कृष्ण बजगाईंको ‘कमरेड भाउजू’

- माधव घिमिरे

’यन्त्रवत्‘ लघुकथा सङ्ग्रह सन् २००७ बाट नेपाली कथा साहित्यमा उदाएका कृष्ण बजगाईं ’कमरेड भाउजू’ कथासङ्ग्रह सन् २०१५ सम्म आइपुग्दा उज्ज्वल नक्षत्रका रुपमा नेपाली साहित्यमा चम्कन थालेका छन् । लेखनका साथै विभिन्न पत्र–पत्रिकाको सम्पादन कार्यमा दक्ष बजगाईं राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारबाट पनि सम्मानित भएका छन् ।

वर्तमान समयमा सम्पूर्ण विश्वमा विभिन्न मुलुकमा नेपालीहरु पुगेका छन् । अनेकौं दुःख कष्ट सहेर आफ्नो देश छोडेर टाढा–टाढा पुगेका नेपालीहरुको उद्देश्य नै समृद्ध भविष्यका लागि हो भन्दा अत्युक्ति नहोला । प्रवासमा बसेकाहरुको वेदना र मर्मलाई साहित्यमा चित्रण गर्ने प्रवृत्ति कुनै नौलो होइन । सन् १९६० तिर भारतको दार्जिलिङमा बसोबास गर्ने साहित्यकार अगम सिंह गिरीको गीत जसलाई अम्बर गुरूङले मीठो स्वरमा गाएर उक्त गीतलाई अमर कनाएको सबैलाई थाहा भएकै कुरा हो । त्यो गीतको एक पङ्क्ति यस्तो थियो – ‘काँडाको माझ पाहाडी फूल छैन र कहाँ हाँसेको’ प्रवासको पीडा – व्यथालाई साहित्यमा उतार्ने कुरा कुनै नौलो होइन । छिमेकी मुलुक होस् वा सात समुद्र पारी जहाँ जहाँ नेपाली बस्छन्, स्वदेशको सम्झनामा टोलाउँछन् अनि गाउँघर पाखा–पखेरामा रमाउनेहरुको मन बेलायतको चिसो हिउँमा कठ्याङ्ग्रिएर झन् चिसो भएको अनुभूति स्वदेशमा बस्नेहरुले केवल अनुमान गर्न सक्छन् । त्यसैले त हाम्रा जनकवि केशरी धर्मराज थापाले लगभग पचास वर्ष अघि भारतमा दुःख पाएका नेपालीहरुकै माझमा गएर उनीहरुका वेदनालाई प्रत्यक्ष अनुभव गर्दै यसरी गाउन थालेका थिए – क्वै हाम्रा भाइ छन् नैनिताल, क्वै राँचि कुर्दै बिताउँछन् काला, नेपालीले मा¥यो माया बरीलै ।

आज पनि उस्तै उस्तै पीडा दोहोरिएको छ । फरक यत्ति छ त्यति बेला भारतमा दुःख पाएका नेपालीहरुको पीडा व्यक्त गरिन्थ्येन भने आज अमेरिका, बेलायत लगायत खाडी मुलुक पुगेकाहरुको वेदना सहित्यका विविध विधामा व्यक्त हुन थाले । फल स्वरुप कृष्ण बजगाईं जस्ता व्यक्तित्वले आफ्नो लेखनीद्वारा प्रवासी नेपालीहरुका पीडाका विविध पाटाहरु उघार्न थाले ।

प्रस्तुत सङ्ग्रहमा कसैबाट भूमिका लेखाइएको छैन । मेरो विचारमा यो राम्रो पक्ष हो र पाठकले आफैं मूल्याङ्कन गर्छन् । अरुबाट भूमिकाको माध्यमद्वारा सर्जक र स्रष्टाको मूल्याङ्कन किन चाहियो । सुन भए पनि पित्तल भए पनि पाठकको कसी नै महत्वपूर्ण हुन्छ । म त भन्छु सर्जकले पनि केही भन्नु आवश्यक छैन । प्रत्यक्ष कथाबाटै शैली, विषयवस्तु आदिबारे थाहा पाइहाल्छन् । यसो भनेर बजगाईले आत्मकथा लेखेको बेठीक भयो भनेको हैन । यही आत्मकथाबाट पन्ध्र वर्षभन्दा बढी समय प्रवासमा डायस्पोरा बिताएको र त्यही बिताउने क्रममा आफूले भोगेको, देखेका र सुनेका कुरालाई कथा बनाएको कुरा हामीले थाहा पायौं । यो नै बजगाईको लेखनको चुरो हो भन्ने मेरो ठम्याइ छ किनभने आफ्नै वरपरका परिवेशलाई समातेर नै उत्कृष्ट साहित्य सिर्जना हुन्छ । यसै सन्दर्भमा गोविन्दबहादुर मल्ल ‘गोठाले’ ले एउटा सन्दर्भमा म जुन परिवेशमा हुर्के, बढेँ त्यही परिवेशलाई साहित्यमा उतार्न सक्छु, भन्ने आशय व्यक्त गरेका थिए । फलस्वरुप उनका ‘कथा’ उपन्यासले काठमाडौँ उपत्यकाको परिवेशलाई नाघेको छैन । यो लेखकीय इमान्दारी हो ।

प्रस्तुत सङ्ग्रहमा जम्मा १३ वटा कथाहरु सङ्कलित छन् । जसमा पहिलो कथा कमरेड भाउजु हो । विगतको बाह्र वर्ष द्वन्द्वको हुन्डरी झेलेको नेपाली जनताले धर्मप्रसादजस्ता क्रान्तिकारीमा विचलन आउनु र देख्नु कुनै नौलौ कुरा होइन । प्रधानमन्त्रीजस्तो पदमा पुग्ने बित्तिकै बालुवाटारको निवासमा होम गर्न तत्पर हुने कमरेडको तुलनामा धर्मप्रसादजस्ता कमरेडले जे गरे त्यो त केही होइन । ‘काम गर्ने हनुमान जस पउने ढेडु’ भने झैं नेपालका जुनसुकै पार्टीमा हुने विसङ्गतिको फलस्वरुप निराश भएका कार्यकर्ताहरु आशाको खोजीमा स्वदेश र विदेशमा भौंतारिनु अनि लादिएको सिद्धान्तबाट विचलित हुनु सबैजसो राजनीतिक दलका कार्यकर्ताको नियति हो । काममा अपेक्षा गरे अनुसार परिवेश र वातावरणको केही कमी महसुस हुन्छ । सङ्कलित अन्य कथाहरुको तुलनामा यसमा उत्सुकतातङ्खव शिथिल भएको पाइन्छ । कतै पनि अस्वाभाविक चित्रण पाइँदैंन । मनस्थ्तििमा, सिद्धान्तमा विचलन आएपछि आफ्नी श्रीमतीबाट तिरस्कृत हुनु वा त्यस्तो व्यवहार पाइनुलाई अस्वाभाविक मान्न सकिँदैन । यो एक प्रकारको व्यावहारिक समस्या हो, अहंको तुष्टि हो, आत्मश्लाघा हो ।
दोस्रो कथा पलायन कमरेड पहिलो कथाकै परिपूरकजस्तो देखिन्छ तापनि परिवेश, वातावरण र पृष्ठभूमिमा केही बेग्लै अनुभूति हुन्छ । यसमा पनि कमरेड विश्वास विदेशमा पलायन भएको र भौतिक सुख सुविधाका लागि अफ्ना सम्पूर्ण धारणा, मान्यता, सिद्धान्त र आफूले जीवनमरणको दोसाँधमा रहेर क्रान्ति सफल पारेको राजनीतिक दललाई पनि त्यागेर अर्काको मुलुकमा अस्तित्वविहीन भएको यथार्थलाई कथाले समेटेको छ । यसरी पलायन हुनुमा कमरेड विश्वासजस्ता प्रतिनिधि पात्रलाई दोष दिनुभन्दा नेपालको अदूरदर्शी नेतृत्व र त्यसले जन्माएको विसङ्गति नै कारक तङ्खव हो तर ‘कमरेड अटल’ जस्ता सिद्धान्तनिष्ठ, देश प्रेमी पनि छन् जसले सुन्दर नेपालको, समृद्ध नेपालको सपना देख्न छोड्दैनन् अनि भन्छन् – ‘हामी कहाँ पनि साम्यवाद आएपछि यस्तै विकास हुन्छ होला तर यस्ता कमरेडहरुलाई थाहा हुनुपर्ने हो कि साम्यवाद होस् कि समाजवाद जे आए पनि देशको विकास सम्भव हुँदैन । जबसम्म देश हाँक्नेहरुको मनस्थिति सुध्रँदैन यस्तै भइरहन्छ । कथामा वर्णित घटनाक्रम, चरित्र विषयवस्तुमा तीतो यथार्थ छ युरोप, अमेरिकाभन्दा दयनीय अवस्था त खाडी देशमा जाने लाखौं नेपालीहरुको छ ।

तेस्रो कथा ‘मिडिया मुस्कान’को प्रेरक तत्व ‘कर्मण्येवाधिकारस्ते माफलेषु कदाचन’ हो जस्तो लाग्छ । अर्थात् जस्तोसुकै परिस्थितिमा पनि आफ्नो कर्तव्य गर्ने व्यक्तिले असफलता बेहोर्नु पर्दैन । द्वन्द्वले नेपालका गाउँ, शहर सबैतिर धेरै परिवारलाई विचल्ली बनायो । यस्तै बिचल्लीमा परेकी हुन् कथाकी नायिका ‘सामना’ । एउटा विदेशी परिवारले उद्धार गरेर विदेशमा हुर्केकी र त्यहीँ नै पत्रकारितालाई आफ्नो कर्मक्षेत्र बनाएकी ‘सामना’ आफैमा सक्षम नारी हुन् । मानिसले बाहिरी रुप–आकृतिको भरमा गरिने अड्कल प्रायः जसो अड्कल नै हुन्छ अर्थात् हुँदैन भन्ने कुरा पात्रको माध्यमले स्पष्ट गरिएको छ ।
तेस्रो कुकुर यो कथामा युरोप, अमेरिकामा घरबार गरेर, भौतिक सुख–सुविधामा रमाएर बस्न चाहना गर्ने नेपाली युवकको इच्छालाई नै केन्द्रविन्दु बनाइएको छ । अनेकौं दुःख कष्ट सहेर पनि विदेशको झिलिमिलिमा मोहित हुने नेपालीको दुखद परिणति यसैगरी हुन्छ तर सबै कथाको पात्र झैं आफ्नो उद्देश्यमा असफल हुँदैनन् । फेरि सबै विदेशी कथाकी खलनायिका झैं क्रुर हुँदैनन् तर पनि कथा युरोपतिर आँखा चिम्लेर बत्तीमा पुतली होम्मिए झैं होम्मिनेका लागि ठूलो चेतावनी हो ।

गडयौला उर्फ सत्यराजको मूल विषयवस्तु मनोविज्ञानको विश्लेषण हो । सामाजिक परिवेश त्यही मनोविज्ञानको विश्लेषण गर्ने माध्यमको रुपमा प्रस्तुत भएको छ । जहाँ गए पनि लोग्नेस्वास्नी भनेको एक अर्काका परिपूरक हुन् । भौतिक–मानसिक दुवै प्रकारले एक अर्काको सहयोगी हुन्, तसर्थ एउटामा कारणवश विचलन आएमा त्यो परिवार भत्किन्छ, छिन्नभिन्न हुन्छ । कथामा वर्णन गरिए अनुसार श्रीमतीमा विचलन आएको छ । त्यस्तो विचलन हुनु भनेको आफू नै श्रेष्ठ ठान्नु र अरुलाई तुच्छ देख्नु हो । फ्रायडको भाषामा भन्नुपर्दा यो ‘सुपर कम्प्लेक्स’ हो । गडेउलाको अनुसन्धान गर्ने वैज्ञानिकमा पनि केही कमजोरी छ । आफ्नै श्रीमतीको यौन चाहनाको परिपूर्ति उनले समयमा नै बुझेर त्यसको समाधान गरिदिएको भए यस्तो पारिवारिक विचलन आउने थिएन होला । जे होस् पात्रको चरित्र, घटना, आदि कथा तत्वलाई कथामा राम्रो समायोजन भएको छ । कथाले बेलायतको सामाजिक परिवेशका साथै त्यहाँको सामान्य नियम–कानुनबाट पाठकलाई परिचित गराउने राम्रो कार्य गरेको छ । ‘लाटो खान्छ एक बल्ड्यङ बाठो खान्छ तीन बल्ड्याङ’उखानलाई कथाले चरितार्थ गरेको छ ।

मौन युद्ध कथा अनाथाश्रममा हुर्केको बालकलाई विदेशी दम्पतीले विदेशमा नै लगेर हुर्काएर उसलाई सक्षम युवा बनाएको कथा हो । एउटा अनाथ बालकले विगतलाई सम्झना गरेको शैलीमा कथा अगाडि बढ्छ । बालकले जसलाई आफ्नो बाबुआमा ठान्छ पछि उनीहरुप्रति नै वितृष्णा उत्पन्न भएको अनुभव गर्छ । किन वितृष्णा भयो त भन्ने कारणको खुलासा कथाको अन्तमा गरिएको छ । दम्पतीका रुपमा दबेका दबै नै ‘पुरूष’ अर्थात् –‘गे’ भएको कारणले नै वितृष्णा भएको हो । कथाको अन्तमा मुख्य पात्र (अनाथ) को अभिव्यक्ति यसरी प्रकट भएको छ–‘उनीहरुप्रतिको प्रेम तथा सम्मान एकाएक घृणामा परिवर्तन भयो ।’ यसो हुनु स्वाभाविक हो, किनकि नेपाली समाजमा एक आध घटना बाहेक अभैm यस्ता ‘गे’ हरुलाई सामाजिक र कानुनी दुवै रुपमा मान्यता पाएको छैन ।

कथाको मनोविश्लेषण
सिग्मन फ्रायडका अत्यन्त नजिकका मित्र अल्फेड एडलरले फ्रायडको मनोवैज्ञानिक सिद्धान्तलाई सुरूमा स्वीकार गरे पनि पछि आफ्नै सिद्धान्त कायम गरे । जस्तै फ्रायड र एडलरले मान्छेको मानसिक वृद्धि शैशवकालीन अवस्थादेखि नै हुन्छ भन्ने कुरा स्वीकार गरे तर फ्रायडले जैविक शक्तिको विकाससँगै मनको चेतना वृद्धि हुन्छ भनेका छन् भने एडलरले यो कुरा अस्वीकार गरी मनको विकासमा सामाजिक शक्तिको महङ्खवपूर्ण भूमिकालाई दर्साए । यसका विभिन्न चरणहरु छन् । यसैलाई आधार मानेर प्रस्तुत सङ्ग्रहका कथालाई विवेचना गर्न सकिन्छ ।

कमरेड भाउजू, पलायन कमरेड, मिडिया मुस्कानजस्ता कथाका धर्मप्रसाद, कमरेड विश्वास, सामना आदि पात्रहरु सामाजिक परिवेश र वातावरणको शक्तिकै कारण जटिल मानसिकताको भुँवरीमा फसेका छन् । यहाँ फ्रायडको जैविक शक्तिभन्दा सामाजिक शक्तिको प्रबलता पाइन्छ । अनेकौँ दुःख कष्ट सहेका कमरेडहरु आफ्नो देश छाडेर विदेशी सुविधा भोगी सामाजिक प्रक्रियामा लोभिनुको मूल कारण नै अचेतनमा रहेको सुख प्राप्ति हो । त्यसलाई सामाजिक शक्तिले अझ उद्दीप्त बनायो ।

गडयौला उर्फ सत्यराज कथामा सत्यराजको श्रीमतीमा आएको विचलनमा सामाजिक शक्ति नै प्रमुख कारकको रुपमा रहेको छ । राम्रो नराम्रो जे होस्, जस्तो होस् त्यही समाजको प्रभावले पारिवारिक विघटन भएको चित्रण सटिक छ ।

अर्का मनोवैज्ञानिक कार्ल गुस्ताफ युङको सिद्धान्तको कसीमा पनि केही कथालाई हेरौँ । यिनका चारवटा सिद्धान्त मुख्य रहेका छन् ः जीवनशक्ति, वैयक्तिक र सामूहिक अचेतन, अन्तर्मुखी र बहिर्मुखी तथा मनको प्रकार्य छन् ।
फ्रायडको जीवनशक्ति कामशक्ति हो भने युङले जीवन इच्छा वा जिजीविषालाई मानेका छन् । मानिसले बाँच्नका लागि अनेकौँ सङ्घर्ष गर्दै आएको छ । सङ्ग्रहका कथाहरुका परिवेश, पात्र, घटना आदि सबैबाट नेपालीहरु राम्रो र सुखमय जीवनयापनका लागि विदेशिएका छन् वा विदेशिन चाहन्छन् । चाहे व्यक्ति विशेष कुनै अन्तर्मुखी स्वभावको होस् वा बहिर्मुखी स्वभावको होस् प्रायः सबैमा सुखमय जीवनको चाहना अवश्य हुन्छ । नेपाली समाज त सयौँ वर्ष अघिदेखि लाहुर प्रवृत्तिले गर्दा विदेशिने प्रवृत्ति तीव्र रुपमा देखिन्छ । लाखौँ युवा खाडी मुलुक पुग्नु त्यही प्रवृत्तिको नवीनतम स्वरुप हो ।

यसरी सङ्ग्रहमा समावेश प्रायः सबै कथाले नेपालका पाठकहरुलाई नौलो पक्षको अनुभूति दिएको छ । खास गरेर युरोपमा बस्ने नेपालीको पीडा र मर्मलाई एकातिर व्यक्त गरिएको छ भने अर्कोतिर युरोपियन मुलुकका नियम, कानून, सामाजिकपरिवेश आदिको ज्ञान पनि प्राप्त गर्न सकिन्छ । बजगाईको पहिलो कथासङ्ग्रह यन्त्रवत्को समीक्षा गर्ने क्रममा मैले भनेको थिएँ – ‘नेपाल बाहिर बसेर पनि नेपालको सामाजिक पक्षलाई कथाको माध्यम बनाउनु राम्रो हो, यहाँका (देशका ) स्रष्टाले पनि यो कार्य सफलता साथ सम्पन्न गरिनै रहेका छन्, त्यसैले हामीजस्ता पाठकले त प्रवासमा भएका नेपालीका गतिविधिलाई साहित्यका माध्यमले व्यक्त भए राम्रो हुने थियो ।

यो मेरो भावनालाई बजगाईले कथाका माध्यमले प्रस्तुत गर्दै जसरी कमरेड भाउजू कथासङ्ग्रह आयो, आगामी दिनहरुमा पनि यो परम्परालाई अघि बढाउनुहुनेछ ।

गहना पोखरी, काठमाडौँ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 11 चैत्र, 2072

लेखकका अन्य रचनाहरु