निबन्धकार माधव काफ्लेसँग कुराकानी

- पेशल आचार्य

(पिता भूवनप्रसाद काफ्ले र माता राजलक्ष्मी काफ्लेका काहिँला पुत्ररत्नका रूपमा रामेछापमा वि. सं. २०१६ माघ १० गते जन्मनुभएका नेपाली निबन्ध साहित्यका बेजोड शब्द साधक माधव काफ्लेसँग साहित्यकार पेशल आचार्यले लिनु भएको अन्तरङ्ग साहित्यिक वार्ताको संमादित रूप –सम्पादक )

१) अचेल के लेख्दै हुनुहुन्छ ?
– भूकम्पले थिल्थिल्याएका केही पाप्राहरू उधिन्दै छु ।
२) कुनै कृतिको तयारी विशेष पो छ कि अहिलेको यहाँको लेखन ?
– लेखक भइटोपलेको नाताले त्यो रहर पूरै मरिसकेको छैन ।
३) साहित्य के तुष्टिका लागि लेख्नुहुन्छ ?
– त्यस्तो उद्देश्य केही छैन । म कुनै उद्देश्य राखेर समयचक्रमा जेलिने खालको मानिस होइन । त्यसैले मेरा विचारहरू अराजक किसिमले नै छरिइरहेका छन् । यस्तोमा तुष्टि खोज्ने त कुरै भएन नि ।
४) साहित्य लेख्दा कस्तो अनुभूति हुन्छ ?
– कहिले आत्ममीमांशा गरेजस्तो पनि लाग्छ । कहिले अरूलाई सराप्न बसेजस्तो पनि लाग्छ । यथार्थ समाउछु । अनुभूति चिप्लिन्छ । अनुभूति समाउछु यथार्थ फुङ्ग उड्न खोज्छ । जीवनका विविध रङ्हरूमा अनुभूतिलाई खिपेर सजाउनै सकिरहेको छैन ।
५) एउटा लेखकले लेख्दा के हुन्छ ? नलेख्दा के हुन्छ ?
– एउटा लेखकले नलेख्दा ऊ मर्छ । लेख्दा ऊ बौरिन्छ ।
६) नेपाली साहित्य र नेपाली साहित्यकारको लेखन अहिले कस्तो पाउनु भए्को छ, यहाँले ?
– देवकोटा प्रभृत्ति आधुनिक कालका उद्घोषकहरूले जहाँबाट साहित्यलाई डोहो¥याएर अग्रगमनतर्फ लगेका थिए । त्यहीँ टाक्सिएर बसिरहेको छ । त्यसभन्दा बेसी केही भएको छ भने अनुहारमा अलिकति कसैले लिपपोत गरेर सिँगारेका छन् । त्यति हो ।
७) भन्नाले वर्तमानको लेखनले यहाँलाई छुँदैन त ?
– त्यसो होइन । छुँदै नछोएको पनि छैन । तर मुटुमा मुड्की हान्न कसैले सकेको छैन । कसैको रचना पढेर आँखा रसाउन पनि सकेनन् ।
८) लेखेर के पाउनु भयो ? के गुमाउनु भयो ?
– यी दुवै कुराबाट म एकदमै टाढा छु । जीवनमा मैले कहिल्यै पनि यी कुराहरूको होश राखिनँ । ख्यालख्याल मै लेख्न थालियो । पछि बानी बस्यो । नाङ्गासँग के हुन्छ र गुमाउने कुरो ।
९) कस्ता लेखक र कस्तो लेखन यहाँलाई मन पर्छ ?
– विशेषतः म मानवतावादी सोच भएका रचनाहरू मन पराउँछु । रचनाको केन्द्रीयतामा मान्छेको भूमिका लोप हुनासाथ जस्ले जेजे लेखे पनि जतिसुकै पुरस्कार पाए पनि जतिसुकै दोसल्ला ओढाए पनि ओढे पनि म त्यहीँ विश्राम लिन पुग्छु ।
१०) नेपाली साहित्यको गतिगराँस कस्तो छ आजकाल ?
– यो त जटिल प्रश्न भयो । यति गहिरिएर कहिल्यै सोचेको थिइनँ । मात्र सतही अध्ययनको आधारमा भन्दा फुइँ छोडेको जस्तो हुन जाला । सम्पूर्ण साहित्य अध्ययनपश्चात् मात्र दिन सकिने हो –यो प्रश्नको उत्तर । तर मलाई के लागिरहेछ भने गतिभन्दा अगाडि हल्ला कुदेको हुनाले विज्ञापनको कालो ख्याकले सत् साहित्यलाई छोपिरहेको छ र यसका असल उपाशकहरू कुहिराका काग बनेर हराइरहेका छन् । सतहमा जेजे देखिएका छन् । ती सबै छट्टु स्यालहरू हुइँया पिटाएर सिँहासनारुढ हुन पुगेका छन् । साहित्यको गति त्यहीँ शरणागत हुन पुगेको छ ।
११) भनेपछि यतिविधि बग्रेल्ती पुस्तक र पुस्तकाकार व्यक्तिहरूको अवमूल्यन भएन र यो ?
– मूल्याङ्कन हुनु पर्ने मानिसहरूलाई निछ्टेर फ्याँकेपछि स्वभाविक रूपले अवमूल्यनले टाउको उठाइहाल्छ ।
१२) नयाँ लेख्दै गरेकाहरूलाई के सल्लाह दिनुहुन्छ ?
– पहिले मनग्गे पढ्नुस् । लेख्न पछि लेखे पनि हुन्छ । पहिले लेखेर पछि पढ्नु भयो भने पछुतो हुन्छ ।
१३) व्यस्त समयका बीच पनि वार्तामा आउनु भयो ? धन्यवाद् छ यहाँलाई ?
– मस्तो कोर्काली मानिसलाई बोलाएर यहाँले सम्मानपूर्वक माया देखाउनु भयो । यसका लागि म आभारी छु । यहाँहरूको आगामी दिनहरू फलून, फूलून र मग्मगाउन । मेरो अन्तर्मनको अनुराग पनि यही हो ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 13 फागुन, 2072

लेखकका अन्य रचनाहरु