गान्धीको समाधिस्थल

- भेषराज रिजाल

वि.सं.२०६९ साल जेठ १९ गते तदनुसार सन् २०१२ जुन १ तारिख ।
बिहानै हरिहर सरको फोनले रोमाञ्चित बनायो । कतै डुल्न निस्कन हरिहर सरको फोनमा तत्काल सम्पर्क भएजतिका जम्मा भइयो - मधु सर, हरिश्चन्द्र सर, सूर्य सर, राजेन्द्र सर र म ।
ओबराय होटल नजिकैको अमीर खुसरो पार्कबाट गाडी चढियो । धेरै वर्षछि पब्लिक गाडी चढेर म दिल्लीको दुनियाँ हेर्न निस्किएँ । करीब छब्बीस वर्षअगाडि दिल्लीमा केही महिना बस्दा चढेको थिएँ त्यस्ता गाडी । मलाई थाहा थियो भारतीय पब्लिक गाडीका विशेषताहरू – पछिल्लो ढोकाबाट चढ्ने, अघिल्लो ढोकाबाट झर्ने र भाडा तिर्दा टिकट पाइने ।
‘नेताजी सुभाष मार्ग’ बाट गुड्दै थियो गाडी । दाह्री जुङ्गा सेतै फूलेका सरदारजीहरूको आपस्त कुराकानीमा खुलेको हाँसो र खुला किताबजस्तो सडकका पाना पल्टाउँदा चाँदनीचोक आइपुगेछ ।
सोच्दै थिएँ, कोही पनि गन्तब्यहीन हुन सक्दैन । हाम्रो घुम्न जाने ठाउँहरूको ठेगान नभए पनि फर्कने ठाउँ र समय ऐनाजत्तिकै स्पष्ट थियो ।
जैन मन्दिरको गेटबाट नमस्कार गरेपछि चाँदनी चोकभित्र छिर्र्यौँ । सडक किनारमा सुतिरहेका मान्छेहरू । फोहरका डङ्गुरहरू । भित्तामा रगताम्मे अनुहार भएको फिल्मी पोष्टर । त्यो चोकमा उभिँदा सम्झयो ‘चाँदनी चोक टु चाइना’ नामक हिन्दी कथानक फिल्म । गौतम बुद्ध भारतमा जन्मेका हुन भन्ने त्यो फिल्मको कथानकलाई धिक्कारेर हामी लाल किल्लातिर फर्कियौँ । दिउँसो मात्र खुल्ने गरी प्रहरीको पहरामा घेरिएको त्यो किल्लाले पनि पटक्कै आकर्षण गर्न सकेन । हामी अन्त कतै जान त्यहाँबाट फर्कन थाल्दै थियौँ । ग्राहक खोज्दै कुनै ट्राभल्सको एकजना मान्छे त्यहाँ आइपुग्यो । हामीले नसोधेरै उसले विभिन्न दर्शनीय स्थानको नाम भन्न थाल्यो ‘जामा मस्जिद, राजघाट, इण्डिया गेट, गान्धी म्युजियम, सफ्दरजङ्ग एयरपोर्ट, कुतुब मिनार, राष्ट्रपति भवन, संसद भवन, सुप्रिम कोर्ट, ...।’
हामी नजाने भए पनि उसले भन्न छोडेन । उसले भनिरहेका ठाउँका नाम ध्यान दिएर सुन्दै थिएँ मैले । उसले फेरि अलि टाढाका ठाउँहरू भन्नथाल्यो ‘मसुरी, नैनिताल, जम्मु, अमृतसर, आग्रा, जालन्धर, जयपुर, अजमेर, जोधपुर, हरिद्वार, लुधियाना, ...।’
हामी आफैँले नजिकको सेरोफेरो नियाल्नु थियो । धन्यवाद दिँदै ऊबाट विदा भइयो ।
‘मेरो पौरख, मेरो गौरब, मेरो काठमाडौं ।’ काठमाडौंको रत्नपार्कजस्तै फोहर र अस्तव्यस्त त्यो चोकबाट गाडी चढेर निस्कनै लाग्दा मधु सरले नारा लगाए जसरी भन्नुभयो– ‘यसका सम्बन्धमा एउटा रोचक प्रसङ्ग छ ।’
‘यो त काठमाडौँका पूर्व मेयर केशब स्थापितका पालामा काठमाडौं महानगरपालिकाले राखेको नारा होइन र ?’ हरिश्चन्द्र सरले सोध्नुभयो ।
मधु सरले फेरि थप्नुभयो ‘हो, तर हाम्रो काठमाडौं नभनेर मेरो काठमाडौं भन्ने कुरामा तर्कवितर्क हुँदा तत्कालीन मेयरले भनेछन् रे मेरो घरको ट्वाइलेट कस्तो सफा हुन्छ अनि हाम्रो रत्नपार्कको साझा ट्वाइलेट कस्तो छ ? अपनत्वबिनाको पौरख र गौरवको के अर्थ । त्यसैले मेरो पौरख, मेरो गौरब, मेरो काठमाडौं ।’
‘हाम्रो’ र ‘मेरो’ बारेमा विवाद गर्नेहरू नाजवाफ भएझैँ हामी पनि नाजवाफ भयौँ । अपनत्व बोध हुन नसकेको रत्नपार्कजस्तै चाँदनी चोकलाई हामीले छोडिसकेका थियौँ ।
हरिहर सरले मलाई खुसुक्क देखाउनुभयो । सूर्य सर र हरिश्चन्द्र सर बसेको सिटमाथि ‘वरिष्ठ नागरिक’ लेखिएको थियो भने मधु सर र राजेन्द्रको सिटमाथि ‘विकलाङ्ग’ । धन्न हरिहर सर र मेरो सिटमाथि भने केही लेखिएको रहेनछ । नत्र हामीले हाँसोको सुरूवात नगरी खुम्चिएर देखोनदेखो गर्नुपथ्र्यो । हामी मुखामुख गर्दै हाँसेको देखेर अरूले पनि थाहा पाइहाले । सबै हाँस्न थालियो । लाग्यो, कार्यान्वयन नगर्ने नीति बनाउनु जग हँसाउनु नै हो ।
महात्मा गान्धीको समाधिस्थल हेर्नका लागि हामी गाडीबाट राजघाटमा झर्र्यौँ । हल्का हुन एउटा ट्वाइलेटभित्र छिर्यौँ । त्यसको भित्तामा लेखिएको थियो -पुरुष प्रशाधन केन्द्र । ट्वाइलेट जान खोजेको मान्छे चमेनागृहभित्र छिरेको अरू कसैको प्रसङ्ग सुनाएर मधु सरले हँसाउनुभयो । सुन्दर दुबाको चौर छिचलेर समाधिस्थलको गेटमा पुग्दा हाम्रो हाँसो थामियो ।
गेटमा लेखिएको थियो ‘एक अचुक ताबिज’ अर्थात् गान्धीको जन्तर । त्यसमा लेखिएको हिन्दी र अङ्ग्रेजी अनुच्छेदको आसय थियो - ‘म तपाईंलाई एउटा जन्तर दिन्छु । जब तपाईं अन्योलमा हुनुहुन्छ वा तपाईंको आफ्नो स्वार्थ प्रबल हुनखोज्छ, एउटा कदम उठाउनुहोस् । आफ्नो मनको आँखाको सामुन्ने तपाईंले चिनेको कुनै यस्तो गरीब र असहाय मान्छेको चेहरा ल्याउनुहोस् र आफैँसँग सोध्नुहोस् कि तपाईंले गरेको काम उसका लागि उपयोगी हुन्छ ? त्यो कामले उसलाई उसको जीवन र भविष्य बनाउन मद्दत गर्दछ त ? अर्को शब्दमा, तपाईंको कामले देशका करोडौं भोका, नाङ्गा मान्छेको स्वाधीनताको बाटो देखाउँछ त ! यति सोच्ने बित्तिकै तपाईंको सारा अन्योल हट्नेछ र स्वार्थ मैनजस्तै पग्लेर जानेछ ।’
समाधिस्थलभित्र छिर्र्यौँ । गोलाइँचाका रूखहरू वरपर रहेको फराकिलो किल्ला । किल्लाको बीचमा रहेको समाधिमा दीप बलिरहेको । मण्डपतिर छिर्ने ठाउँमा तिरङ्गा फिताले घेरिएको । मण्डपमा सजिलै पढ्न सकिने गरी लेखिएको -हे राम । गान्धीले बोलेको अन्तिम शब्दावली हो रे ‘हे राम’ ।
हामी मण्डप वरिपरि पनि घुम्यौँ । मैले महात्मा गान्धीलाई सम्झेर नमन गरेँ । महात्मा गान्धीको सादा जीवन उच्च विचारले आर्जिएको भारतीय स्वतन्त्रता र स्वाधीनतालाई पनि स्मरण गरेँ ।
हामी बाहिर निस्कन लाग्यौँ । ‘अचुक ताबिज’ लेखिएको गेटनेर आएपछि त्यसलाई पृष्ठभागमा राखेर खिचेको फोटो मैले मधु सरलाई देखाएँ । सरले गर्भवती महिलाको जस्तो आएछ भन्नुभयो । गर्भवती महिला माया र श्रद्धाको प्रतिमूर्ति भए पनि सरले आफ्नो ज्याकेटले उठाएको ठूलो भुँडीलाई इंगित गरेजस्तो लागेर मलाई पनि बेस्सरी हाँसो लाग्यो । अनि आफ्नै कल्पनाले पनि । नेपालमा भए मान्छेहरू राष्ट्रका महान व्यक्तित्वको वाणीमा लेखिएको शब्दावली पनि बिगारेर अचुकलाई कि त चुक बनाइदिन्थे, नभए त्यसमा चुकै दलिदिन्थे । हाँस्दाहाँस्दै मुलुकमा फैलिएको अराजकता र बेथिति सम्झेर फेरि रून मन लाग्यो मलाई ।
समाधिस्थलको गेट बाहिर निस्किएर केही अगाडितक पैदल हिँडयौँ । राष्ट्रिय गान्धी सङ्ग्रहालय र पुस्तकालयको नजिकबाट फराकिलो सडक पार गरियो । मधु सरले काठमाडौं कोटेश्वरस्थित फराकिलो बाटाको छेउमा राखिएको बोर्डको स्मरण गर्नुभयो ‘काटेश्वरस्थित सडक अन्तर्राष्ट्रियस्तरको छ अनि हाम्रो व्यवहार चाहीँ नि’ मैले मनमनै भनेँ विशुद्ध नेपाली पारा र राष्ट्रियस्तरको ।
इन्दिरा गान्धी इण्डोर स्टेडियम जाने चोकनेरको बस स्टपमा गाडी पर्खिरहेका एकजना भद्र पुरुषले जानकारी दिए -तीन सय सात, तीनसय नौ र उनन्चालीस नम्बरमध्ये कुनै पनि बसमा चढे ओबराय होटल नजिक पुगिन्छ । हामी भनिएकै कुनै नम्बरवाला बसमा चढयौँ । हामी झर्ने ठाउँ बताए पनि राम्ररी बुझाउन सकिएनछ वा त्यो बस हामी जाने रूटको रहेनछ क्यारे अर्कै ठाउँमा झारिदिएछ ।
हामी अटो पार्कनेर थियौँ । एउटा अटोलाई सोध्यौँ । प्रति अटो एकसय असी भन्यो । पचासका दरले लैजानभन्दा उसको जवाफ थियो - चढ्ने र र्झने चार्ज मात्र लाग्छ पचास, यो त राजधानी दिल्ली हो ।
हामीलाई ढिला भइसकेको थियो । त्यसैले छिटो गलिहाल्यौँ । बजार मूल्य कायम भयो प्रतिअटो सय रूपैयाँ । हामीलाई इण्डिया गेट घुमाउँदै अटोले एकैछिनमा होटल ओबरायको गेटमा झारिदियो ।
‘जाकिर हुसेन मार्गको अमीर खुसरो पार्कनेर झर्ने भनेको त बसले जाकिर हुसेन कलेज पो पुर्याइदिएछ ।’ ओबराय होटलको गेटबाट भित्र छिर्दै गर्दा हामीले ठट्टा गर्यौँ । ‘धन्न जाकिर हुसेन अस्पताल (यस्तो नामको अस्पताल छ कि छैन थाहा छैन) झारिदिएनछ ।’
खाजाका टेबुलमा पनि सम्झियो हिन्दी नामाकरण । रेल चढ्न टिकट लिन गएका एकजनाले रेल नभनेर ँवाष्फ यन्त्र चालित लौह पथगामिनी’ भन्दाभन्दै रेल छुटेर घण्टौँ पर्खन परेको प्रसङ्ग चल्यो । ‘दो चक्र वाहनके अग्रचक्र वक्र हो गए, उसे सुचक्र करनेमेँ देर हो गए’ भन्दा साइकल बग्रेको विद्यार्थीले ढिला भएकोमा माफी पाएको रमाइलो प्रसङ्ग उठयो । प्रशाधन केन्द्रको स्मरणले पनि गान्धीको समाधिस्थल सम्झाइरहयो ।
सुन्दर दुबाको चौरले घेरिएको राजघाटको गान्धीको समाधिस्थल सम्झँदा लाग्यो, राजघाट मिल्ने भए चिरन्रि्रा नै जाती । धूलो भएर जीवन बाँच्नुभन्दा करोडौँ मान्छेहरूको आस्था भएर राजघाटमा समाधिस्थ हुन जाती । गान्धी मरेर पनि बाँचिरहेका छन् । म बाँचेर पनि क्षणक्षणमा मरिरहेछु । बाँचेर मरिरहनभन्दा मरेर बाँचिरहन जाती ।
वि.सं.२०६९ साल जेठ २० तदनुसार सन् २०१२ जुन २ तारिख । नेपाल फर्कनुभन्दा अघिल्लोदिन । निर्वाचन सदन । तालिम, अध्ययन अवलोकन कार्यक्रमको समापनमा माल्दिभीयन टोली नेता राहुला र नेपाली टोली नेता मधु सरले मन्तब्य राख्नुभयो । डा. नूर मोहम्मदले समग्र कार्यक्रमको सारांश खिच्नुभयो । निर्वाचन आयोग, भारतका आयुक्त भि.एस.सम्पतले प्रमाणपत्र वितरण गर्दै समापन मन्तब्य राख्नुभयो । मन्तब्यमा आयुक्तले २०६९ जेठ ११ गतेको नेपालको निर्वाचन शिक्षा तथा सूचनाकेन्द्रको उद्घाटन कार्यक्रममा सहभागी हुँदाको स्मरण गर्नुभयो । काठमाडौंको भन्दा धेरै गुणा बढी तापक्रम रहेको दिल्लीको बसाइ कठिन भयो कि भनेर सोध्दा हाम्रा टोली नेताले शीतल र आरामदायी अनुभूत भएको बताइदिनुभयो ।
समापनपछि सधैँझैँ आयोगको माथिल्लो तलाको हलमा खानपिन भयो । खानपिनपछि माल्दिभीयनहरू विदा भए । उनीहरूको प्लेन त्यहीदिन बेलुकाको रहेछ । हाम्रो भने भोलिपल्ट दिउँसोको । उनीहरूका अनुहार हेरेँ । विछोडको अनुभूतिको आभास भयो । राम्ररी मिलन नहुँदै भएको विछोडमा कुनै पीडा हुँदैन भन्ने मेरो सामान्य मान्यता भत्कियो । कतिबेला अन्ताक्षरी खेल्दा मन मुटु साटिन थालेछन् । तिनका बोलीचाली र व्यवहार मन पर्न थालेछ । माउरिन र जफरानले सबैसँग हात मिलाएर विदा भए । अरूले भने मधु सरसँग मात्र हात हल्लाए । नूर मोहम्मदले पनि विदाइको हात मिलाए । मेरो बढी प्रेम त यी आदरणीय गुरूसँग पो बसेको रहेछ । उनले शुभ यात्राभन्दा मेरो मनको कुनामा कतै रसायो । अङ्ग्रेजीमा र्फरर बोल्नेहरूले मात्र बोल्छन् भन्ने वाकपटुहरूको मान्यता फेरि भत्कायो मनले ।
हामी निर्वाचन सदनलाई नमस्कार गरेर गाडीमा चढयौँ । एम्बियन्स मलमा गएर केही किनमेल गरेपछि होटल ओबराय फर्किन थाल्यौँ । लोधी गार्डेननेर रेड लाइटले गाडी रोक्दा दुईजना फुच्चेले गाडीको झ्यालमै आएर चिटिक्कको कागजमा बेरिएका गुलाब देखाए । ती गुलाब होटलका कोठामा राखिएका बासी गुलाबभन्दा शानदार देखिन्थे । तर गुलाबधारीका फोहोरी अनुहार, गजमजिएका कपाल र पहिरनहीन भन्दा बढ्ता कुरूप पहिरनले ती गुलाब सस्तोमा पनि बिक्न सकिरहेका थिएनन् । मलाई भने गुलाबभन्दा बढी सुन्दर ती बालअनुहार नै लागिरहेका थिए ।
हामी हिजोअस्तिजस्तै डिनरका टेबुलमा झुम्मियौँ । नेपालगञ्ज पुख्र्यौली भई वर्षौंदेखि त्यही होटलमा कार्यरत अरूण थापाले जापानी खाना ‘सुशी’ खुवाए । नयाँ स्वाद लिँदै हामी हाम्रो भ्रमण कार्यक्रमको समीक्षा गर्न थाल्यौँ ।
‘यस्ता भ्रमणमा प्रत्येकदिन बेलुका समीक्षा गर्नुपर्ने रहेछ’ गोपाल गणित ।
‘दिल्लीको उडान र कार्यक्रमको जानकारी ढिला पाइएकाले टाढाका साथीलाई व्यवस्थापनमा अलि कठिन भयो’ खेम खुलाइ ।
‘पार्लियामेन्ट, केही सभासद्हरू र राजनीतिक दलका कार्यालयहरू पनि भेट्न पाएको भए’ रिजाल रहर ।
‘तीन वर्षछि पाइएको अवसर हो यो’ सूर्य समीक्षा ।
‘अन्तक्रिर्यात्मक बन्ने गरौँ’ मधु मन्थन ।
‘समूह मान्यताको सही पालना हुनुपर्ने रहेछ’ लक्ष्मी लहड ।
‘म कतै बढी नै कोट भएँ कि’ सुवर्ण सोचाइ ।
‘टाढाको आन्ध्र प्रदेशको फिल्डमा जानु कम उपलब्धिमूलक भएन’ भक्त भावना ।
‘सिकाइभन्दा पनि यस्ता तालिम र्रिफ्रेसमेन्टका लागि हो’ हरि हेराइ ।
‘सदा सन्तुलित र समावेशीकरण हुनुपर्ने’ कुसुम कामना ।
समीक्षामा नसुनिएका मनका केही स्वरहरू पनि सुनेँ मैले । बिहानी टहलिन निस्कँदा चढेको दिल्लीको भूमिगत मेट्रो रेलको तीब्र गतिले मनमा एउटा रोमाञ्चक आभास दिएको रहेछ । नास्ताका लागि जाँदा हरेक बिहान भेटिने सुमेघाले ‘तपाईंहरूलाई फेरि यहाँ देखेर बहुत खुसी लाग्यो’ भन्ने गरेको वाक्यांशले दिल्ली बसाइका ती दिनहरूको सुन्दर शुभारम्भ भएको रहेछ । जसरी आयौँ त्यसरी फर्कनु त छँदैछ । छोडेर जानुभन्दा अघि नै मनले ठाउँ छोडेर अर्को गन्तब्यतर्फ गइसकेको हुँदो रहेछ । तर ती अविस्मरणीय सम्झनाहरू भने सदाका लागि साथमै साँचिइसकेका हुँदा रहेछन् ।
नेपाल फर्कने कुराले आत्मीय बन्धनको मसिनो डोरीले जाडिएको घर परिवासम्म पुर्‌यायो मलाई । मैले छोरी सम्झेँ ।
ऊ जन्मँदाका दिन मैले एमएको परीक्षा दिँदै थिएँ । ऊ नेपालगञ्जमा जन्मँदै थिई म दाङमा थिएँ । सुत्केरी हुने व्यथा लागेकी श्रीमतीलाई नेपालगञ्ज छोडेर बन्दका समस्याले परीक्षाभन्दा दुइदिन पहिल्यै दाङ फर्किसकेको थिएँ म । धन्न आमा राधाका साथमा हुनाले भुटभुटिँदै परीक्षा हलमा बस्न पाएको थिएँ । भर्खर जन्मेकी बच्ची ज्वरो र जण्डिसले बिरामी हुँदा पनि म परीक्षामै जुटिरहेको थिएँ ।
त्यसपछि पनि कयौँपटक ऊ बिरामी हुँदा उसकी आमासँग एक्लै छोडेर जागिरलाई प्राथमिकता दिई उसकी आमाको मलिन अनुहारसँग क्षमा याचना गर्दै म टाढिएको छु । कयौँपटक उसका तातेबोलीका मिठाससँग अनुवाद हुन खोज्ने मनमा ढुङ्गा राखेर बाहिरिएको छु । उसकी आमा बिरामीले थलिएर सिकिस्त हुँदा अबोध बच्चीले देखाएका समवेदना सङ्केत गर्ने भावभङ्गिमाहरू अनुभूत गरेको छु । अहिले फेरि अवसर पाएर आफ्नो जिन्दगीसँग रमाउन उसलाई सिमाना पारी छोडेर यति टाढा आइपुगेको छु ।
‘म घर फर्कँदा ऊ कति खुसी हुनेछ’ यही कल्पनाले मलाई अधीर बनाइरहेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 11 चैत्र, 2072

लेखकका अन्य रचनाहरु