विद्रोही काले महाकाव्यमा विद्रोहको स्वर

- प्रा. डा. कपिल लामिछाने

नेपाली महाकाव्यको विकासमा देवकोटापछिको युगमा देखापरेका महाकाव्यहरूमा सोमराज अभयको विद्रोही काले (२०६५) एउटा उल्लेख्य महाकाव्यका रूपमा रहेको छ । देवकोटा, लेखनाथ, सोमनाथ र सम देवकोटायुगका अग्रणी महाकाव्यकार हुन् । देवकोटापछिको युगमा मोदनाथ प्रश्रित, भरतराज पन्त, भरतराज मन्थलीय, जगदीश शमशेर राणा, मोदनाथ शास्त्री, भानुभक्त पोखरेल, उमानाथ शास्त्री, चन्द्रप्रसाद न्यौपाने, शैलेन्दुप्रकाश नेपाल, रामप्रसाद ज्ञवाली, ओमवीरसिंह बस्न्यात, रमेशचन्द्र अधिकारी, बुनू लामिछाने, माधव वियोगी आदि उल्लेख्य महाकाव्यकारहरू रहेका छन् भने त्यही लाममा सोमराज अभय पनि विद्राही काले महाकाव्य लिएर उभिन आइपुगेका छन् । मानव लेखिँदाताक लेखिन थालिए पनि आर्थिक, सामाजिक र राजनीतिक कारणले लामो सुषुप्तावस्था पार गरेर चूडामणि रेग्मी, उपेन्द्र पागल आदिको उत्प्रेरणा र सहयोगमा जुही प्रकाशनबाट २०६५ सालमा आएर मात्र विद्रोही कालेले प्रकाशनको पाहारिलो घाम ताप्न पाएको देखिन्छ । प्रस्तुत सन्दर्भमा यही विद्रोही काले महाकाव्यको समीक्षा गर्ने अभीष्ट राखिएको छ ।
विद्रोही काले महाकाव्यको अन्तर्वस्तु सामाजिक शोषण, दमन र उत्पीडन देखाउँदै त्यसबाट मुक्तिको बाटो देखाउनु हो । सामाजिक विषयवस्तुलाई महाकाव्यमा पहिलोपटक महाकवि देवकोटाले सुलोचना महाकाव्यमार्फत् भिœयाएका हुन् । त्यसपछि भने सामाजिक महाकाव्य कमै लेखिएका छन्, कमै देखिएका छन् । बालकृष्ण समले चिसोचुल्होमार्फत् अर्को झट्का दिएका हुन् । प्रसिद्ध कथावस्तु भन्दा सामाजिक कथावस्तु भएको सुलोचना, सामाजिक कथावस्तु भएको सुलोचना भन्दा साधारण सन्ते नायक भएको चिसोचुल्हो र सामाजिक यथार्थलाई मात्र देखाउने अन्य महाकाव्यभन्दा विद्रोही काले महाकाव्य उच्च कोटिको छ । यसले सामाजिक र आर्थिक शोषण मात्र देखाएको छैन, त्यसका विरुद्ध सचेत सङ्घर्ष देखाएको छ । समस्यामात्र देखाएको छैन । त्यसको प्रगतिशील समाधान देखाएको छ । झुठो आक्षेप लगाएर शक्ति र सत्ताका आडमा जनताका छोराछोरीलाई मृत्युदण्ड दिन खोज्ने ध्वस्तप्रसादलाई नै कालेले बडो चलाखीका साथ आफू मारिनुअघि नै ध्वस्त पारिदिएको छ । कालेले शठे शाठ्यम् समाचरेत्को नीति अवलम्बन गरेको छ ।
विद्रोही काले महाकाव्य एउटा सामाजिक महाकाव्य हो । यसको आख्यान सामन्ती उत्पीडनमा आधारित छ । उपसंहार सहित २४ सर्गमा सङ्गठित विद्रोही कालेको कथानक तृतीय सर्गबाट मात्र आरम्भ भएको छ । गजानन्दको गर्भे टुहुरो छोरो कालेले न बाबुलाई देख्न पायो न त आमाको मायाममता नै पाउन सक्यो । सुत्केरी भएपछि स्याहार र पोषण गर्न भनी छिमेकी सामन्त ध्वस्तप्रसादबाट नब्बे रुपिया“ रिन काढेर आएको गजानन्द टिबी रोगले मर्दछ भने त्यही बेलामा ध्वस्तप्रसाद आ“गनमा पुग्छ र म लास रुङ्छु त“ गएर मलामी बोला भनी अराउ“छ । गजानन्दकी श्रीमती गाउँले गुहार्छे भने यता ध्वस्तप्रसाद त्यही मौका छोपी सादा कागजमा आ“ैठाछाप लगाएर सुटुक्क राख्दछ । पछि त्यसै कागजमा नक्कली लेखोट बानाई चौसठ्ठी मुरी धानखेत हात पार्दछ । हु“दोखा“दो जग्गाजमिन र घरखेत समेत सामन्ती ध्वस्तप्रसादका शोषणका माकुरे जालमा परेकाले कालेकी आमा ज्यालामजुरी गरी कालेको भरणपोषण गर्न विवश भएकी छ, तर ऊ पनि पहराबाट लडेर मरेपछि कालेको बाल्यकाल कठोर र कारुणिक बन्न पुग्दछ ।
त्यस्तैमा नेपालेकी श्रीमती विसुमायाले कालेलाई केही समय संरक्षण गर्छे, तर उनीहरू त्यो ठाउँ छाडेर अन्यत्रै जाने भएपछि ध्वस्तप्रसादले कालेको जिम्मा घर्तिनीलाई लगाउँछ र पछि जेठी पट्टिकी कान्छी छोरीका बिहेमा घर्तिनी र कालेलाई दाइजोमा दिई पठाउँछ भने त्यहा“ (श्रीलालकहा“) कालेले गोठालो भई जीवन बिताएको छ । गोठालो जीवन बिताउने क्रममा साहि“लीस“ग उसको अनुराग बढ्छ र पछि दुवै दाम्पत्य जीवनमा बा“धिन्छन् । चौसठ्ठीको खेत, घर फिर्ता गर्नुपर्ने तथा यतिका दिन दास भई बसेकोमा पारिश्रमिक पाउनुपर्ने माग राखी कालेले ध्वस्तप्रसादका विरुद्ध मुद्दा दायर गर्दछ । साहि“लीले लाहुर जान प्रेरित गर्छे । मुद्दाको छिनोफानो नहु“दै लाहुर जान्छ । यता ध्वस्तले मुद्दा जित्छ र खसी कारेर खुसी मनाउ“छ ।
ध्वस्तको ईष्र्या बढ्छ र साहि“लीलाई खोज्दै उसका चाकरीबाजहरू साहि“लीकी आमाकहा“ पुग्छन्, तर साहि“लीलाई नभेटेपछि साहि“लीकी आमालाई नै भालाले रोपेर मार्छन् । बतासे डा“डामा साहि“लीलाई देखी आक्रमण गर्न खोज्दा साहि“लीहरूले ढुङ्गा बर्साएर भगाउँछन् । तर उनीहरूको झुपडी र सिरुघारीमा चारैतिरबाट आगो सल्काइदिएकाले साहि“लीहरू त्यही“ झुल्सिएर मर्छन् । गरिब निमुखाप्रति प्रतिशोधपूर्ण क्रुर व्यवहार बढ्दै जान्छ । छ महिनापछि काले फर्किन्छ र माहिलीबाट ध्वस्तका क्रियाकलाप, सासू र साहि“लीको हत्या प्रकरण सबै थाहा पाउ“छ । अनि ऊ २४ वर्षको तलब, ६४ मुरी खेत फिर्ता लिइछाड्ने र अन्याय अत्याचारको बदला लिइछाड्ने उद्घोष गर्दछ । डराएको ध्वस्तप्रसाद जिल्ला सदरमुकाममा (चैनपुर) गई भए नभएका नक्कली कुरा जडेर कालेविरुद्ध मुद्दा दायर गर्छ र फौज आई कालेलाई गिरतार गर्दछ । कालेलाई खलङ्गा जङ्गलमा लगी मरणासन्न हुने गरी कुट्छन् । ऊ मुर्छा पर्छ । उसलाई मृत्युदण्ड सुनाइन्छ र अन्तिम इच्छा भन्न लगाइन्छ । काले ध्वस्तेको हातबाट एक गिलास दूध खाएर मर्ने इच्छा भएको बताउ“छ । ध्वस्त दूध लिएर उपस्थित हुन्छ र ध्वस्तले दूध दिइरहेको बेलामा पोडेको खुकुरी धुतेर ध्वस्तप्रसादलाई छप्काउ“छ । ध्वस्तप्रसादको अन्त्य हुन्छ, तर तत्काल सेनाको गोलीबाट काले पनि मर्छ । चारैतिर घेरिएर बसेका जनताले कालेको वीरोचित कार्यको सराहना गर्दछन् र अब आफूहरू पनि अन्याय, अत्याचार, शोषण, दमनका विरुद्ध एकजुट भएर लाग्ने अठोट गर्दछन् ।
यसरी विद्रोही काले महाकाव्यमा कालेको बिल्लीबा“ठ पारिदिने सामन्त वर्गका कुकृत्य र त्यसबाट मुक्तिका प्रयत्नको अभिलेख प्रस्तुत छ । काले आम नेपाली शोषित पीडित वर्गको प्रतिनिधि चरित्र हो भने ध्वस्तप्रसाद शोषक वर्गको प्रतिनिधि चरित्र हो । यहाँ राणाशासन र त्यसपछि पनि लामो समयसम्म ढलिमली गर्ने निरङ्कुश पञ्चायती शासन व्यवस्थाको अभिव्यञ्जना भएको छ । पुस्ता“ैदेखि दासता र शोषण दमनमा पर्दा पनि चुइ“क्क नबोल्नेहरू कालेको सहादतबाट उत्प्रेरित भएको देखाएर महाकाव्यकारले यहाँ आशा र उत्साहको सञ्चार गरेका छन् र समतामूलक समाजव्यवस्थाको स्थापना हुने सङ्केत गरेका छन् । शोषक सामन्तले केकसरी शोषणका जाल बुन्छन् र त्यसमा कसरी फसाउ“छन् भन्ने दृष्टान्त ध्वस्तप्रसाद भएको छ । मरेका लासको औ“ठाछाप लगाएर नलिएको ऋण लिएको देखाई उसले कालेको सारा श्रीसम्पति हड्पेको छ र कालेलाई दास बनाएको छ । कालान्तरमा कालेमा चेतना आइदिएकाले ऊ त्यसको विरुद्ध लागेको छ र झनै दुख पाई अन्तमा ध्वस्तप्रसादको झुटको खेतीले गर्दा कालेको इहलीला समाप्त भएको छ भने कालेको सचेतताका कारण ध्वस्तप्रसाद कालेभन्दा पहिल्यै मारिएको छ । यस्तो घटनाले शोषित पीडितमा सचेतता, साहस र एकता हुनुपर्ने तथ्यलाई पुष्टि गरेको छ ।
समस्या हुन्छ भने त्यसको समाधान पनि हुन्छ । प्रस्तुत महाकाव्यले सामाजिक–आर्थिक समस्या देखाएको छ र त्यसको समाधानको उपाय पनि देखाएको छ । काले र ध्वस्तप्रसादका माध्यमबाट शोषणको पराकाष्ठा देखाइएको छ । यो समस्या हो । त्यस्तो शोषणबाट मुक्ति पाउन शोषित वर्गमा जागरुकता, सचेतता र साहस आवश्यक हुन्छ । यस्तो साहस शोषित वर्गको प्रतिनिधि कालेमा देखिएको छ । उसले आफूलाई घरबारविहीन बनाउने, झुठो मुद्दा लगाएर शक्ति र सत्ताका आडमा मृत्युदण्डको अवस्थामा पु¥याउने ध्वस्तप्रसादलाई आफू मर्नुअघि नै छप्काइदिएको छ । यो समाधान हो । झट्ट हेर्दा समाधान हिंसात्मक देखिन्छ, तर यो हिंसा बहुजनहिताय भएकाले यो पाच्य छ । एउटाको जरो नउखेली अर्काको ओखती हुन्न । यो संसारको रीत हो ।
ध्वस्तप्रसाद विलासी र सामन्ती चरित्र हो । ऊ दासप्रथाको अन्त्य भएको घोषणालाई सकारात्मक रूपमा लि“दैन । ऊ मान्छेलाई दास बनाएर पशुसरह व्यवहार गर्न चाहन्छ । टोलछिमेक र गाउँलेलाई अनेक मिथ्या मुद्दा लगाएर यातना दिन्छ, अरुको सम्पत्ति कब्जा गर्छ । उसका क्रियाकलाप सामन्ती छन्, दासयुगीन छन् । धेरै स्वास्नी र रखौटी राख्छ । खलनायक हो ऊ ।
विप्रपुत्र काले महाकाव्यको नायक हो । ऊ गर्भमा छ“दा बाबु टिबी लागेर ऊ सानै छ“दा आमाको मृत्यु भएको छ र ध्वस्तप्रसादले घर्तिनीको जिम्मा लगाई घर्ती बनाएको छ । छोरीको दाइजोमा पठाएको छ, तर पछि गोठमा छ“दा साहि“ली–माहिलीको सम्पर्कले उसले आफूलाई चिनेको छ । साहि“लीकै प्रेरणाले अक्षर सिकेको छ र लाहुर गएको छ । लाहुरबाट फर्किंदा आत्मरक्षार्थ बन्दुक बोकेर आएको छ । बाल्यकाल र युवावस्था जति दुखद, कठोर र सङ्घर्षमय बिताएको छ, उत्तराद्र्धमा ऊ त्यत्तिकै सचेत, स्वाभिमानी र जुझारु भएर देखापरेको छ । ऊ सारा शोषित–पीडित समुदायको आशा र प्रेरणाको स्रोत भएको छ ।
काले विपन्न वर्गको र ध्वस्तप्रसाद सम्पन्न वर्गको प्रतिनिधि हो । यी दुई वर्गबीच द्वन्द्व छ । दुवैको वर्गस्वार्थ भिन्न छ । स्वार्थ बाझेपछि द्वन्द्व हुनु अवश्यम्भावी हुन्छ । यही विभेद र द्वन्द्वलाई पहिलो सर्गका ४६ र ४७ श्लोकले उद्घोष गरेका छन् र महाकाव्यमा यसको विस्तृति रहेको छ । विद्रोही काले महाकाव्यको उद्देश्य सामाजिक रूपान्तरण हो । सामाजमा वर्गभेद छ, उचनीचको भेद छ, छुवाछुत प्रथा छ, मान्छे मान्छे समान छैन । धार्मिक अन्धविश्वास छ । रुढिवाद, बहुविवाह प्रथा छ । शोषण छ, उत्पीडन छ । बहुसङ्ख्यक नागरिकहरू मुठ्ठीभर शोषक सामन्तका दास, नोकर, चाकर भएर पशुवत् जीवन यापन गर्न विवश छ । महाकाव्यले यस्तो यथास्थितिको व्यापक चित्रण गर्दै यस्तो विवशताको अन्त्य गर्नुपर्ने र त्यसका लागि साहस चाहिने तर्क पेस गरेको छ । काले यस्तो एउटा नमुना मात्र हो । ध्वस्तप्रसाद शोषक सामन्तको एउटा प्रतीक मात्रै हो । समाजलाई यथास्थितिबाट मुक्त गर्नैपर्ने विचारका साथ महाकाव्यकारले यहाँ निम्नवर्गीय पक्षधरता प्रकट पारेका छन् ।
विद्रोही काले महाकाव्य २४ सर्ग र उपसंहार गरी २५ सर्गमा सङ्गठित छ । काले केन्द्रित कथानकमा बीचबीचमा रमणीय प्रकृतिको वर्णन पनि छ । ध्वस्तप्रसादका विलासी क्रियाकलापको चित्रण पनि छ । यसको आयाम, यसको कथावस्तु, कथावस्तुले ओगटेको जीवनजगत्को व्याप्ति, जीनजगत्का विविध पक्षको चित्रण आदिले गर्दा यो एउटा महाकाव्य बन्न पुगेको छ । काले नायक हो, तर यो संस्कृत काव्यशास्त्रोक्त नेतका गुणले परिपूर्ण छैन । महाकाव्यकारले त्यही ठाउँमा टेकेर महाकाव्य लेखेका छन्, तर त्यसमा विद्रोह पनि गरेका छन् । काले साधारण बाहुनको गर्भे टुहुरो छोरो हो । परम्परागत नायकहरूमा हुने व्यक्तित्व उसमा छैन । तर देवकोटाले (के मण्डुक कराउनु प्रकृतिमा पापीपना हुन्छ र ?) भनेझै“ काव्य पनि ठूलाबडाकै मात्र लेख्ने त ? कविले यस्तो परम्परा तोडेका छन् । दोस्रो कुरा कालेलाई सानो मान्छे पो किन भन्ने ? उसले आफू मरेर भए पनि ध्वस्तप्रसाद जस्तो समाजको कसिङ्गरलाई पन्छाइदिएको छ । यस अर्थमा भने ऊ महान् हो, ‘ठूलो मान्छे’ हो ।
महाकाव्य छन्दबद्ध छ । केही ठाउँमा गद्यलय वा मुक्तलयको पनि प्रयोग गरिएको छ । तुकान्त शैली छ, तर कतिपय ठाउँमा अतुकान्त शैली पनि छ । कतिपय ठाउँमा काव्यकार स्वच्छन्द भावनामा बगेका छन् । यसरी हेर्दै जाने हो भने विद्रोही कालेमा कतै देवकोटाको जस्तो स्वच्छन्दता, कतै लेखनाथको जस्तो सुन्दर परिष्कृत र कतै समका पद्यनाटकको जस्तो अतुकान्त शैली पाइन्छ । पात्रको नामकरण र वर्णनमा मोदनाथ शास्त्रीको झल्को पनि यहाँ पाइन्छ । यस अर्थमा विद्रोही काले एक प्रकारको विचित्रको महाकाव्य बन्न गएको छ । नायक प्रतिनायक दुवैको अन्त भई महाकाव्य दुखान्तक लागे पनि यसले शोषित पीडित वर्गमा सुखद भविष्यको सञ्चार गरेको छ ।
विद्रोही काले महाकाव्यमा विद्रोहको स्वर टड्कारो छ । पचास रुपियाको तमसुक नाटकमा झै“ यहाँ पनि नक्कली तमसुक बनाएर जनताको शोषण गरिएको छ । पचास रुपियाको तमसुक नाटकमा जनताको एकताबाट जनमुक्तिको बाटो खुलेको छ भने यहाँ कालेको साहसबाट मुक्तिको ढोका खुलेको देखिन्छ । सुलोचनाको नायक अनन्त र चिसोचुल्होको नायक सन्तेभन्दा विद्रोही काले महाकाव्यको काले विद्रोही छ, सचेत छ, साहसिलो छ, मुक्तिकामी छ, सफल छ । ऊ जान्ने भएदखि नै विद्रोही छ र उसको विद्रोह नै जनताको विद्रोह भएर व्यञ्जित भएको छ । नायकत्वका दृष्टिले मात्र होइन, काव्यत्व र कवित्वका दृष्टिले समेत प्रस्तुत महाकाव्य उपल्लो दर्जाको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 5 फागुन, 2072

लेखकका अन्य रचनाहरु