माया नं ६५३

- शंकर लामिछाने

माया आज अलि उद्विग्न थिई । हिजो अफिसमा काम गरिरहँदा उसले एउटा आदेशपत्र पाएकी थिई । पत्र आएको थियो स्वास्थ्य विभागबाट र त्यसमा उसलाई आदेश थियो कि अब आउने सात दिनसम्म ऊ उत्तेजनाको कुनै काम नगरोस् । र आज त उसलाई अस्पताल गई आफ्ना शरीर जचाउनु पनि थियो । अनि एक सातासम्म अस्पतालमै बसेर आराम पनि लिनु थियो । अनि मार्च १७ तारिख ।

आज ११ तारिख, मार्च १७ त उसको जन्मदिन पनि हो । उसले आफ्नू नारीघडी सारेर छालामा अङ्कित मिति पढी – १७ मार्च, २०५० । यो थियो उसको जन्मदिन ! नं ६५३ यो थियो उसको जन्मसङ्ख्या ।

ऊ नगरपालिकाको जनसङ्ख्या-नियन्त्रण-विभागमा काम गर्दथी । तथा उसका मातहत नारीवर्गको जन्मकुण्डली र जीवनकार्यक्रमको लेखो राख्ने काम थियो । र उसलाई थाहा थियो कि कुन क्षेत्रमा जननीगुणरहित कति नारी छन् । उनीहरु के काम गर्छन् र कुन विभागमा ? यो पनि ऊ जान्दथी । त्यस्तै ऊ यो पनि जान्दथी कि पुरुषवर्गको पनि रेकर्ड पनि राखिन्छन् – र त्यस विबागमा काम गर्ने पुरुषलाई पनि थाहा हुन्छ कि उसको क्षेत्रको पुरुषत्वहीन कति लोग्ने मानिस छन् । सन्तानोत्पत्तिमा सरकारको पूर्ण नियन्त्रण थियो – सरकारका पूर्वनिर्धारित योजनानुसार नै उनलाई जन्माइन्थ्यो ।

स्वास्थ्य विभागअन्तर्गत सन्तानोत्पत्तिशालामा शुक्रकीट सुरक्षित रहन्थे र सरकारी आदेशअनुसार नै उनलाई विकासी गरिन्थ्यो । तापक्रम-नियन्त्रण त्यस शालामा भावी कृषकदेखि डाक्टर, वैज्ञानिकसम्मको पूर्णनिर्धारित एवं नियोजित शुक्रकीट विभिन्न बोतलमा करोडौं सङ्ख्यामा सुरक्षित राखिन्थे । वैज्ञानिकहरुले सन्तानउत्पत्तिका प्रत्येक क्षेत्र एवं कार्यलाई वैज्ञानिक रूप दिई मानव नियन्त्रणमा राखिएका थिए – एक कुरामात्र उनीहरुले गर्न सकेका थिएनन् र त्यो थियो कृत्रिम गर्भाशयको निर्माण । अत: एक वर्षमा देशभरिका १२०० जननीपुणयुक्त नारी जन्माइन्थे र ती पूर्ण यौवनप्राप्त हुँदा तिनको गर्भाशय निकाली सरकारले आफ्नू सञ्चय बढाउँदथ्यो । बीसौं शताब्दीको अन्ततिर नै सरकारले यस विषयमा ठोस कदम उठाउनुपरेको थियो – त्यस बखतका नारीहरूको समानाधिकारको प्रबल मागले गर्दा । गर्भाधान एवं प्रसूतिको वेदनाबाट मुक्त हुन तथा पुरुषवर्गको समकक्षमा उनीहरुले काम गर्ने प्रस्ताव संसदमा राखी पास गराएका थिए । सरकारलाई कृत्रिम गर्भाधानको पद्धति विकास गरी सरकारी नियन्त्रणमा लिनुपरेको थियो । यसले बढ्दो जनसङ्ख्या एवं विश्वव्यापी आर्थिक सङ्कट पनि नियन्त्रित भएको थियो ।

एक्काईसौं शताब्दीको शुरुमा पच्चीसवर्षीय योजनाले यस पद्धतिलाई प्रायश: पूर्ण पारिसकेको थियो। तथा वैज्ञानिकहरुको आशा थियो कि आगामी पच्चीसवर्षीय योजनाअन्तर्गत यो गर्भाशयको कमी र प्राकृतिक उत्पत्तिमा उनीहरु विजय प्राप्त गर्नेछन्।

अहिले २०५० का ती १२०० भाग्यमानी (वा मायाको भनाइअनुसार अभागी।) नारीहरुमध्ये माया नं ६५३ की थिई । उसको गर्भाशय निकाल्ने तिथि निश्चित भइसकेको थियो – अब ८ दिन मात्र बाँकी छ। तर…

उसको हृदयमा एउटा अनौठो भावनाको उदय हालै भएको थियो । नाचघर अथवा चियाघरमा कुनै पुरुषसँग अनायास नै उसको शरीर छोइँदा उसलाई एकतमासको सिरिङ्ग अनुभव हुन्थ्यो । त्यस पुरुषले ‘माफ गर्नुस है’ भन्दा ऊ चाहन्थी कि त्यस पुरुषबाटा ‘हिंड्नुस् घुम्न जाऊँ’ निस्कोस् । तर, त्यस प्रतीक्षामा नै उसका कति महिना बितिसके ।

उसले घडी हेरी। १६ बजेर ४० मिनेट गएको रहेछ । १९ बजे उसलाई अस्पतालमा पुग्नु छ । उसलाई पीर थियो, यस एक सातामा पनि के ऊ प्रकृतिको त्यस मार्गलाई पूर्ण नगरी त्यसै साधारण नागरिक बन्नेछ ? अहिले देशभरिमा भाग्यशाली (अथवा ऊजस्तै अभागी) ती १२०० पूर्ण नारी होलान्… तिनमा ऊ छे ६५३ औं ! …१७ मार्चमा तीमध्ये एक नारी फेरि नारीत्वहीन हुनेछ १७ मार्च…!

अस्पतालबाट बाहिर निस्कँदा २० बजेको थियो । उसका ब्यागमा डाक्टरले दिएको रिपोर्टको एकप्रति र त्यसका साथ एक साताको दैनिक कार्यक्रमको रूपरेखा पनि थियो । उसले, अनि एक महिनामा बिदा पाएकी थिई – पहिलो साता अपरेशनअघिको स्वस्थता कायम राख्‍न, दोश्रो अपरेशनलाई, तेस्रो आरामी र चौथो भ्रमण एवं आनन्दको लागि – उसको दानको पुरस्कारस्वरूप । उसलाई चिन्ता थियो प्रथम साताको ।

सडकको बत्तीमा उसले डाक्टरको कागज झिकेर पढी । लेखेको थियो- नगर्ने काम-

१ अतिशय उत्तेजनाका कुनै पनि काम,
२ अपच गर्ने गरी खानु,
३ लागु कुराको अति सेवन,
४ शारीरिक कष्ट हुने काम,
५ मानसिक चिन्ता ।

मानसिक चिन्ताको बारेमा पढेर ऊ हाँसी । मानौं यो पनि मानसिकको आफ्नै इच्छामा निर्भर भएजस्तो ! कागज उसले देबारेर राखी । अनि नगीचकै एउटा पेयशालामा पसी । कफीको अडर दिँदा सँगैकी एउटी अर्की स्वास्नीमान्छेले पुलुक्क हेरी, र बिस्तारै भनी-

तपाईंले किन कफी माग्नुभयो ? के पेयवस्तु सेवन गर्न डाक्टरले तपाईंलाई पनि निषेध गरेको छ ?
“ज्यू!”
“…”
“…”
“अघि तपाईंलाई स्वास्थ्य-निरीक्षण-गृहमा देखेको थिएँ, हो ?”
“हो।”
“तपाईं पनि ती अभागी १२०० मा हो !”

यस एक प्रश्नमा हाइड्रोजन बमको विस्फोट थियो – जसका अदृश्य तरङ्गमा आश्चर्य, आत्मीयता र सहानुभव लहरिंदै मुटुमा ठक्कर खाइरहे । मायाको आँखामा एउटा भीषण ज्योति चम्कियो, र उसको मौनले उसको प्रश्नकर्तालाई प्रश्नको उत्तर स्वत: प्रसारित गरिदिए ।
“तिम्रो नम्बर ?”
“६५३, मार्च १७, २०५० । तिम्रो ?”
“३४२, फरवरी २८, २०५० । म तिमीभन्दा जेठी रहिछु । तिम्रो दिदी !”
“दिदी !”

यो वाक्य अनायास मायाको मुखबाट फुस्क्यो – यसमा प्रश्न, प्रेम र खुशी मुछिएका थिए । कफीको सर्को लिंदै मायाले सोधी –
“उसो भए तपाईं अपरेशनपछिको भ्रमण-बिदामा, हो ?”
“अँ, तर मैले यस शहरलाई छाडेर अन्त जान मन पराइनँ !”
“तिम्रो अपरेशन बाँकी नै छ होला ?”
मायाको अनुहारमा एउटा वेदना झल्क्यो ।
“तिमीले पूर्ण नारीजीवनको सदुपयोग त गर्‍यो ?”
प्रश्नको निर्भीकतामा माया झस्की । दिदीले कुरा पन्छाएर भनी –
“मलाई एलिजा भन्दछन् । तिमीलाई फुर्सद भए, हामी पार्कमा घुमौं न !”

दुबै बाहिर निस्के । एउटा बेन्चमा बसेर एलिजाले भनी –
“एक महिनाअगाडिसम्म यो पार्कमा बसेर यो चन्द्रमा र ताराहरुलाई हेर्दा मेरो मनमा कता-कता एउटा मीठो काउकुती लाग्दथ्यो । शायद तिमीलाई आजकाल भएजस्तो – हुन्छ ?” र एलिजाले मायाको हात समातेर बिस्तारै थिचिदिई ।

एलिजाले उसलाई बताई कि कसरी उसले एउटा पूर्ण पुरुषको खोजी गरेकी थिई । कि कसरी उसको खोज असफल भएको थियो र कसरी उसले मनमनै यो समाज, यसको बन्धन, पराधीनता र नियन्त्रणलाई अन्त:करणदेखि सरापेकी थिई । उसले भनी कि प्रत्येक दिवसको असफल खोजपछि ऊ रातमा ईश्वरको पुकारा गर्थी र भन्थी कि उसलाई अर्को जुनीमा यस्तो देशमा जन्म दिए जहाँ स्त्री स्त्री र पुरुष पुरुष बनेको होस् ।

उसले सोधी कि माया कहाँ काम गर्छे । अनि भनि कि ऊ त शान्तिविभागको सङ्ग्रहालयमा व्यतीतकका घटनाके सङ्ग्रह गर्ने काम गर्छे । उसले बताई कि कसरी पुस्तकालयमा उसले उन्नाइसौं र बीसौं शताब्दीका पुस्तकहरु पाएकी र पढेकी छ त्यस बखतका नारी पुरुषको पर्दा गर्थे र विवाह गरी घरजम गर्थे । उसले भनी कि पर्दा, विवाह र घर शब्दका अर्थ बुझ्न उसलाई कति मेहनत गर्नुपरेको थियो । ती तीनवटै शब्दका अर्थ पनि उसले मायालाई बताई। उसले भनी कि त्यस बखत पुरुषको जिम्मा आर्थिक बोझ र स्त्रीको जिम्मा गृहस्थी थियो ।
“थाहा छ माया, तिमीलाई कि तिनताक स्त्रीले पेटमा बच्चा हुर्काउँथे र आफ्नै घरमा जन्माउँथे।”
मायालाई उसको अगाडि कसैले स्वर्गको कुनै देवदेवीको जीवनचर्या वर्णन गरेजस्तो लाग्यो ।

एलिजाले भनी – “सबभन्दा आश्चर्य त माया, मलाई यो लाग्यो कि त्यस बखतका नारी सहवासको निमित्त पुरुषबाट पारिश्रमिक पाउँथे । यस्तो कुनै व्यभिचारकेन्द्र हुन्थ्यो जहाँ…”

माया एउटा यस्तो स्वप्निल देशमा पुगेकी थिई जहाँ कसैलाई आफ्नो गर्भाशयको अपरेशन गराउन सात दिनपछि अस्पताल जानु पर्दैनथ्यो – जहाँ नारी पुरुषको स्त्री, सहगामिनी, स्वच्छन्द थिई । उनका कानमा एलिजाका अगाडिका वर्णन परेनन् ।

एलिजा भन्दै थिई – “आफ्नै शरीरको अङ्ग काँचको भाँडामा जिउँदो चलमलाइरहेको देख्दा मलाई कस्तो-कस्तो अनुभव भयो। अब एक महिनाभर त मेरो प्रथम पुत्र पनि हुन्छ – यस्तो पुत्र जसको प्रसवमा आमालाई कुनै वेदना, व्यथा हुनेछैन र साथै कुनै प्रेम पनि । यस्तो पुत्र जसकी आमालाई आफ्नू पुत्रको पिताको ज्ञान नै हुनेछैन । मैले… माया, तिमी पनि मजस्तै…”

ooo

झण्डै तीन महिनापछि मायाको अनुरोधपत्रमा निकासा लाग्यो कि ऊ टाढाबाट आफ्नो गर्भाशयबाट विकसित भएको तथाकथित बच्चा हेर्न सक्छे । उसको बच्चाको नम्बर थियो ११४७८ जुन २०, २०७० ।

शिशुशालाको लामो बरन्डामा १४ बजेतिर ऊ जाँदै थिई, उसका साथमा एउटा डाक्टर थियो जसले उसलाई बच्चा चिह्नाउनेछ ।
“यता, श्री माया, पहिले तपाईंलाई शुद्ध पारौं! हामी स्वयं शुद्ध नभई बच्चाहरूको छेउमा पर्दैनौ ।”

मायालाई एउटा ठूलो बत्तीको मुनि उभ्याएर डाक्टरले स्वीच थिचे । त्यसबाट एउटा नौलो प्रकाश मायाको सर्वाङ्गमा पर्‍यो । डाक्टरले मायालाई एउटा सेतो एप्रोन लाउन दिए, भने – “हामी चाहँदैनौं बच्चाले झुक्केर पनि सधैं देख्‍ने नर्सभन्दा भिन्न आकृतिको नयाँ मानिस देखेको सम्झिरहोस् ।”
बच्चामा कुनै पनि मौलिकता मायालाई लागेन । उसलाई अनुभव भयो ऊ सधैंजस्तो डकुमेन्टरीमा देखाउने प्रसूतिगृहमा कुनै बच्चा हेरिरहिछ । उस्तै मोटो छ, उस्तै रूप । Ommentry को पङ्क्ति उसका मनमा सुरुसुर दोहोरिए- ‘तपाईलाई विकसित गर्न ग्लैक्सोको ठूलो योग छ ।’

उसले अनायस सोधी – “यसको कागज एक फेर हेर्न सक्छु डाक्टर ?”

“किन नसक्नु, आउनुस् ।”

मायाले पढी –

१ जन्म – जून २०, २०००: १८ बजेर ४७ मिनेट ३३ सेकेन्ड
२ स्थल – सरकारी प्रसूतिगृह सं ९७
३ नं – ११४७८
४ गर्भाशय नं – ६५३
५ शुक्र नं ८२७
६ नाम – स्पाइक
७ जीवन-कार्यको रूपरेखा –
(क) इन्जिनियर – सूर्य ताप-विद्युत-सङ्ग्रहकर्ता
(ख) क्षेत्र नं १० – सेक्सन ५५३
(ग) नं ९७८६ जून २०, २०१० को सट्टा काम गर्ने
(घ) मिति – जून २०, २०९०
(ङ) विश्राम मिति – जून २०, २१३०।

माया जान्दथी कि यस विश्रामको अर्थ के हो ? ऊ जनसङ्ख्या नियन्त्रणविभागमा काम गर्थी नि !
“धन्यवाद डाक्टर !”

माया बाहिर आई, उसलाई त्यस बखत आफू, आफ्नो समाज, समाजको इतिहास र आफूले देखेसम्मको इतिहासको भविष्य ‍- सबउपर एउटा बुझिनसक्ने गरी घीन लागिरहेथ्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 19 चैत्र, 2072

लेखकका अन्य रचनाहरु