"कमरेड भाउजू" र डायोस्पोरिकता

- डा.रुपक श्रेष्ठ

बेलायती–नेपाली डायोस्पोराबाट कथाकार कृष्ण बजगाई पाँचौं कृतिको रूपमा सशक्त कथासंग्रह ‘कमरेड भाउजू’ लिएर डायोस्पोरिक साहित्याकाशमा उदाएका छन् । कम्युनिस्ट राजनीतिक सिद्धान्तका प्रतिपादक कार्ल माक्र्सकै चिहानमा कथाकार स्वयंले रहस्यमय तरिकाले विमोचन गरिएको सो कथासंग्रहका प्रायः कथा उसरी नै रहस्यमयी छन् । १३ ओटा बेजोड कथा बेल्जियम र बेलायतलाई आफ्नो नयाँ देश बनाउने क्रममा टिपिएका नेपाली समाजका जीवित कथाहरू हुन् । कथाहरू कथिएका नभई कथाकारले भोगेका र साक्षी बनेर देखेका घटनाहरूलाई शब्दमा रूपान्तर गरेका छन् ।

जसरी सबै विदेश बसाइ डायोस्पोरिक हुँदैन त्यसरी नै विदेशमा बसेर सिर्जित सबै सिर्जना डायोस्पोरिक हुँदैनन् । कुनै पनि सिर्जना विदेशमा बसेर गरिएकाले नभई सिर्जनामा निहित डायोस्पोरिकताले सो सिर्जनालाई डायोस्पोरिक बनाउँछ । नेपालीहरू संसारमा छरिने क्रम भर्खरै मात्र सुरु भएकाले डायोस्पोरा शब्द पनि नेपाली साहित्य भण्डारका लागि नवआगन्तुक शब्दजस्तै भएको छ । तैपनि यो शब्द निर्माण भने आजभन्दा ७ सय ५० वर्षअघि बेबिलोनियनहरूको राजनीतिक तथा धार्मिक आस्थाका कारण देश छोड्न बाध्य भई छरिने क्रमसँगै उत्पत्ति भएको देखिन्छ । नेपाली साहित्यमा नयाँ नै रहेको डायोस्पोरिक साहित्यको व्याख्याको सन्दर्भमा बजगाईंको यो कथासंग्रह एउटा उदाहरणीय कृतिको रूपमा देखापरेको छ ।

डायोस्पोरा, डायोस्पोरिक जीवन र डायोस्पोरिक साहित्यको सन्दर्भमा मेरो डायोस्पोरिक जीवनको भोगाइ र बुझाइअनुसार डायोस्पोरिक साहित्यले डायोस्पोरिक जीवनको मूलतः तीनओटा चरणलाई आत्मसात् गर्न सक्दोरहेछ ।

डायोस्पोरिक जीवनको पहिलो चरण अतितमोह अर्थात् घरदेश र आफेनो अतितको जीवन छुट्दाको पीडाले व्याप्त हुनुको सँगसँगै नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ संस्कार, नयाँ भाषा र चालचलन र नयाँ जीवनको सुन्दर सपना र चिन्ता पनि सँगसँगै आउँछन् । यिनै कुराहरू चित्रण गर्ने साहित्यले डायोस्पोरिक जीवनको पहिलो चरण प्रतिविम्बित गर्छ । दोस्रो चरणमा अतितमोहमा छटपटाउँदै नयाँ देशमा आफूलाई आर्थिक, भौतिक र कानुनी रूपमा टिकाउन, नयाँ संस्कृति र रहनसहन सिक्न एक संघर्षमय समय आउँछ । सिर्जनामा पनि यिनै संघर्षका आयामहरू प्रस्तुत हुन्छन् ।

जब उसले आफूलाई दोस्रो चरण पार गरेर नयाँ देशमा आफूलाई टिकाउन सक्ने हुन्छ, तबसम्ममा आफ्नो पुरानो परिचय लगभग हराइसकेको तर नयाँ परिचयले पनि चित्त बुझाउन नसकेको स्थिति सिर्जना भएको महसुस हुन्छ । यस अवस्थालाई म डायोस्पोरिक जीवनको तेस्रो चरणको रूपमा हेर्छु । संग्रहको नाम सुन्दैमा खुल्दुली हुन्छ । को हुन् यी ‘कमरेड भाउजू’ ? कथाकार रमाइलो पाराले बेलिबिस्तार लगाउँछन् । बेलायती नेपाली डायोस्पोरामा त्यहाँको रीतिरिवाजअनुसार कारबाट झरेपछि बालबच्चा र श्रीमतीका लागि कारको ढोका खोलेर सम्मान देखाउन जानिसकेका डायोस्पोरिक जीवनको तेस्रो चरणमा पुगिसकेर आफ्नो पुरानो परिचय हराइसकेका कमरेड परिवर्तन उर्फ धर्मप्रसाद उपाध्यायकी पत्नी हुन्, ‘कमरेड भाउजू’ ।

कमरेड परिवर्तन आफ्नो नयाँ देशको नयाँ परिवेशमा आफूलाई टिकाउन अनेक तरिकाले प्रयासरत रहँदारहँदै आफ्नो पहिलो देश नेपालमा बनाएको राजनीतिक कार्यकर्ताको परिचय पार्टीकै सजायस्वरूप कमरेड पद खोसिइसकेको निरीह पात्र हुन् । यसरी एकातिर आफ्नो पुरानो परिचय हराइसकेको र विश्वकै अति विकसित नयाँ देशमा सामान्य नागरिकसरह रहने÷बस्ने अधिकार पाइसक्दा पनि विश्वकै अतिकम विकसित देश नेपालको नागरिक नेपाली भन्दै आफ्नो मूल परिचय जोगाउन विभिन्न सामाजिक कार्यक्रममा पूरै नेपाली वेशभूषामा उपस्थिति जनाउँदै हिँड्छन्, धर्मप्रसाद । यसरी हिँड्ने क्रममा दसैंको कार्यक्रममा उपस्थित हुनका लागि तिनै कमरेडको पद खोसिएका श्रीमान्लाई कार हाँकेर लिएर आउँदा पाठकहरूसँग जम्काभेट हुने पात्र हुन्, कमरेड भाउजू ।

धर्म भनेको अफिम हो भन्दै गौरवशाली क्रान्तिका लागि जंगल पसेका धर्मप्रसाद देशलाई युद्धमा होमेर फरार भई वैभवशाली बेलायती जीवन पाएपछि धन्य भगवान् भन्दै साँझ–बिहान पूजापाठमा लागेका प्रतिनिधि पात्र हुन् । यिनै जोईपोइले मेहनत गरी सुविधायुक्त जीवन जिएको ईष्र्याले उनकै पार्टीका अरू भगौडा कार्यकर्ताको रिपोर्टिङअनुसार पार्टीको केन्द्रबाट नै कारबाहीमा परेका हुन्, कमरेड परिवर्तन ।

यिनै धर्मप्रसादलाई जंगली राजनीतिको कुनै औचित्य छैन भनी जंगलबाट बेलायतसम्म अनेक उपाय गरेर ल्याइपु¥याउने न्वारन, व्रतबन्ध, तीज, दसैंजस्ता चाडबाडमा नै आफ्नोपन छ भनेर कमरेडलाई सामाजिक कार्यमार्फत अघि बढ्न प्रेरणा दिने, समाज युद्धले होइन मायाले परिवर्तन गर्न सकिन्छ भनेर घचघच्याउने प्रतिनिधि नारी पात्र हुन्, कमरेड भाउजू ।

हुन त जनयुद्धभरि मन्दिर र विद्यालय जलाउँदै, तोडफोड गर्दै हिँडेका शीर्षस्थ भनाउँदा नेताहरू नै युद्धविरामका बखत र युद्धपश्चात् आफ्ना बा–आमालाई देवदेवीको दर्शनार्थ तीर्थयात्रा गराउने, चौरासी पूजा गराउनेजस्ता धार्मिक श्रद्धाका कामहरूलाई निरन्तरता दिएको मात्र नभई अचम्मको कुरा त तिनै अग्रगामी नेताहरू भैंसीको पूजा गरेर ग्रह शान्ति गर्दै हिँडेको लाजलाग्दो दृश्य देख्नुपर्ने समाज हो, हाम्रो । यस्तै सिद्धान्त र व्यवहारको बीचमा दिग्भ्रमितहरूको हुलबाट निकालेर धर्मप्रसादलाई युद्धले होइन शान्तिले, रगत बगाएर होइन पसिना चुहाएर गरिबीबाट उठ्न र सुन्दर समाजको निर्माण गर्न सकिन्छ । हामीलाई आवश्यकता छ त केवल अवसरको भनेर उदाहरण बनेकी पात्र हुन् । युद्धलाई घृणा गरेर शान्तिपूर्ण जीवन रोजेकी हुन्, उनले । पतिको पदबाट समाजले स्वास्नीलाई सम्मान गर्ने नेपाली परम्पराअनुसार लोग्नेको विरासतबाट प्राप्त कमरेडको पद बोकेर हिँड्न बाध्य शीर्षकथाको शीर्षपात्र हुन्, कमरेड भाउजू ।

डायोस्पोरिक जीवनको तेस्रो चरणमा आफ्नो मूल परिचय खोज्ने क्रममा डायोस्पोरिक प्रताडना भोगिरहने पात्रहरूका अरू कथामा ‘मौन युद्ध’ र ‘मंगलग्रहमा देवकोटाको सालिक’ हुन् । त्यस्तै, दोस्रो चरणको डायोस्पोरिक जीवनमा आफूलाई नयाँ देशको नयाँ परिवेशमा अड्याउन पिल्सिइरहेका पात्रहरूका प्रतिनिधि कथाहरू हुन्, ‘पलायन कमरेड’, ‘तेस्रो कुकुर’, ‘म सिसिफस’ र ‘चौथो विवाह’ । पहिलो चरणको डायस्पोरिक जीवन भोगाइमा रहेका पात्रहरूको कथाहरूमा ‘गड्यौला उर्फ सत्यराज’ र ‘गणतन्त्रपछिको प्रेम’ हुन् । ‘गड्यौला उर्फ सत्यराज’ पतिको व्यस्त जीवन र पत्नीको एक्लो र विनाकाम समय बिताउनुपर्दाको यौन मनोविज्ञानमा आधारित कथा पनि हो ।

‘लोग्ने र अस्थायी सत्रु’नयाँ ठाउँ र नयाँ परिवेशमा नयाँ कुरा सिक्ने क्रममा अल्पज्ञानी दिमागमा भरिएको भ्रम अथवा मनोविज्ञानमा आधारित कथा हो । ‘मिट सिंगल डट कम’, ‘गड्यौला उर्फ सत्यराज’, ‘लोग्ने र अस्थायी सत्रु’ जस्ता कथाहरू वर्तमान उत्तरआधुनिक समयमा मानिस कम र मेसिन बढी भई अतिव्यस्त जीवन बाँच्ने शैलीले बिस्तारै मानवजीवनमा पारेको मनोवैज्ञानिक असरले उत्पादित कथाहरू हो । ‘मिडिया मुस्कान’ कथाबाहेक सम्पूर्ण कथा बेल्जियम र बेलायती नेपाली डायोस्पोरालाई धरातल बनाएर उभिएका छन् । ‘मंगलग्रहमा देवकोटाको सालिक’ अमेरिकी नेपाली डायोस्पोरालाई धरातल बनाएर उभिएको छ । यस कथामा साहित्यलाई चाकडी र चाप्लुसीको रूपमा बुझ्ने र मागी खाने भाँडो बनाउनेहरूको मानसिकताप्रति तीव्र व्यंग्य प्रहार गरिएको छ ।

बेलायती–नेपाली डायोस्पोराका सकारात्मक विषयवस्तुका कथाहरूलाई संग्रहले समेट्न नभ्याए पनि कथावस्तु, पात्र चयन र प्रस्तुति सशक्त छन् । यो संग्रह बेलायती–नेपाली डायोस्पोराबाट प्रकाशित गर्वलाग्दो कृति हो ।

लन्डन, बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 27 फागुन, 2072

लेखकका अन्य रचनाहरु