अथक साहित्यिक यात्री चूडामणि रेग्मी

- कमल गुरागाईं

टेलिफोनमा रिङ आयो झस्कनुपर्ने, कमलज्यू म “पागल” बोलेको ! सुन्दा मात्र पनि दिक्क लाग्ने यो अल्छे लेखकलाई । सारै लामो समय भयो सुनसरीबाट उपेन्द्र ‘पागल’ र कृष्ण अधिकारीज्यू आएर “तपाईंले साहित्यकार चूडामणि रेग्मीज्यूका बारेमा लेख दिनुप¥यो” भनेको । लेख्दैछु, लेखिसक्न लागें, साफी गर्दैछु, केही दिन पर्खनुहोस्, तपाईंहरुले दुःख पाउनुपर्दैन आदि भन्दै ढाँट्तै गरेका, तर म अल्छे हुँ अल्छे, महाअल्छे । त्यसैले मैले आफूमा निहित आलस्यलाई त्याग्न कसैको न कसैको प्रेरणा लिनै पर्ने भो । स्मरण भयो म सानो छँदा आमा–वा समय–समयमा हामीले काम गर्न अल्छी गर्दा भन्ने गर्नुहुन्थ्यो –
हे आलस्य तँ कप्टी झट्ट पर जा, लौ निस्कि जा मुन्टि जा
ट्याक्कै टिक्न म दिन्न यो शरिरमा जो काट्नु काटिस् मजा ।।
यी हरफ गुरागाईं जगन्नाथका हुन् । आलस्यले मस्त सुताहालाई दिएका झापट हुन् । यी भनाइले आज मलाई पनि झापट दिए । मेरो मनले मलाई प्रेरणा दियो । मेरा शरीरमा गाडिएर बसेको आलस्य हटेको छ, मन–मस्तिष्क चङ्गा भएका छन्, त्यो प्रेरक व्यक्तित्व, अविश्रान्त, अनवरत, अविच्छिन्न भाषा र साहित्यको उत्थानमा लागिरहने, लाग्न उक्साइरहने आदरणीय चूडामणि सरका बारेमा मैले लेख्नै पर्छ, पूर्वका मोतीरामका बारेमा मैल जाँगर चलाउँनै पर्छ र अग्रसर हुनै पर्छ झापाली साहित्यकारका प्रेरक व्यक्तिको व्यक्तित्वलाई अभिनन्दन गर्ने कामका लागि कलम चलाउन ।
मैले चूडामणि रेग्मीसँग २०३८ सालको अन्ततिर प्रथम भेट र चिनाजान गरेको हुँ, नेपाली एम.ए. पूरा गर्न शोध–ग्रन्थ तयार पार्ने सन्दर्भमा । शोध शीर्षक थियो– “ ‘याुगज्ञान’ पत्रिकाको भाषिक र साहित्यिक योगदान” । यो पूरा गर्न मलाई चूडामणि सरको निकटता, सहयोग अपरिहार्य थियो । मेरा मित्र ताराराज पौडेलका साथमा एक दिन एकाबिहानै म त्यो घरमा पुगें जहाँ चूडामणि सरको बास थियो । सर पत्रिकाको प्रुफ हेर्दै हुनुहुन्थ्यो । ताराज्यूले मेरो परिचय गराउँदै हामी आएको उद्देश्य समेत बताउँदा चूडामणि सर निकै उत्साहित भएर पूर्ण सहयोग गर्ने वचन दिनुभयो । साथी ताराराजलाई त चूडामणि सरको आनी वानी सर–सहयोगका वारेमा पूर्ण थाहा थियो र मैले पनि प्रथम भेटमै थाहा पाएँ । मैले भन्नै पर्छ उहाँ प्रेरक हुनुहुन्छ, प्रेरित व्यक्तिले उहाँको त्योग, निःस्वार्थता, लगनशीलता, सहयोगी भावनालाई ग्रहण गर्न सक्यो भने म जस्तै आभारी हुन्छ र भन्न थाल्छ –
हिलैमा भ्यागुतो बस्छ, हिलैमा कमलस्थिति
स्थानले मात्र के गर्नु भिन्नै छ गुणको गति ।।
यही झापा हो, यहाँ अञ्चलाधीश लामा बस्थ्यो – अन्याय–अत्याचारको राज चलाएर । यहीं पत्रकार चूडामणिज्यू वस्नुहुन्यो – त्यही अत्याचारी आततायी लामाको विरुद्धमा कलम चलाएर । कति हण्डर खानुभयो तर विलौना गर्नुभएन, च्यापूमा हात राखेर मुर्झाउनु भएन र आफ्नो यात्रालाई, आफ्नो लक्ष्यलाई अझ दृढताका साथ लिएर अगाडि वढिरहनुभयो – सतिसाल भएर ।
म आफूलाई साहित्यकार, समालोचक भन्न रूचाउन्न तर पाठक चाहिं पक्कै हुँ, तर चूडामणि भन्नुहुन्छ “तपाईंप्रति मेरो पूर्ण भरोसा छ, तपाईं दिगो लेख्नुहुन्छ, लटरपटर तपाईंको लेखनमा हुँदैन ।” म जस्तो अल्छेलाई पनि यस्तै प्रेरणाले बेला–बखत उत्साही बनाउनुहुन्छ र केही कोर्न बाध्य बनाउनुहुन्छ । साधुवाद छ त्यो प्रेरक व्यक्तित्व चूडामणि रेग्मीलाई !
मलाई अलि नरमाइलो लाग्छ, चूडामणि सरका यस्ता कुराले “मलाई थिचेको छ सामन्ती संस्कारले, सामन्ती रीतिस्थितिले, मलाई पिरोलेका छ यही सामन्ती ढर्राले । म यो ढर्रा रीतिस्थितिबाट उम्कन चाहन्छु तर परिवारले, नाता–गोताले केले हो केले, म उम्कनै सक्तिनँ । यो संस्कारले म सताइएको छु । यो संस्कारको म दास बनेको छु ।” जब मान्छेलाई चेतना हुन्छ, चाहना ग¥यो भने फुत्कन सक्छ सक्छ । हो, उसलाई रोक्ने, छेक्ने शक्ति संस्कार पहिल्याउन सकेको छैन भने मात्र ऊ चत्रव्यूहमा पर्दछ र उम्कन सक्दैन । कति कठोर अक्करिला परिस्थितिलाई, फलामे किल्ला र बारहरुलाई दृढता पूर्वक किनारा लगाउँदै अविचल अग्रगामी गतिमा लम्केको आफ्नो आस्थाको धरोहर ढल्पलाउँछ भने हामी जस्ता अल्लारेको हविगत के होला ?
मान्छेको मन हो, बेला–बेला बहकिन्छ । सिद्धान्तले, विचारले, पद्धतिले प्रशिक्षित व्यक्ति बहकिँदैन, मठ–मन्दिरमा झुम्मिदैन, न त नदीमा पैसा नै मिल्काउँछ । तर हामी थुप्रै प्रगतिशील, प्रगतिवादी लेखक, समालोचक, पाठक, पथप्रदर्शक छौं । मोटरसाइकलमा यात्रा गर्दछौं । मन्दिर आयो मन्दिरतिर फर्केर हातले हृदय र ललाट स्पर्श गर्दछौं । जडलाई पूmल, भेटी, प्रसाद, जल चढाउँछौं र द्वन्द्वात्मक भौतिकवादको व्याख्या र विश्लेषण गर्दछौं, तर प्रश्न गर्न सकिन्छ तपाईंको साहित्यिक सद्भाव यात्रा किन कहिले धार्मिक स्थल मनकामना हुन्छ कहिले किन माइ नदीको किनारामा अवस्थित धार्मिक तीर्थस्थल कोटीहोममा हुन्छ ? के तपाईंलाई पनि देवकोटाका झैं “आखीर श्रीकृष्ण रहेछ एक, न भक्ति भो ज्ञान नभो विवेक” भन्ने हिन्दू अतिवादले छोड्न सकेन कि क्या हो ?
नेपाली भाषा र साहित्यका प्रायः सबै व्यक्तिहरु चूडामणि रेग्मीलाई सकारात्मक एवम् नकारात्मक दुवै पक्षबाट चिन्ने र चिनाउने गर्दछन् । बत्तीको फेदमा अध्यारो” भने झैं झापाले झापाली साहित्यकारले त्यसमा पनि झापाली प्रगतिशील साहित्यकारहरुले चूडामणि रेग्मीज्यूलाई आदर सम्मान गर्दै अभिनन्दन ग्रन्थ यहींबाट प्रकाशन गर्न लागि पर्नुपर्ने हो र रथयात्राको आयोजना गरी अथक यात्रीलाई घुमाउनु पर्ने हो ।
“चूडामणि रेग्मी स्वार्थी हो, आफ्नो गोजीको पैसा खर्च गरेर यत्रा औधी किताव प्रकाशन कसैले गर्छ ? यो जमानामा को निःस्वार्थी, त्यागी, सन्त महर्षि होला ? नकमिने भए झोला बोकेर हिंड्थ्यो ?” जस्ता अपाच्य शब्द बमन गर्ने धूर्त विद्धान्हरु पनि यो समाजमा कम छैनन् । एक वाक्यमा चूडामणिज्यूलाई कसरी चिनाउनुहुन्छ ? भनी मैले केही सम्मानित व्यक्तित्वहरुसँग कुराकानी गरेको थिएँ । उहाँहरुले यसरी चिनाउने जमर्को गर्नुभयो–
झापाली प्रगतिशील साहित्यकार, नारी स्रष्टा, प्रलेस केन्द्रीय सदस्य भवानी क्षेत्री चूडामणि रेग्मीलाई यसरी चिनाउनुहुन्छ ः “हामी कोपिला थियौं, यसलाई मलजल गरी मौलाउन, फुल्ने, फक्रने र फल्ने प्रेरणास्रोत चूडामणि सर नबनिदिनुभएको भए, म यो हैसियतमा आइपुग्ने थिइन । सरको हौसला र प्रेरणा नै मेरो परिष्कृत लेखन हो, यसैले म परिचित भएँ । अतः उहाँ मेरो साहित्यको श्रद्धेय गुरु हो ।”
विजय खरेल भन्नु हुन्छ ः “चूडामणि सर हाम्रा आदरणीय अग्रज हुनुहुन्छ, रहरै नगर्नेलाई पनि रहर गर्ने बनाउनु, अल्छेलाई जाँगरिलो बनाउनु, भाषामा रहेका त्रुटि, कमि–कमजोरीलाई हटाइदिएर प्रखर लेखक बनाउन प्रेरित गरि रहनुले झापाली लेखकहरुले उहाँलाई बिर्सनु हुँदैन ।”
बज्रठिङ्गा, व्यङ्ग्य पोखरेलको उपनामबाट ‘युगज्ञान’ मा निवन्ध, कथा, कविता रचना गर्ने मधु पोखरेलको भनाइ छ ः “ ‘युगज्ञान’ ले नै मलाई चर्चाको शिखरमा पु¥यायो । युगज्ञान र चूडामणि सर नहुनु भएको भए मेरा मनका भावनाहरु प्रस्फुटित हुन्थे कि हुँदैनथे ? यसैबाट बुझौं उहाँको योगदान साहित्यमा कति रहेछ । अहिलेसम्म पनि उहाँको प्रेरणा यथावत् छ । चूडामणि सर मेरा उत्प्रेरक हुनुहुन्छ ।”
झापा जिल्लामा को त्यस्तो साहित्यकार होला जो चूडामणि सरबाट प्रत्यक्ष–परोक्ष रुपमा प्रकाशित एवम् सम्पादित पत्र–पत्रिकामा नसमेटिएका हुन् । के सिकारु, के स्थापित सबका सब चूडामणि सरका पत्र–पत्रिकामा गुम्सिएका छन् । केहीले निरन्तरता दिए, केही वसाईं सरी अन्यत्र गए, केही अल्छीहरु यदाकदा झुल्कँदै अस्ताउँदै रहे, तर चूडामणि सरले बसाइँ सरेका ठूला–ठूला ठाउँ र क्षेत्रमा पुगेका .................???????? यही जिल्लामा गुजुल्टिएर वसेकालाई पनि घिसार्दै रहनुभयो । दरिलो, सवल, सक्षम र योग्य भएर कलमविजयी बन्न आग्रह गरिरहनुभयो । यसै सन्दर्भमा मेची ब.क्याम्पसका सह–प्राध्यापक होम सुवेदी भन्नुहुन्छ; “कमलमणि दीक्षितको सान्निध्यबाट झापा आउँदा पनि मलाई लेखन क्षेत्रमा सुस्ताउनबाट जोगाउनु भएको छ, अहिलेसम्म पनि मलाई डोहो¥याउनु भएको छ र म डोहारिइ रहेको छु । यस कारण म उहाँको गुण भुल्न चाहन्न ।”
साहित्यभन्दा वाहिरका व्यक्तिहरु क भन्दछन् त ? त्यतापट्टिका चूडामणिज्यूको परिचयभित्रकै मित्रहरुसँग पनि मैले सम्पर्क गरेको थिएँ । मेची ब.क्याम्पसका अर्थशास्त्र विभागका विभागाध्यक्ष सह–प्राध्यापक उमानाथ ओली भन्नुहुन्छ ः “चूडामणि रेग्मी उनको यात्राका अथक यात्री हुन् र सँगै थोरै घमण्डी पनि भन्दछन् । घमण्ड मानवीय गुण हो, यो श्लोक पढी चित्त बुझाउन सकिन्छ ‘गर्छ को लोकमा सोझा ग्रहको पूजनादिक’ ।”
वी.वी.सी.नेपाली सेवाका सम्वाददाता उमाकान्त खनालका आँखामा “आफ्नै पन, आफ्नै ढाँचा र शैलीमा हिंड्ने र अरुहरुलाई पनि आफ्नै गोरेटोमा डो¥याउन खोज्ने व्यक्ति” हुन् चूडामणि रेग्मी ।
समाजका विविध पक्षको गहन अध्ययन र विश्लेषण गर्ने राजनीतिशास्त्र विषयका सह–प्राध्यापक भीम सुब्बा भन्नुहुन्छ ः “सफलता असफलता कुनामा थन्क्याएर अविरल हिंड्ने भगीरथ हुन् साहित्यकार चूडामणि रेग्मी ।”
यसरी नै मैले अन्य धेरै व्यक्तिहरुसँग चूडामणि सरका बारेमा सूक्ष्म रूपबाट बझ्न सम्पर्क गरेको थिएँ । कसैले त्यागी भने, कसैले स्वार्थी, कसैले पथप्रदर्शक, कसैले श्रद्धेय व्यक्तित्व हो, कदर गर्नुपर्छ भन्नेहरुकै मत पहुँचमा रहेको मैले पाएँ ।
विद्यार्थीकाल पार गरेर शिक्षणमा जरा हाल्दैगर्दा श्रीमती, छोराछोरी सबै साथमा लिएर २०२१ साल अश्विन ३ गते झापा जिल्लाको तत्कालीन बलेको बजार भद्रपुरको सङ्गम चोकको शिवदत्त खरदारको डेरा भएको घरको एक कोठामा चूडामणि रेग्मीज्यूको प्रथम बास भएको थियो । यो समय रेग्मी सरको कष्टकर समय थियो । निकै ठूलो वैभव छोडेर झापा आउनुपरेको थियो दुहवीबाट । आफ्नो घर बनेको थिएन, बिरालाले बच्चा सारेको झैं आफ्ना लालाबाला वल्लो टोल र पल्लो टोल सार्दै जीवन गुजारा गर्नुपरेको थियो ।
डेराको बसाइका क्रममा आफूसँग रहेका महत्वपूर्ण कृतिहरु धमिराका कारण समाल्न, समेट्न नसकेका कारण र पानीका कारण नष्ट हुनपुगेको बताउनुहुन्छ उहाँ । भद्रपुरको गोविन्द भवन (एस.एल.शर्माको घरपश्चिम) धुलावारी रोड जगन्नाथ मिलछेउ रामबहादुर सुविदारको घरमा केही वर्ष बास बस्दैै पुनः सङ्गम चोकको मणिकण्ठको घरमा आश्रय लिँदै भानुनगरमा डा.हृषीकेश उपाध्यायको घरमा पनि २÷३ वर्ष डेरा गरी बस्नुभएका रेग्मी सरले आफ्नो घर बन्नु अगाडि भानुनगरमा नै ससुराली घर बनाउँदै ३÷४ वर्ष बिताउनुभयो र २०३६ सालमा चन्द्रगढी लेखनाथ चोकमा निर्मित आफ्नै ‘झर्रो नेपाली घर’ मा प्रवेश गर्नुभयो । यसरी २०२१ सालदेखि ३६ सालसम्म १५ वर्ष जति कठोर कोठे जीवन भोग्नुभएको अवस्थामा पनि भाषा र साहित्यका महर्षिको उपाधि जित्न आफ्नो क्षेत्रमा लागिरहनुभयो ।
विद्यार्थी कालदेखि नै भाषा साहित्यको उत्थानमा लाग्नु भएका चूडामणिज्यूबाट ‘कस्तूरी’ पत्रिकाका ३ अङ्गमध्ये २ अङ्ग २०२४÷२५ सालमा भद्रपुर सङ्कलन भनी प्रकाशन हुँदा सम्पादक मण्डलमा डा.हृषीकेश उपाध्याय, चूडामणि रेग्मी, टेकनाथ चापागाईं र योगेन्द्र शाह देखिनुभएको छ । २०२४ सालमा मेची महाविद्यालयको मुखपत्र ‘धारा’ को सम्पादक मण्डलको प्रमुख भई प्रकाशन गर्नुभयो । यसरी अव्यवस्थित अस्तव्यस्त बसाइका क्रममा पनि साहित्यसेवामा लागि रहनुले उहाँको योगदानीको मूल्याङ्कन गर्न सकिन्छ ।
चूडामणि रेग्मीज्यूलाई पत्रकारको रुपमा स्थापित गर्ने, परिचित गराउने, निर्भीक पत्रकारका रुपमा सतिसाल जस्तै उभ्याउने ‘युगज्ञान’ साप्ताहिक नै हो । यो वि.सं. २०२६ सालमा जन्म्यो र २०४८ सालसम्म चूडामणि रेग्मीका प्रत्यक्ष–अप्रत्क्ष सम्पादन एवम् प्रकाशनमा पाठकसमक्ष समाचार, भाषा–साहित्य, कला, ज्ञान–विज्ञान बोकेर झुण्डिइरह्यो ।
२०३८ सालको असार÷साउन÷भदौदेखि नेपाली साहित्यिक त्रैमासिक ‘जुही’ रेग्मीज्यूकै सक्रियतामा प्रकाशन हुन थाल्यो । आजसम्म पनि बेरोकटोक प्रकाशन भइरहेको छ । उमेरको उत्तराद्र्धमा पनि त्यतिकै जोश, जाँगर र उत्साहका साथ साहित्य एवम् भाषाको सेवामा लागिरहनुले थुप्रै झापाली उमेरदार लेखकहरुलाई नतमस्तक बनाएको हुनुपर्छ । ‘जुही’ ५७ औं अङ्क ‘साहित्यिक सद्भाव अङ्क २’ नामबाट प्रकाशन भएको छ । ‘जुही’ पत्रिकाले नेपाली साहित्यका महत्वपूर्ण विधाहरुलाई समेटेको छ । साहित्यकारहरुलाई घिसारेर ‘जुही’ मा कोचर्ने, लेख÷लेख भनेर चिमटिरहने हुनाले झापाका थुप्रै व्यक्तिहरु साहित्यकार, समालोचक, कथाकार, निवनधकार, कवि बनेको तथ्यलाई कसैले नकार्दैन ।
‘जुही’ ४ अङ्कले व्यङ्ग्य रचनाकारहरुलाई परिचित गराएको छ । व्यङ्ग्य साहित्य के हो, यो कस्तो हुन्छ भन्ने जिज्ञासुले ‘जुही’ अङ्क ४ अध्ययन गरे खुराक मिल्न सक्दछ । यसै गरी जुहीको पाँचौ र १६ औं अङ्क समालोचना अङ्क भनी प्रकाशित गरेको छ । पाँचौंमा समालोचना विशेष भनिएको छ भने विशेष सामग्री बाहेक अन्य साहित्यिक विधा पनि यसमा समेटिएको छ । १६ औं अङ्कलाई ध.च.गोतामे विशेषाङ्कको रुपमा प्रकाशित गरिएको छ । यस अङ्कले गोतामेका कृतिमा केन्द्रित भई समीक्षात्मक रचना आएका छन् । चूडामणि लेख्न मात्र हैन, लेख्न लगाउने पनि हो, अतः ऊ पूर्वको मोतीरामले चिनिन्छ ।
झापा लगायत देशका अन्य विभिन्न जिल्ला र अञ्चलका कथाकारहरुका कथा ‘जुही’ पत्रिकाका ७ औं, ४२ औं र ४४ औं अङ्कमा समेटिएका छन् । आठौं अङ्क काव्य अङ्कका रुपमा रहेको छ । १२ औं उपन्यास अङ्क हो । यस अङ्कमा पुप्पनाथ शर्माको ‘बिहानीको खोजी’ उपन्यास छापिएको छ । १७ औं भाषा अङ्क हो भने ४९ औं अङ्कले निवन्ध प्रकाशन गरी आफूलाई निवन्ध विशेषाङ्क बनाएको छ । ३६ औं झापा अङ्कका रुपमा र ५० औं अङ्क (पूर्वाञ्चल स्तरीय) स्वर्ण अङ्क निकै ठूलो आकारमा महत्वपूर्ण रचनाहरु बोकेर उदाएको छ । ५५ र ५७ साहित्यिक सद्भाव अङ्क १ र २ नामकरणसहित पाठकका हातमा परेको छ ।
चूडामणि रेग्मीको सम्पादकत्व एवम् प्रकाशकत्वमा प्रकाशित भएको अर्को पत्रिका हो ‘यथार्थ कुरा’ पाक्षिक । २०५२ पुस २० गते पहिलो अङ्क प्रकाशित भएको यो पत्रिकाका पनि २०६२ मङसिरसम्म जम्मा ४७ अङ्क प्रकाशित भएका छन् । यसका पनि ११ वटा विशेषाङ्कका रुपमा र बाँकी सामान्य अङ्कका रुपमा प्रकाशित भएका हुन् । विशेषाङ्कहरुमा १० औं अङ्क श्यामप्रसादलाई विषेश स्थान दिएर प्रकाशितभएको छ भने ३८ देखि४७ सम्म सबै विशेषाङ्ककै रुपमा प्रकाशित गरिएका छन् । तीमध्ये ३८औं कमल–जयकला स्वर्णविवाहोत्सव विशेष, ३९ औं झापा अङ्क १,४० औं झापा अङ्क २, ४१ लाई झापा अङ्क नभने पनि झापा अङ्ककै रुपमा प्रकाशित गरिएको छ । त्यस्तै ४२ औं अङ्क बल्लभमणि दाहाल स्मृति अङ्कका रुपमा प्रकाशित भएको छ भने ४३ नरेन्द्र चापागाईं स्मृति अङ्कका रुपमा प्रकाशित छ । ४४ औं लाई हरिहर खनाल अभिनन्दन अङ्क भनिएको छ भने ४५ औं साहित्यिक यात्रा झापा–चितवनका रुपमा, ४६ औं साहित्यकार पुण्यप्रसाद खरेल विशेष र ४७ साहित्यकार के.पी.ढकाल विशेषका रुपमा छापिएको छ । पाक्षिक रुपमा प्रकाशित गरिएको यो पत्रिका वर्ष १ अङ्क, २ मा ९, ३ मा ७, ४ मा ४, ५ मा २ अङ्क निस्केका छन् भने छैटौं र आठौं वर्षमा कुनै अङ्क प्रकाशित भएको देखिँदैन । सातौं वर्षमा ४ अङ्क, नवौं वर्षमा १ अङ्क, दशौंमा २ अङ्क र ११ औंमा ३ अङ्क प्रकाशित भएपछि यसको अरु प्रकाशन भएको देखिँदैन । अब यसको प्रकाशनको निरन्तरतालाई भन्दा अब यसमा प्रकाशित साहित्यिक सामग्रीहरुका सङ्कलन निकाल्न तिर चूडामणि रेग्मी सरको ध्यान केन्द्रित हुन थालेको हो कि ? यस्तो सङ्केत भर्खरै प्रकाशित ‘यथार्थ यात्रा’ को प्रकाशन र यसमा उहाँले गर्नुभएको वाचावन्धनले दिएको छ । यस कुराबाट अब ‘यथार्थ कुरा’ को प्रकाशन कार्यमा पूर्णविराम लागेको हो कि ? भन्ने सङ्केत पनि प्राप्त हुन्छ ।
जे होस्, ‘जुही’ र ‘यथार्थ कुरा’ पत्रिकाले साहित्यकारहरुलाई चिनाउन, साहित्यकार समालोचकहरुकै साथ लिएर फलाना साहित्यकारको यो कृतिको यो विषयमा यति दिनभित्रमा तपाईंले लेख तयार पार्नैपर्छ भनी लेख्न उक्साएर, हौस्याएर नयाँ नयाँ लेखकलाई समेत तिखारेर लेख प्रकाशन गरेर सबैका प्रेरक अग्रज बनी प्रकाशन गर्नुभएका ‘जुही’ र ‘यथार्थ कुरा’ का सामान्य अङ्कका साथै विभिन्न विशेषाङ्कहरुको प्रकाशनको चूडामणि रेग्मी सरलाई सम्मान गर्ने, प्रशम्सा गर्ने शब्दको अभाव बनाइदिएको छ, शब्दले सम्मान गर्न नसकिने भएको छ । त्यति स्तुत्य हुनुहुन्छ, प्रशम्सनीय र सम्माननीय हुनुहुन्छ चूडामणि रेग्मी ।

बडाले जो ग¥यो काम हुन्छ त्यो सर्वसम्मत
छैन शङ्करको नङ्गा मगन्ते भेष निन्दित ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 18 चैत्र, 2072

लेखकका अन्य रचनाहरु