‘सरोज’को समीक्षा सौरभ

- डा. भीम खतिवडा

विषय सन्दर्भ
हामी प्रविधि र परम्परा दुबैबाट प्रभावित बनेका छौं । खास गरी अहिलेको गधेपच्चिसीबाट अद्र्धशतकहुँदै बढेको पुस्ताको सन्दर्भमा यो सही । प्रविधि सूचनाका ढाडमा चढेर प्रचार रुचाउँछ भने परम्परा आफ्नै ढाड कुप्री पारेर काम गर्छ, कसैले उसको चर्चोनिन्दो गरोस् कि नगरोस् । हो, हामी दुबैखाले बाटोको चोकमा उभिएका छौं । यत्ति भने सत्य हो कि हामी तिलचामलेहरू पुराना अनुहारमा प्रेरणा र अनुभव अवश्य देख्छौं र हाम्रो छाती तिनका सम्मान। आदरमा आफ्नो स्वाभिमान मुस्कुराएको अनुभव गर्छौं । अबको पुस्ता निक्कै हतारमा छ । प्रविधिले तिनलाई घोडा बनाएको छ । अलमल र आराम काँचे दुनियाँमै छ तिनको — बा–आमा त ह्या....झ्याउ ।
हो, यही प्रेरणाको सन्दर्भ उठाउन खोज्दैछु म आज । मेरा मित्र देवीचरण भण्डारी ‘सरोज’ले आफ्नो सृजनशील व्यक्तित्वको नवीनतम अवतार उभ्याएर अग्रजहरूबाट प्राप्त स्नेह, सद्भाव र प्रेरणालाई कलमी ऊर्जा बनाउँदै आफूलाई पृथक् प्रवृत्तिका समीक्षकको रूपमा चिनाएका छन् प्रस्तुत कृतिमार्फत् ।
समालोचना गाइड होइन, प्राज्ञिक बहस र बुद्धिविनोद पनि होइन । सहर बजारमा हल्ला चलेजस्तो विश्वविद्यालयका प्राध्यापकहरूको कक्षासम्भाषणको डायरी–टिपोट त यो होइन नै । यस्तै प्रशंसै प्रशंसाको धरहरा अथवा तर्जना र गर्हणाको सहारा मात्रै पनि होइन यो विधा । अलि अलि टीका लागेको पनि छ अतिवादिता दोषको, तर थाकेका र भागेका छैनन् द्रष्टाहरू यस कर्मबाट । यथार्थ विवेक पस्कने, गुणदोषको तटस्थ समीक्षा गर्ने र विधागत सैद्धान्तिक परीक्षण गर्नेतर्फ सामाजिक युगजीवनको माथिको स्रष्टादृष्ट सारलाई कृतिका आधारमा प्रस्तुत आफ्नो दृष्टिकोण र सकारात्मक आलोचना नै कुशल समीक्षकको अभीष्ट हो, यही उसको धर्म हो ।
हामी आफू नबग्न र सुरक्षित हुन किनारा नै रोज्दछौं । मूलप्रवाहमा किन हेलिनु बित्थंै भनेर । सजृनामा स्रष्टाको अभीष्ट खोज्नु र आफ्नू दृष्टि–विवेकले उक्त सृजाकर्मको विश्लेषण गर्नु सरल कार्य होइन । तटस्थ दृष्टिकोण भन्नु एउटा आदर्श बचाइ मात्र हुन पुग्छ । विधागत विधान, वस्तु र कथ्य समीक्षाका मूल आधार हुन । यीसँगै चरित्र, भाषाशैली, परिवेश तथा समयबोध आदि थुप्रै आधारहरु विधापथबाटै उभिने गर्दछन् । आजको साहित्य कवितामा फुटकर–लघुआयाम हुँदै खण्डकाव्य र महाकाव्यसम्म मात्र हैन गजल, गीत, हाइकु, ताङ्का, रुवाइ, केस्रा आदि दसगाउँ पुगेको छ । त्यस्तै आख्यानका उपन्यास र कथा तथा गद्यबद्धविधानिबद्ध समालोचनासँगै अभिनय नाट्यविधाजस्ता थुप्रै सृजनाका बान्कीहरुलाई समालोचनात्मक दृष्टिले अवलोकन गर्नु भनेको तत्तद् विधाको सैद्धान्तिक सम्बोध र निर्दिष्ट आधारहरुमाथि हस्तक्षेपकारी विवेक व्यक्तित्वको आसाधारण संयोजन अपरिहार्य हुन्छ । यसो भनेर समालोचनालाई दुरूह सगरमाथा बनाउन खोजिएको हैन, बरु श्रमसाध्य विधाको रूपमा स्पष्ट पार्नसम्म खोजिएको हो ।
हो, यही श्रमसाध्य विधामा मित्र सरोजले भने सहज विचरण गरेका पाएँ मैले । प्रस्तुत कृति सरोजको विवेक व्यक्तित्वको सौरभ छर्न सफल देखिन्छ । सन्दर्भ प्रशंसाको मात्र हैन, कर्मको मूल्याङ्कनको बन्नुपर्छ । यस उपक्रममा त्रिमुनिसंख्याका अर्थात् एक्काईसवटा मझौला आयतनका समीक्षात्मक प्रबन्धहरुमाथि एकझमट दगुरौं ।

विवेच्य वस्तु
यो कृति स्वयं सृजनाहरुमाथिको समीक्षक सरोजको दृष्टिकोण हो । यसमा एक्काईस प्रबन्ध–पाठहरु छन् । प्रत्येक प्रबन्ध सरल र संक्षिप्त आयामका छन् । नेपाली साहित्यका स्थापित लोकप्रिय स्रष्टाहरुलाई नवयुगका सर्जक । पाठकहरु समक्ष ल्याउनुको प्रयोजन नै तिनका सृजनाको मूल्यवत्ता समकालीन समयसापेक्षताको सन्दर्भ र प्रेरणाको सम्प्रेषण नै हो भन्ने मेरो बुझाइ छ । लोकप्रिय स्रष्टा मोदनाथ प्रश्रित जीवनवादी आस्थाका प्रेरक कलमी महारथी हुन् । उनका रचनाहरूले नेपाली समाजमा जागरणको शङ्खघोष गरेकै हो । समयचेतना । युगबोधका पर्याय प्रश्रितलाई मात्र हैन सर्जक– चिन्तक आनन्ददेव भट्टलाई पनि महत्वका साथ यहाँ सन्दर्भ बनाइएको छ । सरोजको विवेकी कलम हाम्रो समाजका विशिष्ट स्रष्टाहरुमाथि सहजताका साथ कुदेको छ दृष्टिकोणसहित ।
जनकवि गोकुल जोशीका युगबोधक जनगीतहरुको स्मरण तथा नारीजागरणकी नमुना स्रष्टा कविता पौडेलको औपन्यासिक व्यक्तित्वको परिचर्चा निकै प्रेरक पाठहरु हुन् । पूर्वका मोतीराम मात्र हैन कि आधुनिक मोतीराम भनेर हामीले सगर्व लिने नाम अर्थात् समग्र नवसर्जकहरुका प्रेरक गुरु चूडामणि रेग्मीको ‘आँखा र मनका पाइलाहरु’ लाई समीक्षापथको पहिलो पाइलो बनाएर सरोजले एक आदर्श व्यक्तित्व र प्रेरणादायी गुरुप्रति कर्मजन्य सम्मानभाव व्यक्त गरेका छन् ।
यस विवेकयात्रामा सरोजको दृष्टि–सौरभ छरिएका कविता, कथा, उपन्यास, निबब्ध, खण्डकाव्य, महाकाव्य तथा जीवन दर्शनसम्बद्ध विविध विधाहरुको चयन र स्रष्टागत संक्षिप्त चिनारीसहित प्रवृत्ति, वस्तु, चरित्र, भाषाशैली कथ्य तथा सन्देश जस्ता कुराहरुको प्रकाशले सरल र सहज ढंगबाट पनि कृतिसमीक्षा सम्भव छ भन्ने प्रमाणित गरेको छ ।
हो, यहाँ व्यापक विमर्श र पाण्डित्ययुक्त विस्तीर्णता अवश्य छैन । समयबद्ध प्रकाशनमा परेका हुनाले यी प्रायःः प्रकाशित समीक्षालेख नै हुन् । समीक्षक देवीचरणले आजको लोकप्रिय अटो–काव्यिक स्वरूप मुक्तकदेखि महाकाव्यसम्म तथा झन्डाकाव्यदेखि खण्डकाव्यसम्मको प्रतिनिधि समालोचनालाई यहाँ ससम्मान ठाउँ दिएका हुन् ।
०७२ मा प्रकाशित कवि विमल गिरीको ‘स्पन्दनका छालहरु’ मुक्तक सङ्ग्रह तथा यसै साल छापिएको पाँचथरे स्रष्टा झाँक्री खोलेको खण्डकाव्य ‘वामनिर्माता प्रश्रित’ को सरल समीक्षा यी दुवै कृतिका पाठकका लागि परिचयात्मक र प्रेरक पाठ बनेका छन् । यसै गरी स्रष्टाहरु हीरा आकाश, केदार सत्याल, श्यामकृष्ण श्रेष्ठ, मधु पोख्रेल, रोहिणीविलास लुइँटेल र हर्षबहादुर बूढामगरका कविता कृतिहरु तथा काव्यिक व्यक्तित्वको सरल समीक्षा यस सङ्ग्रहका महत्वपूर्ण सामग्री हुन् । मोरङका इरान राइको झन्डा कविताको मूल्याङ्कन तथा महाकवि सोमराज अभयको महाकाव्यकारिताको चर्चा निकै महत्वपूर्ण आलेख बनेका छन् ।
काव्य–कवितामात्र नभएर आख्यान र निबन्धमा पनि सरोजको द्रष्टा व्यक्तित्व प्रभावकारी रूपमा प्रस्तुत भएको देखिन्छ ।
सत्य, सेवा र धर्मका सारथी तथा पठनसंस्कृतिका अभियन्ता स्रष्टा प्रेमप्रकाशको ‘परिचर्चा’ निबन्धकृति तथा कथाकार डमरुबल्भ गड्तौलाको स्रष्टा व्यक्तित्वको मूल्याङ्कन सरल भैकन पनि प्रेरक प्रसंग बनेको छ ।
बाल साहित्यको सर्भेक्षणको पाटोलाई पनि समालोचक देवीचरणले उपेक्षा गरेका छैनन् । कपिल लामिछानेका बालसाहित्यसम्बद्ध ‘मुसाको बस्ती’ र ‘ठूलो मान्छे’ दुबै ससाना उपन्यास भएर पनि प्रभावकारी बालसन्देश दिन सफल कृतिको परिचयात्मक समीक्षा सरोजले गरेका छन् ।
समालोचनाको पनि समालोचना हुन सक्छ— शैली, वस्तु, विवेचनपथ आदि आधारमा । समीक्षक टीका ढुंगेलको ‘समीक्षा कुञ्ज’ कृतिमाथि सरोजले गरेको टिप्पणीले के स्पष्ट हुन्छ भने समालोचना मन परेकालाई चुना लाउने, मन नपरेकालाई पखाल्ने, निराधार चर्चाको जुलुस निकालेर लेखक–पाठकलाई उराल्ने वा सोत्तर पार्ने विधा हैन, बरु यो सकारात्मक दृष्टिपथ हो । सरोजको यो परीक्षण सफल भएको छ समीक्षाको सन्दर्भमा ।
अवशिष्ट कुरा
समालोचक देवीचरण भण्डारी ‘सरोज’ नकारात्मक धारणा राख्दैनन् । उनी आशावादी– जीवनवादी सर्जक हुन् । ‘एउटा असल सन्तान जन्माउनु पर्छ’ भन्दै ०६१ देखि कविता–कृतिका साथ सृजनयात्राको औपचारिक थालनी गेका सरोजले एक दशकभित्र ‘सानो भाइ’ ‘सानी बैनी’ हुँदै आफूलाई प्रगतिवादी कर्मवादी स्रष्टाको रूपमा स्वर र शब्दार्थको समवेत सारथीको बनाएर लोकप्रिय भइसकेका छन् नेपाली साहित्यमा । यो उनको नवावतार हो कृतिगत रूपमा, यद्यपि उनको समीक्षक व्यक्तित्व निकै प्रौढ भइसकेको छ प्रकाशनका दृष्टिले ।
प्रस्तुत समीक्षा कृतिको समग्रतालाई आधार बनाएर हेर्दा व्यक्तित्व र कृतित्व, कृतिगत सौन्दर्यदृष्टि, प्रेरणा–प्रभाव तथा स्रष्टा–मूल्याङ्कनजस्ता चारप्रवृत्तिका आलेखहरु यहाँ सङ्ग्रृहीत छन् । पूवोक्त दृष्टि–विवेकको सम्प्रेषणका लागि समीक्षक सरोजले केही मापदण्ड वा आधारहरुको स्वमानक तयार गरेको स्पष्ट हुन्छ । कलमी जेष्ठता, शब्दसामथ्र्य चेष्टा तथा समाजसापेक्ष विवेक उनका कृति छनोटका आधार बनेका देखिन्छन् । यसै गरी समकालीन परिवेश–प्रभावयुक्त कृति तथा कृतिकारको छनौटसँगै सरोज स्थापित र नवोदिन दुवैखाले स्रष्टाप्रति सम्मान र प्रेरणाको सन्दृष्टि राख्छन् । मूलतः सृजनाको मेरुदण्ड सिद्धान्त र लोकजीवन हो भने त्यसको प्राण चाहिँ आन्तरिक कलाचेतयुक्त कथ्य हो भन्ने सरोजको विवेकब्रह्मको निष्कर्ष देखिन्छ । यसका लागि उनले स्रष्टा आनन्ददेव भट्टका समाजबोधसम्बद्ध चिन्तनमूलक कृतिहरुको महत्वका साथ समीक्षा गरेको छन् । चिन्तक भट्ट र प्रश्रितका व्यक्तित्व–कृतित्वको आलोकमा उनी हामीलाई भिन्नभिन्न प्रवन्धहरुका माध्यमबाट उज्यालोतर्फको बाटो देखाइरहन्छन् ।

अन्त्यमा,
यसरी प्रस्तुत समीक्षा कृतिमा समीक्षक देवीचरणको विविध विधागत विचरण स्पष्ट हुन्छ । गभीर विवेचनात्मक शैली यी प्रबन्धहमरुको रोजाइ हुँदै होइन । समाजसापेक्ष विवेक उनको अभीष्ट हो । सकारात्मक सोचाइ र उस्तै दृष्टिकोणले कृतिहरुको सामाजिक सन्दर्भ पनि उपयोगी र प्रेरक बनेर आएको छ । शिष्ट सम्प्रेषण र विशिष्ट अन्वेषण सरोजको विशेषता बनेको छ । उनले पहिलो समीक्षा कृतिबाट नै समदृष्टि समीक्षा परम्पराको आधार शिविर बनाएका छन् । नेपाली साहित्यमा गाली र ताली निरपेक्ष सकारात्मक चिन्तनयुक्त समालोचना पद्दतिको परम्परा प्रारम्भ गरेर समीक्षक सरोजले थालनीमै शिखरतिरको सङ्केत दिएका छन् । म मित्र सरोजको समीक्षा–सौरभले नेपाली साहित्यमा सकारात्मक उर्जा थप्ने कुरामा विश्वस्त हुँदै सृजनशील यात्राको निरन्तरता र सफलताको कामना गर्दछ ।
धरान

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 18 चैत्र, 2072

लेखकका अन्य रचनाहरु