दुर्घटनाले जुराएको दिक्तेल

- श्रीओम श्रेष्ठ रोदन

वैशाखको दोस्रो हप्ता ‘खोटाङ’ जानु पर्छ है सर ! कवि तथा कथाकार टङ्क भट्टराईले एक महिनाअघि नै निम्तो गर्नु भएको थियो ।
खोटाङ अहिलेसम्म टेक्न नपाएको जिल्ला थियो मेरो । नयाँ ठाउँको यात्रा भनेपछि त्यसै पनि हौसिन्छु म । झन् नपुगेको ठाउँमा जान पाउने अवसर सकेसम्म गुमाउन चाहँदिन म । खोटाङको बारेमा पढेको छु र सुनेको पनि छु । साथीहरु पनि प्रशस्तै छन् त्यताका । यही आधारमा एक प्रकारको चित्र बनेको थियो ममा । त्यसैले पनि म उत्साही थिएँ । हतारिएको थिएँ ।
‘सिर्जना शिविर’ प्रत्येक शनिबार प्रसारण हुने गोरखा एफएमको साहित्यिक कार्यक्रम हो । त्यही कार्यक्रममा अन्तर्वाताको लागि पुगेको थिएँ म । त्यही समयमा टङ्ंकजीले भन्नुभएको थियो । खोटाङ कला साहित्य महोत्सव हुँदैछ र काठमाडौंबाट केही अतिथि पनि लैजाँदैछौं भनेर ।
यति के सुन्न थियो म तयार भइहालेको थिएँ । वैशाख १३ गते बिहानै काठमाडौंबाट जाने बताउनु भएको थियो । तर संयोगले त्यही दिन अफिसमा कर्मचारी संघको अधिवेशन पर्न गयो । अधिवेशन यात्राको लागि सर्ने कुरो थिएन र भएन पनि । केही जिम्मेवारीले बाँधिएको थिएँ म । त्यत्रो उत्साह बोकेको यात्रा छोड्नु पर्दा निकै थकथकी लागिरहेको थियो ।
यात्राको केही दिनअघि टङ्कजीले फोन गर्नुभयो । निक्कै अप्ठेरो लाग्यो जान नमिल्ने बताउनलार्ई । तर नभनेर पनि सुख थिएन । रहरभन्दा बाध्यता र जिम्मेवारी जहिले पनि बलियो नै हुन्छ । उहाँसगं क्षमा मागें ।
वैशाखको १२ गतेको दिन थियो । काठमाडौंबाट गुल्मी जाँदै गरेको जिप दुर्घटनामा प¥यो । दुर्घटनामा परेर कर्मचारी संघकै कार्यकारी सदस्य लता जिसीको दुखद् निधन भयो । उहाँ संस्थानको कर्मचारी मात्र नभएर मित्र गगन विष्टकी धर्मपत्नी पनि हुनुहुन्थ्यो । दिउँसोतिर समाचार आइपुग्यो अफिसमा । रेडियो टेलिभिजनहरुमा फ्ल्यास न्यूज आइसकेको रहेछ । त्यही पनि विश्वास लागेन र गगनजीलाई फोन गरें । दुर्घटना र दुखद् निधन भएको पक्कापक्की भएपछि तुरुन्तै अधिवेशन स्थगित भएको सूचना टाँस भयो ।
सहकर्मी मित्र र मित्रपत्नी दुवै नाताले दुखी पनि दोहोरो नै भएँ । हुने भइसकेको थियो ,गर्न केही सक्ने कुरै भएन ।त्यस दिनको अधिवेशन सरिसकेको थियो त्यसैले नजाने भनिसकिएको खोटाङ यात्रा सम्झिएँ र टंङ्जीलाई फोन गरें । घटनाबारे बताएँ र मिन्छ भने जाने इच्छुक भएकोे बताए । उहाँ खुशी हुनुभयो ।
लेखिएको आफ्नो हुन्छ देखिएको हुँदैन भनेको यस्तै पो हो कि ? दुखद् घटनाको कारणले मलाई यात्रामा जुराएको थियो । टङ्कजी एक दिनअघि नै ंिहडिसक्नु भएका रहेछ । उहाँले साहित्यकारहरु वोम बानिया र चन्द रानाहोछालाई भनेर जानु भएको रहेछ । उहाँले भनेअनुसार नै बिहान ६ बजे कोटेश्वरमा पु¥याइदिएकी थिइन् मेरी पत्नीले ।
समूहको यात्रा न पर्यो । आउन बाकीँलाई कुदैर्, के के गर्दा गर्दै साढे सात बजे बल्ल गुड्यो बस । बस पुरै रिर्जभ नभए पनि थोरै जना मात्र अरु यात्रुहरु थिए ।
‘ल है अब ढिलो गर्नु हुँदैन । नत्र दिक्तेल पुग्दा निकै राति हुन्छ ।’
हो हो भन्ने आवाज धेरैको थियो ।
गजलकार ललिजन रावल र म संगैको सिटमा थियौं । हामी दुवैको पहिलो यात्रा थियो दिक्तेल । हामी निकै जिज्ञासु थियौं । त्यसैले पनि उज्यालैमा दिक्तेल पुग्न पाए हुन्थ्यो भन्ने लागेको थियो ।
गुरुजीको हकाइँ बेतोडको थियो । ओहो ,यस्तै हकाइ हो भने त छिट्टै पो पु¥याउँछ कि क्यो हो ?
बनेपा बर्दीवासको बाटो खुलेपछि यो बाटोमा लामो यात्राको अवसर जुटेको थिएन मेरो । नेपालथोकसम्म भने एकपटक पुगेका थियौं । सञ्चारकर्मी मधु पाठकको गाडीम । त्यहाँको एक स्कूलको लागि अमेरिकाबाट आएको सहयोग रकम हस्तान्तरणका लागि हामी कवि विश्वविमोहन श्रेष्ठ, कवि छविरमण सिलवाल, उपन्यासकार शंकर भारती र म थियौं । भर्खरै फागुपूर्णिमाको दिन पारेर दीपक कार्कीको गाडीमा सुधामा विष्ट, रमेश विन्दुकार र म भकुण्डेवेसी हुँदै रिखेश्वर महादेवसम्मको यात्रा पनि गरेका थियौं ।
त्यहाँसम्मको यात्राको बाटो सुगम नै थियो । अपेक्षा पनि यस्तै गरेको थिएँ । आखिर जापानीहरुले बनाएको बाटो न हो । हामी निकै हौसिएका थियौं । सँगैसँगैकाहरुको कुराकानी । हाँसोका फोहरा । पछिल्तिर बस्नेहरुबाट निरन्तर गीत घन्केको घन्केकै थियो । एक प्रकारले बस मनोरन्जन स्थल जस्तै बनेको थियो ।
जापानीले बनाएको बाटो लोभलाग्दो नै छ । सुनकोसी नदीको किनारै किनार । केही बाटो भने खन्न नै बाँकी रहेछ । बनाउन बाँकी भए पनि ड्राइभर्सन गरी बनाएको पहाडको कच्ची बाटो भने निक्कै अप्ठेरो र डरलाग्दो छ । यो बाटोमा बस गुड्न थालेपछि सबैका आवाज भने लगभग शून्य नै भएको थियो । गीत गाउनेहरु र अरु पनि बिस्तारै मात्र कुराकानी गर्न लागेका थिए । हामी अगाडि परेकाहरु मौनजस्तै भैसकेका थियोंैं । उकाली ओरालीको एकदमै साँगुरो बाटो जता हेरे पनि सात्तो नै जाला जस्तो । तर गुरुजी भने निर्धक्कसँग आफ्नै गतिमा अगाडि बढाइरहेका छन् बस ।
यस्तो अप्ठेरो बाटो देखेर हामीले पटकपटक भनेका पनि थियौं गुरुजीलाई ‘हतार नगर्नुस्, गुरुजी बिस्तारै जाऔं । ’
हामी कहिले काही हिंड्नेलाई पो डर, उनीहरुलाई के को डर ? दैनिकै जस्तो यही बाटोमा गाडी चलाउँछन् । अभ्यस्त भइसकेकोले होला गुरुजी सुने नसुनेभलैं गरी ढुक्कसंग चलाइरहेका थिए ।त्यही भएर गुरुजीले आफ्नो गति घटबढ केही गरेनन् ।
पहाडको कच्ची बाटोबाट हामी निक्कै माथि आइपुगेका थियौं । तल कता हो कता सुनकोसी नदी देखिन्छ । त्यस्तो डरलाग्दो बाटोको भीरमा सामान्य बाँसका भाटाहरु गाडिएका छन् । शायद त्यो बाटोको अन्दाजको लागि मात्र होला । रोक्न त एउटा ढुंगा मात्र परे पनि रोक्न सक्दैन त्यसले ।
बाटो साँगुरो थियो । एउटा मात्र बस चल्न सक्ने । अगाडिबाट कुनै साधन आयो भने दुईमध्ये एउटाले पछाडि फर्काउँदै लानै पर्ने । ओहो, त्यस्तो बेला यत्ति नै पो रहेछ कि क्या हो जिन्दगी भन्ने लाग्यो मलाई । झन् मलाई त कस्तो पनि लाग्यो भने एकातिरको दुर्घटनो कारणले जुरेको यात्रा भएकोले नजानिंदो किसिमले बेलाबेलामा त्रास जन्मिरहेको थियो मनमा ।
बस सबैभन्दा उच्च स्थानमा आएर रोकियो । नामै रिठ्ठेभीर रहेछ यस ठाउँको । अगाडि मोटरसाइकल आइरहेको रहेछ । बस रोकेपछि अगाडि आएर मोटरसाइकलले पनि रोक्यो । चालक र पछाडि बस्ने स्वास्नीमान्छे दुवै जना ओर्लिए । खलासी भाइ बसबाट ओर्लिएर अगाडि लैजान भन्यो । तर आँट गर्न सकेनन् उनले । हुन पनि बाटो अलिकति मात्र बाँकीे थियो भीरतिर । म भएको भए पनि आँट गर्न सक्ने थिइनँ । अगाडि बढाउँदा झुक्किएर पनि तलतिर हेरियो भने आत्तिएर सन्तुलन बिग्रनसक्ने नै थियो । त्योभन्दा बढी ठाउँ दिने अर्को ठाउँ पनि थिएन बसको । पछाडि फर्काउँदा पनि जोखिम नै थियो । केहीबेर अलमलेपछि खलासी भाइले नै आँटे गरेर मोटरसाइकल बिस्तारै चलाएर अगाडि बढाइदियो । धन्य खलासी भाइले मोटरसाइकल चलाउन जानेका रहेछन् र । मोटरसाइकल अगाडि बढेपछि बस पनि बिस्तारै मात्र अगाडि बढायो ।
‘थाहा छ यही ठाउँबाट त हो नि पोहर गाडी खसेर दुई दर्जन मानिसको एउटै चिहान भएको’
भागवजतीले विगत उप्काउनुु भयो । त्यसै पनि मन आत्तिरहेको बेला यस्तो नसुनाएको भए पनि हुन्थ्यो उहाँले । अरु पनि केही भन्न खोज्दै हुनुहुन्थ्यो । हामीले अर्कै कुरा गर्न भन्यौं । सायद उहाँले पनि बुझिहाल्नु भयो । बस गुडिरहेको बाटो उस्तैउस्तै भएकोले मनको डर पटक्कै घट्न सकेको थिएन ।
हेत्तेरी । यो बाटो नआएको भए पनि हुन्थ्यो भन्ने लाग्यो ।
कहिलेकांही त आउँदै नआएको भए पनि हुन्थ्यो भन्ने पनि लाग्यो ।
उकालो बाटो ओरालिदै ओरालिदै केही समथर ठाउँमा आइपुगेर बस रोकियो । नजिकै एउटा होटल थियो खाना खाने । लौ , खुर्कोट पो आइपुगिए छ त ।
मध्यान्ह १२ बज्न लाग्दै थियो । डरले भोक झन् बढाएकोजस्तो भएको थियो । खानाको लागि हात धुन खोज्दै थिएँ । मेरो मुखबाट निस्कियो– ओहो ! कति डरलाग्दो बाटो हगि ?
अब यत्ति हो यहाँबाट खासै नराम्रो बाटो छैन ।
सूचनाका साथै हौसला दिन खोजियो मलाई । त्यसपछि खाना पनि पेटभरि नै रुच्यो ।
काटिसकेको बाटो जस्तो सात्तो खाने नै नभए पनि डर लाग्दो त थियो नै । पहाडी बाटो सजिलै त कहाँ हुन्थ्यो र ? केहीबेर सम्म बाटोमा बस कुद्दा आनन्द आउँथ्योे तर एकैछिनमा खाल्टा र खुल्टीको बाटोमा यताबाट उता र उताबाट यत्रा उफ्रेको उफ्रयै हुनु पथ्र्याे ।
उदयपुरको घुर्मीमा आइपुगेर बस रोकियो । तेल हाल्न र मान्छे कोच्न रहेछ । त्यहीबेला हामाी सबैजस्तै ओर्लेर शरीरलाई फुर्तिलो बनाउन खोज्यौं । घुर्मीले मलाई माओवादी द्वन्द्वकालमा ओखलढुङ्गाका दुर्गम गाउँहरुमा डकुमेन्ट्र्री बनाउनको लागि राजेशजी र मनोहरजीको साथमा आउँदाका कठिन दिनहरु सम्झिएँ ।
बस गुड्न लागेपछि गुटुटु दौडिएर यति धेरै मान्छे भित्रिए कि वरपरका पनि कसैले कसैलाई देख्न सकिन्थेन । यस्तो पहाडी बाटोको यात्रामा यति धेरैको भारले कतै अप्ठेरो पार्ने त होइन भन्ने लागिरह्यो । तर के गर्नू ? व्यवशाय उनीहरुको हामीले भनेको के को लाग्नु ? बस भित्रका कोचाकोचले गर्दा सास फेर्न नै गाहा्रे भएको थियो ।
‘यो जयरामघाट तरेपछि खोटाङ जिल्ला टेकिन्छ ,दूधकोशी पारिचाहि दिक्तेल है’ भनेर कसैले जानकारी गरायो मलाई । अगाडिको बाटो हेरें–बाटो त्यस्तै छ । तर गर्नु के ? जे होला, होला, बेकारमा डराएर किन यात्राको आनन्द घटाइरहनु भन्ने लाग्यो । त्यसपछि मैले मन बलियो बनाएँ । बस आफ्नै गतिमा अगाडि बढिरहेको थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 22 माघ, 2072

लेखकका अन्य रचनाहरु