बालशिक्षा, भाषा र भाषा शिक्षण

- प्रा. डा. हेमाङ्ग राज अधिकारी

शिक्षा
शिक्षा किन र केका लागि आवश्यक छ भन्ने सबाल वारंवार उठाउने गरिन्छ । अझ साना नानीलाई शिक्षामा प्रवेश गराउँदा यस सबालमा हाम्रो बहस केन्द्रित हुनु जरुरी देखिन्छ । मानवलाई अझ उपयुक्त जीवन जिउन शिक्षाको आवश्यकता भएको हो । जीवनलाई सुसंस्कृत र परिस्कृत बनाउन हामी शिक्षातिर आकर्षित हुँदै गएको बुभ्mन सकिन्छ ।
बालकका लागि घर नै पहिलो पाठशाला हो भनिन्छ । त्यसो भए यही पाठशालामा उपयुक्त जीवनका सिपहरु सिकाउन सके विद्यालयको आवश्यकता पर्दैनथ्यो कि ? तर त्यो सम्भव भएन । मानवले शिक्षाका लागि घर मात्र पर्याप्त ठानेन । आमाबाबु यसका लागि आपूmलाई सक्षम ठान्दैनथे वा उनीहरुको अनुभवको र समयको सीमाले पनि त्यो सम्भव भएन । यसरी घर बाहिरको संस्था शिक्षाका लागि आवश्यक ठानियो ।
आज हामी केटाकेटीको शिक्षाका लागि घर बाहिरका संस्थाहरुमा भौँतारिँदै छौँ । यो विद्यालय ठिक कि त्यो विद्यालय ? भन्ने चिन्ताले हामीलाई पिरोल्छ । यसको प्रतिस्पर्धामा दौडँदा हामीले हाम्रो कमाइको ठुलो अंश खर्च गर्नु पर्र्ने हुन्छ ।
हामीले यो कुरा ख्याल गरेका हुँदैनौँ, आपूmले छनोट गरेको विद्यालयले हाम्रा केटाकेटीको पहिलो पाठशालामा अनुभव गरेको तथा सिकेको कुरामा इँटा थप्दै जाने काम गर्छ कि त्यसलाई विस्थापित गर्नतिर जोड दिन्छ । यहीँबाट विद्यालय र घरका अनुभवका बिच द्वन्द्व सुरु हुन्छ । हामी आप्mना केटाकेटीले नयाँ कुरा सिक्यो भनेर केही दिन मक्ख पर्छौं तर क्रमशः उनीहरु घरको परिवेशबाट टाढा हुँदै गएको महसुस गर्न थाल्छौँ । अनि घरमा सिकेको कुरा बिर्संदै गएको, आप्mनो परिवेशभन्दा अपरिचित कुराप्रति बढी आकर्षित हुँदै गएको देखेर हामी अन्योलमा पर्छौं । अनि हामीले अँगालेको जीवन शैली, रहनसहन, सोच सबै बेकम्मा रहेछन् कि भन्ने आशङ्का बढ्न थाल्छ । यसरी विद्यालय र घरका बिच ठुलो अन्तर बढ्दै जाँदा अभिभावकमा र बालकमा पनि अनावश्यक द्वन्द्वको झल्को देखिन थाल्छ । यसबाट बालकको शिक्षा सहज गतिमा नबढेको वा बालक आपूmलाई कुण्ठित भएको महसुस गर्न सक्छ वा अभिभावकहरु पनि त्यस्तो महसुस गर्न सक्छन् । अथवा उक्त दुबै पक्षमा एकअर्काबाट टाढिने र असहज मनस्थिति बन्ने सम्भावना रहन्छ ।
शिक्षाको सहज विकास भनेको विद्यालय र घरका अनुभवको तालमेल हुँदै नयाँ अनुभवको विस्तार हुनु हो । यसले हाम्रा केटाकेटी विद्यालयमा हुँदा घरमा सिकेको कुरालाई साटासाट गर्न सक्छन् र घरमा हुँदा विद्यालयमा सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रयासमा सहजता अनुभव गर्न सक्छन् । तर हामीकहाँ यस किसिमको परिस्थिति भत्कँदै गएको देखा पर्छ । यस्तो परिस्थितिमा सिकिएको वा सिकाइएको शिक्षा सहज गतिमा अगाडि बढेको मान्न सकिन्न । घर र विद्यालयको अनुभवमा तालमेल बढ्दै गएमा मात्र शिक्षाले सही बाटो लिएको मान्न सकिन्छ । यसो नभएमा बालकको प्रतिभाको चौतर्फी विकासमा अवरोध त आइ पर्छ नै । उसको शिक्षा सृजनशील हुन पनि सक्दैन । उसले घरमा सिकेको सबैजसो कुरा विस्थापित हुन थालेपछि उसमा ज्ञातबाट अज्ञाततिर, विशिष्टबाट सामान्यतिर, स्थूलबाट सूक्ष्मतिर जाने सामान्य शिक्षण तथा सिकाइ प्रव्रिmयाका सूत्र नै खलबलिन पुग्छन् । फलतः बालकमा आपूmले सिकेका कुरामा आत्म विश्वासको कमी पनि आउन सक्छ ।
जुन बालक दिनभरि विद्यालयको शैक्षिक गतिविधिमा रहन्छ र बिहान बेलुका घरको परिवेशमा हुन्छ, त्यसको मनोदशा अध्ययनीय तथा अनुशीलनीय हुनु शिक्षाको एउटा प्रमुख पाटो हो । विद्यालय र घरको अनुभवको अन्तरलाई कम गर्नका लागि शिक्षक र अभिभावक दुबै पक्षको भूमिका महत्त्वपूर्ण हुन्छ । त्यसैले यी दुबैको सहयोगी भूमिका रहेमा मात्र बालकको शिक्षाले ठोस गोरेटो पहिल्याउन सक्ने हुन्छ । यसलाई यी दुई पक्षको सहकार्यका रूपमा लिन सकिन्छ । अर्को शब्दमा भन्ने हो भने विद्यालयले दिएको औपचारिक शिक्षा एक किसिमले सैद्धान्तिक हुन्छ । त्यसको प्रयोग स्थल भनेको घर नै हो । त्यसैले घरलाई एक किसिमले विद्यालयको प्रयोगशाला मानेर अगाडि बढ्न सक्नु पर्छ । वास्तविक जीवनमा खारिएको शिक्षाले नै ठोस परिणाम दर्साउन सक्ने देखिन्छ । विद्यालय र घरको दुरी बढाउने शिक्षाले डिग्री त प्राप्त होला तर असल जीवन जिउन कमै मदत गर्छ । तसर्थ विशेष गरेर प्रारम्भिक शिक्षाका सञ्चालकहरुले यसतर्फ अझ बढी ध्यान दिनु पर्ने हुन्छ ।

भाषा
शिक्षामा भाषाको प्रयोगले केन्द्रीय महत्त्व राख्छ । नेपाली परिवेशमा विद्यालय जाने बालक कम्तीमा तिन ओटा भाषाबाट गुज्रिएको हुन सक्छ ः घरको भाषा, समुदायको भाषा र विद्यालयको भाषा । घरको भाषा उसको मातृभाषा हो । यो नै विद्यालयको भाषा नहुन सक्छ । कतै विद्यालयको भाषा र समुदायको भाषा एउटै पनि हुन सक्छ भने कतै यी दुबैभन्दा फरक भाषामा विद्यालयमा शिक्षा लिनु पर्ने परिस्थिति रहन्छ ।
बालकको पहिलो पाठशाला घर हो । घर नै उसको सिकाइको जग हो । त्यसो भएपछि उसले घरमा सिकेको कुराले विद्यालयमा विस्तार र परिष्कार पाउनु पर्छ भन्ने स्वतः प्रस्ट हुन्छ । यसका लागि घरमा सिकेको भाषालाई विद्यालयका लागि बाधक ठानिनु हुँदैन । त्यसको जगमा नै उसको थप शिक्षा अगाडि बढ्नु पर्छ । अथवा बालकले घरमा एउटा र समुदायमा अर्को भाषा सिकेको छ भने पनि ती दुबै भाषाबाट प्राप्त ज्ञान विद्यालयमा थप ज्ञानका लागि आधार हुन सक्छन् । यी एकअर्काका लागि बाधक हुँदैनन्, पूरक बन्न सक्छन् भन्ने कुरा प्रारम्भिक विद्यालयका सञ्चालकका लागि विशेष मननीय विषय हो ।
बालकले सिकेको धारणाका लागि भाषाले फरक फरक शब्द दिन सक्छ । उसले मातृभाषामा सिकेको धारणाका लागि विद्यालयको भाषामा अर्को शब्दले जनाइन सक्छ । यसो भन्दैमा उसले थप धारणा सिक्ने होइन । यसरी कसैले किताब वा पुस्तक जानेको छ भने विद्यालयमा त्यसैलाई बुक भन्न सिकाइन्छ भने बालकले सहजमा नै त्यो शब्द सिक्छ । उसलाई शब्द सिकाए पनि थप धारणा सिक्नु जरुरी हुँदैन । किताबको ठाउँमा बुक, कलमको ठाउँमा पेन, रातोको ठाउँमा रेड भनिएमा थप धारणा र शब्द दुबै सिकाइएको होइन । त्यसैले धारणालाई मेट्ने गरी अर्को भाषा सिकाउने जमर्को गर्नु उचित हुँदैन । त्यसले बालकमा अन्योल पैदा हुन सक्छ । यसरी किताबबाट बुक सिकाउनु, कलमबाट पेन सिकाउनु सहज सिकाइ हो । यसको उल्टो बालकको पहिलेको अनुभवलाई बेवास्ता गरेर अथवा उसले त्यो धारणा नै जानेको छैन जस्तो गरेर बुक, पेन सिकाउन खोज्नु सिकाइको सहजताको विरुद्ध हो । यसले उसलाई उसले अनुभव गरेको दुनियाँभन्दा अर्कै दुनियाँमा लैजान खोजेको भान पर्छ । अनि ऊ त्यतैतिर बहकिन सक्छ । असहज सिकाइ यहीँबाट सुरु हुन्छ ।
सिकाइका क्रममा एउटा भाषाले अर्को भाषालाई विस्थापन गरिनु हुन्न । सिकि सकेको भाषाले अर्को भाषा सिक्न सहयोग गर्छ भन्ने बुभ्mनु जरुरी छ । एउटासँग अर्काको तालमेल गर्दै लैजान सके सहजता बढ्न जान्छ । यसरी बुझिएमा हाम्रो शिक्षामा देखिएको हिँड्दै छ, पाइला मेट्दै छ भन्ने प्रवृत्तिले उत्पन्न विकृतिबाट मुक्त हुन मदत मिल्छ । बालकले सिकेको जुनसुकै कुरा शृङ्खलाबद्ध ढङ्गले अगाडि बढ्न पाउँछ । अनि हामी जगविनाको महल बनाउने दुःस्वप्नबाट जोगिन समर्थ हुन्छौँ । अपरिचित भाषाले परिचित भाषाको ठाउँ लिने दृष्टिले पठन पाठन अगाडि बढाउन खोज्नु अहिलेको शिक्षण प्रणालीको सबभन्दा ठुलो कमजोरी हो । अझ अर्को शब्दमा अङ्ग्रेजीले नेपाली वा अर्को मातृभाषाको ठाउँ लिने दृष्टिले प्रारम्भिक कक्षामा पठन पाठनलाई अगाडि बढाइनु विद्यार्थीको सर्वतोमुखी प्रतिभा विकासका दृष्टिले हितकर देखिँदैन । मौलिक चिन्तनको विकासमा पनि यसले बालकमा प्रतिकूल प्रभाव पार्छ । यसको तत्काल असर कसैले अनुभव नगरे पनि दूरगामी परिणाम नकारात्मक नै देखिन जान्छ । आप्mनो धरातल बिर्साउने शिक्षाले हाम्रा बाल बालिकालाई सृजनशील बनाउनबाट वञ्चित गर्छ । त्यसैले शिक्षामा भाषाको चयन गर्दा र यिनलाई शिक्षाको माध्यम बनाउँदा उल्लिखित कुरामा गम्भीर हुनु जरुरी छ ।
भाषा शिक्षाको माध्यम हो । त्यसैले यसलाई विचारको पोसाक पनि भनिन्छ । पोसाक चयन गर्दा आप्mनो विचार बोक्न सक्छ कि सक्दैन, विचारणीय छ । हाम्रो परिवेशमा बाल बालिकाको धारणात्मक विकासका लागि मातृभाषा पहिलो पोसाक हो । यसको सम्बन्ध बालकको संज्ञानात्मक विकासमा अभिन्न जस्तो भएर रहेको हुन्छ । किनभने पहिलो भाषाबाट नै बालकले आप्mनो धारणाको प्रस्फुटन पाउन थाल्छ । उसको परिवेश विस्तार हुँदै जाँदा क्रमशः ऊ अर्को भाषासँग पनि परिचित हुन थाल्छ । आवश्यकता अनुसार उसले एकभन्दा बढी भाषा सिक्नु पर्ने हुन्छ । तर एउटालाई अवरोध गरेर अर्को भाषामा फड्को मार्ने खालले कुनै अर्को भाषालाई प्रोत्साहित गरिनु हुन्न । समाजमा यी भाषाले पाउने प्रयोग परिवेशले यिनको क्षेत्र सीमित वा विस्तृत हुँदै जान सक्छ । सोही प्रवृत्तिलाई शिक्षाले पनि आत्मसात् गर्नु उचित हुन्छ । समाजको गति एकातिर र भाषाहरुको प्रयोग चाहिँ सोभन्दा भिन्न गतिमा दौडाउन खोजियो भने शिक्षामा कृत्रिमता परिलक्षित हुन थाल्छ । शिक्षाले समाजको सामान्य गतिको ख्याल गर्नु आवश्यक हुन्छ । सहजता सिकाइको अनिवार्य सर्त हो ।

भाषा शिक्षण
भाषालाई विचार विनिमयको साधन मानिन्छ । यसको मतलब हुन्छ, भाषाले समाजमा आपसी सम्पे्रषणको कार्य सम्पन्न गर्नु पर्छ । सम्पेषण भन्नाले बोध र अभिव्यक्तिको प्रक्रिया हो । बोध अन्तर्गत सुनाइ र पढाइ अनि अभिव्यक्ति अन्तर्गत बोलाइ र लेखाइ आउँछन् । विचार विनिमयका लागि बुभ्mनु जति जरुरी छ, त्यसलाई प्रकट गर्नु पनि उति नै जरुरी हुन्छ । यी दुबै पक्षको समुचित र सन्तुलित उपयोगबाट नै सम्पे्रषणको प्रक्रिया सम्पन्न हुन्छ । यसरी सम्प्रेषणात्मक कार्य सम्पन्न गर्न सक्षम बनाउने काम भाषा शिक्षणको हो । भाषा शिक्षणमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ जस्ता भाषिक सिपका कार्यकलापलाई जोड दिइन्छ । यसले विषय वस्तुको शिक्षणलाई जोड दिँदैन, विषय वस्तुको बोध र अभिव्यक्ति गर्ने माध्यमको शिक्षणमा जोड दिन्छ ।
भाषा शिक्षणमा बालकलाई बोल्न, पढ्न र लेख्न अधिकतम अवसर दिनु आवश्यक छ । सुनेको जानेको कुरा विद्यालयमा बोलेर व्यक्त गर्न पाएन भने बालकले जानेको भाषा कुण्ठित हुन्छ । त्यस्तै वारंवार पढ्ने अवसर मिलेन भने सुनेका आधारमा मात्र पठन बानी बसाल्न सकिँदैन । कक्षामा शिक्षक सुनाउन मात्र जोड दिन्छन् भने बालकले पढ्ने र लेख्ने अवसर त पाउँदैन नै, ऊ बोल्नबाट पनि वञ्चित हुन्छ । जबसम्म कक्षाका कार्यकलाप बालकको मौखिक अभिव्यक्ति, पठन र लेखन बानीको विकासमा केन्द्रित हुँदैनन्, तबसम्म शिक्षक भाषा सिकाउँदै छन् भन्ने कुरामा आश्वस्त हुन सकिँदैन ।
कतिपय विद्यालयमा साना कक्षादेखि नै व्याकरण सिकाउनमा जोड दिइन्छ । यो भाषा शिक्षणका दृष्टिले गम्भीर भुल हो । व्याकरण भनेको भाषाबारे शिक्षण हो । यसले विषय वस्तु शिक्षणतिर शिक्षकलाई बहकाउँछ । व्याकरण त भाषाभित्र अन्तर्निहित हुन्छ । त्यसैले यो अमूर्त हुन्छ । साना बालकलाई शिक्षकले पढाएको व्याकरण बुभ्mन यसै कठिन हुन्छ, त्यसमाथि व्याकरणले भाषाभित्र काम गरेको ठम्याउने कुरा अझ टाढाको विषय हो । अझ सन्दर्भहीन प्रयोग र उदाहरण दिएर व्याकरण सिकाउनु उनीहरुको भाषिक सिप विकास गर्ने समयलाई बरबाद गर्नु मात्र हो । विद्यालयमा भाषा शिक्षणका नाममा व्याकरणको थप पाठ्य पुस्तक पढाउने प्रवृत्तिले शिक्षकको बुद्धि विलासलाई बढाउन त मदत गर्ला र अभिभावकका आँखामा छारो हाल्न सक्ला तर बालकको भाषिक विकासमा यसले कमै सहयोग गरेको पाइन्छ । कच्चा शिक्षकले दिएको व्याकरणको गृहकार्यले कतिपय अभिभावकलाई पनि आतङ्कित बनाउने काम गरेको हुन्छ ।
भाषाको प्रयोग सङ्कथनमा हुन्छ । सङ्कथनले सन्दर्भ खोज्छ । सन्दर्भ विहीन शब्द, पदावली, वाक्य भाषाका उपकरण हुन् तर यी आफै भाषा होइनन् । भाषा हुन त तिनको सन्दर्भपूर्ण प्रयोग हुनु आवश्यक छ । त्यसैले भाषाका शिक्षकले बालकहरुलाई उनीहरुको अनुभव सुहाउँदा सन्दर्भहरुमा बोल्न, पढ्न र लेख्नमा अभ्यस्त बनाउनु पर्छ । भाषाको पाठ्यक्रममा सुनाइ, बोलाइ, पढाइ र लेखाइका उद्देश्य राखिएका हुन्छन् तर शिक्षक चाहिँ त्यसलाई बिर्सिएर किताबी ज्ञानमा मात्र बालकहरुलाई अलमल्याउन केन्द्रित हुन्छन् भने उनले भाषा सिकाएनन् भन्ने कुरा स्वतः प्रमाणित हुन जान्छ ।
समग्रमा बालकको शिक्षा सहज र स्वाभाविक ढ्ङ्गले अगाडि बढ्नु आवश्यक छ । त्यसका लागि घरको अनुभवसँग तालमेल गर्दै विद्यालयले थप अनुभव गर्ने र सिक्ने अवसर उपलब्ध गराउनु पर्छ । कुनै भुइँफुट्टा र कोरा ज्ञान उसका लागि अग्राह्य र अपाच्य हुन्छ । सिकाइलाई ग्राह्य र पाच्य बनाउन घरका अनुभवलाई विस्थापित गर्नमा जोड दिइनु उचित हुँदैन । त्यसलाई जगको रूपमा उपयोग गरिनु पर्छ । यसरी नै घरको भाषा र विद्यालयको भाषामा समन्वय स्थापित गर्दै थप अर्को भाषा सिकाउँदै लैजान सकिन्छ । भाषा शिक्षणका कार्यकलापलाई विषय वस्तुका रूपमा नभई सम्पेषण क्षमता बढाउने दृष्टिले अगि बढाउनु आवश्यक छ ।
बालकलाई ताती गर्न सिकाउनु होस्, अनि मात्र दौडन सक्छ, ताती नगरी दौडन सिकाउन खोज्नु भयो भने फड्का हान्न नजानेर ऊ बिचमै लड्न सक्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 11 चैत्र, 2072

लेखकका अन्य रचनाहरु