बाटुली पत्रकाव्यमा सम्भाव्य सुखद भविष्यको परिकल्पना

- प्रा. डा. कपिल लामिछाने

१. प्राक्कथन
नेपाली काव्यपरम्परा तथा चिन्तनका क्षेत्रमा विजय खरेल (२००३ चैत्र) को बाटुली (२०६६) पत्रकाव्यले नयाँ आयाम थप्ने काम गरेको छ । विजयका निबन्धहरू (२०६४) र क्षितिजवारि क्षितिजपारि (२०६५) क्रमशः निबन्ध र गीतपछि बाटुली नयाँ काव्यका रूपमा देखापरेको छ । यी तीनवटै कृतिहरूले विजय खरेलको साहित्यिक व्यक्तित्वलाई माथि उठाएका छन् । जीवनको उत्तराद्र्धमा यी कृतिका माध्यमबाट सार्वजनिक हुन आएका विजय खरेलले छोटो समयमै स्तर र ख्याति आर्जन गरेका छन् । कवि विजय खरेल आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि बालकृष्ण सम, कवि मोहन कोइराला, कवि वैरागी काइँला प्रभृत्ति काव्यमनिषीहरूले निर्माण गरेको काव्यपथका एक नितान्त नयाँ यात्रीका रूपमा देखापरेका छन् । प्रस्तुत सन्दर्भमा बाटुली पत्रकाव्यको कथ्यसन्दर्भ र शिल्पसंरचनाको विश्लेषण गर्दै यसको प्राप्ति पहिल्याउने प्रारम्भिक प्रयत्न गरिएको छ ।

२. बाटुली पत्रकाव्यको कथ्यसन्दर्भ
बाटुली (२०६६) विचारप्रधान विज्ञानकाव्य हो । यसले वैज्ञानिक चिन्तनलाई अघि सारेको छ । यस्तो नयाँ वैज्ञानिक चिन्तनका संवाहक बाटुली र दिनेश रहेका छन् । बालसखा बाटुली र दिनेशका पत्रका माध्यमबाट यहाँ कथ्यको प्रतिपादन भएको छ । समसामयिक सामाजिक विकृति–विसङ्गति, नेपालको सङ्क्रमणकालीन राजनीतिक अवस्था, नारी उत्पीडन, लैङ्गिक विभेद आदि बाटुलीका माध्यमबाट र प्रकृतिको दोहन कार्य, ऊर्जाको अत्यधिक उपयोग र बृद्ध व्यक्तिलाई आयुप्रत्यावर्तन गरी तन्नेरी पार्ने पद्धतिको खोजकार्य आदि दिनेशका माध्यमबाट प्रस्तुत भएको छ ।
पहिलो अध्यायदेखि चौथो अध्यायसम्म बाटुलीका विचारहरू प्रस्तुत भएका छन् । बालसखा बाटुलीको विवाह पल्लो गाउँको वसन्तसँग हुनु, वसन्त र उसको परिवार बाटुलीलाई माध्यम बनाएर बाटुलीका बाबुको सम्पत्ति हात पार्ने दाउ गर्नु, बाटुलीमाथि अनेक दुव्र्यवहार गर्नु, त्यसबाट आजित भई घर छोडेर बाटुली काठमाडौँतर्फ लाग्नु, सम्बन्ध विच्छेद गर्नु, यी र यस्ता सामाजिक विकृतिको जानकारी गराउँदै तथा विज्ञानका खोजलाई व्यापक मानवहितमा लगाउने अपेक्षाका साथ विदेशस्थित दिनेशलाई पटकपटक पत्र लेख्नु यी चौथो अध्यायसम्मका मुख्यमुख्य प्रसङ्ग हुन् । यिनै मुख्यमुख्य सन्दर्भसँग जोडिएर नेपालका विभिन्न सामाजिक–सांस्कृतिक विकृतिहरू, विसड्डतिहरू, रीतितिथि, व्यवहारका साथै विज्ञानका अधुनातन खोज र तिनको प्रयोग जस्ता सन्दर्भहरू आएका छन् । काव्यको कथानक सङ्क्षिप्त भए पनि यसले समेटेको कथ्यसन्दर्भ विस्तृत र विश्वजनीन छ । पल्लो गाउँको वसन्तसित बाटुलीको विवाह र उसमाथि भएका व्यवहारले यहाँको सामाजिक–सांस्कृतिक विकृतिलाई प्रस्ट पारेको छ । प्रथम पत्रमा बाटुलीको कथन ः
म त मूल्यवान् माउबाख्री झैँ
सुनका बड्कौला पो दिने भएँ ।
... ... ...
देखी चुत्थो त्यो व्यवहार
हे¥यो पुलुक्क गोरु जुरेले
ठान्यो सभ्यताको भो अवसान । (पृ. ३)
दाइजो प्रथा र विवाहित नारीलाई माध्यम बनाएर धनको दोहन गर्ने परिपाटी नेपाली समाजमा पनि बढ्दो छ । प्रचलित नियम र कानुनहरू प्रभावी भएका छैनन् । दोषीलाई कारवाही भइरहेको छैन । यस दण्डहीनताले गर्दा समाजमा विकृतिहरू फैलिँदा छन् । मानव–समाजको यस्तो हालत देखेर गोरुले पनि सभ्यताको अवसान भएको ठानेको भनी व्यङ्ग्य गरिएको छ । यहाँ ‘सिन्दुरको आडमा लुट्ने’ सामाजिक लुटेराहरू छन् । नारीलाई दासी ठान्ने मनुवादीहरू छन् । यस्तो सामाजिक अवस्था देखाएर त्यसबाट मुक्ति खोज्ने, दासत्वबाट मुक्ति खोज्ने प्रयत्न छ, दासत्वको पोतेलाई सामन्त प्रतिनिधि वसन्तका मुखैमा हुत्याइदिएर बाटुली छिरबिरे धोबिनी चरी झैँ मुक्त, स्वतन्त्र भएकी छ । उसले विद्रोह गरेकी छ ः
एउटा दन्त्यकथाको राजकुमार जस्तै
तिलस्मी प्रतिभाले ओतप्रोत
तिम्रो क्षमताले
हामीलाई शासन गरी राख्ने
अन्धविश्वास र गरिबीका
भयानक दैत्यहरूका मुठ्ठीबाट
हामीलाई छुटाउन सक । (पृ. ७)
... ... ...
‘ताराबाजी लैलै’ खेलाउने
सपनाको राजकुमार जस्तै
मेरा निम्ति र हाम्रा निम्ति
हाम्रा दन्त्यकथाको नायक बन । (पृ. ८)
दन्त्यकथाको नायकले झैँ समाजलाई अचेलका सामाजिक दैत्यबाट मुक्ति दिलाउन सक्ने नायकको कल्पना र चाहना बाटुलीमा छ । सदियौँदेखि जरा गाडेको सामन्ती संस्कार र व्यवहारबाट छुटकारा दिन त्यत्तिकै शक्तिशाली नेतृत्वको आवश्यकता पर्नु स्वाभाविकै हो । नायक दिनेशबाट एकातिर सामाजिक दासत्वबाट मुक्तिको अपेक्षा छ भने अर्कातिर प्रकृतिको स्रोत र सौन्दर्यलाई आÇनै पोल्टामा पार्ने चाह पनि छ ।
दोस्रो अध्यायमा पनि दिनेशलाई सम्बोधन गर्दै लेखिएको बाटुलीको काव्यात्मक पत्र रहेको छ । पत्रमा बाल्यकालमा धुलौटेमा भाँडाकुटी खोलेको सम्झना पस्कँदै र खाँदबारीको सेरोफेरोको सक्कलीपना प्रस्तुत गर्दै काठमाडौँको निर्लज्जता, नक्कलीपना र स्वार्थीपनाको बखान गरिएको छ । काठमाडौँ डाबर सुन्दरीहरूका उन्मादी लयमा ताते गर्दै बिटुलो चेतनालाई वा जुठो संस्कृतिलाई आत्मसात् गर्दै धुमिल साँझको पुरानो चित्र झैँ आफैँबाट हराउन खोजेको चर्चा गरिएको छ । दिनेशलाई बाटुली ज्ञान र विज्ञानका आलोकले आफूलाई कायाकल्प गर्न आह्वान गर्दछे । ज्ञानको अनिकालले गर्दा अभाव, पछौटेपन र मानवता विरुद्धको सान बढेको हो । हामी कहाँ करोडौँ मेगावाट विद्युत् उत्पादन क्षमता छ । सूर्यबाट ऊर्जा लिन सकिन्छ । धर्तीलाई झलमल्ल पार्न सकिन्छ । बाटुलीको कथन छ ः
प्रकृतिको दोहन नै
हाम्रो वैभवको स्रोत हो । (पृ. १६)
... ... ... ...
प्रकृति नै हाम्री जननी र बालक हुन्
माग्न, उपयोग र संरक्षण गर्न जान्दा
स्वर्गकै अर्को स्वरूपा हुन्
त्यसैले म हिजो आज निरन्तर जप्ने गर्छु
‘प्रकृति मातृरूपा च स्वर्गादपि गरीयसी’ । (पृ. १८)
प्रकृति र सूर्यका क्षमता र महŒवमाथि यस अध्यायमा पर्याप्त प्रकाश पारिएको छ ।
तेस्रो अध्यायको प्रारम्भमा वनस्पति विज्ञानको प्रगतिको सपना छ भने त्यसपछि त्यसलाई प्रोत्साहन नगर्ने राजनीतिक वातावरणको चित्रण गरिएको छ । दयानन्दका शिष्य आनन्द र विपिन धानको आयु छोट्याएर एक महिनामै फलाउन सक्ने खोजलाई परीक्षण पश्चात् वैज्ञानिकहरू शिक्षा मन्त्रालय पुग्छन् र कुर्सी माहात्म्यमा लागेका जिम्मेवारी विहीन नेतृत्व देखेर निराश भई फर्किन्छन् । यहाँनेर देशको वस्तुस्थिति र यथास्थितिलाई सटिक ढड्डले प्रस्तुत गरिएको छ । यसै गरी यहाँ आफू र आÇनो देशमात्र होइन, समग्र मानवको हितका निम्ति प्रकृतिमाथि हस्तक्षेप गरी विकास र परिवर्तनको कामना गरिएको छ । –
जीवनको प्रक्रियालाई नबिगारीकन
उपयोगी र वाञ्छित हस्तक्षेप गर्दै
मान्छेका थप हितका निम्ति
जीवको विकास र आयुवृद्धि अनि
शरीरको कायाकल्प गर्नै पर्ने हुन्छ । (पृ. २८)
... ... ... ...
ज्ञान र विज्ञानलाई
मानव कल्याण निम्ति गोरुलाई झैँ जोत्न
विज्ञानलाई मानव कल्याणका निम्ति घर घरमा पोत्न । (पृ. २९)
यसरी तेस्रो अध्यायमा वनस्पतिविज्ञान, प्राणीविज्ञान र ऊर्जाविज्ञानसम्बन्धी नवीन अपेक्षाहरू अगाडि सारिएको छ ।
चौथो अध्यायमा यातायात (रज्जुमार्ग र भूमिमार्ग) र सञ्चार (तरङ्गपथ) को प्रसङ्गको उल्लेख गर्दै र काठमाडाँैको ऊर्जा सड्ढट देखाउँदै सौर्य ऊर्जा र सौर्य ऊर्जाको मुक्तप्रणालीलाई प्रस्तुत गरिएको छ । यस्तै यहाँ विद्यमान हाम्रो संस्कृतिले सिकाएको लैङ्गिक विभेद प्रस्तुत गर्दै नारी जागरण र नारीमुक्तिको आवश्यकता औँल्याइएको छ । विद्यमान लैङ्गिक विभेदलाई यसरी देखाइएको ः
तिमीलाई तिम्री आमाले दसँैमा
टीका लगाइदिँदै भन्नुभयो
“धेरै पढेर ठूलो मान्छे भएस्
डाक्टर भएस् ...”
... ... ...
मेरी आमा टीका लगाइदिँदा
आसिक दिँदै भन्नुहुन्थ्यो
“घर धन्दामा सिपालु भएस् !
अलिक पढेस्
र ठूला घरमा परेस् ....!” (पृ. ४२)

यहाँ नेपाली संस्कृतिको प्रशंसा र चित्रण पनि गरिएको छ र गाउँको परिवर्तित अवस्थाको यथार्थ चित्रण पनि गरिएको छ ः
गाउँ त तिमी हामीले छोडेजस्तै
साँच्चै युवा विहीन भएछ । (पृ. ४७)
यस्तै ज्ञानका क्षेत्रमा देखिएको पछ्यौटेपनलाई पनि यहाँ प्रस्तुत गरिएको छ ः
सधैँ अरूकै बारीमा फलेको ज्ञान चपाएर
आफूलाई विद्वत्ताका देवर्षि ठानिरहेछौँ । (पृ. ५६)
हामी नयाँ ज्ञानका सट्टा अरूका बिटुला ज्ञानका पछि दगुरिरहेका छौँ । आवश्यकता छ, नयाँ ज्ञानको, नयाँ खोजको र मानव–कल्याणकारी नितान्त नयाँ खोजको, समाजलाई आमूल परिवर्तनकारी खोजको । यहाँ बाटुलीका माध्यमबाट यही अपेक्षा प्रस्तुत गरिएको छ ।
पाँचौँ र छैठौँ अध्यायमा दिनेशका विचार, ज्ञान र अनुभवहरू छन् । पाँचौँ अध्यायको प्रारम्भमा बाटुलीका पत्र–सञ्चारले आफूलाई कर्तव्यपथमा लागिरहन प्रेरित गरिरहेको विचार व्यक्त भएको छ भने त्यसपछि मान्छे रोग, भोक, शोक आदिबाट मुक्ति चाहन्छ, तर सामन्ती सत्ताले यसको विज्ञानपरक यथार्थपरक समाधान दिनुको सट्टा ईश्वर देखाएर छकाएको प्रसङ्गको उल्लेख गरिएको छ ः
मान्छेकै थिचोमिचोबाट मुक्ति
ईश्वर दयामा हुने देखाइयो
ठूलाका शोषणका सञ्जालबाट मुक्ति
ईश्वरशक्तिमा देखाइयो ।
भोक र रोगबाट मुक्ति
स्वर्ग प्राप्तिमा देखाइयो । (पृ. ६७)
तर यसबाट मानिसले खोजेजस्तो मुक्ति प्राप्त हुन सक्दैन । ऊ बाटुलीले देखेको सपना र चाहना अनुरूप आफूसहित चार साथीहरू निरन्तर नयाँ खोज अभियानमा जुटिरहेको कुरा व्यक्त गर्दछ ः
हामी एउटा उद्यमी सञ्जालको
भविष्यको रेखा कोर्न
चार जिज्ञासु विद्यार्थीहरू लागेका छौँ
परमाणु र सौर्य ऊर्जालाई शक्तिको स्रोत पार्दै
कृषि जगत्मा समेत क्रान्ति गर्न
र जीवविज्ञानमा कायाकल्पको विधि
हात पार्नमा तल्लीन छौँ । (पृ. ६७)
दिनेश आÇना पत्रमार्फत् बाटुलीलाई उसको सपनालाई साकार पार्न आफूहरू लागिपरेको बताउँछ । बाली वैज्ञानिक (वनस्पतिविज्ञ) फ्रान्सेली अल्फन्सो मोरे वर्षको बार चक्रमा फसल फलाउन र इच्छित फसल वाञ्छित समयमा चाहे जति फलाउन सकिन्छ भनी खोजी गर्नमा व्यस्त रहेको छ । ऊर्जा वैज्ञानिक सुडानेली सल्मा केथ्री सौर्य ऊर्जालाई मानवहितमा लगाउन चाहन्छे र ऊर्जा बारे भएका र हुने हरेक युद्धलाई समाप्त पार्न चाहन्छे । शरीर वैज्ञानिक नेपाली दिनेश एउटा जीववैज्ञानिक हो । ऊ मान्छेको आयुप्रत्यावर्तन गरी बृद्धबृद्धालाई कसरी युवा वा तन्नेरी बनाउन सकिन्छ भन्ने खोजमा लागेको छ । ऊ कायाकल्प गर्न आतुर छ ।
छैटौँ अध्यायमा पारिवारिक सम्बन्धको कुरा छ । आमाको पत्र आएको र पत्रसँगै आफूलाई पीडा र धर्मसड्ढट आइपरेको बयान छ र त्यस सड्ढटबाट जोगाउन उसले बाटुलीसँग अनुनय पनि गरेको छ । यसै प्रसङ्गमा यहाँ आमाको बुहारी कजाउने र नातिनातिना खेलाउने चाहना, साधारण डाक्टर बनेर फर्कने अपेक्षा र आफू शरीरको कायाकल्प गर्ने प्रयोगधर्मी भएको कुराको उल्लेख, यस्तो कुरा आमालाई बताउन नसक्ने हुँदा बाटुलीलाई आमालाई सझाइदिने आग्रह गरिएका प्रसङ्ग पनि आएका छन् ।
साताँै अध्यायमा पुनः बाटुली झुल्केकी छ । दिनेशले आमाको पत्रको जिकिर गर्दै आमाका आशालाई भरङ्ग नपारी आमालाई सम्झाइदिने भनी बाटुलीसँग जुन अपेक्षा राखेको थियो बाटुलीले सोही अनुसार आमालाई सम्झाएको कुराको बेहोरा यस अध्यायमा छ । उसले आमाले दिनेशको तपस्या सफल भयो भने लाख डाक्टरले गर्न नसकेको काम एक्लैले गर्न सक्ने हुनेछ भनी सम्झाएकी छ । त्यस्तो सपना नै आमाका लागि आशाको त्यान्द्रो वा बाँच्ने सम्बल भएको छ । त्यसैले ऊ भन्छे ः
त्यसैले तिमी अब पहिले भन्दा
दोब्बर ऊर्जासित
तेब्बर लगन र सक्रियतासित
आमाको सपनाको यात्रालाई
थाक्न नपाई पूरा गर्नेछौ । (पृ. ८९)
आमाको महत्तामाथि प्रकाश पार्दै बाटुली थप्छे —
आमाले आँखा उघारे दिन हुन्छ

आठौँ अध्यायमा पुनः दिनेश अगाडि सरेको छ । बाटुलीले आमालाई सम्झाई समस्या समाधान गरिदिएकोमा दिनेश बाटुलीप्रति आभारी भएको छ । यस्तै यस अध्यायमा, कैयौँ महिनाहरू दैनिक नित्यक्रिया समेत छाडेर शोधखोज गरेर उनीहरूले कायाकल्पविधि तयार त पारे, तर यस्तो प्रयोग–परीक्षण कस माथि गर्ने भन्ने पिरलो परेको छ ।—
रहे–सहेको चारै दिनको भए पनि
ज्यान सबैको प्यारो थियो । (पृ. ९७)
यस्तोमा सल्मा केथ्री आÇनी हजुरआमा निटली बोझेमा यो नयाँ परीक्षण गर्न सहमत हुन्छे । सौर्य किरणका तरङ्गाणुहरू र गुण र तŒवअनुसार भिन्न–भिन्न गुणग्राह्यताको विश्लेषण, वर्गीकरण र पृथकीकरण गर्दै भिन्न गुणधर्मिता र भिन्न गुणक्षमताका पाटी र कक्षहरू निर्माण गरी रङ्गकिरणले स्नान गराउँदै मृतकोषहरू डढाउँदै र सञ्जीवनी किरणले पुनः स्नान गराउँदै नवीन कोषहरूको सिर्जना र विस्तार गर्दै लगेर एघार दिनसम्म आमैलाई बाचइराखे । यो कायाकल्पको पूर्व पद्धति हो । यसपछि ‘मृतकोष र तन्तुहरूको शोषण र दाहप्रक्रिया अनि निषेध, निषेचन र आरक्षणको प्रक्रियाबाट प्रक्रियागत ध्वंस र निर्माण प्रक्रिया अवलम्बन गरी आमैको पूर्ण कायाकल्पको कार्य अझै बाँकी रहेको छ ।
नवौँ अध्यायमा पुनः बाटुली टुप्लुक्किएकी छ । यहाँ उसले नेपालको सङ्क्रमणकालीन अवस्थाको चित्र खिचेकी छ । यस क्रममा नेपाली कविका जागरणमुखी क्रान्तिकारी कविताले नेपाली जन–मनलाई जगाएको उल्लेख गरेकी छ । गोपालप्रसाद रिमाल, श्याम तमोट, युद्धप्रसाद मिश्र आदि कविको नाम पनि लिएकी छ । यस्तै तराईकी दलित महिलालाई बोक्सी भनी मलमूत्र खुबाई अपमान गरिएको, कुटपिट र लछारपछार गरिएको र अन्तमा ज्यान गएको घटना विवरण प्रस्तुत छ । यस्तै काठमाडौँँकी अम्बिका धमलामाथि सौता हालेपछि उनलाई विस्थापन गर्ने प्रयत्न भएको र अन्तमा अस्पतालमा उनको मृत्यु भएको घटना विवरण छ । यस्ता घटना अगाडि सारेर यहाँ नारीमाथि सधैँ ‘असुरक्षाको साइरन बजाइएको’ भन्दै नारी स्वतन्त्रता, नारी अस्तित्व र समानताको आह्वान गरिएको छ । लोकतन्त्र आए पनि यो ओठे भएकोमा यहाँ असन्तुष्टि व्यक्त गरिएको छ ः
पालना गर्दा मात्र
क्रान्तिका प्रतिफलको
साक्षात्कार हुन सक्दैन । (पृ. ११४)
... ... ... ...
नारासम्ममै सीमित ‘अग्रगामी’ कुरा
अघि बड्न सकेको छैन ।
राजनीतिमा जेसुकै भए पनि
जनताकै निम्ति भने
तेल निख्रेको गाडीझैंँ भएको छ–
‘नयाँ नेपाल’ । (पृ. ११६)
काव्यको अन्तिम र दसौंँ अध्यायमा दिनेशका कुरा छन् । बाटुलीको आह्वान र केथ्रीको आत्मबल पाएर आपूm प्रकृतिसित लड्न र प्रकृतिबाट खोस्न सफल भएको कुरा दिनेश लेख्छ । केही क्षयरोगी र केही अर्बुद रोगीलाई आपूmले आÇनो नयाँ खोज सूर्यकिरणबाट बटुलेका रङ्गीन लेसरहरूबाट निको पारेको तथा ९७ वर्षीय निटली बोझे नयाँ केटीमा रूपान्तरित भएकोमा गर्व प्रकट गर्दछ । उनी अब नातिनी केथ्री भन्दा कलिली भएकी छन् । यो सफलता केथ्रीको सौर्य ऊर्जाको खोज र दिनेशको शरीर विज्ञानको खोजको परिणाम थियो ।
सौर्य ऊर्जाको नयाँ खोजले तेल उत्पादक राष्ट्रहरूको आर्थिक मेरुदण्ड समाप्त हुनेछ भन्ने आशङ्का ले केथ्रीका विरुद्ध लागेको सुलेमान विन लादेन मर्माहत हुन्छ र दुई दिन हराउँछ । त्यसपछि आएर आÇनो कुरा खोल्छ अनि फेरि ऊ बेपत्ता हुन्छ । सुलेमान हराएपछि मनमा अनेक आशङ्का उठे पनि उनीहरू एउटा सफलताको टुङ्गोमा पुगेका छन् ः
हामीलाई शिखर छुनु नै थियो
सफलतालाई अधीन गर्नु पनि थियो
विश्व–मानव–समुदायको
ऊर्जाको भोक मेटाउनु नै थियो ।
प्रकृतिको निःशुल्क उपहारलाई
मानव–हितमा ब्युँझाउनु थियो ।
मानव–कल्याणनिम्ति
आगतको इतिहासले निश्चिन्त भएर
उघ्राउन पाउनु थियो ।
पुराणहरुले कपेका स्वर्गलाई
मान्छेका आँगनमै ओराल्नु थियो । (पृ. १२५)
यसरी निटली बोझेमाथि गरिएको परीक्षणपश्चात् दिनेशको अनुसन्धान टोली अब हिमालतिरको यात्रा गर्ने र दिनेशका बाबु–आमाको कायाकल्प गर्ने योजना बनाउन लागेको छ ।
दसौंँ अध्यायको समाप्तिपछि यहाँ उपसंहार दिइएको छ । दस अध्यायहरू पत्रात्मक छन् भने उपसंहार त्यस्तो छैन । यो लेखकीय कथन वा समाख्यानका रूपमा आएको छ । दिनेश, केथ्री, केथ्रीकी तरुनी हजुरआमा बोझे लगायतको नौ–दस जनाको अनुसन्धान टोली अब नेपालको खप्तड भूमिमा रहेर खोज र परीक्षण गर्दै छ । आज खप्तडभूमि विज्ञान गाउँ भएको छ । यहाँ निटली बोझेलाई विज्ञानपुत्री भनिएको छ । खप्तडभूमि अब तपोभूमि होइन, विज्ञानभूमि भएको बताइएको छ । यहाँ खप्तडको प्राकृतिक सौन्दर्यको वर्णन पनि गरिएको छ र यो भूमि अब विज्ञानका ऊर्जाले समेत आलोकित भएको बताइएको छ । अनि सूर्यको प्रशंसा गर्दै उपसंहार र काव्यको अन्त गरिएको छ ।–
“सूर्य.....!
‘तमसो मा ज्योतिर्गमय
मृत्योर्मा अमृतम् गमय ...।” (१३४)
यसरी हेर्दा यहाँ एकातिर सामाजिक थिचोमिचो, सामन्ती संस्कार राजनीतिक व्यभिचार, अस्थिरता, अभाव र दरिद्रता देखाइएको छ भन्ने अर्कातिर समग्र मानव–हितखातिर नयाँ खोज गरिछाड्ने नयाँ पुस्ताको हुटहुटी देखिन्छ । समकालीन नेपाली समाजको जुन चित्रण र वर्णन छ, त्यो यथार्थपरक छ । जहाँसम्म विज्ञानका खोजको सन्दर्भ छ त्यो प्रयोग–परीक्षणबाट सिद्ध नहुँदासम्म प्राक्काल्पनिक (ह्यापोथेटिकल) हुन्छ र प्रयोग–परीक्षणबाट सिद्ध भए त्यो यथार्थ र विज्ञान हुन्छ । यहाँ विज्ञानको खोजको जुन र सन्दर्भ छ यथार्थमा त्यो प्राक्काल्पनिक अवस्थामै छ । तर प्राक्कल्पना नभए विज्ञानको खोज हुनै सक्दैन । यसले छोटो आयुको र कायाकल्प बारे जुन खोजको प्राक्कल्पना अघि सारेको छ, यसलाई प्रयोग–परीक्षणबाट सिद्ध गरी काव्यमा भनिए झैँ व्यापक मानव–हितमा लगाउन सकिने सम्भावना छ र यसतर्फ विज्ञानको ध्यान जानै पर्छ । समकालीन सामाजिक यथार्थका धरातलमा यहाँ विज्ञानलाई, विज्ञानका सम्भावित र अवश्यम्भावी खोजलाई कथ्यसन्दर्भ बनाइएको छ । यसर्थ यो विज्ञानकाव्य हुन पुगेको छ । यो नौलो र चिन्तनपरक काव्यका रूपमा उभिएको छ ।
प्रस्तुत काव्यमा जुनजुन विचार व्यक्त भएका छन् ती सामन्तवाद, रुढिवाद, अन्धविश्वास, परम्परागत अन्ध मूल्य र मान्यताका विपरीत नयाँ समतावादी, मानवतावादी र प्रगतिशील छन् । नेपालको दिनेश, अफ्रिकाली सल्मा केथ्री, अरबीयन सुलमान र फ्रान्सेली अल्फन्सो मोरे एक मन, एक विचार र एक मत भएर मानवहितको खोज कार्यमा जुटेका छन् । यसले मानवतावादी र समतावादी विचारलाई द्योतन गर्दछ । बाटुली सामाजिक रूपान्तरण चाहन्छे । दिनेशहरू विज्ञानका नवीन खोजका माध्यमबाट सामाजिक रूपान्तरण मात्र होइन, वर्तमान विश्वको विद्यमान आर्थिक ढाँचालाई आमूल परिवर्तन गर्नुका साथै मानवजीवनमा कायाकल्प गर्न चाहन्छन् । मानवको जीवन ईश्वरको देन हो भन्नेहरूलाई, सुख–दुख कर्मको खेल हो भन्नेहरूलाई र बृद्धत्व प्राकृतिक नियम हो भनेर मान्नेहरूलाई दिनेशको अनुसन्धान टोली खुला चुनौती दिइरहेछ । यस्तो विश्वदृष्टि निश्चय नै प्रगतिशील विश्वदृष्टि हो । यसले प्रगतिशील नारीवादको पक्षपोषण गरेको छ । काव्यको कथानक झिनो, सूक्ष्म, सङ्क्षिप्त भए पनि यसले समेटेको कथ्यसन्दर्भ विस्तृत र विश्वजनीन छ ।

३. बाटुली पत्रकाव्यको शिल्प–संरचना
नेपाली काव्यका विकासमा बाटुली नौलो प्राप्ति हो । यो कविता हो । यो कविताको मध्यम विस्तारित रूप हो । कविताको यस्तो आयातन वा मझौला रूपलाई पूर्वमा सामान्यतया खण्डकाव्य भन्ने चलन छ, तर यसमा आठभन्दा बढी सर्ग छन्, जीवन र जगत्को व्यापक र विस्तृत चित्रण छ । त्यसैले गर्दा यो महाकाव्योन्मुख काव्य भएको छ । यसले कथ्य–प्रतिपादन वा समाख्यानको जुन शैली अवलम्बन गरेको छ, त्यसले यसलाई पत्रकाव्य बनाएको छ । यहाँ बाटुलीका छ (पत्र–अध्याय, १, २, ३, ४, ७ र ९) र दिनेशका चार (पत्र–अध्याय ५, ६, ८ र १०) पत्रहरू छन् । पत्र वा चिठी काव्य होइन । यहाँ काव्यलाई वा कवितालाई वा विचारलाई वा कथ्यलाई अभिव्यक्त वा प्रस्तुत गर्न पत्रको जस्तो आंशिक शैली वा ढाँचा अँगालिएको छ । पत्रमा झैँ सम्बोधन भए पनि मिति र स्थान छैन, अभिनिवेदन र हस्ताक्षर छैन । तसर्थ यो काव्य पत्र वा चिठी होइन । यो व्यावहारिक लेखनको प्राप्ति नभएर सिर्जनात्मक लेखनको संप्राप्ति हो । त्यसैले यहाँ चिठीको जस्तो सम्बोधनात्मक शैली सम्म अँगालिएको छ । यो एक किसिमको नयाँ प्रयोग हो । जीवन र जगत्को सम्यक् चित्रण र दसएघार सर्ग भएकाले यो महाकाव्यको निकट पुगेको छ । उपन्यासमा गोविन्दराज भट्टराईको मणिपुरको चिठी मैले पढेथेँ, कथामा ‘डल्लीलाई गोप्पे पत्र’ कथा लेखक स्वयम्ले लेखेको हो । काव्यमा सम्भवतः यो पत्रात्मक काव्य पहिलो नै हो ।
कथ्यसन्दर्भलाई यहाँ दस सर्गमा प्रस्तुत गरिएको छ । सर्गलाई अध्याय भनिएको छ, अध्यायलाई पत्र–अध्याय भनिएको छ । यस्ता पत्र–अध्याय यहाँ दस छन् । उपसंहार समेत गरी ११ अध्याय छन् । यहाँ सर्गलाई ‘पत्र–अध्याय’ भन्नु पनि एउटा प्रयोगको प्रयत्न नै हो । काव्यका आरम्भमा मङ्गलाचरण राख्ने प्रचलन र मान्यतालाई पनि यसले छाडिदिएको छ । यो अर्को प्रयोग हो । यो गद्य लयमा रचना गरिएको काव्य हो । लामाछोटा पङ्क्तिपुञ्जमा अन्तर्लयको विधान गरी यहाँ लयविधान गरिएको छ ।
काव्यको भाषा सरल नेपाली भाषा रहेको छ । विषयको गाम्भीर्यले गर्दा यथास्थान पारिभाषिक र केही जटिल शब्दहरू आउनु स्वाभाविक छ । केही उदाहरण ः पराबोधिनी (२०), परावर्तिनी (२०), सर्वशक्तिप्रदायक (२०), पराभेदिनी र वस्तुछेदिनी (२०), प्रवाहिनी (२१), ऊर्जादोहन (३०), तापकारी कणहरू (३२), मृतकोषहरू (३२,९८), परावैगनी कण (३२), रक्तकण (३२), वृद्धकाया (३२), भूमण्डलीकरण (३३), ऊर्जाभण्डार (३४), बेतार–प्रणाली (३९), सञ्जाल (६७), ऊष्णकटिबन्ध भू–भाग (७१), कायाकल्प (७३, १००), तरङ्गाणुहरू (९८), पृथकीकरण (९८), रङ्गकिरण (९८), सञ्जीवनी किरण (९८), प्रत्यावर्तन (९९), दग्धक्रिया (९९), दाहप्रक्रिया (१००), निषेध (१००), निषेचन (१००), आरक्षण (१००) । यस्ता पारिभाषिक–प्राविधिक शब्दहरू यहाँ दुर्बोध्य भएका छैनन् । प्रसङ्गले गर्दा यी सुबोध भएका छन् । काव्यमा यथास्थान उखान र संस्कृतका सूक्तिहरूको उद्धरण छ । प्रकृतिको दोहन र सौर्य ऊर्जाका सन्दर्भमा यस्ता सूक्ति बढी आएका छन् । काव्यको समापन पनि संस्कृत सूक्तिबाटै भएको छ । राम, कृष्ण, द्रौपदी, बुद्ध, यक्ष जस्ता मिथकको प्रयोग भएको छ । दयान्न्द बज्राचार्य जस्ता जीवित यथार्थको उल्लेख भएको छ । यस्ता उद्धरण र प्रयोगले गर्दा काव्य बौद्धिक भएको छ ।
यस काव्यका प्रमुख र प्रत्यक्ष वा मञ्चस्थ पात्र बाटुली र दिनेश हुन् । सल्मा केथ्री, सुलेमान, अल्फन्सो मोरे उल्लेख्य पात्र भए पनि यी नेपथ्यस्थ छन्, सूच्य मात्र छन् । दिनेशकी आमा, निटली बोझे, वसन्त, बाटुलीको बाबु, दयानन्द बज्राचार्य, स्नातक तहका शोधार्थी आनन्द र विपिन आदि पात्रहरू पत्रप्रसङ्गमा मात्र आएका सूच्य पात्रहरू हुन् ।
काव्य जति ओजिलो, बोझिलो र बौद्धिक छ, यसले प्राप्त गरेको नाम तदनुकूल छैन । बाटुली सरल नाम हो । एक प्रमुख नारीपात्रलाई आधार बनाएर काव्यको नामकरण गरिएको छ । बाटुलीकेन्द्री कथानक, कथ्यसन्दर्भ र उसको स्तरअनुरूपका विचारहरू मात्र हँुदा हुन् भने यो नाम सार्थक हुन सक्थ्यो, तर यहाँ त त्यसभन्दा बढी विज्ञानका उच्चतम नवीन अधुनातन सम्भाव्य खोजको सन्दर्भ अझ प्रमुख भएर आइदिएको छ, जसका लागि दिनेशहरू जस्तै समर्पित, लगनशील शोधार्थीहरू हुनु जरुरी छ । बाटुलीले प्रेरकको भूमिका त खेलेकी छ, तर उसकै प्रेरणाले मात्र दिनेशको अनुसन्धान टोली त्यसरी अनुसन्धानमा जुटेको होइन । तसर्थ यो शीर्षकले यस पक्षलाई समेट्न, प्रतिनिधित्व गर्न र चिनाउन सकेको छैन ।

४. निष्कर्ष
बाटुली विचारप्रधान नयाँ विज्ञानकाव्य हो । यसले नेपालको समकालीन यथार्थ र विज्ञानका नवीनतम खोजका सम्भावनालाई कथ्यसन्दर्भ बनाएको छ । यसले गर्दा यो विज्ञानकाव्य ठहरिन पुगेको छ । जसरी यसको कथ्य नवीन र प्रयोगमूलक छ, त्यसरी नै त्यसलाई प्रस्तुत गर्ने शिल्पसंरचना नवीन र प्रयोगमूलक छ । यहाँ पत्रात्मक शैलीमा विज्ञानका कुरा वा विज्ञानका खोजलाई प्रस्तुत गरिएको छ । नेपालको दिनेश, अफ्रिकाली केथ्री, अरबीयन सुलेमान र फ्रान्सेली मोरे एक मन, एक विचार र एक मत भएर मानवहितको खोजमा जुटेकाले यो काव्य मानवतावादी–समतावादी देखिएको छ । यसमा नवीन ढङ्गले जुन समतावादी–मानवतावादी विचार र प्रगतिशील विश्वदृष्टि प्रस्तुत गरिएको छ, त्यो यस काव्यको प्राप्ति हो । नयाँ पुस्ता बाटुली र दिनेशका पत्रका माध्यमबाट यहाँ विद्यमान कमीकमजोरीको आलोचना गर्दै एउटा सिङ्गो तर नयाँ सम्भावित सम्पन्न संसारको सुखद परिकल्पना प्रस्तुत गरिएको छ । समको आगो र पानी जस्तै बौद्धिक, ओजपूर्ण र प्रयोगशील छ यो । बाटुली एउटा काव्य हो । पत्र काव्य हो । नवकाव्य हो । परिष्कृत परिमार्जित भाषा र नवीन शिल्पसंरचनाका साथ प्रस्तुत भएको छ बाटुली । तसर्थ नेपाली साहित्येतिहासमा अमर काव्यकृतिका रूपमा रहनेछ बाटुली । यसले विजय खरेलको साहित्यिक व्यक्तित्वलाई एक्कासि माथि उठाएको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 2 बैशाख, 2073

लेखकका अन्य रचनाहरु