यात्रा अमेरिकाको माया नेपालको

- खिमानन्द पोखरेल

साँच्ची नै दिल खोलेर भन्नु पर्दा घनश्याम राजकर्णिकारको नाम नियात्रा जगतको संसारिक परिवेशमा नसुन्ने व्यक्ति विरलै होलान् । नियात्रा लेख्नु भनेको चानचुने, सरल र सहज विधा हो भनेर म भन्न सक्तिन । पाठकहरुको मन पगाल्न त्यहाँका दृश्यहरुको अवलोकन, त्यहाँको परिवेश, मानिसहरुको रहन सहन, वातावरण र त्यहाँका मानिसले गर्ने भद्र र अभद्र व्यवहारलाई टपक्क टिपेर आफ्नो मालामा उनी एउटा लामो सम्झनाको पेटारो बनाई पाठक सामु प्रस्तुत गर्न सक्ने खुवी बोकेर नियात्रा अगाडि दौडिरहेको हुन्छ । यस्तै यस्तै नियात्राको पेटारो उन्न सिपालु व्यक्तिका रुपमा नियात्राकार घनश्याम राजकर्णिकारलाई लिन सकिन्छ । कति मीठा शब्दहरु सबैले बुझ्ने गरी लेखिएका सुन्दर अक्षरहरुबाट नियात्राकारलाई चिनाउने गर्छ । हामीले जति लेख्यो जति पढ्यो र जति बुझ्यो त्यो भन्दा पनि पृथक शैलीमा तैयार पारी पाठक सामु प्रस्तुत हुन सफल भएको छ यो नियात्रा सङ्ग्रह “यात्रा अमेरिकाको माया नेपालको” । २०८ पृष्टमा सजिएको यो नियात्रा सङ्ग्रहमा ८ वटा नियात्रालाई सजाएर यौटा पुस्तक आकारको रुपमा पाठक सामु प्रस्तुत गरिएको छ । यसको उचित मूल्य २५० रुपैया हो ।
मेरो हातमा यतिखेर यही नियात्राको पुस्तक रहेको छ । जसलाई मैले मन खोलेर एकाग्र भएर पढ्ने निधो गरी मेरै अगाडि राखी पढ्ने तरखर गर्दैछु । मैले रोजेको मेरो अत्यन्त मन पर्ने विषय नै नियात्रा भएको हुँदा मेरो लागि अत्यन्त खुसीको विषय बन्न पुगेको मैले महसुस गरेको छु । मैले यस्तो नियात्रा पढ्दै छु जस्को बारेमा आफूले पढेर त्यस भित्र भए गरेका र देखेका कुरालाई आफ्नै शब्दमा यसको वकालत गर्ने जमर्को समेत राखेर अगाडि बढ्ने प्रयास गरिरहेछु । मैले जमर्को गर्न खोजेका शब्दहरुले के कति र कसरी भूमिका खेलेका हुन सक्छन् त्यो त पाठकहरुले नै ठम्याउन सक्नु हुने छ भन्ने मलाई विश्वास एवम् द्रिढ भरोसा पनि छ । अब म यसको बारेमा भित्री गुह्य के छ र भ्रमणका बारेमा कहाँ के भएको छ के के हुँदैछ घुम्ने क्रममा स्थान विशेषहरुको परिचय आदि इत्यादिको बारेमा मैले भ्याएर जानेसम्म यसरी नै प्रस्तुत गने जमर्को गरेको छु ।
सन्दर्भ यसरी सुरु हुन्छ ।
अमेरिकाको भिसा पाउन गाह्रो छ भन्ने सुन्दा नियात्राकार घनश्याम राजकर्णिकारलाई पनि मनमा चिसो पसेर अमेरिकी काउन्सिलमा भिसाकोलागि गएका कुराहरु र ज्वाइँको साथीले पनि तपाई एउटा साहित्यकार त्यसमाथी उद्योगपति भिसा अवश्य नै मिल्छ भन्ने कुरा सुन्दा नियात्राकारको हौसलामा खुसी थपिएका कुराहरु पनि यहाँ उल्लेख गरिएको देखिन्छ । अमेरिकन राजदुतावासले भिसा दिए पछिका कुराहरु पनि गजवका छन् । अमेरिका जाने टिकटका लागि दरवारमार्ग स्थित हिमालयन ट्राभल्स एण्ड टुर्समा नियात्राकारले चिनेकी एउटी महिला कर्मचारी थिइन त्यसैको नाताले त्यहाँ पुगेका कुराहरु यस नियात्रामा उल्लेख गरिएको छ । तर त्यहाँ पुग्दा ती महिला नभेटिएको र अर्की महिलाले टिकट बनाउँदा अमेरिकाको पूर्वी भागमा जानु पर्ने टिकट सोही भागको पश्चिमी भेकमा टिकट काटिएको बेहोसीका कुराहरु यहाँ दर्शाईएको देखिन्छ ।
यसरी अमेरिका जाने दिन टिकट पासपोर्ट र ३०० डलर राखेको ठाउँ खोज्दा खोज्दै वितेको समयमा गडबडि उत्पन्न हुन्छ । यसरी उक्त सामान खोज्ने क्रममा टिकट पासपोर्ट र सोही अनुसारको डलर रीना छोरीले फेला पार्दाको समय खुसी बन्न पुगेको क्षणले सबै जनालाई हर्षित बनाएका कुराहरु पनि यहाँ बर्णन योग्य नै देखिएको छ । यो नियात्रा २०६३ सालमा अमेरिका जाँदै गर्दाको नियात्रा हो । जव बैंककको ट्रान्जिट प्वाईन्टमा भएको बेला चिया खाँदा त्यतिखेर २ डलरमा चिया पिएको र कति महङ्गो र कस्ता ठग रहेछन् भन्ने कुराको पनि यहाँ पोको फुकाईएको छ । एउटा सोलुखुम्बुको बि.ए. सम्म पढेको मानिसलाई माओबादीले दुःख दिएर अमेरिकामा पुगेका कुराहरुको बृतान्त केही मात्रामा भए पनि यहाँ उल्लेख गरिएको देखिन्छ । यसरी एउटा शुद्ध र साकाहारी व्यक्तिले इण्डीयन भेजेटेरियन खाना पाउँदा शुद्ध खाना खान पाएको अनुभव समेत गरेका कुराहरु उल्लेख गर्न छुटाईएको छैन । यसरी अमेरिकामा पहिला पटक नातिनी हृदयषाको मायाले पुगेका कुराहरुको वर्णन र विमानमा परिचारिकाले आफूहरुलाई देखाएको सत्कारले पनि नियात्राकार घनश्याम राजकर्णिकारलाई एकछिन भए पनि सोच्ने वातावरण बनाईदिएको कुरा यहाँ देख्न सकिन्छ ।
यसै क्रममा अमेरिकाको राजधानि फिलाडेल्फियाबाट वासिङ्गटन सारिएको कुरा पनि यहाँ उल्लेख भएको देखिन्छ । यहाँ संसारको सबैभन्दा ठूलो र प्रसिद्ध लाईब्रेरी सन् १८९७ मा टोमस जोफरसनको नाममा खुलेको कुरा समेत उल्लेख गर्न पछाडि पारीएको छैन । यसरी अमेरिकाको विभिन्न ठाउँहरु जस्तै क्यापिटल हिल, सुप्रिमकोर्ट अवलोकन, लाइब्रेरी अफ कङ्ग्रेसको बयान,अमेरिकन इण्डियनको म्युजियम, एयर एण्ड स्पेस म्युजियम, टोमस जेफर्सन मेमोरियलको भ्रमण, रुज्वेल्ट मेमोरियलको भ्रमण, भियतनाम वार मेमोरियलमा विरगति प्राप्त गर्नेहरुको संख्या उल्लेख गर्नुका साथै युद्धमा होमीएका शैनिकहरुको आत्मशान्तिका लागि बनाएका पार्क पोखरीहरु अत्यन्त सुन्दर मनमोहक रहेका कुराहरु दर्शाउन छुटाईएको छैन । यस्तै त्यहाँ पुग्दा दोस्रो विश्वयुद्ध स्मारक पनि त्यत्तिकै सुन्दर र मनमोहक लागेको कुरालाई यहाँ उल्लेख गर्न भुलिएको छैन । यहाँ विरगति प्राप्त गर्ने ४,००,००० अमेरिकी जवानहरुको सम्झना स्थल हो भन्ने कुराको प्रमाण हो यो विश्व युद्ध स्मारक स्थल । यस्तै अन्य दृश्यावलोकन गर्ने स्थलहरुमा फुडकोर्ट रेष्टुरेण्टमा लञ्च गर्दाको अवस्था र नेशनल म्युजियम अफ अमेरिकन हिस्ट्रीको प्रमाणले अमेरिकन इतिहास जान्नलाई सहज भएका कुराहरु यहाँनेर उल्लेख गर्न पछि पारिएको छैन । यस पछि नेशनल म्युजियम अफ नेचुरल हिस्ट्रि देखा पर्छ यहाँ भिमकाय हुने हात्तिको वर्णन गर्नुका साथै नियात्राकारको मन ‘फसिल कलेक्शन हल’ तिर तानिएको कुरा यहाँ उल्लेख गरिएको देखिन्छ ।
त्यस पछिको अवलोकन ह्वाईट हाउसको अवलोकन देखियो । यो क्षेत्र अवलोकन गर्ने गाईडले यो ह्वाईट हाउसमा जर्ज वासिङ्गटन बाहेकका अन्य राष्ट्रपति यही हईट हाउसमा बस्दै आएको कुराको चुरो लगाएर वर्णन गर्नुका साथै यस भित्र अवस्थित उच्चतम प्रशासनिक केन्द्र रहेका कुराहरु पनि उल्लेख गर्न बिर्साइएको छैन । यतिखेरको अवलोकन गर्ने क्रमलाई अगाडि बढाउँदै जाँदा लिंकनको हत्या गरिएको स्थलमा भ्रमण गर्ने अवसर मिल्छ नियात्राकार घनश्याम राजकर्णिकारलाई । यहाँ अब्राहमलिङ्कनलाई जोहन वी. ब्रुथ भन्ने व्यक्तिले हत्या गरेको भन्ने केही संक्षिप्त कुराहरुको बारेमा जान्न र बुझ्न पाएका कुराहरु यहाँ उल्लेख भएका देखिन्छन् । नियात्राकारले पढ्नका लागि धेरै संघर्ष गनु परेका कुरा र पढ्दा पढ्दै बुबाको मृत्युले पारेको असर दाजुहरुले भाईलाई पढाउने कुरामा विमति राख्दै आएका कुराहरु र आमा द्वारा पढ्नुपर्छ भन्ने जस्ता कुराबाट हौसला पाएको व्यक्तिका रुपमा नियात्राकार राजकर्णिकारलाई लिन सकिन्छ । नियात्राकार घनश्याम राजकर्णिकारको तुलना अब्राहम लिंकनले धेरै पटक असफलता प्राप्त गरि ५१ वर्षको उमेरमा अमेरिकाको राष्ट्रपति बन्न सफल भएको कुरासँग जोड्न सकिन्छ । जसो तसो संघर्ष गर्दा गर्दै नियात्राकारले त्यो बेलामा पनि आफूलाई उच्च शिक्षा हाँसिल गर्ने विद्यार्थीका रुपमा उभ्याएर गौरव हाँसिल गरेका कुराहरु पनि यहाँ उल्लेख गर्न विर्सिएको देखिदैन ।
अमेरिकामा २ वटा वासिङ्गटन पर्दा रहेछन् । एउटा वासिंगटन डि.सि. अर्को चाहीँ कोलम्वीयाको वासिंटन शहर । अमेरिकामा पनि माग्ने मान्छे हुँदा रहेछन् भन्ने कुरा एउटी युवतीले कागजको एउटा ठूलो गिलास थापेर १ डलर भनि माग्दै गरेका कुराहरुले पनि नियात्राकारलाई अचम्भित तुल्याई दिएको देखिन्छ । यसरी नियात्राकारले त्यो माग्ने केटीलाई २ डलर दिएको कुरा उल्लेख गर्न पनि भुलेको देखिदैन । अमेरिकामा साकाहारी मान्छेलाई रेस्टुरेन्ट भित्र छिर्यो भने खानाको मज्जा नै हुँदोरहेनछ किनभने जताततै मासुका परिकार हुँदा रहेछन् । संयोगले एउटा साकाहारी रेस्टुरेन्ट पाएर छिरेको कुरा यहाँ उल्लेख गर्न विर्सिएको छैन । यस्तै अर्को रेस्टुरेन्टमा मकैका अग्ला घोगाहरुलाई सिंगै बफाएर राखिएको र त्यसलाई आफूले ४ डलरमा किनेर कफि सँग खाएको रोचक प्रसङ्गलाई पनि यतिखेर निणत्राकारले जोडेको देखिन्छ । यहाँ रेस्टुरेन्टमा पसेर केटीहरुले कसरी माग्दा रहेछन् भन्ने कुराको बर्णन समेत गरिएको छ । यस्तै अनेक थरि मगन्तेका बारेमा उनीहरुले कसरी डलर माग्दा रहेछन् भन्ने कुराको प्रसंग उठाईएको देखिन्छ । अमेरिका जस्तो ठाउँमा पनि दुर्गा देवीको मन्दिर दर्शनगर्न पाउँदा नियात्राकारको मन अत्यन्त हर्षित बन्न पुगेका कुराहरु पनि यहाँ देखिन आउँछन् । यस्तै न्यूयार्क शहर हेर्न जाने क्रममा टुर बस भित्र चिटिक्क पारिएको पाईखानाको सक्दो वर्णन गरिएको छ । यसरी यहाँ स्वतन्त्रताकि प्रतिमुर्ति (स्टेच्यु अफ लिबर्टि) हेरी रमाएर स्पर्स समेत गरेका कुराहरु उल्लेख गर्न भुलेको देखिदैन । स्टेच्यू अफ लिभर्टीसँग सजीव मान्छेले जस्तै मुर्तीसँग एकोहोरा कुराको संबाद गरिए जस्तो देखिन्छ । त्यस ठाउँमा त्यो स्थल हेर्दा नियात्राकार घनश्याम राजकर्णिकारलाई त्यो ठाउँ छोडेर अन्त जान मन लाग्दैन । तर निश्चित समय लिएर त्यस ठाउँमा पुगेका यात्रु जहाज चढ्नु पर्ने हुँदा मन नलागेर पनि त्यो ठाउँ छोडेर जानु पर्ने कुरालाई यहाँ दुःखका साथ व्यक्त गरिएको देखिन्छ । टुर बसमा बाहिरका मात्र पर्यटक नभएर आन्तरिक पर्यटकहरुको घुईँचो त्यत्तिकै थियो ।
यसै शिलशिलामा मेसिज विशाल बजारको बारेमा केही वर्णन गरिएका झझल्काहरु भेटिन्छन् । यस बजारका बारेमा एउटा व्यापारी मेसी (ःच। च्यधबिलम ःबअथ) जस्ले यौटा सानो पसल खोली युरोपेलीे सामान राख्ने गर्दा गर्दै यसपसलमा मान्छेको बढी भिड लागेर ग्राहकहरुको चहल पहल र भिडभाड आफूले सोँचे भन्दा बढी हुनथाले पश्चात् व्यापारीक कारोबारमा अधिक मात्रामा बद्धि हुन थालेपछिको ३—४ बर्षको अन्तराल भित्रमा नै यौटा भव्य व्यापारीक भवन बनाएको र त्यस भवनलाई हाम्रो नेपालमा रहेको भाट भटेनी सुपर मार्केटसँग तुलना गरिएका कुराहरु पनि यहाँ उल्लेख गर्न पछि नपरेको देखिन्छ । यसैगरी ग्रिन विच भिलेजले प्रसिद्ध साहित्यकारहरुलाई जन्माएको बारेमा वर्णन गरेको देखिन्छ । यसैगरी चाइना टाउनतर्फ जाँदा त्यहाँ चाइनिजहरुको पसल प्रसस्त भेटिएको र त्यहाँको मनोरम दृश्यले एकछिन भए पनि नियात्राकारलाई मन्त्र मुग्ध पार्न सकेका कुराहरु यहाँ देखिएका छन् । यस्तै अन्य केही ठाउँहरुको घुमाई गर्ने शिलशिलामा यहाँ सिटिहलका कुराहरु पनि गरिएको देखिन आउँछ । यत्तिकैमा विश्व प्रसिद्ध न्यूयोर्क स्थित गगन चुम्बी जुम्ल्याहाघर जसलाई वर्ड टे«ड सेन्टरको नामले पुकारिन्छ लाई आतङ्कबादी अलकाईदाको समुहको नाइके ओशामाविन लादेनको अगुवाईमा सन् २००१ मा ध्वस्त पारिएका कुराहरु बडो सावधानी पूर्वक वर्णन गरिएको देखिन्छ । अनि त्यसपछि अमेरिकाको प्रसिद्ध ठाउँ वाल स्ट्रिट गएको र त्यस ठाउँमा वित्त सम्वन्धि कारोवार गरिने कुराको पनि जानकारी पाउँन सकेको देखिन्छ ।
अमेरिकामा पनि माग्ने मान्छेको कमी हुँदो रहेनछ भन्दा केही आश्चर्य मान्नु पर्ने अवस्था देखिएन भन्ने कुराको माथि उल्लेख गरिएता पनि यहाँ पून माग्नेकै प्रसङ्ग लिएर कुरा गर्न मन लागेको छ मलाई पनि । त्यहाँका माग्ने मान्छेले विभिन्न रुपबाट माग्ने गरेका प्रमाणहरु नियात्राकार स्वयम्ले देखेका कुराहरुलाई यहाँ प्रष्ट पारी उल्लेख गरिएको देखिन्छ । फेरी अमेरिका जस्तो विकासको चुली चढी सकेको महादेशमा पनि अन्धविश्वास र परम्परालाई मान्दै आएको देख्दा नियात्राकारलाई एकछिन भए पनि दिमागमा प्रश्न चिन्हको तगारो तेर्सिदिन्छ । अमेरिकाको वाल स्ट्रिट जहाँ शेयर बजारको अत्यधिक कारोवार चल्ने गर्छ त्यस ठाउँमा तामाबाट निर्मित एउटा विशाल काय गरेको साँढेको मुर्ति छ । त्यो कस्तो खाले अन्धविश्वाँस हो अमेरिकिहरुको ? त्यो साँढेको अण्डकोष मुसारियो भने त्यसदिनको शेयर कारोवारमा बृद्धि भएर फाईदै फाईदा हुन्छ भन्ने यस्तो अन्ध विश्वाँसी प्रचलन रहेछ त्यहाँका मानिसहरुमा पनि । यसै अर्थले नै मानिस जस्ले शेयर कारोवार गर्छ ति व्यक्रिहरुले त्यो साँढेको अण्डकोष मुसार्न जाँदा रहेछन् । त्यसपछि संयुक्त राष्ट्रसंघको हल हेर्न पुगेका कुरा कुराहरु यहाँ उल्लेख गरेको देखिन्छ । यसरी न्यूयार्कका धेरै ठाउँमा घुम्ने मौका मिले पछि नियात्राकारलाई केही सन्तुष्टि मिलेको अनुभव हुन्छ । यसैगरी चिनो स्ट्रेवरि फिल्डको बगैँचामा घुम्दा निकै रमाईलो भएको अनुभव र त्यो बगैँचा सुप्रसिद्ध गायक जोन लेननको नाममा उनको हत्या पछि आफ्नी श्रीमतिले उनकै सम्झनामा आँशु आकारको अगैँचा बनाई दिएका कुरा पनि अउँछन् । यो बगैँचाले नियात्राकारलाई धेरै प्रभावित बनाएको कुरा यहाँ वर्णन गरिएको देखिन्छ ।
यसैगरी बोस्टनको समुद्रमा पाईने भिमकाय भएको ह्वेल माछा हेर्ने मनसायले बोस्टनमा बसेको कुरा उल्लेख गरिएको देखिन्छ । यस्तै यहाँनेर आउँदा थ्याङ्स गिभिङ् डे को कहानी रेड इण्डीयन र अंग्रेज विचको युद्ध पश्चात् चलन चल्तीमा आएको प्रथालाई हाल सम्म पनि निरन्तरता दिएको देखिन्छ । ३०० वर्ष भन्दा अगाडि अमेरिका परतन्त्र थियो व्रिटिसको अधिनमा रहेका थिए अमेरिकावासिहरु । त्यस वखत अमेरिकामा चियाको उब्जनि हुदैनथ्यो । अमेरिकामा भारतबाट चर्को मूल्यमा चिया आयात गनुपर्ने कुराहरु गरिएको छ । तर एउटा गजवको कुरा के पढ्न पाईयो भने देशभक्त बोस्टन बासिहरुले बोस्टनको सामुद्रिक बन्दरगाहमा बेलायतबाट आईरहेका चियाका बाकसहरुलाई समुद्रमा फालिदिएर वेलायत विरुद्ध संघर्षमा उत्रिएका कुराहरु उल्लेख्य देखिएका छन् । यसै घटनाको संझनामा आज पनि त्यस ठाउँलाई बोस्टन टि पार्टि भनेर पुकार्ने गर्दा रहेछन् त्यहाँ बस्ने मान्छेहरुले । यहीबाट नै अमेरिकिहरुमा एकताको सन्देश फैलिएर बेलायति दासताबाट मुक्त भएको कुरा बडो रोचक साथ पढ्न पाउँदा एकछिन भए पनि मन फुरुङ्ग हुनपुग्छ ।
अमेरिकाको वोस्टनमा रहेका पुराना तथा ऐतिहासिक विषयवस्तुहरुको कुरा गर्दा यहाँ विद्यमान हार्भर्ड विश्वविद्यालय, यहाँको सब वे, जमिनमुनी गुड्ने टे«न, पुरानो अफ्रिकन मिटिङ् हाउस, मुलुकको सबै भन्दा पुरानो पार्क ‘बोस्टन कमन’, यस्तै युनियन ओइस्टर हाउस भन्ने देशको पुरानो रेष्टुरेण्ट, ट्रिनिटि चर्च, बोस्टन म्याराथुन आदिको नाम चर्चा परिचर्चामा आएको कुरा यहाँ सविस्तार उल्लेख गरिएको देखिन्छ । यहाँ अन्धविश्वाँसका कुराहरु पनि उल्लेख गरिएको छ । हार्बर्ड विश्वविद्यालयका संस्थापक जोहन हार्वर्डको प्रतिमाको जुत्तालाई जस्ले पोलीस गरिदिन्छ त्यस्तो खाले युवा युवतिले यस विद्यालयमा पढ्ने मौका पाउँछ भन्ने जस्ता कुराहरु सहीरुपमा उतारेको देखियो । हर्वर्ड विश्वविद्यालय हेर्न जाँदाको समय उक्त स्थान हेरेपछि २०÷२५ मिनट ढिलो भएर र्फिर्कदा टुर वस छुटेको प्रसङ्ग वडो गजवको लाग्यो । नेपालीहरुले समयको ख्याल नगरेको प्रसङ्ग जोडिन पुग्दा पनि यो समय बडो रोचक बन्न पुगेको कुरालाई यहाँ जोडिएको छ । वोस्टनको राम्रो उपहारको रुपमा ह्वेलको दर्शन गर्न पाउने कुराको सविस्तार वर्णन गर्न पछि परेको देखिदैन नियात्राकारलाई । यस्तै ह्वेल माछा हेर्न जाँदा खिचेको फोटो फर्किदा आ—आफ्नो फाटो फ्रेममा हालेर तैयार पारिएको देख्दा खुसि लागेको र सो फोटो लिएर काउण्टरमा गएर रु २५ डलर तिर्न पर्दा अमिलो मन भएको कुराको दुःखद वृतान्तको वर्णन गरेको पाईयो । सन् १९६० मा जोन अफ केनेडि राष्ट्रपति हुँदाको डकुमेन्ट्रीफिल्म हेरेका कुराहरु पनि अत्यान्त चाखपूर्ण तरिकाले वर्णन गरिएको छ । यस्तो प्रसिद्धि कमाएका राष्ट्रपति जोन अफ केनेडिको मृत्यू पश्चात् उनकी श्रीमति पोईल गएका कुरा र त्यस्ती पोइल गएकी आईमाईको पनि यसरी सम्मान गरेका कुरालाई स्वयम् नियात्राकारले यो आईमाईलाई डंकिनी समेत भन्न पुगेका कुराहरु पनि उल्लेख भएका छन् यहा नेर आउँदा । यसैगरी नायग्रा फल्सको वर्णन र त्यसको सौन्दर्यका वारे विचरण गरेर लेखिएका कुराहरु पनि अत्यन्त सारगर्भित र सुन्दर छन् । यस्तै ओसान सिटिलाई मेरिल्याण्डको एउटा शहर भनेर भनिदो रहेछ । यसैगरी ओसान सिटिको घुमफिर पनि सारै गजवको लाग्यो । महासागरको किनारमा युवा युवतीहरु अर्धनग्न भएर नुहाई रहेका अनेक दृश्य र जुवाघरमा तास खेल्दै गरेका रोचक घटनाहरुको परिद्रिश्य हो रहेछ यो ओशान सिटिको अवलोकन ।
यस्तै अवको यात्रा शुरु हुन्छ बाल्टीमोरको । यो यात्रा अत्यन्त सुन्दर र रमणिय देखियो । घुम्दै फिर्दै जाँदा भोकलागि सकेपछि एउटा रेष्टुरेण्टमा छिर्दा साकाहारी भोजन नपाए पछि पूनः त्यहाँबाट बाहिर निस्किएर एसियन रेष्टुरेण्टमा पस्दा साकाहारी भोजन त पाएको तर भोजनको परिकार भने बेग्लै कस्तो कस्तो ठुस्स गन्हाउने भए पनि करै र बलैले ग्रहण गरी बाहिर निस्केका रोचक प्रसङ्गहरु यहाँ यतिखेर वर्णन गर्न भुलिएको छैन । यस्तै बाल्टीमोरको एक्वेरियममा राखीएका विभिन्न प्रजातिका माछाहरुको रमाईलो परिद्रिश्य पनि कम रोचकको देखिएन । अमेरिकामा बसोवास गर्ने जो सुकै किन नहोस् उनिहरुमा जागरणको चेतना प्रचुर हुँदो रहेछ । उनिहरुले आफूलाई सुन्दर शहरमा बस्न पाउने परिकल्पना गरेका हुँदा रहेछन् । यस्तो भए पो देश बन्छ । हामीमा यस प्रकारको चेतनाको विकास कहिले हुने ? हामीले एकअर्काको डाह गर्ने बानी सिवाय अरु बानी हामीमा केही छैन । त्यहाँका मानिसमा कस्तो चेतना भएका साना युवती नानीहरुले पनि सडकमा फालिएका क्यानका बट्टालाई यसरी डसविनमा लगेर राखेको देख्दा नियात्राकारको मन कता हो कता आफ्नो देशमा रहने नेपालीहरुको बानी प्रतिका बारेमा मनमा यसरी प्रश्न चिन्ह उत्पन्न भइ दिन्छ र जो हाम्रो देशका सभ्य हुँ भनाउँदाहरुसँग विचार प्रकट गर्न मन लाग्छ ।
यसरी नै मेरील्याण्ड स्वतन्त्रता भइसकेपछि स्वतन्त्रता भइसकेको खुसीयालीमा एकजना कविले लेखेको कविताले अन्त्यमा सम्पूर्ण अमेरिकाको राष्ट्रिय गानमा परिणत भएको कुरा उल्लेख भएको देखिन्छ । यसैगरी नेपाली भएर पनि नेपाली बोल्न नजान्ने एउटा नेपालीको बारेमा इतिवृति वर्णन गरिएको कुरा यहाँ देखिन आउँछ । यस नियात्राको अन्त्यमा लेखिएको कविताले कसैलाई पनि आफ्नै देशको यति माया लाग्छ र पुनः देशको मायाले गर्दा घर (आफ्नो देश) फर्किन्छ भन्ने सङ्केत गरेको पाईन्छ । कति मार्मिक छ यो कविता प्रत्येक देशभक्तले हर हमेशा गुनगुनाउँने शब्द हुन् यि कविताहरु ।
अन्त्यमा यो नियात्रा “यात्रा अमेरिकाको माया नेपालको” भन्ने बारेमा मैले केही भन्नु पर्दा यो यात्रा अब्बल दर्जाको नियात्रा हो भनेर भन्न कुनै किसिमको कस बाँकी राख्नु हुँदैन भन्ने कुराको विचार प्रकट गरेँ मैले । यहाँ पढ्दै जाँदा जुन ठाउँमा जहाँ जहाँ पुगिन्छ त्यहीँ त्यहीँ ठाउँमा स्वयम् पाठक पुगेको अनुभव गर्न पाईन्छ । अमेरिका घुम्ने संयोग नपरेकालाई पनि यो नियात्रा पढि सकेपछि अमरिकाको सम्बन्धित ठाउँमा आफू नै पुगेको छु कि भन्ने आभाष झल्किन्छ । नियात्रामा हुनुपर्ने गुण नै यही हो । सरल र सहज भाषामा लेखिएको यो नियात्रा सर्व साधारणले बुझ्न सक्ने भाषामा तैयार गरि पाठकसामु प्रस्तुत गर्न सफल देखिएको छ । यस्तै सहज भाषामा नियात्रा लेखेर पाठकहरु सामु प्रस्तुत गर्न खोज्नु नियात्राकारको धर्मिता पनि हो । यस सङ्ग्रहमा उद्धरण गरिएका ८ (आठ) नियात्राहरु कुनैमा केही कमी भएको देखिदैन । सबै अब्बल खाले नियात्राहरु छन् । अमेरिकामा घुम्ने ठाउँ धेरै छन् । यस्ता धेरै ठाउँ भएता पनि आफू जहाँ पुगिन्छ त्यहीँ ठाउँको मात्र वर्णन गर्न लायक हुन्छ ति विषयहरुलाई नियात्रामा सविस्तार उतारिने काम नियात्राकारले गरेको हुन्छ । नियात्रा लेख्नुमा भन्दा पढ्नुमा अति मजा आउँछ र आनन्द पनि लाग्छ । नियात्रा पढ्नु भनेको स्वयम् आफू तेसै ठाउँमा पुग्नु हो र त्यहाँको विषयवस्तुहरुको बारेमा जानकारी पाउनु हो । तसर्थ नियात्रा गर्दा नियात्राकारले देखे भोगेका विषय वस्तुहरु यथार्थ रुपमा कुनै पनि कसर नराखी वर्णन गरिदिएको खण्डमा सुनमाथी सुगन्ध हुने थियो भन्ने मैले ठानेको छु । नियात्राकार घनश्याम राजकर्णिकारका नियात्राहरु यसरी नै अटुट रुपले सधैव पढ्न पाईयोस् भन्ने शुभकामनाका साथ आजलाई यति नै । अस्तुः

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 25 चैत्र, 2072

लेखकका अन्य रचनाहरु