पुस्तकमा दुई शताब्दीका लाहुरेका कथा

- दीपक सुवेदी

फक्ल्याण्डको लडाइँ अनि दोस्रो विश्व युद्ध लडेका वीर गोर्खालीहरु यो धर्तीमा के कति छन् ? इतिहासको साक्षी भई जीवनको अन्तिम उत्तराद्र्ध भोगिरहेका उनीहरुको जीवन के कस्तो रहेकोछ ? दोस्रो विश्व युद्धका जीवित साक्षीहरु जसमान राई, गोर्खा मेजर बलबहादुर तामाङ, लेफ्टिनेन्ट भगतबहादुर गुरुङदेखि सेरालियोन, कोसोभो, इराक र अफगानिस्तान जस्ता देशहरुमा प्रत्यक्ष लडेका २७ जना युद्ध वीरहरुका कथालाई यस पुस्तकमा काङमाङ नरेशले समेट्ने प्रयास गरेका छन् ।
लाहुरे परिवार इतर पाठकहरुलाई लाहुरेहरुको आत्मकथाले भरिएको यो पुस्तक नौलो लाग्न सक्छ । तर, जब कथा विशिष्ट हुँदै जान्छ, अनि त्यसभित्रका सबै प्रसङ्गहरु खोतलिदै जान्छन्, त्यसबेलाका कुरा चाहिँ फरक हुन्छन् । अझ जब त्यसलाई सचेत आँखाले पढिन्छन्, त्यस बेला त्यहाँभित्रका अनेक उकाली–ओरालीहरु देखिन्छन् । जब अन्याय–अत्याचारका ठूल्ठूला पहाडहरु देखिन्छन्, यसले इतिहासको थुप्रै पाटाहरु देखाउँछ । तीन वर्षमा छे महिना को छुट्टी आउँदा सुकिला पहिरनमा अत्तरको बास्नाले वरिपरि सुगन्धित पार्दे गाउँ–घर, हाट बजारमा घुम्ने, गाउँमा सबैले मानमनितो गर्ने बाहिरी परिचय हो लाहुरेको । तर, त्यो बाहिरी परिचय जस्तो आकर्षक रहनेछ उनीहरुको भित्री कथा । साँच्चै, उनीहरुमाथि हुने अमानवीय व्यवहार त छँदैछन्, कडा शारीरिक परिश्रम र गुरुजीको कुटाइबाट सुरु हुनेरहेछ लाहुरे जीवन । झापाको दमकमा पब्लिक लाइबेरीको एक कार्यक्रममा काङमाङ नरेश राईले बोलीरहँदाको त्यो क्षण र आज यो खुकुरीको धारमा दुई शताब्दी, लाहुरेको युद्धकथा र व्यथाहरु पुस्तक पढ्दा मलाई त्यस्तै अनुभूति भइरहेछ ।
गोरुलाई झैँ कुटिन्थ्यो शीर्षकमा भोजपुरमा जन्मिएका रिटायर्ड ब्रिटिस आर्मी दृपलाल राईको भोगाई छ । गुरुजीहरुले कानै बन्द हुने गरी झापट हान्ने । फोहोर बग्ने खोलानालामा बेलुका एक घण्टा पुल बनाएर राख्थ्यो । लहै लहैमा भर्ती भएका दृपलाल राई सम्झन्छन्, रेकरुटलाई साह्रै नराम्रो व्यवहार गथ्र्यो । गोरुलाई झै कुट्ने । खाली कुहिनाले गिटीमाथि क्रोलिङ गर्नुपर्ने । काँडैकाँडा भएको बुहारी झारमाथि नाङ्गै क्रोलिङ गर्नुपर्ने । अलिकति बोल्यो कि झापट हान्ने (पृष्ठ १९६) । पाठकलाई लाग्छ सायद यस्तै हुँदोहो लाहुरेहरुको जीवन ।
सन् १९४० मा फस्ट टेन जि.आर मा भर्ती भएका भोजपुरकै रिटायर्ड हवल्दार जसमान राईले कथा एक्लै हिँडे अन्धकारमा भनेका छन्– ‘विहान अलिअलि भात दिन्थ्यो । बेलुका दुई पात रोटी दिन्थ्यो । त्यसले कहाँ अघाउनु र ? राती रेकरुटहरुको निन्द्रा नै आउँदैनथ्यो । घरमा दही महीसँग अघाइन्जेल खाने मान्छे त्यतिले कहाँ अघाउनु र (पृष्ठ २९) ?’ आफ्नै गाउँ घरमा खेतीपाती गर्दै विहान बेलुकी एकपेट सन्तोषले अघाउन्जेल खाने नेपालीहरु रंगीन सपना देखेर भर्ती भएपछि कसरी ब्रिटिस सार्वभौमिकताका लागि कडा शारीरिक परिश्रम, अमानवीय व्यवहार र आधा पेट मात्र खाएर इमान्दारी र बहादुरीसाथ लडे पढ्दै जाँदा पाठकका मनमा लाग्छ ।
बेलयाती सार्वभौमिकताका लागि ज्यानको बाजी थापेर लडेका लाहुरेहरुले लडाइँमा सहादत प्राप्त गरे । बलबहादुर तामाङ भन्छन् दुश्मनले भटभटभट गाली बर्साउन थालिहाल्यो । दुश्मनमाथि मैले पनि फायर ओपन गरेँ । मेरो दायाँ र बायाँ केटाहरु भुइँमा लडि गयो । मुखबाट एकजना साथीको रगत आएको देख्दैछु । अचल ढुंगा जस्तो चलेको छैन । उनीहरु छातीमा गोली थाप्न तयार भएर तर पछाडि फर्किएर भाग्न तयार भएनन् । हजारौ घाइते भए । तर उनीहरुको इमान्दारीताको लागि ब्रिटिशले खालि खुट्टा नेपाल फर्काएर पुरस्कार दियो । हजारौ घाइते लाहुरेहरुको साझा कथा यसरी भन्छन् जसमान राई, वेलायतको लागि लडाइँ लडेँ तर यो उमेरसम्म मेरो पेन्सन सेन्सन केही छैन । घाइते भएको मेडिकल पेन्सन पनि छैन (पृष्ठ ३६) ।
ब्रिटिश सार्वभौमिकताको लागि नेपालीहरुले ब्रिटिशभन्दा कम होइन बढी लडे तर असमानताको भारीले उनीहरुलाई नै थिचियो । त्यस्ता अनेकौँ असमानतामध्ये एउटा थियो समान काम असमान ज्याला । सन् १९५१ मा फस्ट सेकेण्ड जि.आर. मा भर्ती भएका रिटायर्ड ब्रिटिस आर्मी दिलबहादुर गुरुङले भोकभोकै युद्ध लड्यौँमा सम्झिएका छन्– ‘गोरालाई ८४ मलेसियन डलर, मलाई चाहिँ ४२ दिँदो रै छ । दिनमा गोरालाई ६ डलर, गोर्खालीलाई ३ डलर दिँदो रहेछ कति भेदभाव ।’ विभेद पेन्सनमा पनि थियो । ढाँटेर भर्ती भएका खोटाङका रिटायर्ड ब्रिटिस आर्मी रामकाजी गुरुङ्ग आफ्नो पीडा सुनाउँछन्, २०२८ सालमा मेरो महिनाको पेन्सन २८ रुपे दिन्थे । भेडा र बाख्राको मासु ५० रुपे धार्नी थियो । एक महिनाको पेन्सनले एक धार्नी मासु पनि नआउने ।
समकालीन नेपालको राजनीतिमा गोर्खा र त्यसको अर्थराजनीति बारेमा सकारात्मक नकारात्मक दुवै प्रकारले बहस चलेको धेरै भएको छैन । एउटा स्कूल अफ थट्ले यो नेपाली राष्ट्रियताको विरुद्धमा छ भन्छ । वास्तवमा ब्रिटिश नेपाली लाहुरेहरुमाथिको भेदभाव व्यक्तिमाथि गरिएको भेदभाव मात्र थिएन । यो त नेपाल र नेपाली राष्ट्रियतामाथिको व्यवहार पनि थियो । सन् १९८६ मा रिटायर्ड कलर सार्जन्ट शिवधन राई आफैले सुनेको कुरा फक्ल्याण्डको युद्ध र हवाइको पिडामा काङमाङ नरेशलाई यसरी सुनाएकाछन्– मैले एक दिन अमेरीकाको रेन्जरसँग फोर्सलाई व्रिफिङ गरेको सुनेँ । आर्मी रेन्जर फोर्सका अफिसरहरुले भने, गोरखालीहरु साँच्चै बहादुर र साहसी हुँदा रैछन् । मेजर कोरिन पियर्सले उत्तर दिदै भने, हो उनीहरु साहसी बहादुर छन् । उनीहरुको नेपालमा घर हुादैन । जंगलमा बस्छन् । खान राम्रो पाउँदैनन । खोजेर खान्छन् । एक जना भर्ती हुने कोटामा तीन हजार आउँछन् । हामीले सेलेक्ट गर्छौं र भर्ती गरी ल्याउँछौ । उनीहरुले वेलायती सेनामा भर्ती भएपछि राम्रो सुविधा पाउँछन् । त्यसकारणले साह्रै कठिन काम गर्छन् ।
यस पुस्तकका लेखकले पनि आफूलाई अन्जानमै भर्ती भएको लाहुरे भनेकाछन् । नरेश आफैँ आफ्नो लाहुरे जीवनलाई लेख्छन्, आर्मीबाट के पाएँ के गुमाएँ मलाई अनौठो लाग्छ तर हरदिनको हरहिसाब गर्दा धेरै गुमाएँ थोरै पाएछु । जम्मा नौ दशमलव आठ इन्छ मेरो देब्रे खुट्टा चिरिएको छ । आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण चिज आफ्नो सग्लो खुट्टाको केही भाग नचल्नु र अस्वस्थ भई बाँच्नु सबैभन्दा धेरै गुमाएँ भन्ने लागेको छ ।
यसै पुस्तकभित्र त्यसताका गोली हानेर मारिदेऊ भनिरहेका च्याङ्थापु, पाँचथरका भिसि रामबाहादुर लिम्बु र ढुङ्गेसाँगु, ताप्लेजुङका पाँच ठाउँमा गोली लागेका मेजर बलबहादुर तामाङ पनि भेटिन्छन् । युद्ध र वीरगतिमा मेजर इन्द्रजित लिम्बु र करौतीको पीडाभित्र लेफ्टिनेन्ट भगतबहादुर गुरुङ छटपटाइरहेका छन् । श्रीकुमारको अन्त्यमा स्टाफ सार्जन्ट इन्द्रध्वज राई अनि बेन्डितको धरापमा उदानबहादुर राई परेको पाइन्छन् । आइ इ डिमा परेका ब्रिटिस आर्मी कुशल लिम्बुदेखि भर्ती भएकाहरु मध्येबाट नभाग्ने आइबहादुर राई पनि छन् । तरुनीहरुको याद डुबिरहने दिलबहादुर पुनदेखि यस पुस्तकभित्र नूनको बोरामाथि रहेका धनबाहादुर गुरुङसम्म छन् । लडाइँमा मरियो भने भन्ने त्रासमा रहेका फिस्टबहादुर राईदेखि युद्धको पीडामा टीकाबहादुर पुन छटपटिरहेकाछन् । अर्नेन्टिनाको मिसायलले ध्वस्तमा हंसबहादुर दर्लामी मगर, गोर्खा आन्दोलन आमरण अनसनमा ज्ञानराज राई बसेको पाइन्छन् । घरको यादले हीराबहादुर गुरुङलाई सताएको छ । बेन्डितको गोलीले टकबहादुर राई घाइते छन् । एकातिर आफ्नो जीवनको अन्तिम पत्र सुरेन्द्रकुमार घले लेखिरहेकाछन् भने अर्कोतिर छुट्टीलाई फटिगमा बिताइरहेने असारबहादुर राई भेटिन्छन् । गाउँ गाउँमा आउने गल्लाहरुलाई हेरिरहेने गणेशबहादुर लिम्बु, गरिब देशमा हुर्केका नहकुल राईदेखि छ वर्षपछि पहिलो छुट्टीमा आइरहेका धनबहादुर सुनुवारलाई पनि नजिकबाट पढ्न पाइन्छ । भीरमाथिको हीरामा यस पुस्तकका लेखक स्वम् नै रहेका छन् ।
सीमाहीन बिम्बहरु, ग्रीनबिचका प्रतिध्वनीहरु, युद्ध कविता, युद्ध साहित्य र सिद्धान्त आदि कृतिको सम्पादन गरी सकेका नरेश काङमाङ एक भूपू बेलायती गोर्खा सिपाही, सामाजिक जागरणका अभियन्ताका साथै कवि एवं अन्वेशक पनि हुन् । काङमाङद्वारा दोस्रो विश्व युद्ध लडेका गोर्खाली सिपाहीहरुले भोगेका यथार्थ अनुभव र अनुभूतिहरुको लेखन तथा सम्पादन गरिएको खुकुरीको धारमा दुई शताब्दी लाहुरेका युद्ध कथाहरु ब्रदर बुक्स पब्लिकेशनले प्रकाशनमा ल्याएकोछ ।
आफ्नो लाहुरे जीवनमा जे भोगे, जे देखे र जे अनुभूति गरे, आफ्नै लवजमा भनिएको छ यो पुस्तक मार्फत । नरेसले पनि लाहुरेहरुको भावनालाई उनीहरुकै लवजमा जस्ताको त्यस्तै उनिदिएका छन् । नरेशले अनेकौँ नखोलिएका लाहुरे इतिहासका आरोह–अवरोहहरु खोलिदिएका छन् । पुस्तक पढ्दा कुनै लाहुरेले आफ्नै अगाडि बसेर कथा सुनाइरहे झँै लाग्छ । उनीहरुले प्रयोग गर्ने भाषालाई जस्ताको त्यस्तै राख्नाले पनि पुस्तक पढ्न रमाइलो छ । रोचक हुँदाहुँदै पनि धेरै प्रसंगहरु दोहोरिएर आउने हुँदा पाठकलाई कतिपय ठाउँमा नरेसले पुस्तक प्रकाशन गर्न अलि हतार गरे कि जस्तो अनुभूति हुन्छ ।

गौरादह, झापा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 21 फागुन, 2072

लेखकका अन्य रचनाहरु