स्वागत नेपालका स्वागतयोग्य स्वरहरू

- प्रा. डा. कपिल लामिछाने

समकालीन नेपाली काव्यकविताको भित्तो उभ्याउने सिकर्मी–डकर्मीहरूमध्ये २०३०मा गरामनी, झापामा जन्मेका उत्साही युवक स्वागत नेपालको पनि त्यत्तिकै योगदान रहेको छ । उनन्तीस वसन्त पार गरेका स्वागतका उनन्तीसवटै उत्कृष्ट कविताहरूको सँगालो पहाड हाँस्दा पहिरो जान्छ हालै बजारमा आएको छ र बजारमा ल्याउने काम गरेको छ— विवेक सिर्जनशील प्रकाशन, काठमाडौँले । साहित्यको सबैभन्दा बढी लेखिने विधा कविता नै हो, तर कविता भनेर लेखिएका सबै कविता भएका हुँदैनन् । उत्कृष्ट कविताको कुरा त परै जाओस् । कवि स्वागत नेपालसित म चिरपरिचित छैन र अपरिचित पनि छैन, तर जहिले जहिले उनका कविता भेट्थेँ तहिले तहिले कविताले मलाई छुँदै आएका थिए र मलाई गाँज्दै आएका थिए । अहिले २९ वटा कविता थोकमा एउटै पुस्तक–शीर्षकभित्र अटाएर आएका छन् र मलाई लाग्छ यो एउटा सुन्दर–सुगन्धित फूलमाला बनेको छ – सिङ्गो नेपाली साहित्यका लागि । “कलाले यथार्थलाई छोप्नु हुन्न, बरु सोझै भेट्न नसकिने सत्यलाई कलाका माध्यमबाट उजिल्याउनुपर्छ, तर अहिले कलालाई साध्यका रूपमा लिनेहरूले यथार्थलाई छोप्ने र सत्यलाई बङ्ग्याउने चेष्टा गरिरहेका छन् ।” कवि स्वागत नेपालको कलामान्यता हो यो । उनको कलामान्यताअनुरूप नै उनी चलेका छन्, उनका कविताहरू देखापरेका छन् । यस अर्थमा उनले अफैँस“ग छल गरेका छैनन् भन्ने लाग्छ ।
उनका कवितामा समकालीन यथार्थले कलात्मक रूप प्राप्त गरेको छ । ‘को कुमान्छे ?’मा सरकारी ड्राइभरका माध्यमले देश हा“क्नेको यथार्थलाई, ‘कालो सडकको रातो तिर्खा’मा देशका कुत्सित विचारका मान्छेहरूको स्वार्थीपनलाई, ‘झन्डा कसको ?’मा वीरतापूर्वक लडेर एउटाले जित्ने र अर्काले– बसिखानेले राज गर्ने यथार्थलाई, ‘मेरो पृथुलाधीश’मा देशका लागि लड्ने निरीह योद्धाको अवस्थालाई टड्कारो रूपमा देखाइएको छ । यस्तै सङ्ग्रहका ‘प्रिया ∕ चुरा नलगाऊ फुटाइहाल्नुपर्छ,’ ‘ढुङ्गाको तरुल’, ‘भाग् न झिँगा भाग् ∕’, ‘स्वतन्त्र छन् कालीपोकेहरू पनि’,‘अदालती फैसला,’ ‘ओ राम...’ आदि कविताले पनि समकालीन यथार्थको संवाहकको काम गरेका छन् । नेपालले तथ्यलाई बङ्ग्याउने र सत्यलाई ढाकछोप गर्ने काम नगरी सत्यतथ्यलाई कलात्मक उच्चताका साथ छर्लङ्ग्याउने काम गरेका छन् । त्यसैले उनका कविताले पाठकको मनमस्तिष्कलाई छुन्छन् ।
हामी जुन कुरालाई सामान्य मानेर बोकिरहेछौँ, कवि त्यसमा पनि गम्भीर भएका छन् र हामीलाई हामी आफँैँले कुनै गलत काम गरिरहेको सहज आभास दिन सफल भएका छन् । छिटो काम गर्ने, राम्रो काम गर्ने आफ्ना नानी–बाबूलाई हामी राजा भनिदिन्छौँ । के राजा हुनु राम्रो हो ? सङ्ग्रहको पहिलो कविता ‘नानू ∕ तिमी मेरै छोरी होऊ’ कविताका अन्तमा उनी लेख्छन्–
नानू ∕ तिमी कहिल्यै राजा नहोऊ
तिमी कहिल्यै रानी नहोऊ
नानू ∕ तिमी मेरै छोरी होऊ ∕
व्यवसायवाद र बढ्दो बजारीकरणले मानव–सभ्यतालाई अधोगतितिर धकेलेको छ । कवि आफ्नो कला, संस्कृति, स्वाभिभान र राष्ट्रियतासमेत विश्वबजारको विक्रयवस्तु बनेकोमा दुखित छन् । ‘खोई आमा, बजारमा ?’ कविताको अन्तमा उनी लेख्छन्–
तथापि यो बजारमा महाशय ∕
जतिसुकै पैसा लिएर आउनुहोस्
मात्र एकथोक पाइने छैन
त्यसबेला तपाईं
आफ्नो चित्त नदुखाउनुहोला
आफ्नी आमा बेचेको पैसाले
फेरि बजारमा
अर्कै मनपर्दी
आमा किन्न खोजेर
आफैँसँग पछुताउनुहोला ।
कवि नेपालले बजारीकरणको चरित्रको उद्घाटन गरेका छन् । पैसा चाहनेलाई बस पैसा चाहियो । के बेचियो त्यो कुरा गौण हुन्छ, विक्रेतालई । यसरी व्यवसायवाद र बढ्दो बजारीकरणले मानव–सभ्यतालाई पतनतिर धकेलेको छ भन्ने कविको धारणा छ । उनले आफ्ना कविताका माध्यमबाट जीवनवादी र राष्ट्रवादी सन्देश–प्रसारण गरेका छन् । “कविले कसैलाई कुनै पनि पाठ जबरजस्ती पढाउने अधिकार राख्दैन तर सार्वजनिक कविताहरूलाई पाठकहरूले आफ्नो शिक्षकमा स्वतः मनैदेखि मुकरर गर्न सक्छन् ।...” भन्ने उनको मान्यता छ । ‘अलिकति हाँसेर बाँच्नु पर्छ’ कवितामा उनी दोहोे¥याएर लेख्छन्–
म भन्छु
जीवन हो
जसरी पनि बाँच्नु पर्छ
तर त्यही त हो
अलिकति हाँसेर बाँच्नु पर्छ
एकातिर उनी जीवनलाई प्राथमिकता दिन्छन् भने अर्कातिर राष्ट्रियताप्रति उच्च चासो राख्छन् । ‘काला फूलहरू नउम्रिऊन्’मा उनी लेख्छन्–
आमालाई त एउटै ज्यान बाहेक
मैले केही दिन सकिनँ
चाहिन्न मान–सम्मान पनि
बस् यति छ चाहना अब
पहिले–पहिले जस्तो
रातो रगत बगेको माटोमा
फेरि काला फूलहरू नउम्रिऊन् ।
स्वागत नेपालका कविताहरू उच्च कलामूल्यद्वारा सिँगारिएका छन् । नेपाल कला कलाका लागि भन्ने कोरा कलावादका पक्षमा छैनन् । उनको भनाइ छ, “कलाको प्रयोगलाई मात्र साध्य ठानियो भने सत्यको एउटा रङ्गमा कलाको अर्को रङ्ग पोतिन सक्छ र भ्रमको खेती सुरु हुन्छ । त्यसकारण अहिले एकथरी आलोचक, समालोचक र सर्जकहरू जेलाई कलाको प्रयोग भन्छन् म त्यसलाई कलाको दुरुपयोग भन्छु ।”त्यसैले कथ्य वा विचारलाई गौण बनाएर, सम्प्रेषणलाई बेवास्ता गरेर उनी कलाका पछि दगुर्न चाह“दैनन् । उनको कलासम्बन्धी मान्यता जस्तै उनका कविताहरू कलात्मक उच्चताले भरिएका छन् । सटीक बिम्ब, अलङ्कार, प्रतीक, स्तरीय काव्यिक भाषा आदिको प्रयोगले गर्दा उनका कविता कलात्मक बन्न गएका छन् । ‘सदर चिडियाखानाका सरकारी बाघहरू’ कविताको एक अंश–
माछाहरूको महानतामा
शोक मनाउँदै
माछाकै शत्रुहरू
किनारमा झोक्राएर
मौनधारण गरिरहेछन्
सेता–काला बकुल्लाहरू
समग्रमा भन्नुपर्दा स्वागत नेपालको प्रस्तुत सङ्ग्रहका कविताहरूले एकातिर समकालीन यथार्थलाई उद्घाटन गरेका छन् भने अर्कातिर जीवनवादी–राष्ट्रवादी सन्देश–प्रसारण गरेका छन् । उनका कवितामा वस्तु र शिल्पको सुन्दर सन्तुलन पाइन्छ । कुनै बखत नेपाली कवितालाई प्रयोगवादका नाममा दुरुहता, दुर्वोध्यता र क्लिष्टताले गाँजेको थियो । अहिले स्थिति फरक भइसकेको छ । त्यतिखेरका प्रयोगवादका नायकमा पनि अहिले परिवर्तन आइसकेको छ । कवि नेपालमा प्रयोगको कुनै आग्रह छैन । उच्च कलाले सजिएका नेपालका कवितामा यथार्थवादी दृष्टि तथा प्रगतिवादी रन्को पाइन्छ भने अर्कातिर उनका कविता प्रभावोत्पादक, अनुकरणीय र स्वागतयोग्य रहेका छन् । कवि नेपालले बडो जिम्मेवारीपूर्ण रूपले कलम उठाएको पाइन्छ । उनको कलम अझै दरो बन्दै जाने अभिलक्षण यिनै कवितामा देखापरेका छन् । त्यसले फैलन वा झ्याङ्गिन पाउनु पर्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 21 फागुन, 2072

लेखकका अन्य रचनाहरु