भूकम्प प्रेम

- कृष्ण बजगाईं

वक्षस्थल माथि रसिक मुद्रामा बाँसुरी बजाई रहेका श्रीकृष्ण हल्लिए । प्रेम राग निस्किरहेको श्रीकृष्णको बाँसुरीबाट करुणा राग निस्केको अनूभूति गरी एन्जेलाले । बीबीसी टेलिभिजनबाट आइरहेको समाचारको दृष्यले उसको मुटु काम्यो । भूकम्पले गोरखामा हानेको थियो । तर समाचारको दृष्यले पराकम्प छुटायो । र हल्लायो सिंगो लन्डन सहर । एन्जेलाले सिएनएन, बीबीसी लगायतका टिभी न्यूज च्यानलमा पहिलो पटक काठमाण्डौंको विभत्स दृष्य देखी ।
शनिवार छुटटीको दिन घर मै थिई उ । त्यस दिनको सबै भेटघाट र अन्य कार्यक्रम रद्ध गरी । साँझसम्म विभिन्न समाचार च्यानेलहरुमा नेपाल खोजी रही । काठमाण्डौं, गोरखा र सिन्धुपाल्चोकमा आएको भूकम्पले गरेको संहारको दृष्यले उसको मन विचलित भएर उठ्यो । त्यो विचलित मनले कोमल हृदय पगाल्यो । जाग्यो उसको मनमा सहयोगको भावना ।
अचम्म ! त्यस घरमा नेपालमा आएको भूकम्पले उसको पितालाई हल्लाएन । उनले खासै चासो दिएनन् । एउटा जडवत मूर्ति जस्तो प्रतिकृया बिहिन रहे । आमाले राम ! राम !! जपिन । बस् त्यति मात्र । त्यो घरमा एन्जेलालाई मात्र किन हल्लायो होला ?
बेलायतमा जन्मेकी एन्जेला तेइस वर्ष अगि उनका बाबु सरकारी कर्मचारी भएर छात्रवृत्तिमा पढन नआएको भए ऊ एक्काइस वर्षे नेपाली मूलकी बेलायती हुने थिइन । घरदेशसँग चटक्कै नाता तोडेका उनका बाबुआमाले मूल घर गोरखा नभनेको भए सायद गोरखा शब्दसँग प्रेम गर्ने थिइन । बीस वर्षको उमेरमा बेलायती साथीहरुसँग नेपालको भ्रमण नगरेको भए नेपालसँग त्यति नजिक हुने थिइन होला । आफना मातापिताको मूल जरो गोरखा र थर उपाध्यायको नाता केलाएर गोरखासम्म नपुगेको भए गोरखासँग गहिरो पे्रम हुने थिएन होला । ती सब नभएको भए सायद त्यो भूकम्पले उसलाई पनि हल्लाउने थिएन ।
केही वर्ष अगिसम्म एन्जेला आफूलाई पूर्ण बेलायती ठान्दथी । तर आफू बेलायती नभएको कुरा त्यस बेला थाहा पाई जुन बेला लन्डनको स्कूलमा नौं कक्षामा पढ्दा एक सहपाठीले पटक पटक उसलाई विदेशी भनेर हेपी । मान मर्दन गरी । र उसँग ठूलै झगडा पर्याे । त्यस अगिसम्म बेलायतमा जन्मेर ब्रिटिश लवजमा बोल्ने र उनीहरुको जस्तै रहनसहन भएकी एन्जेला आफूलाई पूर्ण ब्रिटिश भनेर गर्व गर्थी । तर त्यस घटनाले उसलाई विद्रोही बनायो । त्यो हेपाहा सहपाठीले उसका आँखाको बेलायती चस्मा हटाई दिई ।
एन्जेलालाई आफनो मूल जरो र थलोको बारेमा जान्नु पर्ने बाध्यता भयो । हुन पनि हो जति नै पढे पनि, ब्रिटिश जस्तै अंग्रेजी बोले पनि वा त्यस्तै पहिरन लगाए पनि पूर्ण ब्रिटिश हुन सकिन्न । पराया मुलुकमा जन्मेर जति नै गर्व गरे पनि आफनो बाबु आमाको ‘जिन’बाट आएको काला केश, काला आँखाका नानीले विदेशीको ठप्पा लगाउँदो रहेछ भन्ने कुरा उसको सहपाठीले पटक पटक होच्चयाएर ‘यू फरेनर’ भन्दा मात्र थाहा पाई । सहपाठीको त्यो शब्द बाणले एन्जेलालाई एकै चोटी नेपालमा लगेर पछारी दियो । जति नै जे जे गरे पनि सेता छाला बाहेककालाई यहाँको समाजले कुनै न कुनै रुपमा विदेशी ठान्दा रहेछन् भन्ने कुरा त्यस घटनाबाट बोध भयो उसलाई । अनि नेपाल प्रति श्रद्धा लागेर आयो । उसमा नेपालीपन जागेर आयो । भनौं गोरखालीको रगत तात्यो ।
‘गुगल’लाई गुरु थापी । इन्टरनेटमा खोजेर नेपालको बारेमा धेरै जान्ने भई । खोज्दा खोज्दै आफना पूर्खाका धर्म, संस्कृति उपर चाख बढयो । संयुक्त परिवार, बाबु आमालाई आदर र सम्मान अनि पाहुनालाई अतिथी मान्ने चलनले उसलाई लोभ्यायो । अनेक रमाईला चाडपर्व, विविध जात जाति र संस्कृतिले उसलाई नेपालमै खिच्यो । र नेपाल घुम्न जाने योजना बनाई । तर त्यो योजना गत वर्ष मात्र सफल हुन सकेको थियो ।
नेपालको भ्रमणको क्रममा काठमाण्डौका हरेका गल्ली र सडक छेउमा मन्दिर देख्दा मन्दिरै मन्दिरको सहर काठमाण्डौं भनेर पढेको सम्झना दिलायो । उ मन्दिर र हिन्दू धर्मबाट अत्यन्त प्रभावित भई । ठमेलमा गएर दाहिने पाखुरामा ‘ट्याटू’ खोपी ॐ । वक्षस्थ भन्दा ठिक माथि बाँसुरी बजाई रहेका मस्त कृष्णको ट्याटू खोपेर सिँगारी छातीलाई । बाबुआमालाई आफनो नाम एन्जेलाबाट अन्जली भएको सुनाई । एउटै मात्र सन्तानमा आएको धर्म, संस्कृति र नेपाल प्रतिको मोह देखेर बाबु आमा अवाक भए ।
नेपाल भमणले वास्तवमा उसमा ठूलो परिवर्तन ल्याएको थियो । बेलायतमा बस्ने हिन्दू परिवारका उसका बाबुआमा मानौं उनीहरुको कुनै धर्मै छैन जस्तो गरेर नास्तिक भएका थिए । न कुनै चाडपर्व मनाउदथे न कुनै पितृ कार्य गर्दथे । त्यसको प्र्रभाव उसमा पनि परेको थियो । बरु क्रिसमसको लामो विदा मनाउन पाउँदा त्यही नै चाड र संस्कृति हो जस्तो लाग्दथ्यो उसलाई ।
बेलायतमा भने नेपाली समाजदेखि भागेर बसेका थिए उसका बुबाआमा । किन आफना बाबु आमाले नेपालीसँग संगत गर्न नदिएका ? आफनो मूल जरोसँग टाडिएर कुन धरातलमा आफूलाई स्थापित गराउन खोजका हुन्? नेपालबाट फर्केर आएपछि प्रश्न प्रतिप्रश्नका चाङ्ले हल्लायो उसलाई ।
एक पटक उसका बुबाले कुनै प्रसंगमा भनेका थिए, कुनै बेला उनी नेपाल सरकारका अधिकृत स्तरका कर्मचारी थिए । छात्रवृत्तिमा बेलायत पढन आएका । पढाई सकेपछि फर्केर नगई थप विदा मागेका थिए । तर बिदा थप नभएपछि जागिर गुम्यो । त्यही निहुँमा नेपाल राष्ट्रसँग उनको ठूलो गुनासो रह्यो । त्यो गुनासोले उनलाई ब्रिटिस बनाई दियो । हुन त त्यसमा नेपाल राष्ट्रको केही दोष थिएन । हठी बाबुले कुनै बहाना खोजेका थिए वा नेपालको सिस्टम नै त्यस्तै थियो उसले केही बुझन सकेकी थिइन । र बुझ्न पनि चाहेकि थिइन ।
नेपालको भ्रमणबाट फर्केर आउँदा साथमा आधा नेपाल लिएर आई । त्यस पश्चात लन्डनमा खोज्न थाली नेपाली । नेपाल र नेपालीलाई के गर्न सकिन्छ भनेर खोज्दै जाँदा आवाशिय भिसा पाएर भर्खरै बेलायतमा आएका केही भूतपूर्व गोरखा लाहुरेहरु भेटी । र पुगी पूर्व गोर्खा सैनिकहरुको घना वस्तीमा ।
‘डिजास्टर म्यानेजमेन्ट’मा माष्टर्स गरेकी जागिरे एन्जेला भूतपूर्व गोरखा सैनिकहरुको सेवाका लागि भोलेन्टियर बनी । फुर्सद निकालेर अंगे्रजी भाषा नजान्ने भूपू गोरखा लाहुरेहरु र तिनका परिवारका लागि दोभाषे भएर अस्पताल, नगरपालिका, अदालत, परराष्ट्र मन्त्रालय भ्याएसम्म सबै ठाउँ पुगेर निस्वार्थ सेवा गरी । स्कूल र कलेज पढ्नेहरुका लागि कुन स्कूल, कलेज, के विषय पढ्ने सकेसम्मको जानकारी उपलब्ध गराई । ‘गोरखा सपोर्ट’ नामको परोपकारी संस्था खोलेर खासगरीकन महिलाहरुलाई विभिन्न खालका सेवा पुर्याउन थरिथरिको कार्यक्रम र तालिमको आयोजना गरी । भनिन्छ नि दिनुमा भन्दा बढी आनन्द अरु केहीमा हुन्न । आफ्नो समय, ज्ञान र शिप दिएर उसलाई हुनसम्मको सन्तुष्टी प्राप्त भयो ।

मनमा नेपाली बोकेर हिँडिरहेकी एन्जेला उर्फ अञ्जलीको पुर्खाको मुलुक शनिवारको भुकम्पले तहस नहस पारेको थियो । नेपालमा भुकम्प आए पनि उसको मनमा चाहीँ सुनामी आएको थियो । सोमवार काममा पुग्दा उसले सोच्दै नसोचेको सहानुभूति र सदभाव पाई । नेपालमा परिवार सकुशल छन् भनेर धेरैले सोधे । बाबुआमाले नेपाल मात्र होइन भएका अलिकति नातागोतासँग सम्बन्ध तोडेको बिसौं वर्ष भइसकेको थियो । उसलाई नेपालमा कोही नाता नभएको कुरा सुनाएका थिए । तर सहकर्मीहरुलाई देखाउनका लागि भए पनि ‘मेरा परिवार सब ठीक छन्’ भनी । सहकर्मीहरुले नेपालमा भएको धनजनको क्षति उपर दुःख प्रकट गरे । र भूकम्प पिडितका लागि आर्थिक सहयोग गर्न स्वफूर्तरुपमा तयार भए ।
आफूले पढेको डिजास्टर म्यानेजमेन्टको ज्ञान नेपालमा देखाउन चाहान्थी । र तुरुन्तै नेपाल जाने प्लेनको टिकट खोजी । अहँ एक हप्ता भन्दा यताका कुनै प्लेनको टिकट फेला परेन । एक हप्ता पछि वा एक महिना पछि प्राकृतिक प्रकोप क्षेत्रमा उद्धार गर्न जानु उसले पढेको शिक्षाले एउटै हो भन्थ्यो । ‘बहत्तर घण्टा भित्र जे जति काम गर्न सकिन्छ त्यही नै उद्धार हो । त्यसपछिको समय भनेको पुनःनिर्माणको हो ।’ हुन पनि हो तीन दिनपछि कुनै पनि ब्यक्ति अपवादमा वाहेक जीवितै पाउने सम्भावना हुदैन । उसले पढेको शिक्षाको एउटा महत्वपूर्ण शिप देखाउने अवसर पाइन । यसमा उ अलिकति दुःखी भई । मर्न लागको मान्छेलाई उद्धार गरेर बचाउन जति आनन्द आउँछ त्यति आनन्द कसैलाई पैसा दिँदा वा तिनका भौतिक संरचनाको पुनःनिर्माण गर्दा आउँदैन । उद्धारबाट बचेको ब्यक्तिले पाएको दोस्रो जीवनको तुलना भौतिक संरचना निर्माण, पुनःनिर्माण वा पैसासँग गर्न सकिन्न ।
प्लेनको टिकट नपाएर समयमा जान नपाएपछि अब ऊ आर्थिक सहयोग जम्मा गर्ने कार्यमा केन्द्रित भई । उठेको रकम पिडितहरुलाई सहयोग गर्ने विचार गरी । हेर्दा हेर्दै अफिसमा धेरै पैसा उठ्यो ।
उसले सहयोग गरेका भूपू गोर्खा सैनिक र तिनका परिवारहरुले पनि उसलाई सम्पर्क गरे । र भने–‘भान्जी हामी यथासक्य सहयोग गर्न चाहान्छौं नेपालमा । त्यो सहयोग तपाईंकै हातबाट नेपाल जाओस् ।’ भूपू गोरखा र तिनका परिवारले उ प्रति देखाएको विश्वास र उदारताले उत्साहित भई ।
आफूले विश्वास नामको कति धेरै सम्पत्ति कमाएछु भन्ने कुरा त्यस बेला बुझी । हुन पनि हो पुरै एक वर्ष आफ्नो बहुमुल्य समय बेलायतको नेपाली समुदायमा दिएकी थिई । उसकै उमेरका साथीहरु क्लब, पब र डेटिङमा मस्त भएको बेलामा उसले समाजसेवामा बिताई । त्यो उमेरमा ब्वाई फ्रेन्ड नहुनु वा पबमा नजानुको अर्थ ‘लेस्बियन’को ‘लेवल’ लगाईने समाजमा जन्मेर हुर्केकी एन्जेलाले त्यस्ता कुरामा कुनै मतलब राखिन । उसले मदर टेरेसाको पथमा पाइला हाली सकेकी थिई । अन्धकारमा उज्यालो छर्दै हिँडेकाले पछाडि पनि अलिकति उज्यालो छाडेकै हुन्छन् । उ आफैं उज्यालो दीप बनेर निस्केकी थिई ।
आफ्नो अफिसबाट र भूपू गोरखा सैनिकहरुबाट राम्रै रकम जम्मा भयो । एकमुष्ट रकम जम्मा पारेर नेपाल जान टिकट काटी । बाबुआमाले छोरीको त्यो निर्णय मन पराएनन् । भुकम्पका कारण बिजुली, पानी नभएको, सडक यातायात आंशिकरुपमा क्षति भएको र मरेका ब्यक्तिबाट रोग संक्रमण बढने खतराको जनाउँ दिँदा दिँदै पनि उसले त्यो निर्णय फेर्न चाहिन । बेलायतको कानून अनुसार उमेर पुगेकी छोरीलाई नियन्त्रण गर्ने अधिकार उनीहरुमा थिएन । न त उनीहरुको मायाले उसलाई रोक्न सक्यो ।
–०– –०– –०–
संसारको अति ब्यस्त बेलायतको हिथ्रो विमानस्थलबाट रातको एघार बजे जहाजले भुईं छाड्यो । प्लेनको झ्यालबाट तल हेरी लन्डन सिँगारिएकी दुलही जस्तै झलमल्ल उज्यालोमा हाँसिरहेको देखी । लन्डनको उज्यालो छाडेर बिजुली बत्ति नभएको अन्धकार नेपाल जाँदै थिई, जुनकिरी जस्तो सानो उज्यालो लिएर । जहाजले उचाई लिँदै गएपछि उसले अगि देखेको उज्यालोको चमक अब जुनकिरी जस्तै देखिन थाल्यो । प्लेनको झ्याल बन्द गरेर आफ्नो सिट अगाडिको मोनिटरमा अंग्रेजी फिल्म लगाई । एकछिन् पछि खाना आयो । एक ग्लास ‘रेड वाईन’को साथमा खाना खाएपछि मस्त निदाई ।
लामो उडान पछि प्लेनले नेपालको भूमिमा प्रवेश गरेको कुरा आफनो अगाडिको मनिटरमा देखी । उसको नजर प्लेनको सानो झ्यालबाट बाहिर दौडिए । विशाल अग्ला पहाड माथिबाट विमान उडिरहेको थियो । प्लेनबाट ती पहाड ससाना थुम्का जस्ता मात्र देखिन्थे ।
मकवानपुरको डाँडो काटेर जाने बित्तिकै प्लेनले क्रमशः उचाई घटाउँदै लग्यो । बैशाखको अन्तिम साता भएपनि पानी परेको थिएन । बोटविरुवाले समयमै पालुवा हाल्न सकेका थिएनन् । सायद बसन्ती हावा चलेन छ यसपटक । पहाडमा धुम्म तुँवालो ढाकेको थियो । आकाश पनि सफा देखिएन । भूकम्पको पीडामा मानौ शोकमा मग्न छ प्रकृति पनि !
प्लेन जति जति तल जान्थ्यो उति उति एन्जेलाको आँखा प्लेनको झ्यालबाट भूकम्पको ताण्डब नृत्य हेर्न खोज्दै थिए । विस्तारै प्लेन भक्तपुर क्षेत्रबाट त्रिभुवन विमानस्थल तिर प्रवेश गर्न लाग्यो । उसले पहिले देखेको भक्तपुरका घरहरु, पुरातात्विक सम्पदाहरु माटोमा पछारिएका देखी । प्लेन ल्याण्डिङ गर्ने बेलामा नजिकबाट देखेको विनासको विभत्स दृष्यबाट उ अत्तालिई । अचानक चिच्चयाई –‘ओ माइ गड’ !
उसको चर्को स्वर छेउछाउमा बसेका अरुका कानमा ठोकिए । उसलाई नै पो केही भयो कि भनेर छेउमा बसेका एक जना पर्यटकले सोधे –‘आर यु ओके ?’
‘आइम फाईन, थ्याङ्स ।’ भनेर कुरा टुंग्याई ।
त्रिभुवन विमानस्थलमा प्लेन ल्याण्डिङ गर्दा बिहानको करिब दश बजेको थियो । प्लेनको झयालबाटै देखी रत्नपार्कको ट्राफिक जाम जस्तै त्रिभुवन विमानस्थमा प्लेन र हेलिकप्टरको भिड । अहो कस्तो अब्यवस्थित एयरपोर्ट ! उसले पढेको डिजास्टर म्यानेजमेन्टको ज्ञान सम्बन्धीत निकायमा पुर्याएर एयरपोर्टबाटै लागू गर्न मन लाग्यो । मन लागेर के गर्नू ? त्यो तहसम्म पुग्न उसले कति चक्कर लगाउनु पर्दछ ? फेरी उसको कुरा सुनरे लागू गर्छन् भन्ने के ग्यारेण्टी ? उसलाई यस्ता कुरामा अल्झिनु भन्दा जति सक्दो चाँडो गोरखा जानु थियो । त्यहाँ के आवश्यक पर्दछ बुझेर पिडीतका लागि राहातको ब्यवस्था गर्ने योजना थियो ।
उसले बेलायतबाट राहातका लागि कुनै जिन्सी सामान लगेको थिइन । भुकम्प पिडीतका लागि लगिएको सामानमा समेत कर तिर्नु पर्ने नेपाल सरकारको मुर्ख नियम बेलायतमै पत्रिका मै पढी सकेकी थिई । पैसा र बैंक कार्ड साथमा थियो । उ ढुक्क थिई ।
एयरपोर्ट बाहिर निस्कने बित्तिकै ट्याक्सी ड्राइभरले घेरे उसलाई । उसको गन्तब्य काठमाण्डौं थिएन । गोरखा जान कुनै ट्याक्सी ड्राइभरले मानेनन् । कस्तो अचम्म पैसा तिर्दा पनि सेवा नपाउनु ! उसलाई चित्त बुझेन । करिब एक घण्टापछि बल्ल बल्ल गोरखा घर भएका एक जना ट्याक्सी ड्राइभर भेटिए । हुनसम्मको खुशी भई एन्जेला । त्यो भन्दा पनि डबल खुशी ट्याक्सी ड्राइभर भयो । प्रथम त ड्राइभरले सोचे भन्दा डबल भाडा पाएछ । दोस्रो कुरा उसको मूल घर गोरखा रहेछ । आफन्तलाई भेटने अवसर पनि मिल्ने भएपछि खुशीसाथ जान तयार भएको रहेछ ।
ट्याक्सीले थानकोट काटेर दश बाह्र घुम्ती तल झर्ने बितिकै एन्जेला मस्त निदाई । बाटामा झल्याक झुलुक ब्यूझिएकी थिई । तर प्लेनको लामो यात्राको थकाईले गर्दाै आँखा खोल्नै सकिन । एकै चोटी गोरखा बजार पुगेपछि मात्र ब्यूझिई । त्यो पनि ड्राइभरले उठाएपछि । गोरखा बजार पुग्दा साँझको छ बजेको थियो । अधिकांश मानिसहरु सडकमै देखिए । उसले गत साल देखे जस्तो गोरखा बजार थिएन । पालै पाल टाँगेर गोरखाको रौनकता हराएको थियो । मानौ यस्तो लाग्दथ्यो कि सबै गोरखालीहरु पाल टाँगेर क्याम्पिङमा छन् । डर त्रासमा बाँचेका चिन्तित मानिसहरु बारम्बार आइरहने भूकम्पले ल्याउने विनाशको कसरी सामना गर्ने भनेर दिशाबिहिन थिए ।
पाल देख्दा एन्जेलालाई लाग्यो होटलको कोठा भित्र वास हुने छैन । अधिकांश घर र होटलहरु भत्केका थिए । भूकम्पले जोगिएका केही होटलले पनि बाहिरै पाल टाँगेका थिए । कोठा भित्र बस्न सबै डराएका थिए । हुन त जहाँ सुते पनि उसलाई खासै फरक पर्दैनथ्यो । बेलायतमा सानैदेखि स्वालम्बी बनाउने शिक्षादिक्षा पाएकी त्यसमा पनि उ डिजास्टर म्यानेजमेन्टकी विद्यार्थी । उसले यस्ता कुराहरु कोर्सका पुस्तकमा पढेर आत्मविश्वास बढाएकी थिई । फिल्डमा गएर अधिकांश त्यस्ता अवस्था भोगी सकेकी थिई । उसलाई के को पिर ? आकासलाई छानो बनाएर सुत्न सकिने आवश्यक सबै सामग्री साथै ल्याएकी थिई ।
सुरक्षित ठाउँमा त्यस रात थकानको भारी बिसाउनु थियो । होटल मनकामनामा कोठा बुक गरी र झोला त्यही बिसाई । होटलको कोठामा ब्याग राखी । त्यसपछि क्यामेरा बोकेर गोरखा बजारको तलदेखि माथिसम्म पुगी । माथिबाट फेरी फर्केर होटल तिर आउँदै थिई । विदेशी ब्राण्डका लुगा लगाएकी, नेपाली अनुहारकी सुकसुकाउदी युवती साँझमा तल र माथि ओहरदोहर गर्दा धेरैको आँखा लागे । अलि तलसम्म खुलेको टि सर्टबाट चिहाउन खोजेका उन्नत वक्षस्थल र त्यस भन्दा ठीक माथि भगवान कृष्णको टयाटू देख्दा कलियुगका केही कृष्णहरुले अलिक परसम्म पछयाए उसलाई । तर उसको ब्यक्तित्व र आत्मविश्वासपूर्ण हिँडाइको कारण कसैले केही भन्ने र सोध्ने हिम्मत नै गरेनन् ।
फर्केर होटल आई । ब्याग खोलेर साथमा ल्याएका ड्राई फुडको प्याकेट निकाली । ड्राई फुड चपाउँदै बोटलको मिनरल वाटरले घाँटी भिजाई । रातको आठ बजेको भए पनि सडकमा मानिस हिँडी रहेका थिए । पाल टाँगेर बसेकाहरु ढुक्कले बस्न सकेका थिएनन् । ऊ पनि पालको एउटा कुनामा बसी । त्यो ठूलो पालमा केही विदेशी पर्यटकहरु पनि थिए । त्यो पाल सुत्न होईन भूकम्पबाट जोगिनको लागि बस्न मात्र मिल्ने गरी बनाइएको थियो । रात छिप्पिदै गयो । केही पर्यटक त्यहीँ निदाए । तर उसलाई पटक्कै निद्रा लागेन । हुन त उसले काठमाण्डौंदेखि गोरखासम्मको ट्याक्सि यात्रामा आधाउधी निद्रा पुर्याइ सकेकी थिई ।
बिहानी उषाको लालीले हिमालसम्म सुनौलो रंग छर्यो । चराहरु चिरबिर गर्न थाले । मानिसहरु सल्याङ बल्याङ गर्दै बाहिर निस्कन थाले । एन्जेलालाई बिहानै तातो कफी पिउन मन लाग्यो । कफी पिएर भुकम्पको विनाश र पिडितको अवस्था बुझ्न जाने योजना बनाई । उसले बेलायतदेखि भूपू गोरखा लाहुरे र उसका अफिसका सहकर्मीहरुले दिएको आर्थिक सहयोग वास्तविक पिडित समक्ष पुर्याउने काम सम्पन्न गर्नु थियो ।
बाटामा फाट्टफुट्ट मानिसहरु अनिँदा आँखामा भय र त्रास बोकेर हिडिरहेका थिए । परैबाट एउटा चिया पसल देखियो । पसलमा झुरुप्प मानिसहरु थिए । चर्को स्वरमा रेडियो बजिरहेको थियो । एन्जेला पसल भित्र प्रवेश गरी । र एउटा कुनाको कुर्सीमा बसी । त्यहाँ पुगेर कफि अर्डर गरी । कफि सकिएको रहेछ । त्यसपछि ‘ब्लाक टी’ मगाई । बिहान सात बजेको रेडियो नेपालको समाचार सुन्न मानिसहरु कान ठाडो पारेर बसेका थिए ।
सात बजेको समाचार सुरु भयो । रेडियोले भुकम्पबाट मर्नेहरुको संख्या, उद्धार कार्य, विदेशी सहयता, एनआरएनको सहयोग, पराकम्पन आदिको बारेमा बतायो । समाचार सकिएपछि अगिसम्म चुप लागेर बसेकाहरु फेरी कुरा गर्न थाले । मर्नेहरुको संख्या बढ्दै गएकोमा दुःख प्रकट गरे । विपतमा राम्ररी सहयोग नगरेको भन्दै सरकारको खुब कुरा काटे ।
केही ब्यक्तिहरु राहतको गाडी आउँदैछ भनेर कुरा गर्दै थिए । कोही ब्यक्तिहरु आफूले धेरै पाल र राहतको प्याकेट लिएको कुरा गर्वसाथ सुनाउँदै थिए । आफूले केही पनि राहात नपाएको भनेर गुनासो गर्नेहरु पनि थिए । त्यहीँ बसेर एन्जेलाले निकै बेर तिनका कुरा सुनी । डायरीमा केही टिपोट गरे जस्तो गरेर आफूलाई ब्यस्त राखी । दोस्रो कप चियाको अन्तिम घुट्को सुक्र्याएर उठी । त्यति बेला बिहान नौ बजेको समाचार आउँदै थियो रेडियोमा ।
चिया पसलमा भूकम्प सम्बन्धी जानकारी, उद्धार कार्य, राहात वितरणका कुरा सुनेर धेरै थाहा पाई । राहातको रकम वा जिन्सी कसलाई दिने? कहाँ दिने ? उ अलमल्ल परी । फेरी एकैछिनमा उत्तर निकाली सरकारी निकायसँग सम्पर्क गरेर जानकारी लिने अनि आफै निर्णय गर्ने । चिया पसलबाट निस्केपछि तलदेखि माथिसम्म ओहर दोहर गरी ।
भूकम्पले अधिकांश घर ध्वस्त बनाएको थियो । केही सग्ला जस्ता लाग्ने घरहरु पनि बस्न लायकका देखिएनन् । लामो समयदेखि राजनैतिक द्धन्द्धमा फसेको देश, असक्षम सरकार र भूकम्प पिडित गरिव जनताहरुलाई उद्धार गर्ने कुने ‘रबिन हुड’को आवश्यकता देखी ।
फाट्टफुट्ट ठाउँमा सहरबाट आएका स्वयंसेवकहरु, राजनैतिक पार्टीका झण्डा बोकेका कार्यकर्ताहरु, प्रहरी र सेनाहरु काममा ब्यस्त थिए । कुनै समूह भग्नावाशेष पन्छाउँदै थिए । कुनै समूह टहरा निर्माण गर्दै थिए । तर त्यस क्षेत्रका अधिकांश युवा र काम गर्न सक्ने स्थानिय ब्यक्तिहरु चिया पसल र पाल मुनी बसेर तास खेलिरहेका अचम्मको दृष्य देखी एन्जेलाले । अझ कति ठाउँमा त स्वयंसेवकहरु काम गरी रहेका थिए । तर सम्बन्धीत घर धनीहरु गोजीमा हात हालेर यसो गर्नू र उसो गर्नू भनेर स्वयंसेवकहरुलाई निर्देशन दिँदै थिए । मानौं तिनीहरु उसका ज्यालादारी कामदार हुन् । त्यस्तो दृष्य क्यामेरामा कैद गर्दै थिई । अगाडि बढ्दै जाँदा एक ठाउँमा अलिक धेरै मानिसहरु जम्मा भएर स्वयंसेवकहरुले गरिरहेको काम हेर्दै गरेको दृष्य देखी । स्वयंसेवक कम थिए रमिता हेर्ने तरुनी तन्नेरीहरु धेरै । त्यहाँ पुगेपछि उ पनि रमिते बनी । त्यहाँको दृष्य यस्तो देखिन्थ्यो कि मानौं तिनीहरु सबै बिपत्ती हेर्न आएका पर्यटकहरु हुन् ।
‘नयाँ जस्तो देखिनु हुन्छ । तपाईं घुम्न आउनु भएको हो ?’ कम्मरमा हात राखेर रमिता हेरि रहेका छेउका एक जना अधवैंशेले सोधे ।
‘भूकम्प पिडितलाई केही सहयोग गर्न सक्छु कि भनेर आएको ।’ उसले सत्य कुरा सुनाई ।
‘के सहयोग ? मर्नेहरु मरी हाले । हामी बाँचेकोलाई एक प्याकेट चाउचाउ बाँडेको फोटो खिचेर पत्रिका र फेसबुकमा छपाउने त होला नि ?’ एक युवाले तिक्तता पोखे ।
ति युवाको ब्यंग्य सुनेर उ मर्माहित भई । केही बोलिन ।
‘तपाईको घर काठमाण्डौं हो ?’ अर्को एक जनाले सोधे ।
‘हैन । बेलायत हो ।’ नढाँटी भनी ।
‘होइन होला ।’ एक जनाले शंका ब्यक्त गरे ।
‘हो नी, किन ढाटनु ।’ उसले भनी ।
‘उसो भए भुकम्पले पुर्याएको क्षति, घाइते र पीडीतको फोटो खिचेर लगेर उता पैसा कमाउने होला नि ।’ अर्को एक नेता खालका ब्यक्तिले ब्यंग्य कसे ।
त्यस वाक्यले उसलाई ठूलो प्रहार गर्याे ।
‘यताबाट लगेर उता कमाउने हैन कि उताबाट केही बचाएर दिन यता आएको हुँ ।’ गर्वसाथ भनी ।
‘जन्मभूमिमा बिपद पर्दा विदेशमा बस्नेले आफूले प्रयोग गरेका पुराना लत्ता कपडा, दुइचार सय डलर र पाउण्ड लिएर घुम्न आउँछन् । तपाई पनि उही त होला नि ।’ अर्को एक जना रमितेले नकारात्मक प्रतिकृया राख्दै तिब्र प्रहार गरे ।
‘म घुम्न आएको हैन । मेरो हैसियत अनुसारको सहयोग गर्न आएको हुँ । सहयोग सानो र ठूलो हुन्न । आफूले सकेको तन, मन र धनले जेजति हुन्छ गर्न सकिन्छ त्यही नै सबै भन्दा ठूलो सहयोग हो ।’ उसले भनी ।
‘त्यसो भए भुकम्पको मायाले आउनु भएको होला । आफनो देशमा पाईला हाल्न त विपत्ती नै आउनु पर्ने रहेछ हगि ?’ झुसे दाह्री पालेको ब्यक्तिले ब्यंग्य हान्यो ।
भूकम्पको पीडाले ऊ मर्माहित भएर पीडितलाई सहयोग गर्न लन्डनदेखि नेपाल आएकी थिई । तर त्यहाँ ब्यक्त गरिएका एकपछि अर्का नकारात्मक कुराहरु र ब्यंग्य प्रहारले उ रन्थनी । थरर काँपी । उसले टेकेको धर्ति हल्लिए जस्तो भयो । र थचक्क भूईं मै बसी । अपमान, घोचपेच र ब्यंग्य प्रहारका कारण उ रन्थनिएर हल्लीइ वा त्यो भूकम्प थियो या पराकम्पन ? उसले छुटयाउन सकिन ।

बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 6 बैशाख, 2073

लेखकका अन्य रचनाहरु