गीत

- होम सुवेदी

यो राम्री छे भन्ने कुनै हुन्न चासो,
नराम्री छे भन्ने पनी हुन्न चासो
यी राम्रा नराम्रा कुरै हुन् हराउँछन्
कसैले कसैलाई जसै मन पराउँछन् ।

यो गोरी छे यसमा कुनै हुन्न चासो
त्यो काली होस् त्यसमा न गर्छन् गुनासो
त्यसैलाई नियाल्छन् र आफैं हराउँछन्
कसैले कसैलाई जसै मन पराउँछन् ।

न राम्री होस् धेरै न हिस्सी परेकी
त्यही ठान्दछन् स्वर्गबाटै झरेकी
कोही ता छुनैसम्म मात्रै डराउँछन्
कसैले कसैलाई जसै मन पराउँछन् ।

न केही पुरुषार्थ गर्ने छ आँट
न जिउको न डालको कतै छाँटकाँट
तिनैले कसैलाई त मोहित गराउँछन्
कसैले कसैलाई जसै मन पराउँछन् ।

फूलै झार्न खोज्छन् कि आकाशबाट
कि ताराहरु गर्दछन् झार्न आँट,
प्रीतीमा परेकाहरु गुनगुनाउँछन्
कसैले कसैलाई जसै मन पराउँछन् ।

यिनै हुन् कि मानौं प्रीतीका मुहान
मदन हुन् मुना हुन् कतै हुन्छ भान
कुरा साट्नलाई कसैलाई अराउँछन्
कसैले कसैलाई जसै मन पराउँछन् ।

वियोगी बनी क्वै चिठी लेख्न थाल्छन्
जुँगादारी जोगी सरी कोही पाल्छन्
कसैले कसैका त होसै हराउँछन्
कसैले कसैलाई जसै मन पराउँछन् ।

कुनै गर्दछन् लाखका लाख बात
कुनै बन्न पुग्छन् सधैंका निराश
कुनै प्रेमीले दड्डदासै गराउँछन्
कसैले कसैलाई जसै मनपराउँछन् ।

कुरा गर्नु धेरै वृथा हो यिनैको
कुरा सुन्न थाल्नु वृथा हो तिनैको
अरुकै परेली रसाएर आउँछन्
कसैले प्रीतिका कुरा जो सुनाउँछन् ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 6 बैशाख, 2073

लेखकका अन्य रचनाहरु