डायस्पोरा, भोजनालय र शशांक लामा

- बसन्त श्रेष्ठ

हालसालै फेसबुकमा शशांक लामाको "कामरेड भाउजू" पुस्तकको संक्षिप्त टिप्पणी पढ्ने अवसर पाएँ | बेलायतमा बसोबास गरेका साहित्यकार कृष्ण बजगाईंको उक्त पुस्तक नेपाली साहित्य बजारमा निकै लोकप्रिय पुस्तकको रुपमा गनिन्छ | हुन् त मैले सो पुस्तक पढ्ने मौका पाईसकेको छैन | तर शशांकको उक्त लेखले सो पुस्तक पढ्ने पर्खाईलाई धेरै हतारो चैं लागेकोछ | सो पुस्तकको बारेमा पढ़िसकेपछि केहि लेखौला तर अहिले चैं सो लेखले उठाएको दुइ अति महत्वपूर्ण सन्दर्भमा आफ्नो विचार यहाँ पोख्न मन लाग्यो | त्यसैले यो लेखें |

वास्तवमा शशांक लामा मेरा धेरै पुराना मित्र हुन् | उनी धेरै रमाईला, निर्भिक र प्रष्ट छन् | ब्यबहार अनि लेखन दुबैमा | उनी मन बाट लेख्छन् | देखेका कुरा निर्भिक भएर पोख्छन | लोलोपोतो घस्न उनी जान्दैनन् | फेसबुकमा उनको टिप्पणी पर्खनेको लाम हुन्छ | त्यसैले उनी न्युयोर्कमा मात्र होइन फेसबुकको परिधिले ओगटे जति नै उनी लोकप्रिय छन् | कतिले उनका खर्रा कुरा पचाउदैनन पनि | कहिलेकाहीं पढ्छु कसैसंग रस्साकस्सी मच्चिएको | उनि रसिक छन् कहिलेकाहीं उनका पोस्टले हास्न बाध्य पार्छन | तर धेरै जसो उनका पोस्टले गम्भीर बनेर बिकृति र विसंगतिलाई गतिलोसंग झापड दिन्छन अनि खबरदारी पनि गर्छन | यस मानेमा उनि जुझारु व्यक्तित्व हुन् |
काठमाण्डुमा उच्च अध्ययनको लागि उनी ताप्लेजुंगको ओलांगचुंग गोलाबाट र म तेर्हथुमबाट आउनु करिब करिब एकै समय नत्र केहि बर्षको फेर मात्र परेको हुँदो हो जस्तो लाग्छ | ओलांग्चुंग गोलाकै लाक्पा, दावा, सोनाम, लादेनला, तेन्जिंग, टासी अनि शशांक हामी सबैको भेटघाटको थलो थियो त्यो क्षेत्रपाटीको घर | धेरै समय हामीले बिद्यार्थी राजनीतिका गफ हाँकेका थियौं त्यो घरमा | अझै सम्झन्छु भेटघाट त बाक्लै पो हुन्थ्यो हाम्रो त्यहाँ |

त्यसरी भेटघाट र मित्रता भएको हामी हरायौं | थुप्रै बर्ष हराएछौं | अनि धेरै वर्ष पछिको अन्तरालमा एक दिन अनायास न्यूयोर्कमा भेट भो | सन्दर्भ थियो अमेरिका बसेर हामीले सम्पादन गरेको "उत्तर अमेरिकाका नेपाली कवि र कविता" संग्रहको विमोचनको अवसरमा | अचानक र जम्काभेट थियो त्यो | त्यसैले मैले अनुहार ठम्याए पनि नाम चैं सम्झन सकिन | त्यसपछि चैं हाम्रो थुप्रै पटक भेटघाट भएकोछ | फेसबुकले त हामीलाई अझ नजिक बनाएकोछ | त्यहि फेसबुकको माध्यमबाट नै उनले टिप्पणी गरेको "कामरेड भाउजू" पढ्ने अवसर जुरेको हो |

हुनत उनी साहित्यको बिद्यार्थी भएको नाताले उनको लेखन समिक्षा र टिप्पणी गर्ने जुन आफ्नै शैली छ त्यसलाई अब्बल दर्जाको छ भन्दा अत्युक्ति नहोला | जनजीब्रोको बोली र झर्रो लेख्ने उनको शैलीले गर्दा उनको लेखन धेरै लोकप्रिय छन् | उनको लेखाई एक स्थापित र खारिएको शैली छ भन्दा फरक नपर्ला हो | त्यसैले उनको "कामरेड भाउजू"को समीक्षा पनि स्तरीय नै छ |

उक्त पुस्तक समीक्षा फेसबुकमा सम्प्रेषण गर्दा उनले टिपोटमा लेखेका थिए "राजनीति सौचालय हो भने साहित्य भोजनालय हो" भनेर कुन्नि कल्ले भनेको भनेर उल्लेख गरेकोले सो विषयमा मेरो जानकारीमा भए अनुसार यहाँ लेख्ने जमर्को गरेकोछुं | त्यसरी नै उनले उठान गरेको "डायस्पोरा" सम्बन्धि मेरो विचार पनि यहाँ राख्नेछु |

बि.स. २०१३ सालमा भारतको नयाँ दिल्लीमा भएको प्रथम एसियाली साहित्य सम्मेलनमा भाग लिन स्व. महाकवि लक्ष्मी प्रसाद देवकोटाको नेतृत्वमा नेपालको साहित्यिक प्रतिनिधि मण्डल भारत गएको थियो |

नयाँ दिल्लीको विज्ञान भवनमा भएको सो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा तत्कालीन नयाँ दिल्लीका गभर्नर चिदम्बरम गोपालाचार्यले उक्त कुरा भनेका थिए | सो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले भनेका थिए "साहित्य भनेको भोजनालय हो र राजनीति भनेको सौचालय हो जो म भर्खर त्यहींबाट आउदैछु | यहाँ आउने बित्तिकै स्वादिष्ट भोजनको मीठो मीठो सुगन्धले यो भवन मग्मगाई रहेछ | थरि थरिका बिभिन्न सुगन्धित खानाले सभाहल मग्मगाइरहेछ्" | महाकवि देवकोटाले सम्बोधन गरिरहेको समयमा आएका गभर्नरले महाकवि देवकोटाको भाषणको खुलेर तारिफ गरेका थिए | सोही सम्मेलनमा नै महाकवि देवकोटाले भारतमा नेपाली भाषाले मान्यता पाउनु पर्छ भनेर माग राखेको कुरापनि धेरै स्मरणीय र अति महत्वपूर्णछ | महाकविको नेतृत्वमा गएको सो नेपाली प्रतिनिधि मण्डलमा त्यस समयका नेपालका धेरै वरिष्ठ साहित्यकारहरु सम्मिलित थिए | त्यस मध्ये एक साहित्यकार केदारमान व्यथित पनि थिए | जस्ले नेपालमा आफ्नो भाषणको क्रममा थुप्रै पटक त्यो कुरा उल्लेख गर्ने गर्दथे भन्ने मैले सुनेको हो |

शशांक लामाजीले उक्त पुस्तक समीक्षामा उठाएको अर्को महत्वपूर्ण विषय हो "डायस्पोरा" साहित्य | "डायस्पोरा" नेपाली साहित्य सम्बन्धि उनले आफ्नो धारणा त्यहाँ प्रष्ट सँग राखेको नै छ र म यहाँ त्यस बारेमा केहि आफ्नो विचार थप गर्न चाहन्छु |
आज केहिले नेपाल र भारत भन्दा बाहिरको साहित्यलाई डायास्पोरिक साहित्य भन्न शुरु गरेका छन् | हुन त अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले बेलायतको आफ्नो अधिवेशनमा नेपाल बाहिर लेखिएका साहित्यलाई डायस्पोरा साहित्य भन्ने अवधारणा पारित गरे जस्तो लाग्छ | तर त्यस बारेमा बिस्तृत रुपमा केहि छलफल भएको या निर्क्यौल निकालेको जस्तो लाग्दैन | तर पनि यसको प्रचलन धेरै मात्रामा बढेको पाईन्छ | तर वास्तबमा "डायस्पोरा" शब्दको सिमांकन, रेखांकन, समय सिमा र गुणबेत्ता के लाई मान्ने हो अझ सम्म स्पष्ट निर्धारण भएको छैन | छन भने मलाई चैं थाहा छैन | शशांकजीले भनेको जस्तो कुन सिर्जनालाई डायस्पोरा भन्ने अनि कुनलाई भन्न सकिदैन यकिन छैन | उनले उठाएका कतिपय प्रश्नहरु अनुत्तरित नै छन् | नेपाली भाषामा प्रवासी, आप्रवासी, अमेरिकी नेपाली साहित्य, युरोपेली नेपाली साहित्य आदिबाट नेपालीमै सम्बोधन पनि त गर्न सकिन्छ नि | जहाँ जहाँ बसेर आफुले साहित्य सिर्जना गरेको हो त्यहींको नामबाट नेपाली साहित्य भने त यस्तो अन्यौल सिर्जना हुने त थिएन नि | जस्तै बेलायत नेपाली साहित्य, अमेरिकाली नेपाली साहित्य, युरोपेली नेपाली साहित्य भने जस्तै | तर आज डायास्पोराले थुप्रै प्रश्न हरु जन्माएकोछ तर आजसम्म पनि त्यसको उत्तर आउन सकेको छैन |

नेपाली भाषामा उक्त शब्दले व्यक्त गर्न सकिने अर्को आफ्नै भाषा उपलब्ध छ भने त्यसलाई प्रयोग गर्न किन हिच्किचाउने | "डायास्पोरिक" शब्दको बिषयमा तर्क बितर्क नचलेका होइनन | पक्ष विपक्षमा नेपालका थुप्रै वरिष्ठ साहित्यकारले यस विषयमा खुलेरै आआफ्नो धारणा व्यक्त गरेका छन् | तर पनि आधिकारिक रुपमा यो शब्दलाई प्रयोग गर्ने संस्थाले शशांकजी ले उठाएको प्रश्नलाई उचित प्रकारले सम्बोधन गर्न सकेको छैन | शशांकजी ले भने झैं प्रवासी, आप्रवासी अनि अमेरिकाली भनेर नेपाली साहित्य जोड्दा भै गा को थियो नि | किन डायस्पोरा शब्द प्रयोग गर्नु परेको हो यो मैले मात्र होइन थुप्रैको चासो र उत्सुकताको विषय बनेको छ पहिले देखि नै | म संलग्न भएको संस्था "नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका" ले यस बारेमा धेरै पटक बहस र चर्चा गर्न नखोजेको होइन | यस विषयमा वरिष्ठ साहित्यकारहरुबाट कार्यपत्र जम्मा नगरेको पनि होइन | तर थुप्रै प्राबिधिक कठिनाईका कारण यस विषयलाई सम्पूर्ण नेपाल बाहिरका साहित्यकारहरुको आम धारणा र विचार बनाउन अझ सकिएको छैन | तर अझै पनि मलाई लाग्छ यस विषयमा बहस हुन् जरुरि छ | सबैलाई चित्त बुझाउन आवश्यकछ | किनकी यो तपाई, हामी सबैको प्रतिनिधित्व गर्ने शब्द हो | जस्ले हामीलाई सम्बोधन गर्नेगर्दछ त्यस बारेमा आफु सहमत र प्रष्ट हुन जरुरि छ भन्ने मेरो विचार हो | यस बारेमा अझ धेरै बहस र छलफल आवश्यक भएको म देख्दछु |

शशांक लामाजीको लेखको कारणबाट आफ्नो विचार राख्ने अवसर पाएकोले उनलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु |

भर्जिनिया, अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 16 बैशाख, 2073

लेखकका अन्य रचनाहरु