या अल्लाह !

- माधव काफ्ले

पीडा जतिसुकै कष्टदायी, जतिसुकै तीतो र जतिसुकै प्रताडनायुक्त भए पनि समयको प्रवाहमा बग्दै जाँदा प्रतिष्ठाको कठघरामा उभिनुपरेपछि व्यवहारको कमारो भएर सहनुपर्दो रहेछ, नचाहँदा नचाहँदै उपहासको ज्वारभाटासँगै बहनुपर्दो रहेछ, अपमानका आँसु पिएरै भए पनि घृणा आवेग र वितृष्णाको बस्तीमा रहनुपर्दो रहेछ । जीवनप्रतिको आशा र बाँच्ने लघु प्रयासको जिजीविषामा जेलिएरै भएता पनि सुनौलो संसारको मोह भनौं भविष्यप्रतिको अज्ञानले गर्दा तिरस्कारका रछ्यानमा हेलिएरै आवेग–उन्माद र उपबुज्रुग्याइँको परेडमा पेलिएरै भए पनि पिसिएरै भए पनि वेदनालाई हाँसी–हाँसी पचाउन खोज्दा खोज्दै पनि कहिलेकाहीं लाञ्छनाका सुइराहरूले मुटु र मस्तिष्कलाई च्वासच्वासी घोचेपछि विवेक र विचारलाई दारेर÷दर्फ¥याई स्मृतिपटलका सुन्दर र स्वप्निल पाटाहरूलाई सङ्कीर्णताको सिँगानले सिँगारेपछि चिन्ता र सन्तापले चौबीसै घण्टा पिरोल्दो रहेछ, आवेग र अत्यासले मानसिक सन्तुलनलाई सकेसम्म गिजोल्दो रहेछ, पीरको चिरैतोले सोचाइलाई सारै साँघुरो बनाउँदोरहेछ । अपमान र हीनताको ज्वालाले बारम्बार पोल्न थालेपछि विगतका त्यस्ता परपीडक अतीतलाई सम्झँदा पनि रिंगटा लागेर आउँदो रहेछ, कहाली लागेर आउँदो रहेछ र मुटु टुक्राटुक्रा भएर चुँडिएला जस्तो हुँदोरहेछ । र, रह्यो अपमान र लाञ्चनाको कुरो, सत्यता र स्वाभिमानलाई संसारका सबभन्दा धारिलो वस्तु ठान्नेहरूका लागि अपमानको (खिया÷कस) विश्वका क्रूरभन्दा त्रूmर र कष्टकर यातनाभन्दा हृदय–विदारक प्राणघातक र मृत्युभन्दा पनि दुष्कर हुने हुनाले नै विश्वका कैयौं स्वाभिमानी सपूतहरूले अपमानित र लाञ्छित भएर बाँच्नुभन्दा आत्महत्या गरेर मृत्युवरण गर्दै इतिहासका पानाहरूमा बाँच्न चाहेका रहेछन् ।
भनिन्छ, लेखकहत्या त्यतिबेर हुन्छ जतिबेर उसको कृतिलाई सेन्सर गरिन्छ । कलाकारको हत्या त्यतिखेर हुन्छ जतिबेर उसको कलामा कालिख पोतिन्छ, पारखीको हत्या त्यतिखेर हुन्छ जतिबेर पारख गरिएको वस्तुमाथि रौंचाचिरा गर्दै खोट देखाइन्छ अनि स्वाभिमानीको हत्या त्यतिखेर हुँदोरहेछ जतिबेर उसलाई अनाहकमा अपमानित र लञ्छित गरिंदोरहेछ ।
आक्षेप भानुभक्तमाथि पनि नलागेको हैन । आधारहीन आक्षेप पुर्पक्षका लागि उनी कुमारीचोकमा बन्दी जीवन बिताउन विवश पनि भए, देवकोटालाई पागलको बात लाग्यो र राँची पु¥याइए, रिमाल–भूपी र पारिजातलाई कम्युनिष्टको बात लाग्यो, शङ्कर लामिछाने, रमेश विकललाई कसैले छोडेनन् । चोरीको बात लागाएर धेरैले उनीहरूको हुर्मत लिने काम गरे । बात त तोलस्तोयलाई पनि बलात्कारीको, अनरे द बाल्जाकलाई परस्त्रीभोगी र दम्भीको, अर्नेष्ट हेमिङ्वेलाई सन्काहाको, माक्सीम गोर्कीलाई खातेको लागेको थियो तर उनीहरूले आफ््mनो चमत्कारी लेखनको सर्वव्यापी प्रभावले सम्पूर्ण आक्षेपहरूलाई थिचेर÷पुछेर साधनामा समर्पित भइरहे ।
तर उनीहरू त ठूला मान्छे थिए, हरेक कुरालाई निल्न पनि सक्ने र पचाउन पनि सक्ने । सृष्टिका तमाम सम्भावनालाई चुनौती दिएर जो आफ्नो पसिनाले चुलीमा चढेर नयाँ क्षितिज उघार्न सक्छ; देखिएको छ, तिनीहरूलाई आक्षेपका र तिरस्कारका शरले छुन पनि सकेनन् । कथं कदाचित् छोइहाले पनि छोइछिटाको प्रवाहमय वेगमा नबगिकनै किनारा लागेका छन् कति ! दुई खोलाको चेपमा गुँड लगाएर गुँडल्किदै बस्ने मजस्तो प्mयाउराको पिताम नै चल्दोरहेनछ आक्षेप पचाउने । (र अचेल लाग्छ–यस्ता सङ्कीर्णताका सञ्जाल तोडेर अगाडि बढ्न नसकेको कारणले गर्दा त हो नि दरो गरी लेखनक्षेत्रमा अडिन नसकेको । यदि हरेक विकृत र विसङ्गत तत्वलाई किनारा लगाउन सक्ने क्षमता आफूमा भएको भए यति सानो बतासे झिल्काले पोल्दैमा अवश्य चिच्याइन्नथ्यो होला–पचाइन्थ्यो ।)
साहित्यप्रति असीम अनुराग र स्रष्टाप्रति अत्यधिक सम्मान र आस्था मनभरि लटरम्म फुल्न फल्न थालेपछि अग्रजहरूसँगको साहित्यिक परिचय र भेटघाट चेतनाभरि मगमगाउन थालेपछि घनिष्टताका भावनाहरूको चुल्ठी हृदयभरि सुवासित हुन थालेपछि पाठक र लेखकबीच आत्मीयताको मोहनीले मनलाई लट्ठ पारेको केही सुखद दिन बित्न नपाउँदै एक्कासि जसबाट प्रेरणा लिने प्रण गरिएको थियो, जसको छवि आफ्नो स्मृतिपटलमा त्रिमूर्ति अर्थात् ब्रह्मा, विष्णु, महेश्वरको रूपमा पवित्रताको पराकाष्ठामा पु¥याएर स्थापित गरिएको थियो, जसको अतुलनीय विद्वत्ता र मूल्य विचारको प्रभाव प्रत्येक अणुअणुममा घुलमिल भएर सग्बगाइरहेको थियो जसलाई सदैव सत्यको प्रतिमूर्तिको रुपमा स्वीकार गरेर स–सम्मान हृदयको सिंहासनमा राखेको थिएँ – तिनै महामहिमले, विद्वान् र विवेकी महापुरुषले, तिनै दूरदर्शी समादरणीय स्रष्टाले अपराध नै विना आशङ्काको भरमा अविवेकी पाराले अर्थात् घटिया किसिमले अपमानित गरेपछि अनाहकमा आफू लाञ्छित भएको सुन्नु परेपछि, आफ्नै अग्रज सहकर्मी र शुभचिन्तकहरूले पनि चोंचो र मोचो मिलाउँदै उहाँकै कथनमा हाँमा हाँ मिलाउँदै घृणा र अपहेलना गरेको सुनेपछि एकदिन आफूले टेकेको धर्ती ह्वास्सै भासिएको र त्यही अत्यासलाग्दो तिरस्कारको भासमा चुर्लुम्म डुबेकाबखत आवेगले अररो बनेको मुटु समाउँदै ग्लाग्निले आहत भएर अपमानको भुङ्ग्रोमा पिल्सँदै–कोक्किदै र भक्कानिदै करिब १७ वर्ष अगाडि पाकिस्तानका पूर्व प्रधानपन्त्री जुल्फिकार अलि भुट्टोले फाँसीको डोरी घाँटीमा कसिन थालेपछि भनेका शब्द संझिदै भनेको थिएँ– “या अल्लाह ! मुझे माफ करना, मै बेगुनाह हूँ ।”
मसँग मेरो स्वाभिमानबाहेक सफाइका कुनै प्रमाण थिएनन्, न त हनुमानले जस्तै सत्य कस्तो हुन्छ भनी छाती चिरेर देखाउन सक्ने क्षमता नै थियो । सत्य जे जस्तो थियो मेरो मनभित्र मात्रै थियो । त्यसलाई छालाको आवरणले ढपक्क ढाकेको हुनाले परचक्रीका चर्मचक्षु त्यहाँ भित्र छेदन गरी पुग्न नसकेको हुनाले पनि केही समय विक्षिप्त भएर हिंड्नुप¥यो मैले । घटनाले घुमाएर परिबन्दको खाल्टोमा खाँदेपछि मेरा आत्मीय सहकर्मीहरूले नै शङ्का र वितृष्णा गरे भन्ने सुन्नु परेपछि प्रतिवाद गर्न पनि बेकार लाग्यो । विश्वास भएन ! कतै विश्वास उघारेर देख्न सकिन्छ । जहाँ विश्वासको सङ्कट नै आपसी सद्भावको बीचमा धाँजो परेर बसेको छ भने त्यहाँ अनुनयको अर्थ नै के हुन्छ र ? जसले जस्तो दृष्टिकोण र सोचाइ राखे पनि मैले हो पनि भनिनँ, होइन पनि भनिनँ केवल सुनिरहें÷सहिरहें र अरुलेनै पहिले प्रतिवाद गरुन् भन्ने आशय बोकी समयको निर्णयलाइ पर्खिरहें । ढिलो,चाँडो मात्रै हो सहन सके एकदिन सत्य अवश्य पनि छर्लङ्ग हुँदै सवैका सामु स्वच्छ भएर उदाउने छ भनेर नै धेरै विद्वान् विदुषीहरूले भनेका हुनाले नै यही कथनलाई गुरुवाणी सम्झी केही समयसम्म सन्तापमा डुब्दै उत्रँदै अन्तरात्मामा चसक्क बिझेका भुट्टोका अभिव्यक्ति झलझली सम्झदैै रहेंं– ‘या, अल्लाह ! मुझे माफ करना मै बेगुबाह हूँ ।”
एक त धर्मप्रति अनास्था राख्ने म, त्यसमा पनि आफ्नो धर्म छोडेर मुस्लिम धर्मका प्रचारकले जप्ने नाम बराबर उच्चारण गर्नु मेरो लागि सहज र स्वाभाविक भए भएता पनि अन्य धार्मिक उपासकहरूका लागि घृणास्पद कुरा भएता पनि विधर्मी यी शब्द संयोजनको कताकता भित्री तहमा अत्तरआत्माको गुञ्जन, भरोसाको मीठो सुसेली र आत्मसन्तुष्टिको सुकिलो अनुराग जताजतै पाए पछि म त्यतै ढल्किन थालें । लाञ्छनाको रापले मेरो मानसिक सन्तुलनलाई कच्याक कुचुक पारेर किचेको हुँदा अपमानको,पीडाको,प्रतारणाको अगाडि यी माथि उद्धृत गरिएका भुट्टोका शब्दहरू मानसिक असन्तुलनले पीडित मेरो मथिङ्गललाई सान्त्वना दिने सञ्जीवनी भए, सहाराका लौरा भए, सदाशयता र सान्त्वनाका सम्वाहक भए । मनलाई चिरेर अँध्यारोलाई हलुक्याउने आगाका झरिला झिल्का साधन र स्रोत भएका हुनाले नै जानी जानी भनौं आतेसले अर्खरिएको मनलाई मुसार्न यो धृष्टता गरेको हुँ । अतिशयोक्ति नै सही आत्मसन्तुष्टिको निम्ति ।
सम्मानको भूत मस्तिष्कका चढेको हुनाले भर्खरै शिलान्यास गरिएको आत्मीयताको आँकुरो शैशवावस्थामै सहिद हुन पुग्यो । अग्रजहरूको सन्निकटताको छहारीमा लहस्सिएको र उहाँहरूको उदेकलाग्दो संस्मरणको पोखरीमा डुब्दै, उत्रँदै, गोता खाँदै आनन्दमयी अनुभूतिहरूलाई गमक्र्याएको अपराध लाग्यो र आक्षेपको माझमा तिरस्कारको रनाहा नसकियुञ्जेल भास्सिइरहें । मेरो स्वाभिमानलाई गुरुदक्षिणाको वेदीमा पुर्याएर हर्थुङ्गो तान्न थालिएपछि आतेसले मेरो सातोपुत्लोनै उड्यो र अस्वाभाविक किसिमले उम्रिएका जिउका काँडा देखेपछि लाग्यो अपमानको जेमदूत ह्वाङ्ग मुख बनाएर विकराल दारा देखाउँदै मेरो मानसिक सन्तुलनलाई चपाउन आफ्नो पुख्र्यौली बल र बुता निकाालिरहेको र म त्यसैमा समाहित हुँदैछु । मानसिकता लथालिङ्ग भएर छरपस्ट भएता पनि संयम भन्ने जिनिसलाई छोडिहाल्न त्यति मन लागेन भनौं सकिन । कतैबाट कुनै तत्व वा इन्द्रिय हावी भएर हो आत्माको कुनामा कतै अल्झी बसेछ । आक्षेपको ग्रहण मेरो फुसुने चरित्रमाथि खग्रास रहुन्जेल विक्षिप्त सन्तुलनसँग सिंगौरी खेल्नु नै मेरो दिनचर्या हुन थाल्यो । सानाभन्दा साना कमजोरीहरूलाई अभर परेको बखत नियन्त्रणको लगाम लगाउन सकिएन भने आरोप अलग्गिने हैन चुलिदै झन् चुलिंंदै जाने डर बँधियाको मुक्कामा लागेको आगो झैं झरझराउँदो भएर मुटुभित्र चुल्ठिन थालेको हुँदा आचरणको अनुष्ठानमा समाधिस्थ भएर लुक्ने प्वाल र पस्यौटो खोज्दै हिंडे । प्रतीक्षाको सूर्य ग्लानि, चिन्ता र असन्तुलनको अँध्यारोलाई चिर्दै क्षमायाचनाको डाँडो छिचोलेर उदाएता पनि मेरो मनसम्म पुग्न सकेन र अपमानले धुजा धुजा भएर टुक्रिएको मुटुको फबल्याँटो झन्झन् चोइटिन थाल्यो झन्झन् चह¥याउन थाल्यो । चोटग्रस्त विवेक आत्मा–आलोचनाको मलमले केही क्षण पिसाबमाथिको न्यानो झैं तातो हुन पुगेता पनि खाटाका डामहरू झन्झन् खँदिला हुँदै गहिंरिदै गए, झ्याङ्गिदै गए, क्षत–विक्षत हुँदै गए । चोट गहिरिएको हुनाले करिब दुई तीन माससम्म अपमानको भास र भड्खालामा निसास्सिने गरी डुब्दै पीर र चिन्ताको मृत्युशैयामा छट्पटिइरहें । तिरस्कारको घनघोर जङ्गलमा पथविहीन भएर दौड्दा दौड्दै छर्छर्ती भएका पाँसुला र पिडौंलाहरूका शिथिल मांसपेशीहरूले बारम्बर भोगाइको चिरैतो मुखमा कोचिदिन पुगेपछि जति बिर्सन खोजे पनि जति बुझ्न खोजे पनि मन मुन्टो निमोठेर फ्याँकेको कुखुराको चल्लाजस्तै यत्रतत्र बुरुक्बुरुक् उफ्रन थालेको हुनाले मैले चाहेर पनि चिताएर पनि कज्याउन सकिनँ,कयसमा राख्न सकिन मनलाई । सत्य कुरा पारिलो घाम झैं छर्लङ्ग भएर मेरो चरित्रलाई पुछपाछ पारेर चोख्याउन हतार गरेको थाहा पाए पछि पनि, सान्त्वना र सहानुभूतिका बिटा सबैबाट बर्सन थाले तापनि आक्षेपबाट आलोचित बनेको मनलाई पखालेर फक्रिन तम्सिएको मेरो विवेकको लगाम खरानीको डोरी जस्तै भइरहेको थियो त्यसबेला ।
सत्ते ! मैले बिथोलिएको÷बिच्किएको मेरो विचारलाई संयममा राख्न सकिनँ । सम्झियो कि सियोको टुप्पोले कता कता च्वास्स घोचेझैं भइरहने हुनाले मनभित्रको अन्तद्र्वन्द्व विद्रोहको मसाल लिएर औपचारिकताको जगलाई जलाउन उद्यत भएर मौकाको ताकमा दोबाटो कुरिरहेको थियो तापनि स्वाभिमानले सिर्जना गरेको युग र परिवेशजन्य आदर्श आस्थाको ज्योतिपुञ्ज भएर मेरो सोचाइको गन्तव्यलाई छिरकिनी लगाइरहेको थियो ।
भर्खरै स्थापित भएको आत्मीयतालाई एक्कासि निमोठ्नु पर्दा हज्जारौं गोमनले एकैचोटि डसेजस्तो भो । असमझदारी भनौं अवास्तविक तथ्यको पछि लाग्ने अविवेकी राहुले निल्न खोेजेको मूल कडी घटना–प्रसङ्ग वा परिवन्दलाई हज्जारौ चोटि धारे हात लगाएर धिक्कार्दा पनि प्रफुल्ल हुन सकेन मन । बाबै नि ! त्यस्तो हुन्छ होला भन्ने पहिले नै थाहा पाएको भए म कति टाढा तर्केर बस्थें हुँला । मेरो मस्तिष्कमा त सम्मानको भूत चढेको थियो त्यतिखेर । अनि पो त लहस्सिएको थिएँ अग्रजहरूको सन्निकटताको छहारीमुनि र डुब्दै गरेको थिएँ उहाँहरूका ज्ञानवर्धक गुणवर्धक र प्रभावोत्पादक भोगाइका धमनी भनौं प्रवाहमा अनि फुर्केको थिएँ प्रेरणादायी अनुभूतिहरूमा बाँकटे हानेर उड्न पाउँदाखेरि ।
उफ् ! कसरी बयान गरूँ म अकथनीय वेदनाले छट्पटाएर पिल्सनुभन्दा पूर्वको स्थिति । उहाँको आगमनको तयारीमा एकाविहानैदेखि उत्सुकता र रहरले बाटोभरि प्रसन्नता र उमङ्गका मखमली ओच्छयाएर अझ दाजु निर्मोही व्यासका शब्दमा भन्ने हो भने ‘ओठमा जादूगरीको मोहक मुस्कान खेलाएर मुहारभरि ढकमक्क सौन्दर्यको सयपत्री र लाजको लालुपाते फुलाएर, आँखामा सुहागरातको स्वर्णिम स्वप्न सजाएर र सर्वाङ्गभरि सुगन्धी बैंसको मादकता छचल्काएर प्रतीक्षारत थिएँ । चिनापर्ची थिएन । बाटामा कोही खाइलाग्दो मान्छे देख्दा, सुकिलो र सफा मान्छे कतैतिरबाट आएको देख्दा मनमनै उहाँ त पक्कै हुनुहुन्छ होला, उहाँ त पक्कै उही मान्छे हुुनुहुन्छ होला भन्दाभन्दै पला बित्दछ, घण्टा बित्छ; निधारमा देखिने घाम तालुमा पुग्छन्, तर देखिनुहुन्न । एक मनले त भन्थ्यो ‘जाऊँ कति पर्खी रहनु’ तर आशाको संसारमा सञ्जीवनी भएर दौडिरहेको प्रभाव रक्तप्रवाह नलीमा झन्झन् चहकिलो झन्झन् तेजिलो भएर उम्लिरहेको थियो । उहाँको आगमनमा आशाका असङ्ख्य लहरहरू फुलाएर कुरिरहने अन्य सहकर्मी मित्रहरू पनि हुनुहुन्थ्यो । उहाँहरू भने विहान सातै बजेदेखि तराइमूलको छट्टु व्यापारी जस्तो लाग्ने जिउडालको छिप्पिएको खयरको ठूटोजस्तै अथवा राँठ इटाको रंग जस्तै ताछेको हलोको पिंधजस्तै चेप्टो र बीचमा फाली अड्याउन गाडेको करुवा जस्तै काला घोप्टेजुंगा भएको दक्षिण भारतीय मूलको झैं लाग्ने मान्छेको जादुगरी भाषणमा चुर्लुम्म डुबिरहनु भएको थियो । मित्र मण्डलीहरूको साँध सिमाना काटेर तारन्तर मेरो कानमा ठोक्किइरहेका उहाँहरूका आकर्षक गरिमामय र रमाइला शब्दकल्लोलको जादूगरी झङ्कारले मनलाई चिमोट्तै र चुस्तै तानिरहेता पनि आफ्नो अभिष्टिबाट अलग्गिन सकिरहेको थिइनँ । केहीगरी यिनै गुलिया गफमा भुलेका बखत उहाँ फू–मन्तर हुनुभो भने विषादमा डुब्नुसिवाय अर्को विकल्प नलागेको हुनाले पनि मदनको प्रतीक्षामा सुन्दर सौन्दर्यको कल्पनाहरू उमारेर प्रतीक्षारत मुना झैं एकटक बाटातिरै लगाएर बसिरहेको थिएँ ।
हुन त यति मरिहत्ते गर्नै पर्दैनथ्यो भेट्न । उहाँ आउनुभएको पूर्व सङ्केत चैतको डडेलोझैं चारैतिर फिजिइसकेको थियो र धैर्यधारण गर्न सके तोकिएको समयमा निर्दिष्ट ठाउँमा अवश्यनै भेट हुन सक्थ्यो । तर ममा निदिष्ट सयम वा स्थानसम्म पर्खने धैर्य नै कहाँ थियो र ? तोकिएको समय अगावै भलाकुसारी गरे अन्तरभावनाहरू साटासाट गर्ने रहरको मातले मदहोश बनिसकेको थिएँ । फेरि उहाँका तमाम रचनाहरु सुनाउने विकार जुन मनमा बाँकी थियो त्यो तारन्तार भरिएको पिसाबको थैली जिस्तै टन्किरहेको थियो भित्रभित्रै र त्यसैको औडाहा मुसार्न एकलव्य बनेर बाटो कुरिरहेको थिएँ ।
“ओ मित्रवर ! नून खाएको पोथी झैं किन झोक्रनु भएको हँ ? भित्र पस्नोस् न ।”
– भित्र पस्दा बाहिरको दृश्यले दर्फ¥याउँछ कि ! एकछिन पख्नोस् न !
– हन के पालिसे कुरा गरेको ? खुलस्त भन्नुस् न ? साम्वजी अलि खुकुलिंदै आग्रह गर्नु हुन्छ ।
कोमल हृदय भएको कवि साम्वतर्फ नै प्रश्न हुत्याउँदै सविना मिश्रसँग शब्द सापटी लिएर भनि दिन्छु
“सिर्फ यत्ति जान्दछु कि म प्यारमा छु ।
उनी आऊन् या नआऊन् इन्तजारमा छु ।”
अलि छिल्लिन खोज्दै आर.आर.जी भन्नुहुन्छ – “हैन कुरा त्यहाँसम्म पुगिसक्यो ! हामीले त सोचेका थियौं तपाई एक पत्नीभक्त पुरुष हुनुहुन्छ । तर आज थाहा पायौं तपाई एकभक्त हैन कि सहस्र भक्त हुनुहुँदो रहेछ ।” एउटा उन्मुक्त हाँसोले छपक्क छोपेपछि अताल्लिदैं भन्छु – “पत्नीभक्त हैन आज पुरुषभक्त भएको छु ।”
हाँसोमाथि हाँसो खप्टिंदै साम्वजी भन्नुहुन्छ – “त्यसो भए तपाईं समलिङ्गी पुर्नभयो हैन ? त्यस्तो सौभाग्यशाली पुरुष पो पर्नुभयो त ?” यो लिङ्गको लाठो झन् व्यङ्ग्यात्मक भएर पुर्पुरोमाथि बर्सन थालेपछि अलि खुलस्त हुँदै भनिदिन्छु – “प्रमुख अतिथिज्यू !”
बस् ! यत्ति के भनेको थिएँ । मानौं मैले कुनै जघन्य अपराध गरेझैंं सहस्र खित्काहरू अन्यौलको अँध्यारो कुनाबाट कुद्दै आएर ट्याप्प मेरो कठालोमा समाउन आइपुग्छन् । कता कता मन चसक्क बिझाउँछ । म अक्कमक्क परेको देखेपछि यथास्थितिलाई चिर्दै हाँसो ब्यारेकबाट बुरुक्क उफ्रेर तिनै धुमरधुस्से मान्छे सौहार्दपूर्ण मुस्कान र शालीन चालाढालाकासाथ अगाडि बढेर परिचयको पोको फुकाउँदै भन्नुहुन्छ – “बालकृष्ण नामधारी कालो केटो मैं हूँ ! कसैकसैले त रुपावासी पनि भन्छन् । कैलेकाहीं बहुला र केकेमनुच्यो भएर पनि उदाउँछु ।”
– हरे शिव ! कस्तो हरिलट्ठक म । यस्तै बोधो मानसिकताले गर्दा त होला नि मैले कुनै क्षेत्रमा पनि गतिलो प्रगति गर्न नसकेर अरूको पुच्छर र पिछलग्गु हुनुपरेको । जसको प्रतीक्षामा तीनतीत घण्टासम्म आँखा पनि झिम्म नगरी दृश्यलाई बाटोमा ओछ्याएर बसेको थिएँ, – उहाँ त आफ्नै अगाडि बिहानैदेखि आश्चर्यका रोचक संस्मरण सुनाउने उनै धमरधुस्से पो हुनु हुँदोरहेछ । सुनेपछि कहालीलाग्दो अक्करे भीरबाट खसेर शतचूर्ण हुँदै चोक्टा चोक्टा हुनपुगे झैं लाग्छ । आफ्नो गोज्याङ्ग्रोपनदेखि लाजले भुतुक्क हुन्छु पनि । त्यसपछि–त्यसपछि त म ज्ञानको महासागरमा तृप्तिको खोजी गर्दै बल र बुताले भ्याएसम्म पौडन थाल्छु । एकैछिनपछि त हामी यति सन्निकट हुन्छौं कि लाग्छ, हामीहरूको परिचय अहिले मात्र होइन जन्म–जन्मान्तर अघिदेखि नै भइआएको हो । उहाँको सामिप्यको सिंयालमा जिज्ञासाका अनगिन्ती बिउहरू उमार्दै फिंजिदै जान्छु, फैलँदै जान्छु वात्सल्यपूर्ण उहाँको न्यायो आत्मीयताको खोकलीभित्र । कार्यक्रम अवधिभरिनै हामी एक आर्काका प्रतिछायाँ भएर बिताउँछौं । कार्यक्रम सकिएपछि पनि अन्य कसैलाई नचिने झैं र कसैको चासो नभए झै गरी उहाँ म पट्टिनै ढल्कँदै जानुहुन्छ र वार्र्ताको लगाम बेतोडले छोडिन्छ रातीको २ बजेसम्म । रात धेरै छिप्पिइसकेपछि दिनभरिको थकान उहाँको अुहारमा सलबलाउन थालेको देखेपछि जिज्ञासाका पोकापन्तुरालाई गुठुरी पार्दै पन्सिन थाल्छु, अपितु उहाँ आफ्नो उत्साहमा कुनै कमीको छनक नै नल्याएर सविस्तार मलाई तृप्त पार्न कम्मर कसेर लागिपरिरहनुभएको थियो । उहाँलाई जाग्राम राखेर आफ्नो अनुष्ठान पूर्ण गर्ने धृष्टता गर्न सकिनँ । उहाँको आग्रहको बाबजुद पनि सुतें । केहीक्षण पछि नै चहलपहल सुरू हुन थाल्यो । आ–आफ्ना गुँड छोडेर चरा चिर्बिराउन थाले । टाढा टाढाबाट पाल्नुहुने पाहुनाहरू हिंड्ने तर्खर गर्न लाग्नु भएको चाल पाए पछि मैले पनि मन थाम्न सकिनँ । आफ्नो झोली तुमडी टिपेर पछि लागें । हिंड्ने बेलामा उहाँसँग बिदावारी हुने उत्कण्ठाले ग्रसित भएता पनि उहाँको निन्द्रा बीचैमा टुक््रयाइदिने आँट गर्नै सकिनँ । चरणस्पर्श गर्दै बाटो लागें । हिंडेको केही घण्टाको विश्रामपछि ब्युझँनुभएछ । बाटा लाग्ने बेलामा बगली रित्तो देखेपछि उहाँको हंसलेनै ठाउँ छोडेछ एकपटक । कोठामा हामी दुईजना मात्र थियौं । उहाँले खोज्नु पनि भएछ सबैतिर । र कतै पनि केही पत्तो नलागेपछि ..............। यसपछिको घटनाको बयान त मैले माथि नै गरिहालें ।
– घर पुगेपछि झोला खन्याउनु हुँदा झोलाको एउटा गोजीमा सुरक्षित रहेछ उहाँले हरायो भनौं चोर्यो भनेर आक्षेप लगाउनु भएको बस्तु अर्थात रुपैंया ।
– हराएको बस्तु भेटिएको जानकारी चाहिं ठूलै युद्ध जीतेको भाकामा जानकारी चाहिं दिनुभयो तर हिंड्ने वेलामा साहित्य गोष्ठीका आयोजकहरुले सयौं ठाउँ याचना गरेर गिड्गिडाउँदै ट्वाक थापेर भर्ताल गरेको रकम चाहिं फिर्ता गर्नु भएन ।
उहाँले आत्माआलोचना गर्नुभयो । नगर्नु भएको भए पनि मेरो मनमा उहाँप्रति कुनै आक्रोश छैन, कुनै गुनासो र कुनै विद्रोह छैन । उहाँप्रति गरिनुपर्ने जुन सम्मान छ सद्भाव छ, सदाशयता छ त्यो मेरो मनमा उत्तिकै छ । उहाँलाई म उतिनै श्रद्धा गर्छु जति पैले गर्ने गरेको थिएँ । उहाँको विद्वत्ताको प्रभाव अणु–अणुमा परेको छ । परिबन्दको चक्रव्यूहमा परेर नहुनुपर्ने घटना घट्यो यसको दुःख त लाग्यो नै । मन पूर्णिमाको जून जस्तै कञ्चन भएता पनि किन हो किन ‘बालकृष्ण’को नाम कसैले उच्चारण गर्दा उहाँलाई सामुन्ने देख्दा काम ज्वरो आउन थाल्छ, जिउनै जिरिङ गर्दै अररो हुँदै जान्छ, अत्यासले एक्कासि भन्न थाल्छु – “या अल्लाह ! मुझे माफ करना मै बेगुनाह हूँ ।”

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 11 चैत्र, 2072

लेखकका अन्य रचनाहरु