धूनमा घुन संग्रहमा समाहित निबन्ध र निवन्धकार चूडामणि रेग्मी

- प्रा. राजेन्द्र सुवेदी

नेपाली निबन्ध साहित्यका इतिहासमा आधुनिककाल देखापरेको अवधिमा जन्मेका चूडामणि रेग्मी (१९९३) देवकोटाको —आषाढको पन्ध्र‘ प्रकाशित भएकै वर्षमा जन्मेका हुन्। संस्कृतमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका र २०२१ सालदेखि मेची महाविद्यालयमा लामो समयसम्म प्राध्यापन सेवामा संलग्न भएका व्यक्तित्व हुन्। २०१२ सालपछि लेखनमा प्रवृत्त भएका रेग्मी कविता, कथा, निबन्ध र समालोचना लेख्‍न सक्ने व्यक्तित्वका रुपमा परिचित छन्। नेपाली साहित्यको इतिहासमा २०१२ पछिका चारवटा दशक गुजारेका रेग्मीको सृजना र समालोचनाको मूल्य अत्यन्त गहन र यथार्थवादी रहेको छ।
पुस्तकाकार रूपमा प्रकाशित धूनमा घुन (२०३५) दोस्रो निबन्ध संग्रह हो । यसमा जम्मा ११ वटा निबन्धहरु प्रकाशित भएका छन्। युज्ञज्ञान आदि पत्रिकामा पूर्वप्रकाशित निबन्धहरुको प्रस्तुत संग्रह नेपाली निबन्ध साहित्यका फाँटमा मात्र होइन, भाषाका क्षेत्रमा पनि क्रियाशील बनेर जुटेका रेग्मी २०१२।१३ सालदेखि नै झर्रोवादी भाषा आन्दोलनमा जुटेका हुन्। भाषाको ठोस र समग्र रूप प्रस्तुत गर्ने तारानाथ शर्मा, बालकृष्ण पोख्रेल, बल्लभमणि दाहाल लगायतका विद्यार्थिहरुका पंक्तिमा आबद्ध भएका रेग्मीको सृजना र भाषा जागरणको काम सँगसँगै भएको कुरा उनका कार्यकुशलताबाट प्रस्तुत भएका छन्।
प्रस्तुत संग्रहका निबन्धहरु हुन्: १. साँचा कुराको जिलीगाँठी, २. यो उही हो, ३. हिउँदको रमझम, ४. धूनमा घुन, ५. छुट्टीमा दिन, ६. ढुङ्गो पनि रसाउँछ, ७. भाग्गे र जुद्धे, ८. साथको साथी, ९. आजकाल त बजारमा देखिनु हुन्‍न नि, १०. कुरा गरिन् खानका, ११. पैसा हात परेका बेला। यिनै निबन्धहरुका आधारमा नेपाली साहित्यका सृजना क्षेत्रमा रेग्मी समाजिक यथार्थवादी चिन्तनदृष्टिले सचेत स्रष्टामा देखिएका छन्। नियात्राको आभास दिने खालका दुईवटा निबन्धहरु छन्। तिनमा पैसा हात परेका बेला र हिउँदको रमझम पर्दछन्। बाँकी निबन्धहरूमा बाँकी ९ वटै निबन्ध रहेका छन्। यस्तो स्थितिमा निबन्धकार रेग्मीले चिन्‍तनलाई प्रस्तुत गर्ने प्रथम संग्रह आज साहित्य जगत्मा प्रबल देखिएको छ।
—साचा कुराको जिलीगाँठी‘ संग्रहको पहिलो निबन्ध हो। यस निबन्धले निबन्धकार स्वयम्‌को प्रस्तुतिगत अभिमत, मूल्य र पाठकहरुका प्रतिक्रियाका पक्षहरुलाई प्रस्तुत गरेको छ। स्नेह, सद्‍भाव र आत्मीयताका प्रसङ्गहरु पनि निजात्मक भावका सन्दर्भमा अभिव्यक्त भएका छन्। मान्छेका आत्मगत तहमा निहीत मूल्यहरुलाई जीवन्त रुपमा प्रतिपादन गर्ने प्रस्तुत निबन्धको चिन्तन वैयक्तिक किसिमको देखिएको छ।
—यो उही हो‘ भुइफुट्टाहरुले अवसर पाउने बित्तिकै भूइमा न भाँडामा भएर उफ्रिनेहरुको उरन्ठेउलो प्रवृत्तिप्रति व्यङ्गय गर्ने प्रस्तुत निबन्ध संग्रहको दोस्रो निबन्ध हो। रूप र स्वभावमा परिवर्तित भएका अवस्थामा यो उही हो र? भन्‍नु पर्ने अवस्था आउछ। यसले नवीनता र परिवर्तिताका पक्षहरुलाई प्रस्तुत गरेको छ। शिशु किशोर हुने, किशोर जवान र जवान बृद्ध हुने जस्ता प्रसंगहरु परिवर्तनका प्रसंगहरु अवभासित भएका छन्। यथास्थितिमा रहिनरहने संसारको धर्म हो भन्‍ने तथ्यलाई यस निबन्धले सिद्ध गरेको छ।
संग्रहको तेस्रो निबन्ध हो —हिउँदको रमझम‘। हिउँद उमङ्ग र उन्मुक्‍तताको प्रतीकका रू
पमा प्रतिपादित छ। नेपालको परिवेश र हिउँदको पर्यावरण जीवन्त बनेर प्रस्तुत भएको प्रस्तुत निबन्ध मानवीय सहभाव र वर्गीय सहभोगका पक्षहरुलाई सचेत रूपमा स्थापित गर्न प्रयत्‍नशील देखिन्छ। सर्वेभवन्तु सुखिन र सह नौ भुनक्‍तुको भावमा अभिव्यक्त प्रस्तुत निबन्धलाई पनि निजात्मक चिन्तनको सहज प्रस्तुति स्वीकार्न सकिन्छ।
—धूनमा घुन‘ चाहिं चौथो निबन्ध हो। यस निबन्धमा प्रत्येक व्यक्तिसँग एक न एक लक्ष्म प्राप्‍त गर्ने अठोट हुन्छ। त्यस प्राप्‍तिका लागि दृढ अठोटका साथ अघि बढ्ने धून खुब हुन्छ तर त्यस धूनलाई निर्वाध रूपमा अन्तसम्म धकेल्न सक्ने अवस्था सधैं र सबै हुन सक्ने देखिदैन। यो नियति सबै मानवले भोगेकै हुन्छ। जुनसुकै लक्ष लिए पनि असांघर्षिक रूपमा गन्तव्यसम्म पुग्नु पर्ने कुरा यस निबन्धले प्रस्तुत गरेको छ।
—छुट्टीका दिन‘ संग्रहको पाँचौ निबन्ध हो। अवसरको उपयोग गर्न नजानेमा निष्प्रयोजन समय बित्‍न सक्ने कुरा यस निबन्धमा अघि सारिएको छ। जीवनमा जुनसुकै क्षण पनि महत्वपूर्ण हुन्छ तर त्यसलाई चिन्‍न सकिएन भने त्यो मूल्य विनष्ट भएर जान्छ भन्‍ने कुरा यस निबन्धमा प्रतिपादन भएको छ। ज्ञान, सत्यङ्गत र चिन्तन, लेखन, पठन जस्ता सृजनात्मक कार्य गर्ने इच्छा भएर पनि तिनलाई काममा लाउन नसक्‍ता छुट्टीका दिनहरु निरर्थक अपव्यय बनेर सिद्धिएको कुरा निबन्धकारले अघि सारेका छन्। यसै सम्प्राप्‍तिमा प्रस्तुत निबन्धको सृजना भएको छ।
छैटौ निबन्ध हो —ढुङ्गो पनि रसाउँछ‘। मानवीय सम्वेदना तरलताको प्रतीक हो । क्षीण सम्वेदनासम्म सही तर सम्वेदनाहीनतामा मान्छे मान्छे रहन सक्तैन। जति कठोर भए पनि मान्छेको मन पग्लिन्छ भन्‍ने यस निबन्धको मूल आशय रंहेको छ। मान्छेमा अनेकौ दृष्प्रवृत्ति र कठोर कार्यहरुले घर बनाएका हुन्छन्। सम्वेदता विस्तारै विस्तारै वैलाउँदो छ परन्तु मान्छेमा एकाधकण भए पनि तरलता र सम्वेदनाहरु प्रकट हुनासाथ ढुङ्गो बनेको मानव मन तरल बनेर पग्लिन सक्छ भन्‍ने कुरा प्रस्तुत निबन्धले सिद्ध गरेको छ।
सातौं संख्यामा पर्ने निबन्ध हो- भाग्गे र जुद्धे। पूर्वीय आस्थाको रहस्यलाई स्वीकार्ने संघर्षवादका मान्यताहरुका द्वन्द्वमा सृजना भएको प्रस्तुत निबन्ध पनि निकै सबल बनेको छ। पूर्वजन्मवादी रूढ आस्थावादी चिन्तनमा हुर्केका यस समाजमा के कस्ता संघर्ष गरेर मान्छेले आफ्नो पाइलो टेकाएको हुन्छ त्यो त संघर्षकर्तालाई नै थाहा हुन्छ तर यस समाजमा सजिलै भनिन्छ – भाग्यले गर्दा फलानो त्यस्तो भयो, फलानो यस्तो भयो आदि। वास्तवमा मान्छे स्वयंले संघर्षबाट आफूलाई स्थापित गर्दछ भन्‍ने यो निवन्ध वैचारिक दृष्टिले निकै सबल बनेको छ।
आठौं सङ्‍ख्यामा पर्ने निबन्ध हो- —साथको साथी‘। भौतिक रूपमा निकट रहनाले कोही साथी भइहाल्दैन । साथी भाइहाल्दैन। साथी त भावनात्मक तत्व हो र त्यो अमूर्त हुन्छ। साथमा रहँदा रहँदै पनि अमित्र होइन र साथमा नरहेर पनि मित्र होइन अत्यन्त भावात्मक तत्व हो साथी भनेको। अपेक्षा गरे पनि र सधैं मित्र माने पनि अमित्रताकै स्वागत गर्नु पर्ने दुर्नियतिको शिकार बन्‍न पुगेका लेखक मित्रत्व भौतिक रूपमा होइन भावनात्मक रुपमा मात्र प्राप्‍त गर्न सकिने तत्व रहेको कुरा यस निबन्धबाट प्रकट गर्दछन्।
नवौं क्रममा रहेका निबन्धको शीर्षक आजकाल बजार भनेको भ्रष्‍ट र लुटाहाहरूले अवैध धन्दाबाट आर्जन गरेका सम्‍पतिको प्रदर्शन गर्ने पर्यावरण हो। त्यसरी अवैध धन्दाबाट आर्जन कुत्सित बजारमा सोझो आर्जनबाट जीवन यापन गर्ने व्यक्ति कहाँ देखिन सक्छ र? वास्तवमा आजको बजार सिधासाधा कमाइका व्यक्तिले देखिन लायक नै छैन भनेर समसामयिक विकृतिलाई तीव्र रूपमा व्यङ्‍ग्य गर्ने यो निबन्ध निकै सजीव र सफल देखिन्छ।
—कुरा गरिन् खानका‘ संग्रहको दशौं निबन्ध हो । यसमा रामायणको मिथकीय बिम्बलाई केन्द्र बनाएर मान्छेले खाने कुरा थन्क्याउने पेटलाई सुरक्षाकोभन्दा पनि विशाल रहेको र जेसुकै पनि पचाइदिने वृकोदरका रूपमा प्रस्तुत गरेका छन्। मान्छेले के पचाएको छैन र पुराणकालमा समुद्र नै पचाइदिने अगस्ति पेट आज देशका जमीन जंगल, बजेट, योजना र अनुदान सबै पचाइदिने पेट बोकेर हिडेको छ। यस पेटका बाहकले आज खानेभन्दा अतिरिक्त कुरा गर्न जानेकै छैन भन्‍ने कुरा पनि प्रतीकात्मक रूपमा सिद्ध गरेको छ।
अन्तिम निबन्ध हो- —पैसा हात परेको बेला‘ अर्थ संकटको आजको विश्‍वमा थोरै आयस्रोत र अनन्‍त व्यवहारका अनेकानेक छिद्रहरूको बीचमा आजको निम्नवर्गीय जीवन द्वन्द्वका चक्रमा रूमलिएको देखिन्छ। मानवीय श्रम मूल्यमा विनिमय गरेर जीवन संग्राम झेल्नु पर्ने आजको जीवनलाई अत्यन्त ठिटलाग्दो रूपमा प्रस्तुत गरेका छन्। आर्थिक आतंकले वर्तमानलाई पूरै ग्रस्त पारेको कुरा रेग्मीका प्रस्तुत निबन्धले सिद्ध गरेको छ।
विषयवस्तुको ग्रहणका दृष्टिले रेग्मी समाजका विसङ्गत पक्षहरुलाई लिने गर्दछन्। नेपाली समाजमा धार्मिक र सांस्कृतिक, आर्थिक र नैतिक विषमता अनेक छन्। तिनलाई रेग्मीले सहज र सम्बेद्य ढंगले निबन्धमा विन्यास गर्ने प्रचलन रेग्मीका निबन्धमा पाइन्छ। नेपाली जीवनचर्यामा क्रमश: थपिन लागेका भ्रष्ट आचरण, नैतिक र आर्थिक अनियमितता, शैक्षिक र प्रशासनिक अराजकता, साहित्यिक र पत्रकारिताका भ्रष्ट आचरण उनका निबन्धमा विषयवस्तु बनेर आएका छन्।
निबन्धको गठनविधि सहज र सरल छ। वर्णनात्मक र सहज सम्बेद्य छ। रेग्मी लघु आयतनमा निबन्धको संगठन निर्धारण गर्दछन्। विषयलाई बिम्बका आधारमा प्रस्तुत गर्ने कलामा परिचित भएका रेग्मी कतै आख्यानात्मक प्रसंग र कतै अनाख्यानात्मक वर्णन शिल्पमा निबन्धलाई संगठन प्रदान गर्दछन्। यस कारण रेग्मीका निबन्धले संगठन सरल विधिमा निर्मित देखिन्छ।
प्रस्तुति कतै सपाट छ र कतै वर्तुलित छ। निबन्ध आख्यानको मौखिक प्रस्तुतिका विपरीत वर्तुलित नै हुनुपर्छ। यस दृष्टिले नेपाली निवन्ध परम्परामा रेग्मी आत्मपरक, निजात्मक र हास्यव्यङ्गयात्मक विधिमा निवन्ध सृजना गर्ने व्यक्ति हुन्। कतै लोक मिथकीय र कतै पुराणमिथकीय बिम्बलाई आधार केन्द्र बनाई विषयको उठान, विस्तार र उत्कर्ष प्रदान गर्ने र कतै लोकोक्ति र सूक्तिहरुलाई यथास्थानमा प्रस्तुत गर्ने, सरस र झर्रो नेपाली भाषा शैलीमा निबन्ध सृजना गर्ने रेग्मी नेपाली निबन्ध साहित्यको इतिहासमा सफल र अग्रणी साधकका रूपमा देखा परेका छन्। वैचारिक दृष्टिले रेग्मी यथार्थवादी निबन्धकार हुन्। नेपाली समाजको वर्गीय संरचनाभित्रका विभिन्‍न विषमताहरुलाई समन्वय गरिनुपर्ने र विपन्‍न र निम्नवर्गको हितमा निम्नवर्ग नै सचेततापूर्वक जुट्नु पर्ने जस्ता पक्षहरुलाई निबन्धकार रेग्मीले पाठकसमक्ष पेश गरेका छन्। उनको विचार प्रगतिशीलतातिर अभिमुख भएको कुरा यी निबन्धहरुबाट प्रकट भएको छ।
निष्कर्ष के हो भने रेग्मी नेपाली निबन्ध साहित्यको इतिहासका देवकोटा, शंकर र कृष्णचद्रसिंह प्रधानले निर्माण गरेका मार्गका अनुयायी, आत्मपरक र वैचारिक दृष्टिले यथार्थोन्मुख निबन्धकार हुन्। राजधानीवादबाट ग्रस्त साहित्यलाई राजधानीबाहिरबाट पनि उचाइ दिन संघर्ष गर्ने रेग्मीको लेखन अत्यन्त गतिवान् र सहज लेखनमा अग्रसर रहेको देखिन्छ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 11 चैत्र, 2072

लेखकका अन्य रचनाहरु