बजगाईंको ‘कमरेड भाउजू’

- तुलसीहरि कोइराला

तुलसीहरि कोइराला विशेष गरी लघुकथालेखनमा अग्रणी देखिएका कृष्ण बजगाईंको पछिल्लो कृति चाहिँ ‘कमरेड भाउजू’कथासंग्रहको रुपमा सार्वजनिक भएको छ । यन्त्रवत्(सन् २००७), रोडम्याप (सन् २०१०) लघुकथा संग्रह, हिउँको तन्ना (हाइकु) र स्रष्टा र डिजिटल वार्ता (साहित्यिक अन्तर्वार्ता संग्रह सन् २०१०) उनका प्रशस्त चर्चा पाएका अघिल्ला प्रकाशित कृतिहरु हुन् । उनी लामो समयसम्म युरोपीयन देश वेल्जियममा बसेर केही वर्ष अघिदेखि वेलायतमा सरेका छन् ।
देश बाहिर रहेर पनि सक्रियरुपमा साहित्य सिर्जनामा लागिपरेका बजगाईंले यो पछिल्लो कथाकृतिलाई भने डायोस्पोरिक कथासंग्रह भनेका छन् । त्यसो त डायोस्पोरा शव्दमाथि नै धेरै किसिमका टीका–टिप्पणीहरु हुँदै आएका छन् । परदेशको दौडधुप र घरदेशको सम्झनाको सेरोफेरोमा चेप्टिएको स्रष्टाले दुवै परिवेशको घुलन गरेर लेखेको साहित्यले दुवै परिवेशलाई समेटेको देखिन्छ । कृष्ण बजगाईंजीका त झन् श्रीमती सञ्जु बजगाईंसमेत सशक्त नारी कथाकारका रुपमा देखिएकी छिन् । यो जोडीले डायोस्पोरिक साहित्यको उन्नयनमा प्रशंसनीय सक्रियता देखाउँदै आएको छ ।
‘कमरेड भाउजू’ कथासंग्रहमा जम्मा तेह्र वटा कथाहरु संगृहीत छन् । शीर्षकीय कथा कमरेड भाउजू संग्रहको पहिलो कथा हो । द्धन्द्धकालमा अनेक उपाय लगाएर बेलायत छिरेका कमरेड श्रीमान्–श्रीमतीको कथा हो यो । उनीहरुको विगत र वर्तमानलाई केलाइएको यो कथा धेरै कमरेडको जीवनसँग तादात्म्य राख्नेखालको छ । एउटा पलायन कम्युनिष्टलाई पार्टीले कारवाही गरेर सदस्यताबाट हटाएपछि श्रीमती कमरेड पनि ‘कमरेड भाउजू’ नरहेकीले नयाँ परिचयको खोजीमा रहेको सन्दर्भ कथामा छ । त्यस्तै 'पलायन कमरेड', 'गणतन्त्रपछिको पहिलो प्रेम' र 'मीट सिङ्गल डट कम' पनि कामरेडी सान र व्यवहारकै कथाहरु हुन् ।
'मिडिया मुस्कान'ले आफू भित्रको पीडालाई लुकाएर व्यवसायमा इमान्दारीता देखाउँदा गरिने अनेक शंका, उपशंकाले अन्त्यमा निकास पाएका छन् । 'तेस्रो कुकुर'मा विदेश मोहले गर्दा पैसा तिरेर सम्झौताको विवाह गर्दा कुकुरको दर्जा पाएर पनि सहनु परेको तीतो यथार्थ ओकलेको छ । 'मौन युद्ध' कथाले विदेशमा हुने तेस्रोलिङ्गी विवाह र त्यस्तो जोडीले नेपाली बालबालिकालाई धर्मपुत्र, धर्मपुत्रीका रुपमा लाने गरेको यथार्थलाई उजागर गरेको छ । टुहुरो नेपाली बालकले आफू ठूलो भएपछि आफ्ना धर्म आमाबाबुको यथार्थ थाहा पाएपछिको मनोदशा यो कथामा केलाइएको छ ।
'मंगल ग्रहमा देवकोटाको सालिक' कथाले नेपाली साहित्यमा देखिएको विकृति र सालिक राख्ने मोहमाथि व्यङ्ग्य गरेको छ । 'म सिसिफस' कथाले नेपाली केटाहरुसँग विवाह गरेको नाटक गरी विदेश लगेर नोकर बनाएर होटलमा काममा जोताएको, हरेक दिन रेष्टुरेन्टको गेटमा बेग्लाबेग्लै जातजातिका पोसाकमा ग्राहकको स्वागतार्थ उभ्याउने, होटलको आम्दानी त के श्रीमती भनाउँदीको छेउसम्म पर्न नपाउने लोग्ने शृङ्खलामा जोडिएको नेपालीको मनोदशा बोलेको छ । 'चौथो विवाह' कथा पैसा कमाउनका लागि मोलतोल गरेर कागजी विवाह गर्ने र प्रयोजन सकिएपछि फेरि अर्कोसँग उसरी नै विवाह गर्ने विवाहका नाममा हुने व्यापारको कथा हो । 'मीट सिङ्गल डटकम' कथाले बेलायतमा हुने गरेको एकलहरुको पार्टीमा सहभागी भएर जोडी खोजिने, यौन साटासाट गर्ने प्रचलन र त्यस्तै संस्कृतिमा सामेल भइसकेका नेपाली केटाकेटीहरुको अवस्थाको चित्रण गरेको छ ।
यो संग्रहकै उत्कृष्ट कथामा भने ‘गड्यौला उर्फ सत्यराज’ पर्दछ । नेपाल सरकारको कर्मचारी सत्यराज गड्यौलाको अनुवंश र वातावरणमा यसको महत्वका बारेमा विद्यावारिधि गर्न बेलायत गएका र उनकी श्रीमती पनि आश्रित भिषामा गएकी छिन् । श्रीमान् आफ्नो गड्यौला अनुसन्धानमै व्यस्त रहने र श्रीमतीको ख्याल नगर्ने, सधैँ थाकेर आउने, गड्यौलाजस्तै लल्याकलुलुक भएर सुत्ने र श्रीमतीका चाहना, अभिलाषा नबुझिदिँदा श्रीमतीले समाएको गलत बाटोले विद्यावारिधि प्राप्त भएर पनि सत्यराजलाई खुसी मिल्न सकेको छैन ।
बजगाईंको कमरेड भाउजूका अधिकांश कथाहरु बेलायती सन्दर्भका छन् र केही मात्र बेल्जियमका । ज्यादाजसो कथाहरु नारीपुरुष सम्बन्धमै केन्द्रित छन् । बाहिर बसेर, बाहिरी पृष्ठभूमिमै लेखिएको यो संग्रह पठनीय छ । उनी समकालीन साहित्य प्रतिष्ठान, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, समकालीन साहित्य अनलाइन साहित्यिक पत्रिका आदिमा पनि सक्रिय छन् । प्रवाशी नेपालीहरुमा उनको कलम दर्विलो बन्दै गएको प्रमाण यो कथासंग्रहले दिएको छ ।

कृतिः कमरेड भाउजू (डायोस्पोरिक कथासंग्रह)
कथाकारः कृष्ण बजगाईं
प्रकाशकः शब्दार्थ प्रकाशन काठमाडौँ
प्रकाशनः २०७१ पुस
पृष्ठः १२४
मूल्यः रु.१७५।–

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 25 चैत्र, 2072

लेखकका अन्य रचनाहरु