पवित्र आमाको सम्झना

- खिमानन्द पोखरेल

घनश्याम राजकर्णिकार लेखनको हिसावले सिद्धहस्त व्यक्ति मात्र नभएर नेपालको एक सुप्रसिद्ध र पारखी साहित्यकार व्यक्तिका रुपमा साहित्यमा कलम चलाउनेहरुले धेरै पहिले देखि चिन्दै आईरहेका छन् । घनश्याम राजकर्णिकार द्वारा लेखिएका केही पुस्तकहरु मैले पढेर लेखिसकेको पनि छु । राजकर्णिकारले आफूले साहित्य सिर्जना गर्दा सरल र सहज भाषाको प्रयोग गरेर पाठकहरुको मन जित्ने काम गरेको देखिन्छ । घनश्याम राजकर्णिकार द्वारा रचना गरिएका सङ्ग्रह पढि सकेपछि जो कोहीलाई पनि यस्ता सिद्धहस्तका बारेमा नबोलेर नलेखेर बस्नै मन लाग्दैन । यस्ता कलम चलाउने व्यक्तिहरु थोरै हुन्छन् यिनै थोरै कलम चलाउने व्यक्तिहरु मध्येकै एक व्यक्तिका रुपमा घनश्याम राजकर्णिकारलाई लिन सकिन्छ । राजकर्णिकारले लेखेका संस्मरण, नियात्रासंस्मरण र लेखनका अन्य धेरै विषय वस्तुहरु पनि यस लेखन कला भित्र पर्दछन् । आफ्नी आमा भन्ने हो भने हरेक मान्छेलाई जन्मदिने आमा नै हुन्छ । ति मध्ये संस्मरण कर्ताकी सुयोग्य पात्र बन्न पुगेकी प्यारी आमा सायद अरु कसैका आमा पनि छैनन् होला यसैले नै आफ्नी आमा प्रतिको एकाग्र चिन्तन र आमा द्वारा गरिएको वात्सल्य प्रेमका झझल्काहरुको ज्वलन्त उदाहरण बन्न पुगेको छ यो पुस्तक“पवित्र सम्झना आमाको ।” आमा भन्ने शब्द नै अपारको शब्द हो । जस्लाई विर्सन खोज्दा पनि विर्सन कहाँ सकिन्छ र ? त्यसैले पनि आमालाई विर्सनु भनेको संसार विर्सनु हो जस्तो लाग्छ मलाई पनि । आज जो मैले यस पुस्तकका बारेमा लेख्दैछु यो नै प्रमाणको साक्षी हो भन्ने मैले ठानेको छु । आज मेरो हातमा यो पुस्तक “पवित्र सम्झना आमाको ” आमालाई सम्झेर लेखिएको पुस्तक छ जस्लाई मैले यसका प्रत्येक पाना पाना पढेर यस बारेको धारणा आफूले जानेर बुझे सम्मका कुराहरु यहाँ प्रस्तुत गर्न गईरहेको छु । यो सङ्ग्रहको पृष्ट संख्या १२४ रहेको देखिन्छ । यस भित्र जम्मा जम्मी ६२वटा स्मरणहरु परेका देखिन्छन् । जस्को शुरुवात यसरी हुन्छ ।
पहिलो आमासँग विताएका स्वर्णिम क्षणहरुको सङ्केतले नै यो कुराको पुष्टि गर्छ कि आमाले आफूलाई छोडेर गएका ४५ औँ वर्ष बिति सकेता पनि आज आएर आमालाई छाडेको ४५ दिन मात्र भएको सम्झनाले आमा प्रतिको स्नेहभाव प्रष्ट रुपले झल्किएको देख्न सकिन्छ । त्यस वखत अहिलेको जस्तो सुविधा थिएन । विरामी पर्दा अहिलेको जस्तो सुविधा जन्य अस्पतालहरु र अन्य सुविधा केही पनि थिएनन् । मान्छेहरु विरामी पर्दा धामी झाँक्रीमा बढी विश्वाँश गर्थे त्यसैले पनि यस संस्मरणका संस्मरण कर्तालाई २ वर्षको उमेरमा रुन्चे रोगले समातेर झारफुकबाट ठिक पारीएका कुरा सविस्तार साथ यहाँ उल्लेख गरिएको देखिन आउँछ । मावली बज्यैको अति प्रिय नाती बनेको हुँदा आज सम्म पनि मावली बज्यैलाई तर्पण दिई राखीएका कुराहरु पनि यहाँ भेटिन्छन् । धर्मकर्म मान्ने मान्छेको छाँटकाँट नै अर्कै हुन्छ । आमाले गरेको धर्म कर्म मान्ने बानी बसी सकेको हुँदा जहाँ जुन मन्दिरमा गए पनि भगवानलाई श्रद्धा गरि नमन गर्दै ढोगीहाल्ने र वर मागी हाल्ने सो बानी अझ सम्म यथावत चलिरहेकोेले मन्दिर गएर भगवानको दर्शन गर्ने कुरालाई छोड्न नसकिएको यथार्थ यस संस्मरण भित्र परेका छन् । आफ्नी प्यारी आमाको सम्झनामा लेखिएको यो संस्मरणत्मक पुस्तक आमा प्रति श्रद्धा गरिएका कुराहरु यहाँ समाविष्ट भएको देखिन आउँछ । निवन्धात्मक शैलीमा लेखिएको यो संस्मरणले आमाको माया ममता कस्तो हुन्छ आमाले छोराछोरीलाई दिने लाड प्यार कसरी दिने गर्छन् भन्ने बारेमा आमा प्रति एकाग्र भएर आमाद्वारा छोरा छोरीलाई गरिने व्यवहारका प्रत्येक तह तहलाई केलाएर तैयार गरिएको यो संस्मरणलाई आमा हुनेहरुले एक पटक शुरु देखि नै अध्ययन गर्नु पर्ने कुरालाई सबैले मननगर्नु पर्छ भन्ने कुरालाई मैले पनि यस्तै ठानेको छु ।
((््र
दैनिक विहान आमासँग मन्दिर जाने र भगवानलाई दर्शन गर्ने बानी सानै देखि बसेको हँदा आजसम्म पनि भगवानलाई आस्था मर्यादा र विश्वाँश गर्ने संस्मरणकर्ताको बानी कायमै रहेको देखिन्छ । आफ्नो घरबाट कमलादी गणेश स्थान आई गणेश भगवानको दर्शन गरिने कुराहरु पनि यहाँ उलेख भएको देखिन्छ । त्यस बेलाको वातावरण परिस्थितिका बारेमा पनि पाठक महानुभावहरुलाई ध्यानाकर्षण गराउन समेत खोजीएको छ । त्यसबेला कमलादी गणेशस्थानमा अहिले जस्तो पसलहरु थिएनन् । त्यस वखत त्यहाँ एउटा साइँलादाईको पसल मात्र थियो भनेर उल्लेख गरिएको देखिन्छ । त्यही साईलादाईको पसलमा आमाले दिएको दस एघार पैसाले केही खानेकुरा मिठाई किनेर खाने गरेका कुराहरु पनि यहाँ देखिएका छन् । हरेकसँग दया माया हुदैन । दया र माया हुनेहरु कम हुन्छन् । यस्तैमा आफ्नी आमाले देखाउने गरेको दया र माया यस सङ्ग्रहका संस्मरणकर्तालाई बस्ने गरेको कुरा यहाँ देखिन आउँछ । आफ्नी आमाले भने अनुसार गणेश स्थानमा सधैभरी माग्न बस्ने अर्ध अन्धोलाई सहयोग गरेको र सो अन्धो मानिस धुर्त रहेको कुरा समेत यहाँ उल्लेख गरिएको देखिन्छ । यसैगरी सिहदरवारलाई औलाले बताएर मुट्ठी कसेर देदाउनु पर्छ भनि आफैले संकेत गरी बताएका कुराहरु यहाँ वर्णन गएिको देखिन्छ । यसैगरी मावली घर पाटनमा भएको हुँदा त्यहाँ पाईने मिडाई खाना खान मन लागेर जाने कुराहरु यहाँ उल्लेख भएका छन् । त्यहाँ किन्ने मिठाईहरुमा ग्वारामरी (डल्लो पिठोको रोटी), मासको बारा, आलुको बारा आदि भएको र उक्त खाना मावली बज्यैले आफू काठमाण्डौ आउँदा किनेर ल्याईदिने गरेको कुरा समेत यहाँ उल्लेख गरिएको देखिन आउँछ । मावली बज्यैले नै धर्म कर्म गर्न सिकाएका कुराहरुलाई पनि यहाँ जोडीएको देखिन्छ । फेरी यहाँ एउटा रोचक कुराको वर्णन गरिएकाृ छ । राती सुतेको बेलामा सपनीको कुाको प्रसङ्ग जोडिएको देखिन्छ । यसै सन्दर्भमा मावली बज्यैसँग संगै सुतिरहेको बेलामा (अजी)लाई मुड्किले आँखामा हानेको र अजिले पनि सपनामा कस्लाई हान्यो थियो आफ्नो नातीले तर त्यो सपनीमा मुड्किको चोट असंयोगबस म माथि पर्न गएको कुरा अजिले सहज तरिकाले प्रस्तुत गरेको र पछि अजिको त्रिपुरेश्वर स्थित आँखा अस्पतालमा आँखा चेक गराउन जाँदा मुड्किले हानेको आँखा केही नभएर अर्को आँखाको औषधि गरेका कुराहरु पनि यहाँ छुटाउनै नसकिने गरी उल्लेख गर्न अति सान्दर्भिक देखिएको पनि छ । यसै प्रसङ्गमा घरमा बहालमा बसेका मान्छेले बहाल नदिएर उल्टै ठग्न खोजी अदालतमा मुद्दा हालेका प्रसङ्गहरु पनि जोडिएका छन् । आमाले छोरा किचकिच गरी कराएको देखेर तरकारी खाने तामालाई साँढेको मासु हो भनेर भनि दिएको कुरा र हाल सम्म पनि त्यहीँ कुराको झझल्को आउने गरेको कुरा उल्लेख गरिएको देखिन्छ । तामाको तरकारी साहाकारी व्यक्तिले खाने अब्बल खाले तरकारी होरहेछ भनेर बुझ्ने गरेको प्रसङ्गहरु पनि यहाँ कोट्याईएको देखिन्छ ।
यसैगरी कृष्ण पाउराटी नजिक रहेको तुरतुरे धाराको प्रसङ्गका कुराहरु जोडिएको देखिन्छ । यस धारामा गई पानी खाने गरेको कुराहरु पनि जोडिएका छन् यतिखेर यो प्रसङ्गमा । विरामी बहिनीको झारफुके उपचारका लागि स्वयम्भू तर्फ जाँदाको विच बाटोमा ‘वल वल’ भनि मान्छे भागा भाग गरेको अवस्थामा आमा र स्वयम् आफै यसरी भाग्दै जाँदा छोरा सहित एउटा घर भित्र पसेर आमाले त्यस घरकी आईमाईलाई बताईदिए पश्चात् उक्त आइमाईले माथी चोटामा लगि राखेको प्रसङ्गका कुराहरु पनि यहाँ यतिखेर वर्णन गरिएको देखिन्छ । यसै गरी नयाँ सडकमा गई धित मर्ने गरी कुखुराको मासु खाएका प्रसङ्गहरु यहाँ जोडिएका छन् । यहाँ एउटा रोचक र जानकारी मूलक कुरा उलेख गरेको भेटेँ मैले । बौद्ध धर्मावलम्बीहरुले ब्रतवन्ध पश्चात् कुखुराको मासु खान नहुने कुराको मिठो प्रसङ्ग जोडिएको देखिन्छ । यस्तै ब्रतवन्धमा लगौँटी लगाउँदा अरुले खिसी गरे पनि आफ्नो मावली बज्यैले ढाडस दिएका कुराको प्रसङ्ग यहाँनेर जोडिन पुगेको देखिन्छ । यस्तै देशमा प्रजातन्त्र आउने शिलसिलामा प्रजातन्त्रको पक्षमा लाग्नेलाई राणाहरुले यातना दिएर मान्छेलाई गोली ठोकेर मारेका कुराहरु पनि यहाँ उल्लेख भएको देखिन्छ । यस्तै आमासँग मन्दिर जाँदा सिफलमा एक जनालाई झुण्डाएर मारीएको प्रसङ्ग आमाको मुखबाट सुन्न पाएको तर त्यो कुरा पछि मात्र मेरा जानकारीमा आएका तत्थ्य यतिबेला यहाँ उल्लेख गरिएको देखिन आउँछ ।
यसरी बाबुले बाहिरबाट ल्याएको मिठाई आमाको सहयोग लिएर खाँदा दाजुले चोर दोष लगाएको र पछि आमाको सहयोग लिएर खाएको हो भनि भन्दा संस्मरणकर्ताको मन आमा प्रति फुरुङ्ग हुन पुगेर आमा प्रति श्रद्धा गर्न मन लाग्छ भन्ने कुरा यहाँ उठाएको देखिन्छ ।आमाको दूत वनि पोइल गएकी दिदीको घरमा गएर दिदीको बारेमा जानकारी प्राप्त गरी आमालाई ज्यूँ का त्यूँ बताई दिएका कुराहरु यहाँ व्यक्त गरिएका छन् । यहाँ साथीहरुको लहै लहैमा लागेर तिहारमा जूवा खेल्नेहरुको खालमा च्याँखे थापेर कमाएको तिस रुपैयाँको बारेमा आमासँग बोली विस्तार लगाउँदा आमाले गाली गरेको र पढ्ने मान्छेले पनि काही जूवा खेल्छन् भन्ने गरेका कुराहरुमा ताजा स्मरण अझै पनि संस्मरणकर्ताको मस्ष्किमा झल्किरहेको देखिन्छ । यस संस्मरणका संस्मरण कर्ता मावली घर पाटन जाँदाको अवस्था र त्यहाँ जाँदा दिशा पिसाव गर्न सारै कठिन हुने गरेको परिस्थिति, सार्वजनिक ठाउँमा गएर दिशा पिसाब गर्दा सुँगुरले छोएर जात जाने त्यो बेलाको सोँचाई रहेको हुँदा सुँगुरले छोए पश्चात् नुहाई दिएर जात फिर्ता गरिदिएका कुराहरु यहाँ यसरी उल्लेख गरिएको देखिन्छ । जुद्ध शमसेरले राजपाट छोडि रिडि गएर बस्ने निधो गरेपछि यस पुस्तकका संस्मरण कर्ता घनश्याम राजकर्णिकारको मावलीमा सोही निहुले खैलाबैला हुन गइ परिवारमा फुट देखिन थालेपछि पारीवारीक कलह उत्पन्न भई कलहले ठूलो रुप धारणा गरेपछि घर परिवार छिन्न भिन्न भएका कुराहरु समेत यहाँ उठाईएको देखिन्छ । यसैगरी टङ्ग हिटिको पोखरीमा डुबेको र पोखरीबाट डुबेकोलाई निकालीए पछि अर्कोसँग मुख देखाउन लाज मानेका कुराहरु पनि यहाँ उल्लेख भएको देखिन्छ । यसैगरी परम्पराको अन्धविश्वाँस र म्हँ पूजाको किंवदन्ति जस्ले त्यो रात खाना खाएर बाँकी रहेका जूठा भाँडा त्यसै रातभर छोडिदिएको खण्डमा विहान पख ति सब जूठा भाँडाहरु सुनमा परिणत हुन्छन् भन्ने कुराले रातभर निन्द्रा नलागेर सताएका कुराहरु पनि यहाँ उल्लेख गरिएको देखिन्छ । राजकर्णिकारबाट तुलाधर बन्न पुगेको राम कहानी गजवको भेटियो साथीभाईले राजकर्णिकार मेरो थरका बारेमा जिस्काउने गर्दा अश्लिल शब्द मिलाई प्रयोग गरेकोले दिक्क मान्दै खिन्न भएकाकुराहरु प्रकट गर्नुका साथै आफ्नो जात थर परिवर्तन गर्नू हुँदैन भनेर स्कूलमा आफ्नो बाबुले दिएको चिट्ठी अनूसार राजकर्णिकार नै बन्न पुगेका कुराहरु समेत यहाँनेर आईपुग्दा सो कुरा व्यक्त गरेको देखिन आउँछ ।
आमालाई विर्सन नसक्ने कुराहरु धेरै रहेका देखिन्छन् । साथी भाईको झगडा हुँदा बुवाले छोरालाई गाली गरेको र छोरालाई मात्र किन गाली गर्नु त्यो छोराको साथी पनि कति बदमास छ भन्ने कुरा मलई समेत थाहा छ । तसर्थ आमाले छोरालाई गाली गर्ने कुराबाट रोक्न पुगेका कुराहरु यसरी नै उल्लेख गरेको यो प्रसङ्मा देखिन आउँछ । त्यसबेला आमाको अनभिज्ञ उपचारबाट त्यो समय केही निको भएको महसुस गरिएता पनि हालमा आएर कानको समस्या पुनः बल्झिएर श्रीमतीका साथ दिल्ली पुगेर उपचार गरी निको पारीएका कुराहरु यहाँ उल्लेख भएको देखिन्छ । तरकारी किन्नु पर्ने कुरादेखि लिएर भिष्म प्रतिज्ञाको विषयगत कथा यस प्रसङ्गमा जोडिन पुगेका कुराहरु उल्लेख भएको छन् । यसैगरी प्रसिद्ध नाटककार बालकृष्ण सम घरमा आउँदा आमाले शुद्ध नेपाली बोल्न नजानेको बारेमा केही कुरा उल्लेख भएको देखिन्छ । यस्तै इमान्दारिताको कदर नहुँदा खिन्न मान्नु स्वभाविकै हो । राणाहरु पनि बेईमानिका राजा रहेछन् भन्ने कुराको प्रमाण त्यो जवाहरत भेटाए पछि राणाहरुलाई नै हस्तान्तरण गरिदिए पश्चात्को घटनाले पुष्टि गरेको कुरा बुझ्न सकिन्छ । यसरी राणाबाट सङ्कटमा परेका यस पुस्तकका संस्मरण कर्ताका बुबा कोलकत्ता गएर अङ्ग्रेजी पाउरोटी बनाउन सिकेका संयोगका कुराहरु गरिएको देखिन्छ । कोलकत्ताबाट आर्जन गरिएको सिपले नेपालमा आएर पाउरोटी उद्योग खोल्दाको आनन्द र सर्व प्रथम नेपालमा कृष्ण पाउराटीको स्थापना गरिएका कुराहरुलाई यहाँ खुसी साथ व्यक्त गरिएको देखिन्छ । नेपाल अधिराज्यभर कही कतै नभएको बुद्धको मुर्ति स्थापना गर्ने पहिलो व्यक्तिको रुपमा पनि उहाँको बुबा कृष्णबहादुर राजकर्णिकारको ठूलो योगदान भएको कुरा मान्नु पर्ने यहाँ देखिएका छन् । यसरी हजाम कहाँ गएर कपाल काट्दा टुप्पी पनि कपाल सरह मिलाई दिनु भनेका कुरा र घरमा आएर बाबुले छोराकोे बाल काट्ने शिलसिलामा टुप्पी काटेको देखि सकेपछि गाली गरेको कुरा र आमाले संरक्षण गर्न पुगेका कुराह यहाँ उल्लेख गरिएको देखिन्छ । यस्तै घरमा काम गर्ने मान्छे कृष्णबहादुर (के.बि.)का कुरा गरिएको छ स्मरण कर्ताकी आमा द्वारा उसको छोँटकरी नाम के. बि लाई टि.बि. भनि बोलाउने गरेको देखिन्छ । अन्त्यमा त्यो के. बि. लाई टि.बि नै लागेर मर्नु भन्दा पहिले सानो तिनो खर्चपानीको काममा उक्त के(बि.लाई सघाउने गरेका कुरा यस संस्मरणका संस्मरण कर्ता घनश्याम राजकर्णिकारको सहयोग रहेको देखिन आउँछ । यसैगरी साइकल दुर्घटनामा परी आमाले औषधि (घरमा बनाएर राखेको) लगाएर आफ्नो बुबाले सम्म थाहा पाउन नसकेका कुरासमेत यहाँ यसरी वर्णन गरिएको छ । यसैगरी मावली घरबाट आमासँग बज्रबाराही मन्दिर जाँदा माग्ने मान्छेले खान मागेको समयबजीको घटना मार्मीक लाग्छ । यसै गरी मांसहारीबाट साकाहारी हुन पुगेका रोचक प्रसङ्गले उच्चस्थान ओगट्न पुगेका कुराहरु यहाँ समेटिएका छन् । यसरी पढ्ने धोका हुँदा हुँदै बाबुको मृत्यु हुनु, मृत्यु भएपछि घरायसी काम काजमा पनि त्यत्तिकै सघाउनु पर्ने अवस्था देखिनु, अनि दाजुहरुले मैले पढ्नु पर्ने कुरामा किचलो उठाएर मेरो पढाईमा वाधा पुर्याउने कोशिश गर्नु अनि आमाले आफूसँग भएका गहना बेचेर भए पनि छोरालाई पढाउने प्रण गर्नु भन्ने जस्ता कुराले आमाले छोराको पढाई प्रति यसरी चासो देखाएको देख्दा यस संस्मरणका संस्मरणकारलाई आमा प्रति अरु विनम्रता प्रकट गर्न मनलागेका कुराको पोको फूकाउन समेत भ्याईएको देखिन्छ । यस कुराले आमा प्रति आजिवन ऋणि बन्न पुगेका कुराहरुलाई पनि यहाँ छुटाईएको छैन । दाजुहरुले जति डाहा र इस्र्या गरे पनि बाबुको मृत्यु पश्चात् आमाले घर व्यवहार समाल्न पुगे पछि भने यस पुस्तकका संस्मरणकार आफूले पढ्न पाईने कुरामा ढुक्क भई अगाडि बढेका कुराहरु यहाँ देखिन आउँछ ।
यसैगरी विरामी पर्दाको अवस्थामा अण्डकोष सुनिने रोगबाट ग्रसित भई उक्त रोगबारे कसैलाई पनि बताउन नसक्ने अवस्थामा पुगे पनि येन केन जवर्जस्ती आमालाई आफ्नो रोग बारे बोली विस्तार लगाएको र आमाले डाक्टरकहाँ जानु पर्छ भन्ने आमाकै सल्लाहले डाक्टरको जाँच गर्ने ठाउँमा गएर औषधि खाएको २ —३ दिनमै त्यो सुनिएको अण्डकोष विस्तारै सुक्नथाली आफू पहिलेकै अवस्थामा आएको कुरा उल्लेख गरिएको देखिन्छ । यहाँ यस पुस्तकका स्मरण कर्ता घनश्याम राजकर्णिकारले आफू र आफ्नी आमा विचको सुमधुर सम्बन्धलाई प्रगाढ रुपमा स्थापित गर्न खोजेको कुरा यो प्रसङ्गलाई कोट्याँउने क्रममा देख्न र बुझ्न सकिन्छ । जस्तो भए पनि आमा भने पछि आमा नै हो । छोरा छोरीको चोट जति आमालाई पर्छ त्यति बाबुलाई पर्न सक्तैन । घरमा कल झगडाको विजारोपण भए पछि घरमा भाँड भैलो मचिन्छ । त्यसैले पनि आमा तनावमा परेको कुराहरु यहाँ उल्लेख भएको देखिन्छ ।
आमा भन्ने शब्द नै अपार शब्द हो । जस्को प्रेरणा मायाले र हौसलाले घनश्याम राजकर्णिकारले उच्चशिक्षा प्राप्त गर्न सकेका कुराहरु यथार्थ रुपले नलुकाईकन यहाँ प्रस्तुतगर्न खोजेको देखिन्छ । आफ्नी आमालाई देवता समान मान्ने राजकर्णिकारको जीवन सदैव सुखमय बनोस् भन्ने कामना यो पुस्तक पढी सकेपछि गरेको छु मैले पनि । यसैगरी लाल दरवारको गेटमा मर्निङ्वाकमा आमालाई लिएर जाँदा श्यालको घेरामा परेका कुराहरु यहाँ देखिन्छन् । यसरी यो पुस्तक संस्मरण “पवित्र सम्झना आमाको” पढ्दै जाँदा भाई भाईमा मनमुटाव देखिएको र एकले अर्कोलाई सकेसम्म दबाउन सक्ने प्रबृतिको विकास हुँदा हुँदै अकस्मात पूनः दाजूहरु एकै ठाउँमा जुटेर पाउराटी उद्योग समालेको र आमाको सहयोगमा आफूले निर्धक्कसँग पढ्न पाएका कुराहरुलाई यसरी अगाडि सारीएको देखिन्छ । आमाले आफूले गरेको गल्ती स्वीकारेर महान कार्य गरेको कुरालाई अति उत्तम नै मान्नु पर्ने हुन्छ । कहिले सासूको पालो त कहिले बुहारीको पालो भन्ने कारण पनि यही होला सासू जस्तै बुहारी बन्नु पर्छ भन्नु नै के छ र बुहारी सुधारीएर आउँदा पनि त केही बिग्रने कुरा हुदैन होला । एउटी सुगरको रोगी आमालाई छोरा बुहारीले गरिने व्यवहार पटक्कै चित्त बुझेको थिएन यो पुस्तकका संस्मरण कर्ता धनश्याम राजकर्णिकारलाई । किन भने दाजुहरुका सामु आफू निरिह बन्नु सिवाय अरु विकल्प नै थिएन भन्ने जस्ता आमालाई गरिएका दुव्र्यवहारका बारेमा केही मात्रामा उल्लेख गरेको देखिन आउँछ । यसै गर्दै जाँदा दाजुहरुबाट अंशवण्डा गर्ने प्रयासमा एउटा वकिलको सल्लाह बमोजीम हाललाई उहाँहरुबाट हामी आमा छोरा र बहिनीले पाउनु पर्ने अंशको कुरालाई यही नै थाती राख्ने काम भएको देखिन्छ ।
यस पुस्तकका संस्मरणकर्ता घनश्याम राजकर्णिकारले आफ्नी आमाको बाहेक अरु कसैको पनि चिन्ता लिएको देखिएन । बहिनी र आफू स्वयम्ले आमा छँदै विवाह गर्न नपाएको गुनासो गरिएको देखिन्छ । चाँडो रिसाउने बानी पनि बंशाणुगत हँदो रहेछ भन्ने कुराको प्रमाण आफ्नो बाजेबाट बाबुमा सरेको तत्थ्य प्रमाणले नै अवगत गराउँछ । आफ्ना छोरा छोरीहरुलाई सानैमा राम्रो वातावरण, राम्रो सङ्गत र राम्रा राम्रा विचार मठ मन्दिर आदिको दर्शन गराउन सकेमा उनिहरुको कलिलो मस्तिष्कमा पछि सम्म यही कुराको छाप बस्ने र सज्जन व्यक्ति बनेर समाजमा उत्रन सक्ने कुराको यहाँनेर यसरी पुष्टी गर्न खोजीएको देखिन्छ । त्यसताका राणाकालमा पनि प्रेम गरेर केटी भगाउने चलन रहेछ । संस्मरण कर्ताकी हजुर आमा भक्तपुर माईत भएकीलाई काठमाण्डौ घर भएका आफ्ना हजुर बुबाले भगाएर ल्याएको रोचक प्रसङ्ग यस प्रस्तुतीमा गरेको देखिन आउँछ । यसरी हजुर आमा पशुपती जानेक्रममा ज्ञानेश्वरको ओरालोमा भेटीएका चोरहरुलाई अफ्नो साँचो कुरा प्रकट गरी चोरलाई पनि आफ्नै मान्छे बनाउन भ्याएका कुरा समेत यहाँ उल्लेख हुन पुगेका छन् । यसरी पथ्थरीको रोग कान्ती अस्पतालमा उपचार गरीरहेको वखत अस्पतालबाट राम्रो सुझावपाई घर फर्केको र विरामीलाई नेपालको अस्पतालमा उपचार सम्भव नदेखेरै कलकत्ता लैजानु पर्छ भन्ने जस्ता चर्चा चलिरहेकै बेला दाजुहरुले उपचारको बारेमा कुनै पनि चाँजो पाँजो गर्ने पट्टी ध्यान न दिँदा आफ्नी ममतामयी आमालाई उपचार गराउन कलकत्ता लैजानै पर्ने शाहासिक कार्यको पाटो अवर्णनिय नै देखिएको छ यहाँ । यसरी आमाले यस्तो शाहस कार्य नगरिदिएको भए यस संस्मरणकर्ता घनश्याम राजकर्णिकार यस संसारमा नै नरहने अवस्था हुने थियो भन्ने अत्यन्त मार्मिक कुराहरुको बारेमा सविस्तार पूर्वक वर्णन गरिएको देखिन्छ ।
पितृलाई हेर्ने तरिका आ—आफ्नै किसिमको हुन्छ । दाजूहरुबाट आमाका बारेमा बोलीएका केही शब्दहरु भेटिन्छन् । आखिर आमा त दाजूहरुको पनि हो । किन भाईलाई मात्र आफ्नी आमा प्रति चिन्ता ? मैले पहिले नै भनिसकेँ पितृलाई गर्ने हेरविचारमा छोरा छोरीको पनि आफ्नै तौर तरिका हुन्छ भनेर । आमाको अनुपस्थितिमा एकछिन पनि टिक्न नसक्ने घनश्याम राजकर्णिकारको जस्तै आमा प्रति श्रद्धा र स्नेह हरेक छोरा छोरीले गरेदेखि बृद्ध माता पिताहरुले यथेष्ट सेवा पाउने थिए भनेर भन्न सकिन्छ । दाजूहरुको हातमा सम्पतीको ताला कुची छ आफ्नो हातमा केही छैन । बहिनीको विवाह र आफ्नो विवाह गर्न नै तेसै बाँकी छ । आमाले आफ्नो छोराको विवाहको बारेमा चिन्ता लिने गर्दा उल्टै आमालाई आफैले सम्झाएका कुराहरु देखिने गरेका छन् । एउटा खुसीको कुरा के देखियो भने आमाको गुण छोरामा आएको बंशाणुगत गुण आफूमा हस्तान्तरण भएकोमा खुसी व्यक्त गरेको देखिन आउँछ । आफू ३१ वर्षको हुँदा सम्म यस्तो गुण आफूमा रहेको सम्म थाहा नपाएका राजकर्णिकार जर्मनमा भएको औद्योगीक तालिमको बेला ६ दिनका लागि होटलमा बस्ने अवसरमा त्यस होटेलकी संञ्चालिकाले तेरा हाँस्ने बानी रहेछ भनिसके पछि मात्र थाहा पाएका कुरा यहाँ लेखिएको देखिन्छ । ठूलो ठूलो बन्द व्यापार कारावार गर्दा विश्वाँसमा चलेर आफ्नो कारोवारलाई अगाडि बढाउनु पर्ने हुन्छ । यस्तै आफूले चलाएको कृष्ण पाउरोटीमा काम गर्न राखेका कारीन्दाले कम्पनी प्रति गरिने व्यवहारमा शुद्धता नदेखिए पछि कम्पनी छोडेर गएका कुरा र कम्पनीको बिग्रीदो हालतका बारेमा चर्चा गर्नुका साथै आमाकी अति मिल्ने आफ्नै घर छिमेककी नरप्रताप थापाकी श्रीमति जसलाई दुलही साहेब भन्ने चलनबाट बोलाईने कुरा पनि यहाँ उल्लेख गर्नुका साथै दुलहीका श्रीमान अर्थात नरप्रताप थापाको विमान दुर्घटनामा परी मृत्यु भए पश्चात दुलही साहेबलाई आफ्नो विश्वाँसिला पात्रले श्रीसम्पती ध्वस्तपारी ठगीदिएर सम्पती वीहिन बनाई अन्त्यमा दुःख पाएका कुराहरु पनि यहाँ जोडिन पुगेका छन् । यसरी आमा पथ्थरीको रागी नेपालमा उपचार हुन नसकेर दिल्ली लगी उपचार गरे पश्चात् आमाको सोही ठाउमा देहान्त भएका कुरा र दाजूहरु आमालाई उतै सत्गत गरी घर फर्के पछि आमालाई आफूले नपाउँदाको अवस्थामा देखिएको शून्यता अनि आफ्नो र बहिनीको विवाहमा दाजूहरुले चासो नदिएर आफ्नी छोरीको विवाह गरिदिन पुगेका कुराहरुका साथै आफै स्वयम् कस्सिएर अगाडि सरी २०२८ सालमा आफ्नो विवाह गरी स्वर्गमा पुगेकी आमाको इच्छा पुरा गरिदिनु पर्ने कुराहरु यहाँ उल्लेख भएको देखिन्छ । आमाको अन्तिम इच्छा आफ्नो चारवटा सुनका बाला तीनवटी छोरीलाई दिने भन्ने आमाको वचन अनुसार दिनु पर्ने मा वचन पुरा गरेको भेटिएन । आमाको मृत्यु पश्चात भाईहरुको अंश बण्डा गर्दा ति चारवटा बाला दिदी बहिनीलाई नदिएका कुरा र आफ्नो हिस्सामा आएको एक बालालाई आमाकै इच्छा पुरा गर्न आफूले पाएको यौटा बालालाई चार हिस्सा गरी तीनवटी दिदी बहिनी र आफूलाई समेत बाँडेर आमाको वचन पुरा गरेको कुरा यस पुस्तकका संस्मरण कर्ता घनश्याम राजकर्णिकारको मूख्य भनाई रहको देखिन्छ ।
यस्तै आमा शब्दको करामत पनि बिचित्र किसिमले अगाडि बढेको देखिन्छ । एउटा भारतिय “ब्लुजम कन्भर्टस” नामको पाउराटी प्याकेजिङ गर्ने थैला कागज कम्पनिकी मालिक्नी विमला सेहगलले आफ्नै दर रेटमा अडिग रहेर आफ्नै रेटमा उक्त कागज भिडाउन खोजीएको र सोही दररेटमा स्वयम् टसमस नगर्ने बानी देखेर केहीसिप नलागी संस्मरणकर्ता घनश्याम राजकर्णिकारले आफ्नै आमा जस्तै मान्यवर आमा भएको सांकेतिक कुरा गर्दा उक्त कम्पनीकी मालिक्नीलाई आमा शब्दले गर्दा आफ्नो अडान छोडी कृष्ण पाउरोटी कै रेटमा आफ्नो कारोवार गर्न राजी खुसी भएका कुरा यहाँ उल्लेख हुन पुगेका छन् ।
यस संस्मरण पुस्तकको अन्तिम पातोले पनि आमाकै संम्झना बोकेर आमाको मृत्यु भएको ४५ औ वर्ष पछि पनि उहाँकै संम्झनामा चनाखो हुँदै आमा प्रति समर्पित रहँदै यो पुस्तकले आमालाई नै सम्झदै पाठकहरु सामु प्रस्तुत गर्न आफै अगाडि उभिए जस्तो लागिरहेको देखिन्छ । यसरी आमा प्रति सम्झना गर्दै लेखिएका ६२ वटा सम्झनाका क्षणहरुको संगालो सङ्ग्रहको रुपमा बाहिर आउन सफल भएको देखिन्छ । यसरी आमाको न्यानो मायालाई आँशुमा बदलेर लेखिएको यो र्संस्मरण पढ्न, बुझ्न र मनन गर्न योग्य देखिन्छ ।
“पवित्र आमाको सम्झना” का ६२ वटा थुङ्गालाई एकत्रपारी एउटा संग्रहणिय पुस्तकको रुपमा बाहिर ल्याएर पाठकको मन छुने र जित्ने काम यो पुस्तकको लेखाईमा रहेका शब्दले काम गरेको छ । जसले आमा प्रति अश्रद्धा प्रकट गरे .पनि आमाले उसको लागि आफ्ना अन्तिम दिन सम्म पनि भलो नै चिताएर जयहोस् भन्दै छोरालाई आशिष दिईनै रहेकी हुन्छिन् । यस पुस्तक भित्र रहेका ६२ वटा सम्झनाका लहरामा यो पुस्तक भित्र रहेको १२४ पेजमा फैलिएर आमाकै हरेक पलका कुरालाई उजागर गर्ने गरिएको छ । फेरी पनि म भन्न चहान्छु यो पुस्तक आमा हुनेहरुले अवश्य नै पढ्नु पर्ने हुन्छ । यस पुस्तकको प्रत्येक सम्झनाको अन्त्यमा विदेशी कविहरुको भनाई समेत उद्दरण गरेको देखिन्छ । जे होस् मैले त यो पुस्तकलाई शिर देखि पाउ सम्म जम्मै हेरे र केलाए पनि मैले जस्तै तपाईहरुले पनि यो पुस्तकको बारे पढेर केही लेखिदिन सक्नु भयो भने आफ्नो कर्तव्य निभाएको अवश्य पनि ठहरिने छ भन्ने मैले लिएको छु । मैले जे देखेँ जे मनन गरेर जे लेख्ने प्रयास गरेको छु त्यो सब यही छ यसैमा नै यो पुस्तकका संस्मरण कर्ता घनश्याम राजकर्णिकारको आमा प्रतिको आत्मियता झल्किएको महसुस हुनेछ भन्ने कुरालई अवश्य नै नकार्न सकिदैन । अस्तुः

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 16 बैशाख, 2073

लेखकका अन्य रचनाहरु