मौनता र शान्ति

- कृष्ण बजगाईं

पति पत्नी सँगै हुनुको अवसर त्यस रातमा पनि सदुपयोग गरेनन् ।
‘हाम्रो सम्बन्धमा कुनै चार्मिङ छैन हगी’ । भित्ता तर्फ अनुहार फर्काएर सुतेपछि पत्नीले असन्तुष्टी पोखी ।
‘चार्मिङ सार्मिङ भए नी नभए नी बीस वर्ष चलिहाल्यो । अब कति नै बाँचिन्छ र ?’ माथि सिलिङ तर्फ हेर्दै लोग्नेले निराशा प्रकट गर्यो ।
‘तपाईंले सम्बन्ध काम चलाउ मात्र बनाएको हो नी । स्थायी गर्न चाहेकै होइन ।’ कोल्टे सुतेकी पत्नी सिधा भई र माथि सिलिङ तर्फ हेर्दै भनी ।
पत्नीले सिलिङ हेरेर कुरा बढाउन थालेपछि पति भित्ता तर्फ फर्कियो ।
‘सम्बन्ध स्थायी नभएको भए छोरा र छोरी युनिभर्सिटी पढ्ने भइसके । नेपालमा र यता सम्पत्ती जोडिएका छन् दुइ जनाको संयुक्त नाममा ।’ भित्तामा टाँगिएको पारिवारिक फोटो हेर्दै पति बोल्यो ।
‘पति पत्नी भएको भ्रममा बाँचेको परिणाम हुन् ती सब ।’ फेरी भित्ता तर्फ फर्कदै पत्नी बोली ।
...........। पति बोलेन । नबोलेरै सम्वादमा पूर्ण बिराम लगायो ।
नियमित जस्तो हुने यस्ता सम्वाद सामान्य लाग्छन् दुवैलाई । रातभर कैयौं पटक ३३, ३६ र ६३ भएर ओल्टीपल्टी गरिरहे दुवैजना ।
ती जोडी खुब मिलेको देख्दछन् छिमेकी र साथीभाइहरुले । सवै चिजले भरिपूर्ण । खुशी र सुखी देखेका छन् ।
बिहान झिसमिसे अँध्यारोमा दिनचर्या सुरु हुन्छ दुवैको । सबेरै अँध्यारोमा काममा जाने पतिको बेड टी देखि लुगाफाटा, कट्टु, मोजा सवै तयारी पारिदिन्छे । सँधै हतारमा हुन्छ पति । अँध्यारोमा दौडदै पुग्छ ट्युब समाउन । सुरुङभित्र चल्ने ट्युब अर्थात रेल आफ्नो निर्धारित स्थानमा रोकिदै जान्छ । र उ आफ्नो काम गर्ने ठाउँमा पुग्छ । दिनभर काममा जोतिएर साँझ उही अँध्यारो सुरुङभित्र चल्ने रेलको यात्राबाट घर पुग्छ । घर के भन्नु त्यसलाई उसले ट्रान्जिट प्वाइन्ट भन्ने गर्दछ ऊ ।
पति काममा गएपछि पत्नीको दैनिकी सुरु हुन्छ । पहिले बच्चा साना थिए, धेरै समय बच्चाको खाना, स्कूल, घर धन्दा र आफ्नो काम भन्दै बित्दथ्यो । अहिले युनिभर्सिटी जाने भएपछि अलिक सजिलो भएको छ । तर उसको ब्यस्तता उस्तै छ, घटेको छैन । बाहिरको पार्टटाइम काम र घर धन्दा ।
‘मैले बनाएर पठाएको खाना आज कस्तो रहेछ ? मिठो लाग्यो ?’ दिउँसो पतिले लन्च लिँदै गरेको बेला फोनमा सोधी ।
‘गज्जब मिठो, स्वादिष्ट ! माइक्रोओवनबाट खाना तताएर निकालेको त, मसलाको वासना हरहर चल्यो । मेरा सहकर्मी केही गोरे साथीहरु ‘वाह ! डेलिसियस् फुड’ भनेर मुख मिठ्याए ।’ पतिले वास्तविकता बतायो ।
‘मेरी श्रीमतीले सँधै खाना बनाएर मलाई पठाउँछे भनेर मेरो बेइज्जत गरेको होला नी । मेरो के बेइज्जत हुनु र तपाई कै हुन्छ । सँधै श्रीमतीले बनाएको खाना खाने लम्फू रहेछ भनेर तपाईलाई भन्लान् । गोरेहरुका लोग्नेस्वास्नीले घरको काम बराबर गर्दछन् ।’ पत्नीले ईज्जतको डर देखाई ।
खाँदै गरेको खानाको गाँस अड्कियो । पति मौन भयो । उसले फोन काटी ।
घरको काम र पार्टटाइम जागिरले श्रीमती थाक्छ भन्ने थाहा छ पतिलाई । दिनभर माया लागि रहन्छ उसको । लन्चको बेला रिसले फोन काटेकी थिई । ‘टि बे्रक’को समयमा श्रीमतीलाई फकाउन मोबाइलमा फोन गर्यो ।
‘काम सकेर घर पुग्यौ ?’ पतिले सोध्यो ।
‘बल्ल बल्ल मरेर घर आइपुगे नी ।’ पत्नीले थकाई सुनाई ।
‘ए...। खाजा खानू, आराम गर्नू ।’ पतिले माया दर्शायो ।
‘खा...खा...!, आराम गर ! टेप रेकर्डर बजाए जस्तो दिनहुँ उही कुरा कति भन्न सकेको ?’ पतिको मायालाई दुत्कारी ।
‘.......।’ रिस उठेर पनि पति मौन भयो । उसले फोन काटी दियो ।
साँझमा पति घर आउँदा पत्नी सिँगारिएर बसेकी थिई रेष्टुरेण्ट जान । दस वर्षदेखिको रुटिन, हरेक शुक्रवार साँझ बाहिर खाना खाने चलन । नखाएर पनि के गर्नु, लन्डनको बसाई छ । गोरेसँग काम गर्नु छ । सप्ताहन्तमा कुन रेष्टुरेण्टमा के खाना खाईयो भनेर गफ हुन्छ । अरुका अगाडि के उल्लु र कन्जुस देखिनु भनेर सुरु गरेको उनीहरुको आदतै भयो । त्यति खर्च गर्न पुगेकै छ ।
‘लुगा बाहिर निकालेर राखेको छु, छिट्टै लगाएर तयार हुनुहोला ।’ पत्नीले आदेश सुनाई ।
‘यो लुगा मर्लाइ फिट नै हुँदैन, अर्को लगाउँदछु ।’ लोग्नेले समस्या तेर्सायो ।
‘मेरो लुगामा म्याच हुने तपाईको लुगा यही मात्र हो । आ..., खाँदखुँद पारेर लगाउनु न ।’ स्वास्नीले समाधान निकाली ।
‘मागेर लगाएको जस्तो देखिने लुगा भिरेर जोकर जस्तो भएर जाउँ त ?’ पतिले बिकल्प चाह्यो ।
‘कसले के भन्छ र ? यताका कत्रा ठूला ठूला हुँ भन्ने गोरेहरु जे पनि लगाएर हिँड्छन् । नेपालीलाई ढर्रा पार्नु पर्ने !’ पत्नीले जिद्दी कसी ।
‘........।’ पति मौन भयो ।
सप्ताहन्तको साँझको ट्राफिक र भीडलाई छिचोल्दै दुवै जना रेष्टुरेण्ट पुगे । आआफ्ना रुची अनुसारको खाना अर्डर गरे अनुरुप टेबलमा आयो ।
‘यो रेष्टुरेण्टको खाना भन्दा त घरमा तिमीले पकाए कै मिठो ।’ आधा भन्दा धेरै खाना खाइसकेपछि पति बोल्यो ।
‘आफूले पकाउने होइन, मलाई भान्सामा दल्न पाएपछि यति त भन्नै पर्यो नी ।’ पत्नीले जवाफ फर्काई ।
‘मैले पकाएर दिएको कहिल्यै खान हुने मिठो भयो भनेको छ र ? पतिले स्पष्टीकरण दियो ।
‘बेलाबेलामा पकाउनु पर्दछ भनेर त हो नी जानाजानी त्यस्तो बेकामे खाना बनाएको । यो लन्डनमा बसेर नेपालकै गृहणी जस्तै दिनहुँ चौरासी ब्यञ्जन बनाएर खुवाएको छु । कसका स्वास्नीले गर्दछन् यत्रो हैरानी ।’ पत्नीले क्रेडिट लिन खोजी ।
‘.........।’ टेबलमा रहेको रेडवाइनको अन्तिम घुट्को मुखमा हालेर पति मौन भयो । पत्नीले बाँकी खाना फटाफट खाई । बिल तिरेर दुवै बाहिर निस्के ।
‘गाडी अलिक ध्यान दिएर चलाउनु न । ए...ए...झण्डै.....।’ पत्नीले सचेत गराई ।
‘बेलायतमा गाडी चलाउने लाइसेन्स यहीँ पढेर, प्राक्टिकल पास गरेर पाएको हो । के नेपालबाट किनेर ल्याएको लाइसेन्स हो यो ? मलाई थाहा छ कसरी गाडी चलाउनु पर्दछ भनेर ।’ पति बम्कियो ।
‘ भो धेर धाक नलगाउनू । मैले नै त हो नी ड्राईभिङ सिक्न जोड गरेर पठाएकी । पत्नीले जश लिन खोजी ।
‘मलाई तिम्रो ड्राइभर बनाउनु थियो र सिक्न पठायौ त । महिनै पिच्छे हुने आईमाईको पार्टी, सोसियल प्रोग्राम, च्यारीटी इभेन्टमा तिमीलाई पुर्याउनु र लिन जानै पर्यो ।’ पतिले असन्तुष्टी जनायो ।
‘कसैका लोग्नेले गाडीमा लिफ्ट दिएको मन पर्दैन त तपाईलाई । त्यसैसँग जान्छु जस्तो गरेपछि ड्राइभर त बन्नै पर्यो नी ।’ पत्नीले मनको भँडास निकाली ।
तेज रफ्तारमा चलिरहेको गाडीमा झ्याप्प बे्रक लगायो पतिले । र मौन रह्यो ।
घर नजिकै पुगिसकेका थिए । पतिले फेरि गाडी स्र्टाट गरेर अगाडि बढायो । घर अगाडि गाडी पार्क गर्यो ।
‘सरप्राइज !’ मुडअफ पतिलाई फकाउन कुरा झिकी ।
‘के को ?’ जिज्ञासु बालकले जस्तै पतिले सोध्यो ।
‘भोलि मौनता र शान्ति युनिभर्सीटीबाट घर आउने ।’ थोरै कुरा चुहाई ।
अचानक किन आउने भए भोलि नै । पति थप जिज्ञासु भए ।
‘भोलि हाम्रो विबाहको एनिवर्सरी । बिसौं वर्षगाँठ ।’ पत्नीले एनिवर्सरी सम्झाई ।
पतिले हिजो रातिदेखि अहिलेसम्मको सवै संवाद बिर्सिदियो ।
‘मौनता र शान्ती छन् र त हामीले वर्षेनी एनिवर्सरी मनाई रहका छौं हगी ।’ पतिले आत्मादेखि भन्यो ।
‘........।’ पत्नी मौन रही ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 19 चैत्र, 2072

लेखकका अन्य रचनाहरु