हिजो-अस्ति-आज

- राजु “हिमांशु”

हिजो
“तपाईंका नानीहरु कति जना ?” मलाई यसरी प्रश्न गर्ने उनी भाषा संस्थानका अध्यक्ष हुन् ।
“दुई जना छोरा । " उत्तर मेरो।
“कहाँ पढ्दै छन् ?” फेरि सोध्छन् उनी ।
“सानो सेन्ट माइकल अनि ठूलो सेन्ट जेभियर्स अङ्ग्रेजी स्कूलमा। " जवाफ मेरो ।
“कति कक्षामा छन्?” पुन: सोधाइ उनको ।
“सानो आठ र ठूलो एघारमा”।उत्तर दिन्छु ।
“नेपाली लिएकै हुनुपर्छ है तपाईंका छोराहरुले । मातृभाषा राम्ररी सिकाउनु पर्छ हामीले हाम्रा नानीहरुलाई ।अभिभावकको कर्तव्य नै सम्झनुहोस् यो। नत्र त हाम्रो भाषाको भोलि अँध्यारो हुन्छ । दया गरी छोराहरुलाई मातृभाषाको विषय छोड्न नलगाउनुहोंस्। पढ़ाउनुहोस् हाम्रो भाषाको विषय जसरी भए पनि। ”
दुई हात जोड़ेर यसै भनेका थिए उनले । चुपचाप छोटों सकारात्मक उत्तर दिएको थिएँ मैले। एक प्रकारको आत्माग्लानिले भित्रभित्रै दुखिरहेको थिएँ म । शब्दहीन अव्यक्त एउटा अनुभूतिले पिल्सिरहेको थिएँ । उनका कुरामा मातृभाषाप्रतिको वर्तमान सोच र भाषिक विकासप्रतिको अवहेलित स्थिति विद्यमान थियो अदृष्टिगत । मभित्र भने एउटा सकस को गाँठो कसिँदै जाँदैथ्यो फुकाउन नसकेर। यस्तै अनुभूतिले आक्रान्त थिएँ म। टेबलमाथि थुप्रिएका मातृभाषामा लिखित पुस्तकहरुले ट्वा परेर मलाई गिज्याइरहेका भान भइरहेकोथ्यो । लाजले मनको शिर झुकिरहेको थियो । आफूलाई सर्जक समझनु व्यर्थ लागिरहेको थियो । आफूले लेखेका भाषिक उत्थानका थोकहरु बठ्याइँ मात्र लागिरहेको थियो । लिखित थोकहरु व्यावहारिक साबित हुनु नसकेर मेरो असफल प्रयत्न मात्र प्रमाणित भइरहेका थिए । उनले दुई कर जोड़ी भनेका कुराले भत्-भत् भइरहेको अनुभूतिभित्र वास्तवमा मभित्रको लेखकसत्ता जलिरहेको थियो ।

अस्ति

(१)

“साइन्स ग्रुप पूरै बिगार् यो । नेपाली टेस्टमा ज़ीरो ल्यायो । फर्स्ट टर्ममा ओन्ली फिफटिन ल्याएको थियो । प्रोग्रेस यसपाली डाउन भयो । खालि इंगलिशमा राम्रो गर् यो । क्लासमा एटेण्टिभ पनि छैन । होमवोर्क कमप्लीट गर्दैन । अलिक घरमा याद गर्नु होला।“
प्रिन्सिपलले यसै भनेका थिए मेरो सानो छोरोको पढ़ाइबारे एक दिन । प्रिन्सिपललाई भेटेर निस्किएपछि नेपाली शिक्षकले पनि त्यस दिन भनेका थिए –“नेपालीमा साह्रै वीक छ । घरमा पढ़ाउनु होला। तपाईंमाथि विश्वास छ। "
मैले घरमा पढ़ाउनु हो भने त्यत्रो रुपियाँ तिरेर स्कूल किन पठाउनु त ? ट्यूसन किन पढ़ाउनु त? प्रश्नहरुले कोपरेका थिए मलाई। फेरि सोचें- सायद आफू लेखक हुनुको नाताले मलाई त्यसो भनेका हुन् उनले ।घरमा आएर छोरोलाई कुटिनँ। राम्ररी सम्झाएँ । पढ़ोस् भनेर स्कूल पठाएको सानो छोरोले स्कूलमा राम्रो प्रगति नगरेको विवरण सुनेपछि म कोठाभित्र चुपचाप बसेको थिएँ केही क्षण ।

(२)

आइ.सी.एस.सी.को निम्ति नेपाली पाठ्यक्रमबाट कविताहरु नपढ्नु ,बरु कथाहरुमा ध्यान दिनु भन्ने सुझाउ गुरुमाबाट पाएर कविता विषयक पाठ नपढ्ने ठूलो छोरोलाई सोध्दा जवाफ कविता विरोधी सुनेर म धेरै छटपटिएको थिएँ त्यस रात। कविता लेख्ने मेरो क्रममा केहीं काल विराम लागेझैं भएको महसूस गरेँ। कविता बुझ्नु र बुझाउनु अप्ठेरो हुन्छ र कथा र अन्य गद्य विषयलाई ध्यान दिएर अङ्क तान्न लगाउने गुरुमाको सुझाउ पचाउनु सकेको थिइनँ। के गुरुमालाई कविता पढ़ाउनु र बुझाउनु साह्रो लागेर त्यस्तो विचार जन्मिएको थियो त ? प्रश्नले मेरो दिमाग घोचिरहेको थियो ।
“होइन , त्यो उचित सुझाउ होइन। कविता पनि पढ़ । बुझेनौ भने मलाई सोध । म तिमीलाई बुझाउने कोशिश गर्छु । तर कविताहरु नपन्साऊ पढ़ाइबाट । किनभने प्रश्नहरु कविताबारेमा पनि आउँछन् फाइनल एकजाम मा । " छोरोलाई सम्झाउने कोशिश मेरो ।
"कविता नपढ़े पनि हुन्छ। कोचिङ क्लासमा नेपाली कविताको बारेमा कुनै लेसन रिभाइज गरेको छैन। कथाहरुबाटै कभर हुन्छ अरे मार्क्स । म त कविता पढ़दिनँ । " छोरोको उत्तर। मनै भाँचिने कुरा सुनेर म अवाक् भएको थिएँ ।
"त्यो गलत धारणा हो । तिम्रो मिसको सुझाउ गलत छ। तिमीले कविता पनि पढ्नु उचित छ। " मैले जबरजस्ती गर्दै थिएँ ।
"मिसको कुरा सुन्नु कि तपाईंको ?" छोरोले प्रश्न गर्यो । म अवाक् भएँ पुन:।

(३)

अचम्भ ! ठूलो छोरोले कविताहरु नपढ़ी-नबुझी दिएको आइ.सी.एस.सी. परीक्षाको परिणाम देख्दा म छक्क परेँ। त्यसले नेपालीमा सतासी अङ्क ल्याएछ । सोचेँ नेपालीमा निकै प्रगति गरेछ त्यसले। तर एघारौं श्रेणीदेखि भने त्यसले नेपाली विषयलाई चट्ट छोड्यो । मेरो मन दुख्यो र एकदिन त्यसलाई भनेँ-" नेपाली विषय पनि लिनु पर्थ्यों ।"
"साइन्स लिएको छु । नेपाली लिएर काम लाग्दैन । फ्यूचरमा इञ्जिनियरिङ गर्छु। किन नेपाली लिनु ? आइ एम नट इन्ट्रेस्टेड इन नेपाली एण्ड इट इज नट हेल्पफुल फर माइ करियर।"
छोरोको कुरामा व्यावहारिकता थियो। मेरो कुरामा नेपाली भाषाप्रतिको मोह मात्रै थियो। अभियन्ता हुन्छु भनेर पढ़िरहेको छोरोलाई नेपाली पढ़ भन्नु मेरो मूर्खता थियो । सोचेँ भाषाको भविष्यबारे । मेरो ठूलो छोरोले नेपाली नपढ्दैमा नेपाली भाषाको विकास थामिन्छ र ? तर नेपाली भाषामुखी पार्नुपर्ने उपाय चाहिँ के होला? आफ्नो पाठ्यक्रममा रहेको कविता धरि नपढ़ने हो भने नेपाली कविताको भविष्य कस्तो होला? कविताले विद्यार्थीहरुलाई सम्मोहित कसरी पार्ने ? पाठ्यक्रमभित्र कस्ता कस्ता कविताहरु राख्न पर्ने त ? तिखो विचारले घोचिरहेको मलाई ।
"तेरो बुवा नामी कवि हो नेपालीमा लेख्ने । तँ चाहिँ कविता त के नेपाली विषय नै त्याग्छस्?आफ्नो भाषाप्रति त आदर र श्रद्धा राख्नुपर्छ । अरूलाई पनि सिकाउनुपर्छ । तर आफैले यसरी आफ्नो भाषाको विषय त्यागिस् भने त अरूलाई कसरी सिकाउने ? कसरी आफ्नो भाषाको विकास गर्ने?" धबाले पनि सम्झाए यसरी।
"तपाईं कस्तो कुरा गर्नुहुन्छ ?साइन्स मेरो सब्जेक्ट हो। यसैबाट म आफ्नो करियर बनाउनु चाहन्छु । इञ्जिनियर हुन्छु। नेपाली लिएर इञ्जिनियर हुन्छ र? मेरो करियर बनिन्छ र ? फरेन जान पाइन्छ र ?"

ठूलो छोरोको उत्तर सुनेर धबा चुप भएका थिए । म छक्क परेको थिएँ । तर छोरोका कुरामा वास्तविकता निहित थियो । उसको रुचि विज्ञान र हिसाबमा थियो। उ इञ्जिनियर बन्न चाहन्थ्यो नेपाली पढ़ भन्ने हाम्रो भाषाप्रतिको मोहले रूढ़िवाद दर्शाएको झै लागिरहेकोथ्यों उसलाई । म भने आफू नेपाली लेखक भएर पनि छोरोलाई आफ्नो भाषाप्रति सचेत र पोख्त बनाउन असफल भएको थिएँ । जबरजस्ती गरेर कोही पनि सचेत र पोख्त बन्ने होइनन्। मानिसमा रुचि-अभिरुचि रहेमा मात्र उचित उपयोग-प्रयोग हुने गर्छ । रुचिबिना विकास पनि सम्भव छैन । रुचि जाग्रत बनाउने मसला चाहिँ के हो त ? सोच्दै थिएँ । कुण्ठाभित्र परेर आफूलाई केही रूढ़िवादी भएको पनि अनुभूति भइरहेको थियो उत्तराधुनिक कालमा ।


आज

हिजो भेटेको अध्यक्षसित आज फेरि भेट भयो बजारमा । मेरो नमस्ते ग्रहण गर्दै उनी बोले-"हाम्रा नानीहरुलाई आफ्नो भाषा र साहित्यप्रति पनि अभिरुचि राख्नु सिकाउनुपर्छ हामीले । यिनीहरु हाम्रा समाज र
जातिका भविष्य हुन्। आफ्नो भाषाको वर्तमान रूप पूर्णतया विकसित छैन । झन हाम्रा नानीहरु अङ्ग्रेजी स्कूलमा मात्र पढ़छन् र नेपाली विषयलाई नै तिलाञ्जली दिन्छन् भने त हाम्रो भाषिक विलोपन हुनु कति समय लाग्ला र ?
हजुर , मेरो बिन्ती छ ,तपाईं जस्ता लेखकले यसबारेमा सोचेर कलम चलाइदिनुपर्छ ।हाम्रा नानीहरुमा आफ्ना भाषा र साहित्यप्रति आदर र माया जगाउनुलाई उचित कदम चालिदिनुपर्छ । म त चिन्तित छु हाम्रो भाषाको भविष्यबारे सोचेर ।"
अध्यक्षको विचारले डामेको डामेकै थियो मलाई भित्रभित्रै। घरमा आएर अध्यक्षको कुरामाथि
ध्यानकेन्द्रित गरेर सोचें । भाषाको वर्तमान विवादग्रस्त रूप सम्झेर म आफै रनभुल्लमा परें। नेपाली भाषाको अध्ययनमा न्यूनता अवश्यै आएको छ सोचेर नानीहरुलाई अब नेपाली पढ़ाउनु पर्ने ,सिकाउनु पर्ने त हो । तर भाषिक विवाद शेष भएर मतैक्य हुन सके मात्र त रनभुल्लमा नपर्ला । सजिलो होला पढ़ाउनु ,सिकाउनु पनि। आफै रनभुल्लमा परेर नानीहरुलाई कसरी उचित शिक्षा दिने त?
विचारहरु उफ्री उफ्री मलाई टोकिरहेका छन् अहिले । पल्लो कोठाभित्र कानमा इयरफोन लगाएर ठूलो छोरों अङ्ग्रेजी गीत सुन्दै हिसाब सिक्दै छ । सानो छोरों अर्को कोठाभित्र टी.वी.मा रेसलिङ हेर्दै छ । श्रीमती पूजा कोठामा स्वस्थानी व्रतकथा पाठ गर्दैछिन् एक्लै । म भने भित्रभित्रै भाषिक द्वन्द्वमा परेर क्षतविक्षत हुँदैछु । टेबलभरि आज बिहान लेखिएका कविताहरु अचेत भएर लड़िरहेका छन्।

डाउहिल

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 22 माघ, 2072

लेखकका अन्य रचनाहरु