प्रायश्चित

- पुण्य खरेल

विहान सखारै उठेर बिहानको दैनिक काम सकें । माघको ठिहिरो । झापाको यो गाउँमा जेठ–असारको गर्मी सम्झिँदा यस्तो ठिहिरो पनि हुन्छ भन्ने पत्यारै लाग्दैन । गाईको गोबर, बाछो, दुँदेरो, पराल–सराल गर्दागर्दै हातका औंला चिसाले गँगरिएछन् । बुढौलीतिर लागेपछि घुँडा पनि निकै चिसिंदा रहेछन् । त्यसैले आँगनको एक छेउमा पराल–सराल भेला गरेर आगो जोरें । गाईका थलाछेउका सुकेसुकेका झिंजामिजा बटुलेर ल्याएँ । टुक्रुक्क बसेर आगाको न्यानोमा आनन्दित हुँदै प...र बाटातिर आँखा लाएँ । म टुक्रुक्क बसेको देखिछिन् कि क्या हो, जुन्कुकी हजुरीले भनेको सुनें– “ए जुन्की ! ऊ हजुरबुबालाई एउटा मुढा लगिदे त !”
नभन्दै घोप्टिएर स्कुलको गृहकार्यमा व्यस्त जुन्कुले थपक्क मुढा ल्याएर छेउमा राखिदिई । म मुढामा बसें । मेरा आँखा फेरि पर मूलबाटातिरै सोझिए । एउटा अग्लो–अग्लो मानिस मूलबाटो छोडेर हाम्रो घरतिर सोझियो । त्यो मानिस को हुन सक्छ ? मेरा मनमा अनुमानहरू तँछाड्–मछाड् गर्न थाले । मूलबाटोबाट हाम्रो घर त्यस्तै आधा माइल होला, तर मानिस चिन्न भने, आँखा पनि अलिक धमिलिएका हुन् कि क्या हो, नजिकै नआई चिन्न छाडें ।
‘भाइ मेदिनी हो कि ? फेरि अलिक अग्लो जस्तो छ यो मान्छे । काशीदाइ त हुँदै होइन । फुपाजू आउने कुरा थियो, उहाँ पनि होइन, सट्–पेन्ट लगाउनु हुन्न उहाँ । झोला भिरेको पनि बेग्लै पारा छ । को हो त ?” मनमा त्यस्सै व्यक्तिव्यक्तिका आकृतिहरू, चिनारुहरूका आकृतिहरू त्यस आकृतिमाथि एउटा सिक्कामाथि अर्को सिक्का खप्टे जस्तै खप्टिए, मिलेनन्, अर्को आकृतिको खोजी मनमनले गर्यो । त्यो मानिस लमक–लमक आउँदैछ–आउँदैछ । दूध दुहेर माऊको थुन चुस्न छोडिदिएको बाछो बुरुक्–बुरुक् दौडिंदै आँगनमा आयो, यता र उता कुद्न थाल्यो । मलाई बाछो समात्न धौ–धौ भयो । जुन्कुकी हजुरी पनि भित्रबाट निस्किइन् र एकापट्टि उभिइन् । “दूध धेर भाको साँढेलाई ! हेर उफ्रेको ! सितिको दूध छोडिदिनु हुन्छ नि !” भन्दै उनी एकातिर र म अर्कातिर भएर मुश्किलले बाछो समातेर लगी किलामा बाँधें । फर्केर यस्सो आगो बालेका ठाउँमा पुग्दा त त्यो मान्छे फुत्रुक्क आँगनमा पाइला राख्न आइपुग्यो । भन्यो– “नमस्ते रामखेज सर !”
“ए हे ! सङ्कटप्रसादजी ! नमस्ते है ! अनि कतातिर पाल्नुभएको ?” मेरा मनमा सङ्कटप्रसादसँग जोडिएको आफ्नो विगत सररर आयो । मान्छेको मन कस्ता तत्वहरूले बनेको हुन्छ ? एक्कासि एक मिनट भित्रमा सङ्कटप्रसाद र आफ्नो जीवनका ती तीतैतीता विगतहरू जसरी आए, म यहाँ अक्षरमा लेखेर व्यक्ताउन कदाचित सक्तिन । उनले बीए पास गरेर गाउँमा आएका, उनको गरिबी र अभावका ती दिन, मैले उनलाई स्कुलमा काममा लगाउनका लागि गाउँका प्रधानपञ्चदेखि संचालक समितिका सबै सदस्यका घर–घर गएर विश्वस्त पारेको, ती सबैले उनलाई राख्नु हुँदैन भनेको, बडो कठिनले नियुक्ति पत्र दिन सकेको, शिक्षक स्टाफमा उनी घुलमिल हुन नसकेर एकलकाँटे भएको, एकै वर्षपछिदेखि गाउँको जमिन्दार पञ्चमन्त्रीको लहैलहैमा लागेर विद्यालयका सबै शिक्षकविरुद्ध प्रशासनमा रिपोर्ट पुर्याउने सीआइडी भएको, शिक्षक–विद्यार्थीविरुद्ध सधैं षडयन्त्र र चुक्लीखोर भएर दुःख दिएको, यस्ता घटनाहरूको दृश्यका झलकहरू मनमा बाइस्कोपका दृश्य झैं खेले । यी एक जनाका बिभिषणी क्रियाकलापका कारण आफूले बेहोर्नुपरेका गिरफ्तारी, अमानवीय यातना, मुद्दा, ताप्लेजुङदेखि इलाम हुँदै झापा चन्द्रगढीसम्म महिना–महिना दिनको तारिख खेपेको, प्रशासनिक वारेन्टका कारण भूमिगत बस्नु परेको, पूज्यबुबा–आमाको अवशानमा क्रियाकर्ममा उपस्थित समेत हुन नपाएको, पन्ध्र वर्षको सेवाबाट अन्यायपूर्वक अवकाश खप्नु परेका सबै दृश्यहरू मनमा आए । यस्तो जीवनको खलनायक व्यक्ति आज झापाको यो कुनामा सदरमुकामबाट यति टाढा, राजमार्गबाट घण्टौं घण्टाको बाटो पर्ने यस कुनामा दुःखसुख दिन बिताउँदै गरेका ठाउँमा किन आए ? अझै यो जीवनलाई ग्रहणले पछ्याउन नछाडेकै हो ? पञ्चायती व्यवस्थाको पतनसँग अ.त.को बिल्ला, नक्सलाइटको बिल्ला फाट्यो भन्ने ठान्याथें, अझैै सकल्लो रहेकै हो ? धेरै मित्रहरूले जागिरमा पुनर्वहाली पाए, राजनीतिमा फाइदाका पद पड्काए । आफ्नो पनि ढिलोढिलै भए पनि एमाले सरकारको मन्त्रालयको पत्रले पुनर्वहाली दिने भएथ्यो, तर मन्त्रालयको पत्र जिल्ला पुग्दाओर्दा मन्त्री बद्लियो । पञ्चायतकै उत्तराधिकारी कथित प्रजातन्त्रवादीको सरकार बन्यो । पुनर्वहाली काँचै खायो, भएन । सङ्कटप्रसादले गर्न थालेको कामलाई तथाकथित प्रजातन्त्रे सरकारले निरन्तरता दियो । आज यही अभावकै भए पनि दुःखसुखको जीवनमा अभ्यस्त भई बाचेको बेला कस्तो प्रहार लिएर आए फेरि यी सङ्कटप्रसाद ? मेरो मन एकप्रकारको कौतुहलमा थियो । मैले उनका आँखा निर्निमेष हेर्दै भित्रतिर फर्केर भनें– “जुन्कुकी हजुरआमा ! सङ्कटप्रसाद आउनुभएछ ! चिया खाऊँ ल !”
जुन्कुकी हजुरआमालाई सङ्कटप्रसादको परिचय गराउनु पर्दैनथ्यो । महाभारतका पाण्डवले द्रौपदीलाई दुर्योधन–दुःशासनको परिचय गराउनु कहाँ पर्छ र ! तर जुन्कुकी हजुरआमालाई सङ्कटप्रसाद आएको कुरामा विश्वास नलागेर हो कि ? ढोका छेउमा आएर बाहिर हेरिन् र भित्रै पसिन् । जुन्कु अहिले पनि उस्को ‘होमवर्क’मै व्यस्त थिई ।
दुई कप चिया थालमा राखेर उनी अगाडि आँगनमा आइन् । राखिदिइन् । सङ्कटप्रसादले “नमस्ते गुरुमा !” भन्दै नमस्ते गरे । कुटील मान्छेहरूको पनि बोली त नरम–मिठो हुने नै गर्छ । ‘मधुतिष्ठति जिह्वाग्रे हृदयेतुहलाहलम्’ भन्छन् । “सञ्चै हुनुहुन्छ गुरुमा ? अनि छोराछोरी कता कता ?” यस्तै एक–दुई औपचारिक प्रश्न पनि गरे ।
“ठीकै छ । पखेटा पलाएपछि कहाँ गुँड रुँगेर बसिरहन्छन् र ! अब त उही बुढाबुढीले तन्नेरी हुनु पर्दोरहेछ नि ! अनि सर ...? माथि ताप्लेजुङमै त होला, कि कहाँ छ बसोबासो ?”
“मैले माथि थेचम्बुमा काम गर्दैगर्दा काठमाडौंमा एउटा झुप्रो हालेको थिएँ गुरुमा ! अहिले अब त्यतै, त्यही झुप्रो टालटुल पारेर गुरुमा ! छोडें पहाड त ! पहाडमा त बसिसक्नु पनि भएन ! मान्छेहरूका आँखामा खुर्सानीजस्तो भएर कति बसिरहनू ? अनि म त काठकाडौंतिरै पो अब त !”– सङ्कटप्रसादले भने ।
गुरुमा यो छोटो संवादपछि एक प्रकारको जिज्ञासा बोकेर भित्रिइन् । ‘किन आयो नि यो सङ्कटप्रसाद ? यो राहु फेरि के दुःख खन्याउन अन्भरिएको हो नि ?’ यस्तै प्रकारको संत्रासपूर्ण खुल्दुली गुरुमाका पेटभित्र चिसो साप सुलुलुलु दुलाभित्र पसे झैं पस्यो । पेटभित्र बसिरहेका बचेराहरू डरले जम्जमाए जस्तै लाग्यो उनलाई । उनले चुलोमा काम समाउँदै यो खुल्दुली, यो कौतुहल बिर्सिन खोजिन् ।
“रामखेज सर ! म माफी माग्न आएको तपाईंसँग !” सङ्कटप्रसादले दुई हात जोडेर बडो नरम पारामा नजर झुकाएर भन्दै आफ्नो आसनबाट उभिए ।
“मैले त बुझ्दै बुझिन । तपाईंले के भन्नुभएको हो ? केको माफी माग्नु भएको हो ? बसौं न बसौं ! बसौं, बसेरै कुरा गरौं, चिया सिया खाऔं ! यत्रो पन्ध्र–बीस वर्षपछि भेट भएको होला !” मैले भनें । मेरा मनमा एक पल्ट स्कुलका विद्यार्थीले उनलाई कुट्ता–कुट्त थिल्थिलो पारेर, बोरामा हालेर उनका घरछेउमा पुर्याएर छोडेछन् । त्यस बेला उनलाई हेर्न जाँदा सुन्निएर उरुमुट्टु भएका थिए । एक महिनाजस्तो थाल परेका थिए । त्यो सम्झना आयो ।
“बस्छु पनि । चिया पनि खान्छु । गुरुमाले पकाएर दे’को भात पनि खान्छु । आज मलाई रामखेज सर ! तपाईंले माफी दिनुपर्छ ! मलाई माफी दिनुपर्छ सर ! म काठमाडौंबाट खोज्दैखोज्दै तपाईंसँग माफी माग्न आएको ! माथि सुरुङ्गामा ओर्लिएर सोधखोज गर्दा कन्काई मा.वि.का सरले यहाँ घर बताइ दिनुभयो र त्यहाँबाट उहाँले नै गाडी चढाइ दिनुभयो । म काठमाडौंबाट तपाईंसँग माफी माग्नैका लागि आएको सर ! मलाई माफी दिनुपर्छ !” सङ्कटप्रसाद बोल्दाबोल्दै भावुक बन्दै गए । उनी गोडा समात्न निहुरेलान् कि जस्तो गर्न थाले ।
मैले उनको यो भावुकता हेर्दा उनको यो नाटक चाहिं होइन नै भन्ने ठानें । अर्थात् यी अर्को कुनै कुटील विचार बोकेर आएको होइनन् भन्ने वोध भयो । वास्तवमा यिनी आज हृदयको आवाज बोलिरहेछन् भन्ने लाग्यो, तर के कुराले यिनको हृदयलाई बिरोल्यो त्यो कुराको कुनै भेउ भने म पाइरहेको थिइन । मैले उनलाई समाएर मुढामा बसाएँ र भनें– “तपाईं एकोहोरो माफी–माफी भन्दै हुनुहुन्छ । के वापतको माफी हो ? तपाईंले के गल्ती गरेर माफीको कुरा गर्नुभएको हो ? त्यै त प्रष्ट भएको छैन । त्यसमाथि म तपाईलाई माफी दिने र नदिने हैसियतको नै त हुँ कि होइन ? अहिले बस्नू न ! चिया खाऔं ! अनि कुरा गरौं । माफीको कुरा त माफी नै माफी छँदैछ नि !”
उनी अगाडिको मुढामा थचक्क बसे । घाम तिरिरि देखा परे । उनको अनुहारमा घामको रातो किरण ठोकियो । मैले उनको अनुहार हेरें । बीए पास गरेर गाउँमा मास्टरीको याचना गर्दाको उनको अनुहार र आज माफीको याचना गर्दाको उनको अनुहारमा एक प्रकारको एकरूपता थियो । मैले उनकी पत्नीका वारे, छोराछोरीका वारे प्रश्न गरेर उनलाई भावुकताको गहिराईबाट उतार्न खोजें ।
“मलाई सप्पै कुरा ठिकै छ रामखेज सर ! काठमाडौंको भक्तपुर जडीबुटीछेउमा चार–पाँचाना घडेरीमा सानो घर बनाएको छु । छोराछोरी आ–आफ्नो पेट दुःखसुख पाल्छन् । उही दुई जना त हो जीवन । पोहोरदेखि पेन्सनमा बस्नु परो । पेन्सन लिँदादेखि एउटा बेचैनीले मलाई पिरोलेको पिरोल्यै गर्यो सर ! अनि त्यही बेचैनीको दबाई गर्न तपाईंसँग माफी माग्न आएको ।” सङ्कटप्रसादले भने ।
चिया खायौं । गुरुमाले चियाका रित्ता कपहरू उठाएर मतिर हेर्दै “फेरि एक पल्ट चिया दोहोर्याऊ ?” सोधिन् ।
“जाडो यस्तो छ । एक पल्ट दोहोर्याए पनि के भो त !” मैले उत्तर दिएँ ।
“रामखेज सर ! शिर झुकाएर सङ्कटप्रसादले भने, “पोहोर कातिकमा अनिवार्य अवकाशको पत्र आयो । आफ्ना भएभरका प्रमाणपत्र लिएर म किताबखानामा पुगें । राम्ररी हेर्दा त मेरो सुरु नियुक्ति त तपाईंका हस्ताक्षरमा, तपाईंले नै दिनुभएको पो रहेछ । मलाई त्यतिबेलाको दृश्य झल्झली सम्झना भयो । स्कुलको त्यो सेक्रेटरी आइतहाङ मलाई पटक्कै देख्न नसक्ने, प्रधानपञ्च घनेन्द्रप्रसाद हाम्रो परिवारसँगै खड्गास्ट परेर अरिष्ट भएको, मलाई स्कुलमा खुट्टै टेक्न नदिने थिए । तपाईंको त्यो सर्वप्रिय व्यक्तित्वले आफैं अङ्भर गरेर मलाई नियुक्ति दिने निर्णय गराउनुभयो । नियुक्ति दिनुभयो । त्यो अपार गुनको मैले गुन फर्काउनु त कता हो कता, म त साँपजस्तो बन्न पुगें । त्यो डल्लेमन्त्रीको बहकाउले म बिग्रिएँ । एक पाइलो, दुई पाइलो गर्दै मबाट अक्षम्य गल्तीहरू भए । तपाईंजस्तो उच्च आदर्शको, गुणवान व्यक्ति यसरी बस्नु परेको देख्ता–सुन्दा र मजस्तो कृतघ्न व्यक्तिले पेन्सन पाउँदा दिनदिन म व्यथित भैरहें । यो व्यथाले मलाई पिरोलेको पिरोल्यै गर्यो । डल्लेमन्त्री त देशमै बस्न नसक्ने भयो, भाग्यो विदेशतिर । कहाँ मरेको स्यालजस्तो भएर बसेको होला । बसोस् बज्या कृतघ्न ! मलाई समेत त्यस्तै पार्यो । मेरा छोराछोरी पनि सबैका आँखामा एक प्रकार साँपका बच्चा जस्तै भए । यहाँ कतै मानमनितो पाएनन् । अब बिदेशिएका छन् । जसोतसो जीवन बिताउलान् । मलाई पछुताउले सताइरह्यो र एउटा मनले भन्यो– “जा ! गएर रामखेज सरका पाउ पर् ! माफी माग् ! माफी मागेर शिर उठा !” त्यसैले म आएँ सर ! मलाई माफ दिनुहोस् ! मलाई बचाउनुहोस् !!” उनले हात जोडे ।
“माफी नै माफी छ सङ्कटप्रसाद जी !” मैले उनले जोडेका हातलाई दुबै हातले समात्तै भनें– “म कहाँ तपाईंका पछि लागेर आएको छु र ! तपाईंसँग कुनै पूर्वाग्रह पनि छैन । जो हो त्यही डल्ले मन्त्रीको खेल हो, थियो, पञ्चायती दुष्ट प्रशासकको खेल थियो । उनीहरू गाउँमा, स्कुलमा आफ्नो लाचार छायाजस्ता नोकरहरू राख्न खोज्थे तर गाउँका स्वाभिमानी सत्यवादी जनताहरू, स्वाभिमानी शिक्षक वर्ग त्यस विरुद्ध उभिएका थिए । उनीहरू हाम्रो त्यो उभ्याइलाई ध्वस्त पार्न अनेक छलप्रपञ्च रच्थे, दुःख दिन्थे । नबुझेर तपाईं तिनीहरूको गोटी बन्न पुग्नुभयो त्यतिबेला । त्यति त हो । त्यो समय सकिएको छ । समय बद्लिएको छ । त्यसकारण तपाईंसँग केही त्यस्तो पूर्वाग्रह पनि छैन, कुनै नराम्रो भाव पनि छैन । त्यो जे थियो, जे भयो सकियो । बरु त्यो एक पल्ट केमा हो तपाईंसँग रुष्ट भएका विद्यार्थीले तपाईंउपर अमानवीय दुव्र्यवहार गरे, त्यसप्रति दुःख लागेको छ । तपाईंलाई त त्यसबेला हामीले बिद्यार्थीलाई उल्क्याएको भन्ने लागेर त्यस्तै रिपोर्ट गर्नु भयो तर यथार्थ त्यस्तो थिएन । हामी शिक्षक भएर एउटा शिक्षकउपर विद्यार्थी उकास्ने जस्तो नीच कर्म गर्दैनथ्यौं नै । पछि यो यथार्थ तपाईंलाई थाहा भयो कि भएन तर आज भए पनि यो बुझिदिनु होला । अरु सब ठीक छ सर ! सरले आज कुरा चलाउँदा त्यो प्रष्ट्याउन पाएँ ।”
एक छिन हामीबीच सन्नाटा छायो । मैले उनलाई डोर्याएर कोठाभित्र लगें । झोला बोकेर उनी पनि मसँगसँगै भित्रिए । भित्र पसेर उनी बोले– “गुरुमा ! गुरुमा ! एक छिन यता आउनू न !”
उनी झोलाको चेन खोल्न थाले । यिनले गुरुआमालाई केही कोसेली ल्याए कि क्या हो ! गुरुआमाले अब स्वीकार्लिन् के ? उनले स्वीकारिनन् भने यिनको मनलाई फेरि त्यस्तै नमिठो पार्ला कि ? म के भनूँला ? “लेऊ ! लेऊ !! स्वीकार !” भनूँला कि नस्वीकार्न इशारा गरुँला ? म आफैं निर्णय गर्न सकिरहेको थिइन । यस्तैमा “किन ? किन ?” भन्दै खुल्दुली र कौतुहल आँखा लिएर गुरुआमा एउटा थालमा दुई कप चिया लिएर भित्रिइन् । थालैसँग चिया टेबलमा राखिन् र एकापट्टि टुसुक्क बसिन् । सङ्कटप्रसादले झोलाबाट एउटा ठीकैको पोको निकालेर गुरुमापट्टि फर्केर भने– “गुरुमा ! तपाईं मेरो आमा हुनुहुन्छ । साँच्चैकी आमा त मरिसक्नु भयो । रामखेज सर मेरो अन्नदाता बुबा हुनुहुन्छ, तपाईं आमा ! मेरा गल्तीको क्षमा माग्न आएको म याचक, छोरो समान हुँ । यो स्वीकारेर मलाई क्षमा दिनुहोस् !”
गुरुमाले समाइनन् । उनका हात त्यो पोको समात्न उठेनन् । उनले भनिन्– “किन चाहियो यी पोकासोका ? पोका लिएर माफी दिनु के दिनु ? तपाईंलाई त्यस्सै माफी ! माफी !”
“माफी त रामखेज सरले दिइसक्नु भयो गुरुमा ! ठीकै छ तपाईंले पनि दिनुभयो । अब मेरो यति कोसेली स्वीकारेर मेरो मनोकांक्षा पूरा हुन दिनू न गुरुआमा ! यहाँ केही छैन, एउटा सल छ, एउटा सारी छ ! केही छैन गुरुमा ! कृपया स्वीकार गरिदिनूस् !” डब्डबाउँदा आँखासँग उनले पोको गुरुआमातिर बढाइ रहे । जुन्कू आएर हजुरआमाका छेउमा उभिई । एक छिनपछि त्यो पोको दिइरहेको र हजुरीले नसमाएको अफ्ठेरोमा आमाका हात तान्दै बोली– “हजुरी ! समात्नू न त दिएको कुरा !”
नातिनीले बाध्य पारी गुरुआमालाई । पोको समाएर एकातिर बसिन् । सङ्कटप्रसादले झोलाबाट अर्को एउटा पोको निकाले र मपट्टि बढे । “सर ! यो मैले सानो कोसेली ! केही छैन । एउटा कोट–पेन्ट छ । तपाईंलाई र मलाई उत्रै लाग्थ्यो । मलाई नै छेकाएर सिलाएको हो ।”
नाईं–नास्ति गर्न सकिन । शरणको मरण गर्नसक्ने कुतागत ममा रहेनछ । खानासाना खाएर अनि सङ्कटप्रसाद फर्किए ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 21 फागुन, 2072

लेखकका अन्य रचनाहरु