हुन्छन् कोही साहू हुन्छन्’ भन्छन् नि ! हेर् त ! अब यो बुढेसकालमा ! ठ्याक्कै बसैं हिडाइ है ! आमाले के भनी भन्लास् मोहन ! अब यस ठाउँमा हाम्रो भोग पुगेछ । कुन अनुहार देखा’र बस्नू ?”
“प्रथमा, मैले त भनेको भैगो क्याम्पस स्याम्पस अब ! आई ए पढीहाली भनेकै हो नि त ! अस्ति ती विराटनगरबाट अचार्ज आका थे । कस्तो ढिपी पनि गरे ! ‘क्याम्पस पनि पढाउँछु, नजिकै छ’ भने । बुद्धि पनि कुन कुनातिर पस्यो पस्यो ! अर्की छोरी पनि भए त एउटीले त्यसो गरे पनि अब अर्कीचाहिँ भन्नू ! थुक्क राँडी ! नपढाउँ भनेको स्वास्नीका कुरा चाहिँ सुन्नु हुने भए पो !”
“बालकृष्ण समको चिसो चुलो बल्ल तात्ने परेछ कि हँ अध्यक्षज्यू ! छोरीले चाहिँ तपाईंको सपना साकार पारी है ! अस्ति तपाईंले त्यो उत्पीडित जातीय उत्थान मन्चमा बोलेको ... तपाईं चाहिँ मुख मात्रै होइन है ! व्यवहारमै प्रगतिशील हुनुहुँदो रहेछ !”
मोहन यी सत्र थरीका जस र अप्जसको बिचमा यसरी फँस्यो कि ऊ जालमा परेको सिंह जस्तो भयो । उसलाई आफ्नो ताकतप्रतिको घमण्डमा कुनै आँच छैन, तर जालबाट उम्कन सक्ने पनि त होइन । अरु कसैलाई यस्तो परेको भए ऊ जस्तो पनि निर्णय तत्काल दिन सक्थ्यो । ऊ भनिदिन सक्थ्यो–
“माया मार ! मरि छे एउटी छोरी भन ! चित्त बुझाऊ !” भनिदिन सक्थ्यो ।
“जाउँ ! खोजेर ल्याउँ ! पानीमुनिबाट पनि निकाल्न सकिन्छ ! ल्याउँ छुटाउँ ! मानेलाई ? चाइँचुइँ गरेछ भने ठेकान लाउन ! म भएँ ... भन्नेले भन्दै गर्छन् ! सागरमा के छ के छैन ? उहिल्यैको मनपरी पनि हामीलाई थाहा छ ! वशिष्ठ रिसि कसका छोरा हुन् ? पराशर, ब्यास कसका छोरा हुन् ? हामीलाई थाहा छ !” भनिदिन सक्थ्यो ।
“केटीले केटो र केटोले केटी मन पराएपछि सकियो ! माथापच्ची किन गर्नू ? पछि थाकेर फर्केर आउँछन् भै हाल्छ ! अब पुरानो सोचाइ मात्र पालेर हुन्न ! सबैका छोराछोरी त्यस्तै हुन् ! कसैको देखिएको छ, कसैको देखिएको छैन, त्यति मात्र हो !” भनिदिन सक्थ्यो ।
यस्तै केही एक थोक भनिदिन सक्थ्यो । जुन कुरा भन्दा धेरैले ठिक ठान्थे त्यसैपटि आफू पनि लाग्थ्यो । मुद्दा सल्टाइ दिन्थ्यो । तर आज उसलाई आफ्नै घुच्चुकका जुम्रा हेर्नु पर्ने जस्तो अप्ठेरो प¥यो । काखमा हुर्कीएकी छोरी । आँखा भरि छोरीको माया झल्झली छ । मनभरि सपना पत्रपत्र छन्– ‘डिग्री पास गर्छे, ठुली हुन्छे, धेरैकी सम्मानित हुन्छे, इन्दिरा गान्धी नभए पनि, कुमारातुङ्गा नभए पनि क्लाराजेटकीन हुन सक्छे ! समाजको कोही सम्मानितले प्रस्ताव राख्न सक्छ, सबै इष्टमित्रलाई ऊ निम्ता गर्छ, गोडधुवालाई ऊ निषेध गर्छ र प्रगतिशीलता देखाउँछ, मन्च बिहे गरेर देखाउँछ र अरुअरु छोरीका बाबुलाई छोरी पढाउने र बिहे गर्ने नयाँ नियम सिकाउँछ’ यस्ता सपना सब तुहिए । समाजका केही सोर–अठार वर्षे बाहेक सारै धेरै मानिसका लागि यो चित्त बुझ्दो भएन । धोका दिई उसलाई उसकी छोरीले, प्यारी अस्मिताले । कुदे गाडीहरू त्यस मानेबाट अस्मिताको अस्मितालाई अलग्याउन । छेउ छन्दै भेटेनन् । अस्मिता र माने कहाँ कुन ठाउँमा लुके लुके ! पूर्व, पश्चिम, उत्तर, दक्षिण, सानीमा, ठुलिआमा, फुपू, मामा, मामली सबैतिर खोजी भयो । मानबहादुरका नाताका घरहरू पैल्याउँदा झन् झन् मन कुँडिने प¥यो । मानेका सब नातेदारका घरहरू कस्ता रुखा सुखा ठाउँमा, प्याङ्खरमा, स्यालकुद्ने पाखामा मात्र ? सब झुप्राहरू, झुप्राहरू वरिपरि सुँगुरका खोर ! सुँगुरहरू ! फोहोर ! मैलाधैला झत्ता झुम्रामा बग्रेल्ती भुराभुरीहरू ! सम्झिँदै मोहन बिचलित होला जस्तो ! अस्ति मन्चबाट बोल्दाका शब्दहरू सब एक एक अजिँगरले ‘आँ’ गर्दाको मुख जस्ता भएर मोहनतिर फर्के ।
‘जातपातको कुरा गरेको दिन उसले यस्ता असभ्यहरूसँग पनि बिहेवारी गर्न हुन्छ त भनेको थिएन । यस्ता सबै नातापाता सब प्याङ्खरमा र स्याल कुद्ने ठाउँमा बस्नेहरूसँग बिहेवारी स्वीकार्ने त भनेको थिएन नि ! झुपै्र झुप्रावालाहरूसँग कुटुम्बेरी गर्ने त भनेको थिएन नि’ । उसले कुरा सच्याउन खोज्यो कि खोजेन थाहा छैन तैपनि कामी भए पनि, सार्की–दमाईं नै भए पनि सभ्य चाहिँ हुनै पर्छ भन्ने सोचे झैं पनि ग¥यो, अझ आर्थिक पहल पनि उसका चिन्तित मनमा कुदे झैं ग¥यो । ‘२÷४ बिघा जग्गा भए ! सहर बजारमा एउटा बस्न हुने घरसम्म भए !’ उसलाई आत्तिएर टट्टिएको मनले शीतल चौतारी खोजे झैं ग¥यो । घटनाले तेस्रो दिनमा प्रवेश गर्दै थियो ।
“ठुले ! भन्न त अप्ठेरो ! त्यस कपुतले तिमीहरूलाई बोहोरी बाबै ! कहिलेदेखि लागेकी थिई ? हुन त शोक परेका बेलामा मैले नभन्नु पर्ने, तर पनि आमा र सानीमा उतिकै हो ! आफ्नो जातपात भनेको फेरि फेरि पाइने कुरा पनि होइन । एउटा पुरेत बोलाएर यस्सो गउँत छर्किने, सबैलाई गउँत ख्वाउने काम गर् बाबै !”
“एउटा कुखुराको फुल फुटेको सम्झ अब ! त्यसलाई फर्काएर ल्याउँदा झन् इदं भ्रष्टं उदं भ्रष्टं हुन्छ । जत धर्म जस्तो कुरा ! मोहन भतिज ! तँलाई पनि त्यस्तै हो ! पुराना मान्छे दाजुभाउजूलाई पिर प¥यो बाबै !”
गाउँका पुरातन संस्कारका बुढौलीहरूका लागि अस्मिताले नगर्नु गरेकी थिई, पृथ्वी नै डुबाइ दिएकी थिई, धर्ती नै उभिण्डो पारेकी थिई । अर्कातिर संख्यामा कम भए पनि केही प्रगतिदूतहरूका लागि उसले खज्मजिएको संस्कार सच्याउने हिम्मत गरेकी थिई तथा प्रगतिशीलताको नेता नै भएकी थिई । पृथ्वी डुबाउने होइन डुबेको पृथ्वी उतार्न काँध हालेकी थिई ।
मोहनका बाबुआमा नातिनी एक छिन ढिलोसम्म घरमा आइ नपुग्दा– “होइन ए बुहारी ! औंसीको रात ... होइन अस्मिता किन आई पुगिन हँ ? तँ हेर्छेस् कि म हेरौं हँ बाटो ?” भन्दै निस्कन्थे । एक छिन टाउको दुखेर ओछेनबाट उठ्न ढिलो गरी भने– “सिटामोल सिटामोल” भन्दै औषधी पसलतिर लागि सक्थे । हिजोआज मोहनलाई भन्दैछन्– “अब त्यसलाई खोजेर ल्याउने ओर्ने कुरा बात दे ! हेर् ! हुँदैन ! भन्नेले अनेकथरी भनेको सुन्छु, खोजेर छुटाउनु भनेको सुन्छु । जुठो भात धोएर सफा हुन्न ! जो अबगाल पारी पारी ! अब कसो गर्दा जोरीपारीका आँखाबाट बच्न सकिन्छ ? हुन्छ भने यो जग्गा जमिन बेच् ! जाउँ कतै ! हुँदैन भने पनि त्यस मानेले फर्किएर यहीँ आउन नपाओस् ! जसरी भए पनि यो काम चाहिँ गर्नै प¥यो !”
आमासमेत आँखाभरि आँसु पार्दै भन्थिन्– “त्यस डुम्राले बा बिदेश लगेर बेच्छ ? बा कहाँ अलपत्र छाडेर भाग्छ ? के डरलाग्दो खबर आउन पनि बेर छैन ! पत्तो त लाउनु नै पर्ने बाबै ! त्यस्ती चलाख मान्छे थिई ! ... खोइ !”
मोहन अनजवाफ थियो । उनकी श्रीमतीको बोली बन्द भएको थियो । बेला बेला मुच्र्छा पर्थिन् । आँखाबाट आँसु बर्रर्र बर्रबर्र झार्थिन् । सधैं प्यार् प्यार् बोलिरहने तर यो घटनापछि जिब्रो झिकिए जस्तै भएकी थिइन् । पिटिक्क केही बोलेकी होइनन्, तर आँखाबाट आँसु मात्र बगाउँथिन् ।
भोलि गाउँको साधारण सभा थियो । मोहन प्राणहीन बनेका थिए । अघिल्ला दिनसम्मको बाघ जस्ता मान्छे यो सानो घटनाले घाममा ओइलाएको कलिलो सिस्नो जस्तो भए उनी । समय पनि कस्तो छानेर हिडी उनकी छोरी अस्मिता ! मानौ बाबुको आस्मिता समेत लुटिदी । भोलि उनी त्यस सभाको अध्यक्षता कसरी गर्न सक्छन् ? अहँ उनका हात, खुट्टा, शरीर भतक्कै भए ।
गाबिसको पिउनले उनलाई एउटा चिठी ल्याएर दिए । उत्साहहीन हात र ज्योतिहीन आँखा उनले त्यस चिठीका खामका अक्षरमा गाडे । अक्षरहरू उनका आफ्नै रगत र पसिनाका रेखा जस्ता, उनका आफ्नै पिँढी छेउको गोरेँटो जस्ता ममतापूर्ण र चिरपरिचित थिए । कुनै अलमल थिएन । चिठीमा प्रेसकको नाम लेख्न कुनै जरुरी थिएन, तर लेखिएको पनि थिएन । उनले खोलेर भित्र हेरे–
पूज्य बुबा, हजुरबुबा, हजुरआमा !
चिठीबाट कसरी प्रणाम गर्नु पर्छ, अन्जान नै छु, तैपनि यथायोग्य स्वीकारीलिन अनुरोध गर्छु । मेरो अनुमान ठिकै छ भने अति धैर्यतायुक्त मेरो बुबा, यो चिठी पढिसक्नु भन्दा पहिले च्यात्नु हुने छैन । अझै मेरो अनुमान ठिकै छ भने म जसरी र जुन कार्य गरेर हिडेँ त्यसवापत अहिले मैले कसैको सहानुभूति, माया, सहयोग पाउँदिन र त्यो मैले आसा गरेकी पनि छैन ।
मलाई मेरो ज्ञानले साथ दिएकै हो र मैले ठिकै अनुमान गरेकी छु भने मेरा हजुरबुबा र हजुरआमा तथा गाउँका बुढापातको धार्मिक भावनालाई मेरो यो पलायनले बज्र प्रहार ग¥यो र यसले मेरो र मप्रतिको मायालाई चकनाचूर पा¥यो, तर मेरी आमा तथा बुबालाई यति भैकन पनि माया मूल कुरा भएर, धर्मभन्दा बढी प्रभावी भएर विचलित पार्न खोजेको हुनुपर्छ । यही अनुमानले मलाई अहिले चिठी लेख्न विवश पारेको छ । अरु त म भन्न सक्तिन तर, मेरो बुबाले पनि मप्रति त्यस्तै अनुमानहरू मध्ये यदि ठिकै अनुमान गर्न सक्नुभएको भए मलाई यो स्नातक सम्मको समाजशास्त्रको अध्ययन गरेकी र आजको हाम्रो दुनियाँ र देशको वस्तुस्थितिको भोगाई भोगेकी छोरी ठान्नुहुन्छ । अझ मेरी छोरी कुनै अबला होइन, त्यस्तो कमजोर छैन र भोलिको समाज व्यवस्थाप्रति चिन्तित भएकैले बिभिन्न धर्म र जातजातिको साँघुरा शत्रुतापूर्ण टुव्रmामा खण्डित हुन खोजेको समाजलाई त्यसबाट मुक्त गर्ने र जातीय संकरणबाट बन्ने साझा र समतामूलक समाज बनाउने बाटोमा अग्रसर संघर्षशील योद्धाको रूपमा बुझ्नुहुनेछ । अस्मितालाई कुनै मानबहादुरले बेच्न, फ्याँक्न, छाड्न वा आफल्न सक्तैन । अस्मिता यस समाजमा एउटा भूकम्प भएर आएकी छे । पुराना घरहरू जरैसँग चकनाचूर भत्काउँछे । केही संवेदनशील दृश्यहरू देखापर्न सक्छन् तर यो बाध्यता हो । यति नभै नयाँ निर्माण गर्ने ठाउँ नै हुँदैन । मानबहादुर त निमित्त मात्र हो, अस्मिताको नयाँ सडक निर्माण गर्ने आन्दोलनमा एउटा कोदालो बोक्ने ज्यामी हो । मानबहादुर परियार त्यो छत्रबहादुर परियारको छोरो हो, तर मैले यो छोटै समयको क्याम्पसको सह–जीवनमा बुझेकी छु, ऊ एउटा उर्जायुक्त, एउटा संघर्षशील व्यक्ति हो । यो पुरातन संस्कारको संहार गरेर मानवोचित संस्कारको निर्माणमा साथ दिन सक्ने ऊ एउटा अग्रदूत हो ।
हजुरबुबा हजुरआमाहरूलाई र मुमालाई यही चिठी देखाई दिए पनि वा कुरा बुझाई दिनुभए पनि हुन्छ । अब उहाँहरूलाई त्यस्तो कुनै यो भन्दा ठुलो चोट अहिले तत्काल पुग्ने छैन । एउटा निश्चित समयपछि समयले घाउमा खाटो राख्तै गएपछि एउटा सुगम पाराले अस्मिता फर्किन्छे र अस्मिताको फर्काइ कसैको आँखामा खुर्सानी हुने छैन, लालगेडी भएर नै फर्किन्छे । अस्मिता सुरक्षित छे र सुरक्षित ठाउँमा छे ।
धेरै वेर समय नलिई रहूँ होला ! बुबा ! मेरो बुबाजस्तै बुबा ! म अनुमान गरिरहेछु, तपाईंको अनुहारको चमक ओइलाएको छैन र ओइलाउने पनि छैन । तपाईं हरेक कुरालाई सकारात्मक रूपमा पुष्टि गर्न सक्नु हुन्छ नि ! तपाईंको पुष्टि खेर जाने छैन ।
प्यारो बुबाकी छोरी
अस्मिता
पत्र च्यात्ने उसको आवेश थत्मरियो । चिठीलाई लापर्वाहीसँग पट्याएर गोजीमा ख्वास्स घुसा¥यो ।
समयले आजको दिनको बिट मा¥यो । आजसाँझ उसले बुबासँग बात मारेन । आज साँझ उसले आमासँग बात मारेन । स्वास्नीसँग बात मारेन । मिठो नमिठो अलिकति मुखमा कोच्यो र आफ्नै शयनकक्षतिर बढ्यो । केही पत्रिकाहरू थिए । उसले पत्रिका हेरेन आज । भोलिको कार्यव्रmम वारे केही माथापच्ची गर्नु थियो, उसले गरेन । देशमा सत्तासीन रहेको सरकारी पार्टीका केही चुरीफुरीहरू सुन्नु पर्ने थियो रेडियोबाट, उसले सुनेन । सरकारी तामझाम हेर्नु थियो टीभीमा, उसले हेरेन । झुल झा¥यो र डङ्ग्रङ्ङ लड्यो । उसको दिमागमा फेरि दोहोरिए ती लाइन लाइन आलोपालो– “... म अनुमान गरिरहीछु तपाईंको अनुहारको चमक ओइलाएको छैन र ओइलाउने पनि छैन !” “... चमक ओइलाएको छैन र ओइलाउने पनि छैन !”
आज यस चिन्तनमा पनि उसको सदाको झैं हठी स्वभाव फेरि एक पल्ट हाबी भयो– “म ? किन ओइलाउने ? मलाई केही भा’को छैन । भए पनि केही उल्टोपाल्टो भएको छैन । अघि बढ्ने गति कहिले छिटो कहिले मन्द गतिमा हुनसक्छ । म केही पर्वाह गर्दिन ! भोलिको कार्यव्रmममा म उत्साहपूर्ण रूपमा भाग लिन्छु । हेरौ त कसको हिम्मत ? अस्मिताको कुरा कसले काट्छन् ? लु हेरौं त ! म जतिको बाबु हुँदा हुँदै !”
मोहनका मनमा अस्मिताको आकृति देशभक्ति लक्ष्मीबाई जस्तो बन्यो । बिभिन्न जागृतियुक्त फिल्मकी नायिकाको जस्तो बन्यो । उनले पृथ्वी उल्टिएको देखेनन् । पर्लय भएको खुट्याउन सकेनन् उनले । यो संसार थाम्ने जातीय जनैको डोरो कहाँनिर थियो र चुँडियो उनले पटक्कै पैल्याउन सकेनन् । यस्तै यस्तैमा कुन बेला कुन बेला उनी त भुसुक्क निदाए छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 19 बैशाख, 2073

लेखकका अन्य रचनाहरु