डिल्ली राज नेपाल ! एक शव्दचित्र

- देवीचरण भण्डारी

नेपाली साहित्यको छन्द विधामा कलम चलाउने र त्यसैमा रमाउने दक्षिणी झापाको वनियानी निवासी प्रखर स्रष्टा हुन् डिल्ली राज नेपाल । पिता श्री मनोरथ नेपाल र माता स्व. नर्वदा नेपालको जेठा छोराको रूपमा वि.सं. २०१२ साल आषाढ ८ गतेका दिन सिक्किमको तुमिन भन्ने स्थानमा जन्मिएका नेपालको औपचारिक कागजातहरुमा भने उनको जन्म मिति २०१५÷३÷८ रहेको पाइन्छ । दुइ जना भाइवुहारी क्रमशः हरि नारायण–मिरा, मदन–रमा अनि रेणुका सापकोटा, विष्णु माया भट्टराई, पवित्रा दाहाल, सावित्रा सुवेदी र महेश्वरी निरौला उनका दिदी वहिनीहरु हुन् । सानैमा गुरु देवी भक्त निरौलाबाट कखरा चिन्ने काम गरेका थिए डिल्ली राज नेपालले । वि.सं. २०२० साल पूर्व सिक्किमको तुमिन भन्ने स्थानमा बसे पनि त्यस पछि २०२१ साल देखि २०३० साल सम्म झापा जिल्लाको बाहुन डाँगी ४ मा बसाईँ सराई गरी बसोवास गरेको देखिन्छ उनले ।
वाहुन डाँगीमा बसाइँ सराई पछि कक्षा १ देखि कक्षा ५ सम्मको अध्ययन वाहुन डाँगी ४ स्थित १ नम्वर राष्ट्रिय प्राथमिक पाठशाला (हालको भानु उच्च मा.वि.) मा हुन्छ उनको । कक्षा ६–८ सम्मको अध्ययन भने वाहुन डाँगी बजारको टहरामा गर्दछन् उनी । कक्षा ९–१० को अध्ययन भने मेची जनसाधारण मा.वि. वाहुन डाँगीमा हुन्छ उनको । २०३१ सालमा भद्रपुर मा.वि. परीक्षा केन्द्रबाट एस.एल.सी. परीक्षा दिन्छन् र उत्तीर्ण गर्दछन् । शैक्षिक वर्ष २०३६÷३८ समूहबाट इलाम र धनकुटा क्याम्पसबाट आई.एड. गर्दछन् उनी । शैक्षिक वर्ष २०४३÷४५ मा धनकुटा बहुमुखी क्याम्पस धनकुटाबाट वि.एड. उत्तीर्ण गर्दछन् । वि.सं. २०५५÷५६, ५६ ÷५७ मा मेची क्याम्पस भद्रपुरबाट नेपालीमा स्नातकोत्तर तह उत्तीर्ण गरी मेची क्याम्पसबाट सबभन्दा पहिलो स्नातकोत्तर उत्तीर्ण गरेको प्रमाण–पत्र लिने विद्यार्थीको श्रेय पनि प्राप्त गर्दछन् डिल्ली राज नेपाल ।
वाहुन डाँगीमा रहँदा आर्थिक रूपमा निक्कै विपन्न भएर बस्नु परेको कुरा बताउँछन् डिल्ली राज नेपालका पिता मनोरथ नेपाल । आफु ५ वर्षको हुँदा पिताजीको देहावसन भएको र ७ वर्षको हुँदा माताको निधन भएकाले अत्यन्तै दुःखले त्यस बेलाका दिनहरु विताएको कुरा बडो गम्भीर मुद्रामा बताउँछन् डिल्ली राजका पिता मनोरथ । २०३१÷१२÷०१ देखि २०३२÷०६÷०५ सम्म अर्थात् ६ महिना ४ दिन डिल्ली राज नेपाल बनियानी गा.वि.स. को वैदारको रूपमा सेवा गर्न पुग्दछन् । वैदारको जागिरबाट सन्तुष्ट हुँदैन उनलाई र २०३२÷०६÷०६ देखि २०३२÷१०÷१९ सम्म श्री बाल प्रा.वि. बनियानीमा अस्थायी शिक्षकको रूपमा काम गर्न पुग्दछन् उनी । २०३२ साल माघ २० गते देखि हालको सरस्वती नि.मा.वि. पृथ्वी नगरमा स्थायी नियुक्ति पाई सुरुमा शिक्षक र पछि प्रधानाध्यापक भई काम गर्दछन् उनी । २०३३ सालमा उनको सरुवा हुन्छ घर नजिकै रहेको लक्ष्मी उच्च मा.वि. बनियानीमा । २०४९ सालमा आई.ए. दरवन्दीमा स्थायी नियुक्ति पाई १ दिनको लागि अरनीको मा.वि. महेशपुरमा हाजिर हुन्छन् र पुनः आफ्नै विद्यालयमा फर्कन्छन् । माध्यमिक शिक्षकको रूपमा भने उनको अस्थायी नियुक्ति हुन्छ पथरिया मा.वि. पथरियामा २०५२ सालमा । २०६२ भाद्र महिनामा प्रा.वि. प्रथम श्रेणीमा बढुवा भई लक्ष्मी उच्च मा.वि. वनियानीमै पद्स्थापन हुन्छ उनको । स्थायी नियुक्ति पाई शैक्षिक क्षेत्रमा काम गरेको ३१ वर्ष पछि २०६३ सालमा मा.वि. तृतीय श्रेणीमा नियुक्ति पाउन सफल हुन्छन् डिल्ली राज नेपाल । २०५८ साल देखि हाल सम्म लक्ष्मी उच्च मा.वि. बनियानीका संस्थापक प्राचार्यको रूपमा कार्यरत रहँदै आएका छन् उनी । २०६३ साल फाल्गुनदेखि लक्ष्मी उच्च मा.वि. बनियानीका प्रधानअध्यापक र २०६६ सालमा स्थापित लक्ष्मी क्याम्पस बनियानीको संस्थापक क्याम्पस प्रमुखको रूपमा कार्यरत रहँदै आएका छन् उनी ।
डिल्ली राज नेपाल २० वर्षको उमेरमा २०३२÷०१÷०८ मा बनियानी–८ निवासी कैकयी (केशवी) सँग विवाह वन्धनमा बाँधिन पुग्दछन् । एक छोरी र तिन छोराहरुका पिता हुन् डिल्ली राज नेपाल । जेठी छोरी उषा देवी नेपाल (भट्टराई), छोराहरु महेश चन्द्र, सुशील चन्द्र – पद्मा नेपाल (वुहारी) र प्रदीप चन्द्र उनका सन्तानहरु हुन् । बाल्य कालमा निकै आर्थिक अभाव र दुःखका दिन व्यतीत गरेको नेपाल परिवारलाई अहिले भने दुई छाक खान र लाउन दुःख छैन ।
विद्यालय स्तरको विद्यार्थी कालदेखि नै साहित्य प्रति झुकाव राख्ने गरेका र विभिन्न विद्यालय स्तरीय खुल्ला साहित्य गोष्ठीहरुमा सहभागी हुँदै आएको कुराको स्मरण अहिले पनि ताजै रहेको बताउन भुल्दैनन् डिल्ली राज । २०२९ सालमा मेची जन साधारण मा.वि. मा भएको प्रतियोगीतात्मक कवि गोष्ठीमा प्रथम भएपछि उनलाई गाउँलेहरुले बोकेर हाई हाई गर्दै खुसी मनाएको क्षणलाई उनी साहित्यमा लाग्न अझ ऊर्जा र गती प्रदान गरेको दिनको रूपमा सम्झन चाहन्छन् । पढाइमा सानैदेखि प्रतिभाशाली भएको र साहित्यिक गतिविधिहरुमा पनि संलग्न भइ रहने भएकाले त्यस बेलाका उनका साथीभाइहरु ‘डिल्ली राज जी’ भनेर आदर सूचक भाषा प्रयोग गरी बोलाउने गर्दथे उनलाई । कविता लेख्ने प्रेरणाको स्रोत भने उनी मुख्य रूपमा बाहुन डाँगी निवासी श्री केशव प्रसाद खनाललाई लिन्छन् । केशव प्रसाद खनालका छन्दमा बाँधिएका कविता लय हालेर वाचन गरेको सुने पछि डिल्ली राज नेपाललाई पनि त्यस्तै कविता लेख्ने इच्छा जागृत भए पछि पद्यमै कविता लेख्न थालेको कुरा बताउँछन् प्रारम्भिक साहित्य लेखनका दिनहरुदेखि नै उनी ।
साहित्यलाई समाजको दर्पण र जीवन भोगाइको अभिव्यक्ति ठान्ने डिल्ली राज नेपालको पहिलो रचना २०३२ सालमा ‘सुर्मा सरोवर’ साहित्यिक पत्रिकामा ‘आफ्नो डम्फु’ शीर्षकको गद्य कविता प्रकाशित भएको सम्झना अझै छ उनी सँग तर कुन जिल्लाबाट प्रकाशित पत्रिका हो त्यसको हेक्का भने रहेन छ उनलाई । विभिन्न पत्र–पत्रिकाहरुमा उनका साहित्यिक लेख रचनाहरु प्रकाशित हुँदै आएका छन् भने उनका साहित्यिक अन्तरवार्ताहरु पनि छापा तथा विद्युतीय सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रसारित भएका छन् र हुँदै आएका पनि छन् । पुस्तककारको रूपमा २०६२ सालमा ‘मन्द्र क्रान्ता छन्द माला’ कविता सङ्ग्रह प्रकाशित भएपछि भने उनले झापामा छन्दवादी कविको रूपमा आफ्नो परिचय स्थापित गर्न सफल भएका छन् । सानै देखि पद्यमा कविता लेख्ने बानी बसालेका कवि डिल्ली राज नेपाल ‘मन्दा क्रान्ता छन्द माला’ प्रकाशित भएपछि आफ्नो छुट्टै पहिचान वोकेर देखा परे नेपाली साहित्यको क्षेत्रमा ‘मन्दा क्रान्ता छन्द माला’ प्रकाशित भएको ४ वर्ष पछि २०६६ सालमा ‘मेरो माटो’ कविता सङ्ग्रह प्रकाशित भयो उनको । सोही वर्ष उनको अर्को कविता सङ्ग्रह ‘छन्द माला’ प्रकाशित भयो । यसरी लगातार छन्दका सुन्दर मालामा उनिएका भाव र विचार, शिल्प र शैलीले कुँदिएका कविताहरु पुस्तकको रूपमा आउन थाले पछि ख्याति पनि कमाउन थाले उनले । प्रकाशोन्मुख अवस्थामा उनका दुई वटा कृतिहरु रहेको देखिन्छ । ‘सयपत्री’ कविता सङ्ग्रह र ‘अव्यक्त पीडा’ (खण्डकाव्य) उनका प्रकाशोन्मुख कृतिहरु हुन् । यसका अतिरिक्त ‘माता’, ‘मातृभूमि’, ‘सिमानाको पीडा’, ‘पार्वतीकी आमा’ र ‘हाम्रो नानी निलम नेपाल’ उनका फुटकर तर आकारमा लामा प्रकृतिका कविताहरु हुन् ।
२०३५–३६ वर्ष देखि निरन्तर शिक्षण पेसामा क्रियाशील मृदुभाषी, मिलनसार, नम्र र शिष्ट व्यवहारका धनी कवि डिल्ली राज नेपाल विभिन्न समयमा विभिन्न शैक्षिक तथा साहित्यिक संघ–संस्थाहरुबाट विभिन्न मान सम्मानले सम्मानित भएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला कार्य समिति झापाबाट २०५८ सालमा कदरपत्र द्वारा सम्मानित भएका छन् । जिल्ला शिक्षा समिति झापा द्वारा २०५९ सालमा सम्मानित, गोमेन्द्र बहुमुखी महाविद्यालय अनारमनीबाट २०५९ सालमै कदरपत्र द्वारा सम्मानित, जिल्ला शिक्षा समिति, झापाबाट २८औँ शिक्षा दिवस २०५९ को अवसरमा पदक सहित सम्मानित भएका छन् कवि डिल्ली राज नेपाल । तत्कालीन लेखनाथ वाचनालय हाल लेखनाथ पुस्तकालय चन्द्रगढीबाट १२४ औँ कविशिरोमणि लेखनाथ पौड्यालको जन्म जयन्ती (२०६५) समारोहमा छन्दवादी कविका रूपमा सम्मानित भएका नेपाललाई कञ्चनजंघा एफ.एम. प्रा.लि. विर्तामोडले “छन्दको तरङ्ग” बाट पुरस्कार सहित सम्मान गरेको छ भने विभिन्न कवि गोष्ठीहरुमा सहभागी भई पुरस्कृत समेत भएका छन् ।
कवि डिल्ली राज नेपाल साहित्य लेखन र शिक्षण पेसामा मात्र सीमित भएर वस्न सक्दैनन् । उनी विभिन्न साहित्यिक सद्भाव यात्राहरुमा वडो अभिरुचिका साथ सम्मिलित भएर विभिन्न ठाउँका साहित्यकारहरु सँग भेटघाट, सम्पर्क र सम्बन्ध बढाउनुका साथै तत् तत् स्थानका साहित्यिक गतिविधिहरुको जानकारी लिन समेत पछि पर्दैनन् । जुही साहित्यिक त्रैमासिक चन्द्रगढीले आयोजना गरेका जुही साहित्यिक सद्भाव यात्रा (झापा–सुनसरी) र जुही साहित्यिक सद्भाव यात्रा (झापा–भैरहवा २०६६) मा सहभागी भई त्यहाँका साहित्यिक गतिविधिको प्रत्यक्ष अवलोकन गर्न भ्याएका छन् उनले ।
कवि तथा साहित्यकार डिल्ली राज नेपाल विभिन्न सामाजिक संघ संस्थाहरुमा सम्लग्न रही उत्तिकै क्रियाशील हुँदै आएका छन् । केचना कवल अध्ययन केन्द्रको सम्स्थापक सदस्य, प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको व्यवस्थापन समितिको सदस्य, समस्या पूर्ति प्रकाशन समितिको सदस्य, प्रश्रित प्रतिष्ठान नेपालको आजिवन सदस्य लगायतका संघ–संस्थामा आवद्ध रही सामाजिक सेवामा दत्त चित्त भएर लागिरहेका छन् उनी । राजनीतिक पृष्ठभूमिका सन्दर्भमा उनको घरमा राजनीति प्रति खासै चासो राख्ने वातावरण थिएन सानामा । पञ्चायती व्यवस्थाले एक छत्र राज गरिरहेको परिवेशमा हुर्किएका हुन् उनी । शिक्षण पेसामा सम्लग्न रहेकै अवस्थामा २०३६ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा आई.एड. को दुई सेमिस्टर सम्मको अध्ययन गर्न इलाममा बसेको बेला २०३५÷०३६ को विद्यार्थी आन्दोलनले उनलाई पनि प्रभावित नपारी छाडेन । त्यहाँ उनी अनेरास्ववियुको राजनीति प्रति आकर्षित भए । त्यसवेला देखि हाल सम्म पनि उनी बाम्पन्थी विचारधारा अँगाल्दै आएको पाइन्छ । साहित्यमा प्रगतिशील धार र वैचारिक दृष्टिकोणले वामपन्थी रुझान भएका उनी अहिले ने.क.पा. एमालेको वैचारिक दृष्टिकोणको नजिक रहेका छन् । उनका छन्दमा बाँधिएका सुसंगठित र सुललित कविताहरुमा उनको प्रगतिशीलता देख्न सकिन्छ । ‘सादा जीवन उच्च विचार’ लाई महत्व दिने कवि नेपाललाई शाकाहारी भोजन मन पर्दछ । मन पर्ने कवि साहित्यकारको नाम लिनु पर्दा कसको लिनु हुन्छ भनी सोध्दा उनी बडो सन्तुलित जवाफ दिन्छन् । उनी भन्छन् – “प्रत्येक साहित्यकारहरुको आफ्ना आफ्नै वैशिष्ट्यता हुन्छन् र आ–आफ्नो स्थानमा उत्तिकै सम्मानित हुन्छन्, त्यसैले कुनै एक–दुईवटा कवि साहित्यकारहरुको नाम लिएर अरुको अपमान गर्न चाहन्न” । नेताहरुमा भने उनलाई जननेता मदन भण्डारी मनपर्दो रहेछ । आफ्नी आमालाई गुमाउनु पर्दाको क्षण जीवनकै सबै भन्दा दुःखदायी क्षण र माइलो छोरोले वि.ए. उत्तीर्ण गरेको क्षण सबभन्दा खुसीको क्षणको रूपमा लिन्छन् उनी ।
समाजमा ‘मिलेर बसौँ, सन्तोषले हाँसौँ र हार्दिकता साटौँ’ भन्न्न रुचाउने कवि डिल्ली राज नेपालले देश र दुनियाँका लागि केही गरौँ भन्ने दरिलो अठोट पनि बोकेका छन् । उनको मन पर्ने खेल फुटवल र मन पर्ने रङ्ग भने सेतो हो । लेख्न पढ्नलाई खासै समय नछुट्याए पनि फुर्सदको समयमा लेख्ने पढ्ने गरेको बताउँछन् उनी । हाल डा. कपिल देव लामिछानेको ‘नेपाली लोक गीत अध्ययन’ र डा. जीवेन्द्र देव गिरीको ‘रचना र विवेचना’ नामक पुस्तकको अध्ययन गरि रहेका र ती पुस्तकका बारेमा केही लेख्ने तयारीमा रहेका छन् उनी । आफ्नो पेसा प्रति उनी पूर्ण रूपेण सन्तुष्ट रहेको कुरा बताउँछन् ।
डिल्ली राज नेपाल एउटा असल, इमान्दार घर परिवार र समाजको निम्ति निरन्तर क्रियाशील रहने व्यक्तित्वको रूपमा आफुले पाएको कुरा बताउँछिन् डिल्ली राज नेपालकी पत्नी कैकयी । दाम्पत्य जीवनको यो लामो कालखण्डमा पनि पति पत्निका वीच कहिल्यै पनि भनाभन वा ठ्याकठुक नपरेको र डिल्ली राज नेपालको नराम्रो पक्ष केही पनि नभेटिएको बताउँछिन नेपाल पत्नी कैकयी । वृद्ध वृद्धाहरुको सेवा गर्ने र उनीहरुलाई केही दिन पाए हुन्थ्यो भन्ने भावना सबभन्दा बढी मन पराउँछिन् नेपाल पत्नी कैकयी डिल्ली राज नेपालको ।
समग्रतामा भन्दा कवि डिल्ली राज नेपाल प्रगतिशील विचारधाराबाट प्रभावित, युगीन चेतना बोकेका, समाजमा व्याप्त अन्याय, अत्याचार, थिचोमिचो, विकृति विसङ्गतिका विषयमा कलम चलाउने र समाजको अग्रगतिका निम्ति सँधै चिन्तित रहने स्रष्टा हुन् । उनका कवितामा प्रकृति प्रेम, माटोको माया, राष्ट्र भक्ति, नारी प्रति सम्मान, अग्रजहरु प्रति आदर भाव, युवा शक्ति प्रति सकारात्मक भरोसा जस्ता विषय वस्तुहरू पाइन्छन् । छन्द रूपी मालामा उनिएका उनका सुन्दर शव्दहरु साहित्यको वागमा पुष्पित र पल्लभित भएर मग्मगाई रहेका छन् सुवास छरिरहेका छन् र आकर्षित गरिरहेका छन् नेपाली साहित्यका पारखीहरुलाई अनि स्वयम् पनि आकर्षित भई रहेका छन् । नेपाली वाङ्मयको खास गरी पद्य विधा तर्फ उनीबाट अझै धेरै योगदान पुग्ने छ, अझ परिस्कृत शव्द संयोजन, भाव र विचारको त्रिवेणी वोकेर उनका थप कृतिहरु प्रकाशित हुँदै जाने विश्वास व्यक्त गर्न सकिन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 13 फागुन, 2072

लेखकका अन्य रचनाहरु