बिब्ल्याँटे

- भोला अधिकारी

हाम्रा कति लोक विश्वासहरू विलाएर गए। कति तोडिए। कति मोडिए। फेरि भएन कति समयसँग नमिलेर प्रतिदिन हराएर जाँदैछन्।

हुन त यस्तो स्थिति दुनियाँका तमाम जाति, धर्म, संस्कार, संस्कृति आदिमा लागु छ। तर पनि समयको गतिसँग चलिरहेको छ सबैको जिन्दगी।

यस्तै लोक कथाका रुपमा मेरो कानमा आएको एउटा शब्द हो बिब्ल्याँटे। आज भोलि यसै मेरा श्रवण विवरमा प्रति ध्वनित हुन आइपुग्छ। अनि त म सोच्न मज्बुर हुन्छु। लाग्छ यो बिब्ल्याँटे भन्ने सायद बिब्ल्याँटो हुँदो हो। फेरि मेरो कल्पनाशील मगज सोच्न पुग्छ। यो बिब्लयाँटे भनेको के? पर्यायवाची शब्द खोज्न पुग्छु। जब उल्टो, विपरीत, विमुख आदि शब्द फेला पारेर अर्थ निकाल्छु। अन्तमा हामी जस्तै होला भन्नेमा निष्कर्ष निकाल्छु।

कहिले उही हजुरआमाले भन्ने लोक कथामा उडेर पुग्छु। मेरो साक्षतकार यस्तो आकार भएको प्राणीसँग हुन्छ। जसको स्वरुप मानवको झै छ। तर रौंले भरिएको छ उसको शरीर। जो सर्वाङ्ग नग्न छ। उ वनका फल, फूल, कन्दमूलको आहारा गर्छ। तर मान्छे झै बोल्दैन, केवल पशुहरू झै आवाज निकाल्छ। सबै भन्दा अचम्म लाग्दो कुरा उसका पैताला पछाडि फर्किएका छन्। ठिक बिब्ल्याँटो। उ जति नै डरलाग्दो स्वरुपको भए तापनि मान्छे जस्तो क्रूर हृदयी पटक्क छैन।

यसैले म अन्तमा विश्वास गर्न पुग्छु। सायद यही होला बिब्ल्याँटे भन्ने। तर आजसम्म कसैले नदेखेको प्राणी हो यो। आज सबै आ-आफ्ना मनका आकारसँग तुलना गर्दै विश्वस्त छन्। हुन पनि के आकार चाहियो र मनका वस्तुलाई। किन स्वरुप खोज्नु पऱ्यो र उसको। किन चाहियो यथार्थ। किन कि मन नै सबै भन्दा विश्वासीलो आधार हो मान्छेहरूको। नभए कसरी उत्पन्न हुन सक्छ नरसिंह।

आज यो बिब्ल्याँटेको अवधारणा सही होस् अथवा गलत। चाहे यस्तो प्राणी दुनियाँमा होस् या नहोस्। तर यो पक्का भइसकेको छ। आजको हाम्रो समाजमा बिब्ल्याँटेहरू प्रसस्त फैलिरहेका छन्। जस्तो म, तँपाई, हामी, तँपाईहरू।

म धार्मिक बिब्ल्याँटे! कारण यहाँ भइरहेका धार्मिक कुराहरू मेरा मन मस्तिष्कलाई नछोइ जाने गर्छन्। जब केही बुज्दिन तब धर्म मान्दिन। धर्म नमाने पछि म धार्मिक बिब्ल्याँटे। म यी कुरा पक्का मान्दछु कि मानवता नै सच्चा धर्म हो। यहाँका प्रतेक प्राणीहरू नै ईश्वर हुन्। तर म नै कसरी धार्मिक बिब्ल्याँटे भएँ। हो म ‘अहं ब्रंह्मास्मी’ जान्दिन। अञ्जानमै पालना गर्छु। तर यहाँका धर्म भीरुहरूका नजरमा म आज धार्मिक बिब्ल्याँटे भएको छु।

तँपाई सामाजिक बिब्ल्याँटे! कारण आजको समाज पूर्व तिरको यात्री। तर तँपाई पश्चिम जाने। समाजले नयाँ क्रान्ति चाहान्छ। तँपाई अझै पुराना थोत्रा नियमहरू लाद्न खोज्नु हँदैछ। तानाशाही र क्रूर शासनदेखि समाज भाग्न खोज्दै छ। तर तँपाईलाई त्यही चाहिन्छ। शोषण र शोषित वर्गबाट समाज टाडा हुन खोज्छ। तर तँपाई त अभिजात्य वर्गको पुजारी। त्यसैले यो तय भएको छ तँपाई सामाजिक बिब्ल्याँटे।

हामी राजनैतिक बिब्ल्याँटे! किन कि लोकतन्त्रको नीव नै हो राजनीति। तर हामीले फोहोर तुल्याएका छौं। प्रतेक चुनावमा सत्ता परिवर्तन हुनु पर्ने। तर हामी सत्तासीन नेता नअघाएसम्म परिवर्तन नचाहाने। विकास नै मूल एजाण्डा हो राजनीतिको। तर हामी त भ्रष्टाचार चाहानेहरू। साम,दाम,दण्ड,भेद मूल हतियारहरू राजनीतिका। तर हामी भाइ भतिजावाद, जातिवाद आदि हतियार भएकाहरू। सबै एक हो राजनीतिमा। तर हामी राजनीति भित्र जात-पात, धर्म, वर्ग खोज्नेहरू। यही कति पय कारणहरूले हामी रीजनैरिक बिब्ल्याँटे।

तँपाईहरू संस्कारित बिब्ल्याँटे! वास्तवमा संस्कारले बाँच्न सिकाउँछ। तर तँपाईहरूले संस्कारलाई बचाइ राख्नु भएको छ। संस्कार नै ठूलो शस्त्र हो मानवहरूको। तर जात-पातमा विभाजन गरेर प्रति जातको संस्कार बनाउने तँपाईहरू। हुन त संस्कारबाटै श्रेष्ठ र निच छुटिन्छ। तर ब्राह्मणको भिन्नै, क्षत्रीयको भिन्नै, वैश्यको भिन्नै, शूद्रको भिन्नै संस्कार हुन्छ भनेर छुट्याउने तँपाईहरू। वस्तुतः धन भन्दा ठूलो संस्कार हो। तर धन भए संस्कार आफै बनाइन्छ भन्ने तँपाईहरू। यसैले तँपाईहरू संस्कारित बिब्ल्याँटे।

आज दुनियाँ यस्तै बिब्ल्याँटेहरूले भरिएको छ। यस्ता बिब्ल्याँटेहरूको भविष्य कस्तो होला देख्न बाँकी नै छ। हुन त बिब्ल्याँटे हुनु कुनै नराम्रो होइन। तर कुन र कस्तो परिस्थितिमा बिब्ल्याँटे हुनुपर्छ नजान्दा आफै नोक्सान भोग्नु पर्दो रहेछ। अनि त्यसको फल वर्तमानमा भन्दा भविष्यमा अझ चर्को भोग्नु पर्ला भन्ने कुरामा दुईमत छैन।

त्यसैले देश काल र परिस्थिति हेरेर वस्तविक बिब्ल्याँटे बन्नु पर्ने कुरामा जोड दिन चाहान्छु।

राभाङ्ला द. सिक्किम

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 25 चैत्र, 2072

लेखकका अन्य रचनाहरु