धमारी २०१५ कार्यक्रम

- नवीन पौड्याल

आजको युगमा कविता अलोकप्रिय बन्दै गएको छ, जनजीवनमा कविता कम रूचिकर बन्न थालेको छ, इन्टरनेटका विभिन्न सामाजिक सञ्जालहरू ढाकेर कविता अब कसले पढ्ने र सुन्ने, आजको विकासको अति द्रुत बेलामा कविता चल्दैन, मान्छेमा सम्वेदनशीलता मरेपछि कविता रसिलो हुँदैन इत्यादि कुराहरू साहित्यिक बजारमा चर्चा सुन्ने गरिन्छ। कविता जनतादेखि टाडा हुँदै जाँदैछ, आजको याञ्त्रिक युगमा कविताले सठिक सम्बोधन गर्न सक्दैन, कविता अब कविता जस्तो रहेन, कविताको उपयोगिता पहिलेको जस्तो रहेन इत्यादि कुरा छँदैछन्। यद्यपि अर्कापट्टि भने कविता शक्तिशाली छ, जो हत्तपत्त मर्दैन, कविताले स्परूप बदली गर्दै भए पनि आफ्नो अस्तित्व कायम राख्न सक्षम छ। कविताको उपयोगिता झन बढेको छ। जनआवाजलाई सम्बोधन गर्ने एउटा सशक्त माध्यम कविता हो। युगको विकाससँगसँगै कविता जीवित रहन्छ, कविता सभ्यतासँगै अघि बढ्छ इत्यादि आशावादी कुरा पनि पढ्न - सुन्न पाइन्छ। वास्तवमा कविता युगजन्य संवेदनालाई सशक्त रूपमा सुन्दर तरिकाले अभिव्यक्त गर्ने माध्यम हो। कविताले सत्यं शिवं सुन्दरम्‌लाई सदैव परिपालन गरेर जनतालाई सन्देश दिइरहेको हुन्छ। कविता युगयुगसम्म बाँच्छ।
गत २६ डिसेम्बर २०१५ का दिन नेपाली साहित्य संस्थान, सिलगडीको आयोजना नेपाली कविता धमारी २०१५ कार्यक्रम सम्पन्न भयो। ८८ औं अगमसिंह गिरी जयन्तीको छेक पारेर आयोजना गरिएको यस कार्यक्रमले कवि र कविताबारे धेरै आशालाग्दो दिशा तय गरेको संकेत गरेको छ। २०१२ सालमा डा. कुमार प्रधान, डा. घनश्याम नेपाल, डा. पुष्कर पराजुली आदिको संरक्षकत्व र प्रा. रेमिका थापा, प्रा. बासुदेव पुलामी, डा. योगेश पन्त, प्रा. देवचन्द सुब्बा, प्रा. भूपेन तामाङ, श्री दिपेश तामाङलगायत अन्य केही शोधार्थी, प्राध्यापकवर्गको तत्परतामा स्थापित यस सानो साहित्यिक संस्थानले यस्तो कार्यक्रम आयोजना गर्ने सोंच राख्नु पनि ठुलै कुरा बनेको छ। केही थोरै भए पनि जाँगरिला, सक्रिय र सिर्जनशील कार्यकर्ता जुटे सानै संस्थाले ठुलै काम गर्न सक्छ भन्ने प्रमाण यस कार्यक्रमले गरेको छ। यसबाहेक यसले बेला-बेला मासिक समसामयिक साहित्यिक वार्ता, गिरी जयन्ती, कवि गोष्ठी आदि सञ्चालन गरिआएको सुन्न पढ्न पाइन्छ।
यस कार्यक्रममा अप्रतियोगिका रूपमा केही वरिष्ठ र स्थापित कविहरू विचन्द्र प्रधान, कालुसिंह रनपहेंली, उदय सुब्बा गोर्खा, राजा पुनियानी, बासुदेव पुलामी, ज्ञानेन्द्र यक्सो आदिले पनि कविता प्रस्तुत गरे। विचन्द्र प्रधानले कवि गिरीको नौलाखे तारालगायत केही गाएर आफ्ना कविता रोचक ढङ्गमा प्रस्तुत गरे। उनले आममानिसको ठुलो जमातमा पनि कवितालाई सरस, सरल र प्रभावकारी ढङ्गमा प्रस्तुत गर्ने गर्छन्। उनले आमरूचिका रूपमा रहेको प्रेमप्रीतिदेखि लिएर ईश्वर चिन्तन र जातीय चेतनाका कविता प्रवाहित-प्रभावित गर्न सक्छन्। कार्यक्रममा कवि, संगीतकर्मी, समालोचक, शोधार्थीलगायत समाजका विभिन्न समूहको सचेत उपस्थिति रहेको थियो। मनप्रसाद सुब्बा, नरेशचन्द्र खाती, उदय थुलुङ, अबीर खालिङ, रेमिका थापा, लक्ष्मण दाहाल, सतीश रसाइली, सूरज रोसूरीलगायतका अघिल्ला कविहरूले कविता पाठ नगरे पनि उक्त कविता संगमको साक्षी बनेका थिए।
जे होस्, नेपाली कविता धमारी २०१५ आयोजनामा धेरै कुरा देखिए। यस अवसरमा पुराना र स्थापित कविहरूका नयाँ पुस्ताका नवोदित कविहरूको उपस्थिति थियो। यस कार्यक्रमलाई सोझै कविता प्रतियोगिता नभनेर कविता धमारी राखिएको थियो। यसले सांकेतिक अर्थबोध गर्दछ। यो सामान्य कविता प्रतियोगिता नभएर कविताको साभिनय, सुन्दर वाचन र सुन्दर प्रस्तुति हुनुपर्ने खालको प्रतियोगिता बन्न सकेको छ। धमारी शब्दका तीनवटा सन्दर्भ देखिन्छन्- पहिलो, हुम्ला-जुम्लातिर प्रचलित एउटा पुरानो नेपाली लोकगीतमध्ये धमारी हो। पैकेलो, चाँचरी, हुड्का, भारत, चैत आदिसरह यो धमारी पनि लोककविहरूले मिठो लयमा गीतसरह गाउने गर्छन्। यस अर्थमा पनि आज धमारी शब्द प्रयोग गरी यसलाई पुनरूत्थान गरिएको छ, कार्यक्रम सार्थक भएको थियो। दोस्रो, आज कविता पनि बाजागाजासहित प्रस्तुत गर्ने चलन अघि आएको छ। विश्वमा Poetry Slam को चलनमा त्यसै परिप्रेक्ष्यमा पुरानो शब्दलाई नयाँ अर्थमा अघि ल्याइएको छ। Slam को अर्थ उद्दाम, उत्ताउलो, उदण्ड, उपद्रव रहेको छ भने यसैलाई कविताको उत्पात, हलचल आदिको नयाँ अर्थमा रहेको कुराको संकेत कार्यक्रमको मूलोद्देश्यबारे वक्तव्यको क्रममा डा घनश्याम नेपालले व्यक्त गर्नुभएको हो। विश्वमा फ्रेन्च पोइट्री स्लैम, अमेरिकी पोइट्री स्लैम, यता भारतमा पनि दिल्ली पोइट्री स्लैम, पुने पोइट्री स्लैमहरू चल्ने गरेको पाइन्छ। नेपालमा पनि यस्तो किसिमको पोइट्री स्लैम निकै चर्चित छ। तेस्रो अर्थ, संगीतको एउटा रागमध्ये द्रुपद धमार एउटा हो। प्रस्तुत नयाँ कार्यक्रम चाहिँ दोस्रो अर्थबाट प्रभावित भएर आयोजना गरेको बुझिन्छ। उक्त प्रतियोगितामूलक कार्यक्रमको नाम धमारी र कविता भन्ने धमार शब्द दिएर नयाँ सन्दर्भ, अर्थ, दृष्टि प्रदान गरेको छ। कार्यक्रमको उद्देश्य प्रकाश गर्ने क्रममा संस्थानकी सभानेत्री रेमिका थापाले ‛अब कविता पढौँ, सुनौँ, सुनाऔँ मात्र होइन। कविता हेरौँ, देखौँ, देखाऔँ। झ्वाम्मै कविता होऔँ, कविता बाँचौँ। भेला भएर अब धमारी गरौँ, कविता प्रदर्शन र दर्शन गरौँ। कविता धमारी गरौँ, कविता धमारी खेलौँ।’ भनेर घोषणा गरिन्।
यस धमारीमा प्रथम हुने दार्जिलिङकी पवित्रा लामाको कविताको प्रस्तुति, भाव, अर्थ, सन्दर्भ, शिल्प र संवेदनाले आम श्रोतामा ठुलो आनन्द दिलायो। उनको प्रस्तुतिबाट कविता पनि अब गीतसरह मिठो र रसिलो हुनसक्छ। कविता पनि गीतसरह सांगीतिक पृष्ठभूमिमा प्रस्तुत गर्न सकिन्छ भन्ने कुराको प्रमाण दिएको छ। उनको कविताको विषयवस्तु अति संवेदनशील थियो। धेरै वर्षअघिदेखि जेलमा रहेको आफ्नो छोरालाई राजीव गान्धी हत्याकाण्डसित अदालतले जोडेर हेरेपछि एउटी आमाको आर्तनादलाई यस्तो सशक्त र मार्मिक रूपमा उतारिएको थियो। यस कवितामा देशको वर्तमानको अवस्था, अदालतीय सुस्तताका कारण उब्जेका जनविक्षोभलाई शब्दमा उतारिएको थियो। दार्जिलिङको कविताको एउटा नयाँ प्रतिभाको उपस्थितिको रूपमा पवित्र लामा देखा परेकी छन्। दार्जिलिङ सरकारी महाविद्यालयका नेपाली अनर्स लिने विद्यार्थीहरू दोस्रो भए। उनीहरूले सामूहिक रूपमा वर्तमान चियाबारीबाट उब्जेको समस्यालाई गायन नृत्याभिनयबाट कविताको प्रस्तुति दिए। उनीहरूको कविताको भाव र शिल्प सामान्य भए प्रस्तुति पक्ष सबल र विशिष्ट थियो। तेस्रो हुने राजीव विश्वकर्माको कविता वाचनको प्रस्तुति बेजोड थियो। कविताको भावलाई कसरी वाचिक अभिनय गरी श्रोतालाई प्रभावित पार्नसकिन्छ भन्ने जनाए। गोकुल रसाइली, निमा स्याङ्देन, नुतन राई, राजेश प्रधान, कृतिका नेपाल, विवेक सार्की, योगेश महिमा, अशेष राई, कुशल तामाङ, दिव्यज्योति राई, कपिल तामाङ आदिले आआफ्नो तरिकाबाट सस्वर कविता वाचन गरे। यी सबैका कविता उत्क़ृष्ठ थिए। कतिपय कविका कवितामा भाषा भने अमानक हुनाले कविताको स्तर गुमेको पनि अनुभव भयो। प्रायः कविका कवितामा दार्जिलिङको समसामयिक राजनैतिक अवस्था, अस्तित्वको लडाईँको नाममा अर्कै खाले चलखेल, बन्द चियाबगानबाट उब्जेको आर्थिक, राजनैतिक, सामाजिक समस्या जस्ता विषयले व्यापकता पाएको थियो। अधिकांशका कवितामा आक्रोश, असन्तुष्टी, व्यङ्ग्य प्रहार, विक्षोभका भावहरूले ढाकेका पाइयो। तीन-चार घण्टा कविताको प्रवाह चल्यो। दर्शकहरू कवितामा डुबे, रमे, भावविभोर भए, भावुक भए।
अब पुराना हाँचका कविहरूलाई पालो दिन नयाँ हाँचका कविहरू तयार छन्। प्रत्येक पत्रिका, कवि गोष्ठी आदितिर नयाँ नयाँ कविहरू नयाँ नयाँ बान्की, भाव, शिल्प, सौन्दर्य, अर्थ, दिशा परिपाटी, लक्षण र संकेत लिएर देखा पर्दैछन्। यो साहित्यको निम्ति शुभसंकेत हो। यसरी कविता धमारीको आयोजनाबाट भारतीय नेपाली कविताको परिप्रेक्ष्यमा पनि यसरी नयाँ पीँढी तयार भई अघि आउनु हाम्रो निम्ति सुखद् उपलब्धि हो। जे होस्, यस कार्यक्रमले नयाँ पुराना कविहरूको कविता मेला लगाएको थियो। नयाँ सम्भावना बोकेको थियो, नयाँ स्वाद, नयाँ सचेत श्रोता र नयाँ युगको थालनी गरेको छ। यसका निम्ति नेपाली साहित्य संस्थान साधुवादको पात्र बनेको छ।

पेदोङ सरकारी कलेज।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 चैत्र, 2072

लेखकका अन्य रचनाहरु