विशिष्ट आख्यानकार मदनमणि दीक्षित

- मोहन दुवाल

तर्क सम्प्रेषण गर्न सिपालु चिन्तक, वरिष्ठ पत्रकार तथा साहित्यकार मदनमणि दीक्षितले आफ्नो जीवनको धेरै समय पत्रकारिता, साहित्यिक सिर्जना र वैचारिक छलफलमा लगाएको देखिन्छ। पुरातन दृष्टिलाई भौतिकवादी चिन्तनकै आधारमा जीवन–दृष्टि भएका गहन आख्यान कृतिहरु लेखेर, प्रकाशित गरेर आफूलाई जीवन्त तुल्याउन सफल लेखक हुन्। सधैँ अध्ययनमा व्यस्त रहन पाउँदा रमाउने मदनमणि दीक्षितले जीवनका बुढ्यौलीकालमा पनि लेखकीय जीवनमा आफूलाई क्रियाशील तुल्याउँदै आएको देखिन्छ। लेखिरहन, पढिरहन र छलफलमा सामेल हुन मन पराउने यिनको आनिबानीले नै यिनलाई एक प्रख्यात आख्यानकार बन्न प्रोत्साहित गरेको देखिन्छ। पूर्वीय दर्शनका ज्ञाता मदनमणिले ‘समीक्षा’ जस्तो बौद्धिक साप्ताहिक पत्रिकाको सम्पादन ३५ औं वर्षसम्म लगातार गरे। उपन्यास, कथा, निबन्ध, संस्मरण, दार्शनिक चिन्तनका दुई दर्जनभन्दा बढी पुस्तकहरु प्रकाशित गराइसकेका वरिष्ठ साहित्यकार मदनमणि दीक्षित ‘माडसाहेब’ का रुपमा पनि प्रख्यात छन्। एक कर्मठ माडसाहेब। एक सफल सम्पादक। एक प्रख्यात आख्यानकार। एक तर्कशील व्याख्याकार। यस्तै खालका धेरै विशेषणले व्याप्त ख्यातिप्राप्त साहित्यकार दीक्षितका सबैजसो कृतिहरु बौद्धिकताले ओतप्रोत छन्।
चार वर्षको छँदा नै वाल्मीकि रामायणका प्रख्यात श्लोकहरु मुक्तकण्ठले परिवारभित्र सुनाएर आफ्नो बौद्धिक क्षमता बाल्यकालमा नै देखाउन सफल मनदमणि दीक्षितको जन्म वि.सं. १९७९ फागुन ६ गते काठमाडौंमा भएको हो। सानै छँदादेखि नै उचित वातावरण पाएर जीवनक्रम हुर्काउन सफल यिनले संस्कृतमा मध्यमा, भारतीय दर्शन र धर्मशास्त्रमा स्नातकोत्तरसम्म उत्तीर्ण गरेका छन्। आफ्नै माताबाट प्रेरणा पाएर साहित्यिक सिर्जनमा लागेका यिनी शिक्षणसेवामा पनि ‘माडसाहेब’ भई करिब ३ वर्ष सेवा पुर्याइसकेको देखिन्छ। अध्ययन र लेखनबाट प्राप्त जीवनभरको कमाइ नै मदनमणि दीक्षितको विशिष्ट पहिचान हो। साहित्यलाई समाजकै ऐनाका रुपमा परिभाषित गरेर यिनले साहित्यक कृतिहरुको रचना गरे। लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समबाट विशेष प्रभावित यिनलाई विदेशी लेखकहरुमा लियो टाल्सटाय, इमिली ब्रुन्टले, शरद्चन्द, प्रेमचन्द र कृष्णचन्दर विशेष मन परेको बताउँछन्। वरिष्ठ साहित्यकारका रुपमा प्रज्ञा प्रतिष्ठानका उपकुलपतिसम्म भई सेवा पुर्याइसकेका यिनले ‘माधवी’ उपन्यासका लागि मदन पुरस्कार प्राप्त गरिसकेका छन्। थुप्रै साहित्यिक सङ्घ–संस्थाबाट अभिनन्दन–सम्मान प्राप्त गरिसकेका यिनलाई वरिष्ठ साहित्यकारका रुपमा वि.सं. २०५० मा कलैयास्थित देवकोटा स्मृति सभाद्वारा रथयात्रा गरी अभिनन्दनसमेत भइसकेको हो। ९३ वर्षको वृद्ध उमेमा पनि मनमा साहित्य साँचेर, जीवनको मूल्य बुझेर, अक्षर भावनाभित्र डुबुल्की मार्दै आएका यिनी शारीरिक रुपले कमजोरजस्तो देखिए तापनि यिनी भित्रको विशाल स्रष्टा–मन दह्रो र शक्तिशाली देखिँदो छ। बिरामी तनमा शक्तिशाली मनको लेपले औषधिको काम गरोस्, स्वास्थ्यलाभको कामना छ।
माक्र्सवादबाट विशेष प्रभावित भई आफ्नै ढङ्गको जीवन–दर्शन मनमा सँगालेर मदनमणि दीक्षित थुपै्र खालका तर्कपूर्ण लेख–रचनाहरु लेखेर आफूलाई बौद्धिक समाजमा चिरपरिचत तुल्याउन सफल छन्। मानवताको व्याख्या गर्न निपुण यिनले प्रकृतिको चित्रण विम्ब–विम्बमा गर्न भ्याएका छन्। आफ्नोबारे उनी लेख्छन्– ‘ज्ञानबाहेक धन र त्यस्ता मानप्रतिष्ठा किन हो कुन्नि मैले कहिल्यै खोजिनँ। आफ्नो नाप, तौल त मलाई थाहा छ साढे चौध इन्चको कलर, बाटा कम्पनीको साढे पाँच साइजको जुत्ता लाउँछु। माइनस साढे पाँचका चश्मा छन्, अल्पाहारको बानी छ। सन् १९५९ मा कमलपित्त भएर मर्नबाट जोगिएपछि मात्र मेरो शरीरको वजन ४९–५१ किलोग्राममा स्वीकार भयो, नत्र त ४० किलोभन्दा बढ्ता र ५ फुट १ इन्चभन्दा अग्लो म कहिल्यै भइनँ।’ यो उनको आत्मलापले बताउँछ, मदनमणि दीक्षित बौद्धिक जगत्का स्वर्णिम अक्षर हुन्। शिक्षित परिवारमा जन्मेका यिनले भारतको बनारसस्थित हिन्दू विश्वविद्यालयबाट एम.ए.सम्मको औपचारिक शिक्षा प्राप्त गरेको देखिन्छ। भारतीय धर्म, संस्कृति र दर्शनशास्त्रका ज्ञाता, धार्मिक अनुशासनका लागि कट्टर भनेर चिनिने परिवारमा जन्मेर पनि यिनी द्वन्द्वात्मक भौतिकवादका अनुयायी बनेर आफ्नो छुट्टै पहिचान देखाए।
हालखबर दैनिकमा २०१४ सालमा नै सम्पादक भएका यिनी २०१६ सालदेखि २०४९ सालसम्म ‘समीक्षा’ साप्ताहिकका चर्चित सम्पादक भई पत्रकारिता क्षेत्रमा आफ्नो सुन्दर नाम बनाइसकेका यिनी सौखिन फोटोग्राफरका रुपमा पनि चिनिएका छन्। यिनले दशौं हजार आफूलाई मनपरेका फोटाहरु खिचे। पत्रकार, फोटोग्राफर, विद्वान् व्यक्तित्वका रुपमा पनि चिनिदै आएका यिनी विशेषतः विशिष्ट साहित्यकारका रुपमा प्रसिद्ध छन्। वाङ्मय क्षेत्रमा यिनले पुर्याएको योगदान, अक्षरमा सुन्दरता खोप्न यिनले गरेको कर्म, पत्रकारितामा यिनले आफूलाई देखाइदिएको पहिचान बिर्सिनसक्नु छ।
बुढेसकालमा पनि शिथिलता मनमा नसोचेका, कर्म–निष्ठाबाट कहिल्यै पनि भयभित नभएका यिनले आफूले सिर्जेका साहित्यिक कृतिहरुमा पनि त्यस्तै खालका शिक्षादीक्षाका अनुपम रेखाङ्कनहरु सम्प्रेषित गरेका छन्। नेपालको साहित्यिक इतिहासको रेखाङ्कनमा एउटा जल्दोबल्दो नाम बनिसकेका विद्वान् लेखक मदनमणि दीक्षितले ‘जनमत’को प्रश्नमा यसरी जवाफ दिएका छन्– ‘सफल लेखक हुन चाहनेले नरनारी र तिनका समाजको मुटुको स्पन्दन र रगतको तापमानलाई छामेर आफू त्यसमा सामाहित भई सम्पूर्ण समर्पणका साथ त्यो प्रवाहसँग बग्दै तर प्रवाहसँग तलतिर बगेर सागरमा पुग्ने होइन कि हिमालका उच्च शिखरतिर पुग्न सत् चेष्टा गर्दै अगाडि बढ्नुपर्छ। लेखकले आफ्नो समाज र जनतालाई मात्र होइन विश्वका सबै आधारभूत प्रक्रियाहरुलाई निरन्तर लाग्ने चेष्टा गर्नुपर्छ।’ उदार चरित्र भएकाहरुका लागि त ‘बसुधा नै कुटुम्ब हो’।
आफूलाई राष्ट्रमा सफल लेखकका रुपमा चिनाइसकेका वरिष्ठ आख्यानकार मदनमणि दीक्षित ९३ वर्ष पुगेर पनि अक्षरमा मन दिन कन्जुस्याइँ गरेको देखिँदैन। शरीर कमजोरजस्तो देखिए तापनि मन कमजोर नभएका दह्रो लेखक मदनमणि दीक्षितको स्वास्थ्यमा ऊर्जा थपिँदै जाओस्। बुढेसकालमा देखिँदो कमजोर स्वास्थ्य स्थितिमा पनि बल चुलिँदै जाओस्। स्वास्थ्यलाभको कामनासहित ऊर्जाशील जीवनमा शक्ति थपिँदै जाओस्, शुभकामना छ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 25 चैत्र, 2072

लेखकका अन्य रचनाहरु