आँसुको अक्षरमा

- श्रीओम श्रेष्ठ रोदन

जीवनको सबैभन्दा ठूलो सत्य नै मृत्यु हो । स्वीकार नगरी सुख्खै नपाइने । गर्दिन भन्नेहरु पनि सहज स्वीकारिरहेका छन् । न धनले टार्न सक्ने । नशक्तिले, न सत्ताले नै । हुनेहरु र नहुनेहरुको जति विभेद भए पनि जीवनमा कहिले विभद गर्दैन मृत्युले । सबैका लागि र सधैंका लागि बराबर ।
कुरो आफ्नो मात्र होइन । सबैको उस्तै हो । राममणि रिसाल सरको सन्दर्भ हो । अहिले गइसक्नु भयो उहाँ । २०७० कात्तिकमा । नहुनु भएका महिनाहरु धेरै भइसके । तर त्यस्तो पटक्कै लाग्दैन मलाई । मृत्यु सत्य हो । लोकको खबर बन्यो । तर पनि किन होला मलाई त्यस्तो नलागेको ?
गुरु त गुरु नै हो उहाँ । पाटनक्याम्पसमा पढाउनु भएको । क्लासमा मन्त्रमुग्ध भएर सुन्थ्यौं उहाँलाई । त्यसो त धेरै छन् गुरुहरु । एउटै टोलवासीका पनि हौं हामी । यसको पनि खासै दम हुँदैन । लेखक र पाठकको सम्बन्ध पनि यति गहिरो नहुनु पर्ने हो । लेखक र सम्पादकको सम्बन्ध पनि अथाह नै हुन्छ । फेरि कुन सम्बन्धले यस्तो गरिरहेको छ मलाई ? त्यो पनि थाहा छैन । कुनै सम्बन्धको लागि धागोले जस्तो सिइरहनु पर्दैन रहेछ त । सबै मनको कुरो रहेछ । अद्भुत छ यो मन । न सगरमाथाले अग्लो घमण्ड गरेर मन जत्रो बन्न सक्छ । न समुद्रले आफ्नो गहिरो नपाएर मनसँग तुलना गर्न सकिन्छ । आखिर शक्ति भनेकै नदेखिनेमा हुँदोरहेछ । देखिने त देखिहालिन्छ । नापजोख गर्न सकिहालिन्छ ।
अब कहिले आउला त्यस्तो दिन । सरको नयाँ कृति निस्कनासाथ घरमा आउनु हुन्थ्यो र ‘अत्यन्त प्रिय भाइ श्रीओम श्रेष्ठलाई स्नेह साथ’ लेखेर पुस्तक उपहार दिनु हुन्थ्यो । सरको पुस्तक ‘प्रकाशित–अप्रकाशित’ नै होला अन्त्यमा पाएको । त्यही पुस्तकमा २०६८ मङ्सिर ११ गते आइतबारको मिति सहित हस्ताक्षर गरेर दिनु भएको थियो । उपहार पनि अन्तिम नै । मलाई यो पनि भन्न मन लागिरहेको छैन ।
कुनै दिन फेरि मर्निङ वाक गर्दै गरेको भेट्छु जस्तो लाग्छ । कुनै दिन फेरि ढोकाको घण्टी बजाउन आइपुग्नु हुन्छ जस्तो लाग्छ । सँगै बसेर फेरि पनि चिया र विस्कुट खान्छौं जस्तो लाग्छ । साहित्यका कुरा, समाजका कुरा गर्नेछौं जस्तो लाग्छ । जागिरका सहज र असहज सन्दर्भहरु उप्क्याउने छौं । इमान्दारी र स्वाभिमान पूर्वक बाँच्नु नै हाम्रो बचाइ र हाम्रो कमाइ हुने कुरा गर्नेछौं जस्तो लाग्छ ।
सरलाई थाहा छ कि छैन ! म सरका कुरा कानले भन्दा बढी मनले सुन्थे । जीवन, अध्ययन, अध्यापन, लेखन, जागिरका अनुभवले कमाएका परिपक्व अनुभवहरु बाँडिरहनु भएको जस्तो लाग्थ्यो । त्यसै पनि सर दुखले माझिनु भएको मान्छे । त्यसैले आँसुहरु अक्षर अक्षरमा व्यक्त गर्नु हुन्थ्यो । कति गहिरोसँग पोखिनु हुन्थ्यो । त्यसैले सरका निबन्धका हरफ हरफमा जीवनको ठूलो दर्शन हुन्थ्यो ।
एक पटक मकहाँ आउनु हुँदा कुकुरले टोक्यो सरलाई । तर अलिकति पनि विचलित हुनु भएन र उल्टै भन्नुभयो ‘तल झ्यापुल्लेले आज मलाई माया ग¥यो ।’ अरु भए कस्तो प्रतिक्रिया व्यक्त गथ्र्यो होला ? तर तपाईं, ओहो ! यस्तो समाजमा पनि बुद्ध जस्तो व्यवहार गर्न सक्नु हुन्थ्यो । मान्छेभित्र जे छ त्यही व्यवहारमा प्रकट हुने त रहेछ नि । यस्तो प्रेम, सद्भाव र शालिनताले भरिपूर्ण व्यक्तिले कति डरलाग्दो सन्तान दुःख भोग्नुप¥यो । जुन छोराको नाम ‘जीवन’ राख्नुभयो त्यही छोराको जीवन रहेन १७ वर्षमा । ‘ममता’ नाम राख्नु भएकी छोरीको ममता तीस वर्षमा तोडियो ।
‘हामी मद्रासको अस्पताल, भेलोरमा भर्ना भई उपचार गराइरहेका छौं । म ठीक छु । धन्दा मान्नु पर्दैन ं’ भनेर लेख्ने ममताले ल्यध बलथ mयmभलत, क्ष् बm चभबमथ तय मष्भ भनेर लेखेका अक्षरहरु साक्षी राखेर कति बग्नु भो नदी बनेर । सन्तान वियोगको पीडाले कहिले छोडेन सरलाई । त्यसमाथि धर्मपत्नीले पनि साथ छोड्नुभयो । हुँदा पनि होश गुमाउनु भयो पछिल्लो समय । सर आफूभित्रको दुःखको नदी लुकाएर भन्नु हुन्थ्यो, के गर्नु आँसु छउन्जेल बगाई छोराछारीका लागि । अहिले रित्तिउकी छे । आँसु लागेको हो आँसु ।’
आँसु पिउनेहरु नै निबन्ध लेख्छन् क्यार भनेर सरले लेख्नु भएको छ – “मेरा निबन्धहरुका खास मुहान म नै भएकोले बारम्बार मेरै वरपर ती घुमेका र डुलेका देखिने छन् । आत्मपरक निबन्धको श्रृङ्खला टुटेर भाँचिदा जोडिन जाने विषयवस्तुमा संयोजकको भूमिका मेरो बाहेक अरुको हुनसक्ने हुँदै भएन । यसरी म दोहरिएको छु । दुर्घटनाग्रस्त र जीवन्त बनेका मेरा क्षणहरु यसमा सकंलित छन् । .......... मेरो भाग्यको पर्खाल चर्किएको धेरै क्षणहरु यसमा भएकाले भत्किएका मान्छेको या स्वर–संसार मानिदिंदा पनि मैले चित्त दुखाउनु पर्दैन ”
हो नै सर, तपाईंका निबन्धहरु आँसुका अक्षरले लेख्नु भएएको छ । चुर्लुम्म आँसुमय भएर लेख्नु भएको छ । भित्री तहसम्मको दुःखको भण्डारलाई व्यक्त गर्न खोज्नु भएको छ । सरले जसरी मुटुको भित्री पाटोबाट अक्षरहरु निकाल्नु भएको छ । त्यसै गरी पढ्नेको पनि मुटुसम्मै पुग्छ ।
‘अक्षरपछिको अक्षर’ (२०४१) सँग्रहका निबन्धहरु पढेपछि नै मलाई निबन्धले तानेको थियो । दुःखका अक्षरले निथ्रुक्क भिजें म । पीडालाई कलात्मक बनाउने सरको शैलीले मलाई छोएको थियो । त्यो सङ्ग्रहका निबन्धका धेरै जस्ता हरफहरुलाई अण्डरलाइन गरेको छु । र पटक पटक पढेको छु । निबन्धहरु जति पटक पढ्दा पनि धीतै मर्दैन । जहिले पनि नयाँ निबन्धको स्वाद दिन्छ सरका निबन्धहरुले ।
बाइस वर्ष अघिको कुरो हो । त्यतिबेला म चेक गणतन्त्रमा थिएँ । त्यहाँ फुर्सद हुनासाथ साहित्यका किताबहरु पढ्थें । पटक पटक दोहो¥याएर भने ‘अक्षरपछिको अक्षर’ नै पढेको थिएँ । जति पटक पढ्दा पनि धीत नमरेको किताब हो त्यो । पुस्तकको प्रत्येक निबन्धका अक्षरभित्र बेदना लुकेको छ । अलिकति मात्र आत्मसात् गर्न सकियो भने निबन्धको बेग्ले स्वादले लठ्याउँछ । म मजाले पटक पटक लठ्ठेको छु । सरकै निबन्ध पढेर नै म निबन्धको डोरीले खोल्नै नसक्ने गरी बाँधिएको हुँ । पाएसम्मको निबन्ध पढ्ने बानी पर्यो र त्यही बानीले निबन्ध नै लेख्न सिकायो मलाई । झन्, सर ,तपाई मलाई बारम्बर प्रोत्साहित गरिरहनु हुुन्थ्यो ।
तसर्थ अहिले सरको अनुपस्थितिमा म मेरो निबन्ध लेखनको जस सरलाई दिन चाहन्छु । बाँचुन्जेल नभन्ने मरेपछि जसको कुरा गर्ने यो बेइमानी हो कि इमान्दारिता ? कृतिमता हो कि श्रद्धा ? बुझ्नेले आआफ्नै ढंगले बुझाओस । मेरो कुनै आपत्ती हुने छैन ।
हुन त हिजो पनि सरसँग नभनेको धेरै कुरा भनेको छु । भनेरै कति कुरा नभनेको छु ।
जुन अक्षरहरुले म पग्लिएको थिएँ ती अक्षरहरु अहिले पनि जिउँदाजाग्दा छन् । अक्षर बाँच्नुको अर्थ अक्षरका धनी पनि बाँच्नु नै हो । अक्षर बाँच्ने र अक्षरधनी नबाँन्ने भन्ने कुरा हुनै सक्दैन । यही विश्वासमा म तिनै अक्षरहरुलाई साक्षी राखेर भन्न सक्छु – निबन्ध लेख्ने प्रेरणा तपाईं राममणि रिसालको अक्षर पछिको अक्षरबाट नै भएको हो । यो भन्दा ठूलो अर्को कुन शपथ हुन सक्छ ? अदालतमा जति ठूलो अभियोग लागेकोलाई पनि अक्षर छुवाएरै अदालतमा शपथ खुवाइने त हो नि। साँचो बोल्छु भन्ने विश्वास गराउने र गर्ने त हो नि । म जे बोल्छु सत्य बोल्छु, भनेर । मेरो लागि ‘गीता’ भन्दा ठूलो ‘गीता’ सरका अक्षरहरु नै हुन् । भनेपछि के चाहियो र ?
आखिर जताबाट घुमाए पनि सम्बन्ध त अक्षरकै हो नि । अक्षरको सम्बन्ध न बनावटी हुन्छ न बेइमान नै । अक्षरले न धोका दिन्छ न दुःख नै । मेरो विश्वास हो । हुन त बेइमानीहरुले विश्वासको भ¥याङ चढेको अनुभव मसँग पनि नभएका होइनन् । अक्षरका अपराधीहरु अनेक रुपमा लुकीलुकी हिंड्छन् ।सत्य देखेपछि यस्ता आउँछन् जान्छन् । जमेर बस्नसक्ने हैसियत नै हुँदैनन् यस्तामा ।
अक्षरलाई सम्मान गर्ने, अक्षरलाई आफ्नो ठान्ने, अक्षरमा आफ्नो अनुहार खोज्ने, अक्षरमा आफ्नो मन विसाउने, अक्षरमै सन्तुष्ट हुनेहरु अक्षरलाई नै सर्वोपरी ठान्छन् । अक्षरलाई नै कमाइ ठान्छन् । अक्षरलाई नै बचाइ ठान्छन् । धर्म पनि अक्षर कर्म पनि अक्षर ।
सर, तपाई आफू बलेर अरुलाई शीतल दिनु हुन्थ्यो । प्रेरणा दिनु हुन्थ्यो । स्याबासी दिनु हुन्थ्यो । मेरो अग्रज । मेरो गुरु । मेरो निबन्ध कलमको स्रोत हुनुहन्थ्यो । तपाईं विरामी भएको थाहा पाएपछि एक दिन भेट्न आएको थिएँ । साँझको समय अफिसबाट फर्केर आएको थिएँ । त्यतिबेला म फेरि मधुपर्कमा फर्किसकेको थिएँ । ‘हास्यव्यङ्ग्य’ अङ्क निकालिसकेको थिएँ । सर, मलाई देखेर, मधुपर्कमा मेरो नाम हेरेर कति खुशी हुनु होला, कति स्यावास भन्नु होला भन्ने लागेको थियो । तर सरलाई देखेपछि मेरो चाहना मात्र होइन मैले आफैलाई समेत बिर्सिएँ ।
सर त्यतिबेला मेचमा बसिरहनु भएको थियो । मुन्टो एकातिर अलि झुकेको थियो । मलाई देखेपछि टुलुटुलु हेर्नु भयो तर कुनै प्रतिक्रिया व्यक्त गर्नु भएन । म नजिकै आएर अभिवादन गरें । सरका हात अलिकति माथि उठे । मैले मधुपर्क दिएर आफ्नो कुरा भनें । असजिलो गरी वल्टाइ पल्टाइ हेर्नुभयो । सम्पादकमा मेरो नाम देखेपछि सरका दुबै आँखा उज्याला भए । विस्तारै हात उठाउनु भो । म नजिकिएर शिर थापें । सरले दुबै हात मेरो शिरमा राखेर आर्शीवाद दिनुभयो । स्याबास भन्नुभयो । मेरो चेला भनेर गर्व गर्नु भयो । म अबरुद्ध भएँ । मैले केही व्यक्त गर्न सकिनँ । भित्रबाट प्रेमले छोइएँ म । त्यतिखेर सरले प्रष्ट बोल्न सक्नु भएको थिएन । तर भन्नुपर्ने सबै भन्नु भएको थियो ।
सर ,चेतना भन्ने कुरा बाहिर होइन भित्रै हुँदो रहेछ ।
त्यो साँझ छुट्टिने बेलामा मैले भनेको थिएँ । ‘फेरि भेट्न आउने छु’ तर मैले पूरा गर्न सकिन । के थाहा सर, त्यही भेट नै अन्त्तिम भेट हुन्छ भनेर ।
तर पनि मलाई पटक्कै गुनासो छैन । मलाई विश्वास छ –अक्षरमा बाँच्नेहरुसँग भेट्नको लागि भौतिक रुपमै भेटिरहनु पर्दैन । के सबै देखेका मात्रै सत्य हुने हुन् र ?

झम्सिखेल, ललितपुर

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 5 फागुन, 2072

लेखकका अन्य रचनाहरु