जस योञ्जन “प्यासी”-कृत “परिचर्चा”-को चर्चा

- राजु “हिमांशु”

२० मार्च २०१६ को दिन गोर्खा जन पुस्तकालय,खरसाङको डा० पारसमणि प्रधान प्रेक्षागृहमा श्रीमती विन्ध्या सुब्बा,समारोह अध्यक्षा, डा० जीवन नामदुङ, प्रमुख अतिथि, डा० कृष्णराज घतानी ,विशिष्ट अतिथि , डा० जस योञ्जन “प्यासी”,कृतिकार तथा श्री लाशा शेर्पा, प्रकाशकका बहुलीबाट विमोचित भयो समालोचनात्मक लेखसङ्ग्रह “परिचर्चा” ।
भारतीय नेपाली साहित्यका विविध विधाका सर्जकहरुको बौद्धिक भेला भएको समयमा कृतिबारे प्रा० तेजमान बराइली , डा० राजकुमार छेत्री, प्रा० नवीन पौड्याल , प्रा० मेघनाथ छेत्री ,अनि डा० कविता लामाले विमोचित पुस्तकबारे टिप्पणी प्रस्तुत गरे । कवयित्री अनि नाट्य लेखिका उषाकिरण राई “सत्यदर्शी”-द्वारा सञ्चालित कार्यक्रममा सतीश छेत्रीले जस योञ्जन “प्यासी” लिखित कविता,शरण मुस्कान र दिल थापाले एक एक वटा स्वरचित कविता,कमल रेग्मीले दुइ वटा गीत,अनि पुष्कर सिंगरले चार वटा रुबाई पाठ पनि गरे । “परिचर्चा”-को विमोचन समारोहमा कति जना टिप्पणीकारले “परिचर्चा”-को विषयक्रममा उल्लिखित क्रम सङ्ख्याअनुसार नै पुस्तकमा पन्ध्र वटा समालोचनात्मक लेखहरु सङ्गृहीत भएका उल्लेख गरे । वास्तवमा “परिचर्चा”-भित्र पन्ध्र होइन सोह्र वटा लेखहरु सङ्गृहीत पाइन्छन् विषयक्रममा पन्ध्र(१५)लेखिए तापनि। त्यसो हुनुमा विषयक्रमको सङ्ख्यामा त्रुटि पाइन्छ । किनभने क्रम सङ्ख्या ७ पछि ७ नै छापिएको छ भने क्रम सङ्ख्या १० पछि ११ नछापिएर १२ छापिएको छ अनि १४ पछि १५ नछापिएर १३ छापिएको छ र अन्तिम लेखको सङ्ख्या भने १५ मुद्रित भएको छ । टङ्कणसम्बन्धी यस त्रुटिले जम्मा १५ वटा लेख देखाए तापनि सङ्ग्रहमा १६ वटा लेखहरु परेका छन् ।
आफूलाई समालोचक मान्नु नहुने जस योञ्जन “प्यासी” डा0 कविता लामाको शब्दमा निखुर समालोचक हुनुहुन्छ । आफूलाई समालोचक नै ठान्नु नहुने जस योञ्जन “प्यासी”-ले सन् १९८३ मा नै “प्यासी”-का केही समालोचना” नामक पुस्तकको शीर्षकमा नै “समालोचना”शब्द राखेर प्रकाशित गरिसक्नुभएको छ । त्यस पुस्तकमा एघार वटा समालोचनात्मक लेखहरु सङ्गृहीत भएका छन् । सन् १९८७ मा प्रकाशित “पारसमणि प्रधान: केही कृति कैरन” र सन् २०१४ मा प्रकाशित “भारतीय नेपाली गीतकार पारिचयिक चर्चा”-लाई केही पर राखेर भन्नु पर्दा समालोचनात्मक लेखसङ्ग्रह भनेर छापिएका जस योञ्जन”प्यासी”-कृत अरु समालोचनासङ्ग्रह हुन् – सन् २०१२मा प्रकाशित “परख” र सन् २०१५मा(हालै विमोचित)प्रकाशित “परिचर्चा” । उहाँको प्रकाशोन्मुख समीक्षात्मक लेखसङ्ग्रहको नाम हो “दृष्टि”। “परख” कविता खण्ड र कथा खण्डमा विभाजित गरी राखिएका समालोचनात्मक लेखहरुको लोभलाग्दो सङ्ग्रह हो । उपर्युक्त सङ्ग्रहमा कविता खण्ड अन्तर्गत १३ वटा अनि कथा खण्ड अन्तर्गत ७ वटा समीक्षाहरु परेका छन्। “परख” पठनीय र सङ्ग्राह्य हुनुको साथै नेपाली कविता र कथा साहित्यका पाठक,विद्यार्थी,शोधार्थी ,लेखकका निम्ति एउटा सन्दर्भ-पुस्तक नै साबित भएको छ भन्नु अतिरञ्जना हुँदैन । यस्तै सन्दर्भ-पुस्तक साबित हुन पुगेको छ हालै प्रकाशित अनि विमोचित पुस्तक “परिचर्चा”। “परिचर्चा” जस योञ्जन “प्यासी”-का बाह्रौ कृतिको रुपमा लाशा प्रकाशन,खरसाङद्वारा प्रकाशित भएको छ । यस पुस्तकमा सोह्र(१६) वटा समीक्षात्मक लेखहरु समावेशित पाइन्छन्। ती हुन् – (१)निबन्धकार पारसमणि प्रधान (२)रामलाल अधिकारीको विषय परिक्रमा (३)नाटक कैददेखि सिंहासनसम्म (४) ‘गोठाले”को ‘भोको घर ’(५)समको एकाङ्की ‘बुहार्तन’ (६)भारतीय नेपाली साहित्यको विकासमा ‘खोजी’पत्रिकाको योगदान {यो लेख विषयक्रममा ७१ पृष्ठमा रहेको बताइए तापनि पुस्तकको ६१ पृष्ठमा पाइन्छ }(७)प्रेम सेर्पा ‘विरोकी’को तरङ्ग लहर र छालहरु (८)‘किरात’को एउटा प्रेमकथा (९)देवकोटाका केही निबन्ध –टिप्पणी (क)श्री गणेशाय नम: (ख)पहाड़ी जीवन(ग)नेपाली साहित्यको इतिहासमा सर्वश्रेष्ठ पुरुष {यो लेख विषयक्रममा १२३ पृष्ठमा रहेको बताइए तापनि पुस्तकको १२२ पृष्ठमा पाइन्छ } (घ)हाइ हाइ अङ्ग्रेजी(ङ)आषाढ़को पन्ध्र (च )कला र जीवन (छ)छन्द र लय (ज) कल्पना(१०)ग्वाइनको सुनाखरी समीक्षात्मक काँड़ाघारीभित्र{भित्री पातोमा “काँड़ाघारीमा”भएको पाइन्छ}(११)बालोपन्यास ‘मालती’ एक सामान्य चर्चा (१२)समालोचक सूर्यविक्रम ज्ञवाली {भित्री पातोमा ‘ज्ञवाली’ छुटेको पाइन्छ} (१३)भारतमा लेखिएका नेपाली व्याकरण र नेपाली भाषाको व्याकरणिक स्वरूप निर्धारणमा यिनीहरुको भूमिका अनि परिशिष्टमा राखिएका (१४)एकाङ्की परिचर्चा (१५)नेपाली एकाङ्कीको विकासक्रम (१६)भारतीय नेपाली एकाङ्की परम्परा र विकास । अब “परिचर्चा ”-भित्रका लेखहरुबारे संक्षेपमा केही चर्चा गरौं ।
“निबन्धकार पारसमणि” सङ्ग्रहको पहिलो लेख हो । विषयक्रम १ मा शीर्षकमा प्रधान जोड़िएको भए तापनि भित्री पृष्ठमा मूल लेखको शीर्षकमा प्रधान छोड़िएको देखिन्छ । निबन्ध नै सर्वप्रथम प्रकाशित गरी साहित्यमा प्रवेश गर्नुहुने पारसमणि प्रधानका निबन्धसङ्ग्रह टिफन टापन(१९६९),क्वाँटी(१९७२) अनि काठे झाँक्री(१९७४) अन्तर्गत पर्ने विविध विषयक निबन्धहरुलाई विषयवस्तुका आधारमा चार वर्ग (१)नेपाली भाषा(२)नेपाली साहित्य(३)नेपाली समाज र शिक्षा अनि (४)अन्यान्यमा वर्गीकृत गरी सम्यक् विवेचना प्रस्तुत गरिएको यस लेखबाट निबन्धकारको रुपमा पारसमणि प्रधानलाई राम्ररी चिन्न मद्दत पुगेको छ । भाषिक एकरूपतालाई प्राधान्य दिनुहुने पारसमणि प्रधानका प्रारम्भिक र उत्तरवर्ती लेखनमा भाषिक प्रभेद पाइए तापनि नेपाली भाषा साहित्यको विकासक्रममा उहाँको देन स्तुत्य छ । लेखमा “प्यासी”-ले ‘स्वरूपका दृष्टिबाट पारसमणि प्रधानका निबन्धहरुलाई परात्मक(अब्जेकटिव)प्रकारान्तर्गत् वर्णनात्मक एवं विवरणात्मक अनि निजात्मक(सब्जेकटिव) प्रकारान्तर्गत् विचारात्मक अनि आत्मपरक वा वैयक्तिक’ नै मान्नुभएको पाइन्छ ।
बहु प्रतिभासम्पन्न सृजनशील स्रष्टा रामलाल अधिकारीकृत सन् २००५ मा प्रकाशित लेखसङ्ग्रह “विषय परिक्रमा”-मा सङ्गृहीत प्रबन्धहरुबारे “प्यासी”-ले राम्रो विवेचना गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ –“विषय परिक्रमाका विविध विषय वरिपरि रिङेपछि अन्तमा यति भन्न सकिएला यो कृति नै रामलाल अधिकारीलाई निजात्मक निबन्धकारभन्दा अलग पारेर प्रबन्धकारतिर प्रवृत्त पार्ने अथवा (अझ अघि यसो भन्न सकिएला ) समालोचकको ठी(उच्चासन)मा ससम्मान राख्नसक्ने कृति हो ”।
“परिचर्चा”-भित्र नाटक र एकाङ्कीबारे राम्ररी विश्लेषण गरिएको पाइन्छ। लोकनाथ मनेनकृत नाटक “कैददेखि सिंहासनसम्म”-बारे “प्यासी”-ले लेख्नुभएको छ –“नाटक कैददेखि सिंहासनसम्मलाई ऐतिहासिक नाट्य विशेषण दिइएको छ । तर विषयको प्रस्तुतिमा यो ऐतिहासिक(Historical) पटक्क छैन । नाटकको कथानकले घड़ेरी ख्रीष्ट धर्मीहरूको धर्मग्रन्थ ‘पवित्र बाइबल’को पुरानो नियम:उत्पत्तिको पुस्तक(Old Testament Genesis) अध्याय ३७ र ३९ देखि ४६सम्मबाट बनाइएको छ । यसैले धार्मिक नाटक हो ,जसलाई रहस्यवादी या अलौकिक नाटक पनि भन्न सकिएला । ...पाठ्य नाटकको रुपमा पनि कैददेखि सिंहासनसम्म सफल छ । ...नाटक रङ्गमञ्चलाई सुहाउँदो छ । नाटक कैददेखि सिंहासनसम्म सुखान्त छ। सुखान्त पार्नु सोद्देश्यीय छ । सोद्देश्यता नाटककरको ईश्वरवादीता हो ।”
समालोचक “प्यासी”-ले गोविन्दबहादुर मल्ल ‘गोठाले’लिखित “भोको घर”-लाई अतियथार्थवादी एकाङ्कीको रुपमा राख्दै यसबारे सम्यक् विश्लेषण प्रस्तुत गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ –“नेपाली नाट्य परम्परामा नै भोको घर एकाङ्की एक प्रकारले नवीन प्रयोग हो । प्रयोग नभएसम्म कुरा यस्तै हुन्छन् । यद्यपि ‘गोठाले’ले भोको घरमा अतियथार्थवादी अङ्कनको जुन प्रयास दिएका छन्, त्यो प्रयासमा नै प्रस्फुटित छ । अत:‘गोठाले’ यस एकाङ्कीमा सफल अतियथार्थवादी एकाङ्कीकार भएका छन्। ”
‘समको एकाङ्की “बुहार्तन”’ अर्को समीक्षात्मक लेखको रुपमा “परिचर्चा”-मा समाविष्ट पाइन्छ । ‘बुहार्तन’ नेपाली नाटक सम्राट बालकृष्ण सम लिखित एकाङ्की हो । यस लेखमा एकाङ्कीलाई राम्ररी केलाइएको पाइन्छ ।‘विषयवस्तुको दृष्टिकोणले हेर्दा बुहार्तन एक सामाजिक समस्यामूलक एकाङ्की हो । यस एकाङ्कीमा नेपाली समाजले परम्पराको रुपमा अङ्गालेको कुव्यवहारको एक पक्षलाई साह्रै घतलाग्दो प्रकारले प्रस्तुत गरिएको छ’भनी ‘प्यासी’-ले ‘बुहार्तन’-बारे लेख्नुभएको छ। यस लेखको निष्कर्षलेखन समापित भए पछि सासूको चरित्रचित्रण अलग्गै राखिएको पाइन्छ।
उपर्युक्त तीन नाटक/एकाङ्कीबारे प्रस्तुत गरिएको समालोचकीय समाख्यानले नाटक सम्बन्धी गरिने वस्तुगत विवेचनालाई कसरी सौष्ठव कायम राख्नुपर्ने सो पनि इंगित गरेको छ भन्नु मनलाग्छ। समालोच्य विषयवस्तुका गुणदोषबारे समानुपातिक विवेचना गरेर प्रभाववादी,विश्लेषणात्मक र निर्णयात्मक पद्धतिअनुरूप समालोचना लेख्नु खप्पिस हुनुहुन्छ जस योञ्जन ‘प्यासी’। रामकृष्ण शर्माले भन्नुभए झै दूधको दूध ,पानीको पानी छुट्याउनु समालोचना हो भने त्यस्तो समालोचना लेख्ने स्पष्टवादी समालोचक हुनुहुन्छ जस योञ्जन ‘प्यासी’। पौर्वात्य र पाश्चात्य सिद्धान्तका ज्ञाता ‘प्यासी’-ले आफ्ना लेखहरुलाई समालोचना मान्नु नभए तापनि त्यो मान्य ठहर्दैन। स्पष्टवादी समालोचक समालोचनालेखनपछि आफ्नो कथनमा धुकचुक गरी केही अस्पष्ट किन हुनु खोज्नु हुन्छ(?) सो अलिक ग्राह्य हुँदैन ।
“भारतीय नेपाली साहित्यको विकासमा ‘खोजी’ पत्रिकाको योगदान” शीर्षक भएको लेख सर्वेक्षणात्मक,गवेषणात्मक र समीक्षात्मक पाइन्छ । उक्त लेखमा गोर्खा दु:ख निवारक सम्मेलन,दार्जीलिङद्वारा सेप्टेम्बर १९४० देखि प्रकाशित भएको मासिक पत्रिका ‘खोजी’-को शुरुको अङ्कदेखि बन्द भएसम्मका अङ्कहरुबारे स्पष्ट विवेचना गरिएको पाइन्छ । लेखमा समालोचकीय विश्लेषण सम्यक् ठहरिएका छन् । शोधात्मक यस लेखले ‘खोजी’-को खोजी उपयुक्त ढङ्गमा गरेको छ । उक्त लेखमा ‘खोजी’बन्द भएर यसका अङ्कहरु पुन: छापिन थालिएका चर्चा पनि पाद-टिप्पणीमा भए पनि उल्लिखित हुन सकेको भए सुनमा सुगन्ध थपिने थियो ।
‘विरोकी’को ‘तरङ्ग, लहर र छालहरु’ कवितासङ्ग्रहबारे लेखिएको समीक्षा हो। विषयक्रममा प्रेम सेर्पा जोड़िए पनि पृष्ठ १०० मा शीर्षकमा सो छोड़िएको पाइन्छ । कवि प्रेम सेर्पा (हालमा दिवङ्गत)’विरोकी’कृत मुक्तकीय कविताहरुको सङ्ग्रहको नाम हो ‘तरङ्ग, लहर र छालहरु’। जस योञ्जन ‘प्यासी’-ले सम्भवत: उक्त समीक्षा तिनताक खरसाङबाट प्रकाशित हुने ‘घुम्टो’पत्रिकामा प्रकाशनार्थ पठाउनुभएको हुनाले ‘घुम्टो’-को फाइलभित्र सो लेख रहेको जानकारी यस लेखकलाई ‘मन्तव्य’-को सहसम्पादन गर्दा थाहा भएको हो । सोही समीक्षा सन् १९८२ मा ‘मन्तव्य’-मा प्रकाशित भइसकेको छ । त्यस समय लेखको शीर्षक यस्तो थियो – “’विरोकी’का तरंग,लहर र छालहरु’ ‘प्यासी’का बग्ने रहरहरु”। ओझेलमा परेका राम्रा कवि ‘विरोकी’-का कृतिलाई पुन: पाठक सम्मुख पस्केर ‘विरोकी’-लाई पुन:जाग्रत र दर्शनीय बनाउने सत्कार्य गरेको छ “परिचर्चा”-भित्रको यस समीक्षाले। धेरै वर्ष अघि लेखिएर ‘मन्तव्य’ पत्रिकामा प्रकाशित भएपछि केही संशोधनसहित समालोचनाको पुस्तकभित्र पुन: समाविष्ट हुनाले बिर्सिएका कवि ‘विरोकी’-लाई फेरि सम्झिने र पाठकलाई ज्ञात गराउने काम भएको छ ।
पोख्त आख्यानकार श्री ‘किरात’-कृत “केही नमिलेका रेखाहरु” शीर्षकयुक्त कथासङ्ग्रहभित्रका एउटा कथा “एउटा कथा:प्रेमको”-बारे प्रस्तुत गरिएको प्रभाववादी ढाँचाको समीक्षाको शीर्षक हो ‘किरात’को एउटा प्रेमकथा ।समीक्षक ‘प्यासी’-का यौवनकालीन दिनचर्याहरुसंग मिल्दाजुल्दा प्रसङ्गहरु उक्त कथामा वर्णित भएकाले,कथाकारले कथामा प्रयोग गरेका सरल एवं प्रकृत भाषा र सहज-सरस शैली ,प्रेम-प्रसङ्ग प्रभृति बुँदाहरूले समीक्षकलाई त्यो कथा औधी मनपरेकोले एउटा कथामाथि मात्र संक्षेपमा समीक्षण गरिएको देखिन्छ । कथाकारलाई केवल श्री ‘किरात’ भनेर समीक्षामा सम्बोधन गरिएको पाइन्छ । तर ‘किरात’-को पूरा नाम नजान्ने पाठकले ‘किरात’मात्र भनेर चिन्छ । वास्तवमा गोरूबथान निवासी कथाकारको पूरा नाम हो हाइमान दास राई ‘किरात’। उहाँ साहित्य अकादेमी पुरस्कारद्वारा पनि विभूषित भइसक्नुभएको छ ।
“देवकोटाका केही निबन्ध –टिप्पणी”लेखमा लक्ष्मी निबन्धसङ्ग्रहका आठ वटा निबन्धबारे सुन्दर र उज्जर टिप्पणी प्रस्तुत भएको पाइन्छ । विद्यार्थीहरुलाई छर्लङ्गै हुने गरी लेखिएका यी निबन्धहरुलाई विषयक्रममा कदेखि जसम्म छुट्याइएको भए पनि मूल लेखमा निबन्धको शीर्षक अघि क देखि ज सम्म लेखिएको पाइन्न । अर्को कुरो ,एउटा निबन्धको टिप्पणीको अन्तपछि अर्को निबन्धको टिप्पणीको छपाइमा निरन्तरता पाइन्न । बरु अर्को लेख जस्तो अलग अलग पृष्ठमा टिप्पणीहरु छापिएका छन्। देवकोटाका निबन्धका टिप्पणीहरुलाई त्यसरी अलग अलग पृष्ठमा नछपाएर एउटा लेखकै अंश जस्तो गरेर छपाइमा निरन्तरता कायम राखी प्रकाशित गरिएको भए अझ राम्रो देखिने थियो । सम्भवत: प्राध्यापनकालमा विद्यार्थीहरुकै हितार्थ लेखिएका यी टिप्पणीहरुले विद्यार्थीहरुलाई भरभित्तो सहयोग अवश्यै पुगेको हुनुपर्छ । विमोचनको दिन देवकोटाका सम्पूर्ण निबन्धहरुको टिप्पणी जस योञ्जन ‘प्यासी’-बाट लेखिनु पर्ने आग्रह र सुझाउ पस्किएको पनि सुनियो । यो एउटा आवश्यकताबोध भएकै कुरो मान्नुपर्छ। किनभने उचित,स्पष्ट,उज्जर टिप्पणीहरुको अभावमा विद्यार्थीहरु रनभुल्लमा पटक्कै परेका छैनन् भन्न मिल्दैन । अत: यस दिशामा पनि टिप्पणीकारको कलम उन्मुख भएको देखिनु वाञ्छनीय नै लाग्दछ ।
“परिचर्चा”-भित्रको दसौं समीक्षाको नाम हो ग्वाइनको‘सुनाखरी’ । यसमा ओकिउयमा ग्वाइनकृत “सुनाखरी” उपन्यासबारे स्पष्ट भाषामा तिक्खर आलोचना गरिएको पाइन्छ । अकादेमी पुरस्कारद्वारा विभूषित कृति “सुनाखरी”-बारे समालोचक ‘प्यासी’ लेख्नुहुन्छ –“ग्वाइनको नागबेली (ग्वाइनको पूर्वप्रकाशित उपन्यास –राप्रहि) सबैको हृदयमा फैलिन सकेन,सुनाखरी कसैको हृदयमा फुल्न सकेन । .... उपन्यासलाई उपन्यास हुनु पनि आधार चाहिन्छ अनि उपन्यासलाई त्यही चाहिने आधार र तत्त्व हरु ‘सुनाखरी’-मा छैनन्। ...वास्तवमा सुनाखरी उपन्यास पनि होइन मेरो दृष्टिमा । ... मैले सुनाखरीलाई ‘उपन्यास’ नभनेर ‘पुस्तक’ मात्र भन्दै आएको छु। ... सुनाखरीले राष्ट्रिय अकादेमी पुरस्कार पाएकोमा हामीलाई अगाध हर्ष छ,तर सुनाखरी बुझ्न नसकेकोमा भने हामीलाई उतिकै अमर्ष पनि छ। ” यसरी ‘प्यासी’-ले समीक्षामा दूधको दूध पानीको पानी छुट्याउने काम निर्भीकता र स्पष्टवादीतासित गर्नुभएको छ ।
“बालोपन्यास ‘मालती’ एक सामान्य चर्चा” समीक्षात्मक लेखमा ‘प्यासी’-ले मुक्ति उपाध्याय बरालकृत बालोपन्यास ‘मालती’-बारेमा चर्चा गर्दा बालोपन्यास र बालसाहित्यका आवश्यक तत्त्वहरुबारे पनि प्रकाश पार्नुभएको देखिन्छ । ‘प्यासी’-ले बराललाई विज्ञान विषयक बालोपन्यास लेख्ने प्रथम भारतीय नेपाली बालोपन्यासकार मान्नुभएको छ ।
‘समालोचक सूर्यविक्रम ज्ञवाली’लेखमा ज्ञवालीको समालोचकीय लेखनबारे राम्ररी विवेचना गरिएको पाइन्छ । ‘प्यासी’ लेख्नु हुन्छ-“.. वस्तु र रुपबाट हेर्दा पूर्वीय तथा पश्चिमी समालोचना सिद्धान्तहरुका कतिपय मानदण्डहरुमा समय सापेक्ष नवीन हेराइ ,सरल-समुचित प्रयोग र सहज वाक्य गठन शैली नै ज्ञवालीका समालोचनाको महानतम सफलता मान्न सकिन्छ । ”
नेपाली व्याकरण सम्बन्धित लेख “भारतमा लेखिएका नेपाली व्याकरण र नेपाली भाषाको व्याकरणिक स्वरूप निर्धारणमा यिनीहरुको भूमिका”-मा व्याकरणको अर्थ ,नेपाली व्याकरणको नामकरण र परम्परा ,भारतमा लेखिएका नेपाली व्याकरणहरुको आधार,र भारतमा लेखिएका नेपाली व्याकरणहरुले नेपाली भाषाको व्याकरणिक स्वरूप निर्धारणमा खेलेका भूमिका उप-शीर्षक अन्तर्गत व्याकरणका बुँदाहरू राम्ररी केलाइएको छ । व्याकरण सापेक्ष जानकारी सूचनाप्रद मात्र नभएर शोधात्मक पनि देखिन्छ । लेख पढ़दा ‘प्यासी’-ले व्याकरण शोधार्थीको रुपमा गहन गवेषणा गर्नुभएको प्रष्ट हुँदछ । व्याकरणबारे गहन अध्ययन र अन्वेषण गरेर लेखिएको गवेषणात्मक लेख/कृति भारतीय नेपाली साहित्यमा अति नै न्यून रुपमा पाइन्छ । व्याकरणबारे लेखनी कुदाउनेहरुको सङ्ख्या नै न्यून देखिन्छ । खड़ेरी परेको जस्तो बेलामा ‘प्यासी’-बाट व्याकरण सम्बन्धी अध्ययन-पत्रको झरिलो उब्जाइ हुनु राम्रो सङ्केत हो । यस परिप्रेक्ष्यमा ‘प्यासी’-लाई अति प्रशंसा गरे पनि कम नै हुन्छ भन्नु मनलाग्छ ।
“परिचर्चा” पुस्तकमा एकाङ्की विषयक तीन वटा लेख (१) ‘एकाङ्की परिचर्चा’(२) ‘नेपाली एकाङ्कीको विकासक्रम’ र (३) ‘भारतीय नेपाली एकाङ्कीपरम्परा र विकास’-लाई परिशिष्ट अन्तर्गत छुटाएर राखिएको पाइन्छ। परिशिष्ट अन्तर्गत छुटाउनु अनावश्यक देखिए तापनि ती लेखहरुले एउटा लघु शोधकै रूप लिएको पाइन्छ । ‘एकाङ्की परिचर्चा’-ले बाइस(२२) वटा पृष्ठ ओगटेको छ , जसभित्र एकाङ्की परिचय,एकाङ्कीको उद्भव,एकाङ्कीको परिभाषा,एकाङ्कीका तत्त्वहरु,कथानक वा कथावस्तु(Plot),पात्र वा चरित्र(character),संवाद वा कथोपकथन(Dialogue),वातावरण(Atmosphere),भाषा-शैली(Language and style),उद्देश्य(Aim or purpose),एकाङ्कीका प्रकार,नाटक र एकाङ्कीमा अन्तर,एकाङ्की र रेडियो एकाङ्की (लघु नाटिका)मा अन्तर,कथा र एकाङ्कीमा अन्तर,आदि चौध वटा उपशीर्षक अन्तर्गत एकाङ्कीबारे उज्जर विवेचना गरिएको छ,जुन सूचनाप्रद र लाभप्रद भएको छ ।
‘नेपाली एकाङ्कीको विकासक्रम’र ‘भारतीय नेपाली एकाङ्की परम्परा र विकास ’ सर्वेक्षणात्मक र शोधात्मक लेखहरु हुन्। यी लेखका पृष्ठ २२९ र २५२ मा ‘प्यासी’-ले प्रेमसिंह सुवेदीकृत ‘आम्रपाली(१९९९),कुमारी आमा(२०००),घाम झुल्केपछि(२००१) र गोलीको निशान(२००२) नाटकसङ्ग्रहहरुलाई एकाङ्की मानेर उनको मरणोप्रान्त प्रकाशित भएको जानकारी प्रस्तुत गर्नुभएको छ । ‘प्यासी’-ले उक्त जानकारी छविलाल उपाध्यायको ‘उत्तर पूर्वाञ्चल भारतीय नेपाली साहित्यकों गतिविधि;एक दृष्टि,सन् २०१२,पृष्ठ १८-१९)अनुसार उल्लेख गर्नुभएको बुझिन्छ। तर यी लेखमा प्रेमसिंह सुवेदी र उनका ती नाटकहरुबारे गलत जानकारी प्रस्तुत भएको छ । किनभने प्रेमसिंह सुवेदीकृत आम्रपाली,कुमारी आमा, घाम झुल्केपछि र गोलीको निशान एकाङ्की होइनन् अनि यी पुस्तक मरणोत्तर होइन तर नाटककार जीवित छँदा नै प्रकाशित भएका हुन्। प्रेमसिंह सुवेदीकृत “आम्रपाली” बुद्धकालीन नारीहरूमध्ये एक प्रभावशाली व्यक्तित्वको रुपमा देखा परेकी आम्रपाली विषयक पूर्णाङ्की नाटक हो ,जुन चौध वटा दृश्यहरुमा लेखिएको पाइन्छ । यस नाटकको प्रथम संस्करण सन् १९९९ मा प्रकाशित भएको छ । सन् २००२ मा यही नाटक हिन्दीमा पनि छापिएको उल्लिखित पाइन्छ । “कुमारी आमा” पनि पूर्णाङ्की नाटकसङ्ग्रह हो ,जुन सन् २००० मा छापिएको छ । यस नाटकसङ्ग्रहभित्र दुइ वटा पूर्णाङ्की नाटक “कुमारी आमा’ र मौसमी’ समाविष्ट भएको पाइन्छ। ‘कुमारी आमा’ एघार वटा दृश्यमा लिखित देखिन्छ भने ‘मौसमी’-लाई चौध वटा दृश्यमा लेखिएको पाइन्छ। क र ख दुइ खण्डमा विभाजित गरी प्रकाशित भएको”कुमारी आमा”पछि सन् २००१मा “घाम झुल्केपछि”प्रकाशित भएको छ । यो पुस्तक आठ वटा रेडियो ड्रामा समाविष्ट भएको रेडियो नाटकसङ्ग्रह हो । ती रेडियो ड्रामाका शीर्षक यस प्रकार छन्-(१)मतवाली(२)मोहिनी(३)महफिल-ए-आजम (४)घाम झुल्केपछि (५)पञ्चचुड़ा(६)प्रलयको रात(७)भातृ रेखा (८)मैतालु । “गीलीको निशान”पनि एकाङ्की नभएर पूर्णाङ्की नाटकहरुको सँगालो हो,जुन सन्२००२मा प्रकाशित भएको छ । यस सँगालोभित्र ‘गोलीको निशान’ र ‘लइनछोकड़ो’दुइ वटा पूर्णाङ्की नाटक सङ्गृहीत छन्। ‘गोलीको निशान’ एघार वटा दृश्यमा लेखिएको छ भने ‘लइनछोकड़ो’-लाई दस वटा दृश्यमा विभाजित गरी लेखिएको देखिन्छ ।
‘गोलीको निशान’पूर्णाङ्की नाटकसङ्ग्रहभित्र ‘मेरा कुरा’-मा नाटककार प्रेमसिंह सुवेदीले लेख्नुभएको छ – “सन् १९५०मा म राजनैतिक कारणले गुवाहाटी,असमको सेन्ट्रल जेलमा बस्नुपरेको थियो । यो मेरो सौभाग्य नै भन्नुपर्छ ,त्यहाँ मैले अनेक प्रतिभाहरुको सङ्गत गर्ने अवसर पाएँ । तीमध्ये एक ‘हेमाङ्गदा’(हेमाङ्ग विश्वास)-को नाम यहाँ सश्रद्धा उल्लेख गर्दछु , जसको प्रेरणाले मैले मेरो प्रथम नाटक ‘गोलीको निशान’ लेख्न सकेँ। ब्रिटिश सेनामा गोर्खा जवानहरुको भर्तीको विषय मलाई उनैले सुझाएका हुन् र सिकाएका हुन् नाटक लेखनको ‘टेकनिक’ पनि।मेरो प्रथम लेखनी कै रुपमा रहेको यस नाटकमा मैले किशोरावस्थामा भोगेको तात्कालिक पश्चिम नेपालको पहाड़ी गाउँको अवस्थालाई चित्रण गर्ने प्रयास गरेको छु।
म जेलबाट छुटेपछि सन्१९५१ तिर गुवाहाटीको भास्कर नाट्यशालामा यो नाटक मञ्चन गरियो । यसको निर्देशन पनि मैले आफै गरेको थिएँ । त्यस बेला आर० के० करञ्जियाको सम्पादनमा निस्किने ‘ब्लिट्ज़’ पत्रिकाले नाटकको समीक्षा प्रकाशित गरेको थियो । त्यसैको परिणाम होला तात्कालिक चेकोस्लोभेकियाको एक नाट्य संस्थाले मसँग नाटकको अङ्ग्रेज़ी अनुवाद माग्यो। मैले दिन नसकेको अफसोस अझै छँदैछ।
आधिकारिक दावा त गर्न सक्दिनँ तर मलाई लाग्छ असमको नेपाली रङ्गमञ्चको इतिहासमा पुरुष तथा महिला सह-अभिनय यसै नाटकको मञ्चनबाट शुरू भएको हो । नाटकमा नायक गुमानको भूमिकामा क्षत्रबहादुर गुरुङ(हाल स्वर्गीय) थिए भने नायिका मालतीको अभिनय श्रीमती चन्द्रा मजुमदारले गरेकी थिइन्।
‘गोलीको निशान’ त्यसताकका दर्शकले धेरै मन पराइदिएर पटकपटक मञ्चन भएपछि साथीहरुबाट अर्को नाटकको माग हुन थाल्यो । धेरैले यसमा सिपाहीको कथा प्रस्तुत भयो अबको नाटकमा उसको परिवारको कथा लेख्नुस भन्न थाले। परिणामत:सन् १९५२ मा मैले पेन्सन प्राप्त गोर्खा सैनिकको मिलिटरी क्वार्टरको लइनमा जन्मे-हुर्केको छोरोको कथावस्तुलाई आधार बनाएर नाटक ‘लइनछोकड़ो’लेखें । यो नाटक पनि सन् १९५३मा गौहाटीको आर्य नाट्यशाला, पानबजारमा मेरै निर्देशनमा मञ्चन गरियो । यस नाटकमा नायक रोशनको भूमिका चन्द्रबहादुर छेत्रीले गरेका थिए र नायिका जुनेलीको भूमिकामा चन्द्रा थिइन्।
मेरो यो दोस्रो नाटकले पनि ‘गोलीको निशान’ सरह दर्शकहरुबाट थुप्रै वाहवाही त बटुल्यो नै स्थानीय अनेपाली दर्शकहरुबीच पनि निकै चर्चा पायो। तिनै अनेपाली नाटकप्रेमीहरूको मागबमोजिम सन् १९५४मा मैले यस नाटकलाई हिन्दीमा रूपान्तर गरेँ र ‘सेना सन्तति’ नामले आर्य नाट्यशालामै मञ्चन गरियो । मेरै निर्देशनमा मञ्चन भएको यस हिन्दी भाषाको नाटकका सबै कलाकारहरु नेपाली नै थिए । नायकको भूमिकामा डा० दिलबहादुर नेवार थिए र नायिकाको भूमिकमा कमला प्रधान थिइन्। यस नाटकले पनि धेरै प्रशंसा पायो ।
मेरो नाटकका पुस्तकहरु –‘आम्रपाली’(सन् १९९९),दुई नाटकको सङ्गालो ‘कुमारी आमा’(सन् २०००) र आठोता रेडियो नाटक समाविष्ट ‘घाम झुल्केपछि’(सन् २००१) प्रकाशित भएपछि मेरा ती पुराना प्रदर्शित नाटकको आनन्द लिएका दर्शकहरु र तिनबारे सुनेका नयाँ पीढ़ीका रङ्गकर्मीहरूले पनि ती नाटकहरु प्रकाशित गर्न आग्रह गर्न थाले। जुन नाटकहरुले गर्दा ममा साहित्य-संस्कृतिप्रति अनुराग जाग्यो र जसका कारण म समाजमा नाटककारका रुपमा चिनिएँ...। ”
१३ जुलाई २००२,गुवाहाटीमा प्रेमसिंह सुवेदीलिखित उपर्युद्धृतांशहरुबाट रङ्गमञ्चीय नाटकका अनुसन्धाताहरुलाई निश्चय केही लाभ हुनेछ भनी सोचेको छु ।
‘प्यासी’-ले “परिचर्चा”-का पृष्ठ २३० अनि पृष्ठ २५३ मा समयभित्रका समयहरुलाई सूर्यकुमार सुब्बाको सन् २००२मा प्रकाशित भएको एकाङ्कीसङ्ग्रहको रुपमा मान्नुभएको छ । तर समयभित्रका समयहरु सूर्यकुमार सुब्बाले लेखेका एकाङ्कीहरुको सङ्ग्रह नभएर शरद् छेत्रीकृत एकाङ्कीसङ्ग्रहको नाम हो । शरद् छेत्रीका समयभित्रका समयहरुभित्र (१)आदि-सङ्घर्ष (२)अधिरोहण (३)हार्दैनन् संस्कार, पैह्रोसित (४)समयभित्रका समयहरु शीर्षकयुक्त एकाङ्कीहरु सङ्गृहीत पाइन्छन् । तर उपर्युक्त पृष्ठहरुमा शरद् छेत्रीको नामको सट्टा सूर्यकुमार सुब्बाको नाम लेखिएकोले त्रुटि भएको छ । “परिचर्चा”-को दोस्रो संस्करणमा उक्त त्रुटि सुधारिनु आवश्यक छ । शरद् छेत्रीका अतिक्रमण (पूर्णाङ्की नाटक-१९८०) र ‘खूब नाच्यो कठपुतली’(नाटकसङ्ग्रह-१९९३) पछि उनको समयभित्रका समयहरु(एकाङ्कीसङ्ग्रह) सन् २००२ मा प्रकाशित भएको हो ।
“परिचर्चा”-का पृष्ठ २३४ र २५६मा “प्यासी”-ले सूर्यकुमार सुब्बाको ‘तन शाखा उपशाखा’-लाई सुब्बाको दोस्रो एकाङ्कीसङ्ग्रह मान्नुभएको देखिन्छ। सायद उहाँले ‘समयभित्रका समयहरु’-लाई सुब्बाकृत प्रथम एकाङ्कीसङ्ग्रह ठान्नु भएकोले त्यसो भएको हुन सक्छ । तर माथि नै उल्लेख गरिसकियो समयभित्रका समयहरु’ सूर्यकुमार सुब्बाले लेखेका एकाङ्कीहरुको सङ्ग्रह नभएर शरद् छेत्रीकृत एकाङ्कीसङ्ग्रहको नाम हो भनी । वास्तवमा सूर्यकुमार सुब्बाले एकाङ्कीहरुको सङ्ग्रह भनी कुनै एकाङ्कीसङ्ग्रह आजसम्म प्रकाशित गरेका छैनन् । यसैले सुब्बाको ‘तन शाखा उपशाखा एकाङ्कीसङ्ग्रह होइन तर विविध विधाका रचनाहरु सङ्कलित भएको पुस्तक हो जसलाई सुब्बाले विधा संकलन भनी छपाएका छन्। यस पुस्तकभित्र कविता, कथा कनिका, कथा लघु, कथा, एकाङ्की, समीक्षा भनी रचनाक्रममा सजाइएको देखिन्छ। यस पुस्तकमा कविता अन्तर्गत पाँच वटा कविता,कथा कनिका अन्तर्गत आठ वटा लघुतम कथा ,कथा लघु अन्तर्गत छ वटा लघु कथा,कथा अन्तर्गत तीन वटा कथा, एकाङ्की अन्तर्गत एउटै एकाङ्की “अँध्यारो उज्यालो” र समीक्षा अन्तर्गत चार वटा समीक्षा सङ्कलित भई प्रकाशित भएका छन्। यसर्थ ‘तन शाखा उपशाखा -लाई एकाङ्कीसङ्ग्रह मान्न सकिन्न । सूर्यकुमार सुब्बाको सन् १९९२ मा लेख,शब्द चित्र र एकाङ्की संकलन भनी प्रकाशित भएको दृष्टिहरु मा पाँच वटा समीक्षा/लेख,दुइ वटा शब्द चित्र अनि तीन वटा एकाङ्की सङ्कलित भएका छन्। तर यो पनि एकाङ्कीहरु मात्र भएको एकाङ्कीसङ्ग्रह होइन ।
“भारतीय नेपाली एकाङ्की परम्परा र विकास” परिशिष्टमा परेको तेस्रो अनि पुस्तकको अन्तिम लेखले सन् १९३२ देखि २०१५ सम्म ८३ वर्षको भारतीय नेपाली एकाङ्कीपरम्परा र विकासको परिचर्चा पस्केको छ। “नेपाली एकाङ्कीको विकास र भारतीय नेपाली एकाङ्की परम्परा र विकास” दुइ लेखमा एकाङ्कीसम्बन्धी धेरै कुराका पुनरावृत्ति भएको पाइए तापनि लेखहरु अन्तर सम्बन्धित छन्।
“परिचर्चा”-भित्र निबन्ध /प्रबन्धबारे तीन वटा ,नाटक/एकाङ्की सम्बन्धी छ वटा ,पत्रिकाबारे एउटा,कविताबारे एउटा,उपन्यासबारे दुइ वटा,कथाबारे एउटा ,व्याकरणसम्बन्धी एउटा अनि समालोचक/समालोचनाबारे एउटा गरी सोह्र वटा समीक्षात्मक लेखहरु समाविष्ट भएका छन् अनि लेखहरुमा समालोचकका सम्यक् दृष्टिकोण,निर्भीक स्पष्टवादीता,तार्किक प्रस्तुति तथा सन्तुलित विश्लेषणयुक्त समालोचकीय विशेषता पाइन्छ।
बहु प्रतिभासम्पन्न जस योञ्जन ‘प्यासी’ नेपाली साहित्यका कवि,उपन्यासकार,समालोचक,कथाकार,नाटककार,गीतकार,निबन्धकार,अनुवादक,गजलकार,हुनुहुन्छ भने उदघोषक,रेडियो समाचारवाचक,फुटबल खेलको प्रत्यक्ष प्रसारक,रङ्गमञ्चीय नाट्य निर्देशक,महाविद्यालयका प्राध्यापक,रीडर,अनि प्राचार्य जस्ता बहु आयामिक कुशल र पोख्त व्यक्तित्वका धनी पनि हुनुहुन्छ । “परिचर्चा”-को विमोचनको दिन डा० कविता लामाले उहाँलाई Mini Literary Encyclopedia भनेर सम्बोधन पनि गर्नुभयो।
चिट्ठी(पत्रात्मक उपन्यास), ‘प्यासी’का केही समालोचना,एउटा देशको खोजमा(कवितासङ्ग्रह),पारसमणि प्रधान:केही कृति कैरन,बुद्धदेव बसु(जीवनी अनुवाद),नयाँ सूर्यको प्रतीक्षामा(नाटक),शान्ति संदेह(कवितासङ्ग्रह),बोलाऊँ भने तिमीलाई(गीतसङ्ग्रह),परख(समालोचनात्मक लेख सङ्ग्रह)एउटा खुल्ला किताब हुँ म(गीतसङ्ग्रह),भारतीय नेपाली गीतकार पारिचयिक चर्चा र परिचर्चा(समालोचनात्मक लेखसङ्ग्रह)-का कृतिकार जस योञ्जन ‘प्यासी’-को जन्म १४ दिसम्बर १९४९ मा चुङथुङ कमानको शिरिषे गाउँमा भएको हो। शिक्षाको क्षेत्रमा एम० ए०,पी०एच०डी०,डीप इन जर्नलिज़्म गर्नुभएको ‘प्यासी’भारतीय नेपाली साहित्यका एकजना सशक्त अनि बहु प्रतिभासम्पन्न साहित्यकार हुनुहुन्छ।
भनिन्छ “Time is a priceless commodity and the best time to live a richer, wiser and more fulfilling life is now”। ‘आज’-मा सकारात्मक रुपमा जिउन सके समय मूल्यहीन वस्तु भए तापनि अमूल्य हुन्छ । यसर्थ आज नै(तत्कालै)जे कुरो पनि हुनुमा प्रभावोत्पादकता कायम रहन्छ। जे पनि आजै हुनु अति आवश्यक भएको शिल्पविज्ञानिक समयमा कुनै पनि क्रियाको प्रतिक्रिया पनि तत्कालै हुनु पर्ने सोच पालेर आज “परिचर्चा’’-माथि चर्चा गर्ने धृष्टता गरेको छु। पठनीय,सङ्ग्रहणीय “परिचर्चा”-लाई इच्छुक पाठकले आजै मागेर होइन किनेर पढ़िदिने आग्रह गर्दै यस चर्चामा विराम लगाउँछु। अस्तु।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 25 चैत्र, 2072

लेखकका अन्य रचनाहरु