पुस्तक लेखन, मिडिया र प्रकाशन

- विनयकुमार शर्मा नेपाल

पुस्तक लेखन वृत्ति हो वा कर्म ? जीवन हो वा धर्म ? मनोरञ्जन हो वा लहड ? यो कुरोमा अन्य अनेकौँ प्रश्न खडा हुन सक्छ । जसरी प्रश्न उब्जन्छ त्यसरी नै उत्तर पनि प्रत्येक तप्का र व्यक्तिबाट भिन्न भिन्न आउन सक्छ । साहित्य लेखनको अभिप्राय प्रत्यक्ष अप्रत्यक्ष जे र जसो भए पनि– सन्देशका लागि, विचारका लागि, उपदेशका लागि, मनोरञ्जनका लागि, लहडका लागि, चर्चाको लागि–जेका लागि भए पनि साहित्यको जुनसुकै
रचना वा ग्रन्थले जबसम्म मान्छेका मन र मस्तिष्क थरथराउने, झनझनाउने र पगाल्ने गराउँदैन त्यस्तो रचना वा ग्रन्थ लामो कालसम्म जीवित रहन सक्तैन । युग बोध र युग सन्देश नभएका रचना लामो समयसम्म समय अन्तरालमा जन्मेका पाठकको मनभित्र जम्न सक्तैन र पाठकको मनमा जम्न नसकेका रचना वा ग्रन्थको आयु के र कति हुन्छ ? ठम्याउन गाह्रै हुन्छ । चाहे त्यो नाटक होस्, चाहे निबन्ध होस्, चाहे कविता होस्, चाहे कथा–उपन्यास वा वृत्तान्त ।
मान्छेका मनले अनेक सोचको उत्पादन गर्छ, सोचलाई दिमागले चलखेल गरेर–जालझेल गरेर–चिन्तन र मन्थन गरेर खुराफात गर्छ । यसरी दिमागबाट निस्केको रचनाले मनलाई छुन, तरङ्गित बनाउन सक्तैन । मनलाई तरङ्गित पार्न, प्रभाव पार्न मनबाटै निष्कलङ्क–स्वस्फुर्त निस्कनु पर्छ–मान्छेका विचारहरु, कल्पनाहरु र यथार्थहरु । देवकोटा स्वयंले पनि मनबाट निस्केको रचना दिमागबाट निस्केको रचनाभन्दा कयौँ गुना उत्तम र कालजयी हुने कुराको सङ्केत नगरेका होइनन् । त फेरि किन खुरापातमा लाग्छन्–लेखक, मिडिया र प्रकाशन गृहहरु ?
कुनै काल थियो मिडिया साहित्यबाट चल्थ्यो, मिडियामा साहित्य छाउँथ्यो । कालान्तरले आज साहित्यमा मिडिया छाएको छ, मिडिया मात्र होइन, व्यापारी र नेतागिरी डुबेको छ । साहित्य नेता वा सञ्चारका लागि स्रोत हुन्थे तर आज ठीक उल्टो साहित्यको लागि नेता र सञ्चार स्रोत बन्न पुगेको छ । यो परिवर्तन निश्चय नै भाषा, संस्कृति, साहित्य र देशको लागि राम्रो कुरो होइन । न त यो नेता, व्यापारी वा मिडियाको लागि उन्नतिको
कुरो हो । यो त मात्र हिजोको पकेटमार आज डकैत भएजस्तो प्रगति हो । जसरी रामचन्द्र सधैँ धनी रहन सक्तैन, त्यसै गरी भोलिका पाठक–उसका जीवनीका पाठक सधैँ रहन सक्तैनन् । जसरी कृष्णहरिका कलाले सबैलाई सधैँ रन्थनाउन सक्तैन, ठीक त्यसै गरी कालअन्तरले कालअन्तरमा जन्मेका मान्छे उसका जीवनीका पाठक हुन सक्तैनन् । के यतिमै सीमित हुनुपर्ने आजको साहित्य लेखनको नियति हो ? वा मात्र गालीको लागि तुक न ताइँसँग अर्काको चियो बसेर, खेदो खनेर चर्चा बटुल्ने आजको साहित्य लेखकको नियति हो ? वा आपूm केही लछार्न नसक्ने अर्काले गरिखाएको देखी नसहने कृति आलोचनाभन्दा व्यक्ति आलोचनामा डुब्नुलाई प्रगति ठान्ने लेखकहरुको बिगबिगी बढ्नु नै नियति हो आजको साहित्य क्षेत्रको ?
देश आक्रान्त छ, सबैतिरबाट आक्रान्त र कमजोर भएको बेलामा भाषामाथि विद्वान् भनाउँदाहरुले विदेशी प्रलोभनको आडमा थप अन्यौल सिर्जना गरिदिएका छन् । विदेशीले पनि सबैतिरबाट आक्रान्त पारेर आफ्नो दुनो सोझ्याउने कल्पना साकार पार्ने पहलकदमी गरेको छ । विश्व इतिहास साक्षी छ जुनसुकै कालखण्डमा भाषा होस् वा राजनीति, राष्ट्र होस् वा मानवीय जीवनशैली त्यो बनाउने र भत्काउने काम विद्वान्बाटै भएका हुन् । मनमा प्रेमको पूmल फुलेकाहरुबाट निर्माण हुन्छ भने पूmल फुलाउने र हुर्काउने आँट नभएका विद्वान् भनी टोपल्ने अविद्वान्हरुबाट भत्काउने कार्य हुन्छ । यो बाँदर मति केही मान्छेको स्वाभाविक प्रक्रिया हुँदा पनि जितको इतिहास त हमेशा निर्माण गर्नेकै लेखिएको हो, भलै रामको नामसँग रावणको नाम प्राचीनकालदेखि नै जोडिएको होस् । आजकल बनाउनेको भन्दा भत्काउनेको सङ्ख्या दिन दुई गुना रात चार गुनाले बढ्ने प्रक्रियाको थालनी भएदेखि राष्ट्रमा चारैतिर, सबै क्षेत्रमा अन्यौल नै मात्र सिर्जना भएका छन् । यस्तो अन्यौल कालखण्डमा पुस्तक लेखन, मिडिया र प्रकाशनसमेत त्यसैमा डुब्दै जानु निसन्देह देशको भाषा, साहित्य, संस्कृति आदि आदि सबै क्षेत्र निर्बल, प्रचारमुखी र सतही बन्दै गएको प्रमाण हो ।
पुस्तक लेखन अत्युत्तम आनन्दको लागि होस् वा जानकारीमूलक शिक्षाको लागि होस्, एक अर्थमा वृत्ति नै हो तर त्यो वृत्तिमा दिमागको अर्थात् मिडियाको चलखेलले वास्तविक–सच्चा लेखक पछाडि पर्नु र सतही लेखकहरु जसमा मिडिया, व्यापारी, कलाकार आदिहरु पर्दछन् । तिनले मिडिया वा अर्को क्षेत्रबाट कमाएको धन र नामको प्रयोगले–नाम, धन र मिडियालाई प्रयोग गरेर चर्चा बटुलिरहेछन् । कोही खेताला लगाएर साहित्यमा रवाफ देखाउन प्रयासरत छन् भने कोही नवीन लेखकहरुलाई पैसाले किनेर साहित्यमा इज्जत पाउने प्रयास गर्दै छन् । कतै कोही नाम चलेका क्षमतावान् लेखक पनि पैसा सामु निरीह बनेर बिकाउ बनेका छन्, तर इतिहास साक्षी छ, युगौँ युगदेखि नाम र धनको भरमा लेखक बनी टोपलेकाहरुले सच्चा लेखकहरुलाई माथ दिन सकेनन् र अब पनि सक्ने छैनन् । सच्चा लेखक जो वास्तवमै भद्र, शालीन, कर्मप्रति इमानदार र स्वमुखी छन्, आँधी आओस् वा तुफान, पहाड झरोस् वा आकाश–मुस्कुराइरहेछन्–मौन ।
मिडिया–स्वभावतः सञ्चार वा पत्रपत्रिका वा तिनमा आबद्ध लेखक अपवाद छाडेर समसामयिक हुन्छन् । जुन सतही वा जानकारीमूलक सीमित समयका विचार राख्ने कार्य गर्दछन् । जसलाई रत्तीभर पनि पुरानो होस् वा नयाँ युगबोधको महङ्खव रहेको देखिन्न । जो आज, अहिले र तत्कालको जानकारीको रसमा डुब्दछ । यस्तो मिडियाम्यान र फ्यानहरु मिडिया सञ्जालको प्रयोग, दुरूप्रयोग र सदुपयोग गर्दै कसैको साहित्यलाई काखमा र कसैको साहित्यलाई पाखामा राख्दै, कोही मिडिया सम्बधित भएकै कारणले अति प्रयोग गर्दै साहित्यलाई आक्रान्त पारिरहेको यस कालखण्डलाई देशको प्रसिद्ध, ख्यातिप्राप्त लेखक साहित्यकार खुदैले निकालेका पत्रपत्रिकामा समेत आफ्नो रचना नछापेर अरुको रचना छाप्ने व्यक्तित्वहरुको भावना र कालखण्डसँग कसरी तुलना गर्नु र खै ?
प्रकाशन–स्वभावतः प्रकाशक हो । वास्तविक दर्शन, इतिहास, साहित्य आदिका धनीहरुको विचार–आलोकको प्रकाशक हुनुपर्ने हो नकि धनको । प्रकाशक स्वभावतः राष्ट्रका मानवीय भावनाको, विचारको, दर्शनको, शैलीको प्रकाशक हुनुपर्ने हो न कि अनेक नौटङ्की तिकडम मच्चाएर अलेखकलाई लेखक बनाउने खेतीमा डुबेको । प्रकाशकको धर्म–कर्म मात्र प्रकाश पार्ने हो भने पनि केको ? कसको ? किन ? भन्ने अनेक प्रश्नको उत्तर तिनले खोज्नुपर्ने हुन्छ । प्रकाशक संस्था होस् वा व्यक्ति ऊ स्वभावतः व्यावसायिक मात्र हो भने पनि उसको धर्म सही कुरो र सच्चा लेखकलाई प्रकाश पार्ने हो कि ? धन र नामको भरमा लेखक बनी टोपलेकालाई ? कुलेखक वा अलेखकको आफ्नो एक सुका खर्च नगरी धन हुनेको धन र नाम हुनेको नामलाई नगदको रुपमा प्रयोग गर्न र तिनलाई साहित्य क्षेत्रमा अमर भइन्छ भनेर उक्साउने–पट्ट्याउने–तिनलाई दलदलमा भास्ने कसरी प्रकाशक ? न खेताला सधैँ एउटै हुन्छ न उस्तै सबै । मैदानमा बसेर सबैका सामु लेख्न परे के, कस्तो र कसरी लेख्दा हुन् ती लेखक भनाउँदाहरु ? एक दशक पनि नबित्दै तिनका रचना पप गीतजस्तै हराए भने कसले आश्चर्य ठान्ने ? लेखक, प्रकाशक र मिडिया तिनै व्यावसायिक हुँदाहुँदै पनि तिनको देशप्रति कुनै नैतिक दायित्व हुन्छ कि हुँदैन ? तिनले सच्चा कर्म गर्नुपर्छ कि पर्दैन ?
के सत्ययुगमा मनु र शुक्राचार्य मात्र लेखक थिए त ? वा त्रेतामा वाल्मीकि र वशिष्ठ मात्रै ? द्वापरदेखि लगभग पाँच हजार वर्षको पूर्वीय साहित्यको इतिहासमा हातैमा गन्न सकिने पाँच छ दर्जन मात्र संस्कृत साहित्यका स्रष्टा थिए त ? आज किन हामी यति स्रष्टाकै कृति र जानकारीमा मात्र सीमित छौँ ? बाँकी किन जीवित रहेनन् ? तिनका कृति नाम कहाँ लोप भए ? के एकैपल्ट परिष्कृत भाषा, शैली विचार लिएर फुत्त आकाशबाट झरेका हुन् त शुक्राचार्य वा वाल्मीकि ? कुरो निकै सोचनीय छ । यसो भन्दैमा कोही वा कुनै व्यक्तिले आफ्नो भाव, सोच, विचार, कल्पना, अनुभवलाई निकाल्नुहुन्न वा पाइँदैन भन्ने हुँदै होइन । म त भन्छु सृष्टिका प्रत्येक मान्छेले आफ्नो भाव, सोच, विचार, अनुभव र जीवन दर्शन निकाल्नै पर्छ तर त्यो देखाउनाको लागि नहोस्, लेख्नको लागि मात्र नलेखियोस्, दबाब वा कुण्ठाले नआओस्, नाम वा धनको लागि मात्र नहोस्, अक्षरब्रह्मको खेतीमा खेतालाको प्रयोग नहोस् । भलै त्यो अशुद्ध होस् तर होस् मनको झङ्कार झनझनाउने । भलै त्यो परिपक्व नहोस् तर होस् स्वच्छ निर्मल हिमाली नदीसरि । भलै त्यसमा गोडमेल, मलजाल नपुगोस् तर होस् शुद्ध, शालीन र सत्य ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 18 चैत्र, 2072

लेखकका अन्य रचनाहरु