गीत

- तारादेवी सुनुवार

अटल भएर जिस्काउँछ अग्लो पहाडले
छाल हान्दै सुसाउँछ फन्को मार्दै माडीले
बाह्रै महिना आराम गर्दैन पाखा र पखेराले
उब्जाउँछ अनेकथरी अन्नबाली यसै पखेराले ।

चारैतिर स्वागत गर्दै घेरिरहन्छ पहाडले
भित्रभित्रै अनेकथरी पंक्षीहरू लुकाउँछ जङ्गलले
बोलाउँछन् खोल्साखोल्सी कुना अनि कन्दराले
टोलाउँछ कन्दमुल र जडीबुटी हेरिरहन्छ एकनासले ।

पहाडमा फलेकै छन् फलफूल आ–आफ्नै पाराले
चिनून् भनी पर्खिएका छन् यी सबै साराले
लेक अनि बेंसी दुवै झुलेका छन् हावाले
सल्ला र साल पनि खेलेकै छन् खुसीले ।

हिउँको गहनामा सजिएर इशारा गर्छ जलजलाले
वारिपारि छुटाउन सहयोग गरिरहन्छ खोला र नालाले
कोभन्दा को कम भन्दै हाम फालिरहन्छ छाँगा र छहराले
पहरेदार हुँ भनेर जिस्काइरहन्छन् अग्ला–अग्ला पहाडले ।

हाल ः रोल्पा

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 2 बैशाख, 2073

लेखकका अन्य रचनाहरु