नेपाली भाषाको मौलिक स्वरूप

- प्रा. डा. जीवेन्द्र देव गिरी

१. थालनी
नेपाली भाषा संसारका नैसर्गिक वा प्राकृतिक भाषाहरूमध्ये एक हो । यो कुनै कृत्रिम भाषा होइन । यसको आफ्नो मौलिक स्वरूप छ । यसको आफ्नो इतिहास र सुदीर्घ परम्परा छ । यसका आफ्ना संरचनागत विशेषताहरू छन् । नेपालभित्र र बाहिर ठूलो सङ्ख्यामा यसका वक्ताहरू छन् । कथ्य र लेख्य अनि औपचारिक र अनौपचारिक सबै प्रकारका भाषिक अभिव्यक्ति यसका माध्यमबाट हुँदै आएका छन् । नेपालको एक प्रमुख राष्ट्रभाषाका रूपमा रहेको यस भाषाका विभिन्न क्षेत्रीय, सामाजिक र प्रयोजनपरक भेदहरू रहेका छन् । यी सबैका आलोकमा यसको मौलिक स्वरूपलाई ठम्याउन सकिन्छ ।
राष्ट्र निर्माणमा भाषाको विशिष्ट भूमिका रहनु स्वाभाविक छ । त्यस विषयमा विवेचना गर्नुअघि राष्ट्र के हो भन्नेबारे स्पष्ट हुनु आवश्यक छ । राष्ट्रलाई दुई वटा कोणबाट हेर्ने गरिएको छ । (क) जनता, सरकार तथा सार्वभौम सत्ता सम्पन्न भएको देश र (ख) एकै देशका एउटै संस्कृति तथा अर्थ व्यवस्थामा आबद्ध समस्त नागरिक (पोखरेल र अन्य, २०४०, ११४०)। त्यसैले राष्ट्र भनेकोे एकातिर अनेक गण (कबिला) र जनका मानव शाखाहरूबिचको व्यापक सम्पर्क, सङ्घर्ष, सम्मिलन, सम्मिश्रण र विलयनको प्रक्रिया बेहोर्दै जाति र जनजातिको अवस्थाभन्दा माथि उठेको अनि भावनात्मक एकतामा आबद्ध जन समुदाय हो भने अर्कातिर त्यस्तो जन समुदाय रहेको सार्वभौम सत्ता सम्पन्न मुलुक । यिनको निर्माणमा भाषाको के कस्तो भूमिका रहन्छ भन्ने कुरा हामी सबैको चासोको विषय हो । वास्तवमा विभिन्न भाषा, धर्म, संस्कृति र भूगोलका जन समुदायलाई सुसम्बद्ध तुल्याउँदै अनि राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई हरेकको मुटुको केन्द्रमा पु¥याउँदै पराईको हस्तक्षेप विरुद्ध त्याग, उत्सर्ग र बलिदान गर्न तत्पर रहने स्थितिमा पु¥याउन तथा आफ्नो राष्ट्रको उत्थानमा जुर्मुराउने अवस्था सिर्जना गर्न भाषाले बल प्रदान गर्दै आएको छ । अतः एउटै साझा भूखण्डमा रहेका जनताको साझा मनोविज्ञान, साझा आर्थिक सम्बन्धका आधारमा भावनात्मक एकताका साथ राष्ट्रियताको भावना संवर्धनमा हाम्रो भाषिक सम्पदाको उपयोग उल्लेखनीय छ ।
२. नेपाली भाषाको मौलिक स्वरूप
नेपाली भाषाको आफ्नै मौलिक स्वरूप छ । त्यसैले संसारका भाषाहरूमाझ यसको बेग्लै अस्तित्व रहेको छ । यसको मौलिक स्वरूपको पहिचानका लागि मूलतः यसको इतिहास, संरचना,शब्द भण्डार, उखान टुक्का र भाषिक भेदतिर दृष्टि दिन सकिन्छ ।
२.१ इतिहास
नेपाली भाषा भारोपेली परिवारको सदस्य हो । संसारको विशाल भाषा परिवारका रूपमा भारोपेली परिवार परिचित छ । संस्कृत, जर्मनेली, इटालेली, फ्रान्सेली, स्पेनिस, रुसी, इरानेली, अरबी, फारसी, बाल्टिक, स्लाभेली, पुर्तगाली, अङ्ग्रेजी, डेनेली, नर्बेली, हिन्दी, उर्दू आदि एकभन्दा एक संसार प्रसिद्ध भाषाहरू यसभित्र पर्दछन् । यही परिवारको आर्य इरानेली शाखाको आर्येली भेदबाट संस्कृत, प्राकृत र अपभ्रंश हुँदै अन्य आधुनिक आर्यभाषाहरुसँगै यसको जन्म भएको हो । यसलाई आर्येलीको उदीच्य भेदको पहाडी वर्गको पूर्वी सदस्य अथवा खस प्राकृतको खस अपभ्रंशबाट उत्पन्न भाषा पनि भन्ने गरिएको छ ।
आधुनिक आर्यभाषाहरू भन्नाले नेपालमा बोलिने नेपाली लगायत मैथिली, भोजपुरी, अवधी, थारू आदि एकातिर पर्दछन् भने अर्कातिर भारत र अन्य मुलुकमा बोलिने हिन्दी, बङ्गाली, आसामी, राजस्थानी, सिन्धी, लहन्दा, पन्जाबी, मराठी, गुजराती, उडिया, ब्रज, कोङ्कणी, कन्नौजी, कुमाउनी, गढवाली आदि पर्दछन् । यी भाषाहरूको जन्म इस्बीको एघारौं शताब्दीमा भएको मानिन्छ । यी आआफ्ना मौलिकताले युक्त छन् र नेपाली भाषा पनि यिनकै हाराहारीमा उभिएको छ । नेपाली भाषाको सर्व प्राचीन नमुनाका रूपमा पूर्ण प्रकाश नेपाल ‘यात्री’ को खोजबाट प्राप्त शाके ९०३ तदनुसार वि.सं. १०३८ को भूपाल दामुपालका समयको दुल्लु शिलालेख चर्चित छ जसमा ॐ ... (मणि ?) ...द्मे (पद्मे) हुँ.... दामुपाल रेख भइ । विष्णु अडैको भाइ । सउँपाल अडै सा (के ? ९०३ लेखिएको छ (नेपाल यात्री, २०३९ः९८) यस अभिलेखका केही लिपिचिन्ह घिसिएकाले तिनको रूप कोष्ठकमा देखाइए झैं हुन सक्ने अनुमान गरिएको छ । यस अभिलेखको प्रामाणिकतामा प्रश्न उठाउनेहरूमध्ये कसैले मोहन प्रसाद खनालको अन्वेषणबाट प्राप्त हाम्रा आली अटाली अटल करि अक्र््या छु’ लेखिएको वि.सं. १३१२ को हुम्ला जिल्लाको रेलिङ गुम्बामा प्राप्त अभिलेखलाई प्राचीनतम मान्ुनु पर्ने अभिमत अगि सारेका छन् । (गौतम, २०४९ः४७) भने कसैले उनकै खोजेको स्री अशोकचल्लदेव स्चिरं जयतु । सउना कार्कि साउका कक्र्यानीका देवल’ लेखिएको अशोक चल्लका समयको वि.सं. १३१७–१३२७ को अर्को अभिलेखलाई नेपाली भाषाको पहिलो प्रामाणिक नमुना मान्नु पर्ने धारणा राखेका छन् । (आचार्य २०४८ः ३३) यी अभिलेखहरूका आधारमा नेपाली भाषाको प्राचीनता पुष्टि हुन्छ । प्राचीन नेपालीको शब्द भण्डार र व्याकरणतिर दृष्टि लगाउँदा त्यसको मौलिकताबारे केही जानकारी पाउन सकिने हुनाले केही शब्द र वाक्यहरू यहाँ प्रस्तुत छन् ः
शब्द– राइ ‘राजा’, भाष् ‘भाषा’÷भाकापत्र, पसाकि‘जारी गरी, अक्रि ‘करविहीन तुल्याएको छ ।’, छत्रु ‘शत्रु’, घच् ‘आघात’ कडक ‘पल्टन’ आदि ।
वाक्य (क) राइका भाष् पसाकि अक्रि । ‘राजाले भाकापत्र जारी गरी करविहीन गरेको छ ।’
(ख) हाम्रा इ छत्रु नास हो ।‘हाम्रा यी शत्रु नाश होउन् ।’
(ग) कडक आउदा जादा गुम्बा घच् नकिय । ‘पल्टन आउँदा जाँदा गुम्बालाई आघात नगर्नूृ ।’
नेपाली भाषाको प्राचीन कालको समय बाइसी चौबिसी राज्यहरूको उदय अथवा सोह्रौं शताब्दीको अन्त्यसम्म रह्यो । कर्नाली प्रदेशमा बाइसी र गण्डकी प्रदेशमा चौबिसी राज्यहरूको उदय भएपछि नेपाली भाषाको मध्यकाल सुरु भयो । मध्य कालीन नेपाली बेग्लाबेग्लै अनेक राज्यहरूमा बोलिने भएपछि थरी थरीका भेदहरू देखा पर्नु स्वाभाविक थियो । त्यसैले विभिन्न विशेषताहरू यसमा देखा परे । त्यस कालका भाषिक नमुना यस प्रकार छन् ः
शब्द– दै ‘दही’, चावल ‘चामल’, गाउ ‘गाउँ’, विलो ‘भाग’, सवेटो ‘साँप्रो’, दि ‘दिई’, ग¥याको ‘गरेको’, पिनु ‘पिउनु’, एती ‘यति’, रहणु ‘रहनु’, पाच ‘पाँच’ आदि ।
वाक्य– (क) पाठो मारि रगत्याया, दैचावललाई गाउ घरकन विलो राजा सुर्तीसाही ठाकुरकन सवेट्टो दि पक्का ग¥याको छ । (सुर्तीसाही ठाकुरका समयको विष्णुदास जोसी लिखित वि.सं.१६३८ को ताम्रपत्रबाट)
(ख) ब्राह्मणको मार्नु, मद्यको पिनु, वामनको सुताको चोरनु ,स्वमाता प्रसंग गर्नु, एतीमा एकथोक गन्र्याको पनि सँग रहणु एति पाच महापातक कहीं छन् । (प्रेमनिधि पन्तको वि.सं. १७८० को ‘प्रायश्चित प्रदीप’ नामक ग्रन्थबाट)
विक्रमको उन्नाइसौं शताब्दीपछि नेपालको एकीकरण भयो । यसै कालमा नेपाली भाषाका विभिन्न बान्कीहरू देखा परे र पत्रिकाहरू पनि प्रकाशित भए । यस क्रममा वि.सं. १९५७ मा ‘गोरखा पत्र’ नै प्रकाशित भयो । त्यसैले. उन्नाइसौं शताब्दीको आरम्भयता शब्दकोश, व्याकरण र साहित्यका विभिन्न पुस्तकहरूको प्रकाशन र भाषाको मानकीकरणका क्षेत्रमा धेरै कामहरू भए । आधुनिक नेपालीको स्वरूपबारे यसपछि गरिने वर्णनले थप स्पष्ट पार्ने छ ।
२.२ संरचना
प्राचीन र मध्यकालीन नेपालीका संरचनागत विशेषताको छनक २.१ मा नै पाइ सकिएको छ । तिनमा पनि नेपाली भाषाका मौलिक विशेषतालाई दृष्टिगत गर्न सकिन्छ । आधुनिक नेपालीको संरचनाको मौलिक स्वरूपलाई चिनाउन मूलतः यसका ध्वनि , वर्ण, रूप , वाक्य, शब्द भण्डार आदिका विशेषताहरूलाई नियाल्न सकिन्छ ।
२.२.१ ध्वनि र वर्ण
नेपाली भाषाका आफ्ना ध्वनिगत र वर्णगत विशेषता छन् । फोक्सोबाट सुरु भएर मुखबाट सास बाहिर निस्किने क्रममा यसका ध्वनि र वर्णहरू उच्चरित हुन्छन् ।
नेपाली भाषामा अ, आ, इ, उ, ए, ओ मूल स्वरका रूपमा रहेका छन् । यिनमा लाग्ने अनुस्वार ( ँ) अनुस्वार पनि व्यतिरेकी रहेकाले अरू थप ५ वटा स्वरको पनि अस्तित्व देखिन्छ । जस्तै– कपाइ र कँपाइ, बास र बाँस, झिजो र झिँजो, जुगा र जुँगा, पहेली र पहेँली मा अनुसारले अर्थ फरक पारेको छ । यसरी नै अइ (ऐ), आइ, उइ, एइ, ओइ, अउ (औ), इउ, एउ, ओउ द्विस्वरका रूपमा रहेका छन् । उच्चारणमा यी स्वरहरू भए पनि लेखनमा भने अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ, अं, अः तेह्र वटा स्वर वर्ण रहेका छन् । यीमध्ये ई, ऊ, ऋ नेपालीमा उच्चारण हुँदैनन्, ऐ, औ दीर्घ स्वर हुन् भने अं, अः सँग व्यञ्जन समाविष्ट छन् ।
व्यञ्जन वर्णका रूपमा क, ख, ग, घ, ङ, च, छ, ज, झ, , ट, ठ, ड, ढ, त, थ, द, ध, न, प, फ, ब, भ, म, य,र, ल,व,स, ह गरी २९ वटा वर्ण नेपालीमा उच्चारण हुन्छन् जसमध्ये य र व अर्ध स्वर हुन् । लेखनमा भने ञ, ण, श, ष र क्ष, त्र, ज्ञ लाई पनि वर्णमा रूपमा लिने गरिएको छ । वास्तवमा ञ, ण, श, ष नेपालीमा उच्चरित हुँदैनन् भने क्ष (क+ष), त्र (त+र) तथा ज्ञ(ज+ञ) संयुक्त व्यञ्जन हुन् ।
नेपाली वर्ण संयोग ,उच्चारण र अक्षर संरचनाका पनि मौलिक पक्षहरू छन् । शब्दको सुरु र अन्त्यमा य र व बाहेक अरू व्यञ्जनसँग संयुक्त व्यञ्जनको नेपालीमा उच्चारण गरिँदैन । जस्तै—स्नान र स्टसेन लाई उच्चारण गर्दा नेपालीमा क्रमशः अस्नान र इस्टेसन उच्चारण गरिन्छ भने गन्ज् र सेकेन्ड् लाई गन्ज र सेकेन्ड गरिन्छ । कतिपय ठाउँमा अजन्त लेखेर हलन्त उच्चारण गर्नु पनि यसको विशेषता हो । जस्तै– कलम र गोलमाल जस्ता नामिक शब्दको उच्चारण कलम् र गोल्माल् हुन जान्छ । यसरी नै द्विस्वरका बिचमा र शब्दान्तमा घ, झ, ढ, ध, भ लेखिए पनि ग,ज,ड,द,ब उच्चारण हुने कुरा बाघ–बाग, माझ्नु–माज्नु, पढ्–पड्, सोध्नु– सोद्नु, गोभ्नु–गोब्नु आदिको उच्चारणले प्रस्ट्याउँछ । अक्षर संरचनामा (१) स्वर (आ, इ, ऊ आदि), (२) स्वर+व्यञ्जन (आस, इख, उस, एक आदि), (३) व्यञ्जन+स्वर (र, को, म, आदि), (४) व्यञ्जन+व्यञ्जन+स्वर ( त्यो, क्या, ज्या आदि), (५) व्यञ्जन +स्वर +व्यञ्जन (तेल, झोल, जोस, मास आदि), (६) व्यञ्जन+व्यञ्जन+स्वर+व्यञ्जन (प्याज, प्वाल, ट्वाक आदि) र (७) व्यञ्जन+व्यञ्जन+व्यञ्जन+स्वर+व्यञ्जन स्ल्याङ, ब्ल्याङ आदि) को प्रयोग पाइन्छ । यसरी नै कन्या, सत्य, दित्व, कत्रो आदि जस्ता संरचनामा कन्न्या, सत्त्य, दित्त्व, कत्त्रो आदिको उच्चारण विद्यमान छ ।
२.२ः२ रूप र वाक्य
नेपाली भाषाको आफ्नै प्रकारको रूप व्यवस्था र वाक्य व्यवस्था छ । तिनका आधारभूत विशेषताले यसको मौलिक स्वरूपको परिचय दिन्छन् जसमध्ये केहीका बारेमा यहाँ चर्चा गरिएको छ । यसका उपसर्ग र प्रत्ययहरूमा संस्कृत र अन्य भाषाका साथै आफ्नो निजी प्रयोगको सम्मिश्रण पाइन्छ । अखानु, अनपत्यार, कुकाठ, गैरसरकारी, नकाम, बदख्वाइँ, बिजोग, बेवारिस, नामर्द, लावारिस जस्ता शब्दमा प्रयुक्त उपसर्गहरूमा आफ्नै र आगन्तुक भाषाका रूपहरू विद्यमान छन् भने अधिकार, अनुसरण, अनन्त, अपकार, अभिमान, अवमूल्यन, आकार, उत्सर्ग, उपकथा, दुर्गम, दुश्चिन्ता, दुष्प्रवृत्ति, दुस्साहस, निगूढ, निर्जल, निश्चय, निष्कपट, निस्सहाय, प्रगति, पराजय, परिभ्रमण, प्रतिकृति विजय, सहित, सम्मान, सहकार्य, स्वागत आदिमा तत्सम उपसर्गका रूपहरू छन् । यसका प्रत्ययहरूमा पनि यस्तै अवस्था छसलौटो, ।, ठोसो, बनोट, पिराहा, आँटिलो, देखिन्जेल, खेलुन्जेल, खोजी, कुरुवा पढैया, छन्नी, खाना बोलाहट, थमौती, गँजडी, चौडाइ, कजाइँ, बठ्याइँ, भुलक्कड, बचत, खटन, चटनी, घोकन्त, सडल, खोपा, चढाइ, बचाउ, टुङ्याउनी, पोतारो, देखावट,गफाडी, उठान, दङाली, मैतालु, फटाहा, जँड्याहा, पापिनी, झगडिया, अम्सियार, नुनिलो, ससुराली, डोके, गग्रेटो, पखेरो, खगौतो, धुपौरो, केटौले, थुम्को, तबल्ची, चियादानी, जमिनदार, पन्डित्नी, पाल्पाली, गाउँले, चाकडीबाज, पैसावाल आदि शब्दमा प्रयुक्त कृत् र तद्धित प्रत्ययका रूपहरू नेपाली भाषाका निजी विशेषताका साथै आगन्तुक विशेषतासँग सम्बन्धित छन् । यिनका अतिरिक्त पाठक, श्रवण, माननीय, पूजा, नायिका लिखित, भिक्षुक, मृत, गन्तव्य, पाठ्य, मुक्ति, भग्न, पुष्पा, वार्षिक, युगीन, ग्रामीण, संसदीय, मृतक, प्रथमतः, कवित्व, श्रेष्ठतर, सर्वोत्तम, जलमय, शक्तिमान्, मित्रवत्, बलवान्, तेजस्वी, धैर्य, श्रद्धालु जस्ता तत्सम शब्दमा प्रयुक्त तद्धित र कृत् प्रत्ययका रूपहरूलाई पनि नेपाली भाषाले अङ्गीकार गरेको छ । यिनका अतिरिक्त लिङ्ग, वचन, कारक, पुरुष, काल, पक्ष, भाव, ध्रुवीयता आदिसँग सम्ब्न्धित विभिन्न रूपहरूले पनि नेपाली भाषाको मौलिक स्वरूपको निर्माणमा योगदान गरेका छन् । छोरो, छोरी, छोराहरू, छोराले, छोरालाई, छोराबाट, छोराको, छोराका, छोराकी, मेरो, मेरा, मेरी, आफ्नो, आफ्ना, आफ्नी, छोरामा, पढ्छ, पढ्यो, पढ्दै ,पढेको, पढ्, नपढ्, पढेर, पढ्ने, पढ्दा, पढ्दी, पढ्दो, पढेछ,पढेनछ, पढिनु आदि जस्ता शब्दहरूमा पनि नेपाली भाषाको रूपगत विविधता झल्किन्छ । यसका रूपसन्धिमा पनि मौलिकता देख्न सकिन्छ ।जस्तै—जा+यो=गयो,हु +यो=भयो,रु+यो=रोयो,खा+दै=खाँदै,काट्+अन=कटान,चाट्+अनी=चटनी आदि ।
नेपाली वाक्यको मौलिक स्वरूप यसको आप्mनो व्याकरणद्वारा सुनिश्चित छ । यसले कर्ता, कर्म र क्रियापदको पदक्रमलाई अँगालेको छ । अरू भाषाको भन्दा यो कसरी भिन्न छ भन्ने कुराहरू तलका उदाहरणबाट देखाउन सकिन्छ ः
संस्कृत वाक्य
राम ः ओदनम् खादति ।
रामः खादति ओदनम् ।
खादति रामः ओदनम्।
खादति ओदनम् रामः ।
ओदनम् खादति रामः ।
ओदनम् रामः खादति ।
अङ्ग्रेजीमा वाक्य
राम इट्स राइस ९च्बm भबतक च्ष्अभ०
नेपाली वाक्य
राम भात खान्छ ।
उपर्युक्त वाक्यहरुलाई तुलना गरेर हेर्ने हो भने संस्कृतका हरेक पदको रूप चल्ने र त्यसै अनुसार प्रत्यय लाग्ने भएकाले पदक्रम हेरफेर हुँदा पनि अर्थमा फरक पर्दैन तर नेपालीमा भने भात खान्छ राम भन्न मिल्दैन । एकछिनका निम्ति भात खान्छ राम कसैले प्रयोग गरि हाल्यो भने पनि बाघ बाख्रो खान्छ जस्तो वाक्यलाई बाख्रो बाघ खान्छका रूपमा प्रयोग गर्न मिल्दैन किनकि यसबाट अर्थको अनर्थ हुन जान्छ । अङ्ग्रेजी भाषाको पदक्रमभन्दा यसको पदक्रम भिन्न नै छ । एउटै परिवारका संस्कृत र अङ्ग्रेजीका भन्दा भिन्न पदक्रम देखा पर्नु यसको मौलिकता हो ।
पद सङ्गीतका दृष्टिले पनि नेपाली भाषाको आफ्नो मौलिक प्रयोग पाइन्छ । अङ्ग्रेजीमा राम इट्स राइस र सीताः इट्स राइस मा अनि संस्कृतमा रामः ओदनम् खादति र सीताः ओदनम् खादतिमा पुलिङ्गी र स्त्रीलिङ्गी क्रियापद एउटै छ तर नेपालीमा भने राम भात खान्छ र सीता भात खान्छे प्रयोग गरी क्रियामा लिङ्गभेद गरिन्छ । यस्तो क्रियाभेद अन्यत्र पनि पाइन्छ । यसै गरी विशेषण र विशेष्यको सङ्गति पनि यसको आफ्नो मौलिकता हो । जस्तै– जेठो छोरो, जेठी छोरी, जेठा छोराहरू । जटिल वाक्यहरूको निर्माणमा पनि यसका आफ्ना मौलिक विशेषताहरू देखा पर्दछन् । जस्तै ः त्यो त्यही घर हो जहाँ म बस्छु जस्ता मिश्र वाक्यलाई म बस्ने घर त्यही हो जस्ता वाक्यद्वारा नेपालीमा प्रतिस्थापन गर्न सकिन्छ । यसरी नै मैले भोक मानेँ जस्ता वाक्यका ठाउँमा मलाई भोक लाग्यो जस्ता उदासीन कर्ता भएका वाक्यको प्रयोग पनि नेपाली वाक्यको वैशिष्ट्यका रूपमा रहेको छ ।
२.२.३ शब्द भण्डार
शब्द भण्डारका दृष्टिले पनि नेपाली भाषाको मौलिक स्वरूपलाई हेर्न सकिन्छ । नेपाली शब्द भण्डारमा तत्सम, तद्भव, र आगन्तुक शब्दका साथै भाषामा मिठास भर्ने अनेक अनुकरणात्मक शब्दहरू विद्यमान छन् । यस भाषाले संस्कृत स्रोतका शब्दहरुलाई उल्लेख्य सङ्ख्यामा ग्रहण गरे तापनि ठुलो सङ्ख्यामा तद्भव शब्दहरूलाई अँगालेको छ । शरीरका अङ्ग जनाउने शिरदेखि पाउसम्मका शब्दहरूतिर दृष्टि लगाऔं ः
तत्सम ः शरीर, मुख, पेट, कपाल आदि ।
तद्भव ः टाउको (सं. स्थायुक), निधार (सं. ललाट), कान (सं. कर्ण), आँखा (सं. अक्षि), नाक (सं. नासिका), कान (सं. कर्ण ), ओठ (सं. ओष्ठ), हात (सं. हस्त), औंला (सं. अङ्गुली), पाउ (सं. पाद), जाँघ (सं. जङघा), घुँडो (सं घुण्ट), दाँत (सं. दन्त), जिब्रो (सं. जिह्वा), चाक (सं. चक्र), खप्पर (सं. खर्पर) आदि ।
उपर्युक्त शब्दहरुले के जनाउँछन् भने नेपाली भाषामा ठुलो सङ्ख्यामा तद्भव शब्दहरू प्रचलित छन् । नेपाली भाषाले संस्कृत शब्दहरूलाई अङ्गीकार गरे पनि नेपालीपनमा ढालेर तिनको प्रयोग गर्दै आएको छ जसबाट यसको मौलिकपनाले खुल्ने अवसर पाएको छ । ‘आँखा’ लाई हिन्दीमा ‘आँख’ र अन्य केही आर्य भाषामा ‘आँखि’ भनिन्छ तर नेपालीले भने ‘आँखा’ का रूपमा त्यसलाई मौलिक स्वरूप प्रदान गरेको छ । अरू शब्दहरूमा पनि यस्ता विशेषता अन्तर्निहित छन् ।
नेपाली भाषा संस्कृतबाट विकसित प्राकृत अपभ्रंश भाषाबाट जन्मिए पनि नेपालभित्र र नेपाल बाहिरका अन्य भाषाका अनेक आगन्तुक शब्दहरू यसमा प्रयोग हुँदै आएका छन् । त्यस्ता केही आगन्तुक शब्दहरू यस प्रकारका छन् ः
(क) नेपाल बाहिर बोलिने भाषाका शब्द
(अ) अरबी – अखबार, आदत, इनाम, इन्साफ, कदर, कसम, किताब, खबर, गरिब, गैर, जबाब, जुलुस, तारिख, दलाल, नतिजा, मजबुर, मुनाफा, यकिन, लायक ,वारिस, सन्दुक, हाकिम, हिसाब आदि ।
(आ) फारसी– अनार, आमदानी, कुस्ती, खुराक, गिरफ्तार, गुम, गोला, चस्मा, चिराग, चेहरा, जखम, जागिर, तनखा, दरबार, नौजवान, पाइजामा, पुर्जा, मकान, मोर्चा, याद, रफ्तार, लस्कर, सरदार, सितारा, हप्ता, होस आदि ।
(इ) अङ्ग्रेजी –अपरेसन, क्यान्सर, टनिक, डाक्टर, जिप, टिकट, गभर्नर, टेलिफोन, अक्सिजन, कर्पोरेसन, बटन, ज्याकेट, पार्क, थियटर, क्लब, ग्यालरी, क्यामरा म्यान, बाकस, यार्लिङ, पाउडर, पिन, डायरी, स्टोभ, लिपस्टिक, मलेरिया, नर्स, भिटामिन आदि ।
(उ) तुर्की – कुली, कैंची, गलिचा, चम्चा, चक्कु, तक्मा, तगारो, तोप, बहादुर, मुगल, मुचुल्का, लफङ्गा, लास, सुराग, सौगात आदि ।
(ए) पुर्तगाली – अचार, आलमारी, इस्त्री, इस्पात, कफी, गमला, गोदाम, चाबी, तमाखु, तौलिया, परात, परेड, पादरी, पियन, पिपा, पेस्तोल, फिता, फेटा, बिस्कुट, बोतल, भारदार मिस्त्री, साबुन आदि ।
(ओ) विविध
ल्याटिन – क्याम्पस, अपरेटर, कोटा, कोरम, बोनस, एजेन्डा आदि ।
फ्रान्सेली – इन्जिनियर, औन्स, कलेज, कन्स्टेबल, कार्टुन, कुपन, बिगुल, पुलिस आदि ।
ग्रिसेली – थर्मस, थेसिस, प्रोग्राम आदि ।
रुसी– रुबल, भोड्का, जार, भोल्सेबिक, सोभियत, स्तपुतनिक आदि ।
जर्मनेली – फरेनहाइट, सेमिनार निकेल आदि ।
इटालेली – भाइलिन, सोडा, स्टुडियो आदि ।
चिनियाँ – चाउचाउ, चाउमिन, लिची, तुफान आदि ।
जापानी – कराते, जुडो, रिक्सा, होन्डा आदि ।
डच – तुरुप, बम आदि ।
यिनका अतिरिक्त बङ्गालीका गम्छा, मुङ्ग्री आदि, तेलगुका झन्डा, पङ्खा, गुन्डा आदि, मलयलामका पापड, पित्तल, सर्बत आदि र तमिलका निज, मैलो, कागत जस्ता शब्दहरू पनि नेपालीमा आगन्तुक शब्दका रूपमा रहेका छन् ।
(ख) नेपालभित्र बोलिने भाषाका शब्द
नेवार – क्वाँटी, कौसी, चाकु, झ्याल, गुभाजू, छिँडी, डकर्मी, ढोका, पर्खाल, पसल, कौ, फोसा, प्वाल, लाखे, बुइँगल, खापा, हिसी, गुन्द्रुक आदि ।

मगर – आँसी, आले, चुँदी, रिडी, मादी, तादी, बाक्से, पटुका, रोल्पा आदि ।
तामाङ – घ्याङ, च्याङ्बा, डम्फु, सेलो आदि ।
गुरुङ – खुर्पा, घुम, थुन्से, घले, राडी, रोदी आदि ।
मैथिली – जन, पैनी, ठाट, ढाट, पटुवा आदि ।
शेर्पा – लामा, खोल्मा, घ्याङ, घ्यावा, च्याङ्ग्रा, जिम्बु, डा“फे, थुक्पा, दोचा, यति, रक्सी, लामा आदि ।
किराँती – खम्बू, चाम्लिङ, मुन्धुम, याक्थुम्बा, बान्तवा आदि ।
थारू – थारू, ढिक्री, हेल्का, चौधरी, हुर्दङ्वा, अस्टिम्की, फोँफी, ढडिया, डोकनी, कमैया आदि ।
राजी – फान, राजी, बरेङस्यानाङ, गुरुवा, बाली, स्यानाङ,्् जेइ आदि ।
हिन्दी – आपस, अन्धाधुन्ध, उटपटाङ आदि ।
उर्दू – नान, चपाती, सेरबानी, कुरान, नमाज, मस्जिद, सिया, सुन्नी, कौवाली, गजल, खान, पठान आदि ।
अवधी – रजवा, गुल्लर, तुम्बा, माखुर आदि ।
भोजपुरी – धोबिन, अँग, पयर, फुलकोभी, पहेली आदि ।
नेपालका विभिन्न भाषाबाट नेपालीमा भित्रिएका शब्दहरूको विशेष अध्ययन अझै भई नसकेकाले विद्वान्हरूले गरेका सामान्य चर्चालाई आधार बनाई यहाँ केही शब्दहरू दिइएका छन् । खास गरी पोखरेल (२०४६ः१३४), शमा (२०५३ः४), गिरी (२०६३ः१८२–२१५), ठाकुर (२०६७ः१६२–१६३) तथा बराल र एटम (२०६४ः३४) बाट यी शब्दहरू लिइएका हुन् । नेपाली भाषाको मौलिक स्वरूप निर्माणमा नेपालका विभिन्न भाषाहरूको अवश्यमेव योगदान रहेको छ र स्थानीय स्तरमा ती भाषाका कैयन् शब्दहरू नेपालीमा प्रयुक्त छन् । तिनलाई नेपाली शब्दकोशले पूर्णतः भित्र्याइ नसकेकाले तिनको राम्रो लेखाजोखा गर्न कठिन छ । त्यसैले यस कार्यमा विशेष ध्यान दिई नेपाली शब्द भण्डारलाई सुदृढ तुल्याउन आवश्यक छ । यसले नेपाली भाषाको राष्ट्रिय स्वरूपको निर्माणमा थप बल पु¥याउने छ ।
नेपाली भाषाको मौलिक स्वरूपको निर्माणमा अनुकरणात्मक शब्द र निपातहरूको प्रयोगबाट पनि ठोस सघाउ पुगेको छ । तिनले नेपाली भाषालाई रसिलो, मिठो र जीवन्त तुल्याउने काम गरेका छन् । तलका वाक्यमा प्रयुक्त अनुकरणात्मक शब्द र निपाततिर ध्यान दिऔं ः
गाडी सुलुसुल गुड्यो । म टुक्रुक्क बसेँ । मलाई चटक्क छोडेर नजाऊ है । म त आइहालेँ तिमी जे पो गर ।
यी वाक्यका सुलुसुलु, टुक्रुक्क र चटक्क अनुकरणात्मक शब्द र है, त, पो निपातले भाषालाई सरस तुल्याएका छन् । यिनलाई अर्को भाषामा अनुवाद गर्न अवश्य नै गाह्रो पर्छ र अनूदित वाक्यले नेपाली वाक्यको जस्तो स्वाद दिन सक्तैनन् भन्ने कुरा पक्का छ ।
२.२.४ उखान टुक्का
उखान टुक्काको प्रयोग नेपाली भाषामा व्यापक मात्रामा गरिन्छ । यिनको प्रयोगले अभिव्यक्ति लक्षणा र व्यञ्जनाले युक्त हुन गई सहज ग्राह्य बन्न जान्छ । यी खारिएका अनुभवका टुक्रा गाली गर्न नै प्रयोग गरिए पनि कसैले गाह्रो मान्दैन । जुन गोरुको सिङ छैन उसको नाउँ तिखे भनी कुनै अनावश्यक फुर्तीफार्ती झिक्नेलाई भनियो भने पनि पिर मान्दैन । ला बाघ, खा खुट्टी, एक खाई तितै, दुई खाई तितै, आमाको काख अरूको लाख जस्ता एकभन्दा एक आकर्षक उखान नेपाली भाषाका सम्पत्तिका रूपमा रहेका छन् । यसरी नै सुइँकुच्चा ठोक्नु, आँखा चिम्लिनु, डाँडाको जुन,भालुको कन्पारो, आँखाको नानी, सिँदुर पुछिनु जस्ता अनेक उखानद्वारा नेपाली भाषाको मौलिक स्वरूप परिपोषित छ ।

२.२.५ भाषिक भेद
नेपाली भाषाका क्षेत्रीय, सामाजिक र प्रयोजनपरक भेदका अनेक बान्कीहरु प्रयोगमा विद्यमान छन् । क्षेत्रीय भेदका रूपमा पुर्बेली, केन्द्रीय (सिँजाली) र पश्चिमी भेदहरू छन्् । तिनका केही उदाहरण यस प्रकार छन् ः
(क) पुर्बेली भेद
(अ) शब्द – बुइँनी‘बहिनी’,भुइँसी‘भैंसी’, गाम्‘गाउँ’, उम्लो ‘औँंलो’, लौसी ‘लप्सी, भाको ‘भएको ’आदि ।
(आ) वाक्य – (क) याँ म नि उँदर्को कुरो सम्जन्छु । ‘यहाँ म नि उनीहरूको कुरो सम्झन्छु ।’
(ख) हाम्रा घराँ को आम्ने हो ? ‘हाम्रा घरमा को आउने हो ?’
(ग) घरा मान्छ हाटपाइ गया । ‘घरका मान्छे हाटतिर गए ।’
(ख) केन्द्रीय भेद
(अ) शब्द –तो ‘तँ’, छिया े‘थियो’, हाम्मो ‘हाम्रो’,जैथो ‘जस्ता’े, एहोरी ‘यसरी’, गद्दाहम्म ‘गर्दासम्म’, तेइखो ‘त्यसको’ आदि ।
(आ) वाक्य – तिनुले एल्खै जाँला हुच्या छिया तर गाउँडाआ मस्तै बुडाबुडी ह्राँडी बैकिनी पनि हत्तिया । ‘तिनले एक्लै जाउँला सोचेका थिए तर गाउँमाका धेरै बुढाबुढी राँडी आइमाई पनि तयार भए ।’
(ग) पश्चिमी भेद
(अ) शब्द – पन ‘पनि’,इँ ‘यिनी,’ धेकिबेर ‘देखेर’,
झिक्कै ‘ धेरै’, भुण्णु ‘भन्नु , झानु ‘जान’ु, इजा‘आमा’, उनरोे ‘उनको’, हम् ‘ हामी’, तू ‘त’ँआदि ।
(आ) वाक्य – घरमाई सम्पत्ति होइबरि लै देवी रमणा चेलाचेली नाइथ्या । ‘घरमा सम्पत्ति भएर पनि देवी रमणका छोराछोरी थिएनन् ।’
क्षेत्रीय भेदका अनेक उपभेदहरू छन् र तीमध्ये केहीको अध्ययन भए पनि समग्र अध्ययन अझै हुन सकेको छैन । नेपाल बाहिर दार्जिलिङ, सिक्किम, देहरादुन, भुटान, बर्मा आदिमा पनि नेपाली भाषा बोलिने भएकाले त्यहाँका क्षेत्रीय भेदहरू पनि अध्ययनीय छन् ।
नेपाली भाषाका सामाजिक भेदहरू पनि रहेका छन् । उच्च वर्गीय सम्भ्रान्त वर्ग र सामान्य जनताको भाषामा फरक छ । उच्च वर्गमा सुक्ला, जिउनार, पाउपोस, बक्सिन्छ, भुजा आदि जस्ता शब्द प्रचलित छन् भने सामान्य जनता सुताइ, खाना, जुत्ता, दिन्छ, भात जस्ता शब्द प्रयोग गर्दछन् । शिक्षित व्यक्तिहरू कन्या,प्रमाण,कृष्ण,विद्या उच्चारण गर्छन् भने सामान्य व्यक्तिहरू कन्ने, पर्मान, किस्न, बिद्दे भन्छन् । यस्तै वैष्णवहरू तरकारीका निम्ति साग र खानाका निम्ति प्रसाद शब्द प्रयोग गर्दछन् । उमेर अनुसार केटाकेटीहरू चिची, पापा, माम, नुनु, तेते जस्ता शब्द बोल्छन् भने प्रौढहरू तिनैलाई मासु, रोटी, भात, निद्रा, तेल भन्दछन् । जात, धर्म, लिङ्ग आदिका आधारमा पनि केही भिन्न भाषिक भेद पाइन्छन् ।
साहित्य, कानुन, उद्योग ,वाणिज्य, प्रशासन, विज्ञान, प्रविधि, शिक्षा आदिका प्रयोजनका निम्ति आफ्नै प्रकारका पारिभाषिक प्राविधिक शब्दहरू र विषय अनुसारका उपयुक्त वाक्यहरू प्रयोग गरिन्छन् । नेपाली भाषाका विषयतगत प्रयुक्तिका विभिन्न मौलिक ढाँचा चलन चल्तीमा छन् । कानुनमा लामा वाक्यहरू प्रयोग गरिन्छन् भने विज्ञानमा त्यस्ता वाक्यहरू प्रयुक्त हुँदैनन् । साहित्यमा लाक्षणिक र व्यङ्ग्यात्मक अभिव्यक्ति अपेक्षित हुन्छ भने कानुन, विज्ञान, वाणिज्यमा अनेकार्थी अभिव्यक्ति उपयुक्त हुँदैन । नेपाली भाषाका यी प्रयुक्तिका साथै औपचारिक र अनौपचारिक भेदहरू पनि छन् । घरमा भनिने दाजुभाइ रभाषणमा भनिने ‘दाजुभाइ’ को अर्थ फरक छ । कक्षाकोठा, सम्मेलन र समारोह तथा घरायसी काममा प्रयुक्त भाषा भिन्न हुने हुँदा नेपाली भाषाले त्यसमा पनि आफूलाई विकसित तुल्याउँदै लगेको छ ।

उपर्युक्त समग्र भाषिक भेदको समष्टि नै नेपाली भाषा हो । अतः नेपाली भाषाको मौलिक स्वरूपको निर्माणमा नेपालका विभिन्न क्षेत्रका भौगोलिक विशेषता, सामाजिक संरचनाका विविध पक्ष र ज्ञान विज्ञानका विभिन्न शाखाको समावेशिता पनि प्रासङ्गिक हुन पुगेको छ ।

४. निष्कर्ष
नेपाली भाषा विश्वका आधुनिक भाषाहरू सरहकै मौलिक विशेषताले युक्त भाषा हो । यसका इतिहास, संरचना र प्रयोगका विभिन्न पक्षमा मौलिकता अन्तर्निहित छ । यसका ध्वनितात्त्विक, वर्णतात्त्विक, रूपगत र व्याकरणिक संरचनामा अनेक मौलिक वैशिष्टय विद्यमान छन् । यसको शब्द भण्डारमा तत्सम, तद्भव र आगन्तुक शब्दहरूको मिश्रण रहे पनि तद्भव शब्दहरूको बाहुल्य छ । उखान ,टुक्का , अनुकरणात्मक शब्द र निपातहरूले यसको मौलिक पक्षलाई जीवन्त बनाउन मद्दत गरेका छन् । यस भाषाले पनि अन्य भाषाहरूले झैं विभिन्न क्षेत्रीय, सामाजिक र प्रयोजनपरक भेदहरूको विकास गरेको छ । यसका आफ्ना शब्दकोश, व्याकरण र वाङ्मयका विभिन्न ग्रन्थ प्रकाशित छन् । देशका धेरै व्यक्तिहरूको मातृभाषा र दोस्रो भाषाका साथै एक प्रमुख राष्ट्रभाषाका रूपमा रहेको यही भाषा नेपालको सरकारी कामकाजको भाषा हो । शिक्षा, सञ्चार, कानुन, वाणिज्य, विज्ञान, प्रविधि आदि विभिन्न क्षेत्रमा यसको प्रयोग हुँदै आएको छ । यसको संरचनागत स्तरोन्नति र प्रकार्यगत विस्तार दुबैतिर दृष्टि लगाउँदा आधुनिक समाजका भाषिक क्षेत्रका हाँकहरूको सामना गर्न सक्ने शक्ति यसले सञ्चय गर्दै गएको देखिन्छ ।

सन्दर्भ कृति सूची
अधिकारी, हेमाङ्गराज (२०६२), सामाजिक र प्रायोगिक भाषा विज्ञान, ते.सं., काडमाडौँ ः रत्न पुस्तक भण्डार ।
अनिवार्य नेपाली विषय समिति, त्रि.वि.वि.,पा .वि. के (२०६६), अनिवार्य नेपाली शिक्षण निर्देशिका, ललितपुरः साझा प्रकाशन ।
आचार्य, व्रतराज (२०४८), हाम्रो भाषा, द्वि.सं., काठमाडौँ ः व्रतराज आचार्य ।
गिरी, जीवेन्द्र देव (२०६३), भाषा विज्ञान, भाषा र भाषिका, .............. काठमाडौँ ः एकता बुक्स डिस्ट्रिब्युटर्स प्रा. लि. ।
..................... (२०६७), ‘भाषिक समस्या र समाधानका उपाय’,नवयुग, २०ः११–१२, पृ. ५८–६० ।
गौतम, देवीप्रसाद (२०४९), नेपाली भाषा परिचय, ललितपुर ः साझा प्रकाशन ।
................... र प्रेमप्रसाद चौलागाईं (२०६७), भाषा विज्ञान, काठमाडौं ः पाठ्य सामग्री पसल ।
ठाकुर, गोपाल (२०६७), ‘देवकोटाको भाषा र भाषिक चिन्तन’, वैचारिक आलोकमा महाकवि देवकोटा, सम्पा. देवी नेपाल, काठमाडौँ ः प्रगतिशील लेखक सङ्घ ।
नेकपा (एमाले) (२०५४), जाति, भाषा, धर्म र संस्कृति सम्बन्धी हाम्रो नीति, काठमाडौं ः केन्द्रीय कार्यालय ।
नेपाल ‘यात्री’, पूर्णप्रकाश (२०३९), ‘हालसम्म प्राप्त भएकामध्ये सर्वप्राचीन नेपाली अभिलेख’,पच्चिस वर्षका भाषिक चर्चा, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, पृ. ९६–१०० ।
पोखरेल, बालकृष्ण (२०४६), राष्ट्रभाषा, पाँ.सं. काठमाडौं साझा प्रकाशन
............... (२०५०), पाँच सय वर्ष, ते.सं., ललितपुर ः साझा प्रकाशन ।
पोखरेल, बालकृष्ण र अन्य, सम्पा. (२०४०), नेपाली बृहत् शब्दकोश, काठमाडौ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
प्रश्रित, मोदनाथ (२०६२), विचार र अन्तर्सम्बन्ध, काठमाडौं ः बगर फाउन्डेन, नेपाल ।
बन्धु, चूडामणि (२०६३), नेपाली भाषाको उत्पत्ति, काठमाडौँ, साझा प्रकाशन ।
................ (२०५३), भाषा विज्ञान, सा.सं., ललितपुर ः साझा प्रकाशन ।
बराल, कृष्णहरि र नेत्र एटम (२०६४), अनिवार्य नेपाली, काठमाडौँ ः विद्यार्थी पुस्तक भण्डार ।
शर्मा, मोहनराज (२०५३), शब्द रचना र वर्ण विन्यास, काठमाडौँ ः नवीन प्रकाशन ।
शर्मा, मोहन राज र कृष्णहरि बराल (२०५२), भाषा विज्ञान र नेपाली भाषा, द्वि. सं., काठमाडौँ ः नवीन प्रकाशन ।
Kuo, eddie c.y. (?) Language Policy and Nation Building in a ,ulti ettnic society : The case Singapore Model, http. www.google.com

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 21 फागुन, 2072

लेखकका अन्य रचनाहरु